Homnath Pathak – Naari

होमनाथ पाठक – नारी

कहिले आमा कहिले छोरी
बुहारी कहिले त जीवनभरि
बन्छिन् पत्नी कसैको नारी
पाउँछन् पुरुषहरू सहयोग भारी
कहिले भृकुटी कहिले सीता
नारी नै त हुन् काली नि त
प्रत्येक व्यक्तिको सफलतामा
कारक बन्छन् नारी नाम
नारीले गरुन् सम्मान नारीको
नारीको विकास सम्भव छ तब पो
भोग विलासका साधन होइनन् नारी
बन्न सक्छन् यिनै परिर्वतनकारी
हेलेन र नाइटिंगेल पनि नारी
जन्मून् सुपुत्री वारिपारि
नारी शिक्षित बने पो जब
परिवारै शिक्षित बन्छ तब

Rajendra Prasad Panta ‘Tarakini’ – Dharti

राजेन्द्रसाद पन्त ‘तारकीणी’ – धर्ती
(मधुपर्क २०६६ चैत)

धर्तीले फेरेकै छैन टालो अझैं
फाट्न बाँकी अँध्यारो छ कालो अझैं ।
आइनौ बेदना जन्सुनामी हुरी
विश्ल पल्टाउने भुइचाँलो अझैं ।
लड्नु बाँकी अझैं भिड्नु बाँकी अझैं
सर्वहारा चुली पुग्न पालो अझैं ।
शोसिएकाहरू पिसिएका सबै
रक्तछाल वीरको बग्न आलो अझैं ।
धर्तीमा खस्छ आकाशगंगा अब
देख्दिनौं दूरको त्यो उज्यालो अझैं

– न्वादेउ-६, नाकाली, बैतडी , हालः काठमाडौं ।

Krishna Prasai – Pitirahanchha Timro Sahar

कृष्ण प्रसाईं – पिटिरहन्छ तिम्रो सहर

ए, काष्ठमन्डप !
सपना छोडेर विपनामै आजभोलि
किन निर्धात पिटिरहन्छ तिम्रो सहर मलाई
कहिले भीड, भाषण र दाम भएर पिट्छ ।
कहिले नारा, जुलुस र जाम भएर पिट्छ ।
कहिले वेनाम र वेकाम को बन्द भएर पिट्छ ।
पिट्ने अनेक बहाना मात्र खोजिरहन्छ तिम्रो सहर,
चाँहे त्यो पानी र पहाडले होस् ।
चाहे त्यो खोलो र खानीले होस् ।
वा
बिनासित्ति डस्ने उदन्ड बानीले होस् ।
वर्षौदेखि बज्रिरहेछ बज्रपात टाउकामा
गोदिरहेछ गारतका गोलीले झैं

डामिरहेछ तिम्रो सहरले बिना कुनै डर ।
तिम्रो मुटुको मझेरी मानिने
रानीपोखरीको डिलै छेउ उभिएको
त्यो जुँगे बुढाको कुटिल धरोहर
किन, रातभर घुरेर डिस्टर्व गरिरहन्छ मलाई
टुडिखेल भित्रका घोडसवार पूर्व श्री३ हरूको हंशसम्झेर
किन सासन गरिहेछ जङ्गे कानुन अझै,
एकैक्षण भएपनि विश्राम लिए हुन्थ्यो कि ?

तिम्रो सहरका मालीलाई पनि सुत्न दिए हुन्थ्यो कि ?
किन अटेर पहाड झै टस् न मस् भएर
सदियौं देखि तिम्रो घन्टाघर
वेपरवाह घुमाइरहेछ आफ्ना परचक्री पखेटाहरू

समयको लगन मुठ्ठीमा बाँधेर
प्रतिपल घटाइरहेछ हाम्रो आयु ।
एउटै गोलार्धमा फन्को मारिरहने
कामुक वेरोजगार वायुहरू झै
जिस्क्याउँदै रानीपोखरीको नितम्बलाई
किन बेतुक वहकिरहन्छ तिम्रो सहरको सास

