Chandani Shah – Timile Diyeka Mayalu Koseli Haru Le

चाँदनी शाह – तिमीले दिएका मायालु कोसेलीहरुले

तिमीले दिएका मायालु कोसेलीहरुले
मान्छेलाई माया प्रति अास्था जन्माएछन् ।
तिमीले दिएका खुशी र उमङ्गहरुले
मान्छेलाई खुशी प्रति आशा दिलाएछन् ।।

हुन त यो तिम्रो मेरो घरायसी माया हुन पर्ने हो
तर आज हाम्रो मायाले तिमी र म को परीधी कोरेछ
हुन त यो तिम्रो र मेरो परस्पर खुशी हुन पर्ने हो
तर आज हाम्रो खुशी ले हामी दुईको सिमाना नाघेछ ।।

तिमीले दिएका मेरा यि भावनाहरुले
आज हेर कतीलाई बिउँझाएछन्
तिमीले दिएका मेरा यि प्रेरणाहरुले
अलिअली गर्दै धेरैलाई रङ्गाएछन्
तिमीले दिएका मायालु कोसेलीहरुले ।

हुन त यो तिम्रो र मेरो ब्यक्तिगत प्रित हुन पर्ने हो
तर आज हाम्रो प्रित यो कती गीतको सङ्गीत बनेछ
हुन त यो तिम्रो र मेरो आपसको कथा हुन पर्ने हो
तर आज हाम्रो कथाले कती पलको आकार कोरेछ ।।

तिमीले दिएका मायालु कोसेलीहरुले
मान्छेलाई माया प्रति अास्था जन्माएछन् ।
तिमीले दिएका खुशी र उमङ्गहरुले
मान्छेलाई खुशी प्रति आशा दिलाएछन्
तिमीले दिएका मायालु कोसेलीहरुले ।।

शब्द : चाँदनी शाह
सङ्गीत : नातिकाजी
स्वर : तारादेवी

Damodar Pudasainee – Upahar

दामोदर पुडासैनी किशोर – उपहार

गृष्मको चहकिलो साँझमा
तिमीले उपहार दियौ र गयौ
मैले भने तिमीलाई र तिमीले दिएको उपहारलाई
मन र कोठाको बगैँचामा सजाइरहेछु

मनका सुन्दर रँगहरू भरेर
तिम्रो मनजस्तै सफा
उपहार दिएकीथियौ तिमीले
उपहार पाएपछि भने
मैले पाइरहेछु तिमीलाई
हरेक क्षणका रेखाहरूमा

किन किन तिम्रै मात्र अनुहार देखिरहेछु
तिमीले दिएको उपहारमा
किन सँझनाले छोडदैन मनमा
तिमीले उपहार दिइरहेका क्षणहरूको

उपहार तिमीले दिएकी थियौ
कस्तो अचम्म
मलाई त पुरै लगिछौ तिमीले आफैँसँग

तिमीले दिएको उपहार सजाइरहेको बेला
थाहा पाएँ मैले
नौनी जस्तो मेरो मायालु मन
थाहै नपाई टाँसेछ कसैले
रँगिन पोष्टर बनाएर
उसकै मनका भित्ताहरूमा
मेरो मननै तिमीले कब्जागरेपछि
रित्तो भएकोछु म
त्यही रित्तोपन भएपनि
सुम्पने विचार गर्दैछु
तिमीलाई सुन्दर उपहार

तिमीबाट उपहार पाएपछि
यो सँसारलाईनै देखिरहेछु तिमीनै तिमी

तिमीले दिएका उपहारका पानाहरूमा
के के बनाउँ ड्रइगँ,डिज़ाइन र इष्टिमेट
तिम्रो गुलाबी मनमा रँग भर्न
म तिमीले दिएको उपहार छाम्दै सोचिरहेछु

तिमीले दिएको उपहार होइन
ढकमक्क फक्रेको पुष्पबृक्षझैं
उभिएको भेटिरहेछु
तिमी नै तिमी ,मेरो अघिल्तिर

-२०७६ जेठ २९ गते बुधवार
ग्वँग:बुँ,नयाँबसपार्क,काठमाडौ

Bipin Singhal – Prem Katha

बिपिन सिंघल – प्रेमकथा

त्यो कोरेको प्रेमकथा हाम्रो
अमर छ मन भित्र मेरो,
त्यो तिम्रो चुप रङ्ग मा मिसिएको
प्रेमिल रङ्ग अति अति – मोहिलो
तिमि संगको जीवनसाथ सधै सधै -रमाइलो ||

