Shreeshisha Rai – Ma Sapanaharu

मेरा हजुरबा कृषक थिए रे
मेरा बा पनि कृषक नै हुन्
म पनि कृषक नै हुँ
सपनाहरुको खेती गर्छु

त्यो पनि बाजेकै विँडो थाम्नु
कता कता
रहरलाग्दै कुरा हो
म सपनाहरु रोप्छु
विपनाहरु पलाउँछन् र पोल्छन्
सपनाहरु बुन्छु
विपनाहरु च्यातिन्छन्
सपनाघारीमा लुकामारी खेल्छु
विपनाहरुको डिलवाट खस्छु
दुर्घटनाग्रस्त हुन्छु र
दिमाग विगार्छु
सपनाहरु खान्छु
विपनाहरु ट्वाईलेट गर्छु
कहिले म रुन्छु
कहिले सपनाहरु नै रुन्छन्
विपनाहरुको नाम लिँदै कहिले
ईष्र्याले मलाई घोच्छन्
सँधै नै मेरा सपनाहरु
हुलभित्र हराउँछन्
र विपनाहरुको सन्नाटामा भेटिन्छन्
म स्वप्नँजिन्दगी वाँचिरहेछु
म घामको सवैभन्दा नजिक उभिएको
अग्लो हिमाल हुँ
बाढीमा डुब्दै गरेको घर
मेरो हो

रातमा
सपनाहरुको सिरानीमा निदाउँछु
विहान ब्युँझदा
गर्धनमा पिडा भईरहेको हुन्छ ।

Nistej – Bartamna Pariprekshya Ma 2

निस्तेज – वर्तमान परिप्रेक्षमा -२

वर्तमान परिप्रेक्षमा
अभियुक्त बनेर
कठघरामा
समय उभिएको छ
र फरियादी बनेर
इजलनसमा हाम्रा खुशीहरु
प्रतीक्षामा
निष्पक्ष निसाफको
तराजु हातमा लिएर
निसाफ गर्नेछन्
ढुङ्गाका मूर्तिहरु
र प्रफुल्ल मुद्रामा
घर फिर्नेछन् हाम्रा खुशीहरु
म सशङ्कित छु आज पनि
यस कुरामा ।

हूल बाँधेर
सडकमा असहमतिहरु
हिंड्ने छन् वा छैनन्
रात उषामा सहिद भएपछि
चराहरु खुसियालीमा
गाउनेछन् या छैनन्
नयाँ होइन
इतिहासको घोडा चढेर
विजय जुलुसमा
विजेताहरूले निस्किनु
र एकथरिहरूले
झन्डा बोक्दै
पछि पछि लाग्नु
कनक-कनक को अन्तर
प्रष्ट्याउने छन्
यी फिलुङ्गाहरू
को निस्किन्छ
तपेर झन् प्रभासित हुँदै
र को हुनेछ खरानी
फिलुङ्गाहरू खोल्ने नै छन् पोल ।

हिमपातले
लुटिएका रुखहरू
पातको प्रतिक्षामा
वसन्त कुर्नेछन फेरी फेरी
र मुस्कुराउने छन
फेरी नयाँ खुसीहरू
यामले प्रत्येक हानिको
गर्नेछ क्षतिपूर्ति
र मलाई सिकाउनेछ
पराजय बिर्सेर फेरी जिउने कला
तर अफसोस
मलाई थाहा छ
वसन्तका उपहार अवश्य हुनसक्छन
नयाँ पालुवाहरू
तर हिमपातले लुटेका
ती पातहरू कदापी हुन् सक्दैनन्
यामको क्षतिपूर्ति।

र वर्तमान परिप्रेक्षमा
जलेरुहरू जाल बुन्दैछन
स्थिर तलाउ बाहिर
र तलाउ भित्र
ठुलो षड्यन्त्रबाट बेखबर
माछाहरूको वस्तीमा उत्सव चलेका बखत
बल्छीहरू तिखारिंदैछन्
र तिखारिंदैछन् भालाहरू
रातारात उमारिंदैछन
झुट्ठा साक्षीहरू
खेलाची बन्नेछन इजलासहरू
तर नियम सङ्गत नै हुनेछ
प्रत्येक कुरा
र वर्तमान परिप्रेक्षमा
मैले सिकेको छैन
नियम हरु भङ्ग गर्ने कला
र माछाहरूले सिकेका छैनन्
जालहरु काट्ने विज्ञान ।

