Madan Sitaula – Jindagi Ma Naulo Kaam Garna Banki Chha

मदन सिटौला – जिन्दगीमा नौलो काम गर्न बाँकी छ

जिन्दगीमा नौलो काम गर्न बाँकी छ
तिम्ले जस्तै मैले माया मार्न बाँकी छ
खाको सबै कसमहरु तोड्नु पर्ने छ
लाको माया तिम्लाई मैले भुल्नु पर्ने छ
तर माया तिम्रो म
तोडु कसरी, म भुलु कसरी!!!!

आधी बाटो हिड्दा हिड्दै तिम्रो साथ छुट्यो
बाध्यताको भुँमरिमा मेरो माया फस्यो
तिर्सना कती धेरै समालेको मनमा
आँगो लागे जस्तै भयो थुप्रीएको खरमा
जिन्दगीमा नौलो काम गर्न बाँकी छ
तिम्ले जस्तै मैले माया मार्न बाँकी छ

शंका थियो नजर लाग्छ हाम्रो मायाको
डर मात्रै लाग्थ्यो मलाई अन्जान छाँयाको
चञ्चलतामा मुस्कुराँको पललाई सम्झन्छु
याद आउँदा तिम्रै नाममा आँशु झार्दछु
जिन्दगीमा नौलो काम गर्न बाँकी छ
तिम्ले जस्तै मैले माया मार्न बाँकी छ
खाको सबै कसमहरु तोड्नु पर्ने छ
लाको माया तिम्लाई मैले भुल्नु पर्ने छ
तर माया तिम्रो म
तोडु कसरी, म भुलु कसरी!!!!

२०६९ चैत्र १ गते

Ramesh Gautam – Bidai Ko Bela

रमेश गौतम – बिदाइको बेला

उभिएको छु
गतिहीन
एउटा उष्ण बगरमा

नियालिरहेछु
माछाहरुको क्रीडा
उष्णता र पीडा!

स्थिर पानी
र पानीको स्थिरता!
सामुन्नेको झाडीका
चराहरुको चिरी-बिरी!

गोमन चालहरु!
न्याउल पीडाहरु!
एक साथ हेरिरहेछु
मूल्यांकनका नयनहरुले
सुस्ताएको छु
निस्ताएको छु
जीवन बँचाइको
सायद् नियमितता-
नीसताहरु
मार्गहीनताहरु
निकाशहीन गुम्स्याइहरु
आत्मदाहका सीमाहीन पीडाहरु
पोखिएका छन्
एक साथ
भूगोलहीन अस्तित्वमाथि।

लामो समयको तपस्यापछि
प्राप्त वरदान-
नमीठो जीत
जीवनका भोगाइमा
उन्माद-उमंगमाथिको आक्रमण
दीर्घकालीन हारहरु!

आत्मसमर्पण गरेको एउटा गुरिल्लाजस्तै
निन्याउरो अनुहार लिएर
आक्रमण्कारीका सामु
निदाएको छु एउटा जर्जर निद्रा-
दिवास्वप्नमा निमग्न बनेर
हर क्षण भिज्ने गरेका अभिशप्त रातहरु
सडकजस्तै पीडाहरु
आत्मग्लानिहरु
एक साथ
पोखिएका छन्
जीर्ण-रुग्ण मानसिकतामाथि।

उडिरहेछन्
चिल र गिध्दहरु
गुन्जिरहेछन्
निर्मम बाघ-गर्जनहरु
बर्बर छन् पाइलाहरु
जर्जर छन् सपनाहरु
अग्निपरीक्षाहरु
पूर्वघोषित असफलताहरु
अट्टाहस गरिरहेछन्
एक साथ
व्यंग्यपूर्वक।

शिवालायका शंखध्वनिहरुबाट
मन्दिरका घण्टआवाजहरुबाट
चर्चका मंगलकामनाहरुबाट
त्रसित-त्रसित एउटा विस्तृति
बाँचिरहेछ
शताब्दि-सन्दर्भहरु।
थिचेको छु
कैयन चोटि आफैंलाई
लघुताभासले
च्यतेको छु
कैयन चोटि आफ्नै हृदय
परीक्षाका कठोरताहरुले
यद्यपि
बाँचेको छ एउटा पल
मरुभूमिको एक ग्लास पानी
एउटा अमुर्त मुस्कान
अगम्य-अस्पष्ट स्वर्ग सुखानुभूतिहरु
दूर क्षितिजमा चम्कने तारा-सुन्दरताहरु
खण्ड-खण्ड बाँचेका छन्।

अद्यापि बगेको छैन त्यो पानी
म एक्नाश नियालिरहे छु
माछाहरुको क्रीडा
एउटा उष्ण बगरमा उभिएर
सुनिरहेछु भ्यागुताहरुको ट्वार्र-ट्वार्र
र हेरिरहेछु गोमन सर्पका चालहरु।

यही समय
शंख बजेकोछ एकोहोरो
सायद् कसैको म्रृत्यु भएको हुनु पर्छ-
म तर्सन्छु-
मेरी आमाको क्रन्दन सुनेर
म आत्तिन्छु-
मेरी दिदीको रोदन सुनेर
म डराउँछु-
मेरो भाइको चिच्चाहट सुनेर
सयद्
मेरै म्रृत्यु भएको हुनु पर्छ………

उही बगरमा उभिएर नियाल्छु-
पानी अझै बगेको छैन
त्यो स्थिरता उस्तै छ
यति बेला
विदाइको अन्तिम हात हल्लाउँछु
त्यस बगरलाई
सधैँकालागि ।

