Geeta Tripathi – Bina Wajan Ka Manchhe Haru

गीता त्रिपाठी – विना वजनका मान्छेहरु

बादलको देशमा
बादलकै मान्छेहरु
टेक्छन् बतासे खुट्टाहरु र
सरिरहन्छन् कहिले यता
कहिले उता

तिनका हलुका वजनहरु
तानिँदैनन् पृथ्वीको गुरुत्वाकर्षणतिर
मातृशक्तितिर
ती Continue reading “Geeta Tripathi – Bina Wajan Ka Manchhe Haru”

Lakshmi Mali – Chhadma Aatankakari

गाउँको एउटा लाटो छोरो
लट्टाई घुमाउँदै
आकाशतिर चङ्गा खोज्दै
कुनै पनि बेला हिँडेको हुन्छ
बालसुलभ खेलयात्रामा
बारीका डिलहरुमा
खेतका आलीहरुमा
भिडन्त र भोकमरीहरुमा
न चासो, न गुनासो
रोल्पा–रुकुमको नरसंहार
हुम्ला–जुम्लाको अनिकाल
वल्र्ड ट्रेड सेन्टर टावरको धुँवाको मुस्लो
अफगानिस्तानको गोलाबारुद
केहीमा विस्मात छैन
बस् !
उसलाई चङ्गा हेर्ने रहर
आँखा जुधाउनेसँग हाँस्ने रहर
न कुनै पूmलको कथासँग सहमति
न कुनै बूटको व्यथासँग विमति
एक्लै बनचरीजस्तै
स्वतन्त्रतामा रुपान्तरित जीवन उसको
एकदिन एकाबिहानै
गाउँको त्यो लाटो छोरोको
मृत्युको समाचार आउँछ
समाचारमा
आतंककारीको नाउँ छ ।

Komal Shrestha Malla – Timi Mitho (Nepali Gajal)

कोमल श्रेष्ठ मल्ल – तिमी मिठो

तिमी मिठो हात मिठो गजलको आत मिठो
तिमी टाढा बसे पनी गजलको साथ मिठो

आउ आउ यसैगरी तिमी सधै तलतलमा
भेट्न पाउ सधैभरी हजुरको गाथ मिठो

लेखीदेऊ नमेटीने झलमल गर्ने तिम्रै Continue reading “Komal Shrestha Malla – Timi Mitho (Nepali Gajal)”

Rabindra Nath Thakur – Divya Ras [From Geetanjali]

दिव्य रस
हे मेरा नाथ !
मेरो जीवन–पात्र सुधाले परिपूर्ण छ,
तिमी कुनले दिव्य रस पान गर्न चाहन्छौ ?
हे मेरा कवि ! के तिमी स्व–निर्मित संसार–प्रतिमा मेरा नयनमा
हेर्न चाहन्छौ ?
मेरा कर्ण–कुहरका नगीचमा मूक बसेर, आफैले कथेको गीतका दिव्य
स्वर सुन्न नै मन पर्छ, हो ?
तिम्रो सृष्टिले मेरो ह्दयमा सुन्दर शब्दका जाल बुनिरहेछ,
तिम्रो आनन्दमय प्रेम ती शब्दमा गीत भरिरहेछ, यही साधनले
मेरा गीत प्रस्फुटित हुन्छन् !
प्रेमवश तिमीले आङ्खनो सर्वसव मेरो ह्दयलाई अर्चना गरिदिन्छौ,
अनि आङ्खना सारा माधुर्यलाई मेरो अन्तरमा हेर्न चाहन्छौ ?
हे मेरा नाथ ! तिमी कुन दिव्य रस पान गर्न चाहन्छौ !

Gopal Kawali – Kasaika Bhawana Haru Sanga Nakhelnu

गोपाल कवाली – कसैका भावानाहरुसंग नखेल्नु

कसैका भावानाहरुसंग नखेल्नु बुद्दिमानहरुले
यो त सारै कमलो पो त हुन्छ
प्वाल परे पुरिंदैन
चर्किए जोडिदैन
तिखा बचनहरु अदृस्य बाणहरु हुन्
यसको चोट अदृस्य नै हुन्छ
सिरुपाते खुकुरीले भन्दा गहिरो डाहा दिन्छ
कता हो कता भित्र गहिराहिमा
सम्झिए बल्झिन्छ, थुम्थुम्याए पिलिन्छ
समयान्तर संगै केहि वईलिए पनि
झस्किंदै पिच्छे चस्किंदै बौरिन्छ
भलो गर्न सकिंदैन कसैको भने
कुभलो सोच्ने पनि अधिकार हुन्न
गुण लगाउन सकिन्न कसैलाई भने
अपजस दिन पनि उपयुक्त हुन्न
पन्च-तत्वको चलायमान मुर्ति भित्र
संवेग र सम्बेदना अत्यन्तै नाजुक तत्वहरु हुन्
झुर्रिएको सिसा बरु कृत्रिम रुपमा जोडिएला
चोईटिएको हड्डी बरु पुरानै रुपमा मोडिएला
तर मन…………………………?
यो त टुटे पछि टुट्यो टुट्यो
यो त दुखे पछि दुख्यो दुख्यो
यो त मरे पछि मर्यो मर्यो!!!