म कायर हुन सक्छु
या लो लाचार
र तोड्न सक्दिन नियमहरू !
या म प्रभावित छु
कुनै तथाकथित शाश्वत ज्ञानबाट
जुन लेखिएको हुनसक्छ
बाक्ला- बाक्ला किताबहरूमा
र कसरी असत्य हुन् सक्लान
किताबहरूका नियम सङ्गत कुराहरू ?
मेरो मस्तिष्क
डसेको छ
किताबहरूको भूतले
मलाइ विश्वास छैन
रत्तिभर पनि आफुमा
म किताब हरूको दासताले
आज पूर्णरुपेण निकम्मा भएको छु
र किताबहरू लेखिएका छन्
सफल पर्न अभूतपूर्व षड्यन्त्रहरू ।

सपनाहरूको हाटमा
सजाइएका झुठा सपनाहरू
हरेक सपनाको यौटा ब्राण्ड छ
र त्यस ब्राण्ड को यौटा विज्ञापन
कर्पोरेट सपनाहरू
ओझेलमा पार्छन
हाम्रा अक्षुण्ण काँचा र अप्रशोधित सपनाहरू
यी किताबहरू
विभेद उत्पन्न गराउँदैछन्
सपनाहरूमा
म हेर्दैछु
हातका रेखाहरूमा
मेरा सपनाहरू
हाटमा पनि छैनन्
र हातमा पनि छैनन् ।

वर्तमान परिप्रेक्षमा
बजारमा
चोकहरूमा
साईबर क्याफेहरूमा
अखबारका पानाहरूमा
भेउ खोज्दै
नाली बेली सोध्दै
शब्दहरू निस्केकाछन्
नयाँ अर्थको खोजीमा
नयाँ परिभाषाहरूको खोजीमा
अर्थहीन / परिभाषाहीन
कति बस्न सक्छन शब्दहरू
र म महसुस गर्दैछु
वर्तमान परिप्रेक्षमा
मेरो चेतना जागृत भएझैं छ
मलाई आभाष हुँदैछ नयाँ अर्थको खोजीमा
नयाँ परिभाषाहरूको खोजीमा
अर्थहीन / परिभाषाहीन
कति बस्न सक्छन शब्दहरू
र म महसुस गर्दैछु
वर्तमान परिप्रेक्षमा
मेरो चेतना जागृत भएझैं छ
र मलाइ आभास हुँदैछ
बक्ला-बक्ला किताबहरूमा
लिपिबद्ध यी सत्यहरू
यी कथित सत्यहरू
कुनै औधी चकचके बलकले
पिसाप फेर्दै
भित्तामा बनाएका
अश्लील आकृति झैं
मेरो भाषामा
पहिलो पल्ट हराएको छ
शीष्टताको आवरण
र म निरावृत छु
र म महसुस गर्दैछु आफुलाई
अभूतपूर्व शक्तिशाली
र सत्य
र निरावृत
वर्तमान परिप्रेक्षमा।

बैतडी,हाल: धनगढी

Prakash Rodung – Baadi Atikraman

प्रकाश रोदुङ – बादी अतिक्रमण

आज तिमीहरुले हियाएर हेरे पनि
श्रद्धाले हेरे पनि
भावनाले पुकारे पनि
आखिर म बादी हुँ
तिम्रै चाहानाको निम्ति
बनाइएकी हुँ म बादी

इतिहाँसको अध्याँरो कालखण्डमा
बलात्कृत Continue reading “Prakash Rodung – Baadi Atikraman”

