Matrika Pokhrel – Sabai Kura Sancho Hunechha

मातृका पोखरेल – सबै कुरा साँचो हुनेछ

सबै कुरा साँचो हुनेछ त्यसबेला,
बगरमा पल्टिएका
काला ढुङ्गाहरू बोकेर
घोडाहरू शिखर चढ्न खोज्नेछन्,
आकाशबाट चराहरू लड्नेछन्,
र, भ्यागुताहरू चराको प्वाँख टाँसेर
सिंहदरबारभित्र पस्नेछन्,
आजका मितिको टुकुचाको पानी अँजुलीमा उघाएर
शुद्धजलको बहस छेड्नेछन् पण्डितहरू,
बाघमाथि चढेर मृग
आफ्नो लक्ष्यको,
सुदूर यात्रा तय गर्नेछ,
लाटोकोसेराहरू,
घामको सुन्दरताको बखान गर्न
व्यासासनमा बस्नेछन्,
र, इतिहासको क्रुर नियति बोकेर
वर्तमान बगिरहनेछ
अनाथ रगतको बागमती ।

* * * *

हो, सबैकुरा साँचो हुनेछ त्यसबेला,
अस्पतालभित्र डाक्टरहरू
जीवित र मृत मान्छेहरू
छुट्याउन असमर्थ हुनेछन्,
वर्षाको भेलले,
देवीथान भत्किएको बेला
सिद्धान्त रक्षाका लागि
अदालतमा मुद्दा लड्नेछन्
निरीह राजनीतिज्ञहरू,
मेरो गाउँको निश्चल कुवामाथि
फेरि घोलिने छन्
एसिडका रङ्गीबिरङ्गी पोकाहरू,
हो, त्यसबेलासम्म
यो सब भइरहनेछ,
जबसम्म बग्ने छ–
हाम्रो रगतमा पहेँलो रङ्ग,
सबै कुरा सामान्य हुनेछ त्यसबेला
जबसम्म देखिने छ
हाम्रो आँखाको पर्दामा
कात्रोको जस्तो पहेँलो रङ्ग,
हो, त्यतिबेलासम्म
सबैकुरा साँचो हुनेछ ।

Komal Shrestha Malla – Akaal Ka Mrityu

कोमल श्रेष्ठ मल्ल – अकालका मृत्यु ?

स्वतन्त्रताको हावा चलेछ किन ?
प्रलय उन्माद बिध्वन्स बोकेर
उफ !
बिजय ? पराजित !!!
सौन्दर्य ? बिस्थापित !!!
कठै कठै धर्ती कम्पित कम्पित ….. ???
समुन्द्र आखामा आखामा छल्केर …. !!
आस्था विस्वास
पग पग
पल पल
क्षण क्षण
जिन्दगी किनारा काट्दै
बिजयको गर्वमा कसि घोटी रहेछ
लास छरिएका आटका खाट हरुमा

पराजय हल्लीदै छ
बिध्वंसात्मक नसामा
कर्महरु सल्किदैछ
आवेक मृत्यु अगेनामा
मात्र
नाप तौलका तराजु तुलो
कालो पट्टी बाँधेकी देबीको हातमा
मौन सस्कार सभ्यता चिच्याई रहिछे ..
तर बर्तमान
असैह्य उल्का राहु सनी
दशा भोकी रहेछ भोकी रहेछ …
गास बास कपास कुर्लदै .. ॥
बिजय उत्सवमा
अकाल मृत्यु …..???

Dig Bahadur Tamang – Mera Desh Ka Neta Harulai

डिग बहादुर तामाङ – मेरा देशका नेताहरुलाई

मथिङ्गल भित्र टाउकोहरु अट्दैनन्
टाउको भित्र मात्र मथिङ्गल अट्छन् ।
गोलार्धभित्र पृथ्वी अटदैन्
पृथ्वीभित्र मात्र गोलार्धहरु अट्छन्
पृथ्वीले सूर्यमा किरण छर्दैन्
सूर्यले मात्र पृथ्वीमा किरण छर्छ ।

जनताहरु भित्र देश अट्दैन्
देश भित्रमात्र जनताहरु अट्छन् ।
जातिहरु भित्र समाज अट्दैन्
समाजभित्र मात्र जातिहरु अट्छन् ।
जनजातिहरु भित्र देश अट्दैन्
देशभित्र मात्र जनजातिहरु अट्छन् ।

