Shrawan Mukarung – Bhanubhakta

श्रवण मुकारुङ – भानुभक्त
(Source: Himal Khabar)

पहिलो जुनी
वि.सं. १८७१ असार २९ मा आए
भानुभक्त र गए- वि.सं. १९२५
असोज ६ सँगै

दोस्रो जुनी
भए आदिकवि
कतै चिम्सा आँखा
कतै लामो नाक
कतै गोरो वर्ण
कतै कालो वर्ण

कतै पूर्ण कद
कतै अर्ध कद
कतै रथयात्रा
कतै अबिर जात्रा

तेस्रो जुनी
भए माछा
नदीको लहरमा कविता लेख्दालेख्दै
एकदिन अचानक
खायो- गोहीले
……….

बयालीस लाख जुनी
भए किम्बुको रूख
शरद ऋतुको आँखैअघि
खायो रेशमकीराले
……….

चौरासी लाख जुनीपछि
आज फेरि
जन्मिए भानुभक्त मानिस भएर
(मानिसको जीवनको कुनै भर छैन)
र हिँडे भानु
अमरावती कान्तिपुरी नगरी

हतारमा बिर्सेछन् बिर्के टोपी

बाहुला सुर्केको कमिज
खासाको जिन्स पेन्टमुनि
गोल्डस्टार सुज
झ्ोलामा टाबेल, गन्जी र कट्टु
एसएलसीको सर्टिफिकेट र
श्रीप्रकाश कोविदको उपन्यास
खल्तीमा नागरिकता, पासपोर्ट
रु.सात सय पचास र
आमाको सादा तस्बिर

बालाजु, बसपार्क, धरहरा
घण्टाघर र रानीपोखरी
घुमे कविजी दिनभर
गुनकेशरी फुलिरहेछ गमलामा
रित्तै दौडिरहेछन् चपला अवला
जब ढल्क्यो घाम
गमे कविजी कता जाम?
कविले कविको मर्का बुझछ
सम्झ्े उनले चित्तधर

खल्तीमा छ रु. सात सय पचास
लच्छिनकी रहिछिन् घरबूढी
दिइन् स्नेहले दालभात
ढल्किए कविजी चुरोट तान्दै
सम्झ्े उनले चुदी-रम्घा
झ्र्‍यो आँसु दुई कानमा
ताने सिरक र छोपे मुख

किनकि-
भोलि त उड्नु छ मलेसिया
लेख्नु छ- रामायण!

Bimal Koirala – Dar Namanera Po Ke Garnu Ra?

विमल कोइराला – डर नमानेर पो के गर्नु र ?
(मधुपर्क माघ, २०६७)

जब शान्त स्वरहरू
आक्रामणमा पर्छन्
जब दूधे बालक पनि
घाँटी निमोठ्याइमा पर्छ
जब मौन बहुमतमाथि
हल्लाखोर अल्पमतले शासन चलाउँछ
जब नम्र शरीरहरूमाथि
हिंस्रकले डण्डा बर्साउँछ
जब व्यस्त सहर पनि
जङ्गलमा अनूदित हुन्छ
असुरक्षित वातावरणमा कसको पो भर हुन्छ र, अनि
डर नमानेर पो के गर्नु र ?
सत्यको विजय हुन्छ, डर नमानी लड्नु
भन्ने नै त्रासदी बीच गयो भने
छिमेकी यन्त्रणाको शिकार हुँदा अर्को छिमिकी
ढोका थुनेर सुत्छ भने
जब सभ्यता र सौहादर््रताको पर्दा
निर्माण गर्नेहरू नै च्यात्न उद्यत हुन्छन् भने
लाजै नमानी शासनमा बस्नेहरू
जनताप्रति गैरजिम्मेवार हुन्छन् भने
डर नमानेर पो के गर्नु र ?
युद्धको विभिषिकामा परेर घाइते भए
जस्तो छ देश
जहाँ नागरिकभन्दा धेर सहिद छन्
नमारिएर छाडिदिएका दुर्बलहरू एकाध छन्
अपहेलित-अर्धमृत
भावना र अन्तिम सासको दोसाँधमा छन्
सिमाना मिचिएकाहरू सुस्ता र कालापानीमा
कराउँदै पनि छन्
राष्ट्रियताको बाक्लो बर्को ओढेर देश
मस्त निद्रामा छ
सपनामा पनि तर्साउन आउँछन् गिजाभरि
रगतको टाटा बोकेका राक्षसहरू-र, हैरान पार्छन्
बलात्कृत मैना र फूलमतीयाहरू
यौन क्षुधा शान्त गर्न पल्केकाहरू साँझ भट्टीमा सल्लाह गर्दैछन्,
आमा भन्छिन्-रातैभरि अनिदो बसेर पनि हुन्छ र ?
म भन्छु-डर नमानेर पो के गर्नु र ?
स्वतन्त्रताको जग हल्लिँदा पनि
मेरो कलमको निबबाट मसीको थोपा झर्दैन
आतङ्कित छु वैरीबाट होइन आफ्नै मित्रहरूबाट
जसले सिकाए प्रजातन्त्रको पाठ-र देख्दैछु
तिनको शासन गर्ने आडम्बर कहिल्यै मर्दैन
नदी किनारको बकुल्लाले माछा खान्न भनेर जोगी भए जस्तो
मालिकहरू बसेका छन् किनारमा
र मुण्टो लुकाएर बसेका छौँ हामी-यस्तोमा
प्रश्न सोधर हैरान पार्छन् साथीभाइहरू
तिमीले आँट गरे हुन्न र ?
मेरो भने जवाफ हुन्छ-यस्तोमा
डर नमानेर पो के गर्नु र ?
भयरहित वस्ती निर्माणको सपना
विस्तारै विस्तारै
भयपूर्ण विस्फोटको नजिक गइरहेछ
अनि,
डर नमानेर पो के गर्नु र ?
डर मानेर पो के गर्नु र ?

