Sarubhakta – Akalpaniya Desh Ko Yatra

‘के इतिहास
चक्रीय सिद्धान्तनिष्ठ छ ?’
पुनरावृत्तिमा लिगलिगकोटे युगहरु
प्रतिश्पर्धा दौडमा छन्
छुमन्तर ! गोर्खाली जिनका रसायनिक भाषाहरु
खोई हुस्सुले छेकेको घाम
कहाँ ‘ब्रेनड्रेन’ भई हिडेको छ ?
युग वदलियोः हामी एक अकल्पनीय
देशको यात्रमा छौं
कायरहरु धेरैपल्ट मर्छन् हामी बहादुरहरु
एक एकपल्ट मर्दैछौं – ‘ भटटटटटट ….’
को मूर्ख ? वर पाउने भष्मासुर कि
वरदिने महादेव ?
गुहेकीरालाई गुहेकीरा के भन्नु
ती स्वर्गीय नर्कका वासिन्दा हुन्
युगीन आवश्यकताः आजभोलि घाँटीमा क्रश
टाँगिन्छन्, क्रशमा यशूहरु टाँगिदैनन्
नाथुरामहरु कहिल्यै गान्धी बन्दैनन्
गान्धीहरु भकाभक नाथुराम बन्दैछन्
ए ! देशमा सवै बहुलाएको वेला
त्यो मान्छे किन सद्दे कुरा गरिहिड्छ
वेफ्वाँकमा ?
हिउँदेयाम
आउ मौकाको घाम तापौं
अनि कत्लापरेका फोहोरहरु सुकाऔं !

Santosh Lamichhane – Sakshi

सन्तोष लामिछाने – साक्षी

भावनाको घोप्टेभीर
मनको जोगिमारामा घुम्ती बदल्छ
अनि आकांक्षाका खोरियामा
कुकुर जोघाइ सुरु हुन्छ
रित्तोपन लुकाउँदै
शासकहरु हात बाँधेर
मुकुण्डो कसाउँछन्
अनि एउटा नौटंकी
जिन्दगी सुरु गर्छ

पहिराहरु आतुर छन्
धरातल उल्ट्याउन
भूकम्पहरु खुटटा उचाल्छन्
धर्ती हल्लाउन
बाढीहरु सल्बल छन्
सिर्जना बगाउन

ध्वजा पताका फिजारिन्छ
रंगमञ्ज सजिन्छ
गीत रचिन्छ
संगीत पस्किइन्छ
विस्तारै चिहान उठ्न थाल्छ
सपना विपना जस्तै लाग्न थाल्छ
दर्शक भुलिन्छन्
सिठठी बजाइन्छ
ताली पडकाइन्छ
विश्वविद्यालयहरु निरर्थक हुन्छन्
प्राध्यापकहरू घुँडा टेकेर
ज्ञानको भीख माग्न थाल्छन्
ढुंगाका मुर्तीहरु
पैतालाका डोबहरुले भरिन्छन्
बुद्धिजीवीहरु भंडखारामा पुरिन्छन्
तक्मा भिर्ने मै हुँ भन्नेहरु
बन्दीगृहका कैदीमा चुनिन्छन्

कोलाहल ठप्प छ
मस्तिष्क थाङनामा सुत्दछ
निडर निरुत्साहित
एउटा साक्षी
सिर्फ हेरिरहन्छ
सुनिरहन्छ
आँखा खोलेर अनि आँखा बन्द गरेर
सधैं व्यूँझिरहन्छ अनि ब्युँझ्याइरहन्छ
अनवरत
एउटा साक्षी व्यूँझिरहन्छ
ब्युँझ्याइरहन्छ ।

Amar Nembang Limbu – Hamro Desh (Euta Rashtriya Geet)

अमर नेम्बाङ लिम्बू – हाम्रो देश (एउटा राष्ट्रिय गीत)