मानिसहरु भित्र नेपाल अटदैन
नेपाल भित्रमात्र नेपालीहरु अट्छन् ।
मानिसहरु भित्र घर अटदैनन् ।
घरभित्र मात्र मानिसहरु अटछन् ।
मानिसहरु जन्मदै कुनै ठूला साना हुदैनन्
बुद्धि बिबेक मात्र ठूलो सानु हुन्छन् ।

संसारमा जातैपिच्छे राज्य बाँडिदैन
राज्यभित्र मात्र जातिहरु बस्छन् ।
संविधान कुनै बर्गको लागि लेखिन्न
संविधान सिंगो देशबासीहरुको लागि लेखिन्छ ।
त्यस्तै कानून पनि कुनै बर्गको बन्दैन
कानून सबैको लागि बराबर लागु हुन्छ ।

Gopal Kawali – Ram Bheda Ko Kheti Garchhu

गोपाल कवाली – रामभेडाको खेति गर्छु

रामभेडाको खेति गर्छु,कुरिलो पो रोप्छु म त
विदेश बसी पुगो गाउँले,देशमै पैसा छोप्छु म त

प्रकाश दिपक विदेश गए, त्यहि भाउँतामा हिंडीएछ
आफ्ना बारी रुखै होलान,गोबर मल पो बोक्छु म त

थाहा पाइयो विदेश पनि, पराईको गुलाम न हो?
चाहीएन भो बर्गर पिज्जा, ठेट्ना मकै टोक्छु म त

सोह्रै आना पसिनाको, सुक्का मोल तोक्छन यहाँ
हाम्रो श्रम भतुवा नहोस, सिमा भित्रै रोक्छु म त

बाल-बच्चा एकातिर,एक्ले ढेडु जस्ता भाछन
संगै बस्छु खोले खान्छु, सिप उतै पोख्छु म त

हँसिया हलो कोदालोले,आइज आइज भन्दै होलान्
नाङ्गो संगीत डिस्को भुल्छु,आफ्नै मादल ठोक्छु म त!!!

जुलियन,अफगान,०५/०१/२०१३

Ramesh Shayan – Budhha

रमेश सायन – बुद्ध

बुद्ध मैले पिउने गरेकै भट्टीमा पिउदै थिए ,
अलिक बडी मतेछन् क्यार
भोलि बिहान सगर खुल्दैन भन्दै थिए ,

माय देवीलाई वृद्धा आश्रममा थन्काएर ,
यो परिचित शहरको बेठेगान चौकमा
शरीर भरि टाटु खोप्दै
ॐ माने पेमे हुँ……….
भन्दै थिए ।

जीवनसँग थाकेर होकि
वा, मगज खुस्केर हो
हातमा बन्दुक उठाएर ,
कहिले,
म ठमेलका गल्लिमा जीवनको अर्थ खोज्छु भन्थे ,
कहिले,
धरहरामा उभिएर सिहंदरबार देखाउदै
अगामी चुनावमा,
लुम्बिनीबाट उमेदवारी दिन्छु भन्थे ।

अचेल के भएर हो
बुद्ध
एक हुल शिष्यहरुलाई पछि लगाएर
विज्ञाानको प्रयोगशाला रोवट देखाउदै भन्छन्

शिष्यहरु हो
अव मानिस सम्बेदनहिन हुनु पर्छ,
न प्रेम
न आस्ता,
न रोगी,
न दुःखी
बस यीनै रोवटहरु जस्तै सम्बेदनहिन हुनु पर्छ,।

शनिश्चरे, मोरगं

Ram Prasad Prasain – Nadi Ra Manchhe Haru

रामप्रसाद प्रसाईं “आशुतोष आंशु” – नदी र मान्छेहरू

हामी नदीहरूको
त जातै यस्तो
तल तल बग्नु पर्ने
ओरालो झर्नु पर्ने
भड्खालो भर्नु पर्ने

तिमी मान्छेहरू
हामी नदीहरूलाई
नपछ्याओ
अब हामी
नदीहरूको त
जातै यस्तो
तल तल बग्नै पर्ने
ओरालो झर्नै पर्ने
अनि
भड्खालो भर्नै पर्ने

