Gyanuwakar Poudel – Kasto Rahechha Ta Sahar Tha Bho (Nepali Gajal)

ज्ञानुवाकर पौडेल – कस्तो रहेछ त सहर था भो (गजल)

कस्तो रहेछ त सहर था भो
मान्छे हुन् कि प्रस्तर था भो

हाँस्ता पनि दुख्यो जब यो मन
दिवा-स्वप्नको असर था भो

सुरक्षार्थ खटिएका माली नै यहाँ
किन चोर्छ फूल अक्सर था भो

नजान्दा बोल्न यहाँ चाकडीको भाषा
गुम्ने रैछ कसरी अवसर था भो

सुकिला पहिरनका कुटिल मनहरूले
काँ-किन लुकाउँछन् खञ्जर था भो

छाडेर आफ्नो रमाइलो त्यो गाउँ
आउन नहुने यो सहर था भो।

Prakar Antar – Lek Besi Gardai Holi Meri Suwasini (Nepali Gajal)

प्रकार अन्तर – लेक-बेसी गर्दै होली, मेरी सुवासिनी (गजल)
(Sent to Sanjaal Corps via Email)

लेक-बेसी गर्दै होली, मेरी सुवासिनी
लडिन्छ कि डर्दै होली, मेरी सुवासिनी

म एक्लै परदेशमा, उ देशमा एक्लै
एक्लै जंघार तर्दै होली, मेरी सुवासिनी

रात लामो अन्धकारमा अल्झिरहँदा
आशैआशमा सर्दै होली, मेरी सुवासिनी

कोरी चित्र कल्पनाको खोला किनारमा
रंग अनेक भर्दै होली, मेरी सुवासिनी

टुटेपछी आशातार जीर्ण जिन्दगीका
निराशामा झर्दै होली, मेरी सुवासिनी

Biwash Bipra – Ma Kina Dhungo Janmana Sakdina?

बिवश बिप्र – म किन ढुंगो जन्मन सकिन ?

यो,
सत्य हो l
जसरी म जन्मन्छु
त्यसरी नै यी ढुंगाहरु जन्मेका हुन l

कसैले मानोस् या खण्डन गरोस्
मलाई बहुलाहा नै किन नभनोस् ?

म ढुंगा जती शान्त र भद्र हुन सकिन !
म ढुंगा जती मायालु र दयावान पनि हुन सकिन l

जन्मेर बाटोमै हुर्केको लावारीस ढुंगोलाइ
म थपक्क टिपेर वरको रुखमुनी राखिदिन्छु l

भोलिदेखि मानिसहरु देउता भन्दै पूजा गर्छन !
फुल,
माला,
अवीर,
भेटी,

गंगाजल चढाउछन l
अनि भाकल पनि गर्छन l

हेरौँ त ढुंगाको भाग्य चम्केको !
तर त्यो ढुंगो लाइ देउता कसले बनायो ??

खै मेरो अस्तित्व ?
खै मेरो जीवन ?

यसरी अनुतरित प्रश्नहरुसँग सम्झौता गरेर म कतिदिन बाँचुला र ?
अथवा,
के यि असम्भव प्रश्नहरु हुन ?
वा,
…………….यी प्रश्नहरुनै हैनन ?

हो,
यो पनि सत्य हो !
सबैलाइ आमाले नै जन्माउछिन !
म पनि स्वार्थी हुँ !
सबै स्वार्थी छन !

तर म किन ढुंगो जन्मन सकिन ?

चाहे मलाई अर्धपागल भन
या पागल घोषणा गर l
प्रश्नहरुको संजालमा म यसरी दिनौजसो ब्यापार भैरहेछु !
खरिद बिक्री भैरहेछु !

असर जन्मदातालाइ हुन सक्छ
यदि म
बेबारीसे ढुंगो भएको भए………..

(Sent to Sanjaal Corps via Email)

Pragati Rai – Aatanka Vs Aatanka

प्रगती राई – आतंक भर्सेज आतंक

प्रत्येक आमाहरूले
छोरीहरूलाई दिने पेवा
हतियार हुनेछ अब ।
हतियार बोक्नुको खराब समचार फैलनु अगावै
पत्रकार महोदय,
अखबारमा यो कुरा लेखिदिनोस् कि-
यो खतरा
छोरीलाई काखमा बोकिहिड्ने बाबुहरूको लागि होइन
यो खतरा
श्रीमतिलाई आदर गर्ने श्रीमान् को लागि होइन
यो खतरा
प्रेमिकाको हात समातेर हिड्ने प्रेमीहरूको लागि पनि होइन
यो खतरा त उसको लागि अवस्य हो
जो अनेकन सम्बन्धसँग जोडिएर
महिलालाई डष्न माहिर छन् ।
पत्रकार महोदय,
म स्वतन्त्र भएको दिन
आजसम्म
आइमाईहरूले कहिल्यै लेख्न्न नपाएको
शान्तिको प्रेममय गीत लेखेर
उपहार पठाउनेछु ……

