Krishna Bahadur Chhetri – Anautho Nata

टाढा छु सम्झिन्छन् सबैले
सम्झना गरेका छौं भन्छन्
प्रतीक्षामा बसेका छौं
कैले आउने ? भन्छन्

नजीक हुन्छु बोल्दै बोल्दैनन् क्वै खुलेर
म बन्छु अतृप्त भित्रभित्रै छट्पटिएर

टाढा हुँदा माया हुँदो रहेछ
नजीक हुँदा हेला
म त अल्झिरहेछु
हेर्दै जीवनको अनौठो मेला

Bhupin Byakul – Priya Aankha Haru

भूपिन ब्याकुल – प्रिय आँखाहरु

प्रतिक्षामा रातभरी अनिँदो रहेपछि
मैले थाह पाएँ
कति प्रिय छन् आँखाहरु सपनाको उपस्थितिमा !

मलाई मानिसका आँखाहरु मन पर्न थालेका छन्
आँखाभित्रको गहिराइमा
छद्म सपनाको अराजक नृत्यहरु मन पर्न थालेको छन्
तहतह थुप्रिएका
जीवनका प्रोफाइलहरु
रहरैरहरका अमूर्त आकर्बिम्बहरु
जिजीविषाका बिद्रोही गीतहरु
र मृत्युका मुलायम ध्वनिहरु मन पर्न थालेको छन् !

सपनाहरु त
सबैभन्दा छोटा उत्सवहरु हुन् जीवनका
अरुलाई गलत लाग्नुसँग
यिनीहरुको कुनै साइनो छैन
जस्तो कि मेरी प्रेयसी
म मेरै ओछ्यानबाट बिलुप्त भएर रातहरुमा
तिम्रो कोठामा पुग्छु

कुनै जादुई कथाको राजकुमारझैं
जहाँ तिमी लोग्नेको प्रेमपूर्ण विलय खोजिरहेकी हुन्छौ !

सपनाहरुको मलामी गएर फर्केको साँझ
यस्तो लाग्छ
जीवनले मलाई बिदाईको अन्तिम चिठ्ठी दिएको छ
कति प्रिय छन् आँखाहरु सपनाको उपस्थितिमा !

मेरी प्रेयसी
मलाई तिम्रा आँखाहरु
बिनाकारण कहाँ मन परेका हुन् र ?
ठूलाठूला बदामे भएकाले
वा सुन्दर सेक्स-अपिलहरु भएकाले मात्र
कहाँ मन परेका हुन् र ?
मलाई तिम्रा आँखाहरु मन पर्छन्
किनकि त्यहाँ सपनाहरुको मौन लस्कर छ
असंख्यअसंख्य सपनाहरुको भीडमा
अझैसम्म मेरो प्रतिक्षाको पनि एउटा सपना छ
मलाई तिम्रा आँखाहरु
त्यसै त्यसै कहाँ मन परेका हुन् र ?

तिमीलाई थाह छँदै छ नि
म स्वप्नजीवी मानिस हुँ
रातभरि सपना देखेर दिनभरि बाँच्ने
दिनभरि बाँचेर रातभरि सपना देख्ने !

कति प्रिय छन् आँखाहरु सपनाको उपस्थितिमा !

Sujan Budhathoki – Darshak Ani Fakir Haru

सुजन बुढाथोकि – दर्सक अनि फकिरहरु

मैले सोधे कि सधै सधै एउटै चोक
अनि चोउतारामा बसिरहने
कुनै नोउ जवान तन्नेरी
अनि
एउटा बुडा बालाइ”देखेर
कि सधै एउटै ठाउमा
बसिरहदा के तपाइहरुलाइ
अल्छी लाग्दैन?
तब तिनिहरुले एकसाथ भनेकी
“यो छेवैको सडकमा दिनहु
फरक फरक राम्रा राम्रा बटुवाहरु हिडछन बाबू”
बटुवाहरु”…..

