Tara Parajuli – Aswikrit Upahar

तारा पराजुली – अस्वीकृत उपहार
(मधुपर्क २०६७ असार)

बल्ल खाटा बसेथ्यो
तिमीले दिएको घाउको
पुनश्चः उही खाटा
कम्पनी आत्माले
फुस्क्यो एउटा डिपार्टमेन्ट पसल
र, साट्यौ तिनै रुपैयाँ
तिमीलाई रङ्गिन लाग्ने रहरहरूसँग ।
बन्दुकको नालजस्ता तिम्रा आँखाहरू
नतमस्तक छन् मैतिर
तर पराजित बेहोेर्ने छौ तिमीले
यो एकलौटी मुटुबाट
स्वर्गजस्तो मेरो संसार
सार्नु छैन बसाइँ
काँचले बनेको तिम्रो सहरमा ।
सुसाएकी हुँ वियोगमा
थुप्रै प्रेमपर्वहरू
चौतारीको एक्लो पीपल भएर
बगाएकै हुँ आँखामा साउन
तमोर भएर
अहँ, देखिनँ कतै
तिम्रो आस्थाका हिउँचुली ।
बेइमान हौ तिमी भावनाको
बालुवाको उपहार बोकेर
नआऊ मेरोसामु
बगाएकी छु-
बर्षात्को अरुण भएर ।

Rakesh Karki – Ukhelera Pareli Silikka Ramri (Nepali Gajal)

राकेश कार्की- उखेलेर परेली सिलिक्क राम्री

उखेलेर परेली सिलिक्क राम्री
पाउडर क्रीमले टिलिक्क राम्री

कसो कसो गरेर आफुले आफ्नै
फोटो खिच्छिन् किलिक्क राम्री

समाजलाई हानेको फेशन जानेको
पुतली नै जस्तो झिलिक्क राम्री

हाउ भाउ कटाक्ष अँध्यारोमा पनि
दियो झैँ बलेकी पिलिक्क राम्री

हेर्नेको नजरमा छुनेको मुटुमा
घाम झैँ झुल्किने मिलिक्क राम्री

Binod Roka – Hami Dhritarashtra Hamro Desh Dhritarashtra

बिनोद रोका – हामी धृतराष्ट्,  हाम्रो देश धृतराष्ट्र्

हामीलाई,
मान्छे र परिवेश चिन्न संजयका आखा चाहिन्छन
त्यसैले हामी आफ्नो घर,परिवार र सेवक बाहेक अरुलाई चिन्दैनौ।
कथंकदाचित चिन्ही हाल्यौ भने पनिर्
इष्र्या वा डाहाले कसैलाई भन्दैनौ।
हाम्रै संस्कारबाट बनेको हाम्रो देश
धृतराष्ट भन्दा फरक छैन,
त्यसैले देशमा राजतन्त्र, प्रजानत्त्र एवं गणतन्त्र जे आएपनि
सत्तासिनहरुले आफनो उत्तराधिकारीमा
दृर्योधन नै खोज्दछन।
पाण्डव देख्दैनन।
हो हामी धृतराष्ट। हाम्रो देश धृतराष्ट।
विदृरको विवेक र ज्ञानको उपहास हृन्छ,
किनकि हाम्रा स्वार्थ संग उस्को
विचार मिल्दैन, अनि
विदृर निरिह हृन्छ।
त्यसैले,
हाम्रो सत्ता प्राप्तीका आधार
सदा तरवार, वन्दृक र भय बने।
स्वतन्त्र जनमतको आधार वन्न सकेनन।
हो हामी धृतराष्ट्र्। हाम्रो देश धृतराष्ट्र्।
हामी बृद्धमा केवल शिर्द्धार्थ देख्छौ
उ हाम्रा लागि
राजकृमार सिवाय केही वनेन
हामीले उसलाई
एउटा वोधिवृक्ष दिई बृद्धत्व प्राप्त गर्ने
अवशर दिएनौ,
त्यसैले उ बृद्धत्व प्राप्त गर्न
पलायन हुनुपर्छ।
हो हामी धृतराष्ट्। हाम्रो देश धृतराष्ट्र्।
हामी भृकृटी र अरनीमा सृम्नीमा र
बाबृचा मात्र देख्छौ
ज्ञानको ज्योती र कौशलता देख्दैनौ।
त्यसैले,
भृकृटीले ज्ञानको उज्यालो र
अरनीकोले आफनो कौशल देखाउन
परदेशीको सहारा र आंखा खोज्नृ पर्छ।
हो हामी धृतराष्ट्र्। हाम्रो देश धृतराष्ट्र्।
हामीलाई मान्छे र पशिवेश चिन्न
संजयका आंखा चाहिन्छ
देश चलाउन विदृरको ज्ञान र विवेक होईन
सकृनीको कृटील चाल र दृर्योधनको अहंकार चाहिन्छ।
त्यसैले हामी खोट मात्र देख्छौ अरुमा
गृणजति आफु र आफनामा मात्रै पाईन्छ।