त्यो डरलाग्दो रिसालु मुहार तिम्रो
अझ याद छ मलाइ तिम्रो
रीसमा बग्ने बानी मेरो,
त्यो दामन को मिठो सुवास तिम्रो
अझ याद छ मलाई
घरीघरि प्रेमपरिक्षा लिने बानी तिम्रो,
तिम्रो प्रेमप्रशन को गलत जवाफ दिने
बानी मेरो अति अति – अनौठो
तिमि संगको जीवनसाथ सधै सधै रमाइलो ||

त्यो गजबको लाली गुलाबि ओठमा सजाइ
मायाको मिठा मिठा कुरा गरि मन लोफ्याउने तिमी,
त्यो घन्टौ सम्म देउरालिको चौतारिमा बसि
आआफना मनको कुरा साट्ने प्रेमी हामी,
कहिल्यै साथ नछाड्नु भनी कसम
खुवाइरहने तिमी अति अति – सार्हो
तिमि संगको जीवनसाथ सधै सधै -रमाइलो ||

त्यो तिम्रो अंगालोमा बेग्लै आनन्द
स्मरण गर्ने मुटु मेरो
त्यो तिम्रो बारेमा सपना बुनि
भित्र भित्रै खुसी हुने मुटु मेरो
अति अति – गहिरो
तिमि संगको जीवनसाथ सधै सधै – रमाइलो ||

त्यो तिमिलाइ सम्झी सम्झी प्रेमकथा
लेखने म अति अति – ओथेलो
तिमि संगको जीवनसाथ सधै सधै रमाइलो ||

Damodar Pudasainee – Goebbels Haru

दामोदर पुडासैनी किशोर – गोयबल्सहरू

अचेल
कुर्सीधारीहरू
बनेका छन् अभिनेता
उन्मत्त साँढेझैं
बिगबिगी मच्चाइरहेछन्
ढोके,बैठके,धुपौरे र कुरौटेहरूले
कुर्सीधारीहरूकोलागि
झिँगा र लामखुट्टेहरूले गाउँने
भजन प्यारो लाग्छ
झिँगा र लामखुट्टेहरू
सिधासाधाको रगत चुस्छन्
देखिएका र भेटिएका
सबै मेवा र मिष्ठान्न चुस्छन्
केही पुर्याउँछन् कुर्सीधारीहरूलाई
सँगसँगै कुराका पोकाहरू पनि चढाउँछन्
सट्टामा प्रणाली र सन्जाल
दुबैलाई चपाइदिन्छन् कुपुकुपु
कार्यालयका गोयबल्सहरू
झण्डालाई झुकाएर
कार्यालयको सिँहासनमा
आफैले रानु चढाएको दावी गर्छन्
र रानुको धमास देखाएर
खुरूखुरू दँस छोडछन्
गैर झण्डाका ज्यामी माहुरीहरूलाई
तपाँईहरूले भोग्नुभएकै छ
कार्यालयमा
दम्भी,लोभी,चटके,ठग र लोलोपोतेहरूको
भयँकर महोत्सव चलिरहेछ
गोयबल्सहरू
अबिर दलेको हातले गीता हल्लाएर
दाह्राले सिधासाधाको मुटु चपाइरहेछन्
तपाई हामीले देखेकै कुरा हो
हरेक पदक र पुरस्कारको सूचीमा
गोयबल्सहरूकै नाम आइरहेछ
समय र परिस्थितीसँगै
काँचुली फेर्न सक्ने मनुवाहरू हुन् गोयबल्सहरू
कुर्सी फेरिने बित्तिकै थुक्क थुकिहाल्छन् पुरानो कुर्सीलाई
र ,चाट्न थालिहाल्छन् नयाँ कुर्सीलाई
तपाईँहरू जेसुकै भन्नुहोस्
देश थलापरेकै गोयबल्सदँसले हो
डी डी टी छरेर मलेरियाका लामखुट्टे नष्ट पारेझैँ
सँपूर्ण गोयबल्सहरू सखाप नपारेसम्म
उठदैन,उठनै सक्तैन देश
बरू केहीबेर राजनीति रोकौँ
बरू रोकौ केहीबेर
सारा दर्सन र सिध्दान्तहरू
कमिलाका गोलाभित्र रोपेर
कहाँ फलाउँन सकिन्छ आलु
एउटा मात्र गोयबल्स बाँचेसम्म
उम्रन सक्तैनन् कुनै
उज्यालो र उचाईका बिरूवाहरू
गोयबल्सबिहीन बन्न चाहिरहेछ देश
बादलले नढाकेको घाम ताप्न खोजिरहेछन् मान्छेहरू
सबैभन्दा पहिलो अभियान
गोयबल्सहरू नष्ट गर्ने हुनुपर्छ देशको