नर्वे

Manisha Awasthi – Sunaulo Ek Bihan

मनीषा अवस्थी – सुनौलो एक बिहान

सुनौलो एक बिहान
आशालाग्दा किरणसंगै झुल्किदा
आमाको काखमै कुस्ती खेलिरहेका हामी सन्तान
सन्तानसामु निरिह बनेकी आमाका आँखा
रसाएछन् क्यार तप तप
खुशी र पिडाको मिश्रण लिएर
भुल्किएको बिहानसँगै
फुस्री अनि सेताम्य फुलेकी मेरी आमा
फेरी एकपटक सबैसन्तानलाई अंगालो हालेर च्याप्ने
झिनो आशा होला सायद
सकिनसकी अर्धखुशीका प्याला झार्दैछिन तप तप
प्याला बोकेर आएको त्यो बिहान
सधैंभन्दा थोरै भिन्न
तर दाजुको खुशियाली म बेखुशी भएर रुँदा
उनि खुशी कि दुखी बुझ्नै सकिन
मात्रै देखे परेलीमा छचिल्किएको तप तप
वर्षौ भएछ क्यार दाजूभाई बिरानिएको
एकै थालमा भात नखाको
आमाका दुबै हात तान्दै नखेलेको
सायद त्यहि आशामा होलिन
भावविह्वल बन्दै तप तप

Kunta Sharma – Fedi Lai Birsanchha Manchhe

मेरो मान्छे – फेदीलाई बिर्सन्छ मान्छे

शिखरमा रहँदा
शिखरको उँचाइलाई सम्झन्छ
मानिस आफ्नै उँचाइ
आफ्नो तुलनामा
अरू सबै बाउन्ने
र अर्थहीन लाग्छन् उसलाई
अरू सबै अस्तित्वहीन
र नगण्य लाग्न सक्छन् उसलाई
अनि ऊ बिर्सन पुग्छ फेदीलाई ।

शिखरमा हुँदा
वरपर झक्तजनहरूको भीड देखेर
गौरवान्वित हुन सक्छ अभिमानले
बिर्सिएर शिखरकै कारण
अग्लो हुनुको वास्तविकता
अनि बिर्सिएर आगत र विगतलाई
अनुशासनहीनहरूको भीडभन्दा
बिर्सेर एउटा असल साथी
महङ्खवपूर्ण हुने कुरालाई
वास्तवमा शिखरले बिर्साइदिन्छ
मानिसलाई वास्तविक उँचाइ
अनि ऊ बिर्सन पुग्छ
शिखर सधैँ एउटैको नहुने कुरालाई
फेरि पनि फेदीमा फर्कनुपर्ने कुरालाई ।

शिखरमा पुगेपछि
मानिसले भुसुक्क बिर्सन्छ
उसले तय गरेको कठिन यात्रा
उसले खेपेको आँधीबेहरी
उसले स्पर्श गरेका मृत्युका
चिसा हत्केलाहरू
हातेमालो गर्दै हिँडेका
सहृदयी साथीहरू,
आत्मीयजनहरूलाई ।

शिखरमा पुगेपछि
आफ्नो तुलनामा
अरू सबै
निकम्मा लाग्छन् उसलाई
अरू सबै निकृष्ट,
अर्थहीन लाग्छन् उसलाई
मानिस भुसुक्क बिर्सन्छ
आफूले तय गरेको कठिन गन्तव्य
आफूले खेपेका आँधीबेहरीहरू
आफूले स्पर्श गरेका मृत्युका हत्केलाहरू
कठिन यात्रा, सहृदयी साथीहरू
ऊ सबै इतिहास बिर्सन्छ
मूल्य र मान्यता बिर्सन्छ
शिखरमा पुगेपछि
शिखरमा हुनुको अभिमानले
बिर्सन्छ फेरि पनि
फेदीमा फर्कनुपर्ने कुरालाई ।

Kunta Sharma – Bahini Bidroha Bolchhe

कुन्ता शर्मा – बहिनी विद्रोह बोल्छे

असन्तुष्टि डढेलोजस्तो हुर्किरहेको छ
पानीले प्रज्वलनशील पदार्थको काम गर्छ
घाँसपातहरू सुकेको खरजस्तो सल्कँदै छन्
बन्दी स्वरहरू, उन्मुक्त हुने रहरमा छन्
सम्पूर्ण अहङ्कारहरूका विरूद्ध बहिनी
एउटा युद्धजस्तो हुँकार गरिरहेकी छ ।

असङ्ख्य बहिनीहरूको
सुन्दर सपनाहरूको चिहानमा
बहिनी रातो गुराँसजस्तो फक्रिएकी छ
फूलका पत्रदलजस्ता
उसका कोमल ओठहरू
आगाका लप्का उगेलिरहेका छन्
स्मित मुस्कान भुमरी भएर मडारिँदै छ
खोइ केके भत्कने हुन्
अनि केके धराशयी हुने हुन्
बहिनी निःशब्द परिवेशमा
आँधीजस्तो हुँकार भरिरहेकी छ ।

हेर्छे नाडीहरू, छाम्छे पाखुरीहरू
भेट्छे अद्यावधि
मासुसँगै एकाकार भएका
हत्कडीका नीलडामहरू
असङ्ख्य–असङ्ख्य बहिनीहरू
उपेक्षित भएर बाँचेको देखेकी छ
तिरस्कृत भएर मरेको जानेकी छ
विगत र वर्तमान देखेर सुनेर
कष्ट र झञ्झाबातहरू भोगेर
कुरूप चिन्तनहरूका विरूद्ध
विकृत विषेषणहरूका विरूद्ध
बहिनी उत्तेजित हुन लागेकी छ
पीडा र अपमानको रौरवहरूको विरूद्ध
बहिनी विद्रोह बोल्न लागेकी छ ।