Gopal Kawali – Besura Drut Raag Ma

बेसुरा द्रुत रागमा डिस्कोमा मच्चिनु भन्दा
एकान्त वागमा गई एकछिन एकाग्र बन
भमराको भुन भुन कति कर्ण प्रिय हुन्छ
कल्पनाका कथाहरुमा आधारित
कृत्रिम चलायमान चित्रहरुमा अल्झिनु भन्दा
पर्तिर जंगलमा गई एकछिन सुस्ताउ
कोइलि कण्ठको आवाज कति मधुर हुन्छ
आधुनिकताको हावा, यो त सरुवा रोग हो
कुनै रोकथाम बिनाको,कुनै निदान बिनाको
छिमेकीलाई ग्रस्त बनायो भनेर
काखी बजार्नु मिथ्या हो
कुनैपनि पल तिम्रो घर छिर्न सक्छ
सुटुक्क, कुनै चाल बिना
महंगा होटल र रेस्टुरेन्टमा गएर
पिज्जा र बर्गरमा रमाउनुको सट्टा
आफ्नै घरको कनिकाको चाम्रे चाख त
त्यसमा जिब्रो निलिने मिठास हुन्छ
आवस्यकता अनि बिलासिता फरक बस्तु हुन्
आफ्नु पन भनेको आफ्नै हुन्छ
यसो भन्दा, बिज्ञान को बिकाश नमान्नु भनेको कहाँ हो र
कसैकापनि थिति र संस्कार दुधले धुलियेका छैनन्
स्वीकार्ने र त्याग्ने बस्तुहरु पहिचान गर्न सक्नु पर्छ
अर्थ यहि हो,……….
उखु खाने हो भने
निल्ने रस र फ्याँक्ने खोयिला छुट्याउन सक्नु पर्छ!!!

जुलियन,अफगान,१८/१२/१२

Ashank Upadhyaya – Kina Yesto Kura Hajur (Nepali Gajal)

आशांक उपाध्याय – गज़ल – किन यस्तो कुरा हजुर

किन यस्तो कुरा हजुर म त सँधै साथैमा छु
नियालेर ऐना हेर्नुस गाजलु ति आँखैमा छु

चिन्ता हैन आशा बोक्नुस संसार यो जितिन्छ नै,
छाती माथि हात राख्नुस देब्रे पट्टि पाखैमा छु

अत्तालिन्छ मन बुझ्नुस आधारमा शंका गरे,
मनैदेखी छामी हेर्नुस रेशमी त्यो काखैमा छु

हार हैन जित खोज्नुस जिन्दगीको यात्रा भरि,
पुकारेर बोलाउनुस म त हरेक रातैमा छु

टाढा हुँदा यति सोच्नुस फेरी भेट हुने नै छ,
मिलनका गीत सुन्नुस सुरिला ति भाकैमा छु