२०७५ पुस ३ गते मँगलबार

Diyesh Ratna Shakya – Sakshatkar: Temple of Heaven Sanga

दियेश रत्न शाक्य  – साक्षात्कार: टेम्पल अफ हेभनसंग

एउटा चीनिया किसान
तिमीसंग असल बाली मागिरहेछ
म मागिरहेछु
एउटा साक्षात्कार
मात्र एउटा साक्षात्कार

बेइजिङको थुम्कोमा यसरी उभिदिएर
तिमी साक्षी बसेका छौ
बिगतदेखि बर्तमानसम्म
माला जस्तै गाँसिएका पुस्ताहरूको
प्राचीनदेखि अर्वाचीनसम्म
नदी जस्तै अविरल बगिरहेका युगहरूको

तिमीकहाँ एकोहोरो सोहोरिएको छ
बेइजिङ भरिको हाटबजार
र यो भीडमा
कोही पनि खाली फर्केका छैनन्
तिमीलाई छामेर इतिहास बुझ्न खोज्नेहरू
तिम्रो रंगले जीवन रंगाउन खोज्नेहरू
रमाइरहेकै छ्न् बैँस टेकेकाहरू
सेल्फीभित्र तिमीलाई छिपाउँदै
नाचेरै रमाइरहेछन् बैँस बिसाएकाहरू पनि
आँखाभित्र तिमीलाई सजाउँदै

आफ्नो गर्विलो भेषभूषामा
मोहक नृत्य पस्किरहेछन्
प्रान्तीय नर्तकीहरू
बसन्तधूनको उल्लास गुन्जाइरहेछन्
एक हूल स्थानीय कलाकारहरू
महक सुवास थपिरहेछन्
बगैचाभरिका सुशोभित फूलहरू
मानौँ स्वर्गको एक टुक्रा
यहीं कतै खसेको छ

म देखिरहेछु
तिम्रोलागि जवानी फर्काउन
बिहानी कसरतमा जुटेका छन्
प्रौढहरूको समूह यत्रतत्र
आउँदो युगान्तरसम्म पनि
तिमीलाई यसरी नै बलिष्ठ उभ्याउन

आँखाभरि यी नै दृश्यले
मदमस्त भएर
म उत्सव जनाइरहेछु
नानीभरी न्यातपोल नचाएर रमाइरहेछु
फ्याँक्दै आशाको माछी जालो
कतै यी नै गोलाकार प्यागोडालाई भरेङ बनाएर
आइपुग्ने हुन् कि महान् अरनिको
बेइजिङ्को धमिलो आकाशबाट
अथवा
बेइजिङ्को ब्रान्ड आम्बेसडर
यो विशाल मन्दिर भित्रबाट
कतै मैले चाहे जस्तो
जीवन्त साक्षात्कारको लागि
बोलाहत आउने पो हो कि?
म यो भीड बीचमा पनि
एक्लो छुट्टै गम खाइरहेको छु
एक्लो छुट्टै रमाइरहेको छु

(अक्षरमा प्रकाशित)

Chandani Shah – Aanshu Ra Suskeraka Bacha Haru

चाँदनी शाह – आँसु र सुस्केराका बाचाहरु

आँसु र सुस्केराका बाचाहरु
त्यहाँ हुन्नन् त्यहाँ हुन्नन्
हाँसो र खुसिका कसमहरु
(त्यहाँ हुन्नन् त्यहाँ हुन्नन्)X2
माया र विश्वासमा कहिले ( बाचा बाँधिन्नन्)X२
साक्षी चाहिन्नन् त्यहाँ किरिया खाइन्न
आँसु र सुस्केराका बाचाहरु
हाँसो र खुसिका कसमहरु
(त्यहाँ हुन्नन् त्यहाँ हुन्नन्)X2

(लाग्दछ माया त्यो लाएर कँहा लाइने होर)X2
(खोसेर पाइन्न त्यो न त माग्दैमा दिइन्छ)X२
(समय बद्लिँदैमा बद्लिने त्यो होइन)X2
(जिवनको परिधिभित्र सिमित त्यो छैन)X2
आँसु र सुस्केराका बाचाहरु
हासो र खुसिका कसमहरु
(त्यहाँ हुन्नन् त्यहाँ हुन्नन्)x2