– ज्ञानेश्वर

Saroj Dhital – Aansu

सरोज धिताल – आँसु

ऊ आँसु बनेर बगी
सडक भरी
र जमी झरीको चिसोमा
ऐना भएर उठी मान्छेको सामु
र फुटी सहस्र टुक्रामा ।

ऐनाका टुक्राहरूभित्र
खण्डित, अपूर्ण
आफ्ना हजार रूपदेखि
मान्छे जब सक्पकायो

“ऐनाभित्रको पाखण्डी, पापी
म हैन”— भन्न खोज्दा
मान्छे जब लक्पकायो

जमेकी ऊ सल्बलाई
अलिकति चल्मलाई

“लौ न ! अझै त लाज बाँकी रहेछ मान्छेमा ”
भन्दै
पग्लिएर अलिकति झिनो जीवनको तातोमा

फेरि
आँसु भै टल्पलाई ।

Khagendra Pandhak Limbu – Simma Ra Samjhana

खगेन्द्र पन्धाक लिम्बू – सिम्मा र सम्झना

धरोधर्म!
मैले तिम्रो रात सापटी लिएर…
खान्ग्रे भरी-भरीको तिम्रो माया
टेम्के डाँडाको उकालोमा…
हैरानले छिचोलेको थिएँ ,
ए सिम्मौ !
कसम होला…यो भीडमा पनि
तिम्रो मायाको सुगन्ध…
त्यै बूकिफूल र तितेपाती भएर
मगमगाई रहन्छ…
मेरो निस्वास भरी-भरी ।

तिम्रो चोलीको तूनाको कसम,
तिम्रो मुचुन्गाको धूनको कसम….
उधौली उँभौलीको पूजामा…छम-छम….
ढोल-झ्याम्टासंग एक शय पांच शिली
तिम्रो प्राकृतिक नृत्यको सलाम…
सत्ते-सत्ते,
यो सागरबीचमा पनि
किन होला –
दुधकोशी,अरुण र तमोरको पानी तिर्खाएको म?
त्यो भन्दा पनि-
तल बाँस झ्यांग फेदीबाट
तिमीले घैंलो कम्मरमा राखेर
ल्याएको पानी सम्झिएर
यो बिशाल मरुभूमि
अहिले नै पिउँ-पिउँ झैं लाग्छ !