Bhupin Byakul – Ma Timilai Prem Garchhu

भूपिन ब्याकुल – म तिमीलाई प्रेम गर्छु

तिमीलाई प्रेम गर्छु
र सम्झौता इन्कार गर्छु

थाह छैन
म तिमीलाई किन प्रेम गर्छु ?
तर थाह छ
म तिमीलाई किन इन्कार गर्छु

तिमीले कुनै दिन
मैले तिर्न नसक्ने प्रेमको मोल माग्न सक्छौ
तिमीले कुनै दिन
मैले किन्न नसक्ने प्रेमको महल पनि माग्न सक्छौ
निसन्देह :
मैले तिर्न सक्नेछैन प्रेमको मूल्य
मैले किन्न सक्नेछैन प्रेमको महल
र सायद त्यसपछि
तिम्रा मप्रतिका विश्वाशहरु फाटनेछन्
तिम्रा मप्रतिका आस्थाहरु च्यातिनेछन्
धुजा-धुजा हुनेछन्
तिम्रा सुकुमार सपनाहरु
उफ !
तिमीलाई सर्वोत्कृष्ट प्रेम गर्ने
मेरो सबल पुरुषत्व
बेकाम हुनेछ कुनै नपुङ्सक रहरजस्तै
र त्यसपछि
नभएको प्रेमनगरमा
मेरो फकिरले आत्महत्या गर्नेछ !

मृत्युपर्यन्त
म तिमीलाई प्रेम गरिरहन चाहन्छु

तिमीलाई प्रेम गर्छु
र सम्झौता इन्कार गर्छु !

Baldev Bhatta – Yestai Ho Bhane

बलदेव भट्ट -यस्तै हो भने

एक सय चार वर्ष राणाले देश चलाए
आफ्नो ढुकुटी भरे जनता नाङा बनाए
तीस बर्ष पञ्चे आए ती अघाए
त्यसपछि ऊ आयो सबै आए ।
तिमी जङ्लमै थियौ भन्यौ-
ती सब फटाहा हुन
देश मैले चलाउनु पर्छ
जनतालाई फकायौ
तिम्रो मुक्तिदाता मै हो भनेर
हो त , तिमीलाई पनि चुनेर पठाए
समय कुद्दै गयो
तिमी पनि
धेरै दिन सिटमा बस्न सकेनौ
तिमीले भनेऊ- फेरी हाम्लाई लखटे
अहिले फेरि उनीहरु छन
देश चलाउनमा ।

उहिले पञ्चायत कालमा ती पनि
त्यसै भनेर आएका थिए
वाचा गरेर अर्कै काम गर्नु
जनता मर्न दिएर आफू मोटाउनु
सबैले यही देखे यही सिके
प्रजातन्त्र लोकतन्त्र गणतन्त्र
गजब गर्यौ सब आफ्नै तन्त्र बनायौ
नत्र त अलिकति तिम्रा पालामा
जाजरकोटमा झाडापखालाको औषधि
पुगेको हुनुपर्ने हो
देशको सिमाना मिचिदा, तिमीलाई पनि
छटपटी हुनुपर्ने हो !

झगडा गर्नमा भागबण्डा लगाउनमा
आफ्ना पराइ छुट्याउनमा ब्यस्त रह्यौ
काम भन्दा कुरानै फलाक्यौ
यस्तै हो भने किन मान्छे मार्नु
जनतालाई दु:ख दिनु
के क्रान्तिका कुरा गर्नु
अबबाट आऊ सबै
आफू खाने कुरा गरौं
छोरा नभए छोरी खुवाऔँ
जनता मरे के भो,
देश त्यही
सत्ता चलाउनु न हो
पातकीहरुले!