जुलियन,अफगान,२२/१२/१२

Damodar Pudasainee – Samayagarbha

दामोदर पुडासैनी किशोर – समयगर्भ

आकाश मुठ्ठीमा राख्न खोज्दैछु
जीवन उचाई चाख्न खोज्दैछु
कहाँ हराए मेरा प्रिय पातहरू
समयसँग उज्यालो माग्न खोज्दैछु
कहाँ गए होलान् बास बस्ने चराहरू
कहाँ गए होलान् सुवास खोज्ने जराहरू
फूल खोज्दा खोज्दै ,किन पुडकिएको मान्छे गमलामा
बिर्सनेसँग हिसाब किताब माग्न खोज्दैछु
कयौँ यात्रा घाममा भयो कयौ यात्रा तुवालोमा
कयौ यात्रामा जीवन ,गुमनाम टाँग्न खोज्दैछु
ठिँग उभिएकोछु सँसारलाई पैतालामा झुण्ड्याएर
सँसार मुठ्ठीमा कोचेर अन्तै कतै भाग्न खोज्दैछु
कयौ आए गए मेरै छेउको बाटोबाट
बिसाउँनेको भारी सँझन खोज्दैछु
घामझैँ फर्केन कोही पनि जानेहरू
जानेलाई आफ्नै नाम सँझाउँन खोज्दैछु
गुनासो बोकेर उभिने धेरै भेटिए शहरभरी
नासो बोकेर उभिने ख्वै को कहाँ छ खोज्दैछु
बुँख्याँचा त धेरैलाई बनाइन्छ हिजोआज
कँक्रिट तोडेर दूर देश दूर मन टेक्न खोज्दैछु

२०७५ फागुन ५ गते आइतबार
सोल्टी होटल ,नेपालगँज

Biplav Pratik – Sthiti Chitra

बिप्लव प्रतिक – स्थितिचित्र

प्रचण्ड गर्मी, तातो ! तातो ! तातो !
मान्छेहरू बोसोदेखि गिदीसम्म पग्लिँदै गइरहेछन्
तरल ! तरल ! तरल !
शहर बाफिएको छ
उसिँनिदैछन् घरहरू
छटपट ! छटपट ! शहर छटपट !
मान्छेहरू Continue reading “Biplav Pratik – Sthiti Chitra”

Diyesh Ratna Shakya – Rajmarg Ma Ubhiyera

दियेश रत्न शाक्य – राजमार्गमा उभिएर

उनी धर्ती हून्
अलिकति ढलान
अलिकति अलकत्राले छोपेर
फेरिन सक्दैन
आमा मनले भरिएको उनको कोमल छाती
जहाँ आनन्दलय समातेर
गुडिरहेछन् सवारी वाहनहरू
बोक्दै गन्तव्य -रसपानका यात्रुमनहरू

सडकको नाउँमा
उ साझा आँगन हो
समावेशी पात्रहरूको खुल्ला नाट्यशाला जस्तो
सम्मान थाप्न नायकहरू
आउने बाटो यही हो
अपमान छल्न खलनायकहरू
भाग्ने बाटो यही हो
खर्पनभरि तरकारी र जुजुधौको
बिहानी साइत बोकेर
सहर पस्दै गरेका किसानहरू
झोलाभरि भविष्यको नक्सा बोकेर
स्कुल लाग्दै गरेका नानीहरू
सबैले नाप्ने बाटो यही हो

हो यहीं भेटिन्छन्
भिक्षाटन हात फिंजाउँदै
बिरहको सारङ्गी बजाउनेहरू
मर्निङ वाक वा म्याराथनका
स्वस्थ पदचापहरू
बधाई टोप जस्तै पड्किरहेका
फौजी जवानका हिंडाइहरू
बिना कुनै सर्भिस चार्ज
चाउचाउ ,जुस र मिनरल वाटर
पस्किरहेका सडकछाप वेटर/वेट्रेसहरू
लिपस्टिक र आँखीभौ झैं खुलिरहेका
सेता,पहेंला र जेब्रा क्रसिङ्का धर्साहरू
किन हो यसलाई मेट्ने
उदण्ड प्रयास गरिरहेछन्
एउटा बेमौसमी जुलुस

