Krishna Kattel – Hasna Khoji Raheko Sapana

कृष्ण कट्टेल – हाँस्न खोजिरहेको सपना

सपना जस्तै हैन यो सपना
जून मेरो जीवनले समाएको सपना
मध्ये सुनसानको मध्ये निन्द्रामा
नचाइदिएजस्तो,हसाँइदिएजस्तो
चढाइदिएजस्तो,अनि लडाइदिएजस्तो ।

मेरो सपना त
मेरी आमाको दुःख
मेरा ुबाु को पट्पटि फुटेको पैताला
मैले देखेका कथित ठूलाहरु बिरुद्धको हो ।
आजसम्म कहिल्यै रमाउन नजानेको मेरो सपना
क्षणिक रमाउने रहरले
कदापी, सपनाजस्तै सपना बन्ने छैन ।

आजसम्मको भोगाइले
संगतले र संस्कारले
मलाइ उपहार दिएको सपनामा
कहिल्यै हाँस्ने लेखिएको छैन
कहिल्यै मज्जा लिने लेखिएको छैन

मेरो सपनाले पिठ्युमा नानी
र, टाउकोमा भारी बोकेकी आमा देखेको छ
रहरलाइ दायित्वसँग बन्धकी राखेर
सडकपेटीमा आल्चा बेच्दै गरेका बा देखेको छ ।
बाटो ढाक्ने गरेर कलिला नानीहरुले
भेडाच्याङ्ग्रा खेदेको देखेको छ
भोको पेट र बेसहारा जीवन लिएर
भुँइमा लम्पसार परेको दुँधे बालक देखेको छ
त्यसैले यी सब् देखेर हाँस्न सक्दैन मेरो सपना
जसरी हाँसिरहेका छन्
हाम्रा देशका कथित बाठाहरु ।

हो,एकदिन मेरो सपना हाँस्नेछ
जून दिन् मेरो सपनाभन्दा पहिले
सारा दुखहरु भुलेर
यी दीनदुखीहरु हाँस्नेछन्
त्यहि दिनको खोजीमा छ मेरो सपना ।

ओखलढुङ्गा कटुञ्जे ५

– बिहीबार, 26 भाद्र, 2071

Sushila Khadka – Sundar Sapana Haru

सुशीला खड्का हसिना – सुन्दर सपनाहरू

मेरी आमाले
पैतलामा काँडा बिझाउँदै
भोको पेट कसेर
भालेको डाकसँगै
वनमा पुगेर ल्याएकी
डोकोभरिको घाम
हेरेर म खुसी हुन्थेँ,

मेरो बुबाले
झिसमिसे उज्यालोमा
आँखा
मिच्दै
चरचर चिरिएको हातले
गोबर पन्छाउँदै
गोठभरि छरेको जून
हेरेर म दङ्ग पर्थें,

एकातिर
मेरी आमा
निभेको चुलो बाल्न बस्थिन्
उद्देश्यका दीपहरू सल्काउँदै
डालीभरि चाहनाका ताराहरू बटुल्दै
हरेक साँझ जाँतोमा
सुख, दुःख पिस्थिन्
प्रत्येक बिहान पँधेरीमा
गाग्रीभरि आशा भर्थिन्
अर्कोतिर
हलोजुवा काँधमा बोकेर
हलगोरु खेद्दै ओरालो लाग्थे बुबा
बाँझो बारीसँगै जोतिन्थे
उहाँका अनगिन्ती इच्छाहरू
खेतका आलीसँगै लेप्सिन्थे
भोकमा सिस्नु र खोलेमै रमाउथे
जुन दिन समयले कोल्टे फे¥यो
झरेन आँगनीमा
कुनै नौलो बिहानी
उनिएन खुसीहरू
सम्झौताको डोरीमा
भरिएन सुख–शान्ति,

ममताको अँगालोमा
सधैँ–सधैँ
उस्तै दुःख उस्तै पीडा
झन्झन् थपिँदै जाँदै छ
उहाँहरूको जीवनमा
अझै अप्ठ्यारो
अझै अँध्यारो
अब कैयौँ
बाधा र व्यवधानका बाबजुद् पनि
लड्ने छु म नियतिसँग
कोर्ने छु भाग्यरेखा
सुकाउने छु, आँसुको तलाउ
बनाउने छु आफ्नै सुन्दर संसार
जहाँ प्रगाढ माया र स्नेहले
सुरक्षित जेलेर राख्ने छु
सुख, शान्ति र हर्षसँग
मेरी आमा र मेरो बुबाको
सुन्दर सपनाहरू
सजाउने छु क्षितिजको पानाभित्र ।