Bhoj Raj Neupane – Mrityu Sparsha

भोजराज न्यौपाने – मृत्यु स्पर्श
(असोज मधुपर्क, २०६८)

कस्तो होला
मृत्युले टेकेको आँगन ?
भर्खरै पोतिएको
उजाड तुलसीको मोठ
समुद्रजस्तै छचल्किएका परिवारका आँखा
शोकाकुल आफन्तजन,
तिल, जौ र कुश छरिएको पिँढी
छरपष्ट बाँसका टुक्रा
सेतो कपडा र अलिकति पिताम्बर
पुरानो गुन्द्री र मैलो विच्छयाउना
पानी खाने करुवा, बटुको र चम्चा
यही हो मृत्युले छाडेको निशानी ।
कसले देख्न सक्छ ?
यहीं कतै बसेको छ मृत्यु
जसले भरखरै कसैलाई कुल्चेको छ ।
फूलजस्तै हो मान्छेको जीवन
अरूको इच्छामा टिपिनु पर्ने
कहिल्यै अघाउन्जेल बाँच्न नपाइने ।
कस्तो अपि्रय हुन्छ मृत्यु
र, कति भयावह हुन्छ मृत्युको खबर
त्यसैले,
मृत्युको खबरको कसैले कल्पनै नगरोस्
र, मृत्युले कसैको आँगन टेक्दै नटेकोस् ।

Yuddha Prasad Mishra – Chetana Ko Udhvab

युद्धप्रसाद मिश्र – चेतनाको उद्भव

आकांक्षा लिई निम्न वर्गहरूको आत्मा दुखेको धुने
आर्थिक संकटका अगाध दुखले पाउ अगाडि हुने
स्वाभिमान बचाउने प्रण उठी राखी ठूलो हौसला
झल्केको छ विकासशील मनमा उतिर्ण’ बन्ने कला

चुत्था कांतर राक्षसि दमनका पाई ठूलो यातना
ढाल्ने दुर्ग लिएर आँट बढ्दै छन् वीर वीरांगना
सारा शोषणका शिकारहरूका दुर्दान्त आँधी उठी
चाँडै नै अब देशद्रोहीहरूले जानू छ धर्ती छुटी

शत्रुमाथि गरी समर्पित जुनी ज्यूनू यहाँ र्ब्यर्थ छ
हाम्रो आज कुटा कुदाल हँसिया बन्दुकमा अर्थ छ
भाग्दैनौं अब तथ्यबाट पर भै आत्मा गरी साँगुरा
हो बाल्छौं जनमञ्चबाट भवमा ऐले घटेका कुरा

जाँदैनौं पुरुषार्थ केही नगरी संसारदेखि मरी
भन्दै यो तगडा विचार जनता माथि र्समर्पण गरी
आफ्ना जीवनका परिश्रमहरू पारी उज्यालो अब
आयो ब्याप्त भएर जागरणको भै चेतना उद्भव

Bhawana Pokharel – Ghoda

भावना पोखरेल – घोडा

म तिम्रो घोडा हुँ
होलटाइमर कार्यकर्ता होइन
त्यसैले
तिम्रो आदेश भयो भन्दैमा
म अपमान गर्न सक्तिन मानवताको
जानाजान म कुल्चिन सक्तिन
सडक धर्ना दिने
जिउँदा मान्छेहरुलाई
म कोर्रा सहँन तयार छु
तर जानाजान तिमी चढेको रथसहित
म हामफाल्न सक्तिन भिरहरुबाट
म तिम्रो सुरक्षामा निष्ठावान छु
मैलै बुझि्दन
तिम्रो कुर्सी र भर्‍याङको
काइते जोड घटाऊ
किनकी म तिम्रो घोडा हुँ
होल्टाइमर कार्यकर्ता होइन

बाधेर दुवै आँखामा ढक्कन
मलाई कार्यकर्ता बनाउन नखोज
म तिम्रो घोडा हुँ
घोडै बन्न देऊ
मलाई नसिकाउ तिम्रो काइते भाषा
म बोल्न सक्तिन तिम्रो भाषा
तिम्रा कार्यकर्ताहरुलाई जस्तै
मेरो हिनहिनाहटलाई उपहास गर्दैनन मान्छेहरु
किनकी म घोडा हुँ
होल्टाइमर कार्यकर्ता होइन

