Rabindra Mishra – Mrityu Paschat

रवीन्द्र मिश्र – मृत्यु पश्चात्

मलाई थाहा छ
तिमी
हलुकासँग मेरो अस्तु बगाएर लाने
नदी जस्तै रूने छौ
कैयौं दिनसम्म
तिमी मेरो शून्यतातर्फको यात्रामा
शोकाकुल हुनेछौ
परम्पराले तिम्रा रंगहरू धुजा, धुजा
र सौन्दर्य टुक्रा, टुक्रा पार्नेछ
तर प्रिये
यदि तिमीले
तिम्रो सदाबाहार रंग र मुस्कानका साथ
विधातालाई स्वीकारिदियौ
र एउटा गुमेको जीवनको ठाउँमा
रक्ताम्य पहाडका अंध्यारा झुपडीमा
निसाहाय बाँचिरहेको
कुनै आर्को जीवनमा खुशी भरिदियौ भने
मेरो आत्माले चिर शान्ति पाउने छ ।

– रवीन्द्र मिश्र, २८ पुस २०६२

Bhimnidhi Tiwari – Daag Batti

भीमनिधि तिवारी – दागबत्ती !!!

म सात वर्षको थिएँ, अबोध बालकै थिएँ,
कुनै कुरा थिएन थाह, मस्त नींदमा थिएँ,
मलाइ घच्घच्याउंदै, उठाउँदै, ‘ल हिंड्, भने
अघोर मध्य रातमा धुरु धुरु रुँदै गएँ
(१)
यता लगे, उता लगे, कता कता कता लगे,
जता तता छ अन्धकार, अन्धकारमा लगे,
रुवाउँदै, फकाउदै, फुल्याउँदै लगे लगे
खुरुक्क आर्यघाटको महामसानमा लगे !
(२ )
चिता थियो, प्रशस्त दाउरा बिछान झै थियो,
उ माथि एक लम्ब लाश लम्पसारमा थियो,
सफेद वस्त्र ओढनी, सिरान केशको थियो,
(त्यही पवित्र मूर्तिमा अनन्त कामना थियो )
(३ )
जसै पर्यो मसानको अदृष्य दृष्य दृष्टिमा
हवास होश क्यै रती रहेन अन्तयमा ममा
नसाहरु लुला भए, समस्त चेतना सुते,
सुषुप्त पूर्वजन्मका अनेक वेदना उठे
(४)
पहाडबाट रत्न झैं गर्भबाट निस्किएँ,
पिएर दूध तीन चार वर्षसम्म हुर्किएँ,
उही शरीरलाइ हाथ ! मै जलाउने भएँ ?
म खुम्चिएँ ! म आत्तिए ! म झस्किएँ ! म तर्सिएँ !
(५ )
सबै जना बडा थिए, म सूक्ष्म कीट झैं थिएँ
न बोल्न सक्दथें त्यहाँ न जोड चल्दथ्यो तयहाँ
बनाइ नग्न, मुण्ड औ दिए प्रदीप हातमा
त्यही लिएर घाटमा चिता वरीपरी घुमें
(६ )
बति सिर्सिराउँथ्यो, म चाहिं लुग्लुगाउँथें,
त्यहीं नजीक बाग्मती बहेर कुल्कुलाउँथिन्,
सुदूर फाँटमा बथान स्यालकमा कराउँथे,
खगोलमा अनेक तारकादि जग्मगाउँथे
(७ )
मसान-घाटमा यताउती जती जना थिए
कुनै त सुँक्क गदथे, कुनै त घुँक्क गदथे,
कुनै भने कठोर दैवलाइ नै सराप्दथे
सबै जना म माथि नै सहानुभूति गर्दथे
(८)
(जसै म शान्त चित्तले द्विन्त्र बन्द गर्दछु
समग्र दृष्य ती अगाडि फन्न फन्न घुम्दछन् )
म को थिएँ ! कहाँ थिएँ ! कठै !! अचेत झैं भए
तथापि दागदीप त्यो स्वयं दिनै पर्योब दिएँ !!!
( ९)
असार मासको कुवा, तलाउ झैं टमाटम
भरिन्छ मातृ-मोहको समुद्रले जसै मन
नयाँ नयाँ अनेक चिन्तना, विषाद आउँछन्
कवित्वबाट शीघ्र नै जडत्वमा पुर्याेउँछन्
(१० )
अनिष्ट सामना गरी अपत्यलाइ ओथरी
कठैबरी ! उ गौंथली चरी अकालमै मरी !!
कुनै दिनान्त-पान्थ चक्रपातमा पर सरि
निसासिएर, आत्तिएर रुन्छ बाल बेसरी
(११)
प्रवाह रक्तको उही र मांस, धर्म जो उही
अवाज, रुप यी उही र भावना सबै उही
अहो !! म ता सवाक नवीन चित्र ता छंदैछु नि
यही विचार अन्त्यमा मलाइ दिन्छ सान्तवना
(१२ )