कुलकुलाएर बग्ने खोलाजस्ती
कोमल र शान्त मेरी बहिनी
हिजोआज अशान्त भएकी छ
बखायामको नदीका झैँ
उत्तेजना छर्दै गएकी छ
धेरैधेरै बहिनीहरू
सुन्दर सपनालाई थाती राखेर
मोहक जीवनलाई
परिवर्तनको बलिवेदीमा होमेर गए
कति हो कति बहिनीहरू
जीवनलाई तिलाञ्जली दिएर
अवचेतनाको निद्रामा लट्ठ
परिवेशलाई झक्झकाउँदै गए
यही शृङ्खलालाई कायम राख्तै
कुरूप चिन्तनको विरूद्ध
विकृत विशेषणको विरूद्ध
अदृश्य बन्धनहरूको विरूद्ध
बहिनी द्वन्द्वको संयोजन गर्छे
बहिनी युद्धको उद्घोष गर्छे ।

आँखाहरूले सपना देख्न पाउनुपर्छ
भाषाहरूले स्वर उराल्न पाउनुपर्छ
बन्दी हुनुहुँदैन आकाङ्क्षाहरू
छेकिनुहुँदैन, थुनिनुहुँदैन प्रवाहहरू
उराल्नुपर्छ विद्रोह, उमाल्नुपर्छ आक्रोश
फेरि पनि अग्निदाह हुने हुन् कि
छोरी, नातिनी र पनातिनीहरू
फेरि बन्दी हुने हुन् कि स्वतन्त्र अभिव्यक्तिहरू
फेरि पुनरावृत्ति हुने हुन् कि
कुरूप मान्यताहरू
खबरदार गर्दै हिँड्छे बहिनी
असहजतासँग भिड्दै हिँड्छे बहिनी ।

बहिनी चिच्याउँदै भन्छे
मस्तिष्कमा षड्यन्त्र
अझै बाँचिरहेको छ
मनमा कलुषित भावना
अझै लुकिरहेको छ
युद्ध रोकिन हुँदैन एकछिन पनि
गति थामिन हुँदैन एक निमेष पनि
सम्भावना
कुनै पनि बेला यथार्थमा फेरिन सक्छ
शिशिरजस्तो नबनोस् जिन्दगी
बहिनी झसङ्ग, तर्सन्छे
कुरूपतामाथि नराम्ररी बर्सन्छे
स्नेहसिक्त आँखाहरूबाट बर्साउँदै
आगाका लप्काहरू
बहिनी आँधीको हुँकार गर्छे
डढेलाको चित्कार गर्छे
चुँडाउँदै दासताका फलामे साङ्लाहरू
बहिनी नयाँ युग निर्माणको
शङ्खघोष गर्छे
बहिनी नयाँ गन्तव्यको
शुभारम्भ गर्छे ।

बहिनी अझ प्रज्वलनशील बन्छे
झन्झन् उद्वेलित स्वरमा आक्रोश पोख्छे
“आऊ ! हामी आफैँ विवेचना गरौँ
कष्टकर अतीत र चुनौतीपूर्ण वर्तमानको
छाया होइनौँ हामी कसैको देहको
लाचार लत्रने लहरा पनि होइनौँ
धरतीजस्तो सहनशील भएर
असमानताका क्षार समुद्रहरू पिउँदै
अपमानका पहाडहरू छातीभरि बोकेर
समयका अन्तहीन हिँडाइहरूमा
सधैँसधैँ झञ्झाबात र पीडाहरू भोगेर
“कति बाँच्ने सधैँसधैँ लाचार भएर
कति रहने हरेक समय पददलित भएर
सबै शिखरहरू होचा हुन सक्छन्
दृढ पैतालाहरूका सामु
बिलौनाका हतियारले असमानताका
पहाडहरू ढल्दैनन्
बलिन्द्र धाराले
युगीन समस्याहरू पखाल्दैनन् ।”
धक्का दिन्छु भन्दै पाषाण पहाडहरूलाई
बहिनी चक्रवातले जस्तै हुङ्कार गर्छे
बहिनी ज्वालामुखीजस्तो आगो उगेल्छे ।

बहिनीले विगत पढेकी छे,
वर्तमान पढेकी छे
रगतले कटकटिएको
इतिहासका पाना पढेकी छे
षड्यन्त्रका कथा पढेकी छे
अत्याचारका अध्याय पढेकी छे
ऊ आक्रोशित हुँदै भन्छे–
“दुख्ने मन सबैको हुन्छ
चस्चसाउने आहत हुने मुटु सबैको हुन्छ
मीठा सपना सबैका आँखाहरूले देख्छन्
आत्मीय भाषा सबैको चेतनाले खोज्छन्
तर भएन, अब नचलमलाई भएन
युगको विकार यसै–यसै गएन
दुत्कार गरौँ, विद्रोह गरौँ
लडाउनैपर्छ
चिसा अनि काला पहाडहरू
उज्याल्नैपर्छ
खोँच अनि सेप्यानहरू
उठौँ, अब उठौँ
अब अदम्य साहस लिएर उठौँ
आफ्नो भविष्यको निर्माण
आफैँ गर्न जुटौँ
आफ्नो जीवनमार्गको चयन
आफैँ गर्न उठौँ
आक्रोशित हुँदै आँखाहरूबाट
झिल्का उडाउँदै
सम्पूर्ण अर्कमण्यताहरूको विरूद्ध
बहिनी तीव्र गर्जन गर्छे
बहिनी विद्रोह बोल्छे ।

Laxmi Prasad Devkota – Ek Sundari Chyamini Prati

क.