ए सिम्मौ !
तिम्रो माया
तिम्रो संझना
पारूहांग-सुम्निमा भएर ..
गढ़नु सम्म गढेको छ छाती भरी ..
यत्रो बर्ष, यत्रो साल पनि
..आम्मै !,
म त अझै माटो नै गन्हाउँदो रहेछु ..
खै बुइंपाको हो कि..हलेशी तीरको..
सिम्पानीको हो कि कटुन्जे तीरको..
के भा’ हो कुन्नी !
यो महँगो पर्फ्यूममा पनि
छनुवाको सुन्गन्ध आ’छ !
आपुई!
म त तिम्रो डबका भरी-भरिको
उधारो माया पो सम्झेछु…
छपनिमा..छानी-छानी भरेको
तिम्रो एक सेर कटुवाको
सम्झना पो कल्पेछु !
कहिले कहीं,
तिमीले जिस्किएर हानेको
बाबरी फूलको चोट बल्झी रहन्छ एकान्तमा;
लूहौ !
तिम्रो ठट्यौले माया पो सम्झेछु

सिम्मौ!
मलाई त तिम्रो यादले
घाँसको भारी झैँ बाँधीछ्यौ
माथि देउरालीको पाती झैँ
अमर-अजर रंगिन मायाका ध्वजा-पत्ताले
भित्र-भित्र गजबले सिन्गारेछ्यौ
तिन तारा डाँडामा नबस्दै
तिम्रो नूनिलो आँशु ..कोशीमा मिसाएर
तिम्रो चन्चले आँखामा सावन रुझाएर..
मलाई तिम्रो पाप लाग्ला!
चिन्डोको निम्ठो भरी..भरी..
जतनले अझै तिम्रो माया
मेरो शिरानीमा सजाएको छु !
हो,
यत्ति भए यहीबाट..
मेरो टेम्के देखी रहन्छु
मेरो कोशी देखि रहन्छु ,
मेरो मायाको गाउँ देखि रहन्छु
मेरो परुहांग-सुम्निमा..
मेरो सिम्मालाई पाईरहन्छु ..

ए सिम्मौ !
तिम्रो कसम,
उधौली उँभौलीको कसम,
यो रिबुछे कान्छोलाई
तिम्रो साह्रै माया लागीरहन्छ
सत्ते-सत्ते,
…..तिमीलाई चण्डी नाच
मन परे भन्दा झुसी-झुसी….!!

Ajaya Paudyal – Kahile Yeta Farke

अजय पौड्याल – कहिले यता फर्के

कहिले एता फर्र्के जनतालाई बहलाए
फेरी उता फर्र्के मित्ररास्ट लाई पनी टकराए
फकाए, फुलाए, फेरी थुमथुमाए
भन्दै हिडछु सहकर्मी सबैलाई मैलेनै सम्झाए
जो कुरा अझै आफै नै सम्झिन सकिन खोई मैले कस्लाई के सम्झाए?

लेखु लेखु भन्दै आगाड़ी आए न लेखे न लेख्नन नै लागाए
थोरै मात्रै पो हो लिएको मैले जनताले के नै पो गुमाए?
सुंन्य माँ नै त हो मैले सुरु गरेको सुंन्य माँ नै अन्त्य गराए

माकुरीको चाला जस्तो नेपाल आमालाई आफै खाए
आफ्नो परिवार बलियो पारेर देशलाई टुक्रा टुक्रा बनाए
अझैपनी सगर्व नेपाली हु भन्ने साहस पनी बनाए

अब तपाईहरू नै भन्नुहोस म को हु र मैले देश कस्तो बनाए?

Bibash Bipra – Ma, Premika Ani Karagar

बिबश बिप्र – म, प्रेमिका अनि कारागार

भो|
भइसक्यो-
मेरो अस्तित्वको उद्घाटन-यो कारागारभित्र

फलामको गेटमा लागेको खिया
मेरो कामकथामा लालमोहर ठोक्दैछ

मैले माया भेटेको छैन-आकासको
तिम्रो चुनावी उपहारको बट्टा पनि -बिनाआकासको
मैले पिउने चुरोटको धुँवा पनि कोठा भरिमात्रको

आजकल-
जेलरका जुँगाहरुमै शितलता छाएको छ  मेरोलागि
तिम्रो बर-पिपलको चौतारी यो कारागारले मन पराउन्न

मैले माया गर्नु – मर्नु सामान हो  बुझिराख

तिमीले एउटा गुलाब स्याहार्न सकिनछौ
अब त मैले पनि काँटीलाइ प्रेम गर्नुपरेको छ
कारण-

मेरो बन्दि-गृहभित्र मात्र काँटी छन्
एउटा गुलाब-
जेलरको प्राइभेट गमलाको पाले भएको छ

यसबखत,
तिमी पियानोको तरङ्गमा अनुभवको कथा बुन्दैछ्यौ की ?
म सन्तुष्टि भुल्न,
घरको कल्पनामा अर्को कारागार-चित्र कोर्दैछु