Bodh Raj Pant – Jumla Ra Bhyaguta Ko Katha

बोध राज पन्त ‘अनागत’ – जुम्ला र भ्यागुताको कथा

गर्मी र मच्छडले खाएका
पहेंला अनुहारहरु लिएर जहाजहरु आउँछन्
समय, चिन्ता र मौसमले खाएका
काला अनुहारहरु लिएर जहाजहरु जान्छन्
क्रम जारी छ
माबु लेकको टाकुरामा बसेर
कसैले समयलाई मट्यांङ्ग्रा हान्छ
जहाज नपाएर यता आउन
हामी सुर्खेतबाट पैदल हिडेका थियौं ।

***

यो जुम्ला
अलिकति आकाशको टोपी लगाएर
तीला नदीको पानीमा
थुप्रै भ्यागुताहरुको ब्यापार गर्छ
ट्वार्र ट्वार्र
ट्वार्र ट्वार्र
भ्यागुतालाई शायद सधैं खण्डित आकाश मन पर्छ
जुम्ला खाल्डोमा
भनें नि,
थुप्रै भ्यागुता हरू छन्
भ्यागुताहरु
सम्पन्नतामा हाँस्छन्
विपन्नतामा हाँस्छन्
केही पाउँछन् कराउँछन्
केही पाउँदैनन् कराउँछन्
आकाश जव गर्जिन्छ
सतहमा निस्कनु र घोंक्रो फुलाएर कराउनू
र डुब्नु फेरि गहिराइमा
मानों मोती भेटिन्छ यतै कतै
भ्यागुताहरु आजीवन खोजमा हुन्छन्
हामी आजीवन खोजमा हुन्छौं ।

² ² ²
डाँफेको निर्वस्त्र बूढो शरीर
नाकमा अलिकति हिंउको सिंगान बोकेर
धराप थाप्दैछ
रारा जाने खुट्टाहरु
त्यही सिंगानमा लर्केर
खस्छन् घुच्चीको भीरबाट
र जुम्ला
ब्यंग्य पूर्वक मुस्काउँछ
मेरो छातीमा सिद्रा पसल थाप्न आउने तँ को ?
खाद्य चामलको कोटामा
यसै सिद्राको गन्ध आउँछ
भ्यागुताहरु सुकेको सिद्रा खादैनन्
जुम्ला चामलको समीकरण कोट््याउँछ
प्लाष्टिककै सही
जुम्लालाई चामल चाहिन्छ
हामीलाई चामल चाहिन्छ ।

***

कालो कलेठिएको रुपइडिइहा कोट
पत्र पत्रमा जुम्लाको लाहाछाप ठोकेर
बुढो लाल बहादुर
मुगाल्नीको ब्यापारिक मुस्कान सगै एक बोतल छ््याङ् धोक्छर्
गाइति गएकी छोरी फर्की फर्कीन थाहा छैन
घोडिति गएको छोरो फक्र्येा फर्केन थाहा छैन
भेडिति गएको आफूलाई छ््याङ्को जग भित्र डुबाएको छ
दाउरा गएकी ख्वाइनी फर्की फर्किन थाहा छैन
अज्ञान, दरिद्रता, अशिक्षा, अब्यवस्था
एउटा गोरो छाला उसको छेउबाट गुज्रन्छ
र सोंच्छ लाल बहादुर
के छाला नै मान्छेको आत्म सम्मान हो ?
हातमा उनको गांठ बेरेर तै पनि
ताखूमा बारम्बार ऊ आफुलाई धागो बाट्छ
बाट्छ , बेर्छ र फेरि बाट्छ
मेले थुप्रै लाल बहादुरहरु यो बस्तीमा देखेको छु
थूप्रै काले ,गोरे र हर्खे हरु यो बस्तीमा भेटेको छु
आत्मसम्मानको संकीर्ण घेरा भित्र
सांच्चै भनुं भने
मैले यहाँ कम मान्छे र धेरै मरीचहरु भेटेको छु ।