स्याबास क्या ढकमक फुली !
दिव्य अपवाद !
संगमरमरमा ढली छौ
धन्यवाद !

ख.

वीरताको चरमचुली
यो जनानी !
कुन कविले गायो फुली
यो कहानी
ए कुजात रानी !

ग.

गन्ध, मलले व्योम छुन्न,
नर कुहुन्न
देखियो यो लौ तिमीमा !
मानवकिरणले मार्ग पायो
नाघी तमको
घोर सीमा !

घ.

क्या गिज्यायौ धम्र्म, मन्दिर
अन्ध बार
यस्तो दिव्य व्यङग्य पाएँ
आज मैले,
एक बार !

ङ.

ढुङ्गा फोर्यो फूल–जराले फक्रिन
समाजको यो चट्टान टुक्रँदो पक्रिन !

च.

अछूतता धोयौ गजबसँग,
जुग पखाली !
जातिकी ए तीर्थ ! छुन्छयौ
स्वजन उचाली ।

छ.

ए पुरोहित हो ! न छोओ !
पिउ रे सुस्त !
तिम्रा पाषाण मूर्ति चिरी यी
विभूति मुस्किन्,
व्यङ्ग्य–मस्त !

ज.

मानवआत्माले लडाइँ
यस्तो जितेको देखिनँ
लङ्का औ कुरुक्षेत्र फुस्रे
कस्तो महायुद्ध ! मानवात्मा
यो नराङ्कुर उत्रिन ?

झ.

हाम्रो यो बदली गगनमा
फारी पङ्क
चाँद कमल क्या पीयूष फुल्छयौ
कृत्रिम कलङ्क !

ञ.

छोइदेऊ सारालाई
एकछत्तै !
मोहनी हे ! कीरा झल्लर
शास्त्र पारी
सब बिपत्तै

ट.

तिम्रो सुख हो विजय अद्भुत
एक झलकले कुइरो फार
सुन्दर नै जिउँदो सुधार हो,
विश्व–द्योतक एक जुहार हो,
हृदयस्पर्शी युग–पुकार !
आँखा मिचून् सब,
गन्धे झारका फूल सेखी
झार ! झार !

ठ.

मोहिनी ! लेऊ कुचो एक
सडक बढार,
“मानव जिउँछ ! नाली जित्छ !
यत्ति प्रसार ! ”

Durga Lal Shrestha – Sundarman [Bal Kabita]

कत्ति जाती, केश काट्ने
नाउ- सुन्दरमान !
हातै नरम उसको फेरि
कामै ‘टु इन वान !’

कपाल काट्दै छाँट्दै गर्दा
त्यसको साथैमा,
मज्जा पनि दिने गुन छ
उसको हातैमा ।

कटर्-कटर्, कटर् -कटर्
कैंचीको आवाज,
लठ्ठ पर्छु गुन्जिएझैँ
मीठो साजबाज !

यस्तो लाग्छ, लेटाएर
मलाई झुलामा,
झुल्झुलाई, लोरी गाइ-
रैछिन् कि आमा ।

२०५८ चैत १७

Laxmi Prasad Devkota – Jitnu Chha Saathi Jilaunu Chha Saathi

क.
भूतकालका भूलहरु छन् !
शूलहरु छन् !
क्षेत्र खराब छ ! कष्टहरुको घुइँचो छ !
स्थितिमा थिचो र मिचो छ !
छाती ठोक ! तर,
दम रोक !
‘जित्नु छ’ यत्ति घोक !
तिम्रा मुखमा बादल लागे
हाँस्ला कसरी फेरि लोक ?
दिल रोएको अरुले सुन्लान्
ताल्चा मार ! नउघार !
आँशु पिईकन, मुस्की गर्नु छ ! यत्ति विचार ! यत्ति विचार !

ख.
मरे शरापी कैयन् पुस्ता,
झार पहेँला जस्ता,
यी शोषक, यी बाधक, वेधक,
सशस्त्र राकस रुखलाई !
जसको छाया चिसो, कालो,
जल्ले छेके उज्यालो !
कसले गन्ला यी अतिभक्षक
—हरुले दिएको दुःखलाई !
बूढा, पुराना कीटहरुका घर !
जर्जर !
मकाइरहेछन् भरखर ! तर, तर,
गहिरो, गहिरा जरा छ,
विस्तृत, विस्तृत,
शोषिरहेछ भूमि उर्वर !
शकिन्न भन्ने निराश नधार !
माली ! जमीन सुधार !
उत्तम बोट उमार !

ग.
धेरै मर्छन्, थोरै बाँच्छन् !
ठूलो माछा न्यायाधीश छ,
थोत्रो घरका बलिया खम्बालाई लान त !
तिम्रो, मेरो यसमा रिस छ !
घूस खाई क्रान्ति मरी सब !
पूँजी पिस्छ !
हाम्रो जीवन दिनदिन दुःखको
चक्की घिस्छ !
यो जिउनुमा ढीलो विष छ !
सुधन्न भन्ने कति मोटाए,
वन–शूकर !
सुध्रन्छ भनीकन दुब्ला बन्दा,
भोका हामी,
लड्दा हामी
खाइरहेछौं ठोकर ठोकर !
हामी भू–सर !
यो त्यही दुनियाँ हो हे साथी !
जल्लाई भन्दछन् अरु ती अन्धा,
सुन्दर, सुन्दर !

