Damodar Pudasainee – Daudanda Daundandai

दामोदर पुडासैनी किशोर – दौडँदा दौडँदै

दौडनै दौडको नयाँ शृँखलामा
जीवन शुरू भएको छ
दौडले मात्र भेट्न सकिन्छ नयाँ आकार

सूर्य निरन्तर दौडिरहेछ र पो
पछि पछि दौडिरहेछन् सारा सँसार

मिर्मिरे उज्यालोदेखिनै
दौडिरहेछन बस्तिमा मान्छेहरू
घामसँग र समयसँग दौडन अल्छी गर्नेहरू
सजायँको भागिदार बन्नेछन्
रँगको कुनै मोडमा

दौडमै बनेको हो
मान्छे डोर्याउँने नयाँ बाटो
दौडमै उभिएका हुन्
फूलजस्ता घरहरू
दौडने आँट गर्नेहरूसँग मात्र मिल्छ
सागर तर्ने सल्लाह

यी मान्छेहरू
दौडँदा दौडदै
सागर नाघ्न खोजेका छन्
आकाश नाघ्न खोजेका छन्
जमिन नाप्न खोजेका छन्
हर क्षण दौडने आँट गर्नेले मात्र
निर्माण गर्न सक्नेछ नयाँ सूर्य

आकाशहरू त्यसै बनेका होइनन्
दौडनकै लागि हो
बाटाहरू त्यसै बनेका होइनन्
दौडनकै लागि हो

सँगै दौडन सक्नेहरूसँग मात्र
माया साटिन्छ यो सहरमा

२०७६ बैशाख ४ गते बुधबार(२०१९ अप्रिल १७)
होटल कोरियो,प्योँगयाँग ,उत्तर कोरिया

Damodar Pudasainee – Pahad Ra Aama Haru

दामोदर पुडासैनी किशोर – पहाड र आमाहरू

आमाहरू
पहाडहरू हुनुहुन्थ्यो
जीवनभर हामीलाई सिकाइरहनुभयो
पहाडनै बन्न

आमाहरूलाई
भोकले जिस्क्याइरहन्थ्यो
फर्की फर्की आएर दाह्रा धसिरहन्थ्यो
शोक र सुर्ताले
आमाहरू
भोकलाई सुकुटी बनाउँन सुकाइरहनुहु्थ्यो
चिशा छिंडीहरूमा र चिल्थरा टालेका कपडाहरूमा
र शोकहरूलाई कुल्चदै कुल्चदै
केही न केही बिउका पाँजाहरू रोपिरहनुहुन्थ्यो
जाँगरका भेलहरू नसा नसामा बगाएर

आमाहरू हुनुहुन्थ्यो
पहाडजस्तो
र ,स साना छुनुमुने नानीजस्तो
रिसाउँदा पनि सत्य बोल्नुहु्न्थ्यो
खुशाउँदा त बुनिरहनुहुन्थ्यो
सत्यका बिशाल बुट्टाहरू

आमाहरूबाट
मायाको मुल निस्कँदा
सफा ,स्वच्छ र निस्वार्थी थियो
प्रेम भन्ने कुरा
जब आमाबाट निस्केर अरूको हातमा पुग्यो
तब प्रेमनै कालो ,छिरबिरे र काँडादार बन्यो

कयौ हुरी ,कम्प र प्रलय आउँदा
दह्रिलो मेरूदण्ड बनेर
छेकिरहनुभयो आमाहरूले
र जीवनभर कसैले हल्लाउँन नसक्ने
पहाड बन्नु भन्नुभयो हामीहरूलाई

आमाहरू सम्झेपछि
पहाडहरूपनि लाग्छन्
आमाहरूजस्तै
उज्याला,स्नेही र उर्जाशील

अचेल आमाहरूको अभाब
मेटाइदिन्छन्
पहाडहरूले

नियालेर हेर्नुस् त
हरेक पहाडहरूमा
आमाहरू
मुस्काउँदै मुस्काउँदै
उकालो चढिरहेका हुन्छन्

म अहिले आमाका सुन्दर सँझनाहरू
साट्ने गर्छु
पहाडका गोरेटा ,फूलका थुँगा
र ,चराका आवाजहरूसँग

आमाहरू
आकाशभरि फैलिनुभयो
र धर्तिभरि उम्रनुभयो
आमाहरूकै निशर्त मायामा
म आफ्नो अनुहारलाई
बनाउँन खोज्दैछु
पहाडझैँ रँगिन र पहाडझैँ उज्यालो

२०७६ बैशाख २१ शनिबार
ग्वँग:बुँ ,नयाँबसपार्क,काठमाडौ

Damodar Pudasaini – Sustaa

दामोदर पुडासैनी किशोर – सुस्ता

म आफ्नै अघिल्तिर
हिँस्रक गिध्दले
आमाको शरीर लुछिरहेको
कसरी हेरिरहन सक्छु र टुलुटुलु

कसरी ढुँगा बनेर बसिरहन सक्छु म
आफ्नै अघिल्तिर
मेरी पवित्र दिदी बलात्कृत भइरहेकी हेरेर

छिमेकीले
मेरो माटोमा
मिचेर बार लगाउँदैछ
मेरो बाटो रोकेर
बलियो पर्खाल लगाउँदैछ

मैले धान रोपिरहेको खेतमा
किन बल मिच्याँईँ गरेर
उखु रोपिरहेछ कसैले आज
सधै हरियो परियोमा चरेर
आफ्नै जरूवामा प्यास मेटाइरहेका
हाम्रा बस्तुभाउ
किन न चरन् न गोठका
भएकाछन् हिजोआज

यो तिमीले च्यापिरहेको
खेत खलिहान मेरो हो
यो बगिरहेको नदी
र नदीले छोडेको बगर
यो पनि मेरो हो
समय बदलिंदैमा
कहाँ पराइले टोकेको सहन सकिन्छ
आफ्नै मुटुको टुक्रालाई

सिमानामा उभिएको जँगे पिलर
किन दबाइयो रातारात
दुबैको सादा नो म्यान्स ल्याण्ड
किन सारियो रातारात

साँध सिमाना
खोस्ने बिरूध्द लडिरहेको बेला
किन कानमा तेल हालेर बसेकाछन्
समयका सारथीहरू
म प्रश्न र आक्रोस
दुबैमा जेलिइरहेछु

म एकमुठी मेरो माटोपनि
कसैले हडपेको हेर्न सक्दिन

मेरो माटो
मेरो जन्म पनि हो
मेरो मृत्यु पनि हो
जतिसुकै घात प्रतिघात
सहन्छु बरू
म मेरो माटोलाई
बिस्तारै अरूको पर्खालले
छेकेको हेर्न सक्दिन

(नेपालको सुस्ता परापूर्ब कालदेखि नेपालकै थियो ।सन् १९६२ मा आएको बाढीले नेपालको सुस्ता गाउँ बगाएपछि नेपालको ४० हजार हेक्टर जमिनमा भारतले बिवाद गरिरहेछ-लैला बेगम)

-२०७५ कार्तिक १५
सुस्ता गाउँपालिका वडा नं ५,सुस्ता नवलपरासी

Damodar Pudasainee – Badhshala Ko Dhoka Ma

दामोदर पुडासैनी किशोर – बधशालाको ढोकामा

फरक दिशामा फर्किरहेका बगरेहरू
म पुगेको चाल पाएर
फैलाए सम्बन्धको हात
मुसुक्क मुस्कुराए
र बलियोसंग समाते
खुँडा र खुकुरी

