साइवरपीडाः तारकयुद्ध सञ्जालहरु
जिन्दगीका मिथकयात्राभरि छन्
खोई कहाँ हराए हाम्रा स्वनामधन्य ख्रिचुङ
र आनिकहरु ?
अफिमखेतीः च्वेस्याङ र फाहियानहरु
श्रापित विरुपाक्ष भूमितिर
आजभोलि वाढीग्रस्त छन्
मितेरी साँधुहरु
ए ! के भईरहेछ प्लाजा डि टोरोसतिर ?
आजभोलि हामी हिँसाहरुको उपासनामा व्यस्त छौं
फरार मानवता – पतझडका वैसहरु बोकेर
वख्तरवन्द प्रजातिः खिया लागेका न्यूरोनहरु संरचना गर्छन्
मानव वंशवृक्षमा अद्यावधि जीवित छन्
महान कपिश्वरहरु
नेपोला निपार निपर नेपाल
भूपरिवेष्टित आँसुका सरोवरहरु
जहाँवाट बग्छन् दारुण नदीका
महापीडाहरु
साँग्रिला सम्वोधिः फालाफाल रुप्सेहरु
खोई कहाँ छन् साँढेम्यागुताका
आतङ्कहरु ?
शङ्कास्पद नेपालीहरु शङ्कास्पद नेपालीहरुको खोजीमा छन् …
कस्ले बुझ्नसक्छ, संसारको सवैभन्दा शक्तिशाली भूँडीवम
यहाँ उहिल्यैदेखि विस्फोटित छ !
उः ! हाम्रा हिमालहरु कति आग्ला छन्
हामी किन यति होंचा छौं !
Bhojraj Baral – Swambhu Ko Bandar Le Pani Ghar Basaunthyo Ki
भोजराज बराल – स्वयम्भुको बादरले पनि घर बसाउथ्योकी
जोतेरनै लालपुर्जा पाइने भए
डाँडा पाखा नै किन रत्न पार्क नै जोत्थे होलान्
पोतेरनै दैलो आफ्नो हुने भए
मुखियाको किन नारायणहिटी नै पोत्थे होलान्
जोतेर, पोतेर वा गोदेर, चिथोरेर
चोरेर वा कुनियो फोरेर मात्रै आफ्नो बनाउनेहरुहो
अनी
लुटेर, भुटेर वा कुटेर
छेकेर वा टाउकामा टेकेर मात्रै अधिन चलाऊनेहरुहो
त्यो डकैतिलाई पसिना र पाखुरामा
अनी
त्यो पागलपनलाई बिबेकको टाकुरामा
एकपल्ट पुर्याइ हेरत
यो माटोको त के कुरा
तिमीले टेकेको चट्टान पनि रसाउथ्योकी
स्वयम्भुको बादरले पनि घर बसाउथ्योकी
– London
Damodar Pudasaini – Sustaa
दामोदर पुडासैनी किशोर – सुस्ता
म आफ्नै अघिल्तिर
हिँस्रक गिध्दले
आमाको शरीर लुछिरहेको
कसरी हेरिरहन सक्छु र टुलुटुलु
कसरी ढुँगा बनेर बसिरहन सक्छु म
आफ्नै अघिल्तिर
मेरी पवित्र दिदी बलात्कृत भइरहेकी हेरेर
छिमेकीले
मेरो माटोमा
मिचेर बार लगाउँदैछ
मेरो बाटो रोकेर
बलियो पर्खाल लगाउँदैछ
मैले धान रोपिरहेको खेतमा
किन बल मिच्याँईँ गरेर
उखु रोपिरहेछ कसैले आज
सधै हरियो परियोमा चरेर
आफ्नै जरूवामा प्यास मेटाइरहेका
हाम्रा बस्तुभाउ
किन न चरन् न गोठका
भएकाछन् हिजोआज
यो तिमीले च्यापिरहेको
खेत खलिहान मेरो हो
यो बगिरहेको नदी
र नदीले छोडेको बगर
यो पनि मेरो हो
समय बदलिंदैमा
कहाँ पराइले टोकेको सहन सकिन्छ
आफ्नै मुटुको टुक्रालाई
सिमानामा उभिएको जँगे पिलर
किन दबाइयो रातारात
दुबैको सादा नो म्यान्स ल्याण्ड
किन सारियो रातारात
साँध सिमाना
खोस्ने बिरूध्द लडिरहेको बेला
किन कानमा तेल हालेर बसेकाछन्
समयका सारथीहरू
म प्रश्न र आक्रोस
दुबैमा जेलिइरहेछु
म एकमुठी मेरो माटोपनि
कसैले हडपेको हेर्न सक्दिन
मेरो माटो
मेरो जन्म पनि हो
मेरो मृत्यु पनि हो
जतिसुकै घात प्रतिघात
सहन्छु बरू
म मेरो माटोलाई