Thakur Man Lama – Manchhe Ko Parichaya

ठाकुर मान लामा – मान्छेको परिचय

मान्छे पहाड बन्छन् होइनन
पहाड बन्ने कोशिश गर्छन्
नसक्नेले पनि सक्छु भनी
कोर्रा कुरा त्यसै पनि हाक्छन्

हुनेसँग सम्पति त हुने नै भए
नहुने पनि छ भन्छन्
कोही किन कोसँग झुक्ने
कोही किन त्यसै झुक्छन्

निर्धोको अगाडि जो पनि
आफुलाई भगवान नै ठान्छन्
भगवान ठुलो उ भन्दा छ माथि
भनी कहिले पो मान्छन्

जातमा तल पर्‍यो
उसलाई नानाथरी गालीले घोच्छन्
मानव सब समान जगतमा
भनी कहिले पो सोच्छन्

बुद्धिमानी भनाउँदाहरु सधै
आफैमात्र जान्ने हु जस्तो बन्छन्
आर्दशवाद सिद्धान्तका कुरा तर
गवाँर मान्छे पनि गर्छन्
सानै नै किन नहोस् जीतमा
जहिले पनि खोक्रो आडम्बर भर्छन
अरुको सेवा किन गर्नु
आइपरे बहाना बिभिन्न गर्दै पर सर्छन

Bikram Subba – Gyanendriya Kabita

विक्रम सुब्बा – ज्ञानेन्द्रीय कविता

आँखा

दशैँ खसिको गर्धन छिनाएर झोक्रिएर बसेको
रक्तरंजित हतियारका क्रुर नक्सा हेर्न छोडिसकेँ
कुकुरबिरालोजस्ता पार्टीका कुर्सि लेनदेनको कुरामा
बबाल झगडाको चुत्थो मिशिल हेर्न छोडिसकेँ
छोरीलाई बिनाअंश रुँदैरुँदै बाबु-आमाले
गरेको कपटी बिदाई हेर्न छोडिसकेँ
चेलीबेटी बेचबिखन संरक्षक
घृणित मन्त्रीको कालो मुस्कान हेर्न छोडिसकेँ
चोरहरूले लेखेको स्कृप्ट मुताबिक प्रहरीले
खेलेको सुरक्षागस्तीको नाटक हेर्न छोडिसकेँ
तर आफ्नो आँखा कतै छोडेको छैन
किनभने, यही धर्तीमा एक दिन
मैले जिन्दगीको सुन्दर रुप हेर्नुछ

कान

अपहेलित कामरेड आफ्नै पार्टीको निँदालमा
झुन्डि मरेको ब्रेकिङ न्युज सुन्न छोडिसकेँ
एक व्यापारीले दरबारीया सम्गलरबारे
बाचन गरेको खुराफाती रामायण सुन्न छोडिसकेँ
एक न्यायमूर्तिले कुनै क्रान्तिकारीलाई सुनाएको
फाँसीको चाणक्य फैसला सुन्न छोडिसकेँ
फिरंगीहरूले तैयार गरेको
यो मुलुकको पार्टपुर्जा बदल्ने सम्झौता
पाँचतारे ह्वस्की टेबलमा सरकारले
दस्तखत गरेको खबर सुन्न छोडिसकेँ
तर आफ्नो कान कतै छोडेको छैन
किनभने, एक दिन मैले पनि
मेरा देशबासीको बिजय गीत सुन्नुछ

मुख

कुखुराको लाशबाट लाछेर तेलमा तारेको
आफ्नै तिघ्राजस्तो साँप्रा
अर्थात फ्राइ चिकन चपाउँन छोडिसकेँ
आफ्नै छातीजस्तो बोसिलो
ह्याकुला खसिको टोक्न छोडिसकेँ
दुरुस्त आफ्नो मुटु कलेजो भुटेर प्लेटमा पस्केजस्तो
राँगाको पेट चिरेर निकालेको भुटुन खान छोडिसकेँ
तर मेरो मुख कतै छोडेको छैन
किनभने, यही मुखले चुमेर एक दिन
पत्तो लाउँनु छ स्वाधीन नेपालको स्वाद

नाक

कुनै दोकानको नाफाखोरझैँ मग्मगाउँने अत्तर
यो जोरनाले नाकले सुँघ्न छोडिसकेँ
रक्सी पसल्नीको गालाजस्तै प्लास्टिकको थुँगामा
सुगन्ध खोज्दै नाक तन्काएर बहकिन छोडिसकेँ
दक्षिणबाट पस्ने कुनियत मिस्सिएको बतासमा
सजिव अक्शिजन खोज्दै लामो सास तान्न छोडिसकेँ
सातसमुद्र पारीबाट प्रेशित व्यापारिक पार्शलमा
मेरो समाजको कल्याणी सुगन्धको आशा छोडिसकेँ
तर मेरो नाक कतै छोडेको छैन
किनभने, मेरो नेपाल कुनै दिन
फुलबारी भएको सुगन्ध मैले थाहा पाउँनुछ