बधशालाको बाहिरतिर
निष्फक्री घाँस चपाइरहेथे
हाम्रै साथीहरू
भित्र भने
आँखा,खुट्टा ,जिभ्रो,छाति र फल मासुमा
बिभाजित हुँदैथे असँख्य साथीहरू

जीवन रित्याएर जीवन किन्नेहरू
आइरहेछन्
झोलुँगे पुलबाट हल्लँदै
बाटोहरूमा धुलो उडाउँदै
सकेसम्म धेरै झोलाहरू भिरेर

मार हान्ने बेलामा
गलामा गला मिलाउँछन् बगरेहरू
जब काटिन्छन् खशी बोका
तब शुरू हुन्छ दन्त बजान
ठीक त्यसै बेला
फालिएका हड्डीका टुक्राहरू लुछालुछ गर्दै
टोकाटोक गर्छन् कुकुरहरू

सूर्यमुखी उम्रने माटो
पुरिएको छ
दूर्घन्धी रगतले
म रगतमाथि उभिएर
हेर्दैछु जिन्दगीको अन्तिम चर्तिकला

बधशालाको ढोकामा
छरिएको छ एक थुप्रो कलिलो घाँस
म चपाउँदैछु घाँसको अन्तिम जीवन
र सुन्दैछु भित्रपट्टी
घाँटी छिनेपछिका साथीहरूको छटपटी

बगरेहरू र क्रेताहरू
पुराण भट्याउँदैछन्
मेरो निख्खरा रँगको
मेरो ओजनदार मासुको
र मेरो मासुको स्वादको
तिनीहरू कसैको पनि
दिमागमा पसेको छैन
कति महत्व हुन्छ
जिन्दगीको एक क्षणको

भर्खरै मलाईपनि
डोर्याइएकोछ बधशालाभित्र
उज्याइएको छ धारिलो खुकुरी
मेरै गर्दनमाथि

हात हातमा भाँडा च्यापेर
थाप्न तम्तयार छन् कोही
मेरै रगतका फाल्साहरू

प्रिय बगरेहरू
किन दिन दिनै टुक्रा टुक्रा पार्न खोज्दैछौ देशलाई
र किन आफ्नो जीवनमा उज्यालो छर्न
निमिट्यान्न पार्न खोज्दैछौ अरूको जीवनलाई

निरिह खशी र च्याँग्रा होइन
हरेक दिन
बाघ र चितुवा समात्ने हिम्मत छ तिमीहरूसँग

चारैदिशाबाट देशलाई टोक्न
पराई बाघ र चितुवाहरू
तीखा दाँतहरू उज्याइरहेछन्
हिम्मत छ तिमीहरूसँग
तिनीहरूको दाह्रामाथि मार हान्न ?

—२०७४ असौज ६ गते
जुफाल ,डोल्पा ।

Damodar Pudasainee – Teko

दामोदर पुडासैनी किशोर – टेको

टेको जन्मेकैदिनदेखि
टालटुलमा चल्न थाल्यों सँसार
टेको न आफैंले धान्नसक्छ
जिम्मेवारीको पुरै भार
न आफ्नै खुट्टामा शरीर धान्न सक्छन्
टेकोको सहारामा उभिनेहरू
टेकोकै भरमा आफूलाई हिमाल उभ्याउँन खोज्नेहरू
र,सुकेको लठ्ठीजस्तो शरीर र बुध्दीले टेको दिएर
सँसार आफैंले थामेंको छु भन्ने भ्रममा बाँच्नेहरुकै कारण
झन् झन् गहिरो खाडलभित्र जाकिँदै गइरहेछ देश
हेर्नुहोस् त
घर,परिवार,समुदाय ,गाउँ ,सहर,कार्यालय र शासनकेन्द्रहरू
बल्लतल्ल उभिएकाछन् टेकोको भरमा
दलालहरू,बिचौलियाहरू,नाफाखोरहरू र कालाबजारियाहरू
सबै सबै एक से एक टेको बनेर उभिएकाछन्
झुक्नु टेकोको सँस्कारमा पर्दैन
ठडिएर अर्काको शरीरमा सिँगौरी खेल्नु उसको धर्म हो
टेकोले शुरूमा ढोग गर्छ
ढोगेर पुर्पुरो जोडेको ठाँउँमै घाउ बनाइदिन शुरू गर्छ
सियो बनेर पसेर फालि बनेर निस्कन
खप्पिस छन्
शहर र गाउँका टेकोहरू
बाली रक्षाको जिम्मा बारलाई दिँदा
बारलेनै बाली खाइदिएजस्तो
काँक्रो सपार्न थाँक्रो दिँदा
थाँक्रोलेनै सबै काँक्रो मुठ्ठीमा पारेझैं
सहारा खोज्नेहरूलाईनै
घर न घाटको बनाइदिँदैछन् टेकोहरूले
टेकोहरूको बिश्वास पर्दा
कयौको बिग्रियो घरबार
कयौको बिग्रियो ब्यापार र राजनीति
जोसुकै उभिन खोजेपनि
ब्वाँसोले फकाउँदै आन्द्रा चपाएजस्तो
उभिनेहरूलाई म्वाइँ खाएझैं गरेर
सिँगौरीखेल्न जम्जमाइहाल्छन् टेकोहरू
टेकोको भरमा उभिनेहरूलाई
मन पर्दैन सँसार बदल्ने कुरा
विश्वासमा पहिरो गएकोछ उनीहरूको
कार्यालयहरूमा खम्बाहरूभन्दा
टेकोहरू जम्जमाइरहेछन्
टेकोहरू खम्बाको गुद्वारमा आफ्नो शिर टेकाउँन पाएपछि
लात्तिले हानिदिन्छन् खम्बा वरिपरि जान खोज्नेहरूलाई
तपाईँ पुग्ने हरेक केंन्द्रमा
भेट्नुभएकै होला
मुख्य खम्बाहरू सुधो बकुल्लोझैं
एकखुट्टा लुकाएर
अर्धमुदित नयनले काला पन्नाहरू नियालिरहेका
टेकोहरूले भने
जोसुकैलाई भुक्दै र कोपर्दै रगतपच्छे पारिरहेका
खम्बा भएन भने
अथवा,खम्बा आफैँ उभियो भने
नामेट बन्नुपर्नेछ भन्ने राम्ररी थाहा छ टेकोलाई
आफ्नै खुट्टामा उभिनेहरूको
वरिपरिनै पर्दैनन् टेकोहरू
टेको बिना हिड्ने र उभिने खम्बाहरूलाई
सत्तोसराप गर्छन् टेकोहरूले
आफ्नै खुट्टामा उभिने बिरूध्द गरूड़ पुराण लगाएर
टेको चाहनेहरूको प्रशस्ति गाइरहन्छन् टेकोहरू
टेकोको भरमा
कतिन्जेल टिकाउँने महाशय स्वाभिमान
नयाँ निर्माण नगरी टालटुलले मात्र चल्दैन जिन्दगी
आफैँ उभिन आनकान गरेपछि
कतिन्जेल उभ्याइदिन्छन् र टेकोहरूले
हे बहुरूपि टेकोहरू
तिमीहरूनै हो मेरो जिन्दगीका धमिरा
सारा टेको मासेर
आ -आफ्नो खुट्टामा उभिनुपर्छ
आजका मान्छेहरूले
होशियार
ईश्वर पनि
एउटा चटके टेको बनेर उभिइरहेछ
हाम्रै जिन्दगीको वरिपरी