बिस्तारै अरूको पर्खालले
छेकेको हेर्न सक्दिन
(नेपालको सुस्ता परापूर्ब कालदेखि नेपालकै थियो ।सन् १९६२ मा आएको बाढीले नेपालको सुस्ता गाउँ बगाएपछि नेपालको ४० हजार हेक्टर जमिनमा भारतले बिवाद गरिरहेछ-लैला बेगम)
-२०७५ कार्तिक १५
सुस्ता गाउँपालिका वडा नं ५,सुस्ता नवलपरासी
Mani Raj Singh – Satee Le Sarapeko Desh
मणिराज सिंह – सतीले सरापेको देश
टेक्दै मसानका ढिस्काहरू
खेल्दै रगतका फाल्साहरू सित
झण्डा उचालेर वीरताको
फर्कदै थिए जब भीम मल्ल
आफ्नै आमाको काखमा
साँगुरो सुरुङ्गभित्र
कोलाहलका विक्षिप्ततामा रन्थनिएका
प्रताप मल्लहरू
पिचासझैँ भौँतारिएर
घृणाका काँडाहरू उमारेर आँखामा
टाउको छप्काएर आफ्नै भाइको
विद्रुप हाँसो हाँसिरहँदा
सतीले सरापेको
शोकमग्न बस्तीझैँ
अभिशप्त जीवन बाँचिरहेको छ यो देश
टिलपिल टिलपिल चम्किरहेका
ताराहरूका असह्य पीडाबीच
रणबहादुरको बौलेहट्टीपनको
कुरूपतामा रगताम्य
बहादुर शाहको बलिदानको
गर्जनमा उन्मत्त
कङ्कालमय यो देश ।
हुरी बतासको चर्को सुसेलीमा हल्लिएर
भूँइचालोको सम्भावित खतरामा आतङ्कित
अपमानको पीडा सहन नसकेर
भीमसेनझैँ आत्महत्याको प्रयास गर्दै
गोसाइकुण्डतिर भौतारिन्छ
दुर्घटना, अन्र्तघात
र आतङ्कको छायाँमा
लोडसेडिङ्गले गतिहीन र निरर्थक
चौबाटोमा हाहाकार गर्दै
चकमन्नताको मैलो च्यादर ओढेर
दिउँसै आँखा तिर्मिराउने उज्यालोमा पनि
लाटोकोसेरोझैँ झुण्डिएको छ
घरको मूलढोकामा
समयको झापड खाँदाखाँदै
थिलथिलो भएको
सतीले सरापेको देश ।
Chakendra Rai Kaidi – Ma Eklo Chhu
चकेद्र राई “कैदी” – म एक्लो छु
म
माटो भएर ढुङ्गा सँगै
टाँसिन जानिन ……।
किनार भएर नदी सँगै
गाँसिन जानिन……।
अन्यायको जातोमा मकै सरी
पिसिन जानिन……।
आकाश भएर क्षितिज सँग
मिसिन जानिन……।
त्यसैले….
म एक्लो छु , नितान्त एक्लो !
न बुढो राजनीतिक
इतिहासको खोल ओढेर
यथास्थितिमा लम्पसार परी
काग्रेस बन्न सकेँ…………।।
न म
दोबाटोमा दोधार दोमन लिएर
ठिङग उभी रहने दुई जिब्रे
ए.माले बन्न सके ……।
न त
मिठा मिठा सपना बाँड्दै
आशै आशाको स्वर्ग दिलाउँदै
धमासको खेती गर्ने
ए.माओवादी बन्न सकेँ ……।
त्यसैले…
म एक्लो छु , नितान्त एक्लो !!
मेरो दुई खुट्टाहरु
आन्दोलनहरुमा भिड
थपी दिन मात्र काम आए ।
मेरो हातहरु
आमासभाहरुमा थपडी
मार्न मात्र लगाए ।
अलिकती बिबेक पनि
चाप्लुसी र चाकडीमा नै कजाए ।
त्यसैले…
म एक्लो छु , नितान्त एक्लो !!!
मेरो दुई खुट्टाहरु
आन्दोलनहरुमा भिड
थपी दिन मात्र काम आए ।
मेरो हातहरु
आमासभाहरुमा थपडी
मार्न मात्र लगाए ।
अलिकती बिबेक पनि
चाप्लुसी र चाकडीमा नै कजाए ।
त्यसैले…..
म एक्लो छु , नितान्त एक्लो !!!
आज सोच्छु
भाग्य पनि कस्तो कस्तो ?
कोही दरबार बाट एकान्त कुना तिर बसाइ सरे
कोहि कल्पनाको आकश बाट यथार्थको धरतिमा झरे
नहुने जति नेपालमा नै हुदो रहेछ हरेकाहरुले नै चैन गरे
त्यसैले…..
म एक्लो छु , नितान्त एक्लो !!!!