***

तिमी रिसायौ जुम्ली दाई ?
हो, निश्चय पनि कविता भित्र
मैले तिम्रो आत्मसम्मान
तिम्रो स्वाभिमानलाई ललकारेको छु
ठीक यही बेला
मैले लेख्दैगरेको कविताको भाषा
मलाई राम्रै थाहा छ
यो तिम्रै जिब्रोको देन हो
मैले बोल्दै गरेको कविताको भाषा
कुनै दिन तिम्रै माटोमा उब्जेको हो
त्यसो त
शब्दले जब तिम्रा छातीहरु पोल्छन्
पीडा म भित्र पनि नचहर््याउने कहाँ हो र
जव कुनै सुकिलो मान्छेले तिमीलाई “जुम्ली” भन्छ
स्वभिमान मेरो पनि नदुख्ने कहाँ हो र
तातोपानीको धारा नुहाएर
कुँडारीबाट पातारासीको श्यामल छाँया हेर्दा
मलाई लाग्दैन
तिमीले कतै अपमानित हुनुपर्छ
पाण्डुगूफाको पौराणिकता ओढेर
सिंजा खाल्डोको इतिहास पढेपछि
कनकासुन्दरीको मन्दीरमा एकैछिन थकाइ मार्दा
मलाई लाग्दैन, तिमीले कतै हीनताबोध पाल्नु पर्छ
सम्पन्नता भित्र दरीद्रताको छद्म अनुभूति
हँुदा हँुदै पनि नहुनुको घातक प्रतिभूति
तिमीलाई थाहा छैन
ए पाँच औलेको देशका मान्छे
एक टुक्रा यार्सागुम्बामा विश्व हल्लाउने शक्ति छ , हल्लाउ न
केशरको एक चिम्टी धुलोमा
विश्व रंगाउने शक्ति छ रंगाउ न
आफ्नै छातीमा सुगन्ध पालेर
त्यसैको खोजमा भौंतारिने ए कालोकोट !
कति बाँच्छौ यो कस्तुरी जीवन
पटाक्षेप गर यो नाटक
तिमी भ्यागुतो होइनौ
जुम्ला खाल्डोमा
घोषणा गर अब भ्यागुताहरु बस्दैनन्
मान्छे मान्छे भित्र एउटा कांजीरोवा बांच्नुपर्छ
मान्छे मान्छे भित्र एउटा पातारासी हाँस्नु पर्छ
सम्भावनाको जुलुस वोकेर आफैमा
भुस्याहा कुकूरको नियति वाँचेको
ए जुम्ली दाई
विन्ति
छोराको पुर्पुरोमा घोडितिको अनुर्वर खेती नगर
छोरीको सिंउदोमा गाइतिको अनुर्वर खेती नगर
छ्याङ्को नशामा
दाउरा खेपेर फर्केकी स्वस्नीको चूल्ठो
पाइदैन
मुठ्याउँदैमा कुनै परमवीर चक्र
भनें नि
पटाक्षेप गर यो नाटक
तिमी भ्यागुता होइनौ
जुम्ला खाल्डोमा
घोषणा गर अब भ्यागुताहरु बस्दैनन् ।

***
र जुम्ला
गजधम्म
बसैको छ ऐरावत हात्ती
जहाजहरु आउँछन् ÷ जहाजहरु जान्छन्
सुँड काटेर लगे पनि थाहा छैन
दाँत भाँचेर लगे पनि थाहा छैन
मैले कैयन पटक जुम्लालाई
हवाईमैदानबाट खुसुक्क जहाज चढेर मुग्लानिएको देखेको छु
सावधान
सर्पहरु जुम्ला पसेका छन्
सर्पहरु जुम्ला बसेका छन्
मन्द बिषले लठ्ठिएर जुम्ला
म संग सोध्दैछ
नेपालगंज पुग्न जहाजमा
आजकल जहाज खर्च कति लाग्छ हँ ?
अवाक् ÷ निरुत्तर
म आफ्ना डवडवाएका आँखातिर संकेत गर्छु
तिमीलाई कतै दुख्छ दुख्दैन थाहा छैन
हिमाल, सल्ला र स्याऊका बोटहरुहुँदै
आज ‘जुम्ला’ मेरो छातीमा दुखेको छ
आज ‘जुम्ली’ मेरो छातीमा दुखेको छ ।

मणिग्राम,रुपन्देही

Banshi Shrestha – Akash Ka Raajhans Haru

वंशी श्रेष्ठ – आकाशका राजहाँसहरु
(मधुपर्क साउन, २०६७)