(कविता-‘नन्द’ बाट )

(स्रोत : पं. बदरीनाथद्वारा सम्पादित पुस्तक “पद्य-सङ्ग्रह” बाट सभार)

Pramod Sarang – Kabita Ko Mrityu

प्रमोद सारंग – कविताको मृत्यु

कविता भोको हुन​ स​क्छ
त​र​ कविताको मृत्यु हुँदैन !

कविता स​ड​क, ग​ल्लीह​रूमा देश​भ​रि चाहारेर
आन्दोल​न​को भीड​बाट ह​राएको हुन​ स​क्छ
देश​को अनुहार​ हेर्न फ​न्को मार्ने
युद्द​को सार​थि भ​एको प​नि हुन​ स​क्छ
घाम हुन​ स​क्छ​ , पानी हुन स​क्छ ।

एकदिन​ कविताको त्याग​पुञ्ज​मा रूम​ल्लिएर​
फिस्स​ म​र्न स​क्छ कवि
त​र​ कविता म​र्दैन/ म​र्न स​क्दैन

कवि म​रेर​ जान्छ
तर कविता बाँचिर​ह​न्छ युगौँयुग ।


ㅁ (२०७६, जेठ )

Indira Gautam – Mrityu

इन्दिरा गौतम – मृत्यु

मलाई कोपर्न खोज्छ
लुछ्न खोज्छ
चिथोर्न खोज्छ
एउटा सिङ्गो समयले।
व्यस्तताको भीडमा
तछाड मछाड गर्दै
हतारिएको समयले,
खातामा लेखिएका
एक एक पल समाधितर्फ
लम्किरहेको छ।

भोलिको दिनमा
न म हुन्छु
न मेरो रहर
केवल अलपत्र परेको बिहानीसँग
मेरा पुराना यादहरु
ताजा हुने छन्।

एक चुट्की वायुमा अडिएको प्राण
अहिले हो या भरे?
अब त सत्य र स्वास्वत मृत्युलाई
स्विकार्न तयार छु
जीवनको अन्तिम विश्रामस्थल
समाधिमा ओच्छ्याएका फूलहरु
मेरो पर्खाइमा ताजै छन्।