सभ्यतामा
जय पराजयका
सँगीत गुन्गुनाउँदै
हाम फालिरहेका हामी नदीहरू
अब
रोक्नेछौं
मान्छेहरूलाई—
हाम्रा बगाइका छङछङ मात्र
अनुकरण गर्न,
हाम्रा निर्वस्त्र अस्तित्वमाथि
सौन्दर्यता जोख्न,
नग्नताका अवयवहरूमा
भाव, राग र समय
नामाङ्कन गर्न
किनकि
हामी नदीहरू क्रान्ति हौं—
निर्माण र विनिर्माणका लागि

त्यसैले
अब
दायाँ किनारका मान्छेहरूले
बायाँ हेरून्
नदीलाई

बायाँ तीरका मान्छेहरूले
दायाँ हेरून्
नदीलाई

अनि
बाध्य हुनेछ नदी
मान्छेहरूलाई
बहावको दिशानिर्देश गर्न
अनि भन्न थाल्दछ
तिमीहरू दुई किनार भएर
अब
नचुम मेरा नग्नताहरू
ननाप नग्नताभित्रका समय टङ्कणहरू
र नसुन जिजीविषाका क्रन्दनहरू
नलेख मेरा नागबेली र शिरवन्दीहरू
बस् लेखे हुन्छ
खोला-खोल्साका मिलनहरू
शाखा-प्रशाखामा भएका
‘नोमाडिक’ आवृतिकरण
अनि
प्रतिबद्ध बन
र बग हामीसँगै
मोतीहरू र नागमणिहरू खोज्न
आत्महत्या र आमहत्याले
खेलेका परेडमा
आदिमानवका मनहरूजस्तै
स्मृतिमय संग्रहालयभित्रका टुँडिखेलहरूमा
जहाँ सभ्यता
कुर्लन्छ
कथा ब्यथा विरेचन हुन
अनि
निषेधक-निरपेक्ष-निष्प्राण
एक लौटी ठेकेदारीका
चुत्थापनहरू घोल्न।

सेप्टेम्बर २१, सन् २०१०
कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग, नेपाल।
अबुधाबी श्रमशिविरबाट।

(Sent to Sanjaal Corps via Email)

Komal Shrestha Malla – Naba Durga Bhawani Le

कोमल श्रेष्ठ मल्ल – नवदुर्गा भवानीले !!

हर्ष
वा बिस्मात ?
रातो िटका िनधारमा
पहेलो जमरा शिरमा
सगुन, प्रसाद र आशिर्बाद…
नहुनु यो प्रदेसमा
म आफै यतिका बर्ष भोगी रहेछु !!!
हिसाबमा

र मेरो कर्तब्य
अनी धर्म र संंस्कृती
स्वाभीमान ?
आसु र हासोमा
यसरि नै फल्छन फूल्छन झर्छन
र पात झै उडछन पनी
मात्र याद कल्पना
अनी मायाको िबछोडमा … कठै ?
प्राण हाली दिय हुन्थ्यो नी
त्यो चादनी किरणको बिदेसीनु नपर्ने गरि
आर्षिकबादमा आर्षिकबादमा …

छरिदिए हुन्थ्यो नी
रंगीन फूल जमरा अक्षता
र प्रसादहरु !!!
मन सुधारिन,
सुन्दर दृृष्टिका चक्षु
र कर्णमा
प्रगतीका
उमंगका बाणी तरंग्याउदै
नसा नसामा भक्तिका उर्जाहरु
उमार्दै उमार्दै उमार्दै ….
िबजुली दौडेर
लक्ष्यका आकास छुने
छाती मै सगरमाथा राखि िदय हुन्थ्यो नी !
मात्र अमर चन्द्र सूर्य फर फर गर्ने
र िबजयको िबगुलमा
मात्र देश बोक्ने
नवदुर्गा भवानीले !!