स्पर्श

आफ्नाको अनुहार ओढ्ने ब्वाँसाका सुनचाँदी
यी हातले छुन छोडिसकेँ
नि:शुल्क पाएको अपुताली भाग समाउँछ छोडिसकेँ
मैत्रीको निम्ती भन्दै कुनै हरामीले
बढाएको खतरनाक हात मिलाउँन छोडिसकेँ
मन्दिरमा सँधैँ पाल्नु पर्ने कुनै जवान अल्छी भगवतीका
संवेदनाहिन चिसा पाउहरू सुम्सुम्याउँन छोडिसकेँ
तर मेरा हात कतै छोडेको छैन
किनभने, म अब गाउँ जाँदैछु
र मैले यिनै ईमान्दार हत्केलाले
आमाका पवित्र पाउमा छुनुछ

Shekhar Dhungel – Yo Tihar Ko Jyoti Le

यो तिहारको ज्योतिले
घरको अध्यारो मात्रै होइन
मन कै कालो भगाओस
धनीलाई मात्र होइन
गरीबलाई पनि हँसाओस
दीपको ज्योति झै
समान दृष्टिको ज्ञानले
सबको मनमा राज गरोस
हिमाल, पहाड, तराईका
हामी नेपालीलाई एकताको
सन्देश बाँडिरहोस
मातृभूमिप्रतिको उत्तरदायित्व
सबको मनमा छाओस
यही शुभकामना छ मेरो

Min Dwandi – Mero Jhul Bhitra Ko Sansar

एउटा थोत्रो झुल
धुजा धुजा परेको
पुरानिएर गन्हाइसकेको
एउटा नाम मात्रको झुल
त्यही मेरो झुल
मैले रात काट्ने झुल ।
अनगिन्ती लामखुट्टे, उडुस र उपियाँ
अनि यिनीहरूद्वारा संरक्षित
भुसुना र पुत्लाका दलहरूले
प्रत्येक रात मेरो रगतको होली खेल्दछन्
आफ्ना विषालु सुँढ गाडेर
मेरो शरीरको रगत सिध्याइरहेछन्
मेरो अस्तित्वलाई नै रित्याइरहेछन् ।
एकपछि अर्काको लगातार डसाइले
जब सहनशीलताको बाँध भत्किन्छ
तब बदलाको भावना लिएर दा¥हा किट्दै
ढाडिएको एउटा उडुसलाई पच्याक्क–पिचिक्क पार्न
पिछा गर्दै म बिछ्यौनाको रक्ताम्य क्षेत्रभित्र कुद्छु
त्यसै बखत पछाडिबाट लामखुट्टे र उपियाँले
एकैसाथ प्राण नै लिने गरी डस्छन्
अनि चित्कार छोड्दै
मैले डसिएको ठाउँमा हात पु¥याउँदासम्म
शोषक उडुस
बिछ्यौनाको क्षेत्रभित्रै गायब भैसकेको हुन्छ ।
प्रत्येक रात म यसरी नै डसिंदै गएको छु,
चुसिंदै गएको छु,
अस्तित्वविहीन हुँदै गएको छु,
यस्तै रीतले यहाँ मैले
एउटा जीउँदो युग बिताएको छु ।
यो मेरो गन्हाउने झुत्रो झुललाई
धुने कुरा पनि यदाकदा हुने गर्छ यहाँ
त्यतिखेर
अब त एक निंद सुत्न पाइने भो भन्ने लालसाले
यस झुलको दुर्गन्ध र यसभित्रका तमाम रक्त–पिचाशहरू
पखालिने भए भन्ने आसाले
एकछिन कल्पित संसारको आनन्दमा डुबुल्की मार्नपुग्छु
तर…तर धुने नाममा
वर्षौदेखि जमेको फोहोर पानीमा
बिना साबुन मेरो झुललाई
एकपटक चोपेर मात्र निकालिन्छ
अनि त्यो कथित धुवाइले त
झुलको दुर्गन्ध र यसभित्रका रक्त–पिपासुहरू
धोइनुको सट्टा
उल्टै थपिन्छन् यसमा अमिबा र ब्याक्टेरियाका झुण्डहरू ।
यस्तै कथा–ब्यथाहरू बोकेर
आफ्नै रगतले रंगिएको बिछ्यौनामा
मिर्मिरेको प्रतिक्षामा
म छट्पटाउँदै आइरहेको छु
मैले झ्याउँकिरीको रूवाइ पछिको प्रत्येक पल
भालेको डाको सुन्न हतारिएर
तड्पी–तड्पी बिताएको छु ।
आज सम्पूर्ण षडयन्त्रको पर्दाफास भैसकेको छ
पटक–पटकको धोखाले म चेतिसकेको छु
अनि यी उडुसहरूलाई मास्न
प्रत्येकसँग भिडेर रातहरू बिताउनु पनि
मेरो मूर्खता हो भन्ने
व्यवहारद्वारा बुझिसकेको छु
कारण, यहाँ मैले एउटालाई मार्दा–नमार्दै
अरू दशवटा पलाइसकेका हुन्छन् ।
आज मैले यो पनि थाहा पाएको छु कि
यी सम्पूर्ण चुसुवा उडुसहरूको अन्त्य गर्न
मैले यो दुर्गन्धयुक्त झुत्रो झुललाई
उखेलेर च्यातचुत पारी
दन्कँदो ज्वालामा भस्म पार्नु परेको छ
अनि त्यसभित्रका रक्तपिशाचहरूको पनि
त्यही झुलसँगै अन्त्येष्ठी गर्नु परेको छ ।
एकदिन अवश्य पनि मतिर हेर्दा
मेरो झुत्रो दुर्गन्धयुक्त झुल डढिरहेको तिमीले देख्नेछौ
यसभित्रका रक्त पिपासुहरू खरानी भएको देख्नेछौ
अनि त्यसको स्थानमा
मेरो आफ्नै हातले बनाएको
आफ्नै श्रम र शीपले बनाएको
साधारण तर सुन्दर र बलियो झुलभित्र
तिमीले मलाई सुरक्षित देख्नेछौ
अनि मलाई मस्त निद्रामा पाउनेछौ ।