मेची र महाकाली हिमाल र तराइभित्रको यो देश
यो देश हाम्रो देश हो,
सधैँ जय होस् हाम्रो देशको।
युगौँदेखि अंगालो मारेर उभिएका शानदार हिमालहरू,
समीरको स्पर्शले गुञ्जिरहने सदाबहार जंगलहरू,
मनोहर द्द्रिश्यले झकिझकाउ भएका पाखापखेराहरू,
तराईभरि मनैभरि झुलिरहने धानका बालाहरू ।
यो देश हाम्रो देश हो
सधैँ जय होस् हाम्रो देशको।
प्रकृतिको अनन्य वरदान हो यो,
सप्तरंगी इन्द्रेणीभित्र झरनाको आवाज हो यो
विभिन्न धर्मसंस्क्रितिको मूलुक हो यो
सम्पूर्ण नेपालीहरूको मुटुको धड्कन् हो यो ।
यो देश हाम्रो देश हो
सधैँ जय होस् हाम्रो देशको।
आज लोकतन्त्रको यो नौलो नयाँ बिहानीमा,
स्वतन्त्रताको अमरदीप जलिरहेछ प्रत्येक घर-आंगनीमा,
सहिदहरूको सपना साकार पारी यो देशमा
नेपालको नाम सधैँ उच्च राखौँ यो विश्वमा
यो देश हाम्रो देश हो
सधैँ जय होस् हाम्रो देशको।

न्यूयोर्क

Pushpa Baruwal – Kohi Malai Kina Kehi Bhanos

हुस्सुका बाक्ला खातहरु हटाएर
राफिलो घाम ताप्नुछैन मलाई
न त बादलका बाक्ला च्यादर ओढेर
न्यानो बन्नुनै छ
म, पखेरोको एउटा अस्तित्व
घाममा वा ओझेलमा
खुशीहरु अनुभुत गर्नसक्छु जसैतसै
कोदालीले पखेरो सम्याएर
अन्न Continue reading “Pushpa Baruwal – Kohi Malai Kina Kehi Bhanos”

Damodar Pudasainee – Beijing Ka Phool Haru

दामोदर पुडासैनी किशोर – बेइजिँगका फूलहरू

फूलहरू
कहिले हावासँग
र कहिले गाडीसँग
जिस्कन्छन् बेइजिँगमा
बर्षातको बेला
फूलहरू
प्रेमका पुराना कंथाहरू सँझन्छन
र छाता ओडेर काममा हिँडिरहेका युवतीहरूसँग
प्रेमको अर्थ सोध्छन्
एकतिर
जाम भएका गाडीका लहर छन्
अर्कातिर
पानीले चुमिरहेका पात र हाँगाहरू बीचमा
पानीकाो बर्बरता ब्यहोरेर
बिग्रेको श्रृँगार सँभाल्दै बिरहका पुराना गीतहरू सँझिरहेछन्
जात जातका फूलहरू
लामबध्द छन् सडकका किनारहरूमा
हाँगाले पनि सिमाना नाघ्न पााइन्न
फूलले पनि सिमाना नाघ्न पाइन्न
मान्छेहरूको त के गर्नु कुरा
सधै दौडिरहन्छन् समयका किनारहरूमा
हावासँग
जिस्किहन्छन्
पानीसँग मस्किरहन्छन्
सडकमा हिंडिरहने पुतलीहरू
र आफूमध्ये
को राम्रो भन्ने दाँज्दैछन् फूलहरू
उभिएर सडकको बीच बीचमा

२०७५ चैत्र २६ मँगलबार (२०१९ अप्रिल ९ )
बेइजिँग ,चीन

Bipin Singhal – Mero Sansar

बिपिन सिंघल – मेरो संसार

भनिन्छ कि ताराहरुको पनि
बेग्लै अस्तित्व हुदो रैछ ,
अस्तित्व , छैन झै मानिन्छ ,
भनिन्छ कि ताराहरु माझ
बस्द्छ्न बेगलै जिवहरु
तर यी भनाइहरु बाहेक को बयान
पनि छन ताराहरुको संसारको ।।