-२०७६ जेष्ठ २० गते सोमबार
ग्वँग:बुँ,नयाँबसपार्क,काठमाडौ

Damodar Pudasainee – Beijing Ka Phool Haru

दामोदर पुडासैनी किशोर – बेइजिँगका फूलहरू

फूलहरू
कहिले हावासँग
र कहिले गाडीसँग
जिस्कन्छन् बेइजिँगमा
बर्षातको बेला
फूलहरू
प्रेमका पुराना कंथाहरू सँझन्छन
र छाता ओडेर काममा हिँडिरहेका युवतीहरूसँग
प्रेमको अर्थ सोध्छन्
एकतिर
जाम भएका गाडीका लहर छन्
अर्कातिर
पानीले चुमिरहेका पात र हाँगाहरू बीचमा
पानीकाो बर्बरता ब्यहोरेर
बिग्रेको श्रृँगार सँभाल्दै बिरहका पुराना गीतहरू सँझिरहेछन्
जात जातका फूलहरू
लामबध्द छन् सडकका किनारहरूमा
हाँगाले पनि सिमाना नाघ्न पााइन्न
फूलले पनि सिमाना नाघ्न पाइन्न
मान्छेहरूको त के गर्नु कुरा
सधै दौडिरहन्छन् समयका किनारहरूमा
हावासँग
जिस्किहन्छन्
पानीसँग मस्किरहन्छन्
सडकमा हिंडिरहने पुतलीहरू
र आफूमध्ये
को राम्रो भन्ने दाँज्दैछन् फूलहरू
उभिएर सडकको बीच बीचमा

२०७५ चैत्र २६ मँगलबार (२०१९ अप्रिल ९ )
बेइजिँग ,चीन

Damodar Pudasainee – Nango Rukh Aghiltira

दामोदर पुडासैनी किशोर – नाँगो रूख अघिल्तिर

नाँगो रूखमा
क्यानभास रहेछ तिम्रो र मेरो
हाम्रो पहिलो भेटको
कथा भनिरहेकोरहेछ
नाँगो रूखले
नाँगो रूख र पहिलो प्रस्ताव
उस्तै उस्तै हो भन्दैथे बटुवाहरू
नाँगो रूखमाझै
मौन बतास चलेथ्यो कयौं क्षण
हाँगा हाँगामा बिस्तारै पिपिरा उम्रन थालेझैं
मनले सोच्न थालेथ्यो i
बहुरँग र बहुरूपका अध्यायहरू
कुनै बेला सुदुर गाउँ र सुदुर शहरमा
हिँडदा हिँडदै ठिँग उभिएथें म
र सँझनानै सँझनाले बनेथेँ निथ्रुक्क
नाँगो रूखपनि उभिरहेको रहेछ म जस्तै
मरूभूमिमा निर्माण गरिएको बाटो
डढेंलो निभेपछिको जँगल
आमाको मृत्युपछिको बालक
सपना उडाइलाने वतास
सबै सबै हेर्दैथिए नाँगो रूखलाई
मैले भने
तिमीलाई सँझिएँ
र ,नाँगो रूख होइन
नाँगो रूखमा उम्रन लागेका पालुवा नियालेँ
कुनैबेला
आगोले,हुरीले,भूकम्पले वा बाढीले
धराशायी बन्नेछ सहर
असिना,पहिरो,मुसलधारे बर्षा वा सलहले
सिध्याउनेछ किसानहरूको पसिनाको सपना
अनायासै ढल्नेछन् विश्वासका पुलहरू
जीर्ण बनेर भत्कन्छन् तुलसीका मठहरू
तर ,त्यो अन्तिम श्रृँखला होइन सँसारको
सँसारमा सबै चित्रहरू मेटिइसकेपछिपनि
बाँचिरहन्छ ‘आशा ‘ को निख्खर आवाज
तिम्रो स्पर्श,सपना र जूनेली वान्की सम्झेपछि
हावामा स्पन्दित नाँगो रूख
र ,फूलका पत्र पत्रमा फैलिरहेको तिम्रो आयतन
उस्तै उस्तै लाग्यो मलाई
नाँगो रूखमा
बसुँन् परेवा ,चखेवा र खरायोका मायालु जोडीहरू
बर्सियोस् अनवरत प्रेमको बर्षा
फेरियोस् पुरानो धँगधँगी र बदलियोस् जीवनगीतको अन्तरा
नाँगो रूख अघिल्तिर उभिएपछि
नाँगै यो सँसारमा ओर्लिएको ऐतिहासिक समय सँझिएँ
कसैसँग नाँगिएको दुर्लभ क्षण सँझिएँ
र , कसैलाई नाँगिन अनुरोध गर्ने साहसी सपना सँझिएँ
नाँगो रूख अघिल्तिर उभिएपछि
प्रेमस्तम्भमा लेखिन लागेको नयाँ गीतहरू
गुन्गुनाउँन थालेका छन् मेरा ओठहरूले
क्रान्ति त्यसै हुँदैन
तिमीलेपनि
अहिलेसम्मका काला धब्बावाल कपडा फ्याँकेर
नाँगो रूख अघिल्तिर
नाँगै ओहोरदोहोर गरिरहेको हेर्न चाहिरहेछु
नाँगिनु जत्तिको महान सत्य
केही रहेनछ यो सँसारमा

-२०७६ बैशाख १३
धनगढी ,कैलाली

Damodar Pudasainee – Mrit Sagar Ma Tairiyeko Bela

दामोदर पुडासैनी किशोर – मृत सागरमा तैरिएको बेला

पहिलोपटक
आमाको पेटको नूनीलो पोखरीबाट
सँसार हेर्न झरेको थिएँ म
त्यतिबेला
नूनीलोको स्वाद
पत्तै थिएन मलाई
आज मृत सागरमा
नूनको स्वादको सौन्दर्य बुझेपछि
आमाको त्यो नूनीलो पोखरीको स्वाद
किन अनुभूत गर्न सकिन ,पछुताइरहेछु
सायद नूनको असीम स्वादले
लठ्ठिएको थिएँ होला म
आमाको पेटमा
पृथ्वीका सबै प्राणदार खनिजहरूको
छानिदै छानिदै
सम्मेलन भएको छ
इजरायल र जोर्डनका काखहरूमा
सँसारका सबै जिवीत लवणको भेलालाई
जिवीत सागर भन्नु पर्ने हो
तर मान्छेहरू
मृत सागर भनेर चिच्याइरहेछन्
जन्मेका हरेकको
हुँदोरहेछ आ आफ्नै जिउँने कला
सबै लवण एकै ठाउँमा ब्युँतिएपछि
भाग्दारहेछन् सबै ज्यूँदा जीबहरू
जिन्दगीभरि गुलियोको स्वादलाई
पछ्याइरहेँ मैले
नूननै नूनको सागरमा डुबेपछि
जिन्दगीको खास स्वाद त
नूनीलो हुनेरहेछ
बुझिरहेछु
याद छ तिमीलाई
तिम्रो र मेरो प्रेमको
अन्तिम स्वादको मीठास पनि
गुलियो होइन
ब्युँझिन्छ सधैं नूनीलो बनेर
ध्यानबाट निदाउँनुमा होइन
ध्यानबाट ब्यूँझनुमा छ जिन्दगीको आनन्द
मृत सागरमा तैरिएपछि
मृत्युलाई जित्न
म अझै सबल बनिरहेछु
मृत सागर जस्तै मृत्युपनि
साँच्चै नूनीलो,तैरिने र फैलिने
हुने हो भने
कति मीठो हुन्थ्योहोला मृत्युको स्वाद
मृत्यु पनि
निर्मल ,नीलो ,शान्त र स्पन्दित होस्
डुबेर हराउँनुको सट्टा
तैरेर फैलियोस् टाढा टाढा
कामना गरिरहेँ मैले
मृत सागरमा तैरिएको बेला