(सम्झाउन सिकिन्न केही परिभाषा दिएर
पिरतिको छैन यहाँ खोजेर उपमा कुनै)X2
(देखाउन सकिँदैन केही प्रमाण दिएर
तेस्को छँदैछैन पाइन्न यहाँ आकृती कुनै)X2
आँसु र सुस्केराका बाचाहरु
हासो र खुसिका कसमहरु
(त्यहाँ हुन्नन् त्यहाँ हुन्नन्)x2

शब्द : चाँदनी शाह
सङ्गीत : नातिकाजी
स्वर : तारादेवी

Chandani Shah – Yeti Thulo Sansar Ma

चाँदनी शाह – यति ठुलो संसारमा

यति ठुलो संसारमा मेरो भन्नु एउटै बास – तिम्रो मन
यति धेरै मानिसमा मेरो भन्नु एउटै आफ्नो – तिम्रो माया
कहाँ गई सुनाऊँ म मनभरिका कुरा तिमीले नसुने
कहाँ गई बिसाऊँ म मुटुभरिका माया तिमीले नदिए

मन मानिसको कहिलेकाहीँ सानै कुरामा चस्किएर दुख्छ
यस्तै समय हो मनको बह पोख्न तिम्रो म सहारा खोज्छु
खुसी मानिसको कहिलेकाहीँ यति अथाह चुलिदिन्छ
यस्तै समय त्यो खुसीको टह रोप्न तिमीमा बाँड्न खोज्छु
यति चोखो पिरतीको मेरो भन्नु एउटै चिज छ – तिम्रो निष्ठा
यति थुप्रै कल्पनाका मेरो भन्नु एउटै साथी – तिम्रो साथ
यति ठुलो संसारमा मेरो भन्नु एउटै बास – तिम्रो मन

एकाबिहानै के गुनासो पोखूँ भनी हाँसेरै बिताई दिन्छु
कहाँ समय छ व्यस्त ठाउँ भरदिन कसरी म केही भनूँ
बस्छु पर्खेर म ढल्केको रातसँग फर्किन्छौ अतीत भई
हेर्छु टोलाई म मुहार तिम्रो कुन मन दिई मुटु मुस्कुराउँ
यति सुखसयलमा मेरो भन्नु एउटै खुसी – तिम्रो खुसी
यति व्यस्त जीवनमा मेरो भन्नु एउटै शान्ति – तिम्रो छाया

यति ठुलो संसारमा मेरो भन्नु एउटै बास – तिम्रो मन

शब्द : चाँदनी शाह
स्वर : तारादेवी
सङ्गीत : नातिकाजी

Chandani Shah – Shanti Ko Dwani Chhardai Jau

चाँदनी शाह – शान्तिको ध्वनि छर्दै जाऊ

पुस माघ महिनाको जस्तो पारिलो घाम बनेर
यो आकास धरतीबिचको कुहिरो हटाइदेऊ तिमी
ध्रुवतारा जस्तै सधैं सत्य अटल अमर बनेर
विकासका लक्ष्य र बाटाहरू पहिल्याइदेऊ तिमी

यी पाइलाहरू तिम्रा सधै बढिरहून यसरी नै
हर गाउँ गोठ आगन पँधेरीमा पुगिदेऊ तिमी
त्यो उत्साह अनि जाँगर सधैं रहिरहोस् यस्तै नै
हर बाधा हाँक र चुनौती पन्छाई बढिदेऊ तिमी

ज्ञानको ज्योति जस्तै गरी चहकिलो र दिगो बनेर
एउटा एउटा गर्दै दियालो सल्काउँदै जाऊ तिमी
हरेक नेपालीको मुटुको स्पन्दन स्पन्दन छोएर
देशभक्तिको सङ्लो मायाप्रीति गाँस्दै जाऊ तिमी

यो मातृभूमिको भूगोलको रेखा रेखालाई खोजेर
पहाडका गर्खा अनि खेतका गरा टेक्तै जाऊ तिमी
यो जन्मभूमिको इतिहास शब्द शब्द पिच्छे रचेर
संसारका कुना-कुना शान्तिको ध्वनि छर्दै जाऊ तिमी

Chandani Shah – Kina Ho Yati Bharosha Basechha

चाँदनी शाह – किन हो यती भरोसा बसेछ

कहिले यो माया बिर्सिने भुलेर दिनमा
घुमी त यही आउँछौ फर्केर बासमा
सुन्नेछु तिम्रै आवाज गोधुँली याममा
(किन हो यती भरोसा बसेछ तिमीमा)x2