पिटिरहन्छ निरन्तर निर्दोष खाल्डोलाई ।
विधिको सासन निषेधित तिम्रो सहरमा
सति समय छादेर
भीमसेन झैं अजङ्ग उभिएको
उन्मत्त धरहराले पनि
किन देखेको होला आफ्ना आँखाले
मात्रै सासकको रगत

किन मैले पनि पढेको होला
त्यै रगतलाई देशको इतिहास भनेर ।
किन मैले नधिक्कारेको होला त्यतिखेरै
त्यो कलंकित कालो कोतलाई

किन नसरापेको होला
ती सत्ता चलाउने सासकलाई,
रगतले लत्पतिएको खुनी सालिकलाई,

निरङ्कुश भारदारी हुकुमलाई ।
कसरी भनौं म
सदियौं पूर्वदेखिको
पीडाको पर्याय बनेको तिम्रो सहरको नियति गाथा

आफूले आफैलाई गरेका आफ्ना गुनासाहरू
अनि कसरी गाली गरौ म आफैलाई
तिम्रै माटोले दिएको ओत ओढेर बसेको म
कसरी सुनाउँ तिमीलाई यसो भनेर कि ,
मलाई यो सहरका —
फूलहरूले पिटिरहेछन् ।
पातहरूले पिटिरहेछ ।
र पिटिरहेछन् ,
बैजयन्ती बतासका
हुलहरूले ।

Bhimnidhi Tiwari – Kopila

भीमनिधि तिवारी – कोपिला

साना बालक, बालिका भुवनका हुन् फूलका कोपिला
शिक्षाको मल, प्रेमको जल छिटी गर्छौँ भने संचिता
फुल्नेछन् दिन मध्यमा यिनिहरू बास्ना अनेकौँ दिई
त्यो बेला अनि यो उजाड दुनियाँ बन्नेछ कस्तो भई !

सारा दुषित वायुमण्डलभरी घुम्ला जसै केसर
त्यल्ले शुद्ध पवित्र पार्दछ सबै, बाँकी अरू के छ र?
झिल्का ‘मानवता’ यहीँ मनुजमा सल्केर जाला अनि
स्वार्थी भाव विनाश हुन्छ, तब ता सर्वत्र शान्तिध्वनि !

Dr. Madhu Madhurya – Samanantar Drishya Haru

डा. मधु माधुर्य – समानान्तर दृश्यहरु

आँखा खोलेपछि
रसायनिक प्रतिक्रिया शुरु हुन्छ भित्र-भित्रै
र देखिन थाल्छन् विविध दृश्यहरु
प्रेम र घृणाका प्रकरणहरु
अर्थात् निर्माण र विनासका शृंखलाहरु !

भगवानले मान्छे बनाएको देखेको छैन
मैले
मान्छेले –
भगवान बनाएको देखेको छु
उसको प्रतिमा बनाएको देखेको छु
मान्छेलाई पशु बनाएको देखेको छु

आज मैले आफ्नै हातले
बुद्धको प्रतिमा बनाएको छु:
खुला छन् आँखाहरु:
कुन दिशा फर्काउन पर्ने हो उसको आँखा ?

पश्चिम फर्काउने हो भने
उसको आँखाले
असान्जको विकिलिक्स क्यामराले हालसालै खिचेको
बेडरुममा लम्पसार अमेरिकाको नाङ्गो फोटो देख्न सक्छ
मान्छेको औपचारिक/ नक्कली हाँसो देख्न सक्छ
र भड्किन सक्छ उसको वृत्ति, मनोवृत्ति र समाधि !

