Rakesh Karki – Diunsai Fulharu Lukna Thale (Nepali Gajal)

राकेश कार्की – दिउँसै फूलहरु

दिउँसै फूलहरु लुक्न थाले
नदी -नाला तालहरु सुक्न थाले

अझ अझ तँ गधा भन्दै
मनपरी गाली गर्दै थुक्न थाले

आयो आयो मा-यो भन्दै
हातले छेक्दै शरिर झुक्न थाले

झुण्ड झुण्ड मान्छेको खल्बली
जोड जोडले कुकुर भुक्न थाले

भूत पिशाच हो कि भन्दै
धामीले मंत्र पढ्दै फुक्न थाले

आफ्नै देशमा हिँडेका बटुवा
अर्का देश हो कि भन्दै रुक्न थाले

– लस् एन्जेलस्

Biplav Pratik – Saamanjasya

बिप्लव प्रतिक – सामञ्जस्य

तोते बोल्थेँ, दौडिँदै केराघारीलाई अँगाल्थेँ
भोगटेका रूख चढ्थेँ, खस्थेँ
र सूर्योदय हुनेबित्तिकै बाबा र आमाको वात्सल्यबाट
फुस्किएर आँगनमा र्झर्थें
घर फर्किंदै गरेका चराचुरुङ्गीका बथान
धानखेतमा बसेर हेर्दाहेर्दै सुर्य अस्त हुन्थ्यो ।
दौँतरीहरू हुन्थे, तिलौरी हुन्थ्यो
दसैँमा टीका अनि फेरि द्यौसी र झरिझरिे हुन्थ्यो
त्यो शैशव थियो ।

कुनै मोह थिएन, उमङ्गबाहेक
कुनै त्रास थिएन, परम्पराको बाहेक
हो, मोह थियो र त्रास पनि थियो
शैशव थियो त्यो ।

आज म हुर्किएको छु
मोह र त्रास पनि हुर्किएको छ
नयाँ रूप छ र त्यसको रङ्ग फैलिएको छ ।
अब म आरुबारीमा आरु चोर्न जान सक्तिनँ
अब म स्कुल जान र त्यहाँबाट बीचमै कक्षा छाडेर भाग्न सक्तिनँ
तर, खुसीहरू चोर्न सक्छु
आफ्नो महत्वाकाङ्क्षाको धनुषले
कसैको बलि दिन सक्छु
औँलाहरूको डरले म आफैँबाट
भाग्न सक्छु
म कर्तव्यबाट भाग्न सक्छु, म बाटो बिराउन सक्छु
हो, पक्का हो !
मोह पनि हुर्किएको छ
त्रास पनि हुर्किएको छ
केही बदलिएको छैन
केवल दृष्टि बदलिएको छ
परिभाषाहरू बदलिएका छन्
केवल यत्ति हो कि
कट्टु लगाएर सिँगान पुछ्दै
नाङ्गा खुट्टा, धुस्रैफुस्रै
कसैले देख्छ कि भनेर पल्याकपुलुक हेर्दै
अब म आरुबारीमा आरु चोर्न जान सक्तिनँ ।

घट्टेकुलो, २ नोभेम्बर १९९२

Shailendra Sakar – Jiwit Nayak Ko Aatma Katha

शैलेन्द्र साकार – जीवित नायकको आत्मकथा
(मधुपर्क २०६६ जेठ)