समस्त प्राणीहरू आकाशमै उत्पन्न हुन्छन्
आकाशमै विलीन हुन्छन् ।
माथि, हामीमाथि, हिमशिखरमाथि
एक बथान राजहाँसहरू उड्दै आइरहेछन्
थाहा छैन, कुन अज्ञात प्रदेशबाट आए
अनि कुन अन-आविष्कारित प्रदेशमा जाँदैछन्
स्वच्छ-श्वेत-सुन्दर राजहाँसहरू
विशाल-निर्मल-नीलो आकाशमा
उड्दै आइरहेछन्-उड्दै गइरहेछन् ।
हामी सृष्टिका सर्वोत्तम सचेत प्राणीहरू
आफ्नै ज्ञान-गङ्गाका लहरमा पौडिरहन्छौँ
अनि अहंका आवरणले विक्षेपका बन्दी भएर
परा अनि अपराबीचको क्षितिजमा यात्रा गर्छौं
किन्तु हामी न त आकाशमा उन्मुक्त उड्नसक्छौं
न धराका वन-कुञ्जहरूमा अनाशक्त नाच्नसक्छौं
श्रृष्टिका सर्वोत्तम सौन्दर्यमयी हामी
शब्द र वाक्यका भारले
द्वैत अनि अद्वैतका सीमान्त-रेखाबाट
आकाशका राजहाँसहरू हेरिरहन्छौं ।
यी राजहाँसका उडानसँगै
निर्मल-निश्छल विचारका
व्यापक तर गहनतम् यो अन्तर्मन
पार्थिव-संसारको गुरुत्व-आकर्षणको सीमापार
दिन-रातका रेखापार
धर्महरूका व्याख्यापार
उज्वल आकाशबीच उड्छ
‘आकाशस्य न भेदोऽस्ति
अनि यात्रा गर्न चाहन्छ
नाम मात्र ज्ञान भएको
तर अन-आविष्कारित प्रदेशतिर
जहाँ प्रज्वलित सूर्यको उष्ण ताप छैन
अनि चतुर्दिक चकमन्न चन्द्रको शीतल किरण छैन
यात्राको त्यस दिग-दिगान्त प्रदेशबाट
फर्केका यात्री कहिल्यै भेटिएनन् यस धरामा
अथवा भनौँ-यात्रीहरू र्फकन्नन् यस धरामा फेरि ।
आकाशः तल्लिङ्गात ।

१. छान्दोग्योपनिषद् १।९।१
२. अनन्त आकाशमा भेद-विभेद छैन । माण्डूक्योपनिषद् -६ आकाश ब्रहृम स्वरुप हो, ब्रहृमसूत्र १।१।२२

Anju Subedi – Gaunthali Ra Manchhe

अन्जु सुबेदी – गौथली र मान्छे

कोठाभरि सूर्यास्तका किंरण पोखिएर
सन्ध्या छताछुल्ल थियो
कुनै बास खोज्दै हो वा
कतै बिछोडिएर भुर्र गर्दै एउटा गौथली
मेरै दलिनमा वास लिन आइपुग्यो
सौन्दर्यको पारखी मान्छे
म उसलाई नीहार्न थालें
स्वतन्त्रताको पक्षपोशिकामा
उसका उडानका कविता कोर्न थालें
मेरो मोनालिसा गौथली
मेरो लुभ्र घरका भित्तामा सजाउन
मैले उसको तस्बिर कोर्न थालें
साँझ छिप्पिदै जांदा
गौथली आफ्नै वासस्थानको खोजीमा
उडान भर्न भुर्र भुर्र मेरो कोठाका
कुना कुना चहार्न थाल्यो
तर म उसलाई प्रेम गर्थे
मैले उसलाई झ्याल खोलेर
बाहिरको निस्पट्ट अन्धकारमा
खुला र एकलै छोडीदिन चाहिन
बस बन्द गरे ,एउटा सुनको पिंजडामा
केहि खाने कुरा राखिदिए
सप्रेम पानी दिए
गौथली ट्वीट ट्वीट गाउन थाल्यो
म बुद्दिजिबी मान्छे
उसको धुन प्रेमिल गीत सम्झन थालें
आफ्नै क्यानभास भित्र
उसलाई कैद गर्ने धुनमा
सारै थाकेछु क्यारे
उसकै नजीक निदाए र भने
मेरो गौथली
म तिमीलाई हृदयदेखि नै
प्रेम गर्छू
गौथली गाईरहेकै थियो /
मैला सपनाहरुले
अनायास ब्युझायो एका बिहानै
पिंजडामा द्रिस्टिपात गर्दा देखे
गौथलीका ठुड भरि चोट हरु थिए
उसका गीतहरु थिएनन्
उ त निदाएछ सधैको लागि
मेरो अहम् ले बोल्दै थियो
कम्तिमा एक रात त
खाना खान दिए
म बुद्दिजिबी मान्छे!
म प्रेमिल मान्छे !

(Sent to Sanjaal Corps via Email)

Bhoj Raj Neupane – Naya Gas Chamber

भोजराज न्यौपाने – नयाँ ग्याँस च्याम्वर

किन दोहोरिन्छन्
‘ग्याँस च्याम्वर’ सम्झाउने आतंकहरु ?

