Diyesh Ratna Shakya – Jajarkot

दियेश रत्न शाक्य – जाजरकोट

सुन्दैछु जाजरकोट
भोकैभोकले गल्दैछ
रोगैरोगले ढल्दैछ
र पनि चिन्तामग्न छैनन्
शोकमग्न छैनन्
सिंहदरबारका कोटधारीहरू

के उनीहरू म्याद गुज्रेका
जनता हुन्
खाद्य संस्थानको डिपोमा
सडेका चामल जस्तै
एक झोला यही चामल पाउने आशामा
उनीहरू आफ्नो तागत
बिकासे नारा खोप्न
चट्टानसंग जुद्धै सकाउँछन्
र बचेका केही तागत
कोशौ पर यार्चाको खोजीमा
पहरासंग लडीबुडी गर्दै सकाउँछन्

र यतिखेर महामारी
बस्तीबस्ती पसिसक्दा पनि
प्रत्येक छिमेकबाट दिनहुुँ
लास उठाइ सक्दा पनि
एक चक्की सिटामोल
एक पुरिया जीवनजल
प्राप्तिको अधिकारको लागि
उनीहरूको बुलन्द आवाज घन्किएको छैन
आग्रहको चिच्याहट सुनिएको छैन

यस्तो लाग्छ
दिनदिनै ढलेका आफन्तजनको शोकमा
रुँदारुँदै तिनका आवाज सुकेका छन्
अथवा
समबेदनाको बजारमा सान्वना पिएर
जिउने उपाय उनीहरूले जानेका छन्
यो पनि हुनसक्छ
उनीहरूलाई थाहा छ
जाजरकोट सुदुर पश्चिम हो
जहाँ हरेक दिन
यो देशको
केवल अस्ताउने घाममात्र झुल्किन्छ

यही नै धमिलो घाम ओढेर भएपनि
प्वालैप्वाल परेका छतबाट
चुहिरहेको रातको चिसो
छलाउने जोहोमा
आफूलाई अलमलमा राखेर
हरेक दिन पीडा भुल्न बाध्य छ जाजरकोट

(अक्षरमार्गमा प्रकाशित )

Diyesh Ratna Shakya – Rahar Chakra

दियेश रत्न शाक्य – रहर चक्र

हो रहरहरूको
जन्मने एकीन साइत हुँदैन
बाँच्ने एकीन आयु हुँदैन

मनको
घाम (पानीमा
उकाली( ओरालीमा
दुर्भेद्य कुना( काप्चामा
सजिलै उम्रन सक्छ रहरहरू
जसरी पनि जन्मन सक्छ रहरहरू
उसको आगमन
यति चुपचाप हुन्छ
न देखिन्छ कुनै हर्षबढाईं
उसको प्रस्थान
यति शान्त हुन्छ
न देखिन्छ कुनै अश्रु (बिदाई

मात्र हामीले
बुझ्न सक्नु पर्छ
रहरहरू
मनका लागि
जाँगर समाउन आउँछ्न्
बैशाखी टेकाउन आउँछन्
आरोहण चढाउन आउँछन्
क्षणभंगुरता बुझाउन आँउछन्
मात्र हामीले
स्वभाविक मान्न सक्नु पर्छ
रहरहरूको निरन्तर मृत्यु
यसलाई अनावश्यक बचाउने क्रममा
कुनै रामायण वा कुनै महाभारत
फेरि पनि जन्मन सक्छ
इतिहास बनिसकेका
बिश्वका त्रासद युद्धहरू
समयलाई पछाडि धकेल्दै
फेरि पनि ब्युँतन सक्छ

माहुरीले झैं
रहरहरुले पनि
खुशीसंग समागम गर्दा गर्दै
आफ्नो लीला त्याग्न सक्छ
बकुला झैं खोला किनारमा
उभिएको रहर
कुनै पनि बेला
पानीमा डुब्न सक्छ
चमकदार
रंगिन रंगमा हुर्किएको रहर
कुनै पनि बेला पुतली झैं
आगोमा डढ्न सक्छ
र यही नै ध्रुब सत्य हो
हामीले बुझ्न सकेनौं भने
देवदूत बनेर पसेको रहर
यमदूत बनेर फर्कन सक्छ

हो रहरहरूको
जन्मने एकीन साइत हुँदैन
बाँच्ने एकीन आयु हुँदैन

Diyesh Ratna Shakya – Rajmarg Ma Ubhiyera

दियेश रत्न शाक्य – राजमार्गमा उभिएर

उनी धर्ती हून्
अलिकति ढलान
अलिकति अलकत्राले छोपेर
फेरिन सक्दैन
आमा मनले भरिएको उनको कोमल छाती
जहाँ आनन्दलय समातेर
गुडिरहेछन् सवारी वाहनहरू
बोक्दै गन्तव्य -रसपानका यात्रुमनहरू

सडकको नाउँमा
उ साझा आँगन हो
समावेशी पात्रहरूको खुल्ला नाट्यशाला जस्तो
सम्मान थाप्न नायकहरू
आउने बाटो यही हो
अपमान छल्न खलनायकहरू
भाग्ने बाटो यही हो
खर्पनभरि तरकारी र जुजुधौको
बिहानी साइत बोकेर
सहर पस्दै गरेका किसानहरू
झोलाभरि भविष्यको नक्सा बोकेर
स्कुल लाग्दै गरेका नानीहरू
सबैले नाप्ने बाटो यही हो

हो यहीं भेटिन्छन्
भिक्षाटन हात फिंजाउँदै
बिरहको सारङ्गी बजाउनेहरू
मर्निङ वाक वा म्याराथनका
स्वस्थ पदचापहरू
बधाई टोप जस्तै पड्किरहेका
फौजी जवानका हिंडाइहरू
बिना कुनै सर्भिस चार्ज
चाउचाउ ,जुस र मिनरल वाटर
पस्किरहेका सडकछाप वेटर/वेट्रेसहरू
लिपस्टिक र आँखीभौ झैं खुलिरहेका
सेता,पहेंला र जेब्रा क्रसिङ्का धर्साहरू
किन हो यसलाई मेट्ने
उदण्ड प्रयास गरिरहेछन्
एउटा बेमौसमी जुलुस