Narayan Tiwari – Kaso Khera Gaiyena
नारायण तिवारी – कसो खेर गइएन
ठूलो हुरी बोकेको थिए
कसो शहीद भइएन
ठीकै भएछ–
कसो खेर गइएन …. ।
कहा“ भइरहेछ इमानको पूजा
खोइ फेरिएको छ
संस्कार ।
अहिले पनि उस्तै–उस्तै
उत्पातहरू छन्
उस्तै–उस्तै
आघातहरू छन्
मोटाउने मोटाएकै छन्
कसलाई छ चासो
दुब्लाउने दुब्लाएकै छन्
तिनका निम्ति त
दुर्लभ नै भो हा“सो
ठूलो झण्डा बोकेको थिए“
कसो शहीद भइएन
ठीकै भएछ–
कसो खेर गइएन… ।
जुलुस बोक्ने नेताहरू
कुर्सीकै होडबाजीमा मस्त छन्
शहीदका इच्छा, आकांक्षाहरू
सबै अपदस्त छन्
‘धन’ नामका लुट है
सक्ने जति लुट झन्
त“ पनि खा– मैले देखिन
मैले खाएको पनि
त“ नभन्
अहिले पनि उही–उही
उस्तै–उस्तै कुर्सीमा छन् व्यवहारहरू
नाम मात्र फरक,
लाग्छ उस्तै अनुहारहरू
ठूलो उन्माद बोकेको थिए“
कसो शहीद भइएन
ठीकै भएछ
कसो खेर गइएन…
Gopal Prasad Rimal – Gopal Prasad Rimal Le Boliraheko Khas Kura
हाम्रो छाती कत्रो ? हिमालजत्रो
हाम्रो बारीको नाउँ के ? नेपाल
हाम्रो गाउँको नाउँ के ? नयाँ नेपाल
त्यसको सेरोफेरो कति ? ब्रह्मपुत्रवारि, इन्दसवारि, गङ्गावारि
हाम्रो देशको नाउँ के ? खसमीर, खुशी, खसियाशैल ।
हाम्रो उचाइ कत्ति ? नोर्के थुम्कोजति ।
हाम्रो आदर्श के ? गोरखा—
तर गाई र ब्रह्माले जस्तै ढाँट नबोलेर
बलभद्रले जस्तै साँचो बोलेर ।
हाम्रो जुक्ति के ? सकेसम्म छलफल
अनि छल
दामोदरको, भीमसेनको, जङ्गबहादुर खसको जस्तो ।
हाम्रो धर्म के ? लडाइँ—
पृथ्वीनारायण शाहको जस्तो
बहादुर शाहको जस्तो
रणबहादुर शाहको जस्तो ।
हाम्रो कला कस्तो ? अर्निकोको जस्तो
हाम्रो कैदी कस्तो ? भगवान् अरविन्दजस्तो
हाम्रो मुक्ति कस्तो ? त्रिभुवनजस्तो ।
Bhupin Byakul – Nadi Haru Manchhe Jasta Hundainan
भूपिन ब्याकुल – नदीहरु मान्छे जस्ता हुँदैनन्
नदीहरु
मान्छेलेझैं राजनीति गर्दैनन
नदीहरु
मान्छेले झैं कुटनीति जान्दैनन
निर्जिब सञ्चेतनाक पर्खालहरु भत्काएर
कुरूप हातहरु उचाल्दै नदीहरु
हिलो छ्यापाछ्याप गर्दैनन
पानी बाराबार गर्दैनन
नदीहरु रंग-बिभाजन गर्दैनन
नदीहरु
जात-बिभाजन गर्दैनन
नदीहरुको संबिधानमा
सानो मुललाई पनि
सागर बन्ने उत्तिकै अधिकार हुन्छा
सानो खोलालाई पनि
सागर बन्ने उत्तिकै अधिकार हुन्छा
बिनाकुनै प्रतिबन्ध
पहाड चढ्न सक्छन नदीहरु
पहाड फाँड्न सक्छन नदीहरु
नदीहरु
मनलागे सुक्न जान्दछन
मनलागे फुक्न जान्दछन
तर कदाचित नदीहरु
मान्छेजस्तै झुक्न जान्दैनन
मान्छेजस्तै दुख्न जान्दैनन
नदीहरु मान्छेले झैं
अहंममा चोट लाग्ने भयले
सृस्टिले ठगेका गरिब र पुड्का खोलाहरु देखेर
टाढैबाट तर्किएर हिंडदैनन
नदीहरु मान्छेले झैं
रंग नमिल्ने भयले
छुट्टै बाटो ताकेर हिंडदैनन
नदीको कालो पानी
नदीको सेतो पानी संग मिल्न सक्छ
नदीहरु जन्मजात निग्रा हुँदैनन
नदीहरु जन्मजात गोरा हुँदैनन
नदीहरु आर्य-मंगोलियन हुँदैनन
हिन्दी-मुस्लिम हुँदैनन
बुद्धिस्ट-क्रिस्चियन हुँदैनन नदीहरु
नदीहरु
नदीहरुजस्तै हुन्छन
मान्छेजस्ता हुँदैनन
Abhas – Shahar Ma Raat
कुकुरको एकनासे भुकाइ
प्वाल पारिरहेछ मथिँगल