मानव सभ्यतामा कुनै दिन
कालो इतिहास बनेको थियो
र,लेखिएको थियो
मानव दहनको कुरुप अक्षर
हिटलरको ग्याँस च्याम्वरभित्र ।

सुनेको छु
कम्वोडियामा खमेरुजको
अत्याचार
र,अवोध शिशुहरुको
पाठशालामै गरिएको संहार ।

कसले विर्सन सक्छ ?
नोमपेनको तुओल स्लेङ जेल
र,जेनोसाइड म्युजियम ।
कसले कल्पना गर्न सक्छ
विद्यालयको कक्षा कोठा
कुनै दिन मानव खप्परको पहाड
बन्न सक्छ ?
अहँ म पनि वावु हुँ कसैको
तर म कल्पना गर्न सक्दिन ।

ठाउँ फरक भएपनि
मेरो आँखै अगाडि
दोहोरिरहन्छन्
ग्याँस च्याम्वर सम्झाउने आतंकहरु ।
वसभित्रै खरानी बनाइए
काजोल खातुनहरु
वस्तीभरि वारुदको डढेलोमा
डढाइए कर्णधारहरु ।

ट्रकमा लादिएका राँगा भैंसी
निशाना बने
र,जलाइए
जिउँदै जलाइए राजमार्गमै ।
यो कु्ररता हेर्दा , लाग्छ
मेरो देश ‘ग्याँस च्याम्वर’ को
धङ्धङीबाट मुक्त छैन ।
र,हामी त्यही नयाँ ग्याँस च्याम्वरका
अभागी पात्र बनी रहेका छौं ।

Homnath Pathak – Naari

होमनाथ पाठक – नारी

कहिले आमा कहिले छोरी
बुहारी कहिले त जीवनभरि
बन्छिन् पत्नी कसैको नारी
पाउँछन् पुरुषहरू सहयोग भारी
कहिले भृकुटी कहिले सीता
नारी नै त हुन् काली नि त
प्रत्येक व्यक्तिको सफलतामा
कारक बन्छन् नारी नाम
नारीले गरुन् सम्मान नारीको
नारीको विकास सम्भव छ तब पो
भोग विलासका साधन होइनन् नारी
बन्न सक्छन् यिनै परिर्वतनकारी
हेलेन र नाइटिंगेल पनि नारी
जन्मून् सुपुत्री वारिपारि
नारी शिक्षित बने पो जब
परिवारै शिक्षित बन्छ तब

Rajendra Prasad Panta ‘Tarakini’ – Dharti

राजेन्द्रसाद पन्त ‘तारकीणी’ – धर्ती
(मधुपर्क २०६६ चैत)

धर्तीले फेरेकै छैन टालो अझैं
फाट्न बाँकी अँध्यारो छ कालो अझैं ।
आइनौ बेदना जन्सुनामी हुरी
विश्ल पल्टाउने भुइचाँलो अझैं ।
लड्नु बाँकी अझैं भिड्नु बाँकी अझैं
सर्वहारा चुली पुग्न पालो अझैं ।
शोसिएकाहरू पिसिएका सबै
रक्तछाल वीरको बग्न आलो अझैं ।
धर्तीमा खस्छ आकाशगंगा अब
देख्दिनौं दूरको त्यो उज्यालो अझैं

– न्वादेउ-६, नाकाली, बैतडी , हालः काठमाडौं ।

Krishna Prasai – Pitirahanchha Timro Sahar

कृष्ण प्रसाईं – पिटिरहन्छ तिम्रो सहर

ए, काष्ठमन्डप !
सपना छोडेर विपनामै आजभोलि
किन निर्धात पिटिरहन्छ तिम्रो सहर मलाई
कहिले भीड, भाषण र दाम भएर पिट्छ ।
कहिले नारा, जुलुस र जाम भएर पिट्छ ।
कहिले वेनाम र वेकाम को बन्द भएर पिट्छ ।
पिट्ने अनेक बहाना मात्र खोजिरहन्छ तिम्रो सहर,
चाँहे त्यो पानी र पहाडले होस् ।
चाहे त्यो खोलो र खानीले होस् ।
वा
बिनासित्ति डस्ने उदन्ड बानीले होस् ।
वर्षौदेखि बज्रिरहेछ बज्रपात टाउकामा
गोदिरहेछ गारतका गोलीले झैं

डामिरहेछ तिम्रो सहरले बिना कुनै डर ।
तिम्रो मुटुको मझेरी मानिने
रानीपोखरीको डिलै छेउ उभिएको
त्यो जुँगे बुढाको कुटिल धरोहर
किन, रातभर घुरेर डिस्टर्व गरिरहन्छ मलाई
टुडिखेल भित्रका घोडसवार पूर्व श्री३ हरूको हंशसम्झेर
किन सासन गरिहेछ जङ्गे कानुन अझै,
एकैक्षण भएपनि विश्राम लिए हुन्थ्यो कि ?