उ साक्षी हो
इतिहास उन्ने
प्रत्येक घटनाहरूको
प्रत्येक दुर्घटनाहरूको
र उसले साँचिराखेको छ
सडकभरिको
सीमान्तकृत /बहिष्कृत/बलात्कृत आवाज
उ पुर्‍याउन चाहन्छ यसलाई
सर्वोच्च मुकामसम्म
लोड गर्दै कुनै हुलाकी गाडीमा
तर अफसोच
उनीकहाँ आइपुग्छ केवल
कुनै महानगरबाट दया गरेर पठाइएको
फोहोरको कन्टेनर
र उनका सूचनाका भण्डारणहरू
सदरमुकाम होइन
फोहोरसंगै डम्पिङ साइट पुगेर पुरिन्छ

बस् एउटा सम्बन्ध
घटना र सुचनाबीच टुट्छ
घटना र इतिहासबीच टुट्छ
घटना र न्यायबीच टुट्छ

Diyesh Ratna Shakya – Singha Durbar, Maile Ke Sajaya Paunchhu

दियेश रत्न शाक्य – सिंहदरबार, मैले के सजाँय पाउँछु बुझी पाउँ?
                                  

म यो निवेदन दिएरै भन्छु
यो लकडाउनको राजभरि मैले विगो गरें
यति मैंले जानीबुझी ‘लक’ गरिनँ
र खुल्न दिएँ ,चल्न दिएँ

हरेक दिन बिहानैदेखि
मैले आँखालाई खुल्न दिएकै हो
र झ्यालबाट हेर्न दिएकै हो
मात्र यति पीरले कि
कतै मैले आँखा बन्दको बन्दै राखें भने
मेरा नजिकका
आफन्त ,छिमेकी र गाउँलेलाई पनि
चिन्न छोडुँला भनेर

कहींकतै कोरोनाको गन्ध
आफ्नो गाउँठाउँसम्म आइपुग्यो कि भनेर
मैले नाकलाई सुँघ्न अह्राएकै हो
र कोरोना कतातिर बास सर्दैछ भनेर बुझ्न
कानलाई
भएभरका मिडिया सुन्न लगाएकै हो

यो  मैले स्वीकारेरै भन्छु
यो मुख चाहीँ अर्ध ‘लक ‘छ
विगत केही महिनादेखि मैले
सिंहदरबार सरकारविरुद्ध
सडकमा नारा लगाउन पाएको छैन
बिचरा मेरोलागि बोलिदिने
अाखिर यही जिब्रो त छ
त्यसैले स्वादमा रमाऊन् भनेर
केही खान दिएर
लकको क्रमभङ्गता गरेकै हो

यो छातीलाई देशको सिमाना दुख्दा
मलम लिएर उभिनुपर्छ भनेर
फुल्न दिएको पक्कै हो
सधैं ज्यावलमा रमाउने यो हात
त्यसै बसेको देखेर
कमसेकम यो निवेदन लेख्न
कलम समाउन दिएको पक्कै हो
न भोलि भोकभोकै परेर लुरे ज्यान 
हुन्छ कि भनेर
पेटलाई बढी कोच्न दिएको पक्कै हो

अब खुट्टाको कुरो मात्र किन लुकाउने ?
बन्दा-बन्दीमा थच्चिरहँदा
कतै खुट्टा नचलेर म कुजिएँ
वा पक्षघातले थलिएँ भने
अस्पताल बासको भार थपिएला
र घरको भोक-बजेटमा धक्का पुग्ला भनेर
मेरा पाइतालालाई कमसेकम
घरैमा भर्याङको सिंढी गन्न
र पुलिसको आँखा छलाएर
मर्निङवाकमा डुल्न  पठाएकै हो

म कबुल गर्छु
मैले गरेको कसुरको फेहरिस्त  यत्ति नै हो
म बिन्ति जोड्छु
मलाई अहिल्यै ,तुरन्तै अहिले नै
मेरो गाउँको सिंहदरबारको न्यायालयमा
मलाई सजायँ हुन्छ या हुन्नको निर्क्योल गरिदिए
यो भूकम्प मन 
लकडाउनलाई पुरै सुहाउने गरी
शान्त रहने थियो

Diyesh Ratna Shakya – Corona Aba Timi Bhagnu Parchha

दियेश रत्न शाक्य – कोरोना, अब तिमी भाग्नु पर्छ

देख्यौ कोरोना
अहिले हामी ‘ लकडाउन’ आन्दोलनमा छौं
घर बन्द/सहर बन्द/देश बन्द/विश्व बन्द
र मात्र एक सुत्रीय माग छ
कोरोना ,अब तिमी भाग्नु पर्छ

तिमी कहाँबाट आयौ
मलाई थाहा छैन
तर यो लोकमा बसेपछि
लोकतन्त्र कुल्चिन पाइन्न
र यो विश्वको हरेक कुनाबाट आएको
बुलन्द बिरोध तिमीले सुन्नु पर्छ
कोरोना, अब तिमी भाग्नु पर्छ

तिमी रहिरहेसम्म यो पृथ्वी उही रहने छैन
मान्छे मान्छे बीचको सम्बन्ध उही रहने छैन
मान्छे मान्छे बीचको बिश्वास उही रहने छैन
मान्छे मान्छे बीचको दूरी उही रहने छैन
प्रत्येकले आफ्नो नामको पछाडि
जात/थर जोडेर
आफ्नो संस्कृति अगाडि
भाषा /धर्म जोडेर
पहिचानको
पृथकताको
स्वर्णिम फूलबारी बनाएको यो समाज
पक्कै पनि उही रहने छैन
हुन सक्छ हस्तिनापुर टेकेकाहरू
भोलि चपरी मुनि पर्न सक्छन्
उच्चासनमा अभ्यस्त हुनेहरू
वास्तविक सतहमा भासिन सक्छन्

कोरोना ,जसै तिमी उभियौ
हामी सबैले हात स्वच्छ बनाउन सिक्यौं
नाक र मुख स्वच्छ बनाउन सिक्यौं
अब भन तिमी प्रस्थान गर्नको लागि
के अझै तिम्रा रिजर्वेसन बाँकी छन्?
के तिमी थप स्वच्छ हावा र स्वच्छ मन
भनिरहेका त छैनौ?
यसलाई यसरी बुझौं
कुनै सरकारको घोषणापत्रमा नभएको
कुनै श्वेत पत्रमा नदेखिएको
एउटा युगलाई चटक्कै अर्को युगसंग जोड्ने
सुपर ग्लु हामीसंग छैन
पृथकतालाई बैश्विक एकतासंग
राष्ट्रबादलाई बिश्वबादसंग
कस्सिने गरि जोड्ने डोरी हामीसंग छैन