वास्तवमा भन्ने हो भने ,
अस्मिता छैन यो संसारको
संसार , अस्पर्श अस्पष्ट सरहको
सारा ममता थियो छन्न छरिएको
त्यस कुसुम को वरिपरि ,
जहाँ बसोबास छ मेरा सारा संसारको ।।

यहाँ न त कुनै धर्म छ
न त कुनै जाती ,
केवल छ भने एक अर्काको साथी
साथी , जो अन्तिम सास सम्म छन साथी
र त यो संसार सबै भन्दा माथी
र यस्तै छ वाहवाही मेरा संसारको ।।

आखिर विनष्ट ती तिम्रा पृथ्वी भन्दा
अति सुन्दरम छ मेरा संसार
धन्य छ कि अदृश्य छ मेरा संसार
नत्र नष्ट गरिसकदथे तिम्रा जातिले
तिम्रा जाती , अजिब किसिमका जाती
जो गर्दछ्न कुकर्म जन्मगत देखि
अन्तिम सास सम्म
जो बाचदछ्न प्रकृतिको ऋण माथी ,
तर छैन्न कोइ यस्तो मेरा संसारको ।।

वास्तविक बयान यस्तै रैछ , मेरा संसारको
बयान , जुन आफैमा एक स्वर्ग को बयान ,
यो काहानी पनि
एक रुमानी बिनाको
राजारानी बिनाको
अब यो कहानी को पनि
कुनै अस्तित्व , अस्मिता हुने रैनछ ।।

Bipin Singhal – Breakup Diary

बिपिन सिंघल – ब्रेकअप डायरी

हाम्रो माया बिछोड मा सकिन्छ
भएभरको आँसु तिम्रो बिहेमा सकिन्छ

ति मीठा मीठा सपनाका ताजमहल
अब अधुरा भइ विनष्ट सकिन्छ

त्यो दिनहरु पनि निराश हुनेछ हजुर
जब मेरो असलता कुलतमा सकिन्छ

भन्थ्यौ कि , अन्तिम साथसम्म सासमा सास
मिलाइ बस्नेछु , तर
मेरो सास तिम्रो सास बिना सकिन्छ

यो जीवन को तिथि यस्तै भैसक्यो
तिमी बिना बस एक लास भइ सकिन्छ !!