Rakesh Karki – Ati Ramailo Anupam Yo Holi

इन्जिनियर राकेश कार्की – अति रमाइलो अनुपम यो होली

रङ्गिन बादल आकाशमा
रङ्ग नै उडिरहेको बतासमा
मन चञ्चल स्नेहको बोली
अति रमाइलो अनुपम यो होली

हाँस्दै गाउदै मस्तीको मौसम
जीवनको खुसी नाच्दै छमछम
रङ्गले भिज्यो कमिज भिज्यो चोली
अति रमाइलो अनुपम यो होली

मिठाइ मिष्ट नसा भाङको
अझै मिठो प्रेम रङ्गको
रङ्ग बिरङ्ग पिचकारीको गोली
अति रमाइलो अनुपम यो होली

मिलन सुखको श्रृंगारको त्योहार
न देश न महादेश एउटै संसार
दल्दै दलिँदै अबिर हृदय खोलि
अति रमाइलो अनुपम यो होली

Abhas – Rukh Ko Ghosana

चिलाउनेको रूखले घोषणा ग¥यो
अब सबै रूख चिलाउने बन्नु पर्छ
र फैलाउनु पर्छ आफ्नो अस्तित्व
अर्थात्
हामी सबै चिलाउने बन्नु पर्छ
श्रीखण्डको रूखले इन्कार ग¥यो
र भन्यो–
कृपया !
म त आफु
काटिएर पनि
ताछिएर पनि
चन्दन बन्नु पर्छ
मान्छेको निधारमा दलिनु पर्छ
शीतलता प्रदान गर्नु पर्छ मैले
म चिलाउने बन्ने छैन
म चिलाउने बन्ने छैन ।