ऊ ठीक सात बजे उठ्छ
सात बजेर पाँच मिनेटमा रेष्टरुममा हुन्छ
त्यसपछि दाँत माझ्छ
बीस पटक माथिल्लो दाँत र
वीस पटक तल्लो दाँत बु्रसले माझ्छ, मुख धुन्छ
र सात बजेर बीस मिनेटमा ऊ बसभित्र हुन्छ ।
आठ बजे उसको काम सुरु हुन्छ
पाँच बजे अफिस छुटेर घर र्फकन्छ
केहीबेर गीत सुन्छ, खाना पकाउँछ
र टि.भि. हेर्दै खाना खान्छ
यसरी नै धेरै वर्ष विताएको छ उसले
ऊ मात्र एउटा पात्र हो उपन्यासको
उपन्यास लेखक हरेक पात्रलाई अन्त्यमा मृत्यु दिन्छ
यो सबैलाई थाहा छ ।
कुनै खराव लत छैन
कुन कारणले लेखकले उसलाई असमयमै मार्ने ?
तर लेखक भने चिन्तित छ- कसरी आफ्नो पात्रलाई मार्ने ?
पात्रलाई त्यो कुरा एकदिन थाहा हुन्छ
ऊ आफ्नो लेखकलाई भेटेर प्रश्न गर्न चाहन्छ
मैले किन असमयमै मर्ने ?
तर लेखक आफ्नो प्रत्येक उपन्यासमा
पात्रलाई मार्न बाध्य छ
उसले मर्नैपर्छ ।
तर कसरी ? क्यान्सरले एक्कासि ऊ मर्न सक्दैन
त के हृदयघात गराएर उसलाई मार्ने ?
लेखक एकदमै चिन्तित छ ।
पात्रलाई लेखकको गोप्य योजना थाहा हुन्छ
ऊ समालोचककहाँ पुग्छ र अनुरोध गर्छ
‘मलाई बचाउन लेखकलाई भन्दिनु पर्‍यो
समालोचक भन्छ-असम्भव, उसले तिमीलाई बचाउनै सक्दैन
उसका प्रत्येक नायकहरू यसरी नै असमयमै मर्छन् ।
नायक बाँच्ने कोसिस गरिरहन्छ
कोसिस नम्बर १- कुनै काम ठीक समयमा नगर्ने
नम्वर-२ जागिर छाड्ने र दिनभर कतै नजाने
नम्वर ३-कसैको फोन रिसिभ नगर्ने । त्यो लेखकको कल हुन सक्छ ।
अनि कहिल्यै नसोचेको एउटी साधारण ठिटीको ‘बार’ मा पसेर
ऊ दिनभर बिताउँछ
कारण यस्तो ठाउँ उसको नियन्ता
उसको जन्मदाता लेखकलाई थाहनै नहोस्
ऊ लेखकलाई फोन गर्छ
घण्टी बजिरहन्छ फोन उठ्दैन
अन्त्यमा बल्ल फोन उठ्छ
लेखक भन्छ- तिमीले छिट्टै मर्नुपर्छ
मेरा प्रत्येक पात्र यसरी नै छिट्टै मर्छन्
लेखक उपन्यासको अन्तिम परिच्छेद लेख्दैछ
केही घटित हुनु नै छ
लेखक पाण्डुलिपिको अन्तिम परिच्छेद लेख्दैछ
‘नायकले उपन्यासको लेखकलाई फोन गर्छ
र आफू मर्नुपर्ने उचित कारण माग्छ
तर लेखक भने जवाफ दिन चाहँदैन ।
विस्तारै पात्रलाई लाग्न थाल्छ
लेखकले उसलाई बिर्सिसक्यो
अनि ऊ आफ्नै पुरानो घडीको हिसाबमा
अनायास बस विसौनी पुग्छ
बस सात बजेर बाइस मिनेटमा हिँड्छ
उसलाई पक्का छ
त्यही बेला एउटा बालक साइकलमा दौडेर
बसतिर आउँदैछ
ऊ ठीक सात बजेर बीस मिनेटमा बस चढ्न सक्दैन
बस हिँड्छ
बालक बचाउन ऊ बसको अगाडि हुत्तिन्छ
उसको हात भाँचिन्छ
र टाउको गम्भीर चोट लाग्छ
ऊ बेहोस हुन्छ
अस्पतालमा ऊ ब्यूँझन्छ
डाक्टर उसलाई भनिरहेको हुन्छ-अहिले तिमी खतरामुक्त छौ
एक मिनेटले तिमी बाच्यौ
लेखक आफ्नो उपन्यासको अन्तिम वाक्य
यसरी लेख्न बाध्य भयो-
यसरी ऊ बाँच्यो
एउटा बालकलाई बचाएकोले ऊ बाँच्यो
प्रत्येक उपन्यासको मेरो नायकझैँ ऊ मरेन ।

Krishna Kattel – Hasna Khoji Raheko Sapana

कृष्ण कट्टेल – हाँस्न खोजिरहेको सपना

सपना जस्तै हैन यो सपना
जून मेरो जीवनले समाएको सपना
मध्ये सुनसानको मध्ये निन्द्रामा
नचाइदिएजस्तो,हसाँइदिएजस्तो
चढाइदिएजस्तो,अनि लडाइदिएजस्तो ।