किथ्राको किर्किर्
झमझमाइरहेछ रक्सीको नशा झैँ
विजुलीको तारमा बसेर
खुर्पे जून चपाइरहेछ लाटोकोसेरो
म अँध्यारोले
लथपथ भिजेको छु
मेरा सबै छिमेकी
निथ्रुक्क छन् अँध्यारोले ।
Niroj Ghimire – Aawaj Le Trasit
निरोज घिमीरे – आवाजले त्रसित
आवाजले त्रसित भो जिवनन
बन्द घरको कोठा झै
अध्यारोले ग्रसित भो
इच्छाहरुको आवाजको तरङ्ग
म र मेरो भनी गुञ्जीरहयो
प्राणशक्ति इच्छाहरुमा केन्दित हुदै
सत्यबाट चेतना भागिरहयो।।
हेस न बेहोस
न चेतन न अचेतन
तन्द्रामा झै बनिरहयो,
सोचको त्यो अनन्त आकासमा
म र मेरो परिचय बनिरहयो
यता न उता
न जिवन सार्थक भनि लिए
नत यसलाई असत्य भनी त्यागिदिए
आज यही तातो रापले आत्मा पोलिरहेछ
म हास्दा बोल्दा म हैन यो अहङ्कार बोलिरहेछ।।
Damodar Pudasainee – Jeewan Geet
दामोदर पुडासैनी किशोर – जीवन गीत
म हिजो भन्दा पाको पक्कै भएँ
तर , भोलिभन्दा धेरैगुना तरूनो छु
अनेकौं खुट्किला र मोडहरूमा जीवन भेंट्दै आएको हुँ
बाँचुन्जेल जीवनको सुमधुर धुन सुनिरहेछु
ईश्वर र म सँगै जन्मेका थियौ कुनैबेला
अचेल जारी छ
ईश्वरले मलाई र मैले ईश्वरलाई
कमजोर बनाउँने क्रम
म हिँडिरहेछु अचेल
ईश्वरलाई कमजोर बनाएरै छाडने अभियानमा
रिक्तताका अनगिन्ति लहरहरू भेट्दै आएकोछु
रिक्तताका अनगिन्ति सिँउँदोहरू भर्नेक्रम जारी छ
रिक्तताका लामा लहरहरू अघिल्तिर देखेर
डोरिइरहेछ जीवन
मीठो घाँस देखेर डोरिइरहेको मृग जस्तै
घेर्न खोज्छन् कयौ अनिदो बिहानीहरूले
डोर्याउँन खोज्छन् कयौ मीठा सपनिहरूले
कयौ मान्छेहरूले सत्तोसराप सरापेको देख्छु जीवनलाई
सधै लोभ्याउँदै ल्याएकाछन् मलाई यहाँसम्म
आफैंले खनेका सुन्दर बाटाहरूले
तपाईंहरू जो जोसँग भेटभयो यो जीवनमा
ख़ुशीलाग्छ
कतिठूलो अवसर पाएँ यति महान मान्छेहरूसँग भेट्न पाउँनुमा
जे जे देखें यो सँसारमा
लागिरहेछ ,सँसारभन्दा सुन्दर अरू केहीरहेनछ सँसारमा
मैले तिमीलाई बदल्न खोजें
बदल्न खोजिहेछु आफैंलाई पनि
मेरा सपनाका अनगिन्ति तुलहरूमा
कोर्न खोजिरहेछु सँसारको बेग्लै अनुहार
मान्छेलाई च्यापिरहेका पुराना अौजारहरूलाई
फेर्न लागिरहेछु आफ्नै बलिष्ठ हातहरूले
मेरो जिन्दगी अघिल्तिर
कमजोर बन्दैछन् अँकगणितका लहरहरू
फिका फिका लाग्दैछन् बिजगणितका सूत्रहरू
फेर्न लागिरहेछु ज्यामितिका परिभाषा
बदल्दैछु डेबिट क्रेडिटका पुराना स्वरूप
जिन्दगीमा तिमीसँग भेटभएपछि
हरेकक्षणहरू
नौलो र झन् झन् सुन्दर भेटिरहेछु
एउटा लामों नदीमा
भेटिइरहन्छन् अनेकौं कचडाहरू
तिनीहरूलाई पन्छाउँदै आइएको हो ,पन्छाइन्छ अझै
नदीनै सुकाइदिने दूर्घटनाको चित्रलाई
कसरी च्यात्ने हो
सुन्दर उपाय सोचिरहेछु
-२०७६ जेष्ठ १७गते
ग्वँग:बुँ,नयाँबसपार्क,काठमाडौ
Damodar Pudasainee – Badhshala Ko Dhoka Ma
दामोदर पुडासैनी किशोर – बधशालाको ढोकामा
फरक दिशामा फर्किरहेका बगरेहरू
म पुगेको चाल पाएर
फैलाए सम्बन्धको हात
मुसुक्क मुस्कुराए
र बलियोसंग समाते
खुँडा र खुकुरी
बधशालाको बाहिरतिर
निष्फक्री घाँस चपाइरहेथे
हाम्रै साथीहरू
भित्र भने
आँखा,खुट्टा ,जिभ्रो,छाति र फल मासुमा
बिभाजित हुँदैथे असँख्य साथीहरू