Samarthya – Bastabikata

सामर्थ्य – वास्तविकता

आजको प्रमुख समाचार!
गाँसहरुको जोखिम उठाउँदैछ सरकार,
लाखमरि अनि चटामरिका दिवास्वप्नबीच
भोकमरि लोकभरी व्याप्त छ,
लार्भामानव झुसिल्किरो जीवन बाँच्दछ,
त्यसलाई पनि डर छ
टोड्को परिसकेको बुढो रुख समाजमा,
चल्ने हो हैन त्यसको जीवनचक्र,
फुल्ने हो हैन करबीरेको फूल,
पाउने हो हैन त्यसले रात्रिभोज
आह!
यो अमन चैनबीच जीवन
कत्ति निरीह,निस्सार,निरस
बडो अदबका साथ कामरेडबाट,
मनाइनेछ त्यागदिवस;

सपनाहरुको मूल भोटमै सुकेको खबर छ,
आँकडाअनुसार
अब स्वप्नाकारहरूबीच हाहाकार हुनेछ,
हतार,
कतार,
अनि शून्य घरबार हुनेछ;

अलिखित प्रतिवेदन-
जीजीविषाहरु टाट पल्टिन सक्छन्,
अश्रुग्याँसको असरले ज्ञानचक्षु अन्धा छन्;
योपल्ट,
बर्खा नलाग्दै योगमाया समाधिस्थ भइन्,
एकपाथी निराशाका साथ,
गङ्गामाया परास्त भइन्,
कुन्नि कुन क्लाइन्टमार्फत,
चरिमाया उम्केर आइछन्,
घरैछेउकी हर्कमाया छ्याङ्ग बेचिरहिछ,
उसका निम्ति यी सब,
मानौँ
मातपश्चात्तको शुभप्रभात
या बेमौसमको बर्सात,
आघात गर्दै उसको सपना हाराकिरी गरिरहेछ;

समय चलायमान छ,
बडेमानको सपना देख्ने राममानकी छोरी पनि ठूली भएकी छ,
उसलाई अब गाउँघरको सट्टा छाउघर पढाइनेछ,
उसका सपना देखिनुअगावै तिनलाई कठै भनिनेछ,
राममानकी छोरी बग्नुअगावै उसलाई दुलही भनिनेछ

आशा:
समाज अब गठबन्धित भएको छ
वानर विद्रोह शून्य,
सत्तामोह शून्य,
आरोह अवरोह शून्य,
यसै शून्यताबीच
म चाहन्छु
करबीरेको फूल फक्रियोस
राममानकी छोरीको बैँसको आहुतिका साथ,
झुसिल्किरो जीवन पुतली बनोस्,
जीवन्त सपनाले कहिल्यै हाराकिरी नगरोस्,
ज्ञानचक्षुको सम्मानहेतु,
भोकमरि निर्दोष ठहरियोस्॥

Tanka Subba – Pahad

टंक सुब्बा – पहाड

उ……त्यो पहाड
मेरा बा ‘ ले देखाएका हुन्
म सानो छदा
अग्लो कहिल्यै नझुक्ने
त्यो पहाड
सायद बालाई पनि
हजुरबाले देखाएको हुनुपर्छ
किनभने उनले देखे र त मलाई देखाएका हुन्
त्यसैले Continue reading “Tanka Subba – Pahad”

Acharya Prabha – Matra Jhajhalko

तिमी,
बर, पिपलको छहारी थियौ
त्यो गोरेटोको,
हर थकित बटुवाहरूको निम्ति
जो थकित अनी त्रिषित बनेर
तिम्रो शितलताको आशामा
तिम्रो कुटिमा बिश्राम गर्न पुग्दथे
हो म पनि त्यही बटुवा मध्ये
एक थिएँ जस्लाई Continue reading “Acharya Prabha – Matra Jhajhalko”

Bibek Dulal Chhetri Damak – Kanchhi Malai Kabita Lekhnai Aaundaina

विवेक दुलाल क्षेत्री “दमक” – कान्छी मलाइ कबिता लेख्नै आउदैन

कान्छी !
मलाइ त कविता लेख्नै आउदैन .

लेख्न त मन पर्छ
मेचीको पनि कालीको पनि
कोर्न त मनलाग्छ
कोशीको पनि ,कर्णालीको पनि
तर पनि काठमाण्डौमा पानीको हाहाकार देखेर
मलाइ त कविता लेख्नै आउदैन कान्छी .