-२०७५ फागुन ३० विहीबार(२०१९ मार्च १४)
मृत सागर,इजरायल

Damodar Pudasainee – Jaitun Ka Ankha Haru

दामोदर पुडासैनी किशोर – जैतुनका ऑखाहरू

बर्षौदेखि रौहरू नखौरेर
जिँगरिँग परेको एउटा बुढो मान्छे
भोटबाट खजाना ल्याएका
एक हुल थकित खच्चरहरू
नून ओसारेर नूनिलिएका भेडाका बथान
सबै सबै सुस्ताएका छन् मेरै छहारीमा
र, उत्खनन् गर्न खोज्दैछन्
जिजीबिषाका रेखाहरू

हरेक प्रहरमा रूप फेर्ने पहाड जस्तो
म भने एकै ठाउँमा ठिँग उभिएर
खोज्दैछु बाँच्नुको कलिलो सौन्दर्य

जीवनभरी नयाँ नयाँ भूगोल चहारेर पनि
अतृप्त टाउको भिरेर
अतृप्तिकै अन्तिम सागरमा छटपटाइरहन्छ मान्छे
हिँडदा हिँडदै साथी खोज्छ
संकल्प र बिकल्पको दोसाँधमा भौंतारिएर
बिकल्पका अनेकौं बाटाहरू रोज्छ
पाइलानै नचालेर जीबन सिध्याउनु
र,कसैलाई कानेखुशी र स्पर्शनै नगरी
जीवन भोगें भन्नु
आफ्नै जीवन बन्धकी राखेर
भुर्र उडिरहेका चराका प्वाँखहरू सुमसुम्याउँदै
फूलका कथाहरू लेख्न तम्सनु भइरहेछ

मान्छेहरू फेरिन्छन् क्षणक्षणमा
र हिंडिरहन्छन् नौलो तरँगको खोजीमा
यी डाँडा,मैदान र समुद्रहरूपनि
सधै लालायित छन् आ-आफ्ना अनुहार फेर्न
जसरी फेर्दै फेर्दै नवीन बनाउँन चाहन्छिन्
आफ्नो अनुहार एउटी युबतीले
म भने बगिरहेको समयमा एक्लै उभिएर
आफ्नै डाँठ,हाँगा र पातमा समयलाई खेलाउँदै
समयका हरेक मुहुनाहरूमा
बेग्लै कोणहरू थपिरहेछु

आफ्नै जराहरूमा समयलाई पोको पारेर
फैलाउँदैछु समयको रँग
आकाशका नबीन आयतनहरूमा

समय र सँसार दुबै
रमाइरहेछन् यतिखेर
मेरै आँखाका नानीहरूमा

म संसारसंग प्रेम गर्छु
र ,संसारमा भएका सबैसंग प्रेम गर्छु
मैले तिमीसँग गरेको प्रेम पनि
प्रेमनै हो तिमी मार्फत सबैसँग गरेको
मेरो प्रेममा तिमी र तिम्रो संसार छ
चाहेजत्ति निकाल जीवनका उज्याला रँग
गोल सँसारमा
म गोल दाना बनेर हल्लिइरहेछु

म भित्र पनि
उर्लिरहेछ सागर
जमिरहेछ चट्टान
दबिरहेछन् अनेकौ लाभा र म्याग्माहरू
तिम्रो नवीन स्पर्श पाएको क्षण
म पुरै घुमाइदिन्छु यो सारा संसारलाई
बेग्लै ब्रह्माण्डका ढुकढुकीहरूमा

मेरै फेदको चौतारोमा तिमीलाई भेटेपछि
पसेको छ एक मुस्लो घाम मेरै जराहरूमा
र सम्झौता गर्न खोज्दैछ जूनले पनि
मेरै स्पन्दनका आँकुराहरूसँग

पहाडको टुप्पाबाट
गोरेटोसँगै झरिरहेको हावा
थाहा छ त्यो तिमी बनेर ओर्लिएको छ

दुनै, डोल्पा, २०७४ आश्विन २ गते सोमबार ।

Damodar Pudasainee – Maun Bata Haru

दामोदर पुडासैनी किशोर – मौन बाटाहरू

एक साँझ भेंट हुँदा
सेतो चुवा फूलबाट ओर्लेर
हामी दुबैसँग कानेखुशी गरेथ्यो
ममतामयी वतासले
अहिले सँसारको जुनसुकै कुनामा पुग्दा
त्यही बतासले सुमसुम्याइरहन्छ

तिम्रो सामु
पेश गरिरहेछु एउटा निवेदन
कि ,आँखाको सत्यलाई
नगरियोस् नाटकमा रूपान्तरण

तिमी रारामा जाँदा
उडाउँनु रँग रँगका चँगाहरू
ती चँगाहरूमा नझुण्याइयोस्
सपना र प्रेमका हत्याराहरूका ताज़ा तस्बिर

तिमीले लेख्ने हिमालेखमा
कसरी ब्युँझायौ मान्छेलाई
तिमीले फर्केर दिने उपहारमा खोतल्छु मैले

आगोको मुस्लोबाट ओर्लेर
तिमी
हिमरसमा अक्षर रोप्न हिंडेको खबर छ
हिउँका कण कणमा
आगोका फिलिँगा,फुलका थुंगा,हिँडिरहेको चन्द्रमा
र,बोल्नै नसकेका मान्छेहरूका दमित आवाजहरू  छन्
त्यो तिमीले ल्याउँनुपर्छ पोल्टाभरि

तिमीले छाता नओडेको राम्रो
तिमीले छाता ओडेको बेला
छाताले खुरूखुरू चोर्दोरहेछ तिम्रो  मुहारको इन्द्रेणी
पर्दा बनेर छाता मुस्कुराइरहेको थाहा पाएर
रक्तचापमा रिँगिएर एक्लै आगों जल्न थाल्दोरहेछ घाम

उकालो चढने बाटाहरू
घुमाउरा र अप्ठेरा छन्
तिम्रा स्वाभिमानका चेतहरूमा
घाउ ठड्याउनेहरूपनि भेटिन सक्छन्
हिँडदाहिँडदै टुँगिन सक्छ बाटो
बाटो टुँगिदैमा कहाँ टुँगिन्छ जिन्दगी

अरू कसैले निर्माण गरेको बाटो टुँगियो भने सम्झ
तिमी सामु उभिएकोछ सँभावनाको बिशाल घाम

घाम र जिन्दगी दुबैलाई
नयाँबाटोबाट उकालो चढाउँन सक्नुपर्छ अब

एउटा जादुई सहरलाई
निसास्सिदो धूलो,बेहोशी दुर्गन्ध
र मान्छेका जालसाजीले
खण्डहरमा रूपान्तरण गरिरहेछन्
त्यही देखेर
दाह्रा किटिरहेछु म

तिम्रो आगमनले कमसेकम निम्त्याओस्
कँचन तरल र बिजुली झट्काको रूपान्तरण

आगोका फिलिंगाहरूबाट
हिमज्योति खोतल्न निस्किएकोछु म
हिमतालहरूमा आगों ब्युँझाइरहेको बेला
भेट हुनेछ कतै तिम्रो र मेरो

हिउँ र आगोको जुहारीमा
किन तेल थपिरहेका छैनौ हामीले?