Ishwar Ballav – Euta Tibra Bihana

ईश्वरवल्लभ – एउटा तीब्र बिहान

ती तीब्र उज्याला परिवेशहरू
पग्लिन्छन् रेखाहरू भएर, कि शून्य झैँ स्थिर हुन्छन्
तर पनि पग्लिनु स्थिर हुनु होइन,
पानी हुनु हो ।
परिवेश पग्लिँदा नदी हुनु हो ।
त्यसैले, बिहानदेखिन् झरेर बेलुकीसम्म
जस्तै शिखरदेखिन् तल औलसम्म,
भिज्दै पनि
हराउँदै पनि, ती उज्याला आतंकहरू
आतंकरेखा भने, केही भन्नु हुँदैन
आतंक साँझ हुनु हो
घाम हुनु हो-
पश्चिममा अल्झिरहेका ती साँझहरू
तरल हुन्छन् तीर भएर
हरेक पाइलासितै पाइला सार्दै
हरेक आघातसितै ओर्लिँदै तल
परेको तीब्र रातो बिहानजस्तो ।

Komal Bhatta – Aaja Bholi Sharam Le (Nepali Gajal)

कोमल भट्ट – आज भोलि शरमले (गज़ल)

आज भोलि शरमले झुकेको छ शिर
बिनसित्ती गल्ती गर्दा लुकेको छ शिर

लुकाएको सत्य-तथ्य सबै सामू आउंदा
ओठ,मुख,तालु समेत् सुकेको छ शिर

के गर्नु र बुद्धि विवेक भ्रष्ट भए पछि
यस्तो लाग्छ संसारले थुकेको छ शिर

बरु आफ्नो क्षमतामा चित्त बुझाएर
बसेको भे हुन्थ्यो होला चुकेको छ शिर

ऐले सम्म जे भएनी हुन्न अब भन्दै
माफी माग्नु पर्ला भनी ढुकेको छ शिर

पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
9th December,2012

Geeta Khatri – Maya Ko Ghera

गीता खत्री – मायाको घेरा

सानो नै मन सानो नै खुशी पाउँदा हाँस्दछु
सबैको खुशी बर्सेको देखी मन मनै हाँस्दछु

साथी र भाईको सहयोगको मालानै गाँस्दछु
मान्यजनको आशिर्बाद्को लाई हृदयमै राख्दछु

हृदय अझै बिशाल पारी म सधैं नाच्दछु
हाते र मालो गरेर सधैं म माया गाँस्दछु

गीता त सधैं उदाङ हुन्छे सबैलाई थाहै छ
सबैको खुशीमा दिल खोली नाच्छे सबैलाई थाहै छ

थिएनन कोही रगतका नाता त्यो मलाई थाहाथ्यो
साथी र भाईको सहयोग मिल्ने अटल विश्वाश थियो

मागेमा सबले यो मर्ने चोला अर्पन गर्दछु
सिर्जना यात्रा जारी नै राख्ने यो विश्वाश गर्दछु

Pratisara Sayami – Pressure Cooker

प्रतिसरा सायमी – प्रेसर कुकर

परम्परा एउटा बडेमाको भाँडा हो-
यसैको बाक्लो बिर्कोले छोपी
मैले मेरो बर्तमानलाइ पकाउन खोजिरहेछु

उसको सितिमिति पाक्दै नपाक्ने कठोर चोक्टाहरु
पचाउन गाह्रो अपाच्य ब्यबहारहरु
आफ्नो ब्यबहारको नरम पानीमा
भिजाइ अनि उमाली नपाकेसम्म
प्रेसर ककर भित्र-
पानी आफै तातिएर भकभक उम्लँदै
नरम रसमा डुबाइ डुबाइ
पगाल्न खोज्दैछर्
बर्तमानका कठोरताहरुलाइ
तर चापको असहय थिचाइ र बन्धनले
बिकोर्ेको बाक्लो ढिकै समेत
टाउकोको बलले ठेली ठेली
सानो प्वालको झयालबाट बेगले उछिट्टिएर कराएको
प्रेसरको चित्कार सुनेँ मैले
नअटाइ नअटाइ कोच्चिएर गुम्सिनु परेको
उसको कठोर बन्धन
मुक्तिको चित्कार
बगिरहेको सल्ल सल्ल
उसका ताता उच्छवासहरु
तप्त शरीरको जलन पढेँ
मानौँ आफैलाइ पढेँ त्यहाँ मैले
किनकि पोल्दो हृदयमा
आफु भकभक उम्लेर पनिर्
बर्तमानको क्रुरता पगाल्न नसक्ने
म त्यही पानी त हँ
असहय पीडाले
आत्तिएर फुत्किन खोजिरहेको
तातोले बाफिएर पनि
एउटा मुक्त आकाशको खोजीमा
बाहिरिने आतुरताले
भौँतारिरहेको
उही तप्त पानी म
ठीक त्यही पानी
प्रेसर कुकर भित्रको ।