मलाइ त नेपालीहरूको प्रगतीको कथा लेख्ने मन थियो
मलाइ त देशले बिकासमा फड्को मारेको कुरा उन्ने मन थियो
तर दाइ भाइ आफू आफू नै कुर्शिको लागी लडेको भेटेर
दिनै पिच्छे नेपालीको अकालमै मृत्यूको समाचार सुनेर
मलाइ त कविता लेख्नै आउदैन कान्छी .

के लेख्नु बिदेशमा उट चराएको ब्यथा
के सम्प्रेसण गर्नु अर्काको देशमा थुनिएको कुरा
के पाना भर्नु मालिकबाट यौन शोषण भएको तिक्तता
कुनै राम्रो खबर नै छैन
मलाइ त कबिता लेख्नै आउदैन कान्छी .

के गर्नु देश र जनताको दुखबाट बेखबरहरूको प्रसंशा
के गरी पुलकित गर्नु यी घुषपैठहरूको कालो करतुत
कान्छी म त तिमी र हामी जस्ताहरूको सपना तुहिन लाग्दा मर्माहत छु
ढिडो,मकै , कोदो र एक छाक चामलको लागी चाड बाड कुर्नु पर्ने सम्झेर आहत छु
मलाइ त कबिता लेख्नै आउदैन कान्छी.

अब कबिता लेखेन भनेर
पिर नगर
जून दिन तिमी जस्तालाइ बलात्कार गर्ने ,
बेच्ने ,बोक्शी भन्नेहरू माथी पूर्ण रूपमा कारबाही होला
जून दिन सबै दिन दुखीहरूको घरमा
समान शिक्षा ,उज्यालो र अवसरको ठाउ होला
जून दिन प्रत्येक नेपालीमा नेपाली हु भनी स्वाभिमान उम्रेला
जून दिन मेरो देशले दुनिया सामु सबै तबरले उन्नती गर्ला
तब म कबिता जरूर लेखौला कान्छी
अहिले –
मलाइ त कबिता लेख्नै आउदैन कान्छी .

Lakshmi Devi Gaudel – Prem Katha

 लक्ष्मी देवी गौडेल – प्रेमकथा 
 अघोशित शित युद्द्को 
पूर्व सन्धामा मैले मागेकी भए 
आफ्नो लागी 
खुशिका ताजमहलहरु 
तिमीले ज्यान नै अर्पण गर्छु भन्छौ भने
भो मलाई चाहिएन 
स्वरकल्पनाका युटोपियन महलहरु 
दिन सक्छौ भने 
तिमी मलाई ह्र्द्द्यको कुना देउ
स्व्छन्द मनको उडान देउ 
 जहाँ हाम्रो माया 
फलोस फुलोस र फैलियोस 
सुवास छरोस प्रेमको
मायाको सद्द्भावको 
तिमी मलाई यती भन्
“मेरो माया ह्र्द्द्यको बुलन्द आवाज हो” 
“मेरो माया मुटुको सुमधुर झन्कार हो”

Mohan Swaroop – Timilai Phoolharu Kandaharu Malai

मोहन स्वरूप – तिमीलाई फूलहरू काँडाहरू मलाई
(Sent To Sanjaal Corps Via Email)

तिमीलाई फूलहरू काँडाहरू मलाई
जून फूल्ने पूर्णे तिम्लाई कालो औँसी मलाई
सुनौला ती दिन तिम्रा रातहरू मेरा
सारा सारा खुशी तिम्लाई दु:ख सारा मेरा
फूलै फूल मात्र रहोस् तिम्ले पाईला टेक्दा
पहाडहरू टुक्रिजाउन तिम्रो बाटो छेक्दा
कोकिल पनि ईर्ष्या गरोस् तिम्रो बोली सुनी
गुलाबहरु आफै आउन तिम्लाई माला बुनी
तिम्रो दु:ख सहन हुन्न किन किन मलाई
जून फूल्ने पूर्णे तिम्लाई कालो औसी मलाई

Bikram Subba – Ragat

विक्रम सुब्बा – रगत

रगतको आफ्नै मगज हुँदैन
दिमागका हरेक रेसामा रगत नपुगे
गिदी मर्ला र समाज बदल्ने
संघर्षको मार्गचित्र कसले सोच्ने?

