दियेश रत्न शाक्य – गुलावी सहरमा एक सांझ
लहरै एउटै गुलावी परिधानमा सजिएर
जयपुरका प्रत्येक घर
स्वागत ओछ्याइ रहन्छन्
र चियाउँदै अजमेरगेटबाट
थपिरहन्छन्
गुलावी मुस्कान
र गर्विलो राज्स्थानी अभिवादन
सम्मान तराजुमा तौलँदै
उ तिमीलाई समय बेच्न खोज्छ
यतिखेर यो समय
– तिमीसँग रिक्सा/अटोरिक्सामा सवार हुनसक्छ
– जौहरी बजारमा
मणिमाणिक्य/ जवाहरातसँग चम्किरहेको हुनसक्छ
– राजस्थानी मार्वल मूर्तिहरूमा
सुन्दर सजिएर बसेको हुनसक्छ
– घ्यूवालोंका रास्ता,खजानेवालोंका रास्ता,हलदिके रास्ता
नजाने कुन रास्ता/ बजारमा
तिम्रो थैलीसंग साटिन
आतुर भएर पर्खिरहेको हुनसक्छ
लाग्छ जयपुर
समय बेच्न पल्केको एउटा दलाल हो
जो हरेक साँझ यसको खुशियाली
कान्जी हाउसको मिठाईसंग साट्छ
रावतको कचोरीसंग साट्छ
देशी सराबखानामा उन्मादसंग साट्छ
र नचाउँछ आँखा अगाडि
एउटा चमकदार सपना
अम्बरफोर्टको शिसमहल
जो बेच्न सक्दैन समय
उ किमार्थ उभिन सक्दैन
यो गुलावी सहरको परिचयमा
बरु लम्पसार परेर आकाश ओढ्छ
ईर्स्याले हेर्दै
बाहनमा सवार समय दलालहरू
(अक्षरमार्गमा प्रकाशित)