Ramji Timilsina – Raat Sakinchha

राम्जी तिमल्सिना – रात सकिन्छ
(मधुपर्क २०६६ भदौ)

झिसमिसेले चियाउँछ
रातको किनाराबाट सुटुक्क ।
पल्लो गाउँमा भालेको डाक सुनिन्छ
मानिसहरू चेतनाको कोल्टो फेर्छन्
प्रत्येक घरभित्र आवाज सुनिन्छ ।
सूर्य चुपचाप डाँडापारि उकालो चढ्छ
र रात यहीँनेर सकिन्छ
कोइलीको गीतले कुन्नि के पो भन्छ
र रात यहीँनेर सकिन्छ ।
विवेक आफ्नो स्वरको खोजीमा छ
सभ्यता फैलने धरतीको
ज्योति आफ्नो रूपको ।
हिजै मात्र सिङ्गारेको आलो भित्तामा
यौटा सूर्य त्यहीँ उदाएझैँ लाग्छ
बालकले खेल्ने आँगन
चराहरू उड्ने आकाश
तन्नेरीहरू भेट्ने देउराली
वृद्धहरूको चौतारी
इन्द्रेणी ओर्लने सिमसार
उज्यालिन्छन्
आहा
उज्यालामा कति रहरहरू पूरा हुन्छन् ।
अब हराएको मूलढोकाको साँचो
भेटिन्छ
अब गोप्यताहरू देखिन्छन्
नदी किनारामा सुतेको विद्रोही
अब ब्यूंझन्छ
र रात यहीँनेर सकिन्छ ।

Bhupi Sherchan – Pahiro Jane Pahad Muntira

भूपी शेरचन – पहिरो जाने पहाड मुन्तिर

अनिश्चित भविष्यको आशङ्कामय पीडा
खप्न नसकी
‘थेलोडोमाइड’ खाएकी गर्भिणी रात
जन्माउँछिन् लँगडा, लुला, कुच्चिएका बिहानहरु
जब बिउँझन्छु म
छिप्पिन आँटेको जाँडको घैंटोजस्तो
उत्तेजित टाउको उचालेर
अनि हेर्दैछु —ताजा अखबार
चील र गिद्ध उडिरहेको आकाश
सिनुको गन्ध बोकेका,
म गाड्छु दाँत टोष्टमाथि
र मिल्काउँछु एक टुक्रा दैलोको घामतिर
अनि घाम फैलिन्छ चाउरेको विश्वमाथि
बासी टोष्टमाथि पग्लिएको नौनी झैं
यसरी सुरु हुन्छ एउटा नयाँ दिन
यसरी सुरु हुन्छ अर्को नयाँ दिन
अर्को…..अर्को….र नयाँ दिन
हतार–हतार आउने र जाने
जुवाडीको खल्तीका नोटजस्ता चाउरिएका
असङ्ख्य नयाँ दिनहरु
घुमिरहेछ पृथ्वी
आफ्नो धुरीमा, निरन्तर
तर ‘रुलेट’ –को चक्काझै
जहाँ प्रत्येक व्यक्ति टन्न छ उत्तेजनाले
बेग्लाबेग्लै बाजीमा थापिएका सिक्काझैं
आकाश त्यही छ पुरानो
तर अब त्यहाँ
चुच्चोमा खर च्यापेर गुँड बनाउन लम्केका
गौथलीको साटोमा
उड्दछन् पचासौं मेगाटन बोकेका रकेटहरु
क्षितिज तिनै छन् घाम उदाउने र अस्ताउने
तर त्यहाँ अब थकित सूर्य पल्टन्छ
अन्तरद्वीपीय क्षेप्यास्त्रको सिरानी हालेर
यो के भयो एक्कासि मेरो विश्वलाई ?
यो के भयो विश्वको ‘म’ —लाई ?
किन सक्तिनँ म ‘स्कान अन र राक्स’ –मा
जलविहार गरेर आफ्नो जलनलाई मेट्न ?
किन सक्तिनँ म आफ्नो कोमल भावनाहरुलाई कुल्चन
‘लोलिटा’ — लाई जस्तै;
किन सक्तिन म डुब्न,
‘विथोवन’ र ‘मोजार्ट’ —को सिम्फनीमा
किन ट्रम्पेट र क्यारोनेटको मुख
हेर्दाहर्दे परिवर्तित हुन्छन्
तोप र बन्दूकहरुको नालमा ?
आहा ! मलाई थाहा छ शान्ति कहाँ छ
शान्ति हेर ऊः त्यहाँ भेडासिङको चौबाटोमा छु
तर किन म शान्त हुन सक्तिनँ
त्यहाँ साँढे जुझाइको माझमा
घाँटीको दाह्रीमा उस्तरा चलाउन दिइरहेको मान्छेजस्तै !
मेरो निम्ति त शान्ति
जँड्याहा जन्डो मान्छेको स्वास्नीको गर्भमा छ
आहा ! कति क्षीण छ मेरो आशा,
हाम्रो आशा
एउटा कलिलो हँसिलो संसारको न्वारान गर्ने ।