मेरो सपना त
मेरी आमाको दुःख
मेरा ुबाु को पट्पटि फुटेको पैताला
मैले देखेका कथित ठूलाहरु बिरुद्धको हो ।
आजसम्म कहिल्यै रमाउन नजानेको मेरो सपना
क्षणिक रमाउने रहरले
कदापी, सपनाजस्तै सपना बन्ने छैन ।

आजसम्मको भोगाइले
संगतले र संस्कारले
मलाइ उपहार दिएको सपनामा
कहिल्यै हाँस्ने लेखिएको छैन
कहिल्यै मज्जा लिने लेखिएको छैन

मेरो सपनाले पिठ्युमा नानी
र, टाउकोमा भारी बोकेकी आमा देखेको छ
रहरलाइ दायित्वसँग बन्धकी राखेर
सडकपेटीमा आल्चा बेच्दै गरेका बा देखेको छ ।
बाटो ढाक्ने गरेर कलिला नानीहरुले
भेडाच्याङ्ग्रा खेदेको देखेको छ
भोको पेट र बेसहारा जीवन लिएर
भुँइमा लम्पसार परेको दुँधे बालक देखेको छ
त्यसैले यी सब् देखेर हाँस्न सक्दैन मेरो सपना
जसरी हाँसिरहेका छन्
हाम्रा देशका कथित बाठाहरु ।

हो,एकदिन मेरो सपना हाँस्नेछ
जून दिन् मेरो सपनाभन्दा पहिले
सारा दुखहरु भुलेर
यी दीनदुखीहरु हाँस्नेछन्
त्यहि दिनको खोजीमा छ मेरो सपना ।

ओखलढुङ्गा कटुञ्जे ५

– बिहीबार, 26 भाद्र, 2071

Bidhya Prasad Ghimire – Bhari Bhari Prem Ghada

विद्याप्रसाद घिमिरे – भरि–भरि प्रेम–घडा

भरि–भरि प्रेम–घडा दिएकै त छु नि !
बदलामा विष–प्याला पिएकै त छु नि !

सुन्दर मेरा हिजोहरू उसकै नाममा थिए
अधुरो यो बाँकी जीवन उसैलाई नै दिएँ
निष्ठूरी त्यो बैगुनीलाई नपाए के भो र
निर्मोहीलाई सर्वस्व सुम्पिएकै त छु नि !
बदलामा विष–प्याला पिएकै त छु नि !

सके जति सहेँ पीडा धेरै बाँचिसकेँ
जति हाँस्नु जिन्दगीमा सबै हाँसिसकेँ
छाडिदेऊ भो साथ मेरा सारा खुसीहरू
सपना ठानी जिन्दगी यो जिएकै त छु नि !
बदलामा विष–प्याला पिएकै त छु नि !

भरि–भरि प्रेम–घडा दिएकै त छु नि !
बदलामा विष–प्याला पिएकै त छु नि !

