दुखले पनि होइन
सुखले पनि होइन
बात लागेर पनि होइन
मात लागेर पनि होइन
आफूले आफैलाई खोज्ने क्रममा
म आइपुगेको छु
सत्तलसिंह राजाको देशमा
मेरा आफन्त मित्रहरू !
नखोज्नू मलाई आफ्नो वरिपरि
म तिमीहरूको बृत्तबाट
केही समयको लागि हराएको छु ।
Tag: Nepali Kavita
Bhuwan Dhungana – Kabita Soch : Sankatkaal
भुवन ढुङ्गाना – कवितासोचः संकटकाल
यतिखेर सोचमा संकट परेको बेला
कवितालाई लागेको छ रोग कब्जियत
ठिङ्ग उभिएको संकटकाल
बाउन्ने जस्तो राक्षस जस्तो
यतिखेर कविता कल्पनामा बाँच्दैन
लागेको छ संक्रामक संकटकालको
बन्दुकको जिब्रोबाट फुत्किएको शब्दगोलीले
कवितासोच पछारिएको छ उत्तानो परेर
एक थरी यसलाई वीरगति भन्दछन्
अर्का थरी कालगतिले
गाउँतिर बुट–पदचापहरू विरानमा बजिरहेछन्
सहरतिर सभावैठकमा जिब्रो गोली पड्काउनेहरू
लाटोकोसेरो भएका छन्
यतिखेर हरिणका आँखाहरूले
हरिरहेछ कवितासोच संकटकाल
Prakash Thamsuhang – Soltini
प्रकाश थाम्सुहाङ – सोल्टिनी
सोल्टिनी !
गएर हेर्नु है नबिर्सी गाउँको फलैचाँमा
हेर्नु एकैछिन उभिएर
हाम्रो मायाको निसानी
बरपिपल उम्री सुरक्षित छ अझै ।
सम्झना आउँछ अझै पनि-
रोमान्टिक हुँदै खान्थ्यौँ भावुक कसम
अर्जाप्थ्यौँ हाम्रो धारिलो प्रेमको हतियार
मुठ्ठीभित्र राखेर मुटु
फेदाङमाले झैँ जोखना हेर्थ्यौँ
र गाउँथ्यौँ जोडसँग खुशी हुँदै पालाम-
हा – हा – हाहाहुर्रा – हा – हा
हाहा हाहा हुर्रा हाहा
सोल्टिनी !
याद आउँछ हगि ?
तर वियोग लेखेको रहेछ लेखान्तमा
छुट्टिनु रहेछ एकदिन
भत्किदैँ – भत्किदैँ बगेँ म नदीसँग कता-कता
पुगेँ विरानो जग्गामा
तिमी बिनाको नितान्त एक्लो जीवन
सोल्टिनी झ्
भत्किनु पनि त जीवन रहेछ
भत्किँदै बाँचीरहेँ
भत्किँदै बगिरहेँ ।
सुनेँ यसबीच
तिमी अलप भयौँ रे !
तिमी जीवन बनाउन हिड्यौँ रे !
अन्तरालमा भेट भयो
म यति विवश छु सोल्टिनी
चाहेर पनि मायाको स्पर्श गर्न सक्दिन
उफ !
म कत्ति लाचार !
सोल्टिनी !
गएर हेर्नु है नबिर्सी गाउँको फलैचाँमा
हेर्नु एकैछिन उभिएर
हाम्रो मायाको निसानी
बरपिपल उम्री सुरक्षित छ अझै ।
Durga Lal Shrestha – Balapan [Bal Kabita]
जीवनका दिन सारा
जत्तिसुकै जाँच,
बालापनै मात्र हीरा
अरु काँचैकाँच !
रुनु, हाँस्नु, कराउनु
गाउनु र नाच्नु,
बेजोडको आनन्द हो
बालापन बाँच्नु !
ठूलो मान फल्ने रुख
होला सिंहासन,
शान्ति भने हुन्छ त्यहीं
जहाँ बालापन !