Kusum Gyawali – Shauchalaya 1

देखाएर दुर्गन्धको त्रास
शौचालयमा फोहर गर्नु हुँदैन भन्छन्
थुनेर सुचारू शौचालयहरू
फोहोर गरिहेछन् उनीहरू नै बाटो-बाटोको छेउमा
खपिनसक्नु दुर्गन्ध छ भनेर
शौचालय बमले उडाउनु पर्छ भन्छन्
म बुझाउन सक्तिन Continue reading “Kusum Gyawali – Shauchalaya 1”

Komal Shrestha Malla – Samaya Bujha Hai (Nepali Gajal)

कोमल श्रेष्ठ मल्ल – समय बुझ है (गजल)

समय बुझ है पछि यो फर्कन्न
तिमी आउ दिलमा पर्खनु पर्दैन

जिवनको खाल छ मायको ताल छ
मायाको माया छ तर्कनु पर्दैन

रोपेर फूलाउ मनको फूललाई
पबित्र छाँया छ तर्सनु पर्दैन

प्रितको जिवन छ बाचा छ कसम छ
बाधिन्छौ प्रितमा फर्कनु पर्दैन

Kabita Thapa – Jiwan Ma Sajiwata (Geet)

कविता थापा – जिवनमा सजिवता (गीत)

हिउँ भइ हिमालमा सुन्दरता भर्छौ
पग्लिदै शिखरदेखि सागरमा झर्छौ

रविको न्यानोपनमा माथि उड्छौ
पानी तिमी बादलभै आकाश छुन्छौ

पवनसित बहँदै शितलता छर्छौ
कल्पनामा रङ्गीन तरङ्ग कोर्छौ

विशाल धरतीमा वृष्टि बनि आउँछौ
जिवनमा सधैँ सजिवता ल्याउँछौ

क्यालिफोर्निया

Pratima KC – Samaya Ko Khel

प्रतिमा के.सी. – समयको खेल

म समय हुँ
समयको खेल खेल्नु छ
कति खेल्नु पुराना खेलहरु
अब नयाँ खेल फेर्नु छ
त्यसैले
साबधान !
मलाई रोक्ने चेस्टा नगर्नु /

प्रेम शान्तिको प्रतिक हो
घृणा युद्धको बीउ Continue reading “Pratima KC – Samaya Ko Khel”

Hem Nath Ghimire – Meri Uni

हेमनाथ घिमिरे – मेरी उनी

शीतको थोपा
गुलाफको फूलमा
मेरी प्रेयशी ।

सधैँ हँसिली
लालुपाते फूलेझैँ
मेरी संगिनी ।

लाली गुराँस
सिउरेर हाँसेकी
मेरी मायालु ।

गोधूली साँझ
सप्तरंगी इन्द्रेणी
तिम्रो Continue reading “Hem Nath Ghimire – Meri Uni”

Laxmi Prasad Devkota – Yatri


लक्ष्मी प्रसाद देवकोटा – कुन मन्दिरमा जान्छौ यात्री

कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो?
कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो?
मानिसहरूको काँध चढी, कुन देवपुरीमा जाने हो?

हाडहरूका सुन्दर खम्बा, मांसपिण्डका दिवार !
मस्तिष्कको यो सुनको छाना, इन्द्रियहरूका द्वार !
नसा-नदीका तरल तर, मन्दिर आफू अपार !
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरको द्वार ?

मनको सुन्दर सिंहासनमा, जगदिश्वरको राज !
चेतनाको यो ज्योति हिरण्यमय, उसको शिरको ताज !
शरिरको यो सुन्दर मन्दिर, विश्वक्षेत्रको माझ।

भित्र छ ईश्वर बाहिर आँखा, खोजी हिड्छौ कुन पुर?
ईश्वर बस्तछ गहिराइमा, सतह बहन्छौ कति दुर?
खोजी गर्छौ हृदय लगाऊ, बत्ति बाली तेज प्रचुर ?

साथी यात्री बीच सडकमा, ईश्वर हिड्छ साथ
चुम्दछ ईश्वर काम सुनौला, गरिरहेका हात
छुन्छ तिलस्मी करले उसले, सेवकहरूको साथ ।

सडक किनार गाउँछ ईश्वर, चराहरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूका, पिडा, दु:खको गानामा
दर्शन किन्तु कहिँ दिँदैन, चर्म-चछुले कानामा ।
कुन मन्दिरमा जान्छौ यात्री, कुन नव-देश बिरानामा?