ओहो हामी त मान्छे पो हौं त
प्राणीहरूमध्ये सर्वश्रेष्ठ
हामीबाट हजारौं आफन्तजन खोसेर
हामीलाई सामुहिक पक्षघातमा डुबाएर
हाँक दिने एउटा भाइरसको हर्कट
कदापि सह्य छैन
देख्यौ कोरोना
यो लकडाउन र सुनसान सडक
आँधी आउनु अघिको सन्नाटा हो
जहाँ बहनेवाला छ
हजारौं शोकको गीत
करोडौं भोकको आक्रोश
एउटै मिसन तिमीलाई
यो लोकबाट सदाको लागि हुत्याउन
कोरोना! ओ कोरोना!
बेलैमा यत्ति चेतना भया
अब तिमी चुपचाप भाग्नु पर्छ

Diyesh Ratna Shakya – Ma Kun Parichaya Diun

दियेश रत्न शाक्य – म कुन परिचय दिउँ ?

तिमीले मेरो परिचय
बिर्से जस्तो छ
अथवा
तिमीले मेरो नयाँ परिचय
खोजे जस्तो छ

`बहादुर,कान्छा ,गोर्खा ´
यी सबै तिमीले सम्झिने नाम मात्र हुन्
मेरो परिचय किमार्थ होइन
तिमीले हिमाललाई हेरेर
मलाई चिसो रगतको
ठोकुवा गर्‍यौ भने त्यो गल्ती हुनेछ
तिमीले पहाडी नदीलाई छामेर
मलाई उस्तै चिसो ठान्यौ भने
त्यो गल्ती हुनेछ
किनभने म त पुर्खौदेखि
रगत उम्लिएको मान्छे हूँ
रगतभित्र आगो गुडिरहेको मान्छे हूँ
हो उहीँ आगो जसले
मायामा सेकाउँछ,
भोकमा पकाउँछ
बिरोधमा जलाउँछ

यो आगोमा धर्म जोड्यो भने
-आरती बन्छ पशुपतिनाथ,मुक्तिनाथ
वा जानकी मन्दिरमा जस्तै
-शान्तिदीप बन्छ लुम्बिनीमा जस्तै
यो आगोबाट धर्म खोस्यो भने
डढेलो बन्छ,मात्र डढेलो

हो म आगो हूँ
र आगो कहिले सानो हुँदैन
झिल्को,अगुल्टो वा मुस्लो
मसाल,फिलिङ्गो वा दियो
र अहिलेलाई यत्ति सोध्न चाहन्छु
तिम्रो ब्यवहारको प्रत्युत्तरमा
म भित्रको कुन आगोको परिचय दिउँ?

Diyesh Ratna Shakya – Samudri Kinarma Ubhiyera


दियेश रत्न शाक्य – समुद्री किनारमा उभिएर

निलो आकाश
निलो समुन्द्र
आपसमा टाँसिएर
युगौंदेखि गाँसिरहेछ
एउटा अटुट प्रेम बन्धन
नजाने कति हजार
सिल्भर जुब्ली पार गर्दै
यसले निखारेर उभ्याएको छ
प्रेमको महासौन्दर्य
यसैमा मोहित भएर टेकिरहेछु
सिंगापुरको यो भूस्वर्ग
मेरिना बे स्यान्डस्
समुद्री किनार

बिना बिश्राम
मेरा पाइला भेटाउन खोजिरहेछ
स्वप्नमय तिम्रो
प्रेमदृश्यको अन्तिम किनारा
बिना पर्खाइ
मेरो मन जान्न आतुर भइरहेछ
तिम्रो निश्चल प्रेमको
बास्तबिक गहिराई
जति नाप्न खोज्छु
म तिम्रो प्रेम
झन उति फिंजिएको पाउँछु
आफ्नो उँचाईले आकाश छेड्न खोज्ने
त्यो स्काइ पार्कभन्दा धेरै अग्लो
र मेरिना बे गार्डनका फूलहरुले
उन्नसक्ने मालाभन्दा धेरै लामो

म पोस्ट गरिरहेछु
फेसबुकका भित्ताहरूमा
स्नेही र पारखी
आँखाहरुको लागि
जादुमय यी प्रेमिल दृश्य चित्रहरु
एउटा अनुपम प्रेमको समर्थनमा
हजारौं लाइक र कमेन्ट जुटाउन
मलाई बिश्वास छ
तिम्रो हृदय बोकेका
यी दृश्यले
-पखालिने छ उनीहरुको मन
-उचालिने छ उनीहरुको जाँगर
र उभ्याउने छ
एउटा संबेदनाको शीतल समुन्द्र
एउटा आकांक्षाको उच्च आकाश

मलाई लाग्छ
एउटा सुन्दर सपना सजाउन
हाम्रा आँखालाई
एउटा सुन्दर दृश्यको
उत्प्रेरणा चाहिन्छ
र म दाबीको साथ भन्न सक्छु
यो समुन्द्री किनारमा
एकछिन उभिनु भयो भने
तपाईंले भेट्नु हुनेछ
यसैको खोजीमा
यो भूगोलको कुनाकुनाबाट आएका
हजारौं पाहुना आँखाहरू
जो आनन्दको घेराभित्र
र खुसीको सपनाभित्र
आफूलाई हराई राख्न चाहन्छ्न्

Diyesh Ratna Shakya – Nakhane Manchhe

दियेश रत्न शाक्य – नखाने मान्छे

म भन्छु
यो दुनियाँमा मान्छेका
मात्र दुई जात छन्
खाने र नखाने
खाने याने भरपेट खाने
नखाने याने भरपेट नखाने

खानेहरू जब
यो जमिनले उमार्ने/नउमार्ने
सबैथोक पचाउन समर्थ हुन्छन्
तब सोच्ने गर्छन्
यो दुनियाँको भएभरको उर्जा
उनीहरूसंग छ
यसैले उनीहरू अधिपति हुन्
यो नयाँ समयको
जसको सापेक्षतामा
खान नसक्ने/भरपेट खान नसक्ने
अक्षमहरू
ताकतबिहिनहरू
पछाडि धकेलिनु
वा न्यायबिहिन हुनु कुनै अनौठो हुँदैन