मैले देखेको छु
युद्धहरुको बीचैमा
विश्वास घात गरेर भागेका
तिम्रो विश्वासीला कार्यकर्ताहरु
तर म भाग्न सक्तिन युद्धहरुबाट
किनकी म तिम्रो घोडा हुँ
होल्टाइमर कार्यकर्ता होइन

त्यसैले
तिम्रो आदेश भयो भने पनि
म अपमान गर्न सक्तिन मानवताको
जानाजान म कुल्चिन सक्तिन
सडक धर्ना दिने
जिउँदा मान्छेहरुलाई

Ishwar Ballav – Mera Sapana Chhan

ईश्वरवल्लभ – मेरा सपना छन्

म भित्र फूलझै फक्रिरहेका सपना छन्
म तिमीलाई दिन सकूँ
हरेक हरियालीबाट सरसता टिपी
तिमीलाई सुम्पन सकूँ
कि मेरो निम्ति एउटा गीत बनोस्
तिम्रा कोमलताहरूले,
रसिला पातहरू बनून् प्रत्येक बुटामा
– म तिनलाई छर्न सकूँ
तिमी पानी पनि त हौ
कहिले मेरा खोलाहरूमा सग्लो बग्न सक्छौ
रेशमी थुँगा हौ भने
कहिले मेरा अग्निहरूमा मिल्न सक्छौ
तिमी बगैँचा हौ
कहिले मेरो पतझडमा फुल्न सक्छौ
कि एकछिन आऊ, मेरो आँगनसम्म
त्यहाँ एउटा गहिरो नदी बगोस्
तिमी बग फेरि म बगूँ त्यसमा
तिमीभित्र फेरि म तिमीजस्तै भिज्न सकूँ ।

Biplav Pratik – Mero Geet

बिप्लव प्रतिक – मेरो गीत

विधाताले दिएको भिक्षा भाग्य
मलाई कहिल्यै मन्जुर भएन
मेरो आफ्नो कर्म, मेरो भाग्य निर्माण
तिमीलाई कहिल्यै स्वीकार भएन ।

मलाई तातोसँग खेल्न मन पर्छ
त्यसैले सधैँ सुर्यको गोला चिथोर्छु
मलाई तिर्खासँग खेल्न मन पर्छ
त्यसैले सधैँ पानीको मुहान थुन्छु
मेरा उत्कण्ठा, मेरा चाहना
तिमीलाई कहिलै स्वीकार भएन ।

जिन्दगीको यात्रा, न आरम्भ न अन्त
त्यही शून्यमा बेग्लै एउटा आयाम
म खोजिरहेछु, निरन्तर खोजिरहेछु
भनेँ नि, म नयाँ बाटो पहिल्याउन खोज्दछु
मेरो जिजीविषा र मेरा बैँसका गीत
तिमीलाई कहिल्यै स्वीकार भएन
विधाताले दिएको भिक्षा भाग्य
मलाई कहिल्यै मन्जुर भएन ।

नयाँसडक, २५ सेप्टेम्बर १९८७

Baidyanath Upadhyaya – Sparsha

वैद्यनाथ उपाध्याय – स्पर्श

पीडाहरूको ध्वाँसो पोतिएर
प्रगाढ बनेको यो रात!
सुनिरहेछु
छातिभरी भूकम्पको हलचल
धरफराएका छन
आदर्शका स्तम्भहरू
भत्किएर सम्झनाका बाँधहरू
आकाशभरी उत्रिएको छ
सपनाका ‘कोलाज’ हरू
केही ठम्याउनै न सक्ने गरी
के हो यो ? प्रेम
या मेरो पागलपन !
उडिरहेछ यो मन हावासरी
खोजेर तिम्रै सान्निध्यका मीठा पलहरू
चारै दिशाहरू अँध्यारोले
धूमिल भएको बेला
कहाँ भेटिएला, मैले खोजेको
मायाका कोमल स्पर्शहरू!