Damodar Pudasainee – Nango Rukh Aghiltira

दामोदर पुडासैनी किशोर – नाँगो रूख अघिल्तिर

नाँगो रूखमा
क्यानभास रहेछ तिम्रो र मेरो
हाम्रो पहिलो भेटको
कथा भनिरहेकोरहेछ
नाँगो रूखले
नाँगो रूख र पहिलो प्रस्ताव
उस्तै उस्तै हो भन्दैथे बटुवाहरू
नाँगो रूखमाझै
मौन बतास चलेथ्यो कयौं क्षण
हाँगा हाँगामा बिस्तारै पिपिरा उम्रन थालेझैं
मनले सोच्न थालेथ्यो i
बहुरँग र बहुरूपका अध्यायहरू
कुनै बेला सुदुर गाउँ र सुदुर शहरमा
हिँडदा हिँडदै ठिँग उभिएथें म
र सँझनानै सँझनाले बनेथेँ निथ्रुक्क
नाँगो रूखपनि उभिरहेको रहेछ म जस्तै
मरूभूमिमा निर्माण गरिएको बाटो
डढेंलो निभेपछिको जँगल
आमाको मृत्युपछिको बालक
सपना उडाइलाने वतास
सबै सबै हेर्दैथिए नाँगो रूखलाई
मैले भने
तिमीलाई सँझिएँ
र ,नाँगो रूख होइन
नाँगो रूखमा उम्रन लागेका पालुवा नियालेँ
कुनैबेला
आगोले,हुरीले,भूकम्पले वा बाढीले
धराशायी बन्नेछ सहर
असिना,पहिरो,मुसलधारे बर्षा वा सलहले
सिध्याउनेछ किसानहरूको पसिनाको सपना
अनायासै ढल्नेछन् विश्वासका पुलहरू
जीर्ण बनेर भत्कन्छन् तुलसीका मठहरू
तर ,त्यो अन्तिम श्रृँखला होइन सँसारको
सँसारमा सबै चित्रहरू मेटिइसकेपछिपनि
बाँचिरहन्छ ‘आशा ‘ को निख्खर आवाज
तिम्रो स्पर्श,सपना र जूनेली वान्की सम्झेपछि
हावामा स्पन्दित नाँगो रूख
र ,फूलका पत्र पत्रमा फैलिरहेको तिम्रो आयतन
उस्तै उस्तै लाग्यो मलाई
नाँगो रूखमा
बसुँन् परेवा ,चखेवा र खरायोका मायालु जोडीहरू
बर्सियोस् अनवरत प्रेमको बर्षा
फेरियोस् पुरानो धँगधँगी र बदलियोस् जीवनगीतको अन्तरा
नाँगो रूख अघिल्तिर उभिएपछि
नाँगै यो सँसारमा ओर्लिएको ऐतिहासिक समय सँझिएँ
कसैसँग नाँगिएको दुर्लभ क्षण सँझिएँ
र , कसैलाई नाँगिन अनुरोध गर्ने साहसी सपना सँझिएँ
नाँगो रूख अघिल्तिर उभिएपछि
प्रेमस्तम्भमा लेखिन लागेको नयाँ गीतहरू
गुन्गुनाउँन थालेका छन् मेरा ओठहरूले
क्रान्ति त्यसै हुँदैन
तिमीलेपनि
अहिलेसम्मका काला धब्बावाल कपडा फ्याँकेर
नाँगो रूख अघिल्तिर
नाँगै ओहोरदोहोर गरिरहेको हेर्न चाहिरहेछु
नाँगिनु जत्तिको महान सत्य
केही रहेनछ यो सँसारमा

-२०७६ बैशाख १३
धनगढी ,कैलाली

Kabin Basnet – Dobato Samma Aaipugda

कबिन बस्नेत ‘सिउँडी’ – दोबाटोसम्म आईपुग्दा

दोबाटोसम्म आईपुग्दा
हामीसँगै साँझ पनि अलमलिरह्यो,
एक कप चियाको निहुँमा ,
विभाजित थियो समय –
माछिकाँडे केशविन्यासका केस्रा-केस्राहरूमा ,
प्रत्येक फूलहरू
दिंग्भ्रमित यात्रीझैं
सोध्दै थिए आकाशसँग
फक्रिनुको अर्थ
र, प्रत्येक चराहरु
गाउदै थिए-
अनन्तको गीत ।

दोबाटोसम्म आईपुग्दा,
डुब्नै बिर्सेर
घामले चियाउदै थियो तिमीलाई
ईर्ष्याको विस्फोटले घाइते म
म चाहन्थे-
घामलाई हत्केलाले छेकिदिउँ
म चाहन्थे-
बादलका स-साना धर्साहरूले
क्षितिजका पाना भरि-भरि लेखिदिउँ आज
एकोहोरो प्रेमको गाथा
तर,
विवश म
दोबाटोको देवल जस्तै ,
आखाँहरू साक्षी राखेर
आँसुको पारदर्शी पत्रभित्र
लुकिरहेँ
मौन स्वीकृतिको प्रतिक्षामा
हेरिरहेँ, हेरी मात्र रहेँ
तिमीलाई , अनि
यूक्ल्याप्टसका लामा-लामा पातहरूलाई
जो हल्लिदै थिए
हावासँगै,
तिम्रो बिदाईका हातहरुसँगै !