जीवन रित्याएर जीवन किन्नेहरू
आइरहेछन्
झोलुँगे पुलबाट हल्लँदै
बाटोहरूमा धुलो उडाउँदै
सकेसम्म धेरै झोलाहरू भिरेर
मार हान्ने बेलामा
गलामा गला मिलाउँछन् बगरेहरू
जब काटिन्छन् खशी बोका
तब शुरू हुन्छ दन्त बजान
ठीक त्यसै बेला
फालिएका हड्डीका टुक्राहरू लुछालुछ गर्दै
टोकाटोक गर्छन् कुकुरहरू
सूर्यमुखी उम्रने माटो
पुरिएको छ
दूर्घन्धी रगतले
म रगतमाथि उभिएर
हेर्दैछु जिन्दगीको अन्तिम चर्तिकला
बधशालाको ढोकामा
छरिएको छ एक थुप्रो कलिलो घाँस
म चपाउँदैछु घाँसको अन्तिम जीवन
र सुन्दैछु भित्रपट्टी
घाँटी छिनेपछिका साथीहरूको छटपटी
बगरेहरू र क्रेताहरू
पुराण भट्याउँदैछन्
मेरो निख्खरा रँगको
मेरो ओजनदार मासुको
र मेरो मासुको स्वादको
तिनीहरू कसैको पनि
दिमागमा पसेको छैन
कति महत्व हुन्छ
जिन्दगीको एक क्षणको
भर्खरै मलाईपनि
डोर्याइएकोछ बधशालाभित्र
उज्याइएको छ धारिलो खुकुरी
मेरै गर्दनमाथि
हात हातमा भाँडा च्यापेर
थाप्न तम्तयार छन् कोही
मेरै रगतका फाल्साहरू
प्रिय बगरेहरू
किन दिन दिनै टुक्रा टुक्रा पार्न खोज्दैछौ देशलाई
र किन आफ्नो जीवनमा उज्यालो छर्न
निमिट्यान्न पार्न खोज्दैछौ अरूको जीवनलाई
निरिह खशी र च्याँग्रा होइन
हरेक दिन
बाघ र चितुवा समात्ने हिम्मत छ तिमीहरूसँग
चारैदिशाबाट देशलाई टोक्न
पराई बाघ र चितुवाहरू
तीखा दाँतहरू उज्याइरहेछन्
हिम्मत छ तिमीहरूसँग
तिनीहरूको दाह्रामाथि मार हान्न ?
—२०७४ असौज ६ गते
जुफाल ,डोल्पा ।
Damodar Pudasainee – Teko
दामोदर पुडासैनी किशोर – टेको
टेको जन्मेकैदिनदेखि
टालटुलमा चल्न थाल्यों सँसार
टेको न आफैंले धान्नसक्छ
जिम्मेवारीको पुरै भार
न आफ्नै खुट्टामा शरीर धान्न सक्छन्
टेकोको सहारामा उभिनेहरू
टेकोकै भरमा आफूलाई हिमाल उभ्याउँन खोज्नेहरू
र,सुकेको लठ्ठीजस्तो शरीर र बुध्दीले टेको दिएर
सँसार आफैंले थामेंको छु भन्ने भ्रममा बाँच्नेहरुकै कारण
झन् झन् गहिरो खाडलभित्र जाकिँदै गइरहेछ देश
हेर्नुहोस् त
घर,परिवार,समुदाय ,गाउँ ,सहर,कार्यालय र शासनकेन्द्रहरू
बल्लतल्ल उभिएकाछन् टेकोको भरमा
दलालहरू,बिचौलियाहरू,नाफाखोरहरू र कालाबजारियाहरू
सबै सबै एक से एक टेको बनेर उभिएकाछन्
झुक्नु टेकोको सँस्कारमा पर्दैन
ठडिएर अर्काको शरीरमा सिँगौरी खेल्नु उसको धर्म हो
टेकोले शुरूमा ढोग गर्छ
ढोगेर पुर्पुरो जोडेको ठाँउँमै घाउ बनाइदिन शुरू गर्छ
सियो बनेर पसेर फालि बनेर निस्कन
खप्पिस छन्
शहर र गाउँका टेकोहरू
बाली रक्षाको जिम्मा बारलाई दिँदा
बारलेनै बाली खाइदिएजस्तो
काँक्रो सपार्न थाँक्रो दिँदा
थाँक्रोलेनै सबै काँक्रो मुठ्ठीमा पारेझैं
सहारा खोज्नेहरूलाईनै
घर न घाटको बनाइदिँदैछन् टेकोहरूले
टेकोहरूको बिश्वास पर्दा
कयौको बिग्रियो घरबार
कयौको बिग्रियो ब्यापार र राजनीति
जोसुकै उभिन खोजेपनि
ब्वाँसोले फकाउँदै आन्द्रा चपाएजस्तो
उभिनेहरूलाई म्वाइँ खाएझैं गरेर
सिँगौरीखेल्न जम्जमाइहाल्छन् टेकोहरू
टेकोको भरमा उभिनेहरूलाई
मन पर्दैन सँसार बदल्ने कुरा
विश्वासमा पहिरो गएकोछ उनीहरूको
कार्यालयहरूमा खम्बाहरूभन्दा
टेकोहरू जम्जमाइरहेछन्