पूर्व फर्काउने हो भने
उसको आँखाले
भारतवर्षमा अर्को एउटा नकल्ली कपिलवस्तु देख्न सक्छ
जहाँ ऊ जन्मेकै छैन
संविधान बिनाको कुनै एउटा हिमाली देश देख्न सक्छ
बिदेशी हितको खातिर
आफ्नै देश बेच्न उद्दत नेताहरु देख्न सक्छ

उत्तर फर्काउने हो भने
विश्व- आर्थिक ठेकेदार तिब्बत मास्तिरको देश देख्न सक्छ
जहाँ औतारी “बुद्ध”हरूलाई “पर्सन नोनग्राड” घोषणा गरिएको छ

तल धरतीतर्फ फर्काउने हो भने-
द्वन्द्द,अभाव, आँसु, रगत, रोग, विनास र सन्तापका
सात समुद्र देख्न सक्छ
“मृत्यु उपहार” लिएर बस्ती-बस्तीमा
सान्ताक्लाउसको भेषमा
घुमिरहेका मनुवाहरू देख्न सक्छ

र मैले चुपचाप उसको टाउको आकाशतिर फर्काइ दिएँ
अब माथिबाट जल्ले जे खसाए पनि
बुद्धको टाउकामाथि टुटुल्को उठ्ने खतरा छंदैछ
अहोरात्र
बादलमुनि
ओसामाको घुँयत्रो-निशाना छल्दै
अट्टहासले मारेको मेलोसेभिच र सद्दामको कंकालको खोजीमा
“प्रजातान्त्रिक बम” लिएर उडदैछ
एउटा भोको
अथकित
आदिम चील !

०१ जनवरी २०११
हाल: मस्को, रसिया

Pratima KC – Prakriti Tainle (Nepali Gajal)

प्रतिमा के.सी. – गजल: प्रकृति तैले

सुन्दर संसार रचेर किन गोडेर लगिस प्रकृति तैले
मानब मुटु दिएर किन फोडेर लगिस प्रकृति तैले

नराखेर केहि दया धर्म हजारौ मानिसको बस्ती उजाडी
कठै नि लछार पछार गर्दै तोडेर लगिस प्रकृति तैले

आफन्तहरु छुटाई फुटाई धेरैको एकै चिहान गराई
बाँच्नेलाई जीबनभरी पींडा छोडेर लगिस प्रकृति तैले

बुढाबुढी लालाबाला अनि युवा सबैको भाबना जिलाएर
बिभत्स रुप सुनामीको नाम जोडेर लगिस प्रकृति तैले

त्राही त्राही पारेर मान्छे आइस संसार नै त्रसाउने गरि
ज्ञान र विज्ञानको गति पनि मोडेर लगिस प्रकृति तैले

( ११ मार्च २०११ गतेका दिन जापानमा गएको नरसंहारकारी भूकम्प तथा सुनामीबाट प्रभाबित सम्पूर्ण मानब समुदायको स्मृतिमा रचित गजल )

१७ मार्च २०११
बेलायत

(Sent to Sanjaal Corps via Email)

Biplav Pratik – Sthiti

बिप्लव प्रतिक – स्थिति

म हाँस्न सक्छु, म रुन सक्छु
घृणा गर्न सक्छु
माया पनि गर्न सक्छु
जीवनको गीत
गाउन सक्छु, नगाउन पनि सक्छु ।

साथीहरू भेट्न सक्छु
बैरीहरू भेट्न सक्छु
भेटेको चीज नभेट्न सक्छु
नभेटेको चीज खोज्न सक्छु
खुसी हुन सक्छु, रिसाउन पनि सक्छु
चाहेँ भने बाँड्न सक्छु
फेरि केही खोस्न पनि सक्छु
म सुर्य निल्न सक्छु
म जून र्झार्न सक्छु
तर, म कमजोर पनि छु
दम्भले म मात्तिन सक्छु
हीनताबोधले आत्तिन सक्छु
म के हुँ सोच्न सक्छु
आफैँलाई बिर्सिन पनि सक्छु
स्वतन्त्र हुन सक्छु
तर, पराधीन पनि हुन सक्छु
शक्ति यति प्रशस्त छ मसँग, थाहा पाउन सक्छु
शक्ति यति प्रशस्त छ मसँग, चाल नपाउन सक्छु

तर, कतै पनि ढल्किँदा
पहिरो जान सक्ने सम्भावनाचाहिँ
किन यथावत् रहिरहेछ ?
कुनै एउटा सिरान समात्दा
अर्को पुछार छुट्ने श्रापचाहिँ
किन यथावत्, शाश्वत रहिरहेछ ?
यही सोचिरहेछु,