तिम्रो घरले तिमीलाई बासको अनुमति दिएको बेला-
नआऊ है- मलाइ भेट्ने इच्छा बोकेर
कारण-

– यो कारागारले तिमीलाई पाल्न सक्दैन,
– तिम्रा आँशुको पवित्रता यो कारागारले बुझ्नेछैन र
-मैले पनि नबुझेकै हुनेछु

Mohan Sitaula – Santanabbe Saal : Ek Shabdachitra

मोहन सितौला – सन्तानब्बे साल: एक शब्दचित्र

आर्य घाट बडो भीड शोकाकूल समूहले
भेला भएर पर्खेका छोरो आउला घाटमा
प्रभात आँसुले ल्याप्फै भिजेर दिवसै पनि
साँझ र रजनी रुन्थे गए विष्णुचरण भनी

सम्पादन उनी गर्थे पत्रिका भीड–भेलको
पहिलो चिन्तना डाको नेपाली मुटुको सिपी
खिपेर चिन्तना नौलो, टिपेर रोशनी–लिपी
‘आवाज’ नै थियो त्यस्को–स्वतन्त्र कसरी बनूँ ?
समुन्नत धराव्यापी नेपाली कसरी बनुँ?
विश्वको रङ्गमञ्चैमा शुभ्र संस्कृति सिञ्चनु!

कलाकृति थिए जस्का गद्यपद्य मिठासमा–
बग्दथे, पढ्थे पे्रय, श्रेय एकान्त कान्तमा
‘सुमती’ हैन दोस्रो त्यो नेपाली उपन्यासको
श्रीगणेश थियो साँच्चै पियारो इतिहासको
समाजको खुला ऐना नव्य दृष्टि सुलोचना
उद्धार र सुधारैका पाठ पढ्छन् सबैजना

सन्तानब्बे थियो कालो, काल लाल नेपालको
उग्र विद्रोहको साल, कालजयी कमालको
तन्नेरी, तरुणी धेरै हराए ,ध्.वस पारिए
लघारिए, कति मारे,कति पाशोमा बाँधिए
होम्मिए प्रौढ र बूढा युगान्तर गरौ भनी
मरेनन् ती सबै बोचे काल–खाल पसे पनि
मृत्युको व्दारमा पुग्दा मृत्यु दौडेर भाग्दथ्यो
गाथा अमरको गाई नवधुन बजाउँथ्यो!

पृथिवी कुरुक्षेत्रै हो नवचिन्तन–भेषको
योद्धाको युद्ध हो गाह्रो, नव निर्माण देशको
युग–पुरुषको उच्च अठोट, पुण्य कर्मको
गरौँ कि त मरौँ साँच्चो ! लीला कर्मठ पात्रको
सन्सार कार्यशाला हो लक्ष्य,प्रयोग,प्राप्तिको
उत्सर्ग जीवनी गर्ने मृत्युञ्जयी शहीदको
चौतारी उच्चमा बस्ने, महिमाको ,सुवासको
गौरव–गानमा बाँच्ने, मान, सन्मान सानको!

काललाई अँगालेर कालकै फूल भै फुले
नवयुग बनाएर, नव्य मौलो खड भए
सभ्यता सर्छ मौलेर चेतना–दीप पाउँदा
बलिदानी, तपस्वी र त्यागवीर पलाउँदा
इतिहास त्यहीँ बन्छन् जब नव्य अठोटका
एकै निमेष र स्थान ब्यूँझन्छन् दूर दृष्टिका
उठ्तछन् ,जुट्तछन् गाँठे!सशक्त भई चल्दछन्
दूर भविष्यका द्रष्टा बनेर जब बल्दछन्!

जीवन्त पान्थ हो मान्छे इतिहास बनाउँछ
उर्ध्व निकास नै खोज्दै नित्यै ऊ सुवसाउँछ
सतासी वर्षमा पुग्दा जेल झेलेर यातना
खपेर देशकानिम्ति, जेलबाट छुटे पनि
रोगी र बृद्ध थे तै’नि विद्रोह किन छोड्दथे?
लडी रहे दिए, हाले, भरे जोस र होस नै
वीरत्व हात पारेका विष्णुचरण उच्च हुन्
सपुत हुन् ,ठूला ज्ञानी, शुभ चिन्तक देशका
सद्बुद्धि, सूचना नौला नवयुगीन भेषका