फर्क फर्क हे ! जाऊ समाऊ, मानिसहरूको पाउ !
मलम लगाऊ आर्तहरूको, चहराइरहेको घाउ
मानिस भइ ईश्वरको त्यो, दिव्य मुहार हँसाऊ

Abhas – Himnadi

जब घामको किरणले
मलाई स्पर्श गर्छ
जब
न्यानोपन भर्छ ममाथि
म पग्लन्छु
मेरा प्रत्येक अङ्गहरु चलमलाउँछन्
बतासले हल्लिएका पात झैं
मेरा जमेका दिन र रात चलमलाउँछन्
म बग्न थाल्छु
अविरल बग्छु
चोइटिएका चट्टानहरु सुमसुम्याउँदै
तल तल मैदान पुग्छु
कतै
बलेको आगोमा होमिन्छु र बाफिन्छु
कतै
बिरुवाका काण्डमा घुस्छु र रापिन्छु
जब म
मेरो यात्राभरि
चुडिँदै र कुडिँदै
महासागर पुग्छु
प्रचण्ड घामले तात्छु
शीतल हावाको बुइ चढेर
अकासिँदै उड्छु
जहाँ मलाई चट्याङ्ले पनि पोल्दैन
म कठाँग्रिन्छु
फेरि हिउँ भएर तल खस्छु
जब घामको किरणले
मलाई स्पर्श गर्छ
जब
न्यानोपन भर्छ ममाथि
म पग्लन्छु
बारम्बार पग्लन्छु ।

Sarita Tiwari – Phool Haru

सरिता तिवारी – फूलहरु

१.
निला, पहेंला फूलहरु
गुलावी फूलहरु
सेता,राता फूलहरु
आहा !
कसरी खेलिरहेका छन्
फूलहरुको प्रदेशमा-अनेकथरी फूलहरु

मलाई
फूलहरुले एक्कै स्वरमा
आत्मसम्मानका गीतहरु गाएको मन पर्छ
माफ गर
म फूलहरुलाई सौन्दर्यका निधि मात्रै मान्न सक्दिनँ
मलाई
फूलहरुले
आफ्नै काँधमा युग बोकेर हिँडेको मन पर्छ
मलाई
फूलहरुले
सगौरव विजय जुलुस निकालेको मन पर्छ

तर
तिमीले देख्यौ/देखेनौ ?
आज पनि
मान्छेको हाटबजारमा
हतार-हतार बेचिंदै थिए
अंगालाभरि फूलहरु

तिमीले देख्नेछौ
मेरा आफन्त फूलहरु
भोलि बिहान
मान्छेका अतिदुर्गन्धित गल्लीहरुमा
अर्धमुर्छित
बेवारिसे आवस्थामा फ्याँकिनेछ्न

२.
मैले बडो आदरसाथ
फूलहरुलाई
उठाएर राखेकी छु
आस्थाको उच्चतम् पहाडमाथि
र नाम दिएकी छु –
‘आमा’