Rakesh Karki – Mantri Jyu Kasari Bho Samanata

इन्जिनियर राकेश कार्की – मंत्रीज्यू कसरी भो समानता

मंत्रीज्यू
कसरी भो समानता
जब बिचरो सिपाहीले
सधैं बुट बजारेर हजूरलाइ
स्यालोट ठोक्नु पर्छ भने

हजूरको विदेश भ्रमण
किन समान छैन
पसिनाले रुझेर भारी बोक्ने
भरीया दाईको
उकालो ओरालोसंग ?

हजूरको बोलाई हाइफाइ छ
हजूरको बसाई हाइफाइ छ
डुलाई खवाई हिडाई पियाई
लवाई हँसाई सुताइ रिसाई
सबै सबै हाइफाई छ

समानता नारामा हुँदोरैछ
संविधानको धारामा हुँदोरैछ
समानता भाषणमा हुँदोरैछ
समानता रासनमा किन हुन्न ?
समानता शासनमा किन हुन्न ?

लस् एन्जेलस्

Bishnu Kumar Basnet – Jeevan Bhogai

बिष्णु कुमार बस्नेत – जीवन भोगाई

म कति पिडामा बाँचेको छु
म कति दु:ख सहेर हाँसेको छु
केवल मलाई थाहा छ।
तिमीहरुले सोच्यौ होला
यी आँखाहरुमा झल्केको पानी खुशीको हो
तिमीहरुले बुझ्यौ होला मैले लेख्ने
यी गीतहरु मायाप्रीतिका उपजहरु हुन्।
तर
पिडा मायाबिना पनि हुन्छ।
खुशी माया बिना नि हुन्छ।
मैले कोरेका यी भावहरु
मैले लेखेका यी शब्दहरु
मेरा भोगाईहरु हुन्
मेरा अन्तर्मनबाट निस्केका उच्छवासहरु हुन्
त्यसैले
जीवन भोगाई र देखाईमा धेरै अन्तर छ
भोग्न सबैले भोग्छन्
देख्न सबैले देख्छन्
तर कसरी भोग्छन्
तर कसरी हेर्छन्
त्यसमा रहस्य लुकेको हुन्छ
त्यसमा मजा छुपेको हुन्छ
जिउनुको
भोग्नुको

जीवन भोगाईको।।।

Rakesh Karki – Parade (Nepali Geet)

इन्जिनियर राकेश कार्की – परेड (गीत)

परेड खेल्दाखेल्दै जिन्दगी बित्ने भो
बन्दुक भिर्दाभिर्दै जिन्दगी बित्ने भो ।।

आफ्नै दाजुभाई संग म कति लडुँ
आफ्नै दिदीबैनी कुल्ची अघि कता बढुँ
तोडफोड गर्दागर्दै जिन्दगी बित्ने भो
नाराबाजी गर्दागर्दै जिन्दगी बित्ने भो ।।

न त हरियाली न त फुल फुल्ने
न त उद्योगधन्दा न त स्कूल खुल्ने
टायर बाल्दाबाल्दै जिन्दगी बित्ने भो
देश बन्द गराउँदै जिन्दगी बित्ने भो ।।

गाउँ बस्ती हाँसो खुशी बाड्न पाए पो
आनन्दले पखेटा फिजाई उड्न पाए पो
खाई न पाई हजुर जिन्दगी बित्ने भो
छालाको टोपी लाइ जिन्दगी बित्ने भो ।।

लस् एन्जेलस्

Pratima KC – Aanshu Jharera Padhen Maile (Nepali Gajal)

प्रतिमा के.सी. – आँसु झारेर पढें मैले

गाउँ वस्ती र मानवीय पिडा आँसु झारेर पढें मैले
नेपाल आमाको रक्तिम छाति आँसु झारेर पढें मैले