Rajab – Marx Ko Khushi

कमरेड
मलाई नै पछाडि छाडेर
मेरो नाममा धेरै अगाडि बढेछौ
र यत्ति धेरै जग्गा–जमीन
घर घडेरी
टिभी, डेक, फ्रिज, जर्मन कार
शेयर, व्यापार, ठेक्का, पट्टा
सत्तामा गएपिच्छे जोडेछौ,
मलाई चाहिँ जे भएपनि
आफ्नू Continue reading “Rajab – Marx Ko Khushi”

Sitaram Acharya ‘Sagar’ – Dui Muktak [Nepali Muktak]

सिताराम आचार्य ‘सागर’ – दुइ मुक्तक


सबै मिली पाइला चाल्नुपर्छ देशका लागि
एउटा नौलो यात्रा थाल्नुपर्छ देशका लागि
यही माटोमा सधै रमाउनु पर्छ हामी
उज्यालो दिने ज्योती बाल्नु पर्छ देशका लागि


परि पनि सर्माउछिन रे तिम्रो सामु पर्नलाई
चन्द्रमा नि झर्दै छिन रे तिम्रो चर्चा गर्नलाई
जब देखे मैले पनि संखे चौतारीमा
सागर पनि चाहन्छ रे तिमीमा नै मर्नलाई

Nirmal Kumar Acharya – Anshu Jhari Rahunjel Aash Banki Hunchha (Nepali Gajal)

निर्मलकुमार आचार्य – गजल
(मधुपर्क भदौ , २०६७)

आँसु झरिरहुन्जेल, आस बाँकी हुन्छ
मन रोइरहुन्जेल, सास बाँकी हुन्छ ।।

जितहार, चितपट, ठेगान छैन क्यै’को
जुवा खेलिरहुन्जेल, तास बाँकी हुन्छ ।।

सन्तोक-असन्तोकको, सीमा छैन केही
ईख राखिरहुन्जेल, खास बाँकी हुन्छ ।।

घाइते यो दुनियाँमा, संवेदना हरायो
मान्छे मरिरहुन्जेल, लास बाँकी हुन्छ ।।

भरोसाको मूर्ति कुनै, देवालयमा छैन
यात्रा चलिरहुन्जेल, बास बाँकी हुन्छ ।।

Bhoj Raj Neupane – Rastraghaati

भोजराज न्यौपाने – राष्टघाती

म आजदेखि
राष्टघाती बने ।

अमेरिका जाने
स्वप्नस्मृतिले गाँजिएर
पराईभूमिको सुन्दर सपनामा डुव्दै
डीभी भर्न लाम लागिरहेको बेला
मैले आफ्नै देशलाई धिक्कारें ।

साँच्चै म किन आफ्नो जन्मभूमि छाडेर
विदेशिन खोजें ?
सानो घरवारी
बृद्ध बाबु आमा
मायालु जीवनसाथी
र फूलजस्तै छोराछोरी छाडेर
किन जान लागें म त्यो परदेश ….?