अतितका खुशी बन्दछौ अरुका सामुमा
केही छ बाँकी अवश्य साँचेको आफुमा
सात त्यो मेरै हुनेछ एकालोपनमा
(किन हो यती भरोसा बसेछ तिमीमा)x2

के जली धर्ती ढाकेकी उज्यालो घाममा
केही छ तिम्रो शायद धमिलो मनमा
मायाको दियो मेरै हो अँध्यारोपनमा
(किन हो यती भरोसा बसेछ तिमीमा)x2

सुखको बेला हजारौँ होलान् साथमा
दु:खका घडी आउँदा जीवनपाटोमा
हुनेछौ तिमी मेरो नै थकेको बेलामा
(किन हो यती भरोसा बसेछ तिमीमा)x3

शब्द : चाँदनी शाह
सङ्गीत : नातिकाजी
स्वर : तारादेवी

Chandani Shah – Gham Ma Pani Maya

चाँदनी शाह – घाममा पनि माया

घाममा पनि माया लागेको छ
पानीमा पनि माया परेको छ
फूलमा पनि माया फुलेको छ
रुखमा पनि माया झुलेको छ
हामीले सायद देख्न सकेनौँ कि
देख्नुमै मायाको माने लुकेको छ

आँखाले पनि माया हेरेको छ
ओठले पनि माया बोलेको छ
मुटुले पनि माया धड्केको छ
मनले पनि माया बोलेको छ
हामीले सायद अर्थै बुझेनौँ कि
बुझ्नुमै मायाको अर्थ लागेको छ

भिरमा पनि माया अडेको छ
पाखामा पनि माया बसेको छ
खोलामा पनि माया बगेको छ
हिउँमा पनि माया जमेको छ
हामीले सायद होसै गरेनौँ कि
होसमै मायाको मर्म बाँचेको छ

शब्द: चाँदनी शाह
संगित: नातिकाजी
स्वर: तारादेवी

Chandani Shah – Timra Pau Haru Ma

चाँदनी शाह – तिम्रा पाउहरूमा

तिम्रा पाउहरूमा म सँधै झुकिरहन्छु
तिमी उठाइरहू माया र आषिस थपी
तिमी भरिरहू सिउँदो म नुहिरहन्छु
नटुटोस् अब सिलसिला कहिले पनि

सगरमाथालाई छुने उषाको लाली झैँ
तिम्रो मायाको सृङ्गार सँधै सजिरहोस्
निरन्तर बग्ने यी खोलानालाका धुन झैँ
तिम्रो प्रेमको झंकार सँधै गुन्जिरहोस्
तिमी आँखाले बोलिरहू म पढिरहन्छु
नपरोस् आवश्यक शब्द कहिले पनि

परमात्मासँग आत्माको सम्बन्ध रहे झैँ
मेरो मन तिम्रो अर्चनमा डुबिरहोस्
अज्ञानलाई सँधै ज्ञानको खोज रहे झैँ
मेरो आराधना सँधै तिम्रो रहिरहोस्
तिमी आइरहू यस्तै म बोलाई रहन्छु
नछुटोस् यसको क्रम अब कहिले पनि

शब्द: चाँदनी शाह
संगित: नातिकाजी
स्वर: तारादेवी

Chandani Shah – Aama Bhayera

चाँदनी शाह –  आमा भएर

आमा भएर बोकिहेर सन्तानका पीरहरू
आमा भएर बाँढिहेर सन्तानका खुसीहरू
आफ्नो लागि त सबै बाँच्दछन् यस लोकमा
अरूको लागि बाँचिहेर सन्ताप अनि दुःखमा

एकपल्ट नियाली हेर आमाका दुवै आँखामा
बुझ्न खोज त्यसमा लुकेका दुःख सुस्केराहरू
एक पल्ट अडेर हेर आमाको सङ्गलो मनमा
छुन सक त्यसमा उर्लेका माया ममताहरू

धर्ती भई एक चोटि सहिहेर अरुले कुल्चेको
आगो भई एक चोटि बलिहेर अरुले तापेको
आकास भई फैलाई हेर मायाको ओढ्ने
पवन बनेर फिजाई हेर स्नेहको बिच्छ्यौना