स्वतन्त्रता र क्रान्तिका धन्य सेवी! समाजका―
बूढा–खाडा,कडा,काढा, खडा पीडा प्रगाडका,
अन्यायका सदा द्रोही, दूर दृष्टि भविष्यका
चित्तका, चेतका उच्च, जोसला, मुक्ति–मार्गका
बढारी तिस्कला,काँढा, उठाई रणका खुँडा
मडारी जोस, घम्सान, द्रोह, विद्रोह–खातिर
दुष्ट ,दुस्शासनी, दम्भी, हिङ्स्रक जन–मारक
हटाएर नयाँ ल्याउँक्ष्क, सभ्य शासक, पालक
समान न्याय,सन्मान, राष्ट्रिय, विश्व–भावना
रचना–रागका नाना,मानवीपन–चाहना
टेक अठोटको लिन्थे, टेका ,बोली, विचारले
आड पहाडझैँ दिन्थे, कहाँ काँतर टिक्दथे?
टिक्नेले कविता पाए एलिजिका मिठासमा,
सुवासमा,प्रशंसामा, मान्छेको इतिहासमा

पुनःपुनः नयाँ पुस्ता आउँछन् मृदु गानमा
तानमा ,धुनमा नौला, गुन्जाई स्वर लोकमा
दुःखको जीवनीबाट उठ्न दुःख सँगाल्नु छ
शत्रुता हैन मायाँको मधुर धार प्यूँनु छ
भुत्भुते बालुवाबाट उद्यानतिर लम्कन
ताप,सन्ताप तोड्नु छ ,सघंर्षशील बन्नु छ
व्देष,क्लेष,तीता डाहा सारा ध्वंस गराइद्यौ
प्रदूषण, खुराफाती सृष्टिबाटै पठाइद्यौ
मनको निम्नगाबाट म्लानभाव हठाइद्यौ
दिलको वागमा सङ्लो पे्रमधारा बहाइद्यौ
भुल्भुले मुटुका मूल सुवासित हुँदै बहुन्
हृदय–तालमा भाव–ताराहरू फुलि रहुन्।

यस्ता सद्भाव ती राख्थे,यस्तै नै पनि बोल्दथे
कार्यका क्षेत्रमा सारा उतारिकन छाड्दथे
यिनकै स्निग्ध अन्तेष्टि गर्न पवित्र पुत्रले
उज्यालो मार्गको दीप्ति बाल्न सुपुत्र रोकिए
अनन्त छुट्टिँदो आत्मालाई निहाल्न छेकिए
प्राणयाम महायान भनी विकल भैरहे
थुनिएका थिए भित्रै सिद्धि एकान्तमा रहे
दागबत्ती र अन्तेष्टि सारा अरुले पो गरे

–प्रकाशोन्मुख ‘सिद्धिसुधा’ बाट

Sandesh Rai – Sankramit Buddha

सन्देश राई – संक्रमित बुद्द

असम्भव यहाँ केही रहेन
पिपलको फेदमा बस्ने बुद्धलाई
एच.आई.भी. भएको छ

परिवर्तित छन् सोँचाईहरु
हराएको छ आफ्नोपन
मौलाएको छ गलत मानसिक्ता
बुद्ध संक्रमित छ

सम्झी सम्झी विर्सँदैछौँ आफैलाई
मष्तिष्कमा भर्दैछौँ हिंसाका कुहिराहरु
बाध्य पार्दैछौँ पुछिनलाई सिउँदोहरु
टुहुराको सम्मान दिँदैछौँ दुधे बालकलाई
डुबुल्की मार्दैछौँ रगतको स्विमिङ्ग पुलमा
पेटपुजा गर्दैछौँ परेवालाई काटेर
बुद्ध संक्रमित छ

मानव अस्थिपञ्जरको हाउभाउ लिएर
हराईसकेका आफ्ना वाणीहरुसँगै
हिपहप संगीतको तालमा झुमिरहेछ
अस्तित्वहिन वाँचीरहेछ
बिरामी बुद्ध
आधुनिक बुद्ध

थाकेको शरिर
विर्सिएका शान्तिसन्देशहरु
क्रमभंग तपस्याहरु
जताततै चिच्याहट र घाउहरु
एड्स हुन सक्छ बुद्धलाई
संक्रमित बुद्धलाई

मान्छेलाई मान्छे सोचिएको छैन यहाँ
भाइ–भाइ फुटेका छन्
बाँच्न सक्छ बुद्ध शायद
काँधमा काँध मिले
हिमाल, पहाड र तराई जुटे