तिम्रो सहरका मालीलाई पनि सुत्न दिए हुन्थ्यो कि ?
किन अटेर पहाड झै टस् न मस् भएर
सदियौं देखि तिम्रो घन्टाघर
वेपरवाह घुमाइरहेछ आफ्ना परचक्री पखेटाहरू

समयको लगन मुठ्ठीमा बाँधेर
प्रतिपल घटाइरहेछ हाम्रो आयु ।
एउटै गोलार्धमा फन्को मारिरहने
कामुक वेरोजगार वायुहरू झै
जिस्क्याउँदै रानीपोखरीको नितम्बलाई
किन बेतुक वहकिरहन्छ तिम्रो सहरको सास

पिटिरहन्छ निरन्तर निर्दोष खाल्डोलाई ।
विधिको सासन निषेधित तिम्रो सहरमा
सति समय छादेर
भीमसेन झैं अजङ्ग उभिएको
उन्मत्त धरहराले पनि
किन देखेको होला आफ्ना आँखाले
मात्रै सासकको रगत

किन मैले पनि पढेको होला
त्यै रगतलाई देशको इतिहास भनेर ।
किन मैले नधिक्कारेको होला त्यतिखेरै
त्यो कलंकित कालो कोतलाई

किन नसरापेको होला
ती सत्ता चलाउने सासकलाई,
रगतले लत्पतिएको खुनी सालिकलाई,

निरङ्कुश भारदारी हुकुमलाई ।
कसरी भनौं म
सदियौं पूर्वदेखिको
पीडाको पर्याय बनेको तिम्रो सहरको नियति गाथा

आफूले आफैलाई गरेका आफ्ना गुनासाहरू
अनि कसरी गाली गरौ म आफैलाई
तिम्रै माटोले दिएको ओत ओढेर बसेको म
कसरी सुनाउँ तिमीलाई यसो भनेर कि ,
मलाई यो सहरका —
फूलहरूले पिटिरहेछन् ।
पातहरूले पिटिरहेछ ।
र पिटिरहेछन् ,
बैजयन्ती बतासका
हुलहरूले ।

Bhimnidhi Tiwari – Kopila

भीमनिधि तिवारी – कोपिला

साना बालक, बालिका भुवनका हुन् फूलका कोपिला
शिक्षाको मल, प्रेमको जल छिटी गर्छौँ भने संचिता
फुल्नेछन् दिन मध्यमा यिनिहरू बास्ना अनेकौँ दिई
त्यो बेला अनि यो उजाड दुनियाँ बन्नेछ कस्तो भई !

सारा दुषित वायुमण्डलभरी घुम्ला जसै केसर
त्यल्ले शुद्ध पवित्र पार्दछ सबै, बाँकी अरू के छ र?
झिल्का ‘मानवता’ यहीँ मनुजमा सल्केर जाला अनि
स्वार्थी भाव विनाश हुन्छ, तब ता सर्वत्र शान्तिध्वनि !

Dr. Madhu Madhurya – Samanantar Drishya Haru

डा. मधु माधुर्य – समानान्तर दृश्यहरु

आँखा खोलेपछि
रसायनिक प्रतिक्रिया शुरु हुन्छ भित्र-भित्रै
र देखिन थाल्छन् विविध दृश्यहरु
प्रेम र घृणाका प्रकरणहरु
अर्थात् निर्माण र विनासका शृंखलाहरु !

भगवानले मान्छे बनाएको देखेको छैन
मैले
मान्छेले –
भगवान बनाएको देखेको छु
उसको प्रतिमा बनाएको देखेको छु
मान्छेलाई पशु बनाएको देखेको छु

आज मैले आफ्नै हातले
बुद्धको प्रतिमा बनाएको छु:
खुला छन् आँखाहरु:
कुन दिशा फर्काउन पर्ने हो उसको आँखा ?

पश्चिम फर्काउने हो भने
उसको आँखाले
असान्जको विकिलिक्स क्यामराले हालसालै खिचेको
बेडरुममा लम्पसार अमेरिकाको नाङ्गो फोटो देख्न सक्छ
मान्छेको औपचारिक/ नक्कली हाँसो देख्न सक्छ
र भड्किन सक्छ उसको वृत्ति, मनोवृत्ति र समाधि !