Yuddha Prasad Mishra – Sahi Bato

युद्धप्रसाद मिश्र – सही बाटो

संकीर्णताको परखाल नाघी
यथार्थ वैज्ञानिक पन्थ लागी
पीडितमा जागृति बत्ति बाल
भगाइद्यौ भारतका दलाल

प्रगति भो अब व्यापक जाज्वल
परिसके प्रतिगामीहरू तल
उठिसक्यो भई व्यापक जागृति
उदित भै जनमानसको स्थिति

विजयको भई दर्पण शानमा
प्रवल भै मनको बलिदानमा
जनजागृत भै उठदै गयो
परपीडनता टुट्दै गयो

असही शोषण जागृति हो सही
जनयथार्थ कुरो बीचमा नरही
फगत नित्य रुचाइ विलासता
रहन संभव छैन कतै यता

(०४७ पुस)
(लहर – २४)

Sudha Kiran – Mechi Ma Dukchha Malai, Mahakali Ma Dukchha

सुधा किरण कंडेल सापकोटा – मेचीमा दुख्छ मलाई, महाकालीमा दुख्छ

मेचीमा दुख्छ छोरी, मलाई महाकालीमा दुख्छ
एस्सो कोल्टे फेरेझै गर्छु, फेरी सगरमाथा र कर्णालीमा दुख्छ ।
मेरा लाला-बालालाई बोक्दै उकाली ओराली गर्दा
कहिले पहाडमा दुख्छ छोरी, कहिले तराइमा दुख्छ ।
दु:खको बर्षा मै माथि नै भएझै लाग्छ
सम्हालिदै अगाडि बड्न खोज्छु, चसक चसक हिमालमा दुख्छ ।

सम्पन्नताका च्यादरले तिमीहरुलाई ढाक्न नसके पनि
सुन्दर र शान्ता कर्म थलो दिएकै थिए ।
एकतको मुहन फोड्ने, शन्तिका सन्देशहरु छर्ने
महान हस्तिहरु जन्माएकै थिए ।
पौरख गर्ने हातहरु त तिमीहरुका हुन्,
सुनौला फुल फुलाउने माटो मैले दिएकै थिए ।
फेरी किन मेरो जनकपुरमा ठोक्छौ, मेरो बाजुरामा ठोक्छौ
पल्टाई पल्टाई मेरो मनाङ र मुस्ताङमा घोच्छौ ।

पहिले म सुन्दर आनी शान्ता थिए, तिमीहरुको प्यारो थिए
छोरी, आज मलाई आफ्नै सन्तानका रगतले पोतेका छन् ।
मेरै मुटुमा आन्दोलनका चर्का नाराले घोचेका छन्
कहिले मेरो बागमतीलाई तर्साउदै, नारायणी हसाउ छन्
कहिले मेरो राते भिरलाई उठाउदै सगरमाथा भुकाउ छन् ।
मेरा अँग अँग दुखाउ छन् छोरी
मलाई पल-पलमा रुवाउ छन् ।

दुई ढुङ्गा बिचको सानो तरुल भएपनी
खुशी थिए म,
तर मलाई कहिले उत्तरबाट चुड्छन्,
कहिले दक्षिणबाट चुस्छन ।
आफनै आमको अस्मिता लुटिदा, टुलु टुलु हेर्ने मेरा सन्तान देख्दा
दुख्छ छोरी मलाई,
कहिले मेचीमा दुख्छ, कहिले महाकालीमा दुख्छ ।

सन्देश पाएकी थिए, मलाई मै भित्रबाट चुड्दैछन अरे
मेरा आफ्नै छोरा नातिहरु फुटेर अंसको माग गर्दैछन अरे ।
बिबश छु म, छोरी लाचार छु
चिराचिरा भएर बच्नुको पिडाले सताउदा
मलाई कहिले मडिमा दुख्छ छोरी कहिले बेनिमा दुख्छ

छोरी, देश प्रेमीहरु कोही होशमै छन भने
मेरो मुटु पोल्ने काहानी सुनाइदेउ
भनिदेउ म सिकिस्त बिरामी छु
कहिले मेचीमा दुख्छ मलाई, कहिले महाकालीमा दुख्छ ।

Rakesh Karki – Hiun Pare Kasto Hola (Nepali Baal Gajal)