बाटाहरू मौन छन्

-२०७६ बैशाख २० शुक्रवार
जेनल होटल,बिराटनगर

Damodar Pudasainee – Yo Shahar Ma

दामोदर पुडासैनी किशोर – यो शहरमा

सबै मान्छेहरू
केही न केही सुनाउने लाममा छन्
सुन्न कोही पनि तयार छैन
यो शहरमा
हरेक मान्छेहरू
क्षण क्षणमा कतै न कतै
दौडने सुरसारमा छन्
शहरलाईनै दौडाउँन
कोही सोच्दैन
यो शहरमा
जग्गाको भाउ बढिरहेको
होटल ब्यबसाय चलिरहेको
बजेट पुग्दै नपुगेको
मागको रास र फोहोरको थुप्रो चुलिंदै गएको
ज्यान जोखिममा पर्दै गएको
धूलो ,धुवाँ र बिषादी
असाध्यै बढेको
चर्चा त खुबै छ
बिहानदेखि बेलुकासम्म
तर शहरकै रँग र ढँग बारे
कसैले गर्दैन चर्चा
यो शहरमा
स्कुल र क्याम्पस जाँदाजाँदै
चिठी पत्र तोक आदेश र दर्ता चलानी गर्दा गर्दै
एन जी ओ आइ एन जी ओ का कार्यक्रम चलाउँदा चलाउँदै
बिदेश जाँदा र स्वदेशमै बस्दा
नाच्दा ,गाउँदा र मेलापात गर्दा
बस चढदा ,बिसौनीमा बस्दा ,छोराछोरी डोर्याउँदा
डन पल्टिंदा ,दलाली गर्दा र पाहुर पुहुन्की पुर्याउँदा
अथवा ,नेताका गोजी भरेर कुर्सीमा फनफनी घुम्दा
आँखा र मन साटिन्छ यहाँ कुनै न कुनै मोडमा
दिनभरी कुना कुनामा आफ्नै स्वार्थको पोयो बाट्दै हिँडेपनि
मनको पवित्र मन्दिरमा
सजाउँदैन कसैलेपनि
यो शहरमा
सुन्दर मान्छेको मनमा
जाल ,झेल र षडयन्त्र हुर्काएझैँ
सुन्दर घर ,जग्गा र बन बुट्यानलाई
पापी मनको कुरूसमा
जाली रूमाल बुन्ने
मान्छेहरू धेरै छन्
यो शहरमा

-२०७५ मंसिर १८
मिरर इन होटल ,बसपार्क ,बुटबल

Damodar Pudasainee – Bibhaajan

दामोदर पुडासैनी किशोर – बिभाजन

मान्छे र चराहरूबीच
बिभाजित छ यो सहर

मान्छेले निर्माण गरेका
पुतलीजस्ता घरहरूलाई
कोतर्न,बिष्ट्याउँन र हल्ला गर्न
सहर पस्दैनन् चराहरू
चराका रूख,घाँस र चौरहरूलाई
बिथोल्दैनन् सहरका मान्छेहरूले

बिहानदेखिनै
सडकभरी दौडिरहन्छन् पुतलीहरू
चरालाई लोभ्याउँनेछ उनीहरूको मधुर आवाज
उता जँगलमा फूलाइहेछन् चराहरूले
चेरी,खुर्पानी ,नास्पाती र आरूका फूलहरू
मान्छेले हरियो जँगल नबिगार्ने
र,चराले इन्द्रेणी घर नबिगार्ने
एउटा बलियो सँझौता भएकोछ सहरमा

मान्छेहरू बेलाबेलामा चरा भेट्न
आफैँ जान्छन् जँगलमा
सहरमा ढकमक्क फक्रेको बसन्त पनि
वास्ता छैन चराहरूलाई

सहरमा
सहरका घरभन्दा धेरै फक्रेका
एप्रिकट र नास्पातीका सेता फूलहरू
र,किम इल सुँग इलिया र किम जोँग इलियाका राता फूलहरू
चोक चोकबाट मीठो लयमा दौडिरहेका पुतलीजस्तै
मिसिन्छन् हावामा
र फैलिन थाल्छन् सडकमा र घरका बार्दलीहरूमा
गाउँमा र जँगलमा बस्ने चराहरू
मस्त छन् आफ्नै हाँगा ,गुँड र जँगलहरूमा
त्यसैले पनि सहर पस्न मन गर्दैनन् चराहरू

चराहरू सहर पसेभने
सँगै ल्याउँनुपर्छ जँगललाईपनि
सहर गाउँ पस्यो भने लुटिन्छन् गाउँका चराका गाथाहरू
त्यसैले भागबण्डा छ चरा र मान्छेबीच जँगल र सहरको

चरालाई चराजस्तै रमाएर नाच्न दिइँएन भने
बिष्ट्याइदिन्छ चरालेपनि छानामा,झ्यालमा र बरण्डाहरूमा

चरालाई चरा बनेर बाँच्न र
मान्छेलाई मान्छे बनेर बाँच्न
मान्छे र चराबीच भागबण्डा छ यो शहरमा

२०७६बैशाख ४गते बुधबार (२०१९ अप्रिल १७)
कोरियो होटल ,प्योँगयाँग ,उत्तरकोरिया

Damodar Pudasainee – Nepalgunj Ka Muhuna

दामोदर पुडासैनी किशोर – नेपालगँजका मुहुना

खजुरका तीखा काँडाहरूले
च्वास्स च्वास्स घोचिरहेको बेला
अँजुलीभरि ओर्लन थाले खजुरफल
खजुरको त्यो स्वादमा तिमी पो बर्सियौ

तिमीले गर्भाधानका कुरा गर्यौ
मैले प्रसब वेदनाका कुरा गरे
मायाको मूल फुट्यो मरूभूमिमा
एउटा नहर बनाउँने मेरो योजनामा
आमन्त्रण केवल तिमीलाई गरिरहेछु

कता गए रिक्सा ठेलिरहेका बुधन चौधरीहरू
कता गइन् पोँशाक धोइरहेकी फूलनदेबी
कति फेरियो राबडी र जिलेबी घोटने
अम्मन भैयाको किटको कराई
तिम्रो र मेरो भेटको बेला
समयका नाँगा कथाको चाहना बुझ्नुपर्छ