…नसोचिरहेको पनि हुन सक्छु ।

घट्टेकुलो, ९ अप्रिल १९९१

Bhagawati Basnet – Manabiya Parikalpana Haru

भगवती बस्नेत – मानवीय परिकल्पनाहरू

सन्ध्या कालमा
मधुर किरण झै
आशको झनिो किरण बोकेर
अनगिन्ती समस्याहरुस“ग
पाठेजोरी खेल्दै
गगन चुम्ने आशमुखी
लहरमा लहरिने
यो कस्तो सभ्यता-

असहज परिस्थिति
र अन्जान परिबेशमा
आफुलाई अनुकुल बनाउदै
आफ्नो इच्छा अनि
चाहनाको प्रबाह नगरि
संघर्षरत हुनुपर्ने
यो कस्तो बाध्यता?

जीवन अस्थाइ हुँदाहुँदै पनि
अजम्बरी सम्झदै
आज दु:ख सहँदै
भोलीको सुखको कल्पनामा
स्वचछ कन्चन आ“खामा
सजाउदै हिडिरहनु पर्ने
यो कस्तो बिडम्बना-

सुखको खोजिमा भौतरिदै
आफ्नो आमूल्य समयलाई
अरुकै लागि खर्चेर
अरुकै खुशीमा दुःख लुकाएर
आफन्तको मायाबाट
बिछोडिएर बाँच्नु पर्ने
यो कस्तो विवशता?

Manita Limbu – Himal Pahad Tarai

मनिता लिम्बु – हिमाल पहाड तराई

हिमाल,पहाड,तराई बस्थे पहिले सबै मिलीजुली
हिजोआज के भा को छ झगड्छन मै हु ठूलो भनि
सबै मिलीजुली बस्थे,फुक्थे एकताको ध्वनि
आजकल कलहमा छन जातिय राज्य भनि
के भा को छ यिनीहरूलाई थाहा छैन कुन्नी
लुछाचुँडी गरिहिडछन आफूलाई नै भूलि
तराई,पहाड,हिमाल मिली बसे फेरि कति हुन्थ्यो जाती
शिर ऊचो,छाती चौडा हुन्थ्यो होला कति
बस्नु पर्छ हामी सबै फेरि एकतामा मिली
सबै मिली गुञ्जाउनु छ फेरि शान्ति ध्वनि

Momila – Durgam Uchai

मोमिला -दुर्गम उचाई

आफूलाई कतै छाडेर
अधुरो म
कविता पूरा गर्न सक्दिनँ ।

जीवन रहेसम्म नै
अनुभूतिको विस्तारमा म
अन्तिम सिमाना कोर्न सक्दिनँ ।

यतिखेर
बुझिएको जीवनको अन्तिम पृष्ठमा
पीडाको विशेषाङ्क पढिरहेछु
देवालयहरूमा
विलापको घण्ट बजिरहेछ
र पनि म
बरफको अन्तिम उचाइ सोच्न सक्दिनँ ।

मानार्थ खुसीमा म
बुझनुका दुर्गम उचाइ उक्लिरहेछु
र लाग्दै छ
मैले नदेखेको ईश्वरबाट अलग्गिएर
मेरो माटोको घाइते छाया
मलाई पछयाइरहेछ
र पनि मेरो माया नै अन्तिम भनेर
माटोलाई
मसँगै सती आउन
अनुरोध गर्न सक्दिनँ ।

Saroj Dhital – Baadal Ko Kavita

सरोज धिताल – बादलको कविता

कहिले
कसरी
बादलको कविता लेख्न थाले छ कवि
रङ ?
आकृति ?
खै मनमा बसेछ बादलको कस्तो छवि !