Sabin Singh – Janawar Haru

सबिन सिंह – जनावरहरू

सडकमा,
एक हुल भेडाहरू,
गन्तव्यतिर लम्कदैछन,
कुनै भावना, कुनै आक्रोश नराखी
चुपचाप लाम लाग्दैछन ।

चोकमा,
एक हुल चमेराहरू
बाटो छेकी बसेका छन्
चिच्याउँदै, उफ्रिँदै, विद्रोहको आगो बाली
राप तापी रहेका छन् ।

अनि सेतो दुलोमा,
अलि सानो हुल स्यालहरू
आराम फर्माउँदैछन्,
सिनो कुरेर, ढोकामा चुकुल मारी
सुख सुविधामा रमाउँदैछन ।

रातो खोपीमा,
एउटा म परेवा
सानो झ्यालबाट यी हुलहरू चियाउँदै बसेको छ,
साँझ गुँडसम्म कसरी पुग्ने भनी
चिन्ता गर्दै योजनामा डुबीरहेको छ ।

Manoj Bogati – Saila Bahun

मनोज बोगटी – साइला बाहुन

साइला बाहुनले बाजेलाई पछ्याएनन्‌
बाबुलाई पछ्याएनन्‌।
उसले भने- म म भएर बॉंच्छु
म आफै बनाउँछु बाटो।

धेरै दाजुभाईबीच
कुन्नि किन साइला मिल्नै सकेनन्‌
भने- बरू कोइलाखानी जान्छु
पढ़्न जॉंदिनँ।

म ठग्दिनँ
यसरी नै एकदिन अग्लिन्छु।

उसको कोठा छुट्टियो
फोक्टा छुट्टियो।

एकदिन
त्यही कोठामा सर्किनी कान्छी पसिन्‌
त्यसपछि त पानी छुट्टियो
जिन्दगानी छुट्टियो।

साइला बाहुनलाई गाउँबाटै निकालियो
नाउँबाटै निकालियो।

आहिले साइलाको आफ्नै गाउँ छ
आफ्नै नाउँ छ।

उ अहिले भन्छ-
मेरो नाउँ कसैले मेट्न सकेन
मेरो गाउँ कसैले मेट्न सकेन
जसले मेट्न खोजे
उनीहरूले नै
मेरो आफ्नो नाउँ बनाए
मेरो आफ्नो गाउँ बनाए
यसो गर्न मैले नै उनीहरूलाई सघाएँ।

Sulochana Manandhar Dhital – Jeewan

सुलोचना मानन्धर धिताल – जीवन

जीवन
हरेक दिन
नयाँ भएर उदाउँछ
पुरानो भएर अस्ताउँछ
सूर्य सँगसँगै ।

Saroj Dhital – Meri Timi

सरोज धिताल – मेरी तिमी

रहर छ भने
भुईंकुहिरो भएर आऊ
र मलाई छोपिदेऊ
म चुपचाप मुस्कुराइरहन्छु
रमाइरहन्छु ।

चाहन्छ्यौ भने
सिमसिम पानी बनेर आऊ
विस्तारै विस्तारै मलाई लछ्रप्प भिजाऊ
म आंखा चिम्लिदिन्छु ।

घामै भएर आऊ र तताऊ मलाई
वा जून भएर आऊ र नुहाऊ मलाई
बाढी भएर आऊ र बगाऊ मलाई
वा हुरी भएर आऊ र उडाऊ मलाई

म मुस्कुराइरहन्छु
रमाइरहन्छु
किनकि
कल्पकल्पदेखि
तिमी मभित्रै छ्यौ
र म तिमीभित्रै

Ashesh Malla – Euta Sparsha

अशेष मल्ल – एउटा र्स्पर्श

एक दिन अचानक
शहरका चौबाटाहरुमा
हाम्रा मृत शरीरहरु
वेवारिस पल्टिएका हुनेछन्
र हामी हाम्रै लाश अघिल्तिर
उभिएका हुनेछौँ लाचार ।