अनगिन्ती भए पनि
ढुकुटीमा धन,
सम्झी बस्छन्, बूढाबूढी
आफ्नै बालापन !
२०५९ वैशाख २२
Gopal Prasad Rimal – Hosh
म मानिस आफ्नो खुशीले जन्मेको होइन,
आफ्नो खुशीले मर्ने पनि होइन ।
यो ज्ञान कसलाई भएको हो साथी ?
यो संसार सपना हो,
जीवन पानीको फोका हो,
यहाँ कोही पनि आफ्ना छैनन्,
जो छन् तिमीजस्तै नै जन्मेका हुन् ।
तिमीजस्तै नै मर्ने हुन् ।
यो वैराग कसलाई भएको हो साथी ?
म सर्वसम्पन्न अर्थात् ईश्वर हुँ,
म भोगी हुँ,
म सिद्ध हुँ,
मजत्तिको अरु कोही छैन,
म मोज गर्छु ।
यस्तो मोहजाल, यस्तो प्रकारको अज्ञान
कसलाइृ भउको हो साथी ?
म मानिस न त आफ्नो खुशीले जन्मेको हुँ,
म आफ्नो खुशीले मर्ने हुं ।
यस्तो मोहजाल, यस्तो प्रकारको अज्ञान
कसलाई भएको हो साथी ?
कामी क्रोधीहरु आफ्नो मनोकामना
पूर्ण गनका लागि अन्यायपूर्वक
धन जम्मा गर्ने चेष्टा गर्छन्,
काम, क्रोध र लोभ यी तीन तमेद्वार हुन्,
यो होश कसलाई भएको हो साथी ?
म त न आफ्नो खुशीले आँखा खोल्ने हुँ,
न आफ्नो खुशीले आँखा चिम्लने हुँ, साथी !
यो होश कसलाई भएको हो साथी ?
Ramesh Sagar – Canvas
रमेश सागर – क्यानभास
एउटा
नाम धारी पिण्ड उठाएर
वल्टाई–पल्टाई हेरें
केही समुद्र थियो
केही पाखा/खोंच र गल्छेंडाहरु थिए
उत्ताप्त/निर्जल मरुभूमि थियो
तातो बालुवामाथी
ओइलाउँदा सेता फूलहरुथिए
सिउँडीका
आँधी/हुरी थियो
तिर्खा थियो
छिर्विरे तरास थियो
विक्षिप्त जिवाशेषहरु थिए
चट्टान थियो
हिउँ थियो
आकाश थियो
बादल थियो
नाम पाएका ऋतुहरु थिए
समयको महासागरमा
जलथर/थलचर थिए
कोही थिए विजयी
कोही विजीत
मनभरी
क्षोभको झण्डा लिएर
तरास पचाएका
केही शालीन अनुहारहरु
चारकोलका रेखाहरु त्याग्न
मूर्तता माग्थे
रोगन माग्थे
तर,
अर्ध चेत तूलिकाहरु
समयको इलेजप्लेटबाट
चुनिएको रङ्ग लिएर
स्वेत/कोरा सतह
रङ्ग्याउँछन्
हुँदा–हुँदा
आँखाहरु पोतिन्छन्
विद्रोह पोतिन्छ
भोगाईहरु पोतीने क्रममा
असन्तोषको सन्देश लिएर
एउटा टेम्परा विहान
मेरो जिन्दगीको छेउमा
फुत्रुक्क खस्छ
मेरा विश्मय र खुशीहरुमा
टेम्परा रङ्ग सर्छ
बोली–चाली र जिजीविषा
त्यहीँ रङ्गमा डुब्छन्
यथार्थमा विविध रङ्गहरुबाट
भिन्नता जन्मन्छ
त्यही शिशु
नयाँ आयाम लिएर हुर्कन्छ
नयाँ…नयाँ…
Yubaraj Nayaghare – Utheka Chhan Haatharu (Nepali Gajal)
युवराज नयाँघरे – उठेका छन् हातहरु (गजल)
उठेका छन् हातहरु अब कहाँ झुक्लान ?