म देख्दैछु
एउटा नखाने मान्छे
मेरो देशमा
धेरै अघिदेखि चलेको
यो प्रचलन विरुद्ध
उभिंदैछ
र धावा बोल्दैछ
कि नखाएर पनि
स्वार्थको/शक्तिको स्वनामधन्य सत्ता
हल्लाउने ताकत
उमार्न सकिन्छ
उफार्न सकिन्छ

म यो के अचम्म देख्दैछु
राष्ट्रिय सुबिधा भोगेर
हुनेखाने बनेका महानायकहरू
कस्तरी त्रसित बनेका छन्
कस्तरी कम्पित बनेका छन्
यो नखाने मान्छेको
‘मसिनु ‘ताकत अगाडि
‘मसिनु’साहस अगाडि
‘मसिनु’आवाज अगाडि
जस्तो कि उनीहरुले देखिरहेका छ्न्
एउटा निराहार
एउटा परिशुद्ध मनमा
धेरै सफा मनहरूबाट
हुलका हुल उर्जा
स्थानान्तरण भइरहेको छ
सन्चित भइरहेको छ

ओ! सामाजिक न्यायलाई
आफ्नो औंलामा नचाउनेहरू हो
सुन ,कान खोलेर सुन
अब तिम्रो
शक्तिको वजन
ऐयासीको आयतन
घटुवा हुने दिन आएको छ
तिमीले हुर्काएका बेथितिहरू
सर्लप्पै बढार्ने दिन आएको छ
त्यसको
अगुवाइकोलागि
अभियानकोलागि
आफ्नो जीवन धरापमा राखेर
अगाडी उभिएको छ
नखाने मान्छे
बिल्कुल केही नखाने मान्छे

बनेपा,
९८५११५३५३५
९८४००६१४१०,

Diyesh Ratna Shakya – Sleeping Buddha Sanga

दियेश रत्न शाक्य – स्लीपिङ बुद्धसंग

बैंककको ब्यस्त बजार छेउ
चीर निन्द्रामा पल्टिरहेछन्
एउटा भीमकाय आकृति
स्लीपिङ बुद्ध
उनको सम्मुख बसेर
म नियालिरहेको छु
छाम्दै
मेरा यी हातले
र प्रश्न गर्दै
मेरो अन्तर हृदयले
के यिनी उनै महामानव बुद्ध हुन्
लुम्बिनी बाटिकाबाट
शान्तिको लागि पदार्पण भएका

बैंकक तिनलाई सुनले मोडेर
मलाई चिन्नबाट रोकिरहेछ
अथवा, उनले सोचेको हुँदो हो
सायद म बुद्धलाई
आफ्नै देशमा फर्काउन
आतुर भएर आइरहेछु

ओ! स्लीपिङ बुद्ध तिमीसंग
मेरा यक्ष प्रश्नहरु छन्
किन तिमीले रोज्यौ बहिर्गमन
के तिम्रो विशाल काय
मेरो देशमा नअटाएकै हो त?
अथवा आफ्नो थातथलोमा
शान्ति नमिलेकोले
बैंकक आएर चीर ध्यानमा
पल्टेका हौ ?

बुद्ध! मैले तिम्रो
कुनै जवाफ सुनिरहेको छैन
मात्र लामवद्ध उभिएका भक्तजनहरूले
लहरै सजाएका भिक्षापात्रहरूमा
खसालिरहेको सिक्काको
एकपछी अर्को ‘टङटङ’ आवाज बाहेक

के मैले यो सन्देह पाले हुन्छ?
अब बुद्ध पनि
सुनको सुगन्ध
र सिक्काको संगीतमा रमेर
ध्यान समाउने भैसके
अथवा,के मैले स्वजनहरूलाई
यसरी सुनाए हुन्छ?
बुद्ध बैंककको कोलाहललाई चिरेर
रिहर्सल गर्दैछन्
नयाँ ध्यान मुद्राको
ताकी आफ्नो जन्मथलोको
जस्तै अशान्ति पनि
मज्जाले सम्हाल्न सकोस्

(ज्योतिष्मती स्मारिका -४ मा प्रकाशित )

Diyesh Ratna Shakya – Sakshatkar: Temple of Heaven Sanga

दियेश रत्न शाक्य  – साक्षात्कार: टेम्पल अफ हेभनसंग

एउटा चीनिया किसान
तिमीसंग असल बाली मागिरहेछ
म मागिरहेछु
एउटा साक्षात्कार
मात्र एउटा साक्षात्कार

बेइजिङको थुम्कोमा यसरी उभिदिएर
तिमी साक्षी बसेका छौ
बिगतदेखि बर्तमानसम्म
माला जस्तै गाँसिएका पुस्ताहरूको
प्राचीनदेखि अर्वाचीनसम्म
नदी जस्तै अविरल बगिरहेका युगहरूको

तिमीकहाँ एकोहोरो सोहोरिएको छ
बेइजिङ भरिको हाटबजार
र यो भीडमा
कोही पनि खाली फर्केका छैनन्
तिमीलाई छामेर इतिहास बुझ्न खोज्नेहरू
तिम्रो रंगले जीवन रंगाउन खोज्नेहरू
रमाइरहेकै छ्न् बैँस टेकेकाहरू
सेल्फीभित्र तिमीलाई छिपाउँदै
नाचेरै रमाइरहेछन् बैँस बिसाएकाहरू पनि
आँखाभित्र तिमीलाई सजाउँदै

आफ्नो गर्विलो भेषभूषामा
मोहक नृत्य पस्किरहेछन्
प्रान्तीय नर्तकीहरू
बसन्तधूनको उल्लास गुन्जाइरहेछन्
एक हूल स्थानीय कलाकारहरू
महक सुवास थपिरहेछन्
बगैचाभरिका सुशोभित फूलहरू
मानौँ स्वर्गको एक टुक्रा
यहीं कतै खसेको छ

म देखिरहेछु
तिम्रोलागि जवानी फर्काउन
बिहानी कसरतमा जुटेका छन्
प्रौढहरूको समूह यत्रतत्र
आउँदो युगान्तरसम्म पनि
तिमीलाई यसरी नै बलिष्ठ उभ्याउन