ओदालगढी, असम

Keshav Baniya – Charo Ra Mero Kaal

म अब केहि शुरु गर्न चाहन्न,
मै हिडी आएको, त्यो बाटो पनि बिर्सन
चाहन्छु,
मेरो अगाडी चारो उडिरहेको छ,
म आकाशमा उसको बाटो कोरिरहेको छु,
बस्, यहीं अडियोस,
यहि परेवाको असिमित बाटो रहोस र,
अनि, मेरो असिमित कालखण्ड,
यहि बनोस मेरो जीवनको एकमात्र,
सफलता,
सोच्न केहि नपरोस,
सोचूं त् मात्र केवल त्यहि चारो निमित्त,
दुनियाँलाई एक निमेष पनि हेर्नै नपरोस्,
दुनियाँको पैंचो सास समेत फेर्नै नपरोस्,
म सर्जक बनु,
चारो प्वाँख फडफडाओस्,
मा हेरिरहुँ,
मलाई हेरे जस्तै,
दयरिक्त, लाल आँखा नपल्टाई,
माथि बाट,
बाटो कोर्ने,
मेरो सर्जकले,
सोच्दैमा,
ड़वांग आवाज निस्कियो,
कान सुन्नै भयो,
चरो घुमिरहेछ,
अलि तिव्र,
गुरुत्वानुकुल,
फर्की हेरेको,
अर्को सर्जाम युक्त सर्जक रहेछ,
तर बाटो मेट्ने,
वर्तमान मेट्ने,
आखिर चरोले जमिन भेट्छ,
पछ्याउदै उस्को कालो प्वाँख ,
मैले वर्तमान भेटे जस्तै,
म हुन्छु चंख स्वप्न गगनबाट,
अनि पछ्याउदै मेरो काल।

Bhairab Aryal – Mero Kukur Swarge Bho

भैरव अर्याल – मेरो कुकुर स्वर्गे भयो !

घुक्ने काम उसको अखवारले खोसे
ढुक्ने काममा शिक्षित बेकार कसिए
झै-झगडाको दायित्व साहित्यकारले टिपे
पुच्छर हल्लाउनेमा प्रशासक खटिए
अब ऊ आफ्ना सबै कार्यभारबाट मुक्त भयो
मेरो कुकुर स्वर्गे भयो !

अब मूसाहरुले चारकोसे झाडीमा डढेलो लाउन्
या बिरालाले त्यसकमा सिंहदरबार सेकाउन्
मेरो कुकुरले घ्यार्र घुर्नेसम्म छैन
अब बुद्धको आँखा उडाएर गिद्धहरुले समुद्र तारुन्
या सयौं बाज मिलेर एउटा परेवा मारुन्
मेरो कुकुरले चियो गर्ने छैन
ऊ त ठाडै भीमसेन थापाको सती गयो
मेरो कुकुर स्वर्गे भयो !

आऊ अब शोक सभा गरौं
शोक प्रस्ताव यहाँ रेडिमेड छ
दिवंगत कुकुरको स्मारक बनाउन
एक लाख डलरको इस्टमेट छ
मामा भानिज हो ! लौ अब एउटा टेण्डर देओ
स्मारक कालिमाटीको भए पनि हुन्छ
तर माटो किन्न हङकङ जानै पर्छ
यो निर्माण कार्यमा सम्बन्धितहरुले
अलि-अलि पर्साद खानै पर्छ
जाने त गयो गै गयो
मेरो कुकुर स्वर्गे भयो !

कि ए वीर नेपाली हो आओ अब
यो मृत कुकुरको जुँघा उखेलौं
हामी सबका बिरामहरु लुकाउन
यो मूर्दाको टाउको फोरौं
साँच्चै भनेको मैंले, नपत्याए सी.आइ.डी. ज्यूलाई सोध्नोस्
बडा हाकिमले घूस ज्यूनार हुँदा
यसले रिकावी टोकेको थियो
उपहाकिमले जङ्गबहादुरको घोडा मोलाउँदा
यसले रित्तो बोतल बोकेको थियो
त्यति मात्र कहाँ हो र ?
भलाद्मीले भद्रतापूर्वक चोर्न लागेको बेला
यो असभ्य गँवारले ख्वाङ् ख्वाङ् खोकेको थियो
अझ भनूँ भने पाण्डवहरु बैकुण्ठ जाँदा
यही कुकुरको जिजु बाजेले द्रौपदीको पिछा गरेको थियो
रुसले रकेट उडाएको बेला
यसको मामाले अन्तरिक्षको भित्तो फोरेको थियो
भन्नोस् अब जे भने पनि ऊ नसुन्ने भयो
मेरो कुकुर स्वर्गे भयो !