उद्यमी बन्छु भन्दा, ऋण पत्याउँदैन बैंक
किसान बन्न हतोत्साही बनाउँछ सरकार
शीप सिकाउन छाडेर, विदेश जान सल्लाह दिन्छन् प्राद्यापक
विदेशमा पसिना बगाउ भन्छ नेता
तस्करी गर्न छुट दिन्छ कर प्रशासन
घुस लिएर अपराधी छुटाउँछ प्रहरी
कर तिर्नेलाई कालोबजारी देख्छ कर्मचारी
पढाउन छाडेर पार्टीको काममा हिंड्छ शिक्षक
पैसाकालागि अपराधीसंगै मिल्छ वकिल
पैसाकै लागि सद्दे हातपनि ब्यान्डेज गर्छ डाक्टर
विद्यालय बनाउने बजेटले मन्दीर बनाउँछन् गाउँले
बाटो मिचेर घर बनाउँछ छिमेकी
नदीमा ढल हाल्ने सल्लाह दिन्छ इन्जिनियर
पेसेवर अपराधी गुहारेर चुनाव जित्छ नेता
अब म कसरी टुलुटुलु हेरेर बसौं यो दुर्दशा ?

आफ्नै आँखा अगाडि
आफैंले छानेको मान्छे
खराब भैदिदा म उसलाई औंलो ठड्याउनपनि नसक्ने भएछु ।
त्यस्तै खराबहरुले छानेकाहरुसंग
कसरी उभ्याउन सक्छु र म आफूलाई ?

यस्तो देशमा मैले
आफूलाई कसरी सुरक्षित बनाउन सक्छु ?
मनमनै आफैंलाई
भगाउन मन लाग्छ मलाई मेरै आफ्नो आँखाबाट ।
सबै सबै कुदृष्टिहरुबाट बच्न
किनकी मजस्तै राष्टघाती बन्नु नपरोस मेरा सन्ततिले ।

Hari Govinda Luitel – Hat Hat Hatti [Nepali Bal Kabita]

हट् हट् हात्ती उता जा
हट् हट् हात्ती एता आ
घाँटीमा बसेको माउतेले
जता भन्यो त्यतै जा !

लस्की भन्यो लस्किन्छ
अड्की भन्यो अडि्कन्छ
घाँटीमा बसेको माउतेले
दौडी भन्यो दौडिन्छ

दाँतै हेर डेढ हातको
नाकै हेर तीन हातको
नाङ्लाजत्रा कानै छन्
खम्बाजत्रा खुट्टै छन्

रुखै पनि ढाल्दिने
आम्मै कस्तो बलियो
आम्मै कस्तो अग्लो यो !
आम्मै कत्रो मोटो यो !

यत्ति ठूलो हात्तीलाई
सानो फुच्चे माउतेले
जेजे भन्यो त्योत्यो नै
कसरी होला गरा’को –

चार-पाँच टनको हात्तीलाई
तीस किलोको माउतेले
कसरी होला मना’को
कसरी होला कजा’को –

Roshan Subedi – Shabda Gatha

रोशन सुवेदी – शब्दगाथा
(मधुपर्क २०६६ माघ)

ओ ! शब्दको आकाश !
ओ ! समयको आवाज !!

ओ ! जीवनका गीतहरू
छेकेर बन्दुकको मृत्यु हुंकार
टियर ग्याँस र लाठीका लाभाहरू
छिचोल्दै कˆर्युका काला रातहरू
चुडाउँदै
कालो सिक्रीले बाँधिएको समय
भत्काउँदै
अजङ्ग दाशताका सगरमाथाहरू
काला अँध्यारा समय पर्खालहरू छन् ।
यतिखेर
शब्दहरू मुक्तियोद्धा भएका छन् ।

निरकुंशताका बुटमुनि
पिल्सिएका सडक र शब्दहरू
यतिखेर निर्बन्ध भएका छन् ।

कुज्याइएका स्वतन्त्रताका पखेटा
घाइते अस्मिता उठाएर
चेतना र उज्यालो समयको दियो बाल्दै
यसबेला
शब्दहरू उज्यालोका बाटो भएका छन्

ओ नदीको लहर
ओ जीवनका यात्री
अझै यात्रा टुङ्गएिको छैन
अझै तिमीले घाउको मलम बन्नुछ
अझै अधिकारको बाटो कोर्नुछ
अझै च्यातिएका भोटाहरू फेर्नुछ
भोका बस्तीहरू
र रोगले थलिएका अनुहारहरूको सेवा स्याहार गर्नुछ
कालो चुक रातझैँ अन्धकार फैलिएका गाउँमा
चेतनाको आगो पुर्‍याउनुछ ।