आँखाभरि यी नै दृश्यले
मदमस्त भएर
म उत्सव जनाइरहेछु
नानीभरी न्यातपोल नचाएर रमाइरहेछु
फ्याँक्दै आशाको माछी जालो
कतै यी नै गोलाकार प्यागोडालाई भरेङ बनाएर
आइपुग्ने हुन् कि महान् अरनिको
बेइजिङ्को धमिलो आकाशबाट
अथवा
बेइजिङ्को ब्रान्ड आम्बेसडर
यो विशाल मन्दिर भित्रबाट
कतै मैले चाहे जस्तो
जीवन्त साक्षात्कारको लागि
बोलाहत आउने पो हो कि?
म यो भीड बीचमा पनि
एक्लो छुट्टै गम खाइरहेको छु
एक्लो छुट्टै रमाइरहेको छु

(अक्षरमा प्रकाशित)

Diyesh Ratna Shakya – Gulabi Shahar Ma Ek Sanjh

दियेश रत्न शाक्य – गुलावी सहरमा एक सांझ

लहरै एउटै गुलावी परिधानमा सजिएर
जयपुरका प्रत्येक घर
स्वागत ओछ्याइ रहन्छन्
र चियाउँदै अजमेरगेटबाट
थपिरहन्छन्
गुलावी मुस्कान
र गर्विलो राज्स्थानी अभिवादन

सम्मान तराजुमा तौलँदै
उ तिमीलाई समय बेच्न खोज्छ
यतिखेर यो समय
– तिमीसँग रिक्सा/अटोरिक्सामा सवार हुनसक्छ
– जौहरी बजारमा
मणिमाणिक्य/ जवाहरातसँग चम्किरहेको हुनसक्छ
– राजस्थानी मार्वल मूर्तिहरूमा
सुन्दर सजिएर बसेको हुनसक्छ
– घ्यूवालोंका रास्ता,खजानेवालोंका रास्ता,हलदिके रास्ता
नजाने कुन रास्ता/ बजारमा
तिम्रो थैलीसंग साटिन
आतुर भएर पर्खिरहेको हुनसक्छ

लाग्छ जयपुर
समय बेच्न पल्केको एउटा दलाल हो
जो हरेक साँझ यसको खुशियाली
कान्जी हाउसको मिठाईसंग साट्छ
रावतको कचोरीसंग साट्छ
देशी सराबखानामा उन्मादसंग साट्छ
र नचाउँछ आँखा अगाडि
एउटा चमकदार सपना
अम्बरफोर्टको शिसमहल

जो बेच्न सक्दैन समय
उ किमार्थ उभिन सक्दैन
यो गुलावी सहरको परिचयमा
बरु लम्पसार परेर आकाश ओढ्छ
ईर्स्याले हेर्दै
बाहनमा सवार समय दलालहरू

(अक्षरमार्गमा प्रकाशित)

Diyesh Ratna Shakya – Dhungkharka Ko Suryodaya Sita

दियेश रत्न शाक्य – ढुङ्खर्कको सूर्योदयसित

ढुङ्खर्क
एउटा भू-स्वर्ग
यही उच्च धरातलबाट नजिकिँदै
सूर्योदय
म तिम्रो स्वागतमा उभिरहेछु

जसै रातो रंगमा तिमी उडायौ
मैले बुझें तिमी रक्त पुन्ज हौ
अध्याँरो रात बिरुद्ध
चारै प्रहर युद्धमा होमिंदै
बिजेता बनेको एउटा योद्धा
जो थकित वेगमा
मेरो भूगोलको सर्वोच्च सेताम्य चुचुरोमा
बिजय ध्वजा फहर्याउन
उक्लिरहेको छ

मैले हेर्दाहेर्दै
तिमीले रक्त इन्धन बाल्न
शुरु गरिसकेका छौ
एउटा न्यानो चुम्बन
एउटा न्यानो स्पर्श
मेरो भुगोलतर्फ फ्याँक्न

र साँझमा जब फेरि देखें
रातो रंगमै तिमीलाई
मैले बुझें
प्रतिस्थापनमा/परिवर्तनमा
नयाँ रक्तकणहरू तिमीमा उब्जिसकेछ
अब फेरि शुरु हुनेछ
अँध्यारो रातसंग युद्धको संखनाद
अब फेरि शुरु हुनेछ
नयाँ बिहानीको उद् घोष

(अक्षरमार्गमा प्रकाशित)

Diyesh Ratna Shakya – Ma Parkhal Bhitra Ko Euta Patra

दियेश रत्न शाक्य – म पर्खाल भित्रको एउटा पात्र

म लज्जाले निहुँरिन्छु
हिनताबोधले चिथोरिन्छु
जब म उफ्रन सक्दिनँ
होचा होचा पर्खालहरू
र पाउँछु आफूलाई
एउटा विवश कैदी पात्र

अगाडि उभिएको छ
-आशक्तिको पर्खाल
कतै टाढा जानबाट छेक्दै
-घृणाको पर्खाल
नजिक आउनबाट रोक्दै
म देखिरहेको छु
जडसूत्र उभिंदैछन्
संस्कार/ परम्पराका पर्खालहरू
अग्निसूत्र बर्साउँदैछ्न्
बिचार/बादका पर्खालहरू
हरियो झण्डा उचालिरहेछन्
जाति /सम्प्रदायका पर्खालहरू

म उभिएको धरातलमा
आज पर्यन्त पनि
उत्तिकै जारी छ
यी सबै पर्खालहरूको ऎक्यबद्ध प्रयास
तराई झैं फिँजिन
पहाड झैं अग्लिन
हिमाल झै चुलिन
र फैलाइरहेछ
एउटा मेलाको साम्राज्य
जहाँ कारोबार भइरहेछ
गुणस्तरका नक्कली प्रमाणपत्रहरू
बिज्ञापनका नाङ्गा चित्रहरू

पर्खाल पर्खाल नै हो
यसका करतुतहरू
अखबारभरि छरिएका छन्
टिभीका काँच पर्दामा
उजागर भएका छन्
साथै यसको बिरुद्ध हरदम बजिरहेको छ
एफएम रेडियोमा बिद्रोही गीत
र पनि झन थपिंदो छ पर्खालहरू
हुकुमका भरमा/आदेशका भरमा
नाराका भरमा/आवेगमा भरमा
एक निमेषमै