स्वर: तारादेवी
रचना: चाँदनी शाह

Chandani Shah – Ukali Orali Haru Ma

चाँदनी शाह – उकाली ओरालीहरुमा

उकाली ओरालीहरुमा भन्ज्याङ अनि चौतारीहरुमा
सुन्दर ती दहहरुमा हिमालका विशाल छातीहरुमा
जहाँ जहाँ जान्छौ तिमी म पाइला बनी पछ्याइरहन्छु
ती छहरा खोला खहरेहरुमा सम्झना बनी बगिरहन्छु
उकाली ओरालीहरुमा

तराइँका हरिया फाँटमा पहाडका तरेलीहरुमा २
हिमालका सुन्दर अनि विकट ती बस्ती बस्तीहरुमा
जहाँ जहाँ जान्छौ तिमी म बाटो बनी साथै आइरहन्छु
ती सुस्केरा थकाई सुसेलीहरुमा गीत बनी गुन्जिरहन्छु
उकाली ओरालीहरुमा

मुटु कमाउने जाडोहरुमा कपाल दुख्‍ने गर्मीहरुमा २
मन हर्ने सुन्दर दृश्य शान्त शीतल वातावरणमा
जहाँ जहाँ जान्छौ तिमी म आकाश बनी देखिरहन्छु
ती लेक बेसी अनि पाखाहरुमा पवन बनी भेटिरहन्छु
उकाली ओरालीहरुमा

स्वर : तारा देवी
शब्द : चाँदनी शाह

Chandani Shah – Timilai Hansera

चाँदनी शाह – तिमीलाई हाँसेर

तिमीलाई हाँसेर बिदा मात्र दिइसकेथें
आशु झरिसकेछन् (म तिनलाई पुछ्न थालें) २
तिमी मलाई छोडी गैसकेको मात्र के थियौ
तिमी फर्कने दिन (म हतारिदै गन्न लागें) २

(यो दुई दिनको विछोड पनि कति नमीठो
के बिर्सिए जस्तो हराए जस्तो नपुगे जस्तो) २
मान्छेको हुलबीच पनि शून्यपन कस्तो २
ताराहरुलाई छोडी चन्द्र लुकिदिए जस्तो

तिमीलाई हाँसेर बिदा मात्र दिइसकेथें
आशु झरिसकेछन् (म तिनलाई पुछ्न थालें) २
(यी दिन यी रातका हर पल नरमाइला
लाग्छ समय नै सुस्तिएर चलिदिए जस्तो) २
यी मीठा गीतका धुनका पनि कति झर्को लाग्दा २
फूल झरि काँडा मात्र बाँकी भइदिए जस्तो
तिमीलाई हाँसेर बिदा मात्र दिइसकेथें
आशु झरिसकेछन् (म तिनलाई पुछ्न थालें) २

स्वर : तारा देवी
शब्द : चाँदनी शाह

Kabin Basnet – Aja Pheri

कबिन बस्नेत – आज फेरि

आज फेरि
सिङ्गो आकाश
मण्डपमा सजिएको छ
भर्खरै,
केही लजाउँदै, केही मुस्कुराउँदै
जूनले वरमाला लगाइदिएर
थामेकी छ
रातको अँध्यारो हात
आज फेरि,
आकाशमा
सहयात्राको नयाँ अध्याय लेखिएको छ।

आज फेरि
रात दङ्ग छ,
जून मख्ख छ
आज फेरि, ताराहरु जन्ती जाँदैछन्
झ्याउँकिरीहरूको पञ्चेबाजाले
अनुगुञ्जित छ प्रकृति सर्वत्र
आज फेरि, ज्योत्सना पोखिएको धर्तीमा
जूनकिरीहरू नाच्न तम्तयार छन् ।
यी सबै दृश्यहरू

आज फेरि,
एउटा सानो झ्यालबाट हेर्दैछु
ईन्सम्निया ग्रस्त आँखाहरूले ।

आज फेरि,
बादलको घुम्टो उघारेर
रात
जूनलाई सुटुक्क म्वाँई खान खोज्दै छ
आज फेरि,
म चाल मारेर भाग्न चाहन्छु
यो शहरदेखि
टाढा,……धेरै टाढा ।