Sarubhakta – Asthi Pahad Ra Gilo Brihaspati

गुर्खा न्यूरोनः साइवर स्वस्थानी जात्राहरु
पञ्चवलिका वाजाहरु बजेका छन्
रिकुटेजात्रा – खोइ कहाँ हराए खलङ्गाका
श्वाभिमानहरु ?
मुखुण्डोहरुको जुलुस
अस्थि–पहाडमाथि उभिएर
चेसवोर्डका गोटीहरु चलेका छन्
ए, Continue reading “Sarubhakta – Asthi Pahad Ra Gilo Brihaspati”

Rabindra Mishra – Paap

रवीन्द्र मिश्र – पाप

हेर…
पाप त एक दिन लाग्छ, लाग्छ
कि आज लाग्छ
कि भोलि लाग्छ
देखेनौ तिमीले ?
उहिले देउता चोर्नेहरूलाई
अहिले श्राप लागेको छ

भन्लाऊ
पाप लाग्ने भए
ऊ त्यो दुर्गन्धित पैसाले सुन्निएको घरमा
किन चट्यांङ परेन ?
भन्लाऊ
ऊ त्यो अलकत्रा खाने गोरूको भुँडी
प्याट्ट किन फुटेन ?
के पाप कलेजको परीक्षा हो र ?
तुरुन्तै पास र फेल हुने ?
त्यो पनि हुन सक्छ, नहोला नै भन्ने त छैन
तर पाप धेरै वर्षपछि बुढेसकालमा
दिन-रात ‘एया र आत्थु’ भन्दै आउन सक्छ
गु र मुतको आहलमा लतपतिएर आउन सक्छ
छोरा-छोरी, नाति-नातिनाको लाश भएर आउन सक्छ
भन्लाऊ
तिनको के दोष छ ?

हो, एकदिन जानु नै थियो – ती त गए
तिनको स्वर्गको वास हुन्छ
तर पाप त तिमीलाई न लागेको छ
किनभने
अब यो सुन्दर धर्तीमा
नर्कको वास चाहिँ तिम्रो हुन्छ

पाप त एक दिन लाग्छ, लाग्छ

भन्लाऊ
लाख बत्ती बालेको छु
चार धाम गएको छु
मन्दिर बनाएको छु
हीरा-जुहारत चढाएको छु
गंङ्गामा नुहाएको छु
तर म तिमीलाई सोध्छु
कहिले हेरका छौ – मनको दियो कहाँ बलेको छ ?
कहिले सोधेका छौ – विवेकको यात्रा कता हराएको छ ?
मन्दिर बनायौ कि मसान बनायौ ?
हीरा चढायौ कि चेतना जलायौ ?
गङ्गामा नुहायौ कि फोहोर बनायौ ?

हेर, यस्तै गर्यौ भने
पाप त एक दिन लाग्छ, लाग्छ

जाऊ, एकचोटि विवेकको बत्ती बाल
जाउ, एकचोटि मन्दिरमा माफी माग
जाउ, एकचोटि गङ्गामा मुटु पखाल
ढिलो भएको छैन – सूर्य अस्ताएको छैन
मानव भएर आयौ, मानव भएर जाऊ
नत्र पाप त एकदिन लाग्छ, लाग्छ ।

– रवीन्द्र मिश्र, ३ कार्तिक २०७१

Laxmi Prasad Devkota – Bhoot Lai Jhataro

प्रकृतिले जब व्यङ्ग्य रेखिन्
चेहरा तिनका बने
नेपालीको भान लेखिन्
बान् भो हाम्रो भने ।

सब गधाले खुशले ऐंके
भ्यागुताले गाए कें कें
भो भुजङ्गजाति प्रसन्न
मातृभूका पुष्प रोए
धन्य तिनको जन्म धन्य

(हुन त केवल शुक्र-कीरा!)
ज्योतिषीले नाम राख्यो
कोहेनूर! वाह! विश्वहीरा!
नामजस्तो व्यङ्ग्य के छ ?
मणिधर भन्छन् सर्प जो छ
नेपाली रे देश-धमिरा
अङ्ग नै मानिन्छ राम राम
सब खटिरा

व्याकरण मिल्दैन सड्छ
माफ गर्नोस् !
हँस्सी मात्रै लेखिरैछु
आँसु झार्नोस् !
पातालपुरीको गद्य भो
अङ्ग्रेजीको उल्था जस्तो !
हिन्दी वा नेपाली यो !
तैपनि के दालरोटी-
निम्ति कलम नरेटूँ यो ?