जीवनमा किन भेटिन्छन् मान्छेहरू
मान्छे भेटिएपछि किन लाग्न थाल्छ फरक अर्थ
किन तिमी मात्र ठहरियौ अरूभन्दा विशेष
करबीर र बेगमबेलीका पातहरूको अर्थ
जीवनलहरमा लेख्ने निर्क्योलमा पुगिरहेछन् केही मान्छे

बसन्त बोकेर तात्दा पनि अर्कै
चैते हुरीको धूलोका कणहरूमा पनि रँगदार
शीतलहरका भुवाहरूमा नाचिरहेका तिम्रा रँगीन कम्पन

तिम्रा परिभाषाहरू
तिमी बाहेक अरू कसैसँग नदाँज्न भनिरहेछु

यो कस्तो सँयोग हो
तिमी भेटेपछि
कथाको अध्याय नयाँ शुरू भएको छ
शब्द शब्दमा उपन्यास बन्दैछ नयाँ
यो शहरमा सबैले रूप फेरिरहेको बेला
हामी हिँडने बाटो पनि नयाँ निर्माण भएको छ

धेरै पहिले जीवनयुध्द जित्न हिँडेको घोडा
हराएको छ यिनै अडहर घारीका कुनाहरूमा
तिम्रा नवीन सिर्जनाहरूमा त्यो पाइएको चित्र लेखिनु पर्छ

भेटका कथाहरू
नमेटिने रँगमा
फैलिरहेछन् मुटुका आयतनहरूमा

जीवनका धेरै शृँखलाहरू
सम्झौताहीन र अवाक उभिरहन सक्तैनन्

-२०७६ बैशाख १० गते बुधबार
होटल सिटी प्यालेस ,धम्बोजी,नेपालगँज

Damodar Pudasainee – Masu Bazaar Ko Saundarya Shashtra

दामोदर पुडासैनी किशोर – मासुबजारको सौन्दर्यशास्त्र

मासु बजारमा
जीवनको लागि मृत्युउत्सव चलिरहेछ

मासुको तृप्तिको लागि
मासुकै बलिदान हुँदैछ
एउटाको समाप्ति अर्काको रमझम
एउटा डेबिट अर्को क्रेडिट
यो असिम प्रबिष्टी सधैँ किन चल्छ ?

मासु बजारमा
अँग अँग सबै मासुमा बदलिन्छन्
मासु किन्नेहरू मासु होइन अँग किन्छन्

मासु बजारमा
महँगो हुन्छ आँसु
मारिएर मात्र सुख छैन मर्नेलाई
मृत शरीर टुक्रा टुक्रा गरेर मात्र सकिन्न अध्याय
खरिद गर्नेको सामु
अनेकौं ढाँचाकाँचामा सजिएर बस्नुपर्छ मारिनेहरूले

ज्युँदै मासु पनि खरिद बिक्री चलिरहेकै छ
मासु बेचेर मासु बचाउँनु
एउटा विवशता छ कसैसामु

सिँगारपटारमा सजिनु
अनुनयबिनयले क्रन्दन छोडनु
किन्नेहरू भने गजक्क पर्नु बादशाहझैं

त्याग गर्नेहरूलाईनै
किन तिरस्कार गरिन्छ यो संसारमा ?

सँसारको न्याय भनेकै मत्स्य न्याय हो
बलिष्ठ शरीर र बुध्दिले
सधैँ निलिरहन्छन् निर्धाहरूलाई
निर्धाहरू आफ्नै अघिल्तिर
आफूजस्तैलाई भएको प्रहार हेरेर
आफ्नो पालो कुरिरहन्छन्

मासुबजारमा उभिएपछि
आफूलाई प्रहार गर्ने बगरेहरू सँझन्छु
र टुक्रा टुक्रा पारेर झुण्ड्याइएका
आन्द्रा,टाउको ,गिदी,मुटु , कलेजो र हड्डीहरूमा
आफूनै छरिएको महसूस गर्छु

यो बिशाल मासुबजारमा
मलाई मार हान्ने ,टुक्रा पार्ने र मीठो मानेर चपाउँने
को को छन्
त्यसको लामै खाता छ मसँग

तपाईँपनि
कति पटक उभिनु भएकोछ मासु बजारमा
त्यसको के कति राख्नु भएको छ हिसाब किताब?

मासुबजारसँग हिमचिम गर्नेहरूनै
अचेल घर र बस्तीहरूमा
अब्बल बुध्द बनेर प्रबचन दिन्छन्

केही सोच्नुभएकोछ तपाँईँले
मासु बजारलाई प्रतिबन्धित गर्न
अथवा ,मृत्युको प्रतिक्षासूची प्रकाशित गरेर
मार्ने र मारिनेको नाम र समय घोषणा गर्न?

बादलका बुट्टाहरूमा मृत्युउत्सब मनाएकै कारण
न्यायमा समानता
केबल नारा ठहरिएकोछ संसारमा

२०७६ बैशाख ८ गते आइतबार
(२०१९अप्रिल ८ )
गुआँगझाओ,चीन देखि काठमाडौसम्म हवाईयात्रा
समय चीनीयाँ समय साँझ ४.०५ देंखि ८.४२

Damodar Pudasainee – Nani Phool Ra Charaa Haru

दामोदर पुडासैनी किशोर – नानी,फूल र चराहरू

जुन बस्तीमा
नानी,फूल र चराहरूको चर्चा हुँदैन
त्यहाँ मान्छे बस्नुको अर्थ रहन्न

एकातिर
राता ,सेता ,पँहेला र ईन्द्रेणीका अरू रँग फूल्छन् शहरमा
अर्कातिर
फूलजस्तै घरका लहर छन् चिल्ला सडकका किनारहरूमा
मान्छेहरू चराजस्ता
र,चराहरू मान्छेजस्ता
सुरिलो बोली
र,सुन्दर पँखेटा फिँजाउँदै
हिंडिरहन्छन् नयाँ नयाँ गुँड र बाटो बनाएर

सधैँ ढकमक्क फूलिरहेछन् फूलका कल्लीहरू
तिनै फूलका पत्र पत्रमा ब्युँझिरहेझन् नयाँ नयाँ बिचारहरू

नानी ,फूल र चराहरू
सुन्दर गीत हुन् शहरका
उनीहरूको स्पन्दनले मात्र
ब्युँझन्छन् घाम र जून

टुकुटुकु हिँडछन्
शहरका घरहरू
मान्छेको ईशारामा

सबैतिर सुन्दर घर उभिए भने
उत्रिन्छ मान्छेको दिमागबाट
सधैं पुरानै घर फर्कनै पर्नै
एउटा बिशाक्त ह्याँगओभर

कति सुन्दर र सुखी हुन्थ्योहोला सँसार
प्रत्येक मान्छे उभिएको ठाउँमा उसैको हक
र प्रत्येक घरमा हरेकले निर्वाध बस्न पाउँनेभए

प्रत्येक क्षणमात्र
मान्छेको आफ्नै मुठ्ठीमा बसोस्
त्यसबाहेक सबै साझा होस्
हरेक मान्छेको ,हरेक शहरमा

तिम्रो साझा शहरमा पसेपछि
मलाई
ब्यक्तिनै ब्यक्तिमा बिभाजित
मेरो शहरको
कचेरा जमेको कुबिचारको धूलो
र सल्लाहको नाममा बुर्लुक बुर्लुक उफ्रने
हरिप डनहरूको सँझना आइरहेछ