बादलकै कवितामा ऊ रमाइरह्यो
बिर्सिएर सबथोक, शब्दशब्दमा बादल समाइरह्यो ।

निमेष, पल हुँदै शायद युग बिते ।

थाकेका औँलाहरू
पाट्टिएका गोडाहरू
दुःखेको ढाड सोझ्याउन
थोत्रो भित्ताको आड लिएर
उठ्यो जब जिउ तन्काउँदै ऊ

जीवनको अधैर्य तरङ्गले
उसलाई छाडेर भागिसकेछ
दुनियाँको मतलबी रङले
गिज्याउँदै कविलाई त्यागिसकेछ
बादलको कविता लेख्दा–लेख्दा
कविताकै बादलले निलिसकेछ ।

Rakesh Karki – Bishwas Ka Bihani (Nepali Gajal)

इन्जिनियर राकेश कार्की – विश्वासका बिहानी (गजल)

विश्वासका हरेक बिहानी छरिदियौ ममा
मुटुका छिद्राहरुमा माया भरिदियौ ममा

एउटा रुकाई जिन्दगीको अन्त्य हैन रैछ
पाइला पाइला खुशी छोड्दै सरिदियौ ममा

नजिक आउँदै ढुक्ढुकीले मेरो मन छुँदै
न्यानो न्यानो पन्ले लुट्पुटिदै झरिदियौ ममा

सुम्सुमाउँदै दु:खाई मेरो आफूमा थापेर
थोपा थोपा लौ मुस्कान बन्दै परिदियौ ममा

उज्यालो देखिँरहेँ जीवनमा तिम्रो प्रिती छायो
रमाई रहेँ रसिलो प्रेम गरिदियौ ममा

– लस् एन्जेलस्

Pravin Khaling – Mato Ko Gandha

प्रवीण खालिङ – माटोको गन्ध

मेरो हजुरबाको नङ्ग्रीले खोर्सिएपछि
उनको हजुरबाको विर्ता मौलिएको हो
उसरी नै मेरो बाले यही माटोमा
जीवनको पानी नउम्रने बाँझोमा
अरूले शीत ठान्ने पसिना भए
अरूले रीत ठान्न असिना सहे।
बाकै पौरखले देश हिँड्ने भयो
बाकै पसिनाले देश धान भयो
बाकै रगतले सीमाना पर्खाल भयो।

आफ्नो सन्तानको रगतको आहाल टेकेर
माटोको टिका लगाएर पौरखको बलमा
मेरो बाले अरूलाई आफ्नो भन्न खोजे
देशमा आफ्नो अधिकार रोजे।

माटोको मायाले नै उनको हातमा झण्डाको लट्ठि थामियो
झण्डीहरू मक्किन्दै गए
झण्डीहरू च्यातिन्दै गए
झण्डीहरू फेरिन्दै गए
यत्ति हो बाको माटो प्रेम र सङ्कल्पको लट्ठी ठाँडै रह्यो।

बाहरुको उपस्थिति संविधानलाई थाहा छ
बाहरूको वीरता देशलाई थाहा छ
तर जब माटोको गन्ध सुँघ्न चहान्छ
संविधान अन्धो हुन्छ, देश बहिरो हुन्छ
तरै पनि बाको विचार ढल्दैन
दबाउ र शोषणले बज्रजस्तो उनको हड्डी गल्दैन
बरू
प्रत्येक सम्झौताको घातमा
मुट्ठी कसिलो पार्छन उनी कञ्चनजंघाको फेदमा।
त्यसबेला तिक्खर भएर आउँछ माटोको गन्ध
अझ तिख्खर भएर आउँछ माटोको गन्ध।

Siddhicharan Shrestha – Euta Bichar (Nepali Muktak)

सिद्धिचरण श्रेष्ठ – एउट विचार

पश्चिम नभमा लाली छायो, साँझ पर्यो अब आज मर्यो,
समय सिन्धुमा आयु र बलको यौटा सानू बूँद खस्यो ।
के के भई अझसम्म अडेको जीवनको मेरो छेउ
तिमिर घडामा चोपी फेरि नूतन पारी छ निकाल्नु ।

Manoj Kafle (Mansoon) – Kalpana Mai Bilai Gaye (Nepali Gajal)

