Rabindra Mishra – Bhukampa Paschat

रवीन्द्र मिश्र – भूकम्प पछि

ईश्वर नै ईश्वरले घेरिएको आँगनमा
ईश्वर नै लडेपछि
म कसलाई पुकारूँ !
ईश्वर नै ईश्वरले भरिएको देशमा
ईश्वर नै ढलेपछि
म कसलाई गुहारूँ !
आज लाग्दैछ
ईश्वर पनि दुई थरीका छन् यहाँ
एउटा, मान्छेले बनाएको
आर्को, रहष्यमा लुकेको
मान्छेले बनाएका ईश्वर
मान्छेकै विम्व रहेछन्
ती टुट्छन्, फुट्छन्
ठडिन्छन्, ढल्छन्
मान्छेजस्तै कमजोर छन्
हेर न,
मछिन्द्रनाथ, काष्ठमण्डप, कालमोचन
ती कसरी असाहाय पछारिएका छन्!
रहष्यमा लुकेका ईश्वर चाहिँ
कहाँ छन्, कहाँ छन्
ती कहिले अनिकाल भएर उदाउँछन्
कहिले अनावृष्टि भएर अस्ताउँछन्
कहिले आँधी भएर छोप्दछन्
कहिले पहिरो भएर बग्दछन्
ती न मान्छेको प्रार्थना सुन्दछन्
ती न मान्छेको व्यथा बुझ्दछन्
‘हे राम, हे राम’को क्रन्दनमा पनि
ती रहष्यकै गर्भमा लुक्दछन्
आज मैले जसलाई पुकारेँ, ती आफैँ ढलेका छन्
आज मैले जसलाई गुहारेँ, ती मौन बसेका छन्
हे भक्तहरू हो,
भन्देउ न मलाई, साँच्चिकै ईश्वर कहाँ छन् !

– रवीन्द्र मिश्र, मध्यरात, १२ वैशाख २०७२

Suren Upreti – Bhukampa Ma (Nepali Gajal)

सुरेन उप्रेती – भुकम्पमा

भुकम्पमा करोड अरब ,सहयोग देशमा आयो भन्छन्
जनतालार्इ दिंए भन्दै , त्रिपाल कम्वल खायो भन्छन्

दाल चामल राख्दा राख्दै , गोदाममानै सड्यो अरे
पहुँच हुँदा कर्कटपाता, मन्त्रीले नै छायो भन्छन्

पानी झरी हिंउदे चिसो ,पालले कति छेग्न सक्छ
ओत छैन खान छैन फेरी, दसैं लायो भन्छन्

चिसो लाग्दै छोरी मरी , खोक्दा खोक्दै बावु विते
घर नढल्ने शाहुले मात्रै, सहयोग रकम पायो भन्छन्

कतै सरकार भेटभो भने, हाम्रो व्यथा सुनाइ दिनु
छोरा छोरी लुग्लुग काम्दै ,अर्को हिंउद आयो भन्छन्

ओत छैन खाने छैन ,महामारीमा दबाइ छैन
निर्माण झण्डै भ्याइयो भन्दै ,सरकार विदेश धायो भन्छन्