Ajay Garvi Gole – Sapana Haru Ko Mandi

सपनाहरुको मन्डी

सानै छँदा निमोनियाले थलिएर अस्पताल पुगी
पहिलो चोटी डाक्टरसाबलाई देख्दा
लाग्यो मलाई म पनि डाक्टर बन्छु

त्यस्को अर्को महिना बुवाको लाहुरबाट आएको तस्बिरमा
कम्मरमा गोर्खाली खुकुरी र हातमा बन्दुक देख्दा
लाग्यो मलाई म पनि लाहुरे बन्छु
एस एल सी पास भएर पहिलोचोटी काठमाडौँ आँउदा
नौबिसे नागढुंगाको नागबेली सडक देख्दा
लाग्यो मलाई म पनि सिभिल इन्जिनियर बन्छु

डा. बाबुराम भट्टराईले कोरेको नक्साबाट राष्ट्रिय वाणीज्य बैंक बनेको देख्दा
लाग्यो मलाई म पनि आर्किटेक्ट बन्छु

साझा प्रकाशनको पुस्तक प्रदर्शनीमा किनेको भूपी शेरचनको
“घुम्ने मेच माथि अन्धो मान्छे” पढ्दा
लाग्यो मलाई म पनि कवि बन्छु

नेपाल आर्ट ग्यालरीमा किरण मानन्धरको
चित्रकला प्रदर्सनी अवलोकन गर्दा
लाग्यो मलाई म पनि चित्रकार बन्छु

रेडियो सगरमाथामा
फत्तेमान र नारायण गोपालको गीत सुन्दा
लाग्यो मलाई म पनि गायक बन्छु

त्यसैले,
डाक्टर बन्न थुप्रै भ्यागुताहरु चिरें
इन्जिनियर बन्न पट्ट्यारलाग्दो गणितमा रमाउन खोजें
कवि बन्न चुरोट खान सिकें
लाहुरे बन्न बिहानै काँचो चना खाएर दौडें
चित्रकार बन्न धेरै कुची र रंगहरु खेर फालें
गायक बन्न रक्सि लाग्यो कि घोक्रो सुकाएर गाउन थालें

तर
न त मैले डाक्टर बनेर कसैको जीन्दगीसंग जुवा खेल्न सकें
न त इन्जिनियर बनेर कहीं कतै गोरेटो बनाउन सकें
न त आर्किटेक्ट बनेर कसैको झुपडीको नक्सा कोर्न सकें
न त लाहुरे बनेर “अच्छा लेकिन” भन्दै कान्छीको भट्टीमा पस्न सकें
न चित्रकार नै बनेर कसैको नाङ्गो तस्विर बनाउन सकें
न गायक नै बनेर उपचार नपाई असमयमै मर्न सकें
न कवि बनेर चुरोट किन्न पैसा नहुँदा कविता नै बेच्न सकें

सकें त केवल
अरुको घाउको बेवास्ता गर्दै
त्यही पुरानो गोरेटोमा हिंड्दै
भूपीको कविता सम्झंदै
कान्छीको भट्टीमा पसेर
कान्छीको नग्न चित्र दिमागको क्यानभासमा कोर्दै
नारायण दाईको सेन्टिमेन्टल गीत सुन्दै
ग्याम्पे भन्दै एकै सांसमा
रक्सी घुट्याउन सकें

म केवल असफल सपना
र महत्वाकांछ्याहरुको दास हुन सकें

अझै पनि लाग्छ मलाई मेरो सपना पुरा हुन्छ
तर थाहा छैन के हो मेरो सपना?

रातभर सपना मात्र देख्दा धेरै सपनाहरु बिर्सिएझैँ
मलाई पनि मेरा धेरै सपनाहरु बिर्सिएझैँ लाग्छन

धमिला लाग्छन मलाई मेरा सबै सपनाहरु
मरुभूमिमा तिर्खाएको यात्रीले देखेको “मिराज” जस्तै
प्यास बुझाउने लालसामा जति नजिक गयो
पानीको ताल उति टाढा भागे जस्तै

धमिलो पानीमा माछा पक्डन खोजे जस्तै
कहिले भ्यागुता त कहिले घोकि पर्छन मेरा हातमा
बरु सर्पनै जेलिए हुन्थ्यो जस्तो लाग्छ
कमसेकम उसको डसाइबाट म बिउंझने त थिएँ
सपनाबाट बिपनामा

अहिले त म “इन्सेपसन्” चलचित्रमा सपनाहरु बिच
हराइरहेको लियोनार्दो झैं अनुभव गरिरहेछु
सपना र विपना छुट्याउन नसक्दा
म पनि हराईरहेछु यो सपनाहरुको मन्डीमा

यो सपनाहरुको मन्डीमा