जुटेका छन् मुठ्ठीहरु अब कहाँ फुक्लान ?
तातो रगत बगेर मुटु पनि तातेको छ
चारैतिर दन्केका राँकाहरु अब कहाँ निभ्लान् ?
धेरै पटक प्रहारहरु मुटुभरि भएका थे
जति दुखाई सहे पनि अब कहाँ सहलान् ?
झुकाएर इनामलाई बदनाम उपहार दिए
प्रत्युत्तरमा आवाजहरुले अब कहाँ छोड्लान् ?
Bidhya Sapkota – Yatra
एउटै गोरेटोका दुइ यात्री हामी
पाइला बढ्दैछ चुपचाप-चुपचाप ….
उ मलाइ बोलाउन खोज्छ म बोल्न सक्दिन
जव म बोल्न खोज्छु ऊ…………………
हामी आ-आफ्नै रफ्तारमा ….
अन्जान थिएनौ हामी चिनेका नै कसरी भन्नु ?
तर सँगै जलिरहेका भित्र भित्रै
आ-आफ्नै विगतमा ॥
कुनै समय यस्ता थिए
हाम्रा प्रत्येक ढुकढुकी एकै पटक चल्थे
प्रत्येक पल एक अर्काको लागि बन्थे
अहिले
सँगै छौं बाटो एउटै
तर उ कहाँ…………म कहाँ
फगत एउटा अन्जान यात्री ॥
उता ति सजल नयन, ग्लानीले डढिरहेका
यता निश्छल आँखा, प्रेम छचल्किरहेका
बेखबर दुवै……थाहा छैन दोष कसको ?
कस्तो समस्या……………बाटो एउटै !
कस्तो अचम्म……………गन्तव्य एउटै !
कस्तो विवशता …………पिडा एउटै !
Bikram Subba – Shanti Daridrata
धेरै दिनपछि चिया पसलमा
मनमिल्ने साथीहरूसँग आज भेटेँ
छुट्टिँदा उनीहरूबाट पाएको शान्ति
घरसम्म पुग्ने गाडी-भाडा तिर्दै सिद्दियो
र फेरि शान्तिविहिन दरिद्र भएँ ।
पुस्तकालयका तृपिटक पढेँ
पन्ना-पन्नामा Continue reading “Bikram Subba – Shanti Daridrata”
Keshav Acharya – Akshar Ma Uni
केशव आचार्य – अक्षरमा उनी
उनको रूप रङले
मोहित भएको होइन म
उनको वैँसमा पनि
आकर्षित भएको होइन म
तर उनले मलाई
मोहनी लगाएकी हुन्
मेरो जिन्दगीमा
उनी सुगन्धित फूल भएर मगमगाएकी छन्।
उनी मेरी जननी होइनन्
छोरी पनि होइनन्
प्रेमिका होइनन्
पत्नी पनि होइनन्
अर्थात्
उनी मेरो कुनै साइनो, सम्बन्धभित्र नै छैनन्
तथापि
मेरो आराधनामा उनै छिन्।
मेरो साधनामा उनै छिन्।।
हरपल हरक्षण
मेरो मन मस्तिष्कमा
उनी घुमिरहन्छिन्
सपनामा पनि
सुटुक्क आएर
मलाई चुमिरहन्छिन्।
मैले उनलाई
मेरो जीवनको
आरोह – अवरोह बताए पनि हुन्छ
नबताए पनि हुन्छ
उनीप्रतिको मेरो सम्पूर्ण समर्पण
जताए पनि हुन्छ
नजताए पनि हुन्छ।
उनलाई बोलीमा मह घोलेर
फकाए पनि केही फरक छैन
बिना आक्रोस ओकलेर
यता सार्दै उता सार्दै
सताए पनि केही फरक छैन
यद्यपि
मेरो सृजनाकी मूल उनै हुन्
मनमन्दिर चढाउने फूल उनै हुन्
उनलाई मैले
भावनाको रङहरूमा रङ्गाएर
घाम बनाए पनि ठीकै छ
जून बनाए पनि ठीकै छ
फलाम बनाए पनि ठीकै छ
सुन बनाए पनि ठीकै छ।
गीत गजलहरूमा घोलेर
मीठा सङ्गीतको धुन बनाए पनि ठीकै छ
उनी उज्यालो भएर
मेरो जीवनमा पोखिन्छिन् उसै गरी।
एउटा अनुपम दृश्य भएर
मेरो आँखामा ठोकिन्छिन् उसै गरी।
उनको आवेग नै
मुस्कान पो हो कि ?