-चाबाहिल, काठमाडौं

Damodar Pudasainee – Yo Shahar Ma

दामोदर पुडासैनी किशोर – यो शहरमा

सबै मान्छेहरू
केही न केही सुनाउने लाममा छन्
सुन्न कोही पनि तयार छैन
यो शहरमा
हरेक मान्छेहरू
क्षण क्षणमा कतै न कतै
दौडने सुरसारमा छन्
शहरलाईनै दौडाउँन
कोही सोच्दैन
यो शहरमा
जग्गाको भाउ बढिरहेको
होटल ब्यबसाय चलिरहेको
बजेट पुग्दै नपुगेको
मागको रास र फोहोरको थुप्रो चुलिंदै गएको
ज्यान जोखिममा पर्दै गएको
धूलो ,धुवाँ र बिषादी
असाध्यै बढेको
चर्चा त खुबै छ
बिहानदेखि बेलुकासम्म
तर शहरकै रँग र ढँग बारे
कसैले गर्दैन चर्चा
यो शहरमा
स्कुल र क्याम्पस जाँदाजाँदै
चिठी पत्र तोक आदेश र दर्ता चलानी गर्दा गर्दै
एन जी ओ आइ एन जी ओ का कार्यक्रम चलाउँदा चलाउँदै
बिदेश जाँदा र स्वदेशमै बस्दा
नाच्दा ,गाउँदा र मेलापात गर्दा
बस चढदा ,बिसौनीमा बस्दा ,छोराछोरी डोर्याउँदा
डन पल्टिंदा ,दलाली गर्दा र पाहुर पुहुन्की पुर्याउँदा
अथवा ,नेताका गोजी भरेर कुर्सीमा फनफनी घुम्दा
आँखा र मन साटिन्छ यहाँ कुनै न कुनै मोडमा
दिनभरी कुना कुनामा आफ्नै स्वार्थको पोयो बाट्दै हिँडेपनि
मनको पवित्र मन्दिरमा
सजाउँदैन कसैलेपनि
यो शहरमा
सुन्दर मान्छेको मनमा
जाल ,झेल र षडयन्त्र हुर्काएझैँ
सुन्दर घर ,जग्गा र बन बुट्यानलाई
पापी मनको कुरूसमा
जाली रूमाल बुन्ने
मान्छेहरू धेरै छन्
यो शहरमा

-२०७५ मंसिर १८
मिरर इन होटल ,बसपार्क ,बुटबल

Damodar Pudasainee Kishor – Pokhara Ma Bijuli Nachamkeko Bihan

दामोदर पुडासैनी किशोर – पोखरामा बिजुली नचम्केको बिहान

यो रात
बिजुली चम्केन पोखरामा
घाम खोज्न गएको बिहान
आइपुगेको छैन
अहिलेसम्म
माछापुच्छ्रे
किन यत्ति उदास उभिएको छ
सेतो परिधाननै फ्याँकेर
सन्तोषमा सुत्न सकेन रात
हुरी बनेर बत्तिरह्यो श्वासको गति
दिनमा पनि
घामनै बसाईँ सर्ला जस्तो छ
कतै टाढा
अथवा डुब्छकि कसो फेवातालभित्र
रातको मातले लडखडाउँदै
कसैको प्रतिक्षामा
मौन उँघिरहेछ लालुपाते
यो फूलबुट्टे पोखरामा
ढकमक्क फूलहरू छन्
ताल ,पहाड र हिमालमा
तर ,रातभर वास चलेन
सुस्केरा नसाटिएकोएको बरबादमा