इन्जिनियर राकेश कार्की – हिउँ परे कस्तो होला (बाल-गजल)

हिउँ परे कस्तो होला
छे्उमै झरे कस्तो होला

फुस् फुस् रूई जस्तै अहो
पोल्टा भरे कस्तो होला

हिम घर बनाएर
फु फु गरे कस्तो होला

हात गोडा फिँजाएर
लडी छरे कस्तो होला

हिँउको त्यो चउरमा
मने चरे कस्तो होला

माथी फ्याँकी हिउँ डल्लो
ठाउँ सरे कस्तो होला

लेखे जस्तै सुने जस्तै
देखे हरे कस्तो होला ।।

– लस् एन्जेलस्

Rajendra Shalav – Aama

राजेन्द्र शलभ – आमा

सूर्यजस्तै ठूलो रातो टीका
निधारमा लगाउँदा
मेरी आमा साह्रै राम्री देखिनु हुन्थ्यो ।
संसारकै सबभन्दा तेजस्वी स्वास्नीमानिस
तर बुवा बित्नु भएपछि
आमाले रातो टीका लगाउन छोड्नु भयो
बिना टीका मलिन देखिन्छ आमाको अनुहार ।

जबजब गोधुलीको बेला
निधारमा सूर्यको रातो टीका लगाएको
आकाशलाई देख्छु ,
म आमालाई सम्झन्छु ।
रातो टीका लगाएको
आकाश पनि राम्रो देखिन्छ
तर, आमा जत्तिको राम्रो होइन ।

Gopal Jhapali – Khai Ma Ke Garchhu

गोपाल झापाली  – खै म के गर्छु

घाम झकाएको बेला,
जून ब्यूझिएको बेला
मेरो यात्रा शुरु हुदै थियो
दोबाटोमा टक्क अडिएर सोध्यौ,
कहिले फर्कन्छौं ?
म त घाम खोज्न र जून भेट्न
हिडेको मान्छे
अर्थात मेरो ओडार भित्र
मुसुक्क मुस्काउने ज्योती लिन
हिडेको मान्छे
खै कहिले आउ“छु,कहिले फर्कन्छु ।

कोपिला हा“स्न लागेको बेला
फूल भाग्न खोजेको बेला
म बगैंचामा पस्न खोज्दै थिए,
मुल ढोकामा बाटो छेकेर सोध्यौ
के लिएर आउ“छौ ?
म त का“डा भित्र बाट थुङ्गो लिन र
थुङ्गो भित्र बाट का“डा फाल्न हिडेको मान्छे
अर्थात का“डो नभएको फूल र फूल नभएको
खोज्न हिडेको मान्छे
खै के लिएर आ“उछु,के दिन आ“उछु ।

म त नौं महिना देखि रजश्वला रोकिएकी स्त्री
आङ्खनो संगै अर्को प्राण बोकेर हिडेकी गर्भिणी,
हिजो सम्म आगो निलेर अंगार निकाल्ने मान्छे
ब्यथाले च्यापेर मुटु चर्किएको बेला
नाडी समातेर आ“खा जुधाएर सोध्यौ,
के जन्माउ“छौ ?
म त अचेल बरफ निलेर पानी निकाल्न
नसक्ने भएको बेला,
अर्थात प्राण निचोरेर मेरो बिंडो थाम्ने
उत्तराधिकारी पाउन लागेको बेला
खै के जन्माउ“छु,कस्तो जन्माउ“छु ।

Ashank Upadhyaya – Yaad Aaunchha (Nepali Gajal)

आशांक उपाध्याय – गज़ल – याद आउँछ

जब हेर्छु झुल्के घाम तिम्रो याद आउँछ
लेख्न खोज्छु आफ्नै नाम तिम्रो याद आउँछ

परेलीको तीर सुक्यो तिमीलाई सम्झी
गर्न खोज्छु केहि काम तिम्रो याद आउँछ

न बिरानो हुन सके न आफन्त मान्छ्यौ
भुली सके आफ्नै गाम तिम्रो याद आउँछ

आँखा खोज्छ तिम्रो चित्र मन भन्छ अब
भुल्न गर्नु छल छाम तिम्रो याद आउँछ

छाती भित्र नदेखीने गरि बसी सक्यौ
मेट्न खोज्दा मनको डाम तिम्रो याद आउँछ

Rakesh Karki – Binti (Nepali Gajal)