आहा !
कसरी खेलिरहेका छन्
फूलहरुको देशमा
अनेकथरी फूलहरु

२०५६ / १ / १०

Kamal Gurung – Royeko Nepal Aama

कमल गुरुङ – रोएको नेपाल आमा

चार जात छत्तिस बर्णको साझा फूलबारी
आज रक्तभूमीमा परिणत भएको छ l
विभिन्न थरीका वादहरुको पछी लगेर
एउटा नेपाली अर्को नेपालीकै शत्रू भएको छ l
ति लैबरीका भाखामा झुल्ने निर्दोष हातहरु
आज, संगिनको बिषालु धारहरु संगै रेटिदै छ l
इतिहाँस त जित्नेहरुको लागि मात्र हो
आफैमा हरेर आफ्नै इतिहाँस मेटिदै छ l
तमाम नेपालीहरुको घर आँगनमा
सुख र शान्तिको चाहना खड्किएको छ l
देश निर्माणमा जुट्नु पर्ने हजारौ काँधहरु
आज, पहाडे र मधिशे भनेर भड्किएको छ l
त्येसैले, हे नेपाली नर-नारीहरु हो
भनिदेउ यो हिंसा के को लागि ?
हे नया इतिहाँस लेख्ने पारखीहरु हो
लेखिदेउ यो युद्ध के को लागि ?
बुद्धले फैल्याएको शान्तिको शन्देस
बम र बारुदको धूँवा बनेर मडारिएको छ l
बहूरुपी रुपहरु धारण गरी
फेरी युद्धको बर्षात हुन हतारिएको छ l
युद्ध होस् त नालापानिको जस्तो
जस्ले नेपाल आमाको नाम उच्च परोस् l
मातृभूमिको लागि प्राण आहूति दिने
शहिदहरुको रगत त्यसै खेर नजाओस् l
त्येसैले, किन गर्छौ हतियार बोकेर लडाई
अंगालीदेउ अब शान्तिको बाटोलाइ l
छाडिदेउ दाजुले आफ्नै भाइ मार्नलाइ
हँसाउनु परेको छ नेपाल आमालाइ l

-इजरायल
(Sent to Sanjaal Corps via Email)

Bhupendra Mahat – Arab Ko Taato Gham Ma (Nepali Gajal)

भुपेन्द्र महत – अरबको तातो घाममा

अरबको तातो घाममा तिम्रो मान्छे ढल्यो भन्दिनु
तिम्रै नाम जप्दा जप्दै उस्को श्वास चल्यो भन्दिनु ।

पूर्णिमाको जुन जस्तै तिम्रो रुप सजाउछु भन्दै
सुन टिप्न गाको मान्छे Continue reading “Bhupendra Mahat – Arab Ko Taato Gham Ma (Nepali Gajal)”

Lakshmi Mali – Euta Prashna

राजाहरुको वरिपरि
मन्त्रीहरु झुम्मिन्छन्
मन्त्रीहरुको वरिपरि
हाकिमहरु झुम्मिन्छन्
हाकिमहरुको वरिपरि
खजाञ्चीहरु झुम्मिन्छन्
खजाञ्चीहरुको वरिपरि
बहिदारहरु झुम्मिन्छन्
बहिदारहरुको वरिपरि
पियनहरु झुम्मिन्छन्
पियनहरुको वरिपरि
भिखारीहरु झुम्मिन्छन्
भिखारीहरुको वरिपरि
कुकुरहरु झुम्मिन्छन्
शक्ति र वैभवसामु झुक्ने
यो संस्कार
कहिले तोडिन्छ होला ?

Dipen Tamang – MMS Ma Gandhi

दिपेन तामाङ – एम एम एसमा गान्धी

अमेरिकन पपुलरिष्ट
वेब साइटमा
अहिंसाका गान्धीका
धोती पुत्काउन तम्सिएका
महाभारतको कौरबलाई
म अर्जुनको के वास्ता ?
म कृष्णको के वास्ता ?

मस्तिष्क र
कमप्यूटरको इच्छाले
बुद्धिजमको बुद्ध
हिमाली शंकरको
बाघ छालालाई
एम एम एसको
विश्व बजारमा
स्वात्तै सुर्काईँदैछ।

हेर !
बुद्धिको
अहमको र
प्रतीक एडभान्सको
बिम्ब …
कुहिनु जुर्मुरिराको
नालीको आलु जस्तै।

देख्नु हुँदैछ ?
स्तम्भ युगको
आधारशिला राष्ट्रियताको
‘महान’ – हरूलाई
‘हरूको’- व्यक्तित्वलाई
‘व्यक्तिको’- अस्तित्वलाई
फ्री कन्सेसनमा
ब्लुतुथको सहारामा
अतृप्त रूपरङ्ग बनाई
अदृश्यको पछिपट्टि
फ्लास् दिँदैछ।