कृपया बचाऊ
नानीहरू,फूल र ताराहरूलाई
उनीहरूको मन दुखेको दिन
शहर पनि शहरजस्तो हुँदैन

-२०७६बैशाख ४गते बुधबार (२०१९ अप्रिल १७)
कोरियो होटल ,प्योँगयाँग ,उत्तरकोरिया

Damodar Pudasainee – Kumsusan Ko Maun Awaj

दामोदर पुडासैनी किशोर – खुम्सुसाँगको मौन आवाज

(खुम्सुसाँग भवनभित्र राखिएका उत्तर कोरियाली नेताद्वय किम इल सुँग र किम जोँग इलको शब हेरेपछि रचिएको कविता )

महान प्रलय
एकाएक टक्क रोकिएको छ
बेगवान समय
लडेको छ अन्तिम किनारा भन्दा अझै पर

एउटा बेगवान घोडा
दौडदा दौडँदै
लडेको छ चीर निन्द्रामा

हिजोसम्म
जो जोसँग क्षेमकुशल सोध्दै हिँड्दथ्यो उ
आज उनीहरू सबै आइरहेछन् उसको वरिपरी
एकोहोरो हेरिरहन्छ सबैलाई
तर केही देख्न सकेकोछैन कसैलाई उसले

कयौ ज्वालामुखीहरू
कर्याम कर्याम चपाएको हो उसले
कयौं भिषण कम्पहरूलाई
थला बसालेको हो
उठनै नसक्नेगरि
कयौँ जाग्रत पहाडहरूसँग
जुँध्यो आगो निल्दानिल्दै
यो बेला
आगोको डंगुर पेटमा हुलेर
निसँकोच आकाश हेरिरहेछ

पाइला पाइलामा प्रहार ब्यहोरेर
प्रहारको बिरूध्द कडा प्रहार नगरेको भए
कहाँ यति उचाईमा पुग्थ्यो र जीबन

जीवनभरिका महान बिरासत
उसले सुम्पियो अरूलाई
कहाँ झुक्याएर हिँडनसक्छौ र तिमी टाढा?
आफन्तहरू हत्केलामा उसलाई राखेर
उसँगको अतित सँझिरहेछन्

शब ब्युँझाउँने कि जीवन ?
मृत्यु सँझने कि जन्म?
पुरानै बाटो हिँडिरहने कि नयाँ ?
प्रश्नहरू फक्रिरहेछन्
हरेक बर्ष फक्रने खुर्पानीका फूलहरूजस्तै

एउटा लामो लामले सलाम ठोकिरहेछ निरन्तर
उसले भने हरेक सलामको अर्थ खोज्न छोडेर
टुलुटुलु नियालिरहेछ

जीवनको महान योध्दा
हुन सक्तैन सबैको प्यारो
भिषण हुरीलाई
हत्केलाका रेखाहरूमा हिँडाउँन सक्ने मान्छे
अथवा
कयौ हिँस्रक दाह्राबाट जोगिन सक्नेलेनै
फिँजाउँनसक्छ बिजयको झण्डा
शिखरमा सुतिरहेको सिँहको
एकदिशामा बिजयको
र ,अर्को दिशामा प्रहारको
जुलुस आयोजन भइरहेछ

उस्तै उस्तै हो
बिबादमुक्त जीवन
र, लमतन्न सुतिरहेको पत्थर

कसैको प्यारो होस् या नहोस्
मृत्युको पर्खाल नाघ्नसक्तैन कसैलेपनि
मृत्युसँग अँगालो हालेर
उ एउटा महानसत्यको प्रदर्शनी गरिरहेछ

जीवनभर अरूलाई बचाउँन खोज्नेलाई
मृत्युपछि बचाउँन खोजिरहेछन् अरू मान्छेहरू
जीवनपछिको बचाई भ्रम हो या सत्य
मौन प्रश्नहरूका लहरहरूमा
ब्यूझिरहेछ उ ,एउटा ज्यूँदो शबको आधार टेकेर

जीवनभर महान सँघर्षमा होमिनेहरूले
मृत्युपछिपनि बिश्राम पाउँनेछैनन्
लमतन्न सुतिरहेको लासको आदेश कुरिरहेछन्
दौडिन ठिक्कपरिहेका
युध्दकालिन घोडाहरू

मृत्युको बिजयध्वजालाई
आफ्नै कब्जामा राख्न खोज्दैछन्
केही मान्छेहरू

आमनेसामने बसेका मृत्यु र जीवन
एकआपसमा गिज्याउँदैछन् दुबैलाई

-२०७६ बैशाख २गते सोमबार
(२०१९ अप्रिल १५,कोरियाली नेता किम इल सुँगको १०८ औं जन्मदिन )
खुम्सुसाँग सन प्यालेस ,प्योँगयाँग ,उत्तरकोरिया

Damodar Pudasainee – Gham Nirman Ko Bela

दामोदर पुडासैनी किशोर – घाम निर्माणको बेला

युध्दनै युध्द जितेर
यहाँसम्म आइपुगेको छु
गाँस ,बास र कपासमा नयाँ रँग भर्न
निरन्तर नयाँ युध्द गरिरहेछु

युध्द मैदानमा पनि
प्रेम त पलाउँछ ,पलाईरहन्छ
युध्द मैदानमा उभिएको सिपाही
प्रेम त सँझन्छ,सँझिरहन्छ
त्यही प्रेम बचाउँन पनि
उ युध्दमा होमिइरहन्छ

यतिखेर तिमीसँगको प्रेमभन्दा
जीवनमा नयाँ रँग भर्ने
युध्द प्यारो छ मलाई

कसैले बम बर्षाएको घाउ
अझै आलै छ मेरो छातिमा
कोठामा थुनेर आगो लगाएपछि
निस्किएको नानीहरूको क्रन्दन
गुन्जिरहेछ अझै मेरो कानमा
बिछिप्त छन् आमाहरू
बलात्कारको घाउ
र नानी खोसिएका रित्ता काखहरू
सुमसम्याउँदै

बन्दुकका नाल र बारूदका थुप्राहरूमाथि उभिएर
कसरी गरिरहन सक्तछु र म तिमीलाई चुम्बन
तिम्रा पनि त अझै बाँकि छन्
कयौ युध्दका अध्यायहरू
तिमीलाई म
बायुझैँ बहिरहने भावनाको प्रेमभन्दा
जीवनका असँख्य युध्दहरू छिचोल्न आग्रह गर्छु

बाघका क्रुर पन्जाहरूले
झम्टियो ,टोक्यो र चिथर्यो
म जस्तो मायालु खरायोको शरीरमाथि
म घाइते र बिछिप्त बनेपछि
ढोका थुनेर बसिरहेछ छ उ
र ढोका थुन्न चिच्याइरहेछ अरूलाईपनि

कसैले ढोका थुनेर
थुनिदैन मेरो घाम
अरूले वरिपरि पर्खाल ठड्याएपनि
मलाई चाहिने घाम
निर्माण गरिरहेछु म आफैंले

