Manoj Bogati – Khet Ma Akshar

माट्टैसरिको हातमा बज्छ मोबाइल फोन
फोनबाटनै सुनाउँछ लालेलाई परदेशमा बोलेको छोरोको आवाज
फोनको नयॉं रिङटोन बज्दा लालेले कान हल्लाउँछ
लालेले बुझेको छ खेतमा उम्रेका नयॉं अक्षरहरू

खेतमा मोबाइल बज्न थाले पनि
उम्रन छोड़ेको छैन कृषकको सपना
अझै पनि बीऊ काड्छे हरिमाया
हर्के अझ पनि हली नै छ।
लालेहरूको पुर्ख्यौली हड्डी कुहिएर बनिएको खेतमा
उम्रने अक्षर पढ़ेर हुर्किएको देश कसको अनुहार?

खेतमा कुलो हाल्ने ठेलाभन्दा अग्लो छैन अमेरिका।
खेतमा उम्रने तोरीको फूलभन्दा सुन्दरी छे ऐश्वर्य राय?
बाङ्गोटिड़ो बाटोभन्दा ठूलो व्यामायल कहॉं छ?
सयबर्षे बूढ़ो चश्माबिना पनि देख्छ
आफ्नो अनुहारको चाउरी ऐनामा।

यही गोठ हो
संसदभवन
जहॉं अचेल
दूध फाट्‌न थालेको छ
मही बिग्रन थालेको छ।
घिऊ जस्तो नीतिहरूमा कीरा पर्न थालेको छ।
गोठमा धूपबत्ती गर्न नजान्ने गोठालोहरू पठाएपछि
गोठको देउता बिग्रेको छ।
किसानहरू जुलूसमा छ
हामीलाई हाम्रै अनुहारको छाला चाहिन्छ
हामीलाई हाम्रै माटोको चिहान चाहिन्छ।

अक्षरहरू खेतलाई पढ़ाइरहेछ
टेक्नोपोलिटिक्स।
खेतमा लेखिएका लालेहरूको इतिहासलाई
किनारीकृत गर्ने लेखकराज्यका
रसायनिक मन्त्रीहरूको बिरूद्ध
कोदोको बाला जस्ता मुठ्ठीहरू उठाउन सिकाइरहेका
ती अक्षरहरूले पनि बोकेका छन्‌
च्यातिएका बाजेका अनुहारहरू।