दार्जिलिङ

Karuna Ghimire – Phool Ra Jindagi

करुणा घिमिरे – फूल र जिन्दगी
(नेपाल साप्ताहिक, अंक ४००)

आखिर
फूल पनि त
झर्नकै लागि फुल्ने हो ।

कसले भन्यो
फूल ओइलिँदैन भनेर
बोटभरकिा काँडासँग
सम्झौता गरेर पनि
सायद
दुख्नै जान्दैन फूल ।

फूल फुल्दै जाँदा
फूल ओइलिँदै जाँदा
फूल झर्दै जाँदा
यस्तो लाग्छ
आखिर
फूलको सुन्दरताजस्तै
जिन्दगी पनि त
झर्ने न हो एकदिन ।

Laxmi Prasad Devkota – Dui Prabriti

छिः छिः जन्तु !
घीनलाग्दो तँ !
मैलो, रोगाहा, मगन्ता !
चिथ्रो कन्था !
भुस्याहा ! शण्ठ !
सिँगान कटकट, छाला चटचट
धूलो लटपट !
नाली रट् !
किंकड ! शठ ! जा !
हावा गह्नायो मेरो वरिपरि !
दूर जा ! हट् !
नभए खान,
ढुङ्गा चपा न !
या नालीमा गईकन हाम्फाल् !
झट् !
संसार केही हलुको होला,
पैसा ? धत् !
हाइ हाइ मान्छे ! मेरो भाइ !
मेरो रगत ए ! मेरो मासु !
आ ! छातीमा एकबार टाँसूँ !
तेरो दशामा मानव आँशु !
हाय ! म तृप्त ! बेपर्वामा ?
भाइ ! तँ भोको, पिपासु ?
मेरो छानो ?
तेरो आकाश ?
मेरो प्राण ? र तेरो विश्वास ?
मेरो आँखा, तिनमा चश्मा,
तेरो प्रकृत दृग पनि भस्म ?
तैँ न आफ्नो ? अरुको वशमा ?
ओह रे संसार ?
आह ! गति यो ?
धन्य थिति यो ?
मानिसप्रति के मानिस
आफैँ मानिस छैन ?
मानिस हुँदैन ?
रात सधैँभर ?
उज्यालो छैन ?
मानव जाग्ला,
दानव हुँदैन !
सडक किनारा मानव कोही रोइरहेछ,
रोइरहेछ !
बहिरो दुनियाँ अन्धो गतिमा—
सोइरहेछ, सोइरहेछ !
विभूति–ले तर पूर्व गगन यो !
छोइरहेछ, छोइरहेछ

Lakshmi Mali – Timro Jastai

तिम्रै जुठो दूध चुसेर हुर्केेकी
तिम्रै जडाउरी भोटो लगाएर बढेकी
तिमै्र औंला समातेर हिँडेकी
तिम्री बहिनी
तिम्रो दीर्घायूको कामना गर्छे
तिम्रो सु–स्वास्थ्यको कामना गर्छे
प्रत्येक वर्ष भाइतिहार मनाउँछे
बिहानीको शीतजस्तै चोखो माया गर्छे
तिमीमाथि इस्पातजस्तै दह्रो विश्वास साँच्छे
बहिनीसँगको सद्भावले
तिम्रो जीवनका दिनहरु सुखमय हुन्छन्
खाने, लाउने, बस्ने बराबरी बाँड
तिमीलाई शान्ति मिल्नेछ
आमा खुलस्त भन्नुहुन्छ ः
तिम्रोजस्तै बहिनीको पनि ममाथि हक छ ।

Ramesh Prasad Gautam – Desh Ko Durdasha

रमेशप्रसाद गौतम – देशको दुर्दशा
(मधुपर्क २०६६ भदौ)