Ahuti – Gahungoro Africa

आहुति – गहुँगोरो अफ्रिका

मेरो रातो रगत
मानिसको पवित्र रातो रगत
नीलो पसिनाको बुँद बनेर जब झर्दछ
तिमी आफ्ना नरम अञ्जुलीमा आली लगाएर थाप्दछौ
जब म त्यो श्रमको सुवासयुक्त पसिना सुँघ्न खोज्छु
तिमी मेरो अपमान गर्र्छौ र मलाई टाढा राख्छौ
आँखा जुधाउने आँट गर पूजारी
म बीसौं शताब्दीको ‘अछूत’ हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
म न्याय चाहन्छु
म मुक्ति चाहन्छु !
त्रि्रो मन्दिरको मूर्तिमा मेरो आरनको गन्ध आउँछ
ओदानीमाथिको कराहीमा मेरो पसिनाको गन्ध आउँछ
आँखा जुधाउने आँट गर धर्माती मान्छे
कि मेरो अस्तित्वलाई भुङ्ग्रोमा पोल र धर्म धान्ने आँट गर
कि मेरो अपमान गर्ने शास्त्रका पानालाई च्यात्ने या
जलाउने साहस गर
म त्रि्रो मन्दिरको देवता बनाउने कामी हुँ
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
त्रि्रो बस्तीको सफा भुइँलाई सुँघ
बस्तीका हर चोक्टामा मेरो रगतको गन्ध आउँछ
आँखा जुधाउने आँट गर सफा मान्छे !
कि मेरा रक्त नलीमा पानी भर
कि आफ्नो दिमागको फोहोर सफा गर
म त्रि्रो बस्तीको फोहोर सोहोर्ने च्यामे हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
त्रि्रो मनका मनोरञ्जित ग्रन्थीलाई च्यात
त्यहाँ मेरो सङ्गीतका मधुर सरसराहट सुनिन्छ
आँखा जुधाउने आँट गर चेतनायुक्त मान्छे !
कि मलाई जनावरसँग बाँध र घाँस खुवाउने आँट गर
कि तिमी आफूलाई जनावरभन्दा फरक पार्ने साहस गर
म सारङ्गी रेट्ने, मादल ठोक्ने, गाइने हुँ, वादी हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
माटोमा धस्सिएको मेरो जीवनलाई छाम
त्यहाँ मेरो आँसुको आहाल भेटिन्छ
आँखा जुधाउने आँट गर अघाएको मान्छे !
कि त्रि्रो गाँसमा मेरो आँसुको गन्ध छैन भन्ने आँट गर
कि मेरो दलित जीवनको सम्मान गर्ने साहस गर
म त्रि्रो गोरूसँगै माटोमा पौडिने मुसहर हली हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
त्रि्रो पैतालाको जुत्तादेखि शिरको टोपीसम्म
त्रि्रो दृष्टिको दूर क्षितिजदेखि मुटुको स्पन्दनसम्म
म कहाँ छैन – म र्सवत्र छु !
मलाई तिमी कसरी ‘अछूत’ बनाउन सक्छौ ‘छूत’ मान्छे ?
कि इतिहासको कठघरामा उभिने आँट गर
कि आफूलाई बदल्ने साहस गर
आँखा जुधाउने आँट गर पूजारी !
म बीसौं शताब्दीको ‘अछूत’’ हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
म अपमानित इतिहासको हिसाब चाहन्छु
म कुनै पनि मूल्यमा मुक्ति चाहन्छु !

Bibash Bipra – Jindagi Ta Kavya Po Bhai Sakechha

बिबश बिप्र – जिन्दगी त काब्य पो भैसकेछ

कहाँ ! अब जिन्दगी त काब्य पो भैसकेछ
पत्रेफूलको जस्तो खस्दैछन
जिन्दगीका पातहरु पनि एक-एक गरि
माटोमा-
पानीमा-

फुर्र उड़दाछन् हावामा
यसरि फैलदोछ जिन्दगीको चाहत
जसरि किरणहरु ।

जिन्दगी त काब्य पो भैसकेछ
मान्छेका हात-हातमा
झोला, सिरानी,डेस्क र टेबुलमा
पढ्दा पढ्दै छोडेका,
या
मयुरको प्वाखको साँध हालेर
बन्द गरिएका – पुस्तकहरुजस्तै ।

मान्छेहरु, कि अब आधा जिन्दगी बाचिसके l
अथवा- ब्लान्केट ओढेर यो जाडोमा – पढीरहेछन
जिन्दगीको किताब-चिया-कफीको सुरुपसंगै
वा प्रेमिकाको टाउको सुमसुम्याईसंगै
वा कान्तिपुर डायरीसंगै
वा आमाहरुले गाउने हरि भजनसंगै
आदि-
इत्यादि !