टेकोहरू खम्बाको गुद्वारमा आफ्नो शिर टेकाउँन पाएपछि
लात्तिले हानिदिन्छन् खम्बा वरिपरि जान खोज्नेहरूलाई
तपाईँ पुग्ने हरेक केंन्द्रमा
भेट्नुभएकै होला
मुख्य खम्बाहरू सुधो बकुल्लोझैं
एकखुट्टा लुकाएर
अर्धमुदित नयनले काला पन्नाहरू नियालिरहेका
टेकोहरूले भने
जोसुकैलाई भुक्दै र कोपर्दै रगतपच्छे पारिरहेका
खम्बा भएन भने
अथवा,खम्बा आफैँ उभियो भने
नामेट बन्नुपर्नेछ भन्ने राम्ररी थाहा छ टेकोलाई
आफ्नै खुट्टामा उभिनेहरूको
वरिपरिनै पर्दैनन् टेकोहरू
टेको बिना हिड्ने र उभिने खम्बाहरूलाई
सत्तोसराप गर्छन् टेकोहरूले
आफ्नै खुट्टामा उभिने बिरूध्द गरूड़ पुराण लगाएर
टेको चाहनेहरूको प्रशस्ति गाइरहन्छन् टेकोहरू
टेकोको भरमा
कतिन्जेल टिकाउँने महाशय स्वाभिमान
नयाँ निर्माण नगरी टालटुलले मात्र चल्दैन जिन्दगी
आफैँ उभिन आनकान गरेपछि
कतिन्जेल उभ्याइदिन्छन् र टेकोहरूले
हे बहुरूपि टेकोहरू
तिमीहरूनै हो मेरो जिन्दगीका धमिरा
सारा टेको मासेर
आ -आफ्नो खुट्टामा उभिनुपर्छ
आजका मान्छेहरूले
होशियार
ईश्वर पनि
एउटा चटके टेको बनेर उभिइरहेछ
हाम्रै जिन्दगीको वरिपरी
-२०७६ जेष्ठ २० गते सोमबार
ग्वँग:बुँ,नयाँबसपार्क,काठमाडौ
Keshav Baniya – Tesro Satya
केशव बानिया – तेस्रो सत्य
पार्थिव शरीर लिएर,
प्रकृतिमा डुलीरहदा ,
सायद यी मात्र संसारिक सत्य हुन् कि,
ठानेको मेरो दिमाग,
जब,
अनुभूति हुन्छ,
वायु को कमि,
फोक्सोका लागि मेरो,
एक्कासी,
मुखमा राम राम निस्किन्छ,
अनि,
अन्योलमा पर्दछ,
कोहि त् तेस्रो हुने पर्दछ भनि |
भाग्य र कर्मले सिचिएको ,
मेरो जीवनमा,
प्रवृति रहेन मेरो,
अरुको मुख ताक्ने,
तर,
सासले जमिन छुन लागेको बेला,
आशले धर्ति छोड्न लागेको बेला,
एक तेस्रो चाहिने रहेछ,
दोषी अनि उही मशिहा,
त्यस्तो दोषी,
जसले मेरा नक्षत्रका,
सम्पूर्ण दोष,
आफ्नै टाउको माथि खनाऒस ,
या मैले खनाउन सकू,
मन खोलेर,
र अनि,
उही संग ,
पिल्पिलाउदै,
आशको पोल्टो फिजाई ,
सास माग्न सकू ,
घुडा धसेर |
फेरी उसले बताओस पनि,
कसैलाई नही |
म एकान्तमा ,
दिलको कोपचामा ,
उसलाई झपार्न सकू,
कि मलाई सतर्क किन नगराएको भनि,
अनि ,
उसैको औला समाई ,
अबको लक्क्ष्य ,
तय गर्ने बाटो नियाल्न सकू,
शिश्यसरी कोहि गुरुको |
सामाजिक प्राणी म,
सबै पर सरदा,
नचिनेझै गर्दा,
एक अर्को अंगालो खोजेको हुनसक्छ,
आशुका थोपा,
जमिएर बसेको,
गरुङ्गो मनले,
मेरो गरुङ्गो मनले,
कसैको ढुकढुकी सुनेको हुनसक्छ,
सुन्न: परेका कानहरु ,
केहीमा या कोहीमा,
ज्योतिमय जीवन कोर्ने,
कलाकार,
देखेको हुनसक्छ,
धमिलिए पनि यी आँखा हरु,
र त्यो कलाकार,
त्यहि तेस्रो हो,
मेरो आशाको किरण,
तथा,
मेरो सास को कारण |
उपर हेरिबस्न बाध्य,
कुंवाकोभ्यागुताको सरि,
म,
जीवनमा उफ्रिरहंदा,
हतासियेर,
हरेसिएको भावनाको,
चरम उत्कर्षमा,
पानि भरिएर,
फोक्सो भित्र,
डुब्न लाग्दा,
मेरो दिमागी neurons हरु ,
चल्दा सम्म,
त्यहि दोषीको,
छाती पिटी ,
पर्खिबस्न,
आदेश गर्दछन,
कतै मशिहा बनि आउँछ कि भनि,’
मलाई बचाउन |
Kabin Basnet – Sister
कबिन बस्नेत – सिस्टर !