घ.
खडबड, खडबड, गडबड, सडकमा
कानो ड्राइवर !
घजघच थर्थर, जर्जर मोटर !
दम खुस्केको ढीलो पाङ्ग्रो !
मिचिने गरीब !
यही हो हाम्रो नसीब !

ङ.
अधमराको यस नगरीमा
ह्वाँह्वाँ छ !
दुनियाँका सब पापी जन्मी,
तरिरहेछन् वैतरणी
मिठयाइरहेछन् मुख तर कोही
तिनको स्वर्ग यहाँ छ

च.
जादूगरको हातले फार्नु छ,
यो कुइरो !
लम्पा एउटा घोटुँला !
निस्कून् डकम्र्मी धुइरो !

छ.
चढाऊ निरन्तर ! चढाऊ निरन्तर !
पसिना छ !
हिउँ पनि झर्छ ! असिना छ !
सारा क्षण तर शहीद बनाऊँ !
विज्ञापन पो कमिना छ !
पलपल मृत्यु मीठो हुन्छ !
विजयाभ्यास जहाँ छ !

ज.
मानवजति ! मानजातिमा !
हाउ ! नओर्लोस् !
उक्लोस् माथि !
दिनराति !
हामी मर्नु छ ! उसको जिउनु
कति जाती !

झ.
मध्यरातमा पुतली, पुतली,
बत्तीवरिपरि नाची, नाची,
मृत्यु डरायो, साथी ! धरामा
तिनका जलेका पखेटा साँची
सभ्यता भै यस्ती धनी रे !
निराश क्षणमा मन मुटुलाई !
“मृत्यु अमृत हो ! चल् लाछी !”

ञ.
हो, हो ! सत्यले कदर नपायो !
मिथ्या भायो,
थितिले विष नै फायो !
सत्ययुगमा पनि सङ्घर्ष थियो,
त्यही डाक्टरले,
औषधिपत्र लेखायो !

ट.
बाङ्गा, टेढा हर छन् हाम्रा !
हावा, पानी, किरण कमी !
ठुला नहुन् तर पूmल छन् हाम्रा !
स्वदेश–सुगन्ध ! सुँघन गमी !
जिउँदा, ताजा, बीज छन् राम्रा !
उम्रे केही, माटो फाटी !
फस्टिरहला पूmलजाति !

ठ.
मृत्यु भनेको सानो निद्रा,
एक थकाइ !
हामी मुक्ति चाहन्नौं रे !
बिउँझी आउँला ! बिउँझी आउँला !
नधकाई !

ड.
चट्टान–चिरा, पर्वतढलका, हामी जलका,
हूल हूँ बलका !
हाम्रा धावन–सङ्गीतहरुले, पगला पगला
युग, युगमा हे साथी !
मचाइरहलान् दिव्य तहलका !

ढ.
विश्वरथका हामी तनुवा !
लड्दा, बढ्दा !
छुट्दा, भरिँदा !
अमर, अनि, श्रमी,
मनुवा !

ण.
परिस्थिति यो गरीब हुनाले हामी धनी !
स्वर्ग बनेको छँदै छ गरीब ती देउताहरुकन !
साहाराका माली हामी !
हाम्रो बनाउनु यो तल्लो
महामरु रे अवनी !

त.
शून्यलाई हाँक्नु छ आज !
जङ्गली सब हाँस्नेछन्, तर
हामीलाई केको लाज ?
भनिदेऊ हामी ईश्वर हुँ !
कल्पी, शिल्पी, गरिरहेका हात,
अगोचर, अज्ञात !
व्यापक विराट् !
कुइरा उपर तर हेर उडेका
सफेद चराहरु, हाँसी खिल्ल !
किनकि, फिलिङ्गो स्वर्गको टिप्न
ती उड्दा छन्—
शुन्यमा ती किन उड्दा छन् ?
दुनिया जिल्ल !

Yuddha Prasad Mishra – Ukhadindai Chha

युद्धप्रसाद मिश्र – उखाडिंदैछ

प्रचण्ड निम्न वर्गमा उठी उठी बहादुरी
विपन्न पूँजीवादीता छ भत्कँदै गयो धुरी

बुझिसक्यो मनुष्यका दिमागले सही कुरा
अकाट्य देश मुक्तिको खुलिसक्यो दिशा पूरा

गरीब वर्गको रगत् निचोरने प्रथाहरू
छ नासिदै पुराण मन् गढन्तका कथाहरू

विकासशील चेतना सधैभरी छकिन्छ र ?
उखाडिदै पूजारीको छ पूजनीय पत्थर

२६ अगष्ट १९८१

Rakesh Karki – Colorado

राकेश कार्की – कोलोराडो

जमेका ति झरना
जमेकै ताल साना
घुमेको पहाडी बाटो
सिमभन्ज्याङ झैँ कोलोराडो

हुस्सु छिचोल्दै रविको किरण
यत्र तत्र कुद्छन् हरिण
हाम्रो परीवार चढेको गाडी
बढ्दै गयो माथी माथी Continue reading “Rakesh Karki – Colorado”

Yatri Shekhar – Hamro Biwasta

यात्री शेखर – हाम्रो बिवशता

सन्त्रास्त वातावरण
पिडीत र जलित मन
चाहना होइन
बाध्यताले किचेपछि
आवश्यकता पनि अर्थहिन भइदिदो रहेछ।
बद्नामीका खोलहरु
हामी ओढीरहेका छौ
तर, हाम्रो चाहना
त्यो आढ्नु थिएन
दुर्वल Continue reading “Yatri Shekhar – Hamro Biwasta”