भीमसेन स्तम्भ मुनि गुँडुल्किएर
स्वामीभक्तिको साधना गर्ने यो कुत्तो
भीम मल्लको चिहान खोस्रर
बफादारीको विगुत लगाउने यो खिच्चो
साँच्चै मूर्ख थियो महामूर्ख
त्यसैले त पुण्यात्माहरुको शिकार भयो
उद्धार समितिको कारले किचेर
मेरो कुकुर स्वर्गे भयो !

Bikalpa Shrestha – Mrityu Danda

मृत्युदण्ड

“तेरो अन्तिम इच्छा के छ भन ?
अब को एक घण्टामा तँ फाँसी लाग्दै छस”

म मन्द मुस्कान अनुहारमा राखेर जेलर तिर हेर्छु
र मुस्कुराउदै भन्छु ” केही छैन ”
नाक खुम्च्याउदै जेलर जान्छ

एक घण्टा
मैले जिन्दगिको एक चौथाइ उमेर सम्म
साचेँर राखेको सपना पुरा गर्ने मलाइ समय मिलेको छ
एक घण्टा

म कसरी भनुँ जेलरलाइ कि
म पर्देश आउने बेला मेरि आमालाइ
रातो सारि ल्याइदिन्छु है भन्या थिए

कसरी भनु कि
अन्तिम भेटमा बाबाको पुरानो ढाका हेर्दै
भन्या थिए बाबा तपाइलाइ
एउटा नया ढाका ल्याइदिन्छु है

म कसरि भनुँ कि मेरि बहिनिले
भन्या थिइ कि दादा आउने बेला
एउटा ल्यापटप ल्याइदे है

म बुझ्न सक्छु , यो मेरि बहिनिको स्वार्थिपन थिएन
यो त उस्को आश थ्यो ओ
म फर्केर आवोस , आराम कुशल
चाहे हातमा ल्यापटप होस या नहोस

म कसरी भनुँ कि म त एउटा गरिब केटो
म त आफ्नो,आफ्नो आमाबाबाको
सपना पुरा गर्ने सपना देखेर
यो सपनाको सहरमा आएको हुँ

जिन्दगिको एक चौथाइ उमेर सम्म मैले
मेरो सपनाको समुन्द्र बाट एक थोपा रहरहरु जिएको छैन
अनि एक घण्टामा म अन्तिम इच्छा कसरी पूरा गरुँ

म कसरी भनुँ म बिदेश आउन अघि
मेरि आमाको एक मात्र सम्पती
उन्को सुनको मङ्गल्सुत्र धरौटिमा राखेकी छिन
त्यो सुन उकास्नु छ
म कसरी सम्झाउ कि
मेरो बाबाले आफ्नो कपाल
सेतै फुलुन्जेल सम्म कमाएको पैसा
मेरो जिन्दगिमा लगानी गर्नु भएको छ
म स्वदेश फर्किएर बाबाको कपालमा
खुशिका रहर लाग्दा रङ्गहरु भर्नु छ

मलाइ मेरो आमाबाबा सङ्ग
गाउँकै मेलापातमा रमाउन जानू छ
अनि म सङ्ग समय छ एक घण्टा

ल हुन्छ जेलर सहाब
मेरो एउटा चाहना छ पूरा गरिदिनुस
मेरो देश गएर त्यहाका युवाहरुलाइ भनिदिनुस कि
पर्देश दलदल हो
जहाँ फसे पछि निस्कना गाह्रो हुन्छ
बरु गाउँकै मेलापातमा रमाउ
मेरो देश गएर भनिदिनोस कि पर्देश यस्तो ठाउँ हो
जहाँ आफुले नपिएको बिषले पनि असर गर्दो रहेछ