अँध्यारा कालो खोपीका षडयन्त्र र
खिया परेका पुरातन आस्था ˆयाँकेर
जनअधिकारका चार किल्लाहरू आफैँ कोरेर
नयाँ नेपालको इतिहास लेख्नुछ
नयाँ नेपालको चित्र कोर्नुछ ।

-साब्ला, तेह्रथुम, हालः काठमाडौँ

Sulochana Manandhar Dhital – Julus

सुलोचना मानन्धर धिताल जुलुस

जीवनका थुप्रै क्षणहरू
जुलुस बनिसकेछन्
अझै झुक्याउँदै
सिङ्गो जिन्दगीलाई
जुलुस
जुलुसै भएर सकिँदै छ ।

Ananda Ram Paudel – Samanti Maya

आनन्दराम पौड्याल – सामन्ती माँया

माँया गरेरै होला
देहातमा नथुनी जिम्दार
श्रीमती र वुहारीको भोट
आफैँ दिन्छ
यता, नथुनीकै सरकार
नतुनीबाटै सिकेर
सम्विधान सभा नबन्दै
राज्य-संरचनाको मोडेल तय गर्छ ।

छुटेको परिवार

एउटा परिवार
जुन जनगणनामा सँधै छुट्यो
सपना
जीजीविषा
संघर्ष
आक्रोश
र तीसँगै रहेको छ ।

Abhas – Maun Barta

(आन्दोलित पवित्र मनहरुलाई)

म समयसित
मौन वार्ता गरिरहेछु
मेरी प्रियतमा
तिमी मौनता भङ्ग नगर

सौम्य छन् तिम्रा आँखा
सागरमा पनि लहर छैन
म समयसित
सुस्तरी साउती खेलिरहेछु
अहिले
म तिम्रो आँखाको शान्तिमा डुबिरहेछु
शान्त सागरमा हराइरहेछु
विन्ति प्रियतमा
तिमी मौनता भङ्ग नगर

आँखामा आँसु बोकेर
एकहुल परेवाहरु
मेरो शीरमाथि उडिरहेछन्
म सुकोमल मखमली रुमाल खोजिरहेछु
आँसुले थाकिसकेँ म
रोदनले थाकिसकेँ

यतिबेला मेरो परिवेश
ममाथि शङ्का व्यक्त गरिरहेछ
औँला ठड्याइरहेछ
मेरो हिम्मतमाथि

तर म मौन छु
त्यसैले आन्दोलित पनि छु

अहिले म
आफैँसित मौन आन्दोलन गरिरहेछु
विन्ति प्रियतमा
तिमी मेरो मौनता भङ्ग नगर ।

Komal Malla – Timi Nai Hau Mero Manchhe

कोमल मल्ल – तिमी नै हौ मेरो मान्छे

एउटा मनमा सयौं मान्छे सयौं मान्छे, सयौं मान्छे
त्यही मनको मिठो साथी तिमी नै हौ मेरो मान्छे
छैन छैन मेरो मन दुख्दै दुख्दै जीउन सक्ने
छाती चर्के, कहाँ हुन्छ मन पनि सिउन सक्ने

कति सुन्छु मन पालुवा फूल जस्तै कोमल हुन्छ
सत्य सत्य नढाटु त आकाश जस्तै निर्मल हुन्छ
त्यस्तै निर्मल त्यस्तै कोमल माया पे्रम हुनु पर्छ
सम्झनाको हातहरुले, हृदय नै छुनु पर्छ
एउटा मनमा सयौं मान्छे ……………

भइ दिए है सङ्लो सङ्लो अमृत सरी पानी जस्तो
परेलीले छोप्दा पनि ब्रम्ह देख्ने नानी जस्तो
मनमा सजाइ गहिरिए भने मोती पनि भेटिन्छ रे
मन फक्राइ उठे भने पियास पनि मेटिन्छ रे
एउटा मनमा सयौं मान्छे ……………

मन परेको मान्छेलाई बिदाई दिन सकिन्छ र ?
अगाध स्नेह मिठो माया कहाँ त्यसै मेटिन्छ र ?
बिदाईको मुहार बाट आसुँ थोपा पुछी आज
राखी देउ है हाम्रो माया सधैं सधैं तिम्रो साथ
एउटा मनमा सयौं मान्छे ……………