हो अबको आधा जिन्दगी – काब्य नै रहिरहनुपर्छ
जसरि – उपन्याशका पानाबाट
भुरुरु….
अक्षरउडेर मगज भित्र पस्छन
ठिक त्यसरी नै – मान्छेहरु बाच्ने साम्राज्यमा बास बस्नुपर्छ – उपन्याश, गीत, कथा, कविता र निबन्धका अक्षरहरुले ।
ता कि ? फुलले फुलको सुगन्ध पढ्न सकोस
काँढाले फुलको सुगन्ध बुझ्न सकोस
हो ! त्यो बुझाइमा मान्छेहरुले लिन सकुन
बाँकी आधा जिन्दगीको काब्य मन्त्र
अथवा – जीवन ।

अब जिन्दगी त काब्य पो भैसकेछ
पत्रेफूलको जस्तो खस्दैछन
जिन्दगीका पातहरु पनि एक-एक गरि
माटोमा-
पानीमा-

फुर्र उड़दाछन् हावामा
यसरि फैलदोछ जिन्दगीको चाहत
जसरि किरणहरु ।

Momila – Manchhe Ko Bhagawan

मोमिला – मान्छेको भगवान

मान्छेले बनाएको मन्दिर
मन्दिरभित्रको देवता
मान्छे उसैसँग डराउँछ ।

युग पगालेर
मान्छेले स्थापन गरेको आस्था
उही ईश्वरका अगाडि
मान्छे अपराध गर्छ ।

कहिले बेमौसममा अपराधबोध गरेर
मान्छे नै मान्छे बन्छ
कहिले अपराध नदोहोर्‍याएर मान्छे
मान्छेकै भगवान् बन्छ ।

Bimal Giri – Samaya

बिमल गिरी – समय

मेरो अबोध मन
आज कता कता रुमल्लिरहेछ
गाउँघर, बनपाखा, कन्दरा र डाँडाकाँडा
समतल र नागीहरूमा ।
आँखाले सम्झिरहेछ बिगतलाई
डाँडापाखा उकालीओराली र
चौतारीहरूमा, भञ्ज्याङहरूमा
सुसेल्दै र रमाउदै
हिंडेका क्षणहरू,
जाने त गैहाल्छ समय जस्तै
जाने भन्दा बस्नेलाई असह्य हुदोरहेछ
मुटुमा एक तमासको दु:ख अनी पीडा हुँदोरहेछ
आज समय दुखिरहेछ
तिमी गयौ
सबै गयो
मृदुल ओठहरूले बिहानी अरुणोदयसंगै
शुष्क गलाबाट निस्केको करुण क्रन्दनले
कता कता द्रबित बनाइरहेछ।
आज
अङ्गप्रत्यङ्गहरुको समय नापतौल गरिरहेछ
आँसु रित्तिएर सुक्का भएका आँखा
अबरुद्ध गलासङै समय
भागिरहेछ।

Hom Bahadur Chhetri – Hijaaja Kunni Ke Bhayechha

होमबहादुर छेत्री – हिजाज कुन्नि के भएछ

मनको रथमा
कृष्णलाई सारथी बनाएर
महाभारतको युद्ध लड्नेहरु भन्दा धेरै छन्
मसानघाटका मृतात्माहरु

मुटुको झ्याल बन्द छ
आँखामा पट्टि छ गान्धारी जस्तै
धिर्तराष्ट्र Continue reading “Hom Bahadur Chhetri – Hijaaja Kunni Ke Bhayechha”

Biplav Pratik – Bado Amurta Katha Chha Yo

बिप्लव प्रतिक – बडो अमुर्त कथा छ यो

(बडो अमूर्त कथा छ यो)
जन्म जसरी एउटा सन्जोग
मृत्यु पनि एउटा सन्जोग
सन्जोगकै जिन्दगी जिउनुपर्ने बाध्यतामा
हरेक मानव पिल्सिएर रोगी भए तापनि
स्वस्थ भएको अभिनय गरिरहेछ
(बडो अमूर्त कथा छ यो)

जुन दिन मान्छेले सन्जोगसँग विजय प्राप्त गर्नेछ
त्यही दिन विनाश सुरु हुनेछ
र सृष्टिले विश्राम लिनेछ
(बडो अमूर्त कथा छ यो)

सन्जोग कसैलाई साह्रै सुखदायी हुन्छ
सन्जोग कसैलाई साह्रै दुःखदायी हुन्छ
त्यही सन्जोग तिमी भोगिरहेछौ
त्यही सन्जोग म भोगिरहेछु
त्यही सन्जोग हामी भोगिरहेछौँ
(बडो अमूर्त कथा छ यो)

नयाँसडक, २९ सेप्टेम्बर १९८७

Homnath Pathak – Matribhumi

होमनाथ पाठक – मातृभूमि

मातृभूमि तिम्रो लागि सहिद पनि बन्न सक्छु
तिमीलाई चिनाउन प्रयोग होऊन् मेरा ज्ञान चक्षु