बिन्ती छ तपाइलाइ मलाइ यो दलदल बाट निकाल्नोस
मेरि आमा छोराले नया सारी ल्याइदिन्छ भनेर
पुराना सारिहरुले सागबारी बारिन रे
मेरो बाबाले छोराले ढाका टोपी ल्याइदिन्छ भनेर
पुरानो टोपी बाक्सामा थन्काए रे
मेरो बहिनिले दादाले ल्यापटप ल्याइदिन्छ भनेर
साथिहरु माझ फुर्ती लाउन थालिसकी रे
अनि म यहाँ आफुले पिउदै नपिएको बिषले पल पल मरिरहेछु

जेलर सहाब अनि तपाईं
अनि तपाईं मलाइ एक घण्टाको समय दिनु हुन्छ
मेरो अन्तिम रहर पूरा गर्न, मेरो अन्तिम इच्छा जिउन

मेरि आमालाइ गएर भनिदिनुस कि
बच्चामा सुसुले तिम्रो पछ्यौरी भिजाउने छोरोले
बुढेसकालमा तिम्रो आँखा बाट खुशिका आंशुहरु झार्न सकेन

गएर भनिदिनुस मेरो बुवालाइ कि जब मेरो मृत्युको खबरले
मम्मिले देख्नुहुन्छ कि भनेर लुकि लुकि रुनुहुनेछ
तब यो छोरो चाहेर पनि आँसु पुछ्न सक्ने छैन

मेरो बहिनिलाइ गएर भनिदिनुको
तिहारको तिर्सना मेटाउन अर्को कर्म दाजु बनाउनु
अब यो दाजु तिहारमा सप्तरङ्गी टीका लगाउन आउने छैन

गएर भनिदिनुस मेरो देशको व्यपारिहरुलाइ
अब नया व्यपार सुरु गर्नु , पर्देशिको आँसु
लगानी चाहिन्दैन , फालाफाल छ
अनि नारा राख्नुहोला
“पर्देशिको आँशु बिक्रीमा एक्दम सस्तो ,
आउनुस मिलाएर लानुस ”

गएर भनिदिनुस मेरो देशका ६०१ इमान्दारहरुलाइ कि
अब जमिन बेच्यौ
खोला बेच्यौ
जङ्गल बेच्यौ
देश नि बेच्छौ कुनै दिन
तर अहिलेको लागि चाहिँ
पर्देशिको लास बेच
अनि भन्नुस ” आउनुस किन्नुस दुनियाको सबै भन्दा सस्तो लाश ”
पर्देशिको लाश , नेपालिको लाश

तर शरकारलाइ त के प्रस्ताव राख्नु र
फुर्सद कहाँ छ र आफू बिरुद्ध उठेका
आवाज गित र लोकभाकाहरुलाइ दबाउदा दबाउदा
लुट्न सके लुट कान्छ लुटन सके लुट
अरु देशमा पाइन्दैन नेपालमै हो छुट

हैन जेलर सहाब म त कहाँ पो पुगेछु
यो तपाइको बसको कुरा कहाँ हो र
बरु
ल ठिक छ मेरो अन्तिम
एउटा इच्छा पूरा गरिदिनोस
मलाइ मेरो देशको
सगरमाथाको चुचुरोमा गएर सबैले सुन्ने गरि
चिच्याइ चिच्याइ भन्ने मन छ
म निर्दोश हो , म निर्दोश हो
मलाइ बाच्न देउ
म निर्दोश हो

सक्नु हुन्छ , सायद सक्नु पर्ने त तपाइको एक घण्टाले

बरु महोदय मलाइ मेरो अन्तिम इच्छा नसोधिएको भए हुन्थ्यो
कमसे कम यादहरुले मुटि कब्जा गर्ने थिएनन
पीडा हुने थिएन
म दुख्ने थिइन
अनि म हासी हासी फाँसी चढ्न सक्थे
अनि म हासी हासी फाँसी स्विकार गर्थे

