भूपिन ब्याकुल – प्रिय आँखाहरु
प्रतिक्षामा रातभरी अनिँदो रहेपछि
मैले थाह पाएँ
कति प्रिय छन् आँखाहरु सपनाको उपस्थितिमा !
मलाई मानिसका आँखाहरु मन पर्न थालेका छन्
आँखाभित्रको गहिराइमा
छद्म सपनाको अराजक नृत्यहरु मन पर्न थालेको छन्
तहतह थुप्रिएका
जीवनका प्रोफाइलहरु
रहरैरहरका अमूर्त आकर्बिम्बहरु
जिजीविषाका बिद्रोही गीतहरु
र मृत्युका मुलायम ध्वनिहरु मन पर्न थालेको छन् !
सपनाहरु त
सबैभन्दा छोटा उत्सवहरु हुन् जीवनका
अरुलाई गलत लाग्नुसँग
यिनीहरुको कुनै साइनो छैन
जस्तो कि मेरी प्रेयसी
म मेरै ओछ्यानबाट बिलुप्त भएर रातहरुमा
तिम्रो कोठामा पुग्छु
कुनै जादुई कथाको राजकुमारझैं
जहाँ तिमी लोग्नेको प्रेमपूर्ण विलय खोजिरहेकी हुन्छौ !
सपनाहरुको मलामी गएर फर्केको साँझ
यस्तो लाग्छ
जीवनले मलाई बिदाईको अन्तिम चिठ्ठी दिएको छ
कति प्रिय छन् आँखाहरु सपनाको उपस्थितिमा !
मेरी प्रेयसी
मलाई तिम्रा आँखाहरु
बिनाकारण कहाँ मन परेका हुन् र ?
ठूलाठूला बदामे भएकाले
वा सुन्दर सेक्स-अपिलहरु भएकाले मात्र
कहाँ मन परेका हुन् र ?
मलाई तिम्रा आँखाहरु मन पर्छन्
किनकि त्यहाँ सपनाहरुको मौन लस्कर छ
असंख्यअसंख्य सपनाहरुको भीडमा
अझैसम्म मेरो प्रतिक्षाको पनि एउटा सपना छ
मलाई तिम्रा आँखाहरु
त्यसै त्यसै कहाँ मन परेका हुन् र ?
तिमीलाई थाह छँदै छ नि
म स्वप्नजीवी मानिस हुँ
रातभरि सपना देखेर दिनभरि बाँच्ने
दिनभरि बाँचेर रातभरि सपना देख्ने !
कति प्रिय छन् आँखाहरु सपनाको उपस्थितिमा !