रगतको आफ्नो आँखा हुँदैन
आँखाको नानीले रगत खान नपाए
दृष्टीहरू मर्लान्
र, स्वतन्त्र मानिसका अनुहार केले हेर्ने?

रगतको छुट्टै कान हुँदैन
कानका सबै अबयबमा रगत नपुगे
श्रव्यशक्ती मर्ला
र, मानिसको विजयी गीत केले सुन्ने?

आफ्नो ओठ पनि हुँदैन रगतको
आधरका हरेक सिरामा रगत नपसे
आमाका चुम्बनलाई
केले ममतामयी, ज्युँदो र न्यानो बनाउँने?

रगतको आफ्नो गला हुँदैन
पुग्दो रगत कण्ठमा सिंचित नभए
निर्जीव गलाले
मुलुकको मायामा
गर्विलो गीत कसरी गाउला?

रगतको आफ्नो हात पनि हुँदैन
देशबासीका सहस्र हातहरूमा रगत नपुगे
हातहरू पनि मर्लान्
र ठूठाजस्ता हातले हतियार समाउँदैनन्
अनि सिमानाका प्रत्येक गौँडामा
देशको रखवारी कसरी गर्ने?

कुनै किसिमको मुटु पनि हुँदैन रगतको
मुटुका अणुअणुमा रक्तकण नपुगे
मुटु पनि मर्ला
र आर्यघाट पुगेको मुटुले
सारा नेपालीको ढुकढुकी कसरी बोलिदेला?

फोक्सो पनि हुँदैन रगतको आफ्नो
फोक्सोका दुबै फप्लेटामा हर्दम् रगत नपुगे
फोक्सो मर्ला र मृत फोक्सोले
जातजातका मानिसले कसरी सास फेर्ने?

पाठेघर पनि हुँदैन रगतको
हरेक जवान युवतीका गर्भाशयमा
नित्य स्वच्छ रगत नपुगे
सृष्ठीको मुहान मर्ला
र क्रन्तीवीर जन्माउँने
मातृसपना कसरी पुरा होला?

रगतको हिँड्ने खुट्टा पनि हुँदैन
खुट्टाका हड्डी, नसा र मांसपेसीहरूमा
मनग्गे रगत नपुगे
खुट्टहरू मर्लान्
त्यसपछि त,
परिवर्तनको नयाँ क्षितिज टेक्न
इन्क्लाबी जुलुसमा कुन पाइला हिँड्लान् ?

Krishna Prasai – Sano Samjheko Man Parchha

मेरा सारा मौनतालाई चिरेर–
मनै बिथोलिने गरी–
एक पटक त उसले,
आफु सिंगैको मोल सोधी,
मानौ ऊ रेडियो र टेलिभिजन झै भएर,
मेरो घरमा भित्रिएकी हो।
सबै थोक किन्नु पर्ने शहरको संस्कृतिमा,
मानौ उ पनि सौदा भएर
मेरो घरमा किनिएकी हो।
सौदा र उसमा–
फरक यति छ,
जबरजस्ती हक जमाउने छुट छ उसलाई।
पटक–पटक सिमाना नाघेर
मेरै कपाल समाउदै,
मलाई घोडा बनाउने पनि,
छुट छ उसलाई।
उसका एस्ता मनोमानी विरुद्ध,
म विरोध वा आन्दोलन गर्न सक्दिन।
रिसाएर कट्टी गरीरहने उसको जिरह विरुद्ध।
म उसलाई निषेधाज्ञा भर्न पनि सक्दिन।
मैले बरोबर हात्ती भैदिनु पर्ने,
उसको उर्दीलाई कुनै कानून पनि लाग्दैन।
जुन नगर भन्यो, ऊ त्यही गर्छे।
जुन नखा भन्यो, ऊ त्यही खोज्छे।
कहिले काही उल्टो बोलेर–
सुल्टो गराउनु पर्छ उसलाई।
यति हुदा–हुदै पनि,
म उसलाई सजाय दिन सक्दिन।
म उसलाई अयोग्य ठान्न पनि सक्दिन।
ऊ रुनु मेरो कम्जोरी हो भनेर,
तपाईले विश्वास गर्नु भएको छैन भने,
ऊ अरु कोही नभएर,
म भन्दा उमेरले चालिस वर्ष कान्छी–
मेरी सात वर्षे छोरी प्रविधि हो।
मलाई उसको हासोमा मेरो सृष्टी मुस्कुराएको मन पर्छ।
दिनहु कलम र कापी समातेर उसले– प्रश्न सोधेको मन पर्छ।
र कहिले काही,
मेरो उमेर स्वातै घटाएर,
उ जस्तै सानो सम्झेको मन पर्छ।