सिस्टर !
बेड नम्बर तीसको पेसेन्ट फेरि एजिटेटेड भयो ।
छिट्टै जानुस् रे !
सिरिन्ज, भायल र ऐम्पुल
डाक्टरको फोन व्यस्त छ ।
कस्तो आत्तिनुभएको ?
हामीसँग हेलोपेरीडोल एस. ओ.एस मा छँदैछ नि !
अरे सिजोफ्रेनियाको पेसेन्ट हो ।
उसलाई केही भएकै छैन
तपाईंलाई के भयो ?
कृपया नैराश्यका फूलहरुलाई स्थान नदिनुस् ।
यस वार्डमा अरू पनि त छन् –
यिनीहरु प्रत्येकलाई खाँचो छ
‘लेडी विथ द ल्याम्प’का प्रेमिल स्पर्शहरू ।
सिस्टर !
इमरजेन्सीबाट नयाँ पेसेन्ट आउँदैछ।
मेडिकल अफिसरलाई पूर्वसुचना दिनुस् ।
उसलाई अब भर्ना गर्नुपर्छ
बेडको बन्दोबस्त कस्तो छ ?
फलानो डाक्टरको सोसियल केस हो रे !
विशेष हेरविचार गर्नुहोला
ह्यान्ड-ओवर लिनुस् ।
सिस्टर !
हिड्नुस् ।
राउण्डमा जाऔं,
अँ ….यो पेसेन्टको स्याचुरेसन ड्रप हुन सक्छ
विशेष ध्यान दिनुहोला ,
एउटा एबिजी अहिल्यै गरौँ है ।
सिस्टर ! सुन्नुस् न !
रिपोर्ट आएपछि मलाई फोन गर्नुहोला ।
मेनटेन भएन भने आईसियू सिफ्ट गरिदिए हुन्छ ।
अनि, सिस्टर !
यो बुबाको छातीको एक्सरे रिपिट गर्नुपर्छ
दमको रोगले ग्रस्त
हिँड्यो कि सास फुलेर आउँछ भन्नुहुन्छ
बरू सिस्टर , एउटा ह्विलचियरको प्रबन्ध मिलाईदिनुस् ।
सिस्टर !
ड्रेसिङको समय भएछ ।
स्पिरिट-श्वाब, बिटाडिन, गजपीस
एन.एस्, फोरसेप्स, ईजीफिक्स
मृगौला आकारको स्टिल ट्रे
कृपया यता नछुनुहोला
यो स्टेराइल जोन हो ।
सिस्टर !
थाहा पाउनुभो?
बेड नम्बर सत्रको पेसेन्टलाई त बेडसोर भएछ नि !
पेसेन्ट पार्टीहरूले कत्रो जात्रा गरेछन् ,
उनीहरु डाक्टरलाई दोष दिँदै थिए ,
डाक्टरको भनाई अनुसार ऊ त निर्दोष थियो रे ,
पोजिसन चेन्ज गरिरहनु भनेर
ईन्सट्रक्सन कार्डेक्समा दिएकै हो रे !
पेसेन्ट पार्टीहरू अब तपाईंलाई खोज्दै छन् ।
सिस्टर !
आज मेरो छोराको डिस्चार्ज गर्नुपर्ने
किन यस्तो ढिलो भईरहेछ ?
पेमेन्ट गरेको एक घण्टा बितिसक्यो ।
के भन्नुभो ?
डाक्टर टाईप गर्दैहुनुहुन्छ ,
लौन सिस्टर , छिट्टो गरिदिन भन्दिनुपर्यो
हामीलाई धेरै टाढा जानुछ ।
सिस्टर ?
हामी हाम्रो बिरामीलाई अन्तै लैजान्छौँ,
आ …….कति राख्नु !
कति खानु त्यै औषधी , निको हुने होइन
डाक्टर पनि उस्तै
कति भाउ बढेको
खुलस्त कुरै नगर्ने
पैसाको मात्रै सत्यानाश
हैन , सुन्नुभएन र?
सिस्टर ?…….सिस्टर ??