गधाका बच्चा हुन्छन् पाजी
भ्यागुताका के हुन् काजी ?
खूब पढाउँथे ती गुरु !
(गुणशील गुरुका पुच्छर थिए
लौरो सीङ?) भो है कथाको
होस् न छिटै पो शुरु !

“ए गधा हो! ‘फ्रग’को माने भ्यागुतो ।
“फ्रगको माने भ्यागुतो ।
फ्रगको माने भ्यागुतो ।”
“के रे? के रे? के रे? के रे?”
“भ्यागुतो
भ्या! भ्या-गु-तो।”

एकादशीको दिन थियो
पशुपति ल्याएछ कालले
एक दिन निज धर्म्ममा
मरन्च्याँसे अक्षता-आशे!
मालिक सम्शेर कोही सम्झे
वेकुण्ठ सुख-टर्ममा
चाकरीका निम्ति आए-
शिवको अनि शेरको औ खीरको

धर्म्मराही धर्मराई
भस्मेश्वरका पासमा
चिता सुँघेछन् आफ्नो है
ढल्को तनको भासमा ।
“हे ठिटा हो!” बोल्न थाले
“भातृभाषा मर्दछिन्
नेपाली बाँच्दैन कहिल्यै
हिन्दीले राज गर्दछिन्।”

मानिस मर्ला भन्ने डर पो
आत्मा भरी छारो चल्यो
वेद तत्पर डग्मगाए
गीता जल्यो गीता जल्यो ।

बोल्न एउटा लाज हो जब
मानिस भैकन साँप स्याँक! स्याँक!
भ्यागुतो क्याँक! क्याँक!
लगुड हाम्रो भै सजीव
बोल्छ हातमा-
‘टाउको टयाक! टयाक!’
(माफ गर्नोस् तीतो लागे!)
सग्लै छन् ती मन्त्र बोलूँ
‘फर्सी फ्याक! फ्याक!’

बाँसमाथि राख नरिवल
काक झुत्रो एक बनाऊ
तीतेपातीले सजाऊ
स्मारक एउटा महापुरुषको
मलको ढिस्कोमा बनाऊ!

मुर्दा बोल्थ्यो नेपालीमा
छक पर्यौं ।
क्या गह्नायो मुखको गन्ध ।
थुक गर्यौ।

सिलटिम्मुर बरफसाथ
ल्याऊ पहेंला चाँवल,
श्याम भाग्छन् रात भरभर
यस्ता मीठा पागल!

हीहीहह हीहीहह
बोल्यो गधा!
छेपाराले मुत्दछन् रे
यस्ता बुज्रुगका चिहानमा
सर्वदा!

खूब झरीमा एक कुकुर
स्याउँ स्याउँ कीरा
सड्थ्यो लाचार! नाम सोधेँ
रै हीरा।
झन्डै झन्डै मै मरेथें
त्यो गह्नाई
बान्ता आई!
तिम्रो बुद्धि! गिद्धलोचन!
यस्तै लाग्यो है मलाई!

Baidhyanath Upadhyaya – Samaya Ko Hawa

वैद्यनाथ उपाध्याय – समय को हावा

समय को हावा चल्दछ
अनि जिन्दगी को पाना खुल्दछ
रूखको सुकेको हाँगामा
एउटा चराले पँखेटा फिजाउँछ
घामले त्यस्लाई सुमसुम्याउँछ।

सयौंबर्ष देखि दबिएको सपना
सर्सराउँछ
कहीं भित्रबाट सुँकसुँकाएको
आवाज आउँदछ
सुन्दछु केही सरिरहेछ
आस्ते आस्ते…