अनि देश तिम्लाइ अन्तिम सन्देश
अब देखि पर्देश छिर्ने हरेक नेपालिको
पुत्ला बनाएर जलाइदिनु
के गर्नु र पर्देशिको त न त बुढेस्कालमा
आमा बाबा हेर्ला परिवार स्याहार्ला भन्ने आश हुदो रहेछ
न त मरे पछि सजिलै लास भेटिन्दो रहेछ

Bipin Singhal – Marera Gayesi

बिपिन सिंघल – मरेर गएसी

जब म रहदिन्न यो देह पनि रहन्न
तिमिलाइ न्यालिरहने आँखा पनि रहन्न ।।

जब मेरो देह सगै ,
तिमिसग को पिरती बोकेको हृदय
तिम्रो वास ,भएको मेरो मन,
तिमिसगको याद बोकेको मेरो मन ,
पनि ति आगो मा मलामी भै जलेसी
म भित्र को “म” पनि रहन्न ,
सधै सधै को लागि मरेर गएसी म ।।

घुइँचोमा एक्लै हुदा तिमी,
ति तिम्रा दुखको आँसु पिउन सक्दिन्न
जब शीर्षस्थ हुन्छौ तिमी ,
तिम्रो हरफहरूको गित भइ बगन सक्दिन्न
फर्की आइ फेरि तिम्रो साथ दिन सक्दीन्न
मरेसि एकपल्ट ,फेरि तिम्रो हुन सक्दिन्न ।।

म बर्सिदिउला पानी भइ
म चमकी दिउला जुन भइ
म मुस्काइ दिउला बादल भइ
म हराइ जाउला प्रकृति भइ
म नष्ट भै जाउला तिम्रो माया भइ ।।

न रुनु तिमी ,मरेर गएसी म ,
न फुटनु तिमी ,खरानी भएसी म
बस ! सजाइराखनु मलाई आफ्नो मुटुमा
साचीराख्नु मलाइ आफ्नु जिन्दगीको धुनमा ,
किनभने ,
फेरि बगि आउदिन्न तिम्रो दुनियाँमा ,
मृत्यु को नदि मा बगेर गएसि म ।।

Binaya Kumar Sharma Nepal – Mrityu Bodh

विनयकुमार शर्मा नेपाल – मृत्यु बोध !