एउटा छिमेकी जस्तै
जतिसुकै संगै बसेपनि
म र पर्खाल
अलगअलग धार हौं
यसैले
मैले सुरक्षा अनुभूति गरिरहेको छैन
पर्खालहरूको परेडमा
मैले आफ्नो नारा मिसाउन सकिरहेको छैन
पर्खालहरूको जुलुसमा
र म रमाउन सकिरहेको छैन
पर्खालहरूको क्याट्वाकमा

मैले सुन्न चाहिरहेको आवाज त
बर्लिन पर्खाल झैं
यी सबै पर्खालहरू
एकपछि अर्को
चकनाचुर ढालिरहेको
ज्यावलहरूको आवाज हो
ताकि मैले फेरि सुनाउन नपरोस्
म लज्जाले स्खलित हुन्छु
जब उफ्रन सक्दिनँ
होचा होचा पर्खालहरू

(थाय् भु-४,नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रकाशित)

Diyesh Ratna Shakya – Sunkosi Ma Ekdin

दियेश रत्न शाक्य – सुनकोसीमा एकदिन

म यतिखेर
सुनकोसीसंगै सलल बगिरहेको छु
राफ्टिङ डुंगामा
र मसंग
एउटा हल्लाखोरहरुको जमात छ
प्रत्येक डरमा
प्रत्येक खुसीमा
संगै चिच्याउनको लागि

पानी कसम!
म सुनकोसीको पानी छोएर भन्न सक्छु
म यहाँ सुन होइन
प्रेम खोज्न आएको छु
तिम्रो कन्चन चिसो पानीको
काउकुतिले जगाउने प्रेम
जसै यो डुंगा
खस्छ ससानो उचाईबाट
सर्लक्क छोपेर चिसो छालले
अँगालो मारेर लगाउने
अनुपम प्रेम

म देखिरहेको छु
सुनकोशीको पानीमा जवानी छ
यसैले त उ
कुदिरहेको छ
उफ्रिरहेको छ
र पटक्कै रोकिएको छैन
जतिपल्ट चट्टानमा ठोक्किए पनि
बरु आफ्नो वेगले सजिलैसंग
बाधा नाघेर
यात्रामा लम्किरहेको छ
गन्तव्यमा लम्किरहेको छ।

यस्तो लाग्छ
उ मलाई पाहुना सम्झेर
आफ्नो मुकाम/घरसम्म पुर्‍याउन
हतार गरिरहेको छ
र कत्ति पनि पछाडि नफर्किकन
पुरा शक्तिमा
पुरा वेगमा
पूरा आवाजमा
अविरल बगिरहेको छ
मानौं मलाई साक्षी राखेर उ
केही देखाउन खोजिरहेछ
वा केही सोध्न चाहिरहेछ
किन उ यही भर्जिन स्वरुपमा
गन्तव्यमा पुग्न सक्तैन ?

म डुंगामा आसन जमाएर
सुनकोसीको आतिथ्यतामा
अनन्त रमाइरहेको छु
र हातले प्याडल नचाउँदै
गाइडको कमान्ड मानिरहेको छु
फरवार्ड! अल ब्याक!
सेट डाउन !सेटब्याक!..
र सेताम्य छालहरूसंग खेल्दै
सुनकोसीसंगको
प्रत्येक सुनौलो क्षणलाई
हृदयको फोटो फ्रेममा
सजाउँदै गइरहेको छु
तर मलाई एउटै डर छ
सुनकोसीको अन्तिम गन्तव्यसम्म
म कसरी साथ दिन सक्छु?
त्यो धैर्य र साहस
म कसरी जुटाउन सक्छु?

Diyesh Ratna Shakya – Sagarmatha Ajha Chulina Sakchha

दियेश रत्न शाक्य – सगरमाथा  अझ चुलिन चाहन्छ
                                    
नाघेर बादलहरूको घेरा
आज पनि
उस्तै चुलिएको छ सगरमाथा 
अड्याएर आफ्नो शीर 
नीलो आकाशमा 

सजिएर  सेताम्य पहिरनमा
उ दाबी गरिरहेछ
उ संग छ
सृष्टिभरिको शान्ति  
दृष्टिभरिको कान्ति
र खुल्ला आमन्त्रण  गरिरहेछ
साहसिक आरोहणको लागि

जति अग्लिए पनि
जति चुलिए पनि 
उ घमण्ड पाल्दैन 
र जमिन छोड्न मान्दैन
र  कति पनि रोष पाल्दैन
यो देशको कानुनमा
मान्छे मात्र यो देशको
नागरिक भएकोमा 
र कति पनि खेद जनाउँदैन
मान्छेमात्र यो देशको
बिभुति जनिएकोमा 

बरु उ  हमेशा स्वागतमा तल्लिन हुन्छ 
चट्टानी साहस बोकेर
हिम आँधी र हिम पहिरोसंग जुध्दै
दु:साध्य 
रेन्बो भ्याली र डेथ जोनसंग टकराउँदै
खुम्बु आइसफल्स र हिलारी स्टेपको
बाधा छिचोल्दै
पाइला  पाइलामा 
ज्यान  हत्केलामा राखेर
आफूलाई  भेट्न आउने
प्रिय आरोहीहरूको

उ लेखाजोखा  राख्दैन
यो देशको परिचय  क्रममा
कतिपल्ट उनको नाम लिइयो भनेर
बरु लामो मुस्कान छोडेर
दंग हुँदै खुशी  जनाउँछ
एक युगको पर्खाइपछि 
बल्ल यो देशको नोटको एक छेउमा
फोटो सजाउन  पाएकोमा

ल्होत्से र नुप्त्से साक्षी  छ
प्रत्येक  आरोहीले ह्यामरले हान्दा
उसले चुम्बन मानेर खुशी जनाएको छ
प्रत्येक किलामा अड्याएको डोरीलाई  
मायाको डोरी मानेर रमाएको छ
उ ठान्छ 
नितान्त एकान्तमा
हमेशा कठ्याङ्गग्रीएर उभिरहेको उनलाई
आखिर कोही त 
मायाको न्यानो लिएर भेट्न आएको छ