Sabitra Kafle – Ankha Ma Fule Ko Jeevan

साबित्रा काफ्ले – आँखामा फुलेको जीवन

धानखेतमा
शिला खोज्दै,
उकालो लागेका,
झुमा र मारुनीहरु
सुनकोशीमा रोप्छन
बैशका रङहरु।

फुङ्ग उडेको,
कुपोषीत अनुहार
पारिजात जस्तै,
हतासमा झरेका
उत्कण्ठा,
सम्हाल्न Continue reading “Sabitra Kafle – Ankha Ma Fule Ko Jeevan”

Diyesh Ratna Shakya – Nakhane Manchhe

दियेश रत्न शाक्य – नखाने मान्छे

म भन्छु
यो दुनियाँमा मान्छेका
मात्र दुई जात छन्
खाने र नखाने
खाने याने भरपेट खाने
नखाने याने भरपेट नखाने

खानेहरू जब
यो जमिनले उमार्ने/नउमार्ने
सबैथोक पचाउन समर्थ हुन्छन्
तब सोच्ने गर्छन्
यो दुनियाँको भएभरको उर्जा
उनीहरूसंग छ
यसैले उनीहरू अधिपति हुन्
यो नयाँ समयको
जसको सापेक्षतामा
खान नसक्ने/भरपेट खान नसक्ने
अक्षमहरू
ताकतबिहिनहरू
पछाडि धकेलिनु
वा न्यायबिहिन हुनु कुनै अनौठो हुँदैन

म देख्दैछु
एउटा नखाने मान्छे
मेरो देशमा
धेरै अघिदेखि चलेको
यो प्रचलन विरुद्ध
उभिंदैछ
र धावा बोल्दैछ
कि नखाएर पनि
स्वार्थको/शक्तिको स्वनामधन्य सत्ता
हल्लाउने ताकत
उमार्न सकिन्छ
उफार्न सकिन्छ

म यो के अचम्म देख्दैछु
राष्ट्रिय सुबिधा भोगेर
हुनेखाने बनेका महानायकहरू
कस्तरी त्रसित बनेका छन्
कस्तरी कम्पित बनेका छन्
यो नखाने मान्छेको
‘मसिनु ‘ताकत अगाडि
‘मसिनु’साहस अगाडि
‘मसिनु’आवाज अगाडि
जस्तो कि उनीहरुले देखिरहेका छ्न्
एउटा निराहार
एउटा परिशुद्ध मनमा
धेरै सफा मनहरूबाट
हुलका हुल उर्जा
स्थानान्तरण भइरहेको छ
सन्चित भइरहेको छ

ओ! सामाजिक न्यायलाई
आफ्नो औंलामा नचाउनेहरू हो
सुन ,कान खोलेर सुन
अब तिम्रो
शक्तिको वजन
ऐयासीको आयतन
घटुवा हुने दिन आएको छ
तिमीले हुर्काएका बेथितिहरू
सर्लप्पै बढार्ने दिन आएको छ
त्यसको
अगुवाइकोलागि
अभियानकोलागि
आफ्नो जीवन धरापमा राखेर
अगाडी उभिएको छ
नखाने मान्छे
बिल्कुल केही नखाने मान्छे

बनेपा,
९८५११५३५३५
९८४००६१४१०,

Krishna Bajagain – Sahar Ma Pasina

कृष्ण बजगाईं – सहरमा पसिना

मगमगाउँछ पसिनाको गन्ध
तिमीले रोपेको फसलबाट
किन ठस्स गन्हाउँछ हँ
सहरलाई तिम्रो पसिना ?

तिम्रो पसिनाको बिरुद्ध
पसल थापेको छ सहरले
बेच्दछ महँगोमा
पसिना भन्दा नमिठो परफ्यूम ।
पसिना भन्दा सुगन्धित
कुन सुगन्ध छ संसारमा ?
परिश्रम भन्दा मिठो
कुन फल छ संसारमा ?
छिनमै हावामा बिलाई जाने
परफ्युम भन्दा
जीवन जगतमा मगमगाई रहने
पसिनाको सुगन्ध सुँघी हेर ।

सहर, मान्छे भन्दा बाठो,
ब्यापार, मान्छे भन्दा चतुर
तिम्रै पसिना सस्तोमा किनेर
रंगीचंगी स्टिकर टाँसेर
महँगोमा बेच्दछ सहर ।
लाज पचेका सहरका मानिसहरु
पसिनाको मुल्य थाहा नपाए जस्तो गर्दछन् ।

सहरका मानिस
पसिनाले नै घाँटी रसाउँछन्
सहरको सबै झिलिमिली
पसिनाकै मोती दाना हुन् ।

पसिनाको स्वाद नूनिलो हुन्छ ।

‘नूनको भारा तिर्न गाह्रो हुन्छ’– परम्परा बोल्छ ।
कसरी बिर्सन सकेका हुन्
सहरका मानिसहरुले परम्परा ?