दोलखा, हाल ः काठमाडौँ ।

– बिहीबार, 19 भाद्र, 2071

Rajeshan Rai – Sapana

सपना

पोहोर सालको नयाँ बर्षमा
आमाले आफ्नो बुलाकि राखि
छोराछोरिलाइ लगाइ दिएको नँया लुगाको
रिण कसरि म तिरौ
त्यहि बुलाकिको ब्याज आमाले तिर्न नसक्दा
साहुले ढोका ढक ढक गर्दै बजाएको
ढोकाको आवाज कसरि म बिर्सौ
त्यहि साल बाबाको बिहेको अौठि राखि
दसैमा मिठ्ठो मसिनो खुवाएको
अन्नको तिरो कसरि म गरौ
अनि बाबाको रित्तिएकाे खालि गोजि
कसरि र कैले म भरौ

त्यहि त हो सपना मैले देखेको
त्यहि त हो सपना मैले देखेको
अामाको बुलाकि र
बाबाको औठि उकास्ने
अझै पनि कहिले काँहि ढक ढक
गर्दै बज्ने त्यो ढोका बनाउने
बाबा को रित्तो गोजिमा सारा
खुसि खन्याउने
अनि ढिडो र गुन्र्दुकको हरेक भेट त्यागि
धानको भातसंग परिचय गराउने

त्यैसैले हाक्किए म परदेश तिर
कसैको करले होइन
कसैको डरले होइन
मात्र आफ्नो सानो सपना पुरा गर्न

हाक्किए म परदेश तिर

Ajay Garvi Gole – Sapana Haru Ko Mandi

सपनाहरुको मन्डी

सानै छँदा निमोनियाले थलिएर अस्पताल पुगी
पहिलो चोटी डाक्टरसाबलाई देख्दा
लाग्यो मलाई म पनि डाक्टर बन्छु

त्यस्को अर्को महिना बुवाको लाहुरबाट आएको तस्बिरमा
कम्मरमा गोर्खाली खुकुरी र हातमा बन्दुक देख्दा
लाग्यो मलाई म पनि लाहुरे बन्छु
एस एल सी पास भएर पहिलोचोटी काठमाडौँ आँउदा
नौबिसे नागढुंगाको नागबेली सडक देख्दा
लाग्यो मलाई म पनि सिभिल इन्जिनियर बन्छु

डा. बाबुराम भट्टराईले कोरेको नक्साबाट राष्ट्रिय वाणीज्य बैंक बनेको देख्दा
लाग्यो मलाई म पनि आर्किटेक्ट बन्छु

साझा प्रकाशनको पुस्तक प्रदर्शनीमा किनेको भूपी शेरचनको
“घुम्ने मेच माथि अन्धो मान्छे” पढ्दा
लाग्यो मलाई म पनि कवि बन्छु

नेपाल आर्ट ग्यालरीमा किरण मानन्धरको
चित्रकला प्रदर्सनी अवलोकन गर्दा
लाग्यो मलाई म पनि चित्रकार बन्छु

रेडियो सगरमाथामा
फत्तेमान र नारायण गोपालको गीत सुन्दा
लाग्यो मलाई म पनि गायक बन्छु

त्यसैले,
डाक्टर बन्न थुप्रै भ्यागुताहरु चिरें
इन्जिनियर बन्न पट्ट्यारलाग्दो गणितमा रमाउन खोजें
कवि बन्न चुरोट खान सिकें
लाहुरे बन्न बिहानै काँचो चना खाएर दौडें
चित्रकार बन्न धेरै कुची र रंगहरु खेर फालें
गायक बन्न रक्सि लाग्यो कि घोक्रो सुकाएर गाउन थालें

तर
न त मैले डाक्टर बनेर कसैको जीन्दगीसंग जुवा खेल्न सकें
न त इन्जिनियर बनेर कहीं कतै गोरेटो बनाउन सकें
न त आर्किटेक्ट बनेर कसैको झुपडीको नक्सा कोर्न सकें
न त लाहुरे बनेर “अच्छा लेकिन” भन्दै कान्छीको भट्टीमा पस्न सकें
न चित्रकार नै बनेर कसैको नाङ्गो तस्विर बनाउन सकें
न गायक नै बनेर उपचार नपाई असमयमै मर्न सकें
न कवि बनेर चुरोट किन्न पैसा नहुँदा कविता नै बेच्न सकें

सकें त केवल
अरुको घाउको बेवास्ता गर्दै
त्यही पुरानो गोरेटोमा हिंड्दै
भूपीको कविता सम्झंदै
कान्छीको भट्टीमा पसेर
कान्छीको नग्न चित्र दिमागको क्यानभासमा कोर्दै
नारायण दाईको सेन्टिमेन्टल गीत सुन्दै
ग्याम्पे भन्दै एकै सांसमा
रक्सी घुट्याउन सकें

म केवल असफल सपना
र महत्वाकांछ्याहरुको दास हुन सकें

अझै पनि लाग्छ मलाई मेरो सपना पुरा हुन्छ
तर थाहा छैन के हो मेरो सपना?