सफल आरोहणको
असीम खुसीमा 
हजारौं  जोर पाइतालाहरुले 
आफ्नो टाकुरोमा उफ्री उफ्री
जति पल्ट थिचे पनि
अहँ उ  होचिन मान्दैन
बरु अझ  चुलिन चाहन्छ
ताकि धित नमरुन्जेल
बिना छेकबार
मज्जाले  चियाउन सकोस्
यो सुन्दर पृथ्वी 
जसलाई 
जतिपटक नियाले पनि
यो सर्बोच्च  उचाइबाट
उ देख्न सक्दैन
मान्छेले कोरेका
बिभाजनका सीमा  रेखाहरू

Diyesh Ratna Shakya – Bhatkinu Hunna Hamra Sankalpa Haru

दियेश रत्न शाक्य – भत्किनु हुन्न हाम्रा संकल्पहरू

जब म देख्न थाल्छु
अहिले पनि
सडकभरि गल्लीभरि
टेकामा उभिएका घरहरू
चोकभरि चौरभरि
टहरामा गुम्सिएका परिवारहरू
मैले बिर्सन खोजेको बिगत
फेरि बल्झ्रेर आउँछ
मनमुटुभरि कम्पन बिझाउँछ

म सोच्न थालेको हुन्छु
भत्किन लागेको भित्तो अडेस लगाएर
तिनले कसरी काटे होलान्
दिन,महिना र बर्षहरू
प्रत्येक पराकम्पनको
दर्दनाक सन्त्रासलाई कति कष्टले झेल्दै

पुरानो च्यात्तिएको पालभित्र बसेर
तिनले कसरी सहे होलान्
दिनको टन्टलापुर घाम
रातको कठ्यागृने जाडो
हावाहुरी अनि झरी बर्षात्
टुकीको धिपधिपे उज्यालोमा
तिनका नानीबाबुहरूले
कसरी थाले होलान् आफ्नो होमवर्क
कसरी कोरे होलान् भबिष्यको नक्सा

म सम्झिरहेछु बर्षदिन अघि
आँखाभरी तैरिएका
भग्न दृश्यहरू
मुटुभरी घोपिएका
समबेदनाका स्वरहरू
र फेरि पनि सम्झिरहेछु
त्यतिखेर
मेरो यो प्यारो देशको
क्षेत्रफलभन्दा पनि/आकाशभन्दा पनि
फराकिलो बनेर उठेको देशप्रेम
र सगरमाथाभन्दा अग्लो बनेर उठेको
स्वाभिमान जुटाएर
हामीले गरेका संकल्प र बाचाहरू
कि हामी सग्लो उठाउँछौं यो देशलाई
कि हामीअझ अग्लो उठाउँछौं यो देशलाई

र अहिले समय-साल फेरिए पछि
थप सोच्न थालेको छु
निरन्तर सोच्न थालेको छु
हाम्रा घर/धरोहर
जे भत्के भत्के
जे ढले ढले
अब कदापि भत्किनु हुँदैन
समय-सीमा सामू
नवनिर्माणका हाम्रा संकल्पहरु
अब कदापि ढल्नु हुँदैन
इतिहासदेखि परिचय बनेको
नेपाली सद् भाव र स्वाभिमान
(जनमत २०७३श्रावण अंकमा प्रकाशित )

Diyesh Ratna Shakya – Eiffel Tower Ra Sammohan Saamrajya

दियेश रत्न शाक्य – आइफेल टावर र सम्मोहन साम्राज्य

ओ! मोहिनी गजुर
तिमीलाई चुम्न
जब म थाल्छु सिखर यात्रा
स्वागतमा खुल्न थाल्छन्
तिम्रो प्रेमिल मुस्कान
र परिदृश्यमा झुल्किन थाल्छन्
बिहङ्गम पेरिस
र यसको स्वप्निल शान

तिम्रो उचाईबाट नजिकिएको नीलो आकाश
र दूरसम्म देखिने सुन्दर संरचनाहरु
साक्षी राख्दै
म तिमीलाई नियालिरहेको छु
र पाइरहेको छु
बिना कुनै बस्त्रधारण
बिना कुनै रंगको छालाको आवरण
अस्थिपन्जर स्वरुपमै यति बिघ्न खुलेकी
जब तिमीलाई देख्छु
सुन्दरताको परिभाषा फेरिएको पाउँछु
सुगन्धको पहिचान फेरिएको पाउँछु
बसन्तको परिचय फेरिएको पाउँछु

र पाउँछु
नजिकै लुभ्र म्युजियममा
मोनालिसा तिमीलाई नियाल्दै
ताजा मुस्कानमा अडिरहेको
बिशाल सिन नदि तिम्रो छायाँको काउकुतिमै
आफ्नो जवानी रिफ्रेस गरिरहेको
र संगै सजेलिजे चोकको भिक्टोरी गेटमा
नेपोलियन बोनापार्टको शालिक आत्मा
फेरी अर्को महान् बिजयको
महत्त्वाकांक्षा बुन्दै
आफ्नो स्मारकलाई
तिम्रो उचाई जत्तिकै अग्ल्याउने
अवसर खोजिरहेको

साक्षी किनारा बसेर प्रश्न जनाइरहेछन्
सौर्न्दर्य प्रतियोगी बनेर लाममबद्ध
पेरिसका घर,महल र धरोहरहरू
मूलसडक /चोकमा
हरित पुनर्जागरणमा उभिरहेका
हजारौं रुखहरू
क्लासिकल ब्युटीमा खुलेर चम्किरहेका
सडक बत्तीका खम्बाहरू
खुला फेसन परेडमा रमाइरहेका
फुर्तिला नवयौवनाहरू
आखिर कुन साम्राज्य ठूलो छ हँ?
नेपोलियन बोनापार्ट वा आइफेल टावरको

ओ! गगनचुम्बी गजुर
मेरो आँखाबाट
तिम्रो मीठो सम्झना नहटेसम्म
म पनि नापिरहेको हुनेछु
तिम्रो सम्मोहन साम्राज्यको क्षेत्रफल
(कौशिकीमा प्रकाशित)

Diyesh Ratna Shakya – Smart Khushi

दियेश रत्न शाक्य – स्मार्ट खुसी

हान्यो सेल्फी
छान्यो फोटो
सजायो फेसबुकको भित्तो
समाउँदै लाइक र कमेन्टको फित्तो
नाप्यो यो नयाँ जमानाको
स्मार्ट खुसीको मिटर