उदासीको पर्दा उठाएर
बाहिर हेर्छु
आकाशको चादर टंगिएको छ
घाममा
हावाको कुनै आहट छैन
निधारमा पसीना पुछ्दछु

केही फुल फुलेका छन
आँगनमा
सापटीको सपना रोपेको थिएँ
सुकेछ
कँटीला झार उम्रिएका छन
बारी भरी

जिन्दगी
बस, एक किताब हो
कालो अक्षरमा खुल्दछ
यसैको अनुसार
जीउँदछु, जीउँदछु
अन्तिम पाना सम्म…

Shikhar Arohan – Bhram

शिखर आरोहण – भ्रम
(Sent to Sanjaal Corps via Email)

भ्रमहरू,
हेरिरहेछन् मलाई मेरो वरिपरिबाट
म भ्रमहरू बाँचिरहेछु ।

सपनाका भ्रमहरू
जीवन भ्रमहरू
भ्रमहरूसँगै नै मेरो दैनिकी तय भइरहेछ ।
भूतकालका कथाहरूसँगै
म खोजिरहेछु,
सत्यता, यथार्थ र वर्तमान
यी वर्तमानहरू मलाई
कहिले यता कहिले उता पछार्छन्
म तीनै भ्रमहरूमा
विश्व हाँक्ने विवशता तन्काइरहेछु ।

निकोटिनले पहेँलिएका मेरा ओठहरू
आवाज दिने प्रयास गर्दछन्
प्रयासहरूमै काँप्दाकाँप्दै ओठहरू
सुख्खा भएर झर्नै आँटिसके
एक प्याला भ्रममा
मनौं संसारलाई नै तन्काउन
सोचिरहेछु – कथा र कथाका पात्रहरू
यी कथाका पात्रहरू
कहिले नाङ्गै बनिदिन्छन्
कहिले लमतन्न सडक छेउ
मदिरा दिवस मनाइदिन्छन् ।

म धेरैपटक मरेर बाँचिरहेछु
सदियौं मरिरहेनेछु,
भ्रमहरू मरेका छैनन्
कहिल्यै मर्दैनन् ।
दोबाटोहरूमा म अल्झिरहेछु
अनिर्णित भइरहेछु
भ्रमहरू सोझो बाटो देखिरहेछन्
भ्रमहरू कहिल्यै पछाडि परेनन्
भ्रमहरू भनिरहेछन् –
यस्तो भ्रममा जिइयो
साला जिन्दगी ।

२०६५/०९/०३
तीनथाना, काठमाण्डौं

Shiva Prakash – Beiman Ti Sadakharu

शिव प्रकाश – बेइमान ती सडकहरु … !

ती सडकमा
अरु नै हिड्छन्
तिमीले बनायौं,
तर ती सडक
तिम्रा लागि हैनन् ।

तिमीसँग
रामे, श्यामे र हर्केहरु थिए
पातली, सुन्तली र चमेलीहरु थिए
र, मसँग थिए-
झक्सु, बन्झडु र खेरुवाहरु
राधो, कलावती र मैयासरीहरु
ती सडक ….
तिमीले र हामीले बनायौं
तर ती सडकहरु
तिम्रा हाम्रा गाउँघरतिर जाँदैनन्
ती सडकहरु अन्ततः
महलमा गएर टुङ्गिन्छन् / हराउँछन्
बेइमान सडकहरु …. !

हरदम स्वागत गरिरहेछन्
कालो ओढेका ती काला सडकहरु
कालो मन भएका मान्छेहरुलाई
कालो रङ भएका गाडीहरुलाई
बेइमानीको विम्व / प्रतिविम्व
बेइमान ती काला सडकहरु … !

Acharya Prabha – Lagchha Sabai Fikka Fikka

उस्तै हो हिमाल, वन, जंगल, डाँडा, काँडा
उस्तै छन,
मान्छे पनि उनै हुन
घाम, जून उही छन
त र पनि किन लाग्छ
सबै फरक, फरक ?