मनोज काफ्ले मनसुन – कल्पनामै विलाई गए

कल्पनामै विलाई गए छालहरू जिन्दगीका
मुटु चिरी हासीरहे हालहरु जिन्दगीका

सिर्जनाका फूलहरु नफुलेरै ओइली गए
अन्येउलमै बिते चौबिस सालहरु जिन्दगीका

रोपियो झिरमा अनि आगोको रापमा बल्यो
दिउसै अन्धकार भए जालहरु जिन्दगीका

हर मोडमा गाली पाएकै छु फेरिपनि
बिना अर्थ कति खाएँ गालहरु जिन्दगीका

सुनौलो सपना कल्पना मा बितिरहेछ
यता हिंडे उता पुग्छन चालहरु जिन्दगीका

Homnath Subedi – Matantar Bachayera Manaau Bijaya Aba

होमनाथ सुबेदी – मतान्तर बचाएर मनाऊ विजया अब

मोदिआइन् पढें आज दशैँ हो विजयोत्सव
मान्छे मारी अमान्छेको पुजनै नगरौं अब .

मान्छे अर्जुन हुन सच्चा कृष्ण ता अमानवी न हुन .
मान्छेले मान्छेको पीडा बुझी अर्जुन भन्दछन .

हतियार चलाएर मान्छे मार्न म सक्तिन
यी सारा बन्धु हुन मेरा हत्यारो त म बन्दिन .

मान्छेले मान्छे मारेमा केको धर्म रहन्छ र ?
छोटो मीठो छ यो प्राण नाशी को स्वर्ग जान्छ र ?

नातापाता कुनै तेरा कुनै मेरा यही न हो
मतान्तर सदा हुन्छ मान्छे मार्नु सहन्न यो .

विकल्प अरु नै खोजौं नमारी बन्धुबान्धव
भन्ने अर्जुन हुन मान्छे कृष्ण ता अति मानव .

कथा यथार्थको मानौं न लाग्यौं कृष्णको पछि
पूजा गरेर देवीको नकातौं मान्छेको खशी .

अस्तित्व मान्छेको मानौ न मानौ देवकल्पना
विश्व बन्धुत्व हो ठूलो अर्जुनै हुन महामना .

देव हुँ धाक लाएर कृष्णले गरी कल्पना
स्वर्ग जान्छौ भनी मारे लाखौं लाख हिनामिना .

झाँक्री जस्तै जगाएर बिराट रुप कृष्णले
युद्ध बिरोधी भड्काइ पारे अर्जुन पागल .

देवको नाम पारेर महाभारत युद्धमा
होमे बन्धुहरुलाई पारी त्यो चक्रव्यूहमा .

मानव बंश नासेर अमानवी मनुष्यको
झूटो लोक देखाएर मार्नु हुन्न मनुष्य यो .

अर्जुनै बेश छन् मान्छे, मान्छे नै बन्नु पर्दछ
मतान्तर भए धेरै विकल्प खोज्नु पर्दछ .

परलोक तथा देव कृष्णका फतुरे कुरा
अर्जुनै सत्य हुन बन्धु मानौं यी मानवी कुरा .

अधिकार को चाहन्न, लोभहीन को हुन्छ र ?
धृतराष्ट्र त मान्छे हुन् हैनन् ती झूठ किन्नर .

बन्धुको बीचमा युद्ध न गर्ने भनी अर्जुन
हतियार हटाएर बसे हुन् मानवी हुन .

मान्छेले मान्छेको सीमा चिन्नु पर्दछ आज हे
तिमी एक्ला छदै छनौ मान्छे अर्जुन छन् सखे !

पछि लागेर अर्काको न मास बन्धुबान्धव
एक्काइसौं शताब्दीका मान्छे हौँ बुद्धी हुन्न र !

मुन्ड़ेमुन्ड़े मतिर्भिन्ना स्वतन्त्रता यही न हो
निर्वाचन गराएर बिकल्प वरणीय हो .

युद्धको शङ्ख घन्काई न मार कलिला कला
मान्छेका सिर्जना राम्रा हामीले पढ्नु पर्छ हा !

आज हारे पनि भोलि सत्यको जीत hunchha हे !
गल्तीले न उठाउ यो महाभारत युद्ध हे !