जरुर म यो बुझ्न
अलमलमा परेको छु
यो सामाजिक सन्जाल हो
वा साँघुरो सन्जाल
हिजोसम्म आफू जन्मी /हुर्की बढेको
कोशौ परसम्मको समाजलाई
आफ्नो ठान्ने मन
किन आज सधैंभरि
एउटा घरको केही फीटको
चौघेराभित्र
र एउटा मोबाइलको केही इन्चको
परिधिभित्र
आफ्नै खुसीले
कैद हुन बाध्य छ
संकुचित हुन बाध्य छ

के यो नयाँ जमाना
डिजिटल साथी
डिजिटल आफन्त
डिजिटल परिवार
जोडेर
स्मार्ट खुशी किन्नको लागि हो र?
(शारदामा प्रकाशित )

Diyesh Ratna Shakya – Venice Sanga Ko Bhet Ma

दियेश रत्न शाक्य – भेनिससंगको भेटमा

नागकन्या झैं
पानीमाथी लस्करै उभिएका घरहरू
र त्यसको मोहनीमा
तानिंदै कुदिरहेको म

कलकलाउँदो पानीमा
पुरानो बैंस पखालेर
जसै तिमीले
ताजा सौर्न्दर्य सजाउन सिक्यौ
मेरा आँखा यसै तिम्रो फ्यान भएको छ
यी नै एकजोडी आँखासँगै
पानी बाटो भएर
बग्दै बग्दै
म भेट्न आइरहेछु भेनिस
तिम्रो घर दैलोमा

ग्रान्ड क्यानलमा फिरन्ते उभिएर
म सोच्न थाल्छु
कतै नजिकको नाता छ यी घरहरूसंग
कतै सामीप्यता छ यी घरहरूसंग
कि यस्तै गल्लीको
यस्तै ईटा माटोको जीर्ण घरमा
हुर्किबढेको हुं म पनि
जहाँ मेरी आमा
भित्ताको ईटाको एक मुठ्ठी धुलोले
हरेक बिहान
भाँडा मस्काउँथे
दाँत टल्काउँथे

पानी -पानी जमेर
सेताम्य खुलेको हिमालको फेदीदेखि
पानी -पानी फैलिएर
सुन्दर खुलेको भेनिससम्म
आइपुगेको हुँ म पनि
यतिखेर
मेरोअञ्जुलीभरि
उहि हिमाली गुँरासको शीतल प्रेम छ
मेरो मनभरि
मितेरी साइनोको ब्यग्रता छ

जसै उभिन्छु तिम्रो मुलद्वारमा
आँखा तिरमिराउने बत्तीको प्रकाश
र भद्दा बिक्री प्रदर्शनले
मभित्र कता कता
एउटा संकोचको
एउटा बितृष्नाको
लक्ष्मण रेखा उभ्याउँछ
मेरो मन बारम्बार सोध्न चाहन्छ
भेनिस,के तिमी इतिहास हौ
वा बिक्रीको बिज्ञापन पात्र ?

र किन हो
तिमीप्रतिको अगाध माया
मनभरी सजाउँदै पनि
बिना सम्बोधन फर्कन हतारिन्छु म
शायद म खोज्न चाहिरहेछु
तिमीभित्र लुकेको
एउटा फरक इतिहास
एउटा कालखण्डबाट हराएको
आम नागरिकको दैनिकी
खुल्ला संग्रहालय स्वरूपमा
ता कि फर्केर म सुनाउन सकुँ
इतिहासको एउटा छेउदेखि अर्को छेउसम्म
सम्पदाको एउटा ढोकादेखि अर्को ढोकासम्म
मेरो अन्तर हृदय
चरम उत्कर्समा
पानी जस्तै सलल बगेको कथा

Diyesh Ratna Shakya – Hatkela Ma Maya Umarne Haru

दियेश रत्न शाक्य – हत्केलामा माया उमार्नेहरु

हत्केलाभरी माया जमाएर
उनी बैंककका सडकमा उभिन्छे
र बोलिरहन्छे
‘मसाज प्लिज’

हेर्दाहेर्दै बाँडिरहेकी हुन्छे
र खन्याइरहेकी हुन्छे
उनी यी सबै
आफ्ना क्रेता-पाहुनाहरूको
-पैतालाभरी
र दाग सोहोरेर लिन्छे
– पिँठ्यूभरी
र दुखाइ सोहोरेर लिन्छे
– जीउभरी
र मर्काइ सोहोरेर लिन्छे
एकचित्तले लागिरहेकी हुन्छे
जीवन- चङ्गाई बर्साउन
जहाँ मनका घाउहरू
आनन्द-उन्माद्ले पुरिरहन्छन्
मनका जलनहरू
शीतल सम्मोहनमा डुबिरहन्छन्

दिन ढलिरहेछ
साँझ छिप्पिरहेछ
उस्तै चलिरहेछ
उनका रुटिनभित्रका क्रम -उपक्रमहरू
कुनै सिम्फोनीबाट भर्खर सारेर ल्याएको जस्तो
सुरिलो आग्रह
एमराल्ड बुद्धको हरियो चम्किलो अनुहारबाट
उतारेर ल्याएको जस्तो
मन्द र शान्त मुस्कान
अनि आँखाभरी बैंश नचाएर
उनी बिज्ञापन पस्किराख्छे
सिलोम,सुखुम्भित र प्रटुनाम सडकहरू तताइराख्छे
र बजार जमाइराख्छे
जहाँ झुम्मिरहेका छन्
आकाश यात्राबाट/सीमाना यात्राबाट
थकित देखिएका यायावर पाहुनाहरू
ताजगी फर्काउने होडबाजीमा

म भन्न सक्दिन
यो उनको रहर हो या बाध्यता
बरु जरुर यति देख्न सक्छु
आफ्नो भागको टिप्ससंगै
आज पनि आफ्नो खुसीलाई बचाइराख्छे
जीवन प्रतिको मायालाई बचाइराख्छे
भोली बिहानसम्मको आराम छुट्टीमा
फेरी हत्केलाभरी
माया उमार्ने इच्छालाई जोगाइराख्छे
हो, टिप्ससंगै पोखिन्छन् उनको अनुहारभरी
खुशीका आँशुहरू
फेरी एकपटक यसले धुमिल सपनाहरू पुछ्छे
र सोचमग्न हुन्छे
कुन युगान्तरसम्ममा
उनका सपना पनि जीवन्त ब्युँझिन सक्छ?