पोखरा ग्रयाण्डी होटल,पार्दी ,पोखरा
२०७५ मंसिर १४

Damodar Pudasainee – Byunhjhaundai Butwal Lai

दामोदर पुडासैनी किशोर – ब्युँझाउँदै बुटबललाई

बिधान बनाउँनेहरू निदाइरहेछन्
बिधान ब्युँझाउनेहरू पनि निदाइरहेछन्
उज्यालो खोज्नेहरू बजाउँदैछन् निद्राको बाँसुरी
देशको साँचो खोल्नेहरूपनि निदाइरहेछन्
कालो बर्को ओडेर
घुम्लुँग सुतिरहन मिल्दैन शहरले
शहर त ब्युँझिरहनुपर्छ
जँगलमा फिरफिराइरहेका पातहरूझैँ
शहर ब्युँझ्योभने
चल्छ जुनसुकै बेला
तिम्रो र मेरो आवतजावत
भइरहन्छ सधैंभरि
तिम्रो र मेरो सल्लाहसाउति
जागा भइरहन्छ निरन्तर
मान्छे मान्छेको अनुराग
शहरको बगैँचामा
जाँगरका चराहरू उँडाइरहनुपर्छ
अथवा,दौडाइरहनुपर्छ
संसार नाप्नसक्ने तिम्रो र मेरो बेगलाई
निदाइरहने शहरमा
सजिन सक्दैन कदापि
मान्छेको मायाको बिरौटो
भालेबास्नु पूर्वनै
ब्युँझायौं हामीले बुटबललाई
बिहानहुनु अघिनै
झर्नाका रँग उमार्दैछौ
हामीले बुटबलमा
बुटबलहरू
निद्राको चक्करमा
अल्झिनै मिल्दैन
जिजीबिषाका बेगहरूमा
बुटबललाई ब्युँझाएर
मान्छे खोज्ने क्रम जारी छ
रामापिथेकसहरूको पनि
भेला हुँदैछ सबेरैदेखि
गोयबल्सहरू
खुरूखुरू बसाइ सर्न बाध्यछन्
रात धुजाधुजा पारेर
बिहान नचाइरहने बुटबलबाट
आफैं ब्युँझदैन
मुसारेर ब्युँझाउँनुपर्छ शहर र बस्ती
म ब्युँझेर पूर्बको पर्दा खोलेछि
भर्खर ब्युँझेको बालकले
अनुहारबाट फूलको ज्योति उमारेझै
तरबर्र उम्रेका टुसाहरू जस्तै
मन मनबाट पिपिरा उठाउँन तम्सिरहेछ ,बुटबल
निरन्तर जागा राख्न
काउकुति लगाइरेछु
बुटबललाई
तिमी आउँने दिशा र समय
खोतल्दैछु
बुटबलबाट
अबदेखि
कहिल्यै ननिदाउँने बुटबलको
लेखिरहेछु
प्रेमिल कहानी
बुटबलसामु
एकाएक पुडका बन्दैछन्
उचाइहरू

-बुटबल,होटल मिरर इन,बसपार्क
२०७५ मँसिर १७

Bipin Singhal – Ustai Ragat, Uhi Jaati

बिपिन सिंघल – उस्तै रगत, उहीं जाती

उस्तै रगत, उहीं जाती
तैपनि किन? उनकै घृणाको मात माथी !!

न त हृदय फरक
न त गासिएको पिरती नै ,
तैपनि किन? उनले लाएको माया फरक
र अनि उनकै घृणाको मात कड्क !!

हामी दुबैको एउटै घर बुन्ने सपना
माया र निर्मलताको रंगमा फैलिएको कल्पना,
तैपनी किन ?मेरो प्रत्येक दिनको काखमा
अधेरी पधेरी को गर्जना
र अनि उनकै घृणाको मात सिर्जना !!

उनको दु:खद मा मेरो साथ
उनको सुखद मा मेरो स्वतन्त्रता
उनको भोक मा मेरो ज्यान ,
तैपनि किन? मेरो दुःखदमा उनको बिछोड्ता
र अनि उनकै घृणाको मात महत्वता !!

उहीं धुन ,उस्तै जिवन तैपनि किन?
उनकै घृणाको मात प्रधान !!

Bipin Singhal – Sunya Bhayo Prem Kahani

बिपिन सिंघल – सुन्य भयो प्रेमकहानी

सपनाहरु सजाइ रहें,तिमिलाइ बसाउने मुटुमा
दुखहरु भुलाइ रहें,उहीं मिठो मुस्कानमा
बिश्वासघात को बिरुवा उम्रयो ,
सुन्य भयो प्रेमकहानी पनि |

देख्दै छु मैले स्वम्पेको उपहार पनि
कता कता खरानि बनी हरायो,
डर र चिन्ता भो मैले गासेको सम्बन्धको पनि
कहि तोडेर त जान्न्नौं कि कठेवरी ?,
एक थोपा आँसु मै संगालि जान्छौं कि
आँखा का सुन्दर संसार पनि |

निस्तब्ध यो रातमा जुन देखिएन्न
पर्खिरहे किनारमा तिमी आएनौं ,
सगै बस्ने वाचा निभाएनौं ,
सुन्यता र छटपटी भो तर तिमी आएनौं,
उराठ र एक्लोपनले भरी आयो यो रात पनि |

बिरहमा मेरै जिन्दगानिको धुन बोकि आयो
दूरतामा सुनिने बाँसुरीको धून पनि |

थाहा छ मलाइ ,झुल्कदैनौ तिमी फेरि
बर्सी आउदैनौ मेरो माया बनी ,
अब स्मरण भो मलाइ –
माया गर्नु नै ठूलो गल्ती रैछ,
बडो घात रैछ ,तिमि माथि बिस्वास गर्नु पनि ||