समाधान तबै हुन्छ जब सहन सक्तछौ
अपराधी बनी आफै शान्ति के गरिराख्दछौ ?

धर्मको नाम पारेर फँसाए भक्तले त्यहाँ
यहाँ अर्जुन झैँ ऐले न बनौं कुरुक्षेत्रमा .

होश राखी बचाएर बन्धुको ज्यान युद्धमा
खोजी विकल्प छान्नेछौ भन्छन अर्जुनले यहाँ .

एक्काइसौं शताब्दीको लोकतन्त्र विकल्प छ
मतान्तर बचाएर हामीले बाँच्नुपर्दछ .

दुई दिने जिन्दगीमा जित्नु हार्नु कहाँ छ र ?
धर्मको नाममा लड्नु हैन यो विजयोत्सव .

मोदिआइन् पढी आज सिकेका मसिना कुरा
मान्छेको मार्गमा लागौं न धसौं युद्धका छुरा .

विजया दशमी आयो सबैको जीत होस् यहाँ
मान्छे सारा मिली जितून विश्व वन्धुत्व होस् यहाँ .

मेरो चित्त बुझी लेखें बिपीका यस तर्कमा
मतान्तर अरु होलान होमका यक्ष प्रश्नमा .

मान्छे यो धारणा मात्रै विचार गर्नु पर्दछ
विचारकै महा यात्रा स्राष्ठाले गर्नुपर्दछ .

स्रष्ठा हो विश्वको द्रष्ठा लेख्नुपर्छ यथार्थता
मान्छेको हितको लागि न लेख्नु स्वर्गका कुरा .

डायस्पोरा भयौ हामी भेद संस्कृतिको न हो
दर्शनैमा सबै मान्छे बाचौं यो कामना न हो .

कामना गर्नको लागि छेक थुन कहाँ छ र ?
मतान्तर बचाएर मनाऊ विजया अब .

Krishna Adhikari Chintit – Prem Patra

कृष्ण अधिकारी ‘चिन्तित’ – प्रेमपत्र

आदरणीय पाठकवृन्द
मेरा हरेक गीत र कविताहरु
किन प्रेमपत्र बनिदिन्छन्?
साँच्चै प्रेमपत्र बनेरै हो कि
मान्छेहरु त्यसै भनिदिन्छन्?
विगतमा त्यसका लागि लेखें
त्यो त्यसका लागि मात्र भएछ
वर्तमानमा यसका लागि लेखिरहेछु
यो यसका लागि मात्र भइरहेछ
भविष्यमा कसका लागि लेख्नुपर्ने हो?
त्यो पनि त्यसका लागि मात्र हुने होला?
म आफैं लेख्ने, मेरा लागि खै त?
आफूले आफैंका लागि लेख्न मिलेन
मेरा लागि अरुले लेख्नपर्ने रहेछ
विगतमा मलाई त्यसले केही लेखेन
वर्तमानमा पनि मलाई यसले केही लेखेको छैन
भविष्यमा पनि मलाई कसले के लेख्ला र?
विगतमा पनि मैले मात्र लेखेछु
वर्तमानमा पनि मैले मात्र लेखिरहेको छु
भविष्यमा पनि मैले मात्र लेख्नुपर्ने?
यो कस्तो खाले न्याय हो?
मैले मात्र एकोहोरो कति लेखौं?
एक मन त लेख्न छाडी दिऊँ कि जस्तो लाग्छ
तर भावनाका भेलहरु उर्लिएर
मेरा मनका बाँधहरु भत्काइदिन्छन्
केही न केही नलेखी सुखै पाउँदिनँ मैले
विगतमा मायामा बसेर लेखेको थिएँ
वर्तमानमा छायामा बसेर लेखिरहेछु
भविष्यमा कसरी लेख्नुपर्ने हो?
चिन्ताको विषय बनेको छ।
विगतमा सीमा तोकेर लेखिनँ
वर्तमानमा स्वार्थ बोकेर लेखेको छैन
भविष्यमा कुनै कुरा छोपेर लेख्न नपरोस्
विगतमा माया जोगाउनका लागि लेखें
वर्तमानमा माया जोगाउनका लागि लेखिरहेछु
भविष्यमा माया रोगाउनका लागि लेख्नुपर्ने होला
विगतमा जे भोग्नुपरेको थियो
वर्तमानमा त्यही भोग्नुपरेको छ
भविष्यमा पनि त्यही भोग्नुपर्ने?
यो कस्तो खाले बाध्यता हो?
आदरणीय पाठक वृन्द
आफैं मूल्याङ्कन गरिदिनुहोस्।