इन्जिनियर राकेश कार्की – बिन्ती (गजल)

नसोध मेरो जात बिन्ती
नछुटाउ मेरो हात बिन्ती

हाँसीरहन देउ मुटुलाई
नगर कत्ति घात बिन्ती

झ्याङि्न देउ जीन्दगानी
नचुँड एउटै पात बिन्ति

खुशीले फिँजाउ फूलैफूल
सजाउ मेरो रात बिन्ती

चाखी राखन देउ जवानी
लाग्नदेउ मलाई मात बिन्ती

Kabita Thapa – Timro Saath (Nepali Geet)

कविता थापा – तिम्रो साथ (गीत)

खुशी बाँडि राख
तिमी हाँसि राख
तिम्रो हरेक हर्षसंगै
म मुस्कुराइरहने छु

उमङ्गले झुमि राख
तिमी नाचि राख
तिम्रा मोहक नृत्यसंगै
म ताल मिलाइरहने छु

मनमा छोइ राख
तिमी गाइ राख
तिम्रा मीठा धुनसंगै
म गुन गुनाइरहने छु

प्रीत सजाइ राख
तिमी साथ दिइराख
तिम्रा ढुक ढुकीसंगै
म माया गरिरहने छु

– क्यालिफोर्निया

Chaitanya Adhikari – Barsha

चैतन्य अधिकारी – वर्षा

वर्षा भैरहेछ,
छड्के कोण पारेर
झ्यालबाट आकाशतिर, बादलहरुतिर चियाउँदा
आँपका पातहरुमा पटपट बजिरहेको पानी
र बलेंसिमा चुहिरहेको स्यार्र स्यार्र,
फूलहरूमाथिबाट बिस्तारै कुदिजान्छ बतास
अध्यारो र उज्यालोको दोसाँधमा
ओत लाग्न भुर्र उडी आउछन चराहरु
र बिस्तारै पिंग खेल्छन नरिवलका पातहरु
मौन भएर पनि कति संगीतपूर्ण छ आजको दिन
फेरि मलाई मेरो गाउँको याद आउँछ
असार साउनको सम्झना हुन्छ
स्याखु ओढेर धान रोप्दै होलान रोपाहारहरु
पानी छहलिइरहेको होला खेतका आलीहरुबाट
र राग घंकिदै होला असारे गीतको
मूल फुटे होलान चौर पाखाहरुमा
र पातहरु बगाएर कुलो पछ्याउंदै होलान केटाकेटीहरु
हिलो कुल्चिदै रमाउंदै होलान
जीबनको रमाइलो गतिशील हुनुमै छ
उठ्नु, दौडनु र अघि जानुमै छ
कहिलेकाहीं फूलको मनलाई आफ्नो मनसँग मिसाउनु
कहिलेकाहीं पहाडको हृदयसंग आफ्नो हृदय साट्नु
कहिले आफैं बतास भएर उड्नु
कहिले आफै फेवाताल भएर रुक्नु
र स्वयम्भूका आँखासंग आँखा जुधाउनु
फेरि मलाई मेरा भन्ज्यांग चौतारीहरुको याद आउँछ
मेची किनारदेखि काली बगरसम्म सम्झना आउँछ
कपास छरेजस्तै फुस फुस बर्षिरहेको पानी
छाँगो खसेजस्तै दर्र दर्र बर्षिरहेको पानी
आकाशले पोल्टामा कति साँच्न सक्यो होला बर्षात ?
कसले गर्जने होला त्यति साह्रो !
कसले झिम्काउने होला चट्यांग बिजुली
कौशीमा उभिएर क्षितिजतिर टोलाउँदा
घामको अत्याचारले पिल्सिएका खेतहरु
बतासको क्रुरताले सुकेका सयपत्रीका ओठहरु
र चराचर काकाकुलवत प्राणीहरु
हात फैलाएर स्वागत गरिरहेछन् बर्षातको
निथ्रुक्कै चप्लक्कै भिजेर / थापिएर
कृतज्ञता दिईरहेछन बर्षातलाई
कर्कलाका पातहरुमा मोति बनेको पानी
छानाहरूबाट तप तप खसिरहेको पानी
फेरि मलाई मेरो जन्मथलोको सम्झना ल्याउँछ
फेरि मलाई आफ्नै पाखापखेराको याद दिलाउँछ !

पोखरा