एउटा आलोक मान्छे
भौँतारिएर हिँडिरहेको सडकमा
आˆनै वेदनामा छटपटिएका
अनेक पीडाको प्रतिबिम्ब हो मान्छे ।
रुञ्चे हाँसो बोकेर
ठिङ्ग उभिएको मान्छे
आˆनै पीडाले लरखराएका खुट्टाहरू
टेकेको माटो र हेरेको आकाश नियाल्दै
पाइला सार्दै अजङ्गको मान्छे
अस्तित्व र पहिचानको खोजीमा
उकालीओराली र मैदानमा
भित्रभित्रै निहाली हेर्दै
नेपालभित्र बजि्रएको राष्ट्रिय समस्यामा
सूर्य-चन्द्र अङ्कित झण्डा बोकेर
एकतामा आबद्ध हुन नसक्दा
करोडौँ नेपालीको मुटुको चस्का बनेर
छटपटाइरहेको नेपालीको मनमा
चम्किलो भोलिको सपना हेरेर
बत्तीको ओझेलमा पर्न लागेको छ ।
कत्तिले भन्ने गरेका छन्-
बलिदान दियौ देशका लागि
पसिना बगायौ देशका लागि
तर पुगेन बलिदान सिँचिएन देश
मेटिन लाग्यो देशको पहिचान
अनि बल्भिmन लाग्यो मुटुको रोग
यसरी नेपालको मुटु चस्किरहेको छ ।
राजनीतिक दलहरूको भूकम्पले
कमजोर मुटुलाई हल्लाइरहेको छ ।
यहाँ क्रान्ति गरिबका नाउँमा हुन्छन्
सबैखाले विद्रोह देशका लागि भन्छन्
स्वदेशी र विदेशी सन्धि-सम्झौता गरिबका नाउँमा हुन्छन् ।
शान्ति-सम्झौता पनि तिनकै लागि भनिन्छ
गरिबीलाई नै दुहुनो गाई बनाउँदै आइरहेका छन् ।
इतिहासका दौडमा धेरै शासन बदलिए
व्यवहारमा खै आएन परिवर्तन
गरिबले नारा र झण्डा मात्र पाए
नाङ्गो शरीर र भोको पेट भर्न पाएनन्
हरेक दिनको जुलुसपछि साँझ गरिबले खै के पाए रु
जहिले पनि शोषण र उत्पीडनको माखेसाङ्लोमा परेर
हाम्रो इतिहास गरिबीको आँसु बन्न गएको छ
साँच्चै देशको दुर्दशा यस्तै छ ।

Saroj Dhital – Chhori Ra Chitra

सरोज धिताल – छोरी र चित्र

मेरी सानी छोरी
एउटा चित्र कोर्छे

मलाई देखाउँछे ।

“के हो बाबा यो ?”
म सोध्छु
“यो ? म !”
ऊ लाडिँदै जवाफ दिन्छे

सानी पुतली जस्ती ऊ
आफैँजस्ती भएर हाँस्छे ।

म राम्ररी हेर्छु
र देख्छु–
चित्रमा केवल एउटा बिन्दु छ ।

“के हो बाबा यो ?”
उसको केटाकेटीपनमा हाँस्दै म सोध्छु

“मान्छे !’

अलि गम्भीर भएर ऊ भन्छे
सिसाकलम चपाउँछे
र थुकले भिजेका ससाना औँलाले
मेरो ओठ समाउँछे ।

म फेरि उसको कृतिमा घोरिन्छु ।

अचानक यस्तो लाग्छ
उसले साँच्चै केही बनाएकी छ
जो छ र पनि छैन
छैन र पनि छ
केही छ उसको चित्रमा
जसलाई म केवल अनुभूत गर्न सक्छु ।

आँखा मिच्दै, जिल्ल परेर म सोध्छु
“के हो छोरी, यो ?
भगवानको विराट स्वरूप ?
कि ब्ल्याक होल सिंगुल्यारिटी ?”
जवाफमा ऊ मुसुक्क हाँस्छे
संसारको सबभन्दा सुन्दर पूmलजस्तो
साँच्चै मान्छेकी छोरीजस्तो ।

मेरी सानी छोरीले कोरेको चित्रमा
म उसैलाई देख्छु
मान्छेको निष्कलङ्क आदि सुन्दरता देख्छु
मेरो सबभन्दा सुन्दर कल्पनाको मान्छे देख्छु ।