जिन्दगीको अविरल यात्रामा भोगिएका ती भयाबह
कालखण्ड त्यो युद्धलाई हलगोरु झैं नारेर पढें मैले

मानब वधशाला जस्तै लाग्ने निर्दोस बस्तिभित्रै पनि
मानिसकै रगतको महासागर तारेर पढें मैले

गुमाएर प्रियतम बेहोसिमा बाँचेकी प्रियतमाको
गहिरो प्रीतगाथा मनलाई अति मारेर पढें मैले

बाबुआमा गुमाउने तिनै निर्दोष अबोध बालकको
अनिस्चित भविस्यमा प्रश्नै प्रश्न उमारेर पढें मैले

मुटुको टुक्रा सरह सन्तान गुमाउने तिनी आमाको
भल्भल्ती बगेका आँसु मुटु बाहिर सारेर पढें मैले

जीवनको बैशाखी लुटिएका ती असक्त बुढा बाबाको
बेसहारा जीवन आफ्नै सम्झेर धिक्कारेर पढें मैले

आफन्त गुमाएर बाँचेका बाँकी आफन्तजनहरुको
पुस्तौं पुस्ता बल्झिरहने घाउलाई हारेर पढें मैले

नमर्नु नबांच्नु घायल जीवन जिउनेहरुको पनि
दुखेको दृस्य असैय पिडा नजिक पारेर पढें मैले

आफ्नै घर खेतबारी बाटो पँधेरो युद्धमैदान बन्दा
सुन्यतामा हराएको बस्ति बादल फारेर पढें मैले

(नेपालमा चलेको १० बर्से युद्धको पृष्ठभूमिमा तत्कालिन समाजको अबस्था चित्रित गर्दै रचित गजल)
२८ मार्च २०११

(This Gajal was sent to Sanjaal Corps via Email)

Prem Binod Nandan – Desh Eklo Pareko Chha (Nepali Gajal)

प्रेम विनोद नन्दन – देश एक्लो परेको छ (गजल)

यहाँ देश एक्लो परेको छ आज
इमानी शिरै यो झरेको छ आज

बल्यो अग्नि ज्वाला छ रातो हिमाल
डढेलो कतैको सरेको छ आज

थियौं स्वाभिमानी हिजोसम्म हामी
कसोरी भनूँ क्वै चरेको छ आज?

र, ऐना फुटेझैं फुटेको छ भाग्य
भनूँ खै कसोरी मरेको छ आज

सबै हात हाम्रा उठाएर जागौं
सधैं भोलि भन्दै टरेको छ आज

Sudhir Chhetri – Maila Lai Ramita Chha

सुधीर छेत्री – माइलालाई रमिता छ

अहिलेदेखि झण्डा बोकेको होइन माइलाले।
माइलालाई रमिता छ।

माइलाले नै बोक्नुपर्छ
जातीय अस्मिताको भारी अनि भारीमाथि सुपारी।

माइलाले बाँधिबस्नु छ सधैँ राष्ट्रिय अपरिचयको हेम्मरी,
भिरिबस्नु छ देशरक्षाको भुत्ते खुकुरी
अनि उमालिबस्नु छ खाली कराइमा रालहरू,
झम्टिरहनु छ पक्रनलाई उम्केको माछा।

उसको चेतनाको गलछेँडीतिर युगैपिच्छे
कुन बज्रस्याँठले पिसाब गरिराख्छ ।

ठेलै ठेला उठेका छन्
माइलाको कुटस्थ ब्रह्मभरि।
माइला बिलिँदै गइरहेको छ,
पाठकवृन्द! माइला ग्लेसियर हो
जसको पग्लँदो सहादतले
धेरै खोलाहरू जन्मेका छन्, नदीहरू बनिएका छन्।
माइलाको धमिलो व्यक्तित्वको बारेमा चाहिँ नसोध्नुहोला,
त्यही क्लिष्टताले त यो कविता जन्मेको हो।