मेरा कर्महरू खुसी पारुन मातृभूमि तिमीलाई
पहरेदार बन्न सकूँ, सुख दिन सकूँ नेपालीलाई

माटो Continue reading “Homnath Pathak – Matribhumi”

Bibek Dulal Chhetri ‘Damak’ – Timro Samunne Garibi (Gajal)

विवेक दुलाल क्षेत्री “दमक” – तिम्रो सामुन्ने गरिबी (गजल)

तिम्रो सामुन्ने गरिबी आइ झुक्नेछ एकदिन
तिम्रो अघाउन्जेल नै धोको पुग्नेछ एकदिन

यो बेला नदी पहाड चढ़ला ,पहाड नदीमै डुब्ला
तिम्रो भित्रभित्रै Continue reading “Bibek Dulal Chhetri ‘Damak’ – Timro Samunne Garibi (Gajal)”

Biplav Pratik – Swabhab

बिप्लव प्रतिक – स्वभाव

कुनै दिन म पनि कैदमा
एउटा आँखीझयालबाट
एक टुक्रा उज्यालो
घामसँग सुटुक्क चोरेर लिने गर्दथेँ ।

तर, आज त म निकै नजिक छु उज्यालोसँग
उज्यालोले मलाई नै छोएर हिँडिरहेछ
न्रि्रुक्क नुहाएको छु म प्रकाशले
स्वाभाविकै हो मलाई काउकुती लाग्छ
कहिले उफ्रिन मन लाग्छ
कहिले खुसीले कराउन मन लाग्छ
थाहा छ मलाई
र भन्छन् मान्छेहरू
‘मात्तिनु हुन्न सुखमा र आत्तिनु हुन्न दुःखमा’
तर, मान्छेकै प्रकृतिसँग लाचार छु म

आदर्शका तलाउमा नपौडीकन
साँच्चै भन्ने हो भने
आज, म निकै चन्चल छु ।

सिनामङ्गल, २६ मार्च १९८७

Khimananda Pokharel – Eklo Jeevan

खिमानन्द पोखरेल – एक्लो जीवन
(Source: मधुपर्क असार, २०६८)

एक्लो जीवनमा
बाँच्नेहरूको
निराशालाई हेरेँ
मलिन अनुहारका
परेलीहरूलाई हेरेँ
परेलीभित्र छरिएका
प्रतिविम्बित आकृतिहरूलाई हेरेँ
आकृतिभित्र छरिएका

छायाँहरूलाई हेरँें

मभित्रको छट्पटाहट र उकुसमुकुसतालाई हेरेँ

छट्पटाहटबाट छलाङ मार्ने

प्रकृतिलाई हेरेँ

पीडैपीडाले जेलिएको

एक्लो जीवनलाई हेरेँ

अनि

यिनै हेराइको हरेक कथाका

पानाहरू पल्टाउँदै हेरेँ

एक्लो जीवनलाई

दिन र रातसँगै

साट्ने कोसिस गरिरहेँ ।

Simanta Lamichhane – Aakash Haru

सिमान्त लामिछाने – आकाशहरु

हामी सबैलाई ढाकेको
एउटा असिमित आकाश छ
जहाँ बादलका टुक्राहरु
मन फुकाएर घुम्छन
अनि रातमा तारा चम्किन्छन्
चराहरु डुलछन्
यसको कुरा गरि साद्दे छैन
तर कसैले ख्याल गरेकी गरेनन् कुन्नि
यहि आकाशको तल
दौडिरहेका सयौं पाईलाहरु छन्
र तिनको पनि आफ्नै एक्लो आकाश छ
जो यो अविछिन्न आकाश भन्दा भिन्न लाग्छ
नितान्त एक्लो लाग्छ त्यो आकाश
त्यो आकाशमा के के छन्
अन्दाज मात्र गर्न सकिन्छ
दोस्रो कोहिले देख्दैनन
त्यो आकाश को रुपहरु
मात्र त्यहि आँखाले देख्छन
जसका लागि ति बनेका हुन्छन
त्यो आकाशको सौन्दर्य चाख्न
मात्र त्यहि आँखाले मात्र पाउछन
त्यो आकाश को चट्टयांगमा तर्सिन
मात्र त्यहि पाईलाले पाउछन
जति सुकै नजिकिएर हिंड
जति सुकै टास्सिन खोज
यो ठुलो आकाश मुन्तिरको
त्यो सानो आकाश देख्न
सारो गार्हो हुन्छ
यी साना साना आकाश हेर्ने प्रयासहरु
ठुलो आकाश जस्तै असिमित छन्
तर यो सानो आकाश
देखिएको छैन कहिले
कहिले पनि दोस्रो कोहीलाई
आफ्नो दर्शन नदिई
यी साना साना आकाशहरु
बिलिन हुने गरेको छन्
अनि यी सयौं पाईलाहरु
यहि ठुलो आकाश हेरेर
चित्त बुझाउने गरेका छन्