तिम्रो मनको मान्छेलाई सम्झाई बुझाई माया दिए
विश्वासको दियो बाली हामीलाई संझिरहे
गरी दिनु पुजा सधै तिमी भित्र देबताको,
चढाइ दिनु फूल नैबेद्य चोखो अमर मित्रताको
एउटा मनमा सयौं मान्छे ……………

बिस्र्यौ भने पाप लाग्छ साथीभाईको आतलाई
बढाइ रहनु जहाँ हुन्छौ पिरतीको हातलाई
हाम्रो पनि भक्ति भाव आमालाई चढाई देउ है
आर्षिकबाद बटुलेर हामीलाई पठाइ देउ है
एउटा मनमा सयौं मान्छे ……………

Tekab Koirala – Dauntari

टेकब कोईराला – दौंतरी

बुटो–बुटोमा चाहार्दै
कट्मेरो बेलौती टोकेर
आधा तिमी खान्थ्यौ
आधा म खान्थें

ब्याङ्ग–ब्याङ्गभित्र लुक्दै
ऐंसेलुको मसिना टोपी टिपेर
कसको सोली ठूलो
प्रतिस्पर्धामा तिमी जित्ने गर्थ्यौ
म हारिदिने गर्थे

हाँगा–हाँगामा लम्कँदै
काफलगेडीहरु बटुलेर
पोल्टा–पोल्टामा भर्थ्यौं
कसको बढी मीठो
मेरो काफल तिमी टोक्थ्यौ
तिम्रो काफल म टोक्थें

कठैबरी आज
तिमी गयौ नौ डाडापारि
म गएँ नौ खोला तरी
बालबयका ती सम्झनाहरु
सपनाभरि सलबल सलबल
आँखा वरिपरि झुल्किँदै बिलाउँदै

चाहेर पनि बिर्सन नसकिने
बर्सेर पनि बिर्सन नसकिने
यो कस्तो दौंतरी

Rabindra Nath Thakur – Lamo Yatra [From Geetanjali]

लामो यात्रा

मौन प्रभात–सागरलाई पक्षीवर्गका संगतिको आवाजले सजीव
पारे, बाटाका फूलहरु चिन्तित भएर फुटे, सुनौला कण क्षितिजमा
यता–उता गर्दै बाखलहरुसँग मिलेः तर हामी व्यस्त भावमा अघि बढिरह्यौं ।

हामीले न गीत गायौं, न मंगल–वाद्य बजायौं, न हामीहरु गाउँको
मेलामा चीज–बीज किन्न गयौं, न हामीले एक शब्द बोल्यौं, न
हाँस्यौं, क्षणभरुको लागि भए तापनि हामीले विश्राम गरेनौं। आफ्ना
कदम र जोश लिएर हामी अघि बढिरह्यौ ।

अन्तमा, सूर्य मध्य–आकाशमा आए । परेवाले स्याँहालमा आश्रय
लिए । मध्यान्हको लुले रुखकासुकेकापात फरफरगर्नथाले ।
गोठाला ठूलारुखका छहारीमा सुतेर मस्त निद्रामा सुन्दर सपना देख्न
थाले । म पनि पोखरीको नजीक घाँस–माथि खुट्टा फिँजाएर सुतें ।
मेरो साथीले मलाई हेला गर्न थाल्या । गर्वसँग टाउको ठाडो उठाएर
उ अघि हिंड्न थाल्यो । पछि फर्केर हेर्दै हेरेन । हिंड्दा–हिंड्दै उ
नीलाकाशको नीलिमामा अदेख भयो, असंख्य पहाड–पर्वत र टाढा–
टाढाका अनौठा देश परिभ्रमण गर्यो । तर म यही घाँसमाथि एक्ल
सुतिरहें ।

आत्म–ग्लानि र जनअपवादले मलाई कतिपल्छट घोचेर उठाउने
कोशिश गरे, तर ममा कुनै प्रभाव परेन । अन्तमा, मैले उपहारको
सुखद गहिराइमा, र त्यो धमिलो, आकाशको छायामा आफैँलाई हराइहालें ।

त्यसपछि, सूर्यका किरणमा अलंकृत हरिया उदासीले मेरो ह्दयमा
छुन शुरु गरे । मैले यो पनि भुलिसकेको थिए कि किन म यो यात्रा
प्रारम्भ गरिरहेंछु । अन्तमा, छायामय गतिका रहस्यमूर्तिको
अघाडी मैले सर्वस्व अर्पण गरिदिएँ !
अन्तमा, जब निद्राबाट बिउँझे अनि आँखा खोले, मेले तिमीलाई

आफ्नो नजीकमा पाएँ । तिमीले नै मेरो निद्राको शून्यतामा आफ्नो
हाँसोले भरिरहेको थिएँ । किन हो कुन्नी म व्यर्थमा डराइरहेको थिएँ
कि यो यात्रा लामो र थकित पार्ने होला, र तिम्रो सामुन्ने पुग्नका
निम्ति कठिन संघर्ष गर्नुपर्ला !