Acharya Prabha – Tarun Man Ko Apil Yauwana Lai

(यौन कबिता)

तिमी यौवनको मातले निथरुक्क भिजेको बेला
म बैँशको उन्माद बोकेर
आँधीको बेग बनी आउँला
त्यो पल केवल तिमी हुनेछौ
मेरो चाहनाभित्र
अनी म हुनेछु
तिम्रो लज्जित भावनाभित्र
म आवेगले मात्तिएको Continue reading “Acharya Prabha – Tarun Man Ko Apil Yauwana Lai”

Sharad Nirola – Kesh Raashi Le Jhataro Handa

शरद निरोला – केशराशिले झटारो हान्दा

पानीले लतक्क भिजेको केशराशिले
जब मतिर एक्कासी झटारो हान्छ्यौ
उछिट्टिएर मतिर दौडेका ती सहस्र जलबिन्दुहरुमा
आत्मसात भै म निथ्रुक्क हुन्छु
अनायासै बादल बिनाको आकाशमा गर्जन सुन्छु
बिना मौसममैं पनि बर्षाको अनुभूति पाउँछु

तिम्रा मृगनयनद्वारा शुरुमैं हताहत त छँदै थिएँ
कम्मर चुम्ने केशराशिले अर्कै मात लगाएको छ
बडो नराम्रोसंग तिम्रा केशहरुमाझ भौतारिएको यो मुटु
बाहिर आउने बाटो नपाएर अलपत्र छ

तिम्रो रुपरेखा कोर्ने बेलामा ब्रम्हाका नौनारी नै गलेहोलान्
समस्त अप्सराहरूको सौन्दर्य निचोरी तिम्रो नक्सामा हालेहोलान्
“फाइनल प्रोडक्ट” का रुपमा तिमीलाई आफ्नो अगाडि देख्दा
आफैं आशक्तिको द्वन्द्वमा फँसे होलान्

भगवान ब्रह्माकै नियत डाँवाडोल गराउने तिम्रो रुप अघि
यो बबुरो मनुवाको नियतको मूल्य के
मलाई त केवल केशराशिकै भुलभुलैयामा बाँच्नपाए पुग्छ
नबाँचु त जीवनको अर्थ नै के?

मेरील्याण्ड, यू.एस.ए.

Manoj Bogati – Kathe Sambedana

तिम्रो संवेदनामा काठ पस्दै गइरहेछ।
••
अब कुनै पनि शरीरबाट उड़ेर जानेछ लाजको सह
मरूभूमि मात्र हुनेछ शरीरको बालुवा।
तिर्खा-तिर्खा-तिर्खा
तृप्तिको हाहाकारमा बॉंच्ने छ संवेदना।

मृत्युको त्यो कालो भयले खोल्न सक्दैन
आँसुको ताला
प्रेमको त्यो कोमलता
सुक्नेछ
फूलमा।

-त्यसपछि कहिल्यै पुनरावृत हुनेछैन सृष्टिको वचन।

म तिम्रो खस्रो ओंठ छोएर भन्नसक्छु
त्यसलाई कोमलताको मातको सुगन्ध आउँदैन।

कति पातलो छ तिम्रो मनको पाप्रा
जहॉं आमाको मृत्युको एक थोपा शोक अड़िन सक्तैन।

तिम्रो आँखाको सुरूङबाट छिर्ने
संसारको वासनाको त्यो सौन्दर्य
कुनै कम्पनीको ब्राण्ड जस्तो टॉंसिएको छ
शहरमा उभिने होर्डिङहरूमा।

त्यो यान्त्रिक यौनको गर्मीमा
भटाभट मर्दैछ अनुभूति।

तिमी नै भन
च्याटिङमा आउने
टुक्रिएका अक्षरहरू
तिम्रा स्वास्नीको ठूल्ठूलो सासभन्दा अर्थपूर्ण छ?
••

तिम्रो संवेदनामा काठ पस्दै गइरहेछ।