अमेरिका

Narayan Adhikari – Geet Gayera Matrai Kahan Pugchha

नारायण अधिकारी – अब गीत गाएर मात्र कहाँ पुग्छ !

सूर्यको प्रकाशलाई बेमौसममै बादलले
कैयौं दिन अबरोध गरेपछि
जून अथवा जुनकीरीको पुच्छ्रे बत्तीले
अब अन्धकारमा
बाटो देखाउने बेला गइसक्यो ।

अब गीत गाएर मात्र कहाँ पुग्छ !

सडक, कुना, सार्वजनिक स्थल वा घरहरुमै
बम र बन्दुकले मारामारका खेलहरु चल्न थालेपछि
कपर्दी र टोपी लुकाइका खेलहरुले
मान्छे-मान्छेका बीचमा
सद्भाव जगाउने दिन गइसक्यो ।

अब गीत गाएर मात्र कहाँ पुग्छ !

अन्तर्राराष्ट्रिय सीमानाहरु एकपछि अर्को गर्दै
मानेभन्ज्याँङ्ग, मेची, सुस्ता र कालापानी हुँदै देशभित्र पसेपछि
सडक आन्दोलन, गोष्ठी वा सेमिनार धाएर
आफ्नै देशभित्र ढुक्कले गर्व गर्ने
स्वाभिमानी शीरहरु! विश्राम गर्ने दिनहरु गइसक्यो ।

अब गीत गाएर मात्र कहाँ पुग्छ !

अकारण द्वन्द्व र अभिमानले
राष्ट्रिय अखण्डता, धार्मिक सामाजिक र जातीय विविधताको
देशीय एकता, अस्मिता र पहिचान
दूतावासका कोठीहरुमा बेचिन थालेपछि
नेपाली हुँ भन्ने स्वाभिमानै गइसक्यो ।

अब गीत गाएर मात्र कहाँ पुग्छ !

Bhojraj Baral – Mero Malaami Aauna Pardaina

भोजराज बराल – मेरो मलामी आउन पर्दैन!

एउटै मूलको पानी,
एकै टोलका हामी,
तिम्रो बिशाल रङगमन्चमा
म कहिले अटाइन!
तिमीले रोपेको कांडो
मेरो आगनमा लत्रिदा सम्म,
बरु तर्केरै हिंडे,
मैले कहिले हटाइन!
कहिले जात र भातले अटाइन
कहिले रङ, उमेर र उचाइले अटाइन
संसार अटाउंदा पनि म अझै अटाइन,
अनभिग्य छु, किन अटाइन!
तिम्रो परिसरमा
म कहिल्यै अटाइन!
खाचो पर्दा तिमीलाई
टार्न सकिन,
तिमीले गुहारेको बेला
हार्न सकिन,
केही गर्न सकिन तिम्रो लागि,
त्यसैले तिम्रो रङमन्चमा
म कहिले अटाइन!
सयौ जन्तीमा पनि अटाइन,
जन्मोत्सव र चाड पर्वमा अटाइन,
प्रगतिमा फूल को गुच्छा नभएर अटाइन,
अधोगतिमा सहानुभुती नभएर अटाइन,
आसुँ रित्तिए, रोदन मा पनि अटाइन,
दशा थियो वा नशा, म कहिले अटाइन!
दशै र क्रिस्मसमा पनि अटाइन,
बन्द सत्र र गोपनियता को के कुरा
टुंडिखेल र खुलामन्चमा पनि अटाइन,
गाउ शहर त के,
देशमा नै अटाइन!
कहीं नअटाएको म
सात समुद्रमा पारी अल्झिराछु,
ज्युदोमा नअटाएको म
मरेपछी त के कुरा!
मन फेरिएछ भने पनि,
बिराएछौ भने पनि,
साथी, तिमी मेरो मलामी आउन पर्दैन!
बिन्ती, तिमी मेरो मलामी आउन पर्दैन!