रातभर सपना मात्र देख्दा धेरै सपनाहरु बिर्सिएझैँ
मलाई पनि मेरा धेरै सपनाहरु बिर्सिएझैँ लाग्छन

धमिला लाग्छन मलाई मेरा सबै सपनाहरु
मरुभूमिमा तिर्खाएको यात्रीले देखेको “मिराज” जस्तै
प्यास बुझाउने लालसामा जति नजिक गयो
पानीको ताल उति टाढा भागे जस्तै

धमिलो पानीमा माछा पक्डन खोजे जस्तै
कहिले भ्यागुता त कहिले घोकि पर्छन मेरा हातमा
बरु सर्पनै जेलिए हुन्थ्यो जस्तो लाग्छ
कमसेकम उसको डसाइबाट म बिउंझने त थिएँ
सपनाबाट बिपनामा

अहिले त म “इन्सेपसन्” चलचित्रमा सपनाहरु बिच
हराइरहेको लियोनार्दो झैं अनुभव गरिरहेछु
सपना र विपना छुट्याउन नसक्दा
म पनि हराईरहेछु यो सपनाहरुको मन्डीमा

यो सपनाहरुको मन्डीमा

Veeru Vohra – Mahamari Ladai ra Sapana Haru

महामारी लड़ाईं र सपनाहरु

समय जंजीरले बाँधेर बन्द कोठामा थुनिएको छ
गोलो सिसाको बन्द बाकसभित्र
किलामा थुनिएका घडीका सुईहरु झैं,
मान्छे मन्द महामारीको त्रासमा रुमिएको छ
युद्धका घुवॉको छायामा रुमिएका
बालबालिका र बुढाबुढीहरु झैं ।

समयकै सांग्लोमा ऊसंगै बाँधिएर
बन्द कोठाका झ्यालहरुबाट
चियाउँदै, ति ज्यान हत्केलामा राखेर
लड्न महामारीसंग
डिउटीमा खटिएका सुरक्षाकर्मीहरु,
चिकित्सक, स्वयंसेवकहरु, संचारकर्मीहरु
जो महान छन्, आफैमा महान ।

महामारी भुसको मन्द आगोझैं
फैलिरहेछ चारैतिर
उसको देशबाट तिम्रो देश
तिम्रो देशबाट मेरो देश
उसको देशभरी
तिम्रो देशभरी
र मेरो देशभरी
हामी सबैको देश सबैको साझा देश, संसारभरी ।

टेलीभिजनको पर्दामा देखाईएका
पुर्दै गरेका लाशहरुका ढेरहरु
रेडीयोको तरंगबाट सुनाईएका
बढ्दै गरेका मृतकका गणनाहरु
देखेर, सुनेर
आत्तिन्छन् मनहरु
निसासिम्छन् हौंसलाहरु ।

तर हार्ने छैनो
डटी लड्ने छौं एकजुट भएर
यो रोगका बिरुद्ध
यो महामारीका बिरुद्ध
यो धर्तीको माटोमा हाम्रो स्वामित्वका निम्ति
यो मानवजातिको अस्तित्वका निम्ति
र एक दिन अवश्य परास्त गर्नेछौं ।

अनि हिंड्नेछौं, बिन्दास हाम्रा बाटाहरुमा
गुड्नेछौं, निर्वाध हाम्रा सडकहरुमा
र उड्नेछौं, निस्फिक्र हाम्रा हवाईमार्गहरुमा
जो भर्नुछ लाखौं सपना बोकेका
करोडौं ज़िन्दगीहरुले
हजारौं मिलको उडान ।

Baidhyanath Upadhyaya – Sapana Ko Rukh

वैद्यनाथ उपाध्याय – सपना को रूख

मेरा गाँउका मान्छेले
सपना को बीउ रोपेका छन।
सपना बढन थाले
अनि गाँवको सादगीबाट
वाक्क भए
सपना को आफ्नै बडप्पनमा
जीउने आदत छ।
त्यसैले उनिहरूलाई
निद्रामा हिंडने लत बसेको छ।
सपना को आडमा अब
मान्छेहरू शहरको चकाचौंधमा
जीवनका पलहरू खोजी रहेछन।
उनिहरूलाई थाह छैन
सपना न कहिल्यै आफ्नो हुन्छ
न त वास्तव नै।
फूटेका सपना का टूक्राहरू
बिझ्दछन पैतालाहरूमा
गाँउमा छूटेका
बाउ-बराज्यूहरूको !

Dhruva Thapa – Euta Jhino Sapana

ध्रुव थापा – एउटा झिनो सपना
(क्यालिफोर्निया अमेरिका)

शुन्यताको धरातलबाट उक्ल
दैजिवनका हरेक जोड घटाउमा
आफुलाई बराबर राख्दै अघि
बडिरहेको छ एउटा झिनो सपना ।

कहिले एक मा एक घटाउदै
कहिले सात मा सातले Continue reading “Dhruva Thapa – Euta Jhino Sapana”