प्रिय
अब म एकदम ठीक छु
झरेको फूलभन्दा पनि हलुका भएको छु
रुवाको त्यान्द्रोभन्दा पनि हलुका भएको छु
तिमी किन त्यसरी रोयौ ?
धत्
मन कति दुखेको होला
चोट कति गढेको होला
तिमीले देखेनौ र ?
हावाको त्यो झोँका
जुन तिम्रो बिलौनाले टुक्रा टुक्रा हुँदै थिए
जुन तिम्रो प्रलापले
कण कण बन्दै थिए
म त कण कण देख्छु
कण कणमा पस्छु ।
प्रिय अब त मौनरहु
मलाई माया गर्ने हे मनहरू
अब त चुप लाग
तिमी आफ्नो रुवाइलाई बुध्दत्वमा बदल
तिमी आफ्नो शक्तिलाई बौध्दिकतामा बदल
तिमी आफ्नो ऊर्जालाई कवित्वमा बदल
म अहिले एकदम ठीक छु
म अहिले विलकुल निष्फिक्री छु
यत्ति बेला एउटा शान्त पुनर्निर्माणको ध्यानमा छु
र यस बेला मलाई कुनै कुरोले घोच्दैन
कुनै सीयोले चुभ्दैन
शत्रु जम्जमाएर जुनसुकै हतियार बोकेर आए पनि
शत्रु फडफडाएर जुनसुकै कुरोको तीखो बाण लिएर आए पनि
उसको घमण्ड
उसको अहङ्कार
धुवाँजस्तै उड्ने छन्
किनकि अब म त्यस्तो छैन
अब म लौकिक छैन
आकासजस्तै पारदर्शी बनिसकेको छु
पानीजस्तै पातलिइसकेको छु
प्रिय यदि मेरो हात हावाको हुन्थ्यो भने
प्रिय यदि मेरो हात वायुजस्तो हुन्थ्यो भने
तिम्रो आँसु अवश्य पुछ्थे
तिम्रो आँखामा चुम्मा खाएर
आँखाको छेद अवश्य बन्द गर्थे
प्रिय तर म धुलो भैसकेँ
हावाको झोँकाभन्दा पातलो भैसकेँ
ऐनाले समेत मेरो रूप समात्न सक्दैन
समुद्रले मात्र आकाश देखाइदिन्छ
मेरो रूप देखाउन सक्दैन ।
प्रिय तिमीले मलाई मृत ठान्यौ ?
प्रिय तिमीले मलाई जड ठान्यौ ?
वास्तवमै मरे तुल्य
तिम्रो लागि बेकारको लागेँ
कुनै घटना घटेन
कुनै दुर्घटना भएन
मात्र परिवर्तनको सानो अनुभव भए
अग्निपरीक्षा पार गरेजस्तो ।
हो, अब मलाई कुनै पीडा छैन
हो, अब मलाई कुनै दर्द छैन
अब मेरो मन पनि त दुख्दैन
मुटु राख्ने ठाउँ पनि त छैन
सबै उदाङ्ग, सबै निर्वाङ्ग
मेरा इन्द्रिय आजकल
जहाँ पुग्छ त्यहीँ रम्दछ
पात देख्दा म पातै बन्दछु
र पातकै सुस्केरामा डुब्दछु
फूलको समीप पुग्दा सुवास नै बनिदिन्छु
पानीमा पुग्दा पानी र आगोमा पुग्दा आगै बनिदिन्छु
अनेकौँ रङमा रङ्गिदा रङ्गिदै
मेरो यो हाल भो !
एउटा कणभन्दा मिहिन
एउटा वाफभन्दा हलुको
एउटा किरणभन्दा गतिमान
एउटा पानीको बूँदभन्दा पारदर्शी ।
हो,
हो, एक विन्दु जलको पनि आफ्नै अस्तित्व हुन्छ
सागरमा पुग्दा म सागरै बनेँ
आकाशमा पुग्दा म आकाशै बनेँ ।
प्रिय अब म ठीक भएँ
अब म स्वस्थ भएँ
ऊ हेर त
तिम्रो यताउता बसेर रोएकाहरू
मेरो अरू थुप्रै वन्धु वान्धव पनि छन्
ओहो ! ती किन त्यसरी रोइरहेका ?
तिनको ममाथि के त्यत्रो प्रेम थियो ?
यो मलाई थाहा थिएन
तर जसले त्यति रुनु पर्थ्यो
ती रोएनन् ।
मेरी प्रिया
अब म एकदम ठीक छु
कुनै रोग छैन
कुनै भोक छैन
कुनै चिन्ता

कसैको तिरस्कार छैन ।

Rabindra Mishra – Mrityu

रवीन्द्र मिश्र – मृत्यु

मलाई थाहा छैन तिमी कहिले आउँछ्‌यौ
एकै छिनमा
एक महिनामा
या बर्षौंमा
मलाई यो पनि थाहा छैन
तिमी कसरी आउँछ्‌यौ
मध्य-आकाशमा पड्किएर
घुमाउरो बाटोमा पल्टिएर
कालो रातमा काँपेर
लामो समय थलिएर
या बिहानै मुस्काएर
तर
म संसारलाई हेर्छु
र आफैंलाई हेर्छु
तिमीले
जीवनमा मलाई यति धेरै दि’सक्यौ भने
तिमी जहिले, जसरी आए पनि
मृत्यु
म तिमीलाई मुस्काउँदै वरण गर्नेछु
अब मेरो कुनै गुनासो रहने छैन ।

– रवीन्द्र मिश्र, २५ पुस २०६२