लन्डन, बेलायत

Shailendra Sakar – Nepal Tyahan Kahin Katai Kehi Namilekai Chha Bhanchha Joshi

शैलेन्द्र साकार – ‘नेपाल, त्यहाँ कहीँ कतै केही नमिलेकै छ’ भन्छ जोशी

अमेरिकामा बसेर देश बिर्सेको जोशी
बियरको नशाबाट एक्कासि
यथार्थमा हाम्फाल्छ
र बर्बराउँछ-
के मेरो देशको कुरा गरेको ?
मलाई थाहा पनि छैन सम्पूर्ण कुरा
कैयौँ कुरा त बिर्सी पनि सकेँ
तर मलाई लाग्छ
त्यो देश संसारको
सबभन्दा ठूलो पागलखाना हो या चिडियाखाना
कि पुरानो सङ्ग्रहालय
त्यहाँ कहीँ कतै केही नमिलेकै छ-
भन्छ जोशी
म कसैलाई दोष दिन सक्तिनँ।
जनता- ती सीधासादा र गरिब छन्
नेता- ती धूर्त र बेइमान छन् अरू देशका झैँ
व्यवस्था- त्यो पनि चाहेकै पाएका छन्
तर किन केही हुन नसकेको त्यहाँ
तर किन नेपालीले गर्व गरेर
म यो देशको नागरिक हुँ भनेर भन्न नसकेको ?
मलाई नेपाल फर्कने कुरा सम्झ्यो कि
नाडी फत्रक्क गलेर आउँछ
नसाहरू थाक्छन्
र अपरिचित त्रासले म काम्न थाल्छु
मलाई थाहा छैन मलाई किन त्यो हुन्छ –
यही देशमा पनि मैले के पो पाएको छु र ?
कुनचाहिँ उपलब्धि हात पारेको छु र ?
के कति सम्पत्ति या समृद्धि कमाएको छु र ?
तर मलाई देश फर्कन पटक्कै मन छैन ।
त्यो देश जहाँ म जन्मेँ
त्यहाँ कहीँ कतै केही नमिलेकै छ
जुन दिन त्यो खोजी होला
अङ्कल !
तपाईँ र म सँगै देश फर्कौला
भन्छ जोशी ।

Sujan Budhathoki – Birodh Garchha (Nepali Gajal)

पुलिसले सधै चोरको बिरोध गर्छ
चोरले सधै त्यो खोरको बिरोध गर्छ,

एउटा बनमान्छे गङ्गलवाट आएर,
अनि मनमन्दिरमा इस्वरको बिरोध गर्छ

त्यो भुडे साहुजी मेरै वाउको भात खाएर,
अनि उन्कै पसिनाका फोहोरको बिरोध गर्छ

भोलि त सबेरै ब्युझन्छ भन्छु तेइ भएर त,
हालसालले पनि सधै पोहोरको बिरोध गर्छ

उनिहरु न्यायन्याय भन्दै कराउछन सडकमा,
तर सरकार सधै उनिहरुकै घोर बिरोध गर्छ

एउटा पागललाइ यार बलत्कारी बनाएर,
तिम्रो अन्धोकुकुरले यहाँ निर्दोषको बिरोध गर्छ

मैले कैले बुज्नै सकिन आखिर यो जिन्दगिमा,
भगवानले पनि किन कमजोरको बिरोध गर्छ?

पुलिसले सधै चोरको बिरोध गर्छ
चोरले सधै त्यो खोरको बिरोध गर्छ

-सुजन

Sujan Budhathoki – Euta Patho

एउटा पाठो

अचानक एउटा पाठो ब्युझिएर
र केही सम्झिएर हेर्छ वरपर
एताउता सुनसान वातावरण
जहाँ उस्लाइ रमाइलो लाग्दैन
र बिरक्त लाग्ने झै गरि
र झन डाको छोडेर रोइरहन्छ
कराएर एउटा डोको भित्र
र हजार प्रयास लिएर
किल्लाहरु तोडेर जब उ बाहिर निस्कन खोज्छ
तर सक्दैन

फेरि
उ रोइरहन्छ ।
बारम्बार आफ्ना निर्दोष आखाहरुमा उसले आज
आफ्नी आमालाइ देखेको छ सायद
र बाघहरुले कुटिल चालहरु रचेर
उसकि बाख्री माउलाइ
अपहरण गरेर गुफाभित्र बलत्कारको सिकार
गरेर मारेका छन
मानोउ कि,
जस्का बाबू परदेसमा पैसा
कमाउन गएका छन
र प्रबासको रित्तो थितिजमा सुस्ताइरहेको
सुर्यलाइ दुरबिन लगार हेरे झै लाग्ने गरेर
पर्खिरहेको कुनै बच्चालाई
भुराचोर आएर उठाएर लान्छ
या ओढारमा बिसालु सर्प आएर उस्लाइ खान्छ
अथवा कुनै चीलले चल्ला बचेरा चेपेर
अस्ति नै उडेका उस्का रहरका चङ्गा जस्तै गरेर
आकासमा उढाएर लान्छ।
र बिधवाको सिउदोको रङ्ग जस्तै
पाखा पखेराबाट एउटा अजङ्ग फुल चुडिएर
गालाका लालीहरु झै
लाग्ने कलिला ओठका खुशिहरु सङै
र फेरि पनि उसै गरि हराएर
एउटि अभागी आमाको जीवनको उमङ्ग
उजाढ उजाडिएर जान्छ।
अबचेतन मनहरुमा
एस्तै एस्तै दृश्यहरु देखेर साहेद
उ रुन्छ र रोइरहन्छ
र जहाँ अब उ घायल मिथ्थाभाष
र भोकाएका अभिलाषाहरु ।
लिएर र फेरि सुटुक्क निदाउनै सक्दैन

सुगसुग आवाज लिएर
र फेरि रुन्छ ।।

उस्कि आमा जस्ले उस्लाइ सुताएर घरमा
र उ निदाएपछि ढोकाहरु लगाएर
बुढी बाख्री माउ झै गरि
उस्कि आमा जो जङ्गलमा
उसका असङ्य चाहनाहरु जस्तै गरि
चर्न गएकी छे,
र साझमा उ ब्युझिएपछि
आफ्ना स्थनहरुमा उस्को लागि
दुधहरु भरेर ल्याउने छे