माटो त्यही हो,
टेक्ने धर्ती उस्तै छ ,
हावाको स्पर्षले उसरी नै छुन्छ
त र पनि किन लाग्छ
सबै फिक्का,फिक्का ?

मन उही छ छातीभित्र
मुटुको आकार उही हो
हेर्ने आँखाहरू त्यही हुन,
त र पनि किन लाग्छ
सबै नौला,नौला ?

हो…. यो सत्य हो,
म देख्दिन आफन्तको छायाँ,
पाउँदिन ति मायारुपी शब्दहरू,
अनि साट्न सक्दिन भावनाका उद्गगारहरू,
किनकि फरक यत्ति हो
म आफ्नो आगनबाट ओझेल छु
म आफन्तको सामिप्यताबाट
बन्चित छु ,
आफ्नो माटोबाट बिरानो छु ,
बस ……………!

(अमेरिका )

Min Dwandi – Yatra

यात्रा जीवन, जीवन यात्रा
पाइताला खियाउँदै सिंचेर गोरेटो आफ्नै रगत पसिनाले
असंख्य उकाली, ओराली र जंघार निल्दै
निस्कन्छन् पाइलाहरू यात्रामा,
भेटिन्छन् थुप्रै सहयात्रीहरू
बाटो–घाटो र गोरेटोहरूमा,
सिरसिर Continue reading “Min Dwandi – Yatra”

Bhupin Byakul – Hastaakshar

भूपिन ब्याकुल – हस्ताक्षर

नाङ्गै पैतालाको धुलोले
त्यहाँ मलाई एउटा हस्ताक्षर गर्ने रहर छ !

त्यहाँ अरु केके छ म जान्दिनँ
पर्खालभित्र
एउटा मांसहारी रुख छ
त्यसको फूलमा ज्यानमारा गन्ध छ
शताब्दीऔंदेखि
त्यही गन्धले
मेरा सपनाहरुको भोज खाएको छ

समयको बाढी पसेर
मलाई
त्यसको जरा उखेलिएको हेर्ने रहर छ !

समय जाम परेको सडकमा
त्यस नरभक्षी रुखलाई
अवतार मान्नेहरुको कुरूप भीड छ
लस्कर छ –
रुखको खुनी खुट्टामा
सस्तोमा टाउको चढाएर
घर फर्किने मुर्कट्टाहरुको
त्यसले मेरी आमाको कोखबाट खोसेर
एउटा उज्यालो युगलाई
मेरै अगाडि निर्लज्ज निलेको छ

एउटा हुरी आएर
मलाई
त्यसको फूल झारेको हेर्ने रहर छ !

मेरी आमाले गुमाएको समयको नाममा
रुख उखेलेर
त्यहाँ मलाई एउटा हस्ताक्षर गर्ने रहर छ

नाङ्गै पैतालाको धुलोले
त्यहाँ मलाई एउटा हस्ताक्षर गर्ने रहर छ !

Prem Oli – Mero Goruko Barhai Takka

प्रेम ओली – मेरा गोरुको बाह्रै टक्का

गजडी होस् कि दरुवा
समानुपातिक कि हरुवा
आफैँ पहिले सकार्ने
रोप्ने बेलामा बोधिबृक्षटिप्ने बेलामा बिषबृक्ष
आफैँ पछि खकार्ने
चन्दा होस् कि घुस
ठन्डा होस् कि जुस
पाएसम्म Continue reading “Prem Oli – Mero Goruko Barhai Takka”

Niroj – Atripta Man Pokhina Banki Canvas Ma

निरोज – अतृप्त मन पोखिन बांकी क्यानभासमा

आ-आफ्नो हातमा
एक एक थान कुची र ब्रश लिएर
उभिएका थियौ हामी पनि
रित्तो विलकुल नांगो क्यानभासमा ।

फगत् शब्दहरु निकाल्यौ
सायद ति बोलीहरु हुनसक्छन्
तर कुनै Continue reading “Niroj – Atripta Man Pokhina Banki Canvas Ma”