Ajaya Paudyal – Rukh Tyo Rahe Samma Hangadar

अजय पौड्याल – रुख त्यों रहेसम्म हंगादार

रुख त्यों रहेसम्म हंगादार
संसारको नै काम लाग्छ
जब सुकेरै जान्छ तापनी
जलाऊंन काम लाग्छ
नरहे पनी खुकुरी नफ्याक है दाप
सत्रुलाइ तर्साउन काम लाग्छ
थोत्रै भयेपनी घर नबेच साथी हो
गरीबीमा टाउको लुकाऊन काम लाग्छ

यहाँ जत्तिनै दुक्ख बज्रेपनी टाउकोमा
मन ता मेरो उतै चन्द्र सूर्य द्वोजामा छ
बर्बाद परिसक्यो येता अमेरिकाले
आमा सबैलाई भंछिंन छोरो माजामा छ

झूट बोल्न हुन्दैन भन्नेलाई पनी झुठो बनाईदेउ
देशमा झूट बोल्नेहरूको नै अगुवाई प्रजा मा छ

Bhupin Byakul – Fohor

भूपिन ब्याकुल – फोहोर

के प्राण बाँकी हुन्छ र ती घरहरुमा
जहाँ कुनु फोहोर हुँदैन !

जीवन केवल
नमेटिने तृष्णा हो सौन्दर्यको
फोहोरको नदी किनारमा
फोहोर त त्यहाँ पनि हुन्छ
जहाँ पुग्छन सपनै सपनामा
उचाइ टेकेरफर्किरहेका जाँगरिला खुट्टाहरु
जहाँ छिर्छन रहरको बन्द ढोकाबाट
गहिराइ छोएर उत्रिएका सुन्दर आँखाहरु
फोहोर त्यहीं हुन्छ
जहाँ फुल्छन अदृश्य सम्भावनाहरु

असमर्थ छन् फोहोर गर्न
मुखियाको लौरिलाई झैं
समयको जी-हजुरी गरिरहेका अमुक गाउँहरु
श्रमिकका आवाजहरु निल्ने हृदयविहीन सहरहरु
कोठाभित्र अचेत पल्टिएका रोगि हावा
र मानिसको स्पर्श पर्खिरहेका किताबहरु !

गरिबीलाई झैं
चरम असफलतालाई झैं
र मेरा अभावका अनन्त परतहरुलाई झैं
फोहोरलाइ घृणा गर्ने मेरो सभ्य मित्रहरु
म कसरी सम्झाउँ तिमीहरुलाई
कि फोहोरको क्षितिजबाट उदाउँछ
कानुन र राज्यसत्ताको नयाँ घाम
फोहोरकै आकाशमा टिम्टिमाउँछन
कला र समस्त सौन्दर्यका जुनतारहरु
कसरी सम्झाउँ
कि फोहोरकै कडा आवरण फुटालेर
चल्लाझैं निस्कन्छ स्वयम् सफा पनि !

फोहोर रुमालले अनुहार पुछने पृथ्वीमा
फोहोर गरेरै जन्मिन्छ मानिस पनि !

निरपेक्ष कहाँ हुन्छ र स्वच्छता
बाँच्नको लागि फोहोर गर्नु जरूरी हुन्छ … … !

Love Gaunle – Achel

लव गाउँले – अचेल

अचेल
जताततै खोला छन्
पानी कतै छैन
जताततै आँखा छन्
नानी कतै छैन
कस्तो अचम्म भैगयो विज्ञान !
हेर्दा सूर्य छ तर
बिहानी कतै छैन !
हेर्दा सूर्य छ तर
बिहानी कतै छैन !!