पूर्व फर्काउने हो भने
उसको आँखाले
भारतवर्षमा अर्को एउटा नकल्ली कपिलवस्तु देख्न सक्छ
जहाँ ऊ जन्मेकै छैन
संविधान बिनाको कुनै एउटा हिमाली देश देख्न सक्छ
बिदेशी हितको खातिर
आफ्नै देश बेच्न उद्दत नेताहरु देख्न सक्छ

उत्तर फर्काउने हो भने
विश्व- आर्थिक ठेकेदार तिब्बत मास्तिरको देश देख्न सक्छ
जहाँ औतारी “बुद्ध”हरूलाई “पर्सन नोनग्राड” घोषणा गरिएको छ

तल धरतीतर्फ फर्काउने हो भने-
द्वन्द्द,अभाव, आँसु, रगत, रोग, विनास र सन्तापका
सात समुद्र देख्न सक्छ
“मृत्यु उपहार” लिएर बस्ती-बस्तीमा
सान्ताक्लाउसको भेषमा
घुमिरहेका मनुवाहरू देख्न सक्छ

र मैले चुपचाप उसको टाउको आकाशतिर फर्काइ दिएँ
अब माथिबाट जल्ले जे खसाए पनि
बुद्धको टाउकामाथि टुटुल्को उठ्ने खतरा छंदैछ
अहोरात्र
बादलमुनि
ओसामाको घुँयत्रो-निशाना छल्दै
अट्टहासले मारेको मेलोसेभिच र सद्दामको कंकालको खोजीमा
“प्रजातान्त्रिक बम” लिएर उडदैछ
एउटा भोको
अथकित
आदिम चील !

०१ जनवरी २०११
हाल: मस्को, रसिया

Pratima KC – Prakriti Tainle (Nepali Gajal)

प्रतिमा के.सी. – गजल: प्रकृति तैले

सुन्दर संसार रचेर किन गोडेर लगिस प्रकृति तैले
मानब मुटु दिएर किन फोडेर लगिस प्रकृति तैले

नराखेर केहि दया धर्म हजारौ मानिसको बस्ती उजाडी
कठै नि लछार पछार गर्दै तोडेर लगिस प्रकृति तैले

आफन्तहरु छुटाई फुटाई धेरैको एकै चिहान गराई
बाँच्नेलाई जीबनभरी पींडा छोडेर लगिस प्रकृति तैले

बुढाबुढी लालाबाला अनि युवा सबैको भाबना जिलाएर
बिभत्स रुप सुनामीको नाम जोडेर लगिस प्रकृति तैले

त्राही त्राही पारेर मान्छे आइस संसार नै त्रसाउने गरि
ज्ञान र विज्ञानको गति पनि मोडेर लगिस प्रकृति तैले

( ११ मार्च २०११ गतेका दिन जापानमा गएको नरसंहारकारी भूकम्प तथा सुनामीबाट प्रभाबित सम्पूर्ण मानब समुदायको स्मृतिमा रचित गजल )

१७ मार्च २०११
बेलायत

(Sent to Sanjaal Corps via Email)

Biplav Pratik – Sthiti

बिप्लव प्रतिक – स्थिति

म हाँस्न सक्छु, म रुन सक्छु
घृणा गर्न सक्छु
माया पनि गर्न सक्छु
जीवनको गीत
गाउन सक्छु, नगाउन पनि सक्छु ।

साथीहरू भेट्न सक्छु
बैरीहरू भेट्न सक्छु
भेटेको चीज नभेट्न सक्छु
नभेटेको चीज खोज्न सक्छु
खुसी हुन सक्छु, रिसाउन पनि सक्छु
चाहेँ भने बाँड्न सक्छु
फेरि केही खोस्न पनि सक्छु
म सुर्य निल्न सक्छु
म जून र्झार्न सक्छु
तर, म कमजोर पनि छु
दम्भले म मात्तिन सक्छु
हीनताबोधले आत्तिन सक्छु
म के हुँ सोच्न सक्छु
आफैँलाई बिर्सिन पनि सक्छु
स्वतन्त्र हुन सक्छु
तर, पराधीन पनि हुन सक्छु
शक्ति यति प्रशस्त छ मसँग, थाहा पाउन सक्छु
शक्ति यति प्रशस्त छ मसँग, चाल नपाउन सक्छु

तर, कतै पनि ढल्किँदा
पहिरो जान सक्ने सम्भावनाचाहिँ
किन यथावत् रहिरहेछ ?
कुनै एउटा सिरान समात्दा
अर्को पुछार छुट्ने श्रापचाहिँ
किन यथावत्, शाश्वत रहिरहेछ ?
यही सोचिरहेछु,

…नसोचिरहेको पनि हुन सक्छु ।

घट्टेकुलो, ९ अप्रिल १९९१

Bhagawati Basnet – Manabiya Parikalpana Haru

भगवती बस्नेत – मानवीय परिकल्पनाहरू

सन्ध्या कालमा
मधुर किरण झै
आशको झनिो किरण बोकेर
अनगिन्ती समस्याहरुस“ग
पाठेजोरी खेल्दै
गगन चुम्ने आशमुखी
लहरमा लहरिने
यो कस्तो सभ्यता-

असहज परिस्थिति
र अन्जान परिबेशमा
आफुलाई अनुकुल बनाउदै
आफ्नो इच्छा अनि
चाहनाको प्रबाह नगरि
संघर्षरत हुनुपर्ने
यो कस्तो बाध्यता?