उनको संवेग नै
मौनता हो कि ?
जति बुझ्न खोज्यो
त्यति नै नबुझिने जस्ती
तर जीवनलाई
सुन्दर र सार्थक बनाउन
जीवनभरी नै उनी मलाई चाहिनेजस्ती
त्यसैले त होला-
मेरो जीवनको हरेक बिहान
उनीबाटै सुरु हुन्छ
र
हरेक साँझ
उनीमै पुगेर बिलीन हुन्छ
उनको परिचय खुलेकै छ
र पनि म चिन्दिनँ
तर उनलाई म
चिनिनँ पनि भन्दिनँ
मेरो अध्ययन कक्षमा
सजाइएकी
उनी मेरी जीजिविषा हुन्
अर्थात्
उनी मेरी मोनालिसा हुन्।
Sarita Tiwari – Baluwa Mathi Ko Desh
सरिता तिवारी – बालुवामथिको देश
अचेल
अक्सर मेरा सपनाहरु पानीमा डुब्छन
म
पानीमाथि हाँसीरहंछु
बालि छैनन् खेतहरुमा
बालुवा छ
गाउँ बिरामी छ
शहर हरामी छ
आँखा बन्द छन्
कलम बन्द छ थुप्रै आँखाहरु Continue reading “Sarita Tiwari – Baluwa Mathi Ko Desh”
Rupesh Rai – Shatabdi Kaidi
रुपेश राई – शताब्दी कैदी
बामे सर्दै खुट्टाले
उभिन खोज्दा बालकलाई,
आभास हुन्छ, चक्कर
लगाएका पृथ्वीले वरिपरि सूर्यका ।
जिज्ञासाले समयसँगै उभिएर
आधुनिक/उत्तर-आधुनिक्ताका
उपजहरू कैद गरेर आदिमताको बट्टाभित्र
तय गरेकोछ ‘एकजोटिक’ संसार ।
पढ़कन आँटेको छ, ऊ
फुट्न आँटेको छ । किनकि
उसले तय गरेको संसार
उसलाई त्यहीँ सर्बस्व छ । ठिक्क छ ।
यसैले त ‘निलो संसार’मा
आदिमता चियाउने गरेको छ
‘हरियो संसार’ नङ्ग्याएर ।
उसलाई त्यहाँ
ऐश…आराम छ,
यद्यपि संकुचित हुने गरेको छ
ऊ। अस्मिता कोत्र्याएर !
अब,
विश्व सोच्न स्कदैन ऊ
‘ख’बाट ‘भू’ सोच्न सक्दैन !
विज्ञानको खेलाउना/कम्प्यूटरको कैदी
माउस उसको प्राण !
वेबसाइट उसको आदिम्ता !!
Gyanu Pandey – Hami Aabiskarak Haun Andhakar Yug Ko
डा.ज्ञानू पाण्डे – हामी आविष्कारक हौं अन्धकार युगको
‘फटाहाका गलामा माला सुहाउँदैन’
‘दुर्जनलाई सम्मान कहिल्यै गर्नु हुँदैन’
‘श्रोता बन्नु सधैं असल गुरुको’
‘खरावहरूको संगत गर्न हुँदैन’
पुर्खाले सिकाएका यी सत्वाणीहरू
सबै झूठो बनाइदिएकाछौं
विद्या बङ्गयाइदिएकाछौं
अर्थहरु सबै भत्काइदिएकाछौं
हामी सर्जक हौं नयाँ पाठको
गुरु हौं नयाँ अभ्यासको
बधाई दिन्छौं हामी आफैलाई
आविष्कारक हौं नयाँ नेपालको
उसै पनि क्षणभंगुर यो मानवचोला
झनै क्षणिक बनाइदिएका छौं
मर्नलाई काल पर्खनै पर्दैन कसैले
जताततै काल पल्काइदिएकाछौं
जनतालाई अकालमा मर्नबाट जोगाउन सकेनौं त के भो ?