तर उ अबोध छ जो जान्दैन
र उ निर्दोष छ जस्को चेतना मान्दैन
सुत्नु अघाबै देखेका साथिहरु झै
या
आफ्नि आमालाई नपाएर ?
या बिशाल झ्यालखानाभित्र आफुलाइ
एक्लै एक्लै पाएर ?
होला साहेद
कराएर निर्जिब भाषाहरुमा
उ रोहिरह्न्छ

जस्लाइ भर्खरै उस्ले सपनामा देखेर आएको छ
र ब्युझिएर बिपना रोइरह्न्छ
एउटा सानो पाठो
जो आफ्नी आमाको गर्भमा
सुतेर
भर्खरै भर्खरै पृथ्बिमा पहिलो पटक
पाहिला टेकेको एउटा सानो
नबजात शिशु जस्तै छ !!!!

सुजन बुढाथोकी ।।।।।

Sulochana Manandhar Dhital – Parbati

सुलोचना मानन्धर धिताल – पार्वती

म पार्वती
सत्य पति पाउने पूजामा
समर्पित उमेरले
आज
प्रसादको रूपमा
शिव प्राप्त गरेकी छु !

Sushmita Nepal – U Akash Huna Khojyo

सुस्मिता नेपाल – ऊ आकाश हुन खोज्यो

ऊ आकाश हुन खोज्यो
आकाशले उसलाई भन्यो
तिमी आकाश हुन नखोज

थाहा छ तिमीलाई –
म धर्तीमा फिजिन चाहन्छु
कालाकाला बादलले घेरिन्छु
बादलसँग संघर्षा गर्दै
हावाका हल्का खुट्टा टेकेर ओर्लिन्छु
समुद्र, पोखरीहरुमा,
नदीहरुमा, बग्दै गरेका ससना खोल्सीहरुमा
फूलका प्रतिबिम्बहरुमा
अबोध बालकहरुका
पीडाका आँसुका ढिकाढिकाहरुमा
अनि तिमीमा
विभाजित हुँदैहुँदै जान्छु

खै म कहाँनेर हुन्छु –
एकैसाथ सबैमा खस्छु
तिमी म हुन खोज्यौ भने
यी सबैमा विभाजित हुनर्ैपर्छ
यी सबैमा खस्नुपर्छ

स्वतन्त्र भएर
भावनाका तरङ्गहरुमा
सललसलल कुद्ने तिमी
के तिमी आफँैमा खस्न चाहन्छौ ?
के तिमी यी सबैमा
विभाजित हुन चाहान्छौ ?

Namrata Guragain – Dharan Dekhi Biratnagar Samma

बिहानको चिसो हावासँग कावा खाँदै
दन्तकाली र बुढासुब्बालाई भाक्दै
धरान पाहुनालाई सगुन पस्कने गर्छ
एक्काइसौ शताब्दीको बैभबसंग खेल्दै
आधुनिक भएकोमा गर्व गर्छ
फूल टिप्न भेडेटारसम्म उक्लिदैन
कपालमा गुराँश सिउरिएर
संस्कार जोगाएकोमा गर्व गर्छ ।

खुशी पार्न साह्रै जान्ने छ धरान
इटहरीलाई खुशी पारेर दाल चामल मगाउँछ
धनकुटालाइ खुशी पारेर तरकारी मगाउँछ
न एक चपरी माटो उक्काउँछ न एक आँतर हलो समाउँछ
मसिना चामलमा होस कि कालो दालमा होस
धरान तराइको स्वाद भने जम्मै पाउँछ
सुन्तला मा होस कि कागतीमा
डुकुमा होस कि मुलामा
धरान पाहाडको स्वाद जिब्रोमै झुड्याउँछ ।

इटहरी आधा धरान र आधा विराटनगरसँग रमाउँछ
हलुवा पुरीले मातेको मुख
कहिले कािहं
बासी नै डुकु भेटे पनि
कागती निचोरेर स्वादिलो बनाउँछ
चौरमा बसेर बदमका बोक्रा छोडाउँदै
आउने जानेलाइ हात हल्लाउँछ
चौरस्तामा बसेकोले राजधानीको खबर चाँडै पाउँछ
चित्त नबुझे चोकमै उभिएर जुलुस लाउँछ
बुढिखोलाको बुढयौली पनलाइ आफूमा राखेर
सधै दुध लिन बाल्टी बोकेर दुलारी धाउँछ ।

विराटनगर ठूला ठूला नेतालाई जन्माएकोमा गर्व गर्छ
सिन्को भाच्दैन आफू फूर्तिलो देखाउन
गाउलाइ बोलाएर टुडिखेल भर्छ
दिनभरीको काम खोसेर आमसभा गर्छ
नेता खुशी पार्न
सधै सधै गाउँलाई बिर्सिएर गर्व गर्छ ।

भारु स्वादमै मस्त छ विराटनगर
मिनीबसमा चढेर होस कि टेम्पोमा
रिक्सामा चढेर होस कि साइकलमा
दिनभरी ढाट वारी पारी गर्छ
छिमेकीलाइ खुशी पारेर वजार भर्छ
एकदिन पारी ढाट लागे
उसको दाना पानी हराउँछ
रोजी रोटी खोसिने डरले पनि
हरहमेसा विराटनगर
हलुवा पुरीमा होस कि छोलामा होस
समोशामा होस कि जुलेवीमा होस
जोगवनीलाइ खुशी पारेर
आफु विराट भएको महशुस गर्छ ।

मोरंग, हाल: नेब्रास्का, अमेरिका