Kusum Gyawali – Jungle Ra Manchhe Haru

छोरी,
जंगलमा कहिलै हँदैन लोकतन्त्र
जंगलमा कहिलै हँदैन चुनाव
चुनावको नाटक मात्र पनि हँदैन
जंगली नेतृत्वलाई कहिलै चाहिदैन
जन अनुमोदनको पुष्पहार
वंशजको नाताले हरेक हिंश्रक डमरू
लडेर आफन्तकै बीचमा खुनीयूद्ध
सत्ताधारी बन्छ जंगलको
अनि निर्लज्ज कुरा गर्छ अबिछिन्न लोकतन्त्रको !

उभिएर २१ औं शताब्दीको संघारमा
जंगलले पढ्ने गरेकोछ अचेल
अठारौं शताब्दीको दास–बिद्रोहको कथा
लुइसोह्रौंको अन्तिम भाषण र उसको आक्रोस
जंगबहादुरको वेलायत यात्रा र कोतपर्व
जारका रूसी महलहरू र सद्धामका रिपब्लिकन गार्डहरू

फेरिएको पनि छ अचेल जंगल
बेदनाका निरीह गीतमात्र गाउँदैन जंगल
फुच्चे खरायोहरू पनि कवाज खेल्छन
हिंश्रक सिंहको ओडार मुन्तिर
बरू मारिन्छन् दौडदा-दौडदै
बोकेर स्वाभिमानको चम्कीलो आकास
एक-एक गाँस जुठोपुरोमा
आत्मा समर्पण गरिदैन जंगलमा अचेल
तर्साएर वा किनेर जनावरहरूलाई जंगलमा निकाल्न सकिदैन
प्रायोजित बासी अनुहारहरूको घिनलाग्दो जुलुस
हिंश्रक सिंहका कलाहीन नाटकहरूलाई
बेचेर स्वाभिमानका मानकहरू
सभक्ति क्रान्तिकारी कृतज्ञता चढाउँदैनन् जंगलहरू

छोरी,
के तिमी जंगली जनावर जति स्वाभिमानी बन्न सक्यौं?
के तिमी फूच्चे सेतो खरायो जति संघर्षशिल बन्न सक्यो?
यतिहँदा त जंगलमा टिक्न सक्दैन लोकतन्त्र
अनि कसरी टिक्ला छोरी
संघर्षहीन फटाहा मान्छेको बस्तीमा
मेरो प्यारो लोकतन्त्र! तिम्रो प्यारो गणतन्त्र!!

Basanta Mohan Adhikari – Jasko Lagi Banchthen Marthen (Nepali Gajal)

बसन्त मोहन अधिकारी – जसको लागि बाँच्थे मर्थें

जसको लागि बाँच्थे मर्थें उही आज पराई भयो
उसको बाटो पर्खिबस्दा चितामाथि सुताई भयो

उसको माया संगालेर मिठो सपना सजाएथेँ
सपना जली आज मेरो दागबत्ती खुवाई भयो

गाँउमा हल्ला फिजाएर बदनाम गराई छाड्यौं
जिउँदै मारी जलाउँन तिम्रो माया सलाई भयो

सपना जली देह बल्दाँ हाँस्छौ अरे दुनियाँमाझ
चोखो जीवन यो नारीको सधैं तिम्रो रजाई भयो

लिएर दोष बदनामी मैले मात्र जिउनु पर्यो
आज जिउन नसकेर जीवन आगोलाई भयो

Hari Govinda Luitel – Mero Saathi Baikunthe [Nepali Bal Kabita]

हल्ला गर्छ असाध्यै
मेरो साथी बैकुण्ठे
चकचक गर्छ असाध्यै
मेरो साथी बैकुण्ठे

पढ्न पनि मान्दैन
मेरो साथी बैकुण्ठे
लेख्न पनि मान्दैन
मेरो साथी बैकुण्ठे

आमालाई नि टेर्दैन
मेरो साथी बैकुण्ठे
बाबालाई नि टेर्दैन
मेरो साथी बैकुण्ठे

मिली खेल्न जान्दैन
मेरो साथी बैकुण्ठे
बाँडी खान जान्दैन
मेरो साथी बैकुण्ठे

एकलकाँटे बैकुण्ठे
घोसेमुण्टे बैकुण्ठे
असाध्यै नै नजाती
मेरो साथी बैकुण्ठे !