मरिसकेपछि हरेकको नाममा गोहीको आँसु चुहाइदिएकैछौं
बचन पूरा गर्न सकेनौं त के भो ?
प्रतिबद्धता पटक पटक दोहो¥याइरहेकैछौं
डाडुपन्यौं आफ्नो हातमा परेको यो बेला
अलिकति मनपरी गर्यौं त के बिगार्यौं ?
सबैले जे गर्दै आ’थे त्यही न दोहोराइदिएका हौं
बधाई दिन्छौं हामी आफैलाई
राजनीतिको लाज बचाइदिएकाछौं
नीति विनाको राज गर्ने सूत्र नयाँ पहिल्याएकाछौ
जनतालाई नयाँ नेपालको
अनुहार राम्रो देखाइदिएकाछौं
परिवर्तन भनेको यही त हो
रुपान्तरण भनेको यही त हो
शान्तिसुरक्षा पूरा खलबल्याइदिएकैछौं
मन लागे जसले जहाँ जे गरे पनि हुने
बाटो सबै खोलिदिएकैछौं
जनताको अधिकार हनन भइरहेको छ त के भो ?
अधिकारका लागि लड्न सबैलाई सिकाइदिएकैछौं
समय त्यो पछाडि कहिल्यै फर्कदैन
बढिरहन्छ निरन्तर अघिअघि
प्रकृतिशास्त्रको यो निर्धारणलाई
भत्काउन सफल भएकाछौं
घुँडा टेक्न समयलाई बाध्य हामीले पारेकाछौं
बत्ति निभाइ दिएकाछौं
धारा सुकाइदिएकाछौं
ढुङ्गगेयुगको झझल्को दिने
दिनहरू जनतालाई देखाइदिएकाछौं
हामी सर्जक हौं नयाँ युगको
गुरु हौं नयाँ अभ्यासको
अन्धकार वर्तमानको
अन्धकार भविष्यको
अन्धकार
अन्धकार
बस् अन्धकार युगको
बधाई दिन्छौं हामी आफैलाई
आविष्कारक हौं हामी अन्धकार युगको ।
विशालनगर, काठमाडौं
Komal Shrestha Malla – Chita Khojnechhu
कोमल श्रेष्ठ मल्ल – चिता खोज्नेछु
आफनै फोटो
आफैले हेरिनुमा
कूनै खेद छैन
के गर्नु ?
चाउरिएको अनुहार
अब लिपपोत गरेर
बसन्त स्वास फेरीदैन
किनकी,
म थाकी सकेछु
प्रयासका पाईलामा !
मुटुको दैलोहरु
आ-आफै बन्द हुदै जानु
र
धडकन मक्कीनुले
लाग्छ जीवन बरालीदै छ ।
शंखको नारा
मलामी जूलुस
बुर्कीको स्याबासी
कात्रोमा लुटपुटीएर
म निर्जीब लम्कीदै
चिता खोज्नेछु …..