Padam Bhandari – Phool Khojne Pari Rojne Ko (Nepali Gajal)
पदम भण्डारी – फूल खोज्ने परी रोज्नेको (नेपाली गजल)
फूल खोज्ने परी रोज्नेको, कुरा मजाले काटें मैले
आँफू अर्कै ध्रुवको झैं, आदर्श मजाले छाटें मैले
दुबो जस्तै मौलाएको, सलसलाउँदो हाम्रो साईनो
होइन भन्ने पार्न झूठको, डोरी मजाले बाटें मैले
लुकिछिपी किन नहोस, नियालेर हिउँका थुप्रा
बैरागीको बाँझो मन र, थकान मजाले साटें मैले
फूलको रस चुसिरहेको, देखी डाहा गर्नेहरु
नचाहने सारथीहरुको, दिमाग मजाले चाटें मैले
मनलाई चिथोरेर, बलजफ्ती निचोरेर
साङ्लो चुडाल्न चाहनेहरुको, सत्य मजाले ढाटें मैले
★★★
Yuddha Prasad Mishra – Nyaya Uthyo
युद्धप्रसाद मिश्र – न्याय उठ्यो
न्याय ढलेको ठाडो पार्न
उभियो बबण्डर चर्को
पतनशील अनुहार प्रष्ट भो
प्रतिगामीका धर्को
आजादीका सही दिशातिर
खुले सबैका आँखा
आक्रोशित भै बोल्न पुगे अब
ज्वालामुखीका भाखा
भाग्नु कहाँ अब बढ्दै आयो
जनजागृतिको भीषण ज्वार
उठिसक्यो शिरमाथि कसको
विजयमुखी न्यायिक तरवार
धरतीमाथि उभिनसम्म
यहाँ रगतको लाग्छ जमात
तर छन् त्यसका माथि उठेको
दरा बलिया ब्यापक हात
०४६ भदौ १६
(नौलो कोसेली)
Krishna Sen Ichchhuk – Jail
कृष्ण सेन ईच्छुक – जेल
म पर्खालभित्र छु
तिमी पर्खालबाहिर छौ
म पहराभित्र छु, तिमी पहराबाहिर छौ
म यातना–गृहमा छु
तिमी खुल्ला शिविरमा छौ
सिकारीले बाँधेको छाँद होस्
अथवा त्यो उसको फाँद होस्
के फरक पर्यो र?
मित्र, अर्काको मुठ्ठीभित्र पराधीन जिन्दगी
जहाँ काटनु परे पनि त्यो जेल हुन्छ।
जहाँ जीवन बन्धनहरूभित्र कैद हुन्छ
जहाँ सुन्दर सपना सधैँ अवैध हुन्छ
जहाँ मुक्त आकाङ्क्षाहरू बन्देज हुन्छन्
जहाँ हार्दिक भावहरूमा ठेस लाग्छ
अनि जहाँ बासी हावा बहने दुर्गन्धमा पनि
निर्धक्क सास फेर्न प्रतिबन्ध हुन्छ
बन्दुकको पहरा होस्
अथवा त्यो कानुनको घेरा होस्
के फरक पर्यो र?
मित्र, भयभीत परिवेशमा त्रसित जिन्दगी
जहाँ बाँच्नु परे पनि त्यो जेल हुन्छ।
जहाँ बेला–कुबेला रमन घुमिरहन्छ
जहाँ कारण–अकारण साइरन बजिरहन्छ
सडकमाथि बेलगाम घोडाको टापजस्तै
जहाँ चर्को आवाज गरी मार्च–पास चलिरहन्छ
अनि जहाँ मौसम बेमौसम बारुदहरू गर्जेर
सधैँ रगतको झरी परिरहन्छ
पर्खालभित्र होस्
अथवा त्यो पर्खालबाहिर होस्
के फरक पर्यो र?
मित्र, सधैँ छातीमा चाँदमारी थापेको जिन्दगी
जहाँ गुजार्नु परे पनि त्यो जेल हुन्छ।
उही दिन सधैँ, उही रात सधैँ
उही बिहान र साँझ साथ छ
उही स्वप्नभङ्ग विवश जिन्दगी
उही गतिहीन समय साल छ
निकासबिनाको बन्द तालजस्तै
जहाँ गन्दा समाजसाथ अँधेरो बास छ
कुनै अनाम देश होस्
अथवा त्यो प्रिय स्वदेश होस्
के फरक पर्यो र?
मित्र, उत्पीडित समाजमा पददलित जिन्दगी
जहाँ बिताउनु परे पनि त्यो जेल हुन्छ।
Manu Manjil – Lamp Post
मनु मन्जिल – ल्याम्पपोस्ट
(मधुपर्क बैशाख, २०६७)
निभेर दिनभर उभिन्छु अचेल सडक- किनारामा
बाँच्नै नहुने धेरैजसो दिनहरू बाँचेर
मात्र आयु नाघ्न नसकेर उभिए जसरी ।
यति खराब जिन्दगी पनि अभिनय होइन
यो Continue reading “Manu Manjil – Lamp Post”
Bhira Khadka – Mero Jeewan Ra Hitler Ko Gas Chamber
भीरा खड्का – मेरो जीवन र हिटलरको ग्यास च्याम्बर
मनस्थितिका
हरेक
बिचाररुपी मेरा
येहुदी सिपाही हरु
ग्यास -च्याम्बरमा खादिएका छन,
हिटलर बनेको
मेरो नश्वर काया
मानसिक अन्तर्द्वन्द बीच बन्धित
मेरो अस्तित्व
स्व-आत्माको लाचारिमा
अट्टहास हासो सहित
ताण्डव नृत्य गर्दै छ /
आफैलाई कैद राख्न
म बाध्य छु
घुटघुटी लिएर जीवन मर्न
म विवस छु,
तेसैले
आफ्ना बध्यताहरुलाई
विवशता हरुलाई
निस्शासिएर
अन्त्य गराउन
मन्जुर छ मेरो मानसपटल
च्याम्बरमा
हिटलरको ग्यास च्याम्बरमा