– London

Pushpa Adhikari – Euta Kabi

पुष्प अधिकारी ‘अन्जली’ – एउटा कवि


एउटा कवि
समय ओढेर
भोको यूगको
घाइते चिन्तन
बोकेर
लमतन्न सुतेको
आकाशमुिन
मानवता ओछ्याएर
थाकेको
विदिर्ण जीवन
लेखिरहेछु
समयले टेकेर छातीमा
इतिहास जन्माएको छ
अविष्कार गर्दै विज्ञानले
संसार चिनाएको छ
कम्प्यूटरमा वेभसाइट हेरेर
फेस वुक/हाइफाइवमा
आफ्नै अनुहारसँग
वेमेल लाग्ने
भिन्न भिन्न तस्विरहरुको भीडमा
कतै कहाली लाग्दा
कतै लोभ लाग्दा
समयका तस्विरहरु सँगै
एउटा कवि
भोको युगको
घाइते चिन्तन गर्दैछ
जाजरकोट भोकले
रोएको छ
दैलेख र रोल्पा
रोगले थलिएको छ
प्यूठानमा नुन छैन
सल्लेरीमा चामल छैन
मधेशको आगोले
पहाड चहराएको छ
तराइको वन्दले
काठमाण्डौ अनसन
बसेको छ
थाहाछैन
अलिना सपनाहरु
लोडसेडिड्ड भएर
कति दिन अँध्यारो बाच्नु पर्ने हो
मान्छेहरु
मानवता घोप्ट्याएर
संवेदनाहिन भएको छ
एउटा वादशाहको
विकल्पमा
सयौं वादशाहहरु
जन्मिएका छन्
समयले दिएको
वलियो विश्वास
भत्किएको छ
वारुदले पोतिएको
अग्लो पहाड
लाभा निस्केर
ज्वालामूखी भएर
फुट्न
तम्तयार छन्
कैयन भोका सपनाहरु
हिउँदका तुषारोले
निमिट्यान पारेका छन्

एउटाकवि
समय ओढेर
भोको यूगको
घाइते चिन्तन बोकेर
लमतन्न सुतेको
आकाशमुिन
मानवता ओछ्याएर
थाकेको विदिर्ण जीवन
लेखिरहेछु ।

Krishna Sharma – Rajani Madhu

कृष्णा शर्मा – रजनी मधु

खुशीका दिन सुहाना साह्रै नै सौम्य राम्रो ।
अर्को कतै भएन संसारमा जोडी हाम्रो ।।

रजनी मधु दुवैमा ज्यादैँ लुकको माया ।
एक आपसमा मिलेर रच्थ्यौं सुरम्य छायाँ ।।

छाँया मूनि लूकेको आनन्दी पूष्प सज्जा ।
सारा जगतै आँखा पर्दो थियौ यसैमा ।।

एक एक दिन बित्यो कर्तब्य कै अंगालो ।
किन हुन्थ्यो समय बेर्थै तितो तथा अमिलो ।।

सैतिस बर्ष विते सामिप्यमा दुबैको ।
भएन बिछोड एक दिनमा पनि कुनैको ।।

फुलबारीका फुलहरु सुम्पिई मालीलाई ।
आनन्दले बस्यौँ है कयौँ दिन अलि सुस्ताई ।।

जीवन र मृत्यु आखिर साश्वत सत्य सबको ।
एक दिन आई लगिगो सामुन्नेमा सबैको

कर्तव्य एकमात्र बाँकी थियौ बचेको ।
शुशिला र सुन्दर वाला हो वंंशको जमर्को ।।

भगवान आषिश देऊँ पु¥याउ मधुको इच्छा ।
हुन्छु यसैमा सन्तोष र यहि सदिक्षा ।।

कालिमाटी, वाफल