Biplav Pratik – Agnipath
बिप्लव प्रतिक – अग्निपथ
यो एउटा गोरेटो साँगुरो
धेरै पर पुगेपछि दोबाटाहरू भेटिनेछन्
अनि अझै पर, धेरै पर पुगेपछि मात्रै राजमार्ग भेटिनेछ
त्यहाँ पुग्नेहरूले खबर लिएर आएका
बाटो कति लामो छ भनेर ।
त्यो बाटो लड्खडाउने पाइलाहरूका निम्ति होइन
आगो र आँधीसँग डराउनेहरू यो बाटो हिँड्दैनन्
हिम्मत र लडाइँको बाटो हो यो
पाइलैपिच्छे यस बाटामा विचारको युद्ध भइरहन्छ विचारसँग
र तर्कको तर्कसँग
बूढो रूख त ढल्नु नै छ
या नदी सागरसँग मिल्नेछ ।
हिँड्दाहिँड्दै यस बाटामा तर्साउने कुरा पर्याप्त छन्
उल्टो दिशाबाट बहुलाजस्तै चिच्च्याउँदै मानिसहरू आउनेछन्
रोकेर सोधे तिनलाई
तिनले भन्नेछन् बाटो डरलाग्दो छ ।
तिमीलाई पनि डर लाग्न सक्नेछ
फर्किन पनि सक्छौ तिमी बीचैबाट
रगतमा लतपत कोही मर्नै आँटेका हुनेछन्
र कति त मरिसकेका हुनेछन्
कहाली लाग्न सक्छ तिमीलाई पनि पराजयको
त्यसबाहेक पुर्वाग्रहको तमाखु पिउँदै बसेका
छद्मभेषी भिखारीहरू तिमीलाई नै रुँगेर बसेका हुनेछन्
कुनै हतियार हुनेछैन तिमीसँग युद्ध गर्न
कुनै अस्त्र हुनेछैन तिमीसँग युद्ध जित्न
न सुस्ताउन गुलाफको फूलको सिरानी
न हरिया मैदान र नीला आकाश
केहीकेही हुनेछैनन्
आगो र आँधीबाहेक ।
हिम्मतको हतियारमा खिया पर्नु हुन्न
दृढ आकाङ्क्षाको ढाल प्वाल पर्नु हुन्न
मैदान जित्नु छ भने निहुरिनु हुन्न
पसल थापेर स्वाभिमानको व्यापार गर्नु हुन्न
हिम्मत र लडाइँको बाटो यो हो
पाइलैपिच्छे यस बाटामा विचारको युद्ध भइरहन्छ विचारसँग
अनि तर्कको तर्कसँग ।
त्यहाँ पुग्ने अर्काथरीले खबर लिएर आएका
बूढो रूख त ढल्ने नै छ
या नदी सागरसँग मिल्नेछ ।
नयाँसडक, १० डिसेम्बर १९८६
Laxmi Prasad Devkota – Rani Ban
क.
यिन गिरिमा, हो
सभ्यताका नीला, गाढा, प्रकृत गढमा,
फरफर पताका, शाखा !
बल्लीहरुको दरबाजामा,
फूल छन् पहरा लाखाँ !
ख.
शीतलताको दरवार बनाई
वन–रानी,
वायु–पङ्खी अख–परीसँग,
सुन्छिन्,
सुन्दर बादल–कहानी !
ग.
वृन्दावनका मुरली सम्झी
दल नाच्छन् !
महेश खोलो, पाषाण तरङ्गी
ओर्लिरहन्छ, ओर्लिरहन्छ,
त्रिशूली, त्रिशूली बोलिरहन्छ, कुर्लिरहन्छ,
भेट्न सधैंभर, नअघाई,
उर्लिरहन्छ, उर्लिरहन्छ !
अगणित भेट र अविरल ध्वनिहरु,
प्यारका जोडी, युगयुग, तटमा,
साँच्छन् !
घ.
पर छन् ईँट, पर छन् चून !
बोधा, अन्धा !
रानीवन छन् अविकृत युगकी
मिरमिर कहानी सानी–
जसकी दिदी हुन् वृन्दा !
ङ.
होला कोही मिरमिर कहानी–
कसरी कुनै दिन क्वै नानी,
यस वनकी फूल, उटज फुलेकी,
भइन् जगतेकी रानी !
च.
यिनका दिल छन् ढुक्कुर, ढुक्कुर !
यिनका बोली, जुरेली !
भरखर बोली एक हाँगामा
एउटी प्यार–सुरीली !