खबरमा पढ्नै हुन्छ
माइलाले नारा दिन्छ अघिल्लो जुलुसको पङ्क्तिमा
बादलको खरी उप्किनेगरी पछिबाट त्यसपछि माइलाहरू कराउँछन्।

इन्द्रशेखर पनि उही हो
रने पनि उही हो
जनक पनि उही हो
म्याउची, जयमाया, बाटुली सबै उही हो
उभित्र काँचो कलिलो लचिलो माटो छ
जसलाई प्रत्येकपल्टको दाभिन्चिले नयाँ बजार दिन्छ।
उसको भोकको टाटेपाङ्ग्रे नक्सा बनाउँछ।

पोहोर साल माइलाको मलिलो छातीमा टेकेर
ठूलो कथाको कटिङ सरेको थियो।
पाठकवृन्द। उसैले काटिबस्नु जराहरू,हाँगाहरू।
युगैपिच्छे।

अब माइलाको फोक्सोभित्र
किताबहरू जलेको गन्ध पस्दैछ।
आँखा पोल्दैछ अक्षरहरू ढडेको खिरिलो धुँवामा।
किसानहरूले आत्महत्या गरेको एउटा देशको मानचित्र पस्दैछ।

छिरिबस्छ रगतसरिको माडमा
उसको लपलपे भोक।
ढकढकाइरहन्छ प्रत्येक ऋतु
षडयन्त्रका नयाँ संस्करणहरूले
सजिलै चुइँकिने उसको अवचेतनको दैलो।

पाठकवृन्द। कविता त आजै सकिने होइन
तर माइलालाई रमिता छ।

– कालेबुङ

(Sent to Sanjaal Corps via Email)

Bibek Dulal Chhetri ‘Damak’ – Prema Sita

विवेक दुलाल क्षेत्री ‘दमक’ – प्रेमासित ..!

प्रेमा..!
तिम्रो प्रेम कहिँ लेखिएको छैन
उसको मूटूको पानामा पनी
उसको साँझ बिहानको दिन्चर्यामा पनि

बरू पर्खिन सक्छु उ
चुरोट सल्काएर महगो मोबाइल चलाउदै
माथ्लाघरे माइलीलाई पधेरोमा
या भेट्न सक्छ उसले
तल्लाघरकी बिजुलीलाई
बुधबारे हाटमा.

बरू सारी र मिठाइ
थुप्रैलाई किनी दिन सक्छ उसले
धेरै नव यौवनालाई प्रलोभन बाड्न सक्छ उसले
अनि निर्दोष कोपिलालालाई
एक पछि अनेक प्रपंच रचेर
रातारात सिमाना कटाउन सक्छ उसले .

प्रेमा..!
प्रेम कैले क्रय बिक्रय हुदै होइन
प्रेम टाढीने र कुल्चने चिज होइन
उ जस्ता नारीका दुश्मनहरू
उ जस्ता प्रेमका पिसाचहरू
तिम्रो मुटूमा बसेको नाटक गर्न सक्छन्
तिमिलाई सपनामा देखेको भन्न सक्छन्.

यसैले
ब्युझ प्रेमा ..!
भाबुकता रुपी गहिरो निद्राबाट
सचेत होउ प्रेमा ..!!
चन्चलताको चुन्गुल्बाट
के थाहा तिम्रो एक मुस्कान
तिम्रो अन्धकारको साम्राज्य बन्न सक्छ
के थाहा तिम्रो निर्दोष समर्पण
तिमीलाई जिन्दगीभर कोठीमा सजाउन सक्छ .

सत्ते प्रेमा ..!
तिम्रो प्रेम कहिँ लेखिएको छैन
उसको मुटुको पानामा पनि
उसको साझ बिहानको दिन चर्यामा पनि .

अस्तु :
दमक ,झापा