Bipin Singhal – Prem Katha

बिपिन सिंघल – प्रेमकथा

त्यो कोरेको प्रेमकथा हाम्रो
अमर छ मन भित्र मेरो,
त्यो तिम्रो चुप रङ्ग मा मिसिएको
प्रेमिल रङ्ग अति अति – मोहिलो
तिमि संगको जीवनसाथ सधै सधै -रमाइलो ||

त्यो डरलाग्दो रिसालु मुहार तिम्रो
अझ याद छ मलाइ तिम्रो
रीसमा बग्ने बानी मेरो,
त्यो दामन को मिठो सुवास तिम्रो
अझ याद छ मलाई
घरीघरि प्रेमपरिक्षा लिने बानी तिम्रो,
तिम्रो प्रेमप्रशन को गलत जवाफ दिने
बानी मेरो अति अति – अनौठो
तिमि संगको जीवनसाथ सधै सधै रमाइलो ||

त्यो गजबको लाली गुलाबि ओठमा सजाइ
मायाको मिठा मिठा कुरा गरि मन लोफ्याउने तिमी,
त्यो घन्टौ सम्म देउरालिको चौतारिमा बसि
आआफना मनको कुरा साट्ने प्रेमी हामी,
कहिल्यै साथ नछाड्नु भनी कसम
खुवाइरहने तिमी अति अति – सार्हो
तिमि संगको जीवनसाथ सधै सधै -रमाइलो ||

त्यो तिम्रो अंगालोमा बेग्लै आनन्द
स्मरण गर्ने मुटु मेरो
त्यो तिम्रो बारेमा सपना बुनि
भित्र भित्रै खुसी हुने मुटु मेरो
अति अति – गहिरो
तिमि संगको जीवनसाथ सधै सधै – रमाइलो ||

त्यो तिमिलाइ सम्झी सम्झी प्रेमकथा
लेखने म अति अति – ओथेलो
तिमि संगको जीवनसाथ सधै सधै रमाइलो ||

Bhojraj Baral – Byawasaya

भोजराज बराल – ब्यवसाय

पाँच रुपैयाँको एउटा गेडो स्याउ,
सफा पानीले धोएर,
दश टुक्रा पारेपछी,
एउटा सुन्दर खोलमा,
यसमा यती भिटामिन छ
र उती प्रोटिन छ,
श्वस्थ जीवनको लागि,
कम्तिमा
दिनको एक पोका खानै पर्छ,
इत्यादी,
उस्तै उस्तै लेबल राखेर,
दश रुपैयाँमा बेच्न सक्न पर्छ!

– London

Kiran Budhathoki – Chirantan

किरण बुढाथोकी – चिरन्तन

म छँदै छु
घोप्टिए पनि,
झरे पनि,
मासिए पनि,
नाशिए पनि,
या डुबे पनि,
चाहे जे भएपनि
मत छु-छु।

शरीरको धोक्रोमा
अक्सिजन जमाई,
एउटा पोकोमा
अलिकति रगत पोको पारी
हिडिरहेको,
वास्तविक म होइन
नत म
गिदी जिब्राको दास हुं
न भोगी हुं
न रोगी हुं
नत योगी नै हुं
अँह,
ब्यर्थको अहंकार पालीहिड्ने
ढोंगी त म हुंदै होइन
म यस्ता कुराले छुइन्न।

न खोलाजस्तै बग्छु
न समुद्र भेट्न तम्सन्छु,
हुन त म तिमीजस्तै देखिन्छु
तर म तिमी होइन
च्यातिए पनि
टुक्रिए पनि
मत म नै हुं र रहन्छु
यो ब्रह्माण्डमा
बनेर एक
चिरन्तन कण।