छ.
यस खोलाका लहराभित्र
लाग्छन् चिचिल्ला मन–रसका !
प्रकृतिरानीको राज्य पवित्र !
शहर–उपल्ला यी स्तरमा छन्
चोखा कुसुमहरु दिल–खुशका !
झुठा हाम्रा व्यापारहरुकन
छन् झल्का !
ज.
ए खोला ! दे करले लेखी
सुन्दर एक शिलापत्र !
एक बटुवाको नागरिकताको
इच्छा एक विचित्र
Durga Lal Shrestha – Hridaya Chandra Singh Pradhan [Bal Kabita]
हुन्छ जसै यो स्मृतिपटलमा
हृदयचन्द्रले छाएको,
सुँघ्छु म फूल व्यथाको फक्री
बास्ना मगमग आएको ।
छैन कि सायद यस्तो लेखक
अर्को मैले देखेको,
जसको लेख मसीले हैन
शुद्ध रगतले लेखेको ।
जीर्ण शरीर छ दीर्घघरोगले,
त्यसमा पनि झन् व्याप्त अभाव,
कष्टसाध्य त्यो क्षणमै फेरि
उसको मनमा फुथ्र्यो भाव ।
त्यसमा पनि ती हेलित जनता
जो हरहर छन् शोषणले,
तिनका मूच्छिर्त मुटु ब्यूंतिन्छन्
उसको शाश्वत लेखनले !
यति सुन्दरतम उसको सपना
कि जहाँ किञ्चित हुन्न दया,
हो, साँच्चै संसार त्यही हो
मानवताको पर्ूण्ातया ।
सत्य कुनै छ त यो धरतीको
यै हो यौटा, मात्र यही,
फुल्छ फुल्छ त्यो निश्चय फुल्छ
अलिक अबेरै होस्न सही !
हृदय ! तिमी छौ हृदयहरुमा
प्राञ्जल आफ्ना रचनाले !
मात्र सम्झनाले पनि त्रि्रो
प्लावित हुन्छु म श्रद्धाले !
लाग्छ मलाई हे युगद्रष्टा !
तिमी जन्मिँदै छौ फेरि,
त्रि्रै स्वर हो निश्चय पनि यो
इन्कलाबको रणभेरी ।
२०५९ माघ १०
Kalyan Shrestha – Bus Stop
कल्याण श्रेष्ठ – बस स्टॉप
सड़क छेउमा माग्ने जस्तो
असुहौदो कोट, थोत्रे टोपी र
पान, थुक लागेका मैला कमीजमा
दिनभरि, खुइलियेको जुत्ता मिलौँदै;
छातीभरी भिरेका तक्माहरु
बिज्ञापन, …… फिल्मका पोस्टरहरु….
बेलाबेलामा Continue reading “Kalyan Shrestha – Bus Stop”
Jangab Chauhan – April 2
जङ्गब चौहान – अप्रिल २
जून हाँस्न खोज्दा खोज्दै
कालो बादलले छेकियो
ताराहरु कतै थिएनन् आकाशमा
उपत्यका कालो कालो देखियो।
विद्रोहको आगोमाथि चढेर धुँवा
चारैतिर फैलिंदै थियो
बोकेर हावा रापिला आक्रोशहरु
चारैतिर Continue reading “Jangab Chauhan – April 2”
Biplav Pratik – Timi Ra Ma Madhya Ek Jana Bhram Ma Banchirahechha
बिप्लव प्रतिक – तिमी र ममध्ये एक जना भ्रममा बाँचिरहेछ
मान्छे भन्छन्, म उन्मुक्त कहिल्यै हाँसिन रे
मान्छे भन्छन्, म सुखी कहिल्यै बाँचिन रे
सुख, मलाई त लाग्छ एउटा भ्रम हो
हाँसो, मलाई त लाग्छ एउटा थप Continue reading “Biplav Pratik – Timi Ra Ma Madhya Ek Jana Bhram Ma Banchirahechha”