एक दिन
आनक
हामीलाई बल्ल थाहा हुनेछ
हाम्रै शरीरबाट निस्केर हामी
हाम्रै लास अघिल्तिर उभिन पुग्नेछौँ
अनि
गीताका श्लोक
याद गर्ने कोसिस गर्नेछौँ
एक दिन अचानक
अनि पत्याउनेछौँ
आत्माका अमर अस्तित्वहरु
जब लास अघिल्तिर उभिएर
लाचार
र्स्पर्श गर्ने कोसिस गरिरहेका हुनेछौँ
आफ्नै लास
मानौँ
खोल फालेर हिँडेको
एउटा र्स्पर्श ।
एकदिन अचानक
न्रि्राबाट ब्यूँझदा
आफूसँगै नभएर
आफन्तहरुकै
लास
र लास वरिपरि
झिँगा स्वरुपमा
भन्किरहेका हुनेछौँ
सारा शहर ध्वस्त ध्वस्त
धुँवा/धुँवा चारैतिर
खण्डहर/खात/खात
लासहरु
अनि आकाशभरि मडारिएका हुनेछौँ हामी
बादलजस्तो
रूप रङ्ग र स्वरुपविहीन
एक दिन अचानक
सहरको धुलो/धुलो/र धुलो
उडिरहेका हुनेछन्
लम्पसार पर्नेछन् महलहरु
सडक सडक छोपिएर पछारिनेछन् गुम्बजहरु
अनि हामी हाम्रै लास भन्दा
अलि माथि भन्किरहेका हुनेछौँ
शून्यमा आफैँलाई खोजेर ।

Sarita Tiwari – Globe : Ek Kaidi Sambedana

सरिता तिवारी – ग्लोव: एक कैदी संवेदना

काँचका बिस्वाशहरु टुटेको रात
युगिन सम्भावनाका
हस्ताक्षर-पत्रहरु जलाइएपछि
जब युद्धको घोषणा हुन्छ-
यज्ञका हवनकुंडमा पोल्दै
मान्छेका आला लाशहरु
बीभत्स आतंकको मध्यान्तरमा

क्रुरताका रगतपिच्छे हातले
लाशहरु डढेको खरानी
निधारभरि दल्छ

यतिबेला
ब्रमाण्डीय एक मुठ्ठी सास बाँचेर
मेरो ग्लोब
कैदी संवेदनाहरु खेपिरहेछ

पिंजडाभित्र आस्थाका
इन्द्रेणी सपनाहरुको
क्षयीकरणपश्चात पनि
निर्वासनका आन्धेरिहरुभित्र
संघर्ष गर्दै छन् |

म यो मसानहरुको जंगलमा
युगीन कोरसबिनाको जिन्दगी
बाँच्न सक्तिन
म यो मुर्दाघाटको अमिलो साँझमा
सुकोमल रहरहरुका कविता लेख्न सक्तिनँ

मसिहाको मुर्तिमाथि चढेर
भित्ताभरि
नारा लेखिरहेछु
” … … … मुर्दाबाद ! ”

यहि बाटो हुँदै
ताता बारुदी हावाहरू
जोड-जोडले हुइँकिरहेछन्
मेरो बिरुद्धमा |

हो
म मारीइसकेको छु
आरोपित भएर
र यतिखेर
सनाखतबिना
मेरो लाश
सिमानानजिकै पल्टिरहेको छ

२०५५/१२/१९

Lekhnath Paudyal – Sahitya Ko Football

लेखनाथ पौड्याल – साहित्यको फुटबल

भाषा छ विशाल चौर समा गर्दै ठुलो तर्खर
भै केही फरवार्ड, रेफरि कुनै ब्याकिङ् र गोल्कीपर ।
खेल्दै छौं फुटबल बालक सबै साहित्यको बेसरी
हावा छैन परन्तु भित्र उसमा गुड्दैन केही गरी ।।

खेल्नै हो अब खेल यो यदि भने चाँडो अगाडी सरी
ल्याऊँ शुद्ध विचार-पम्प, उसमा जोडौं र त्यो सुस्तरी ।
हावा जागृतिको क्रमैसित भरौं सर्वत्र त्यो टन्न होस्
भर्दा जोड परेर किन्तु पहिल्यै टुट्ने र फुट्ने नहोस् ।।

त्यो घात-प्रतिघात-चङ्क्रमणको चातुर्यु-सौदामिनी
लड्नासाथ उठेर चक्कर लिंदै घुम्दै रहोस् फन्फनी ।
खेल्छौं हामि जती उती चटपटे उस्को नयाँ रङ्ग होस्
सारा दर्शक वर्ग मस्त सुरमा ताली पिटी दङ्ग होस् ।।

‘लालित्य’ भाग १

Ishwor Ballav – Niriha

ईश्वरवल्लभ – निरीह

केही विम्ब देखिन थालेका छन्
पानीमा घाम अल्झेको छ,
कतै गीत जस्तो
नदीको किनार
फेरि मनमा बल्झेको छ ।