जीवन अस्थाइ हुँदाहुँदै पनि
अजम्बरी सम्झदै
आज दु:ख सहँदै
भोलीको सुखको कल्पनामा
स्वचछ कन्चन आ“खामा
सजाउदै हिडिरहनु पर्ने
यो कस्तो बिडम्बना-

सुखको खोजिमा भौतरिदै
आफ्नो आमूल्य समयलाई
अरुकै लागि खर्चेर
अरुकै खुशीमा दुःख लुकाएर
आफन्तको मायाबाट
बिछोडिएर बाँच्नु पर्ने
यो कस्तो विवशता?

Manita Limbu – Himal Pahad Tarai

मनिता लिम्बु – हिमाल पहाड तराई

हिमाल,पहाड,तराई बस्थे पहिले सबै मिलीजुली
हिजोआज के भा को छ झगड्छन मै हु ठूलो भनि
सबै मिलीजुली बस्थे,फुक्थे एकताको ध्वनि
आजकल कलहमा छन जातिय राज्य भनि
के भा को छ यिनीहरूलाई थाहा छैन कुन्नी
लुछाचुँडी गरिहिडछन आफूलाई नै भूलि
तराई,पहाड,हिमाल मिली बसे फेरि कति हुन्थ्यो जाती
शिर ऊचो,छाती चौडा हुन्थ्यो होला कति
बस्नु पर्छ हामी सबै फेरि एकतामा मिली
सबै मिली गुञ्जाउनु छ फेरि शान्ति ध्वनि

Momila – Durgam Uchai

मोमिला -दुर्गम उचाई

आफूलाई कतै छाडेर
अधुरो म
कविता पूरा गर्न सक्दिनँ ।

जीवन रहेसम्म नै
अनुभूतिको विस्तारमा म
अन्तिम सिमाना कोर्न सक्दिनँ ।

यतिखेर
बुझिएको जीवनको अन्तिम पृष्ठमा
पीडाको विशेषाङ्क पढिरहेछु
देवालयहरूमा
विलापको घण्ट बजिरहेछ
र पनि म
बरफको अन्तिम उचाइ सोच्न सक्दिनँ ।

मानार्थ खुसीमा म
बुझनुका दुर्गम उचाइ उक्लिरहेछु
र लाग्दै छ
मैले नदेखेको ईश्वरबाट अलग्गिएर
मेरो माटोको घाइते छाया
मलाई पछयाइरहेछ
र पनि मेरो माया नै अन्तिम भनेर
माटोलाई
मसँगै सती आउन
अनुरोध गर्न सक्दिनँ ।

Saroj Dhital – Baadal Ko Kavita

सरोज धिताल – बादलको कविता

कहिले
कसरी
बादलको कविता लेख्न थाले छ कवि
रङ ?
आकृति ?
खै मनमा बसेछ बादलको कस्तो छवि !

बादलकै कवितामा ऊ रमाइरह्यो
बिर्सिएर सबथोक, शब्दशब्दमा बादल समाइरह्यो ।

निमेष, पल हुँदै शायद युग बिते ।

थाकेका औँलाहरू
पाट्टिएका गोडाहरू
दुःखेको ढाड सोझ्याउन
थोत्रो भित्ताको आड लिएर
उठ्यो जब जिउ तन्काउँदै ऊ

जीवनको अधैर्य तरङ्गले
उसलाई छाडेर भागिसकेछ
दुनियाँको मतलबी रङले
गिज्याउँदै कविलाई त्यागिसकेछ
बादलको कविता लेख्दा–लेख्दा
कविताकै बादलले निलिसकेछ ।

Rakesh Karki – Bishwas Ka Bihani (Nepali Gajal)

इन्जिनियर राकेश कार्की – विश्वासका बिहानी (गजल)

विश्वासका हरेक बिहानी छरिदियौ ममा
मुटुका छिद्राहरुमा माया भरिदियौ ममा

एउटा रुकाई जिन्दगीको अन्त्य हैन रैछ
पाइला पाइला खुशी छोड्दै सरिदियौ ममा

नजिक आउँदै ढुक्ढुकीले मेरो मन छुँदै
न्यानो न्यानो पन्ले लुट्पुटिदै झरिदियौ ममा

सुम्सुमाउँदै दु:खाई मेरो आफूमा थापेर
थोपा थोपा लौ मुस्कान बन्दै परिदियौ ममा

उज्यालो देखिँरहेँ जीवनमा तिम्रो प्रिती छायो
रमाई रहेँ रसिलो प्रेम गरिदियौ ममा

– लस् एन्जेलस्