यतिखेर
युध्दको नयाँ पहाडमा उभिएर
तिम्रो प्रेमको प्रस्ताव सोचिरहेछु

साँच्चै प्रेम र युध्दमा
कसको पल्ला भारि हुन्छ?
सोच,सोच्नुपर्छ तिमीले पनि

२०७५ चैत्र ३० गते शनिबार(२०१९ अप्रिल १३)
प्योँगयाँग,उत्तरकोरिया

Damodar Pudasainee – Byunhjhaundai Butwal Lai

दामोदर पुडासैनी किशोर – ब्युँझाउँदै बुटबललाई

बिधान बनाउँनेहरू निदाइरहेछन्
बिधान ब्युँझाउनेहरू पनि निदाइरहेछन्
उज्यालो खोज्नेहरू बजाउँदैछन् निद्राको बाँसुरी
देशको साँचो खोल्नेहरूपनि निदाइरहेछन्
कालो बर्को ओडेर
घुम्लुँग सुतिरहन मिल्दैन शहरले
शहर त ब्युँझिरहनुपर्छ
जँगलमा फिरफिराइरहेका पातहरूझैँ
शहर ब्युँझ्योभने
चल्छ जुनसुकै बेला
तिम्रो र मेरो आवतजावत
भइरहन्छ सधैंभरि
तिम्रो र मेरो सल्लाहसाउति
जागा भइरहन्छ निरन्तर
मान्छे मान्छेको अनुराग
शहरको बगैँचामा
जाँगरका चराहरू उँडाइरहनुपर्छ
अथवा,दौडाइरहनुपर्छ
संसार नाप्नसक्ने तिम्रो र मेरो बेगलाई
निदाइरहने शहरमा
सजिन सक्दैन कदापि
मान्छेको मायाको बिरौटो
भालेबास्नु पूर्वनै
ब्युँझायौं हामीले बुटबललाई
बिहानहुनु अघिनै
झर्नाका रँग उमार्दैछौ
हामीले बुटबलमा
बुटबलहरू
निद्राको चक्करमा
अल्झिनै मिल्दैन
जिजीबिषाका बेगहरूमा
बुटबललाई ब्युँझाएर
मान्छे खोज्ने क्रम जारी छ
रामापिथेकसहरूको पनि
भेला हुँदैछ सबेरैदेखि
गोयबल्सहरू
खुरूखुरू बसाइ सर्न बाध्यछन्
रात धुजाधुजा पारेर
बिहान नचाइरहने बुटबलबाट
आफैं ब्युँझदैन
मुसारेर ब्युँझाउँनुपर्छ शहर र बस्ती
म ब्युँझेर पूर्बको पर्दा खोलेछि
भर्खर ब्युँझेको बालकले
अनुहारबाट फूलको ज्योति उमारेझै
तरबर्र उम्रेका टुसाहरू जस्तै
मन मनबाट पिपिरा उठाउँन तम्सिरहेछ ,बुटबल
निरन्तर जागा राख्न
काउकुति लगाइरेछु
बुटबललाई
तिमी आउँने दिशा र समय
खोतल्दैछु
बुटबलबाट
अबदेखि
कहिल्यै ननिदाउँने बुटबलको
लेखिरहेछु
प्रेमिल कहानी
बुटबलसामु
एकाएक पुडका बन्दैछन्
उचाइहरू

-बुटबल,होटल मिरर इन,बसपार्क
२०७५ मँसिर १७

Damodar Pudasainee Kishor – Pokhara Ma Bijuli Nachamkeko Bihan

दामोदर पुडासैनी किशोर – पोखरामा बिजुली नचम्केको बिहान

यो रात
बिजुली चम्केन पोखरामा
घाम खोज्न गएको बिहान
आइपुगेको छैन
अहिलेसम्म
माछापुच्छ्रे
किन यत्ति उदास उभिएको छ
सेतो परिधाननै फ्याँकेर
सन्तोषमा सुत्न सकेन रात
हुरी बनेर बत्तिरह्यो श्वासको गति
दिनमा पनि
घामनै बसाईँ सर्ला जस्तो छ
कतै टाढा
अथवा डुब्छकि कसो फेवातालभित्र
रातको मातले लडखडाउँदै
कसैको प्रतिक्षामा
मौन उँघिरहेछ लालुपाते
यो फूलबुट्टे पोखरामा
ढकमक्क फूलहरू छन्
ताल ,पहाड र हिमालमा
तर ,रातभर वास चलेन
सुस्केरा नसाटिएकोएको बरबादमा

पोखरा ग्रयाण्डी होटल,पार्दी ,पोखरा
२०७५ मंसिर १४

Damodar Pudasainee – Nirbastra Ghaam Ra Lolayeko Sanjh

दामोदर पुडासैनी किशोर – निर्बस्त्र घाम र लोलाएको साँझ

निर्बस्त्र उठनु
निर्बस्त्र सुत्नु
र ,निर्बस्त्रनै गरिरहनु यात्रा
तृप्तिको असीम समुद्र हो रहेछ
मान्छेले, फेर्न सक्तैन आफ्नो अनुहार
फेरिएका बस्त्रका रूप रँगको
तस्बिर खिचाएर
अथवा, उभिएर शिशा अघिल्तिर
आफैं बदलिएको भ्रममा पर्छ
बस्त्र फेरिनु
बिचार फेरिनु हो
आचार फेरिनु हो
घरिघरिका
अस्थिर आनिबानि छोप्न
मान्छेले लिइरहन्छ बस्त्रको सहारा
तिमी जन्मजात नाँगो रूपसँग सशँकित छ्यौ
र त, शंका उपशँका छोप्न
फेरिरहन्छ्यौ नानाभाँतिका बस्त्र
मैले त माया गर्नु छ सबैलाई
खेलाउँनु छ न्यानु काखमा सबैलाई
माया गर्नेले सँकोच मान्दैन नाँगिन पनि
सँसारभरका मेरा मायालुहरू
अघाएका छैनन्
मेरो नाँगो रूप तापेर
मान्छे,
बस्त्रमा बेरिएपछि
ताप पाइन्छ भन्ने ठान्छ
बास्तविक तातो त नाँगोमै छ
नाँगो हिमाल
नाँगो खोला
नाँगा पहाडहरूसँग पो छ त
मसँग जस्तै असिम ताप
साँच्चै न्यानो बाँडने हो भने
सहाराको जरूरत छैन
रँगिबिरँगी परिधानहरूको
मलाई म जस्तै तिमीपनि
नाँगै हिँडिरहेको हेर्न मन छ
सत्य छोप्न
घरिघरि बस्त्र,अलँकार र शृँगार फेरिरहेको
सुहाउँदैन कसैलाई पनि
मैले त साहस गरेको छु
जन्मेदेखि जीवनभर नाँगै नापिरहन सारा सँसार
किन तिमी मलाई ढाँटन खोजिरहेछ्यौ
क्षण क्षणमा बदिएका बस्त्रका रूपहरूमा लोभिएर
मलाई म जस्तै तिमी पनि
नाँगै उभिएकै मन पर्छ
मान्छे मनमनै
नाँगो रूपको आराधना गर्छ
तर,बखान गर्छ झुठा बस्त्रहरूको
नाँगिन साहस गर्नहरू सामु
लुक्न सक्तैन कोहिपनि
बस्त्रका जालझेली बादलहरूमा

२०७५ मँसिर २१
तौलिहवा,कपिलबस्तु