बिराना बादल
कता-कता आकाशमा उड्छन्
स्वप्नबस्ती खोज्छन्

उत्तरतिर गइरहेको कर्याङ कुरुङको
ताँति
भ्रान्त मन
भ्रान्त पथ
भ्रान्त पथिक

आज फेरि एउटा आरुको फूल
निरीह झरेको छ
पानी बगिरहेको छ ।

Sanju Bajagain Nepal – Rupantar

सन्जु  बजगाईं नेपाल – रूपांतर

रंग मेटिएको
क्यानभास जस्तो जीन्दगी
शुन्य सडकको सालिक भएर
केवल रात रुंगीरहेछ ।
लाशहरुले छोपिएर
लम्पसार तन्किएका बाटाहरुमा
धुकधुकी बोकेर
‘म’ म हुनुको सट्टामा
ऊ भैरहेछु ।
एक ग्यालेन पेट्रोल
एक सर्को बारुद पोल्टोमा
आगो सल्किन बाँकी क्षण
आकाश पर्खिरहेछ
अझै पनि ‘म’
म हुनुको सट्टामा
ऊ भैरहेछु ।
मौन ठडिएर झुठो बसन्त
पर्खिरहेका बग्रेल्ति पहाडहरु
काकाकूल किनार
घिस्रिएको नदी
थोपा-थोपा आँखाहरुमा
फेरी पनि ‘म’ हुनुको सट्टामा
ऊ भैरहेछु ।
छातीभित्र थोत्रो कम्पास
पाताल आकाश
आकाश पाताल भैरहेछ ।
भूत पछिल्तिर
भविष्य अगाडि
वर्तमान चेपिएको
तथापी
‘म’ हुनुको सट्टामा
ऊ भैरहेछु ।

– ब्रसेल्स, बेल्जियम

Sunil Limbu – Prerana Lai Kasari Sajau

सुनिल लिम्बु – प्रेरणालाई कसरी सजाउ ?

भावनालाई कसरी कोरू ?
जसको सामु, शब्द बेकार छन्,
वाक्य, काव्य कसैमा न बुनिने
जसको अनौठो पहिरन,
न्यानो स्पर्शको अंगालो उस्कै माग्छ
ह्रिदय खोली मेरो मन ।
त्यो संगीत म कसरी सुनाउ ?
जसको सामु, स्वर आवाजहीन छन्,
न संगीत साधन, न रागमा गुन्जिने
प्रक्रितिको कस्तो यो शिक्षण,
र पनी हरेक पाइला तिन्कै तालमा
नाच्छन् गर्दै सम्बोधन ।
अनि, त्यो द्रिश्य कसरी देखाउ ?
जसको सामु, रंग बेरंग छन्,
कुनै क्यानभसमा न समिटिने
अद्रिश्य आकार जसको झन्,
रंगीएको छ तर मेरो हरेक साँझ
कल्पना गर्दै उस्कै मुहान ।
कुनै कलाकारको चोखो प्रेरणा जस्तै,
प्रेरणालाई कसरी सजाउ ?

(Sent to Sanjaal Corps via Email)

Yogendra Raj Sharma – Timi Ghaam Nai Hau

योगेन्द्र राज शर्मा – तिमी घाम नै हौ

लाग्छ,
धेरै ताराहरु मिलेर
तिमी बनेकी हौ
तिम्रो अनुहारमा
म रातको आकाश देख्छु

लाग्छ,
तिमी घाम हौ
तिम्रो उज्यालोमा
मेरा आँखाहरु हुनुको अनुभूती गर्छन् ।

मेरो एक पाटो उज्यालो
र एक पाटो अँधेरो छ ।
मैले बाल दिईनँ भने
यि सब अनुभूतिको
अन्त्य हुन्छ ।

तिमी घाम नै हौ
जसको वरीपरी
म घुमिरहेछु ।

कास, तिमीले पनि यस्तै अनुभूती गरेको भए !!!

(Sent to Sanjaal Corps via Email)

Anju Subedi – Dharma

अन्जु सुबेदी – धर्म
(Sent to Sanjaal Corps via Email)

मान्छेलाई भन्दा धेरै प्रेम
मूर्तिहरुमा बस्छ भने
ब्यबहारमा भन्दा धेरै स्नेह
सिद्दान्तमा कस्छ भने
म भन्छु
त्यो धर्म होइन आडम्बर हो।