उ साक्षी हो
इतिहास उन्ने
प्रत्येक घटनाहरूको
प्रत्येक दुर्घटनाहरूको
र उसले साँचिराखेको छ
सडकभरिको
सीमान्तकृत /बहिष्कृत/बलात्कृत आवाज
उ पुर्‍याउन चाहन्छ यसलाई
सर्वोच्च मुकामसम्म
लोड गर्दै कुनै हुलाकी गाडीमा
तर अफसोच
उनीकहाँ आइपुग्छ केवल
कुनै महानगरबाट दया गरेर पठाइएको
फोहोरको कन्टेनर
र उनका सूचनाका भण्डारणहरू
सदरमुकाम होइन
फोहोरसंगै डम्पिङ साइट पुगेर पुरिन्छ

बस् एउटा सम्बन्ध
घटना र सुचनाबीच टुट्छ
घटना र इतिहासबीच टुट्छ
घटना र न्यायबीच टुट्छ

Sushma Manandhar – Yuddha Sandhai Dukhchha

सुषमा मानन्धर – युध्द सधैं दुख्छ

चाहे भूगोलको कुनै पनि कुनामा
कुनै पनि हतियार चलाउ
मर्ने सधैं एउटै हुन्छ
मान्छे ।
नपुगेर मात्र पनि हैन
नपाएर मात्र पनि हैन
माटोको सानो टुक्रा
जसलाई तिमी देश भन्छौ
बढाउन या रंगाउन
आँखामा पट्टि बाँधी
गोली हानिरहेछौ
रक्तिम धरतीमा सारिरहेछौ
माटोका सिमानाहरु ।
रुग्ण बाजेको शिरमािथ
बमले उडाएको सििलङ्घ
बारुदका वर्षाबाट त्रस्त
नाति खुला आकाश हेर्छ
जीर्णशीर्ण अस्पतालका
अपाहिज भरोसाहरु
युध्दबाट बचेनन्
कुनै मन्दिरमस्जिद र गिर्जाघरहरु पनि ।
न कसैसँग जन्मको वैरी
न कुनै शत्रुता
तिमी कसैलाई चिन्दैनौ
न कोही तिमीलाई चिन्दछन्
तर तिमीले बोक्ने बन्दुकले
अमानव बनेर
कसैका छोरापतिबुवा र दिदीबहिनी
अनाहकमा एकएकलाई ताक्दै
चिनेर दुश्मन सिध्याएको घमण्ड गर्छ
कत्रो ठूलो शेखी!
असंख्य भ्वाङ परेका भित्ताहरुभित्र
प्वाल परेका भविष्यहरु
अस्मिता लुटिएका दिदीबहिनी
आँसु सुकेका आँखामा
नफर्किने भाइहरुका
प्रतिक्षा थापिरहेछन्
तर तिमीले
काख र सिउँदो रित्तो बनाउने
बेहिसाब उन्माद बोकेर
अगाडि राखेका छौ
एउटा नसिध्दिने युध्द ।
कालो होस् या गोरो
मान्छेभित्र रातो बग्ने रगत
मान्छेले नै युध्दमा तताएर
कालो बनाएका छन्चिस्याएका छन् ।
र त दुखेको छैन तिमीलाई
अन्यथा
खाटा बस्न नसकेको घाउ हो युध्दपिरोल्छ
युध्द जता र जहिल्यै होस् सधैं नै दुख्छ ।

Buddhi Moktan – Gharo Eutai Ho (Nepali Gajal)

बुद्धी मोक्तान – घारो एउटै हो

तिमीले खाने मैले खाने चारो एउटै हो
अछुत किन भन्छौ मलाई धारो एउटै हो ।

रगत तिम्रो सेतो भए मेरो भन्नु छैन
केशीकामा बग्ने कणको पारो एउटै हो ।

महल तिम्रो बास होला झुपडी चैं मेरो
हुरी बतास छेल्छ यस्ले गारो एउटै हो ।

नजर सबै राम्रो भए छैन जातभात
फर्क माथी हेरौ आकाश तारो एउटै हो ।

जीवन जल्छ एक दिन बाच्दा बाँडौं माया
मृत्युपछि पोल्ने काठको घारो एउटै हो ।

Harihar Dahal – Salaam Gorkhali

लेकली स्याउ का बगैंचा र आलुका बुँङ्हरुमा-
ब्वाँसाको अतिक्रमण बाट थकित् हुँदै,
मलसाप्रे र डेंडुले बालिहरु सखाप पारेको झोंकमा,
ठुलेकान्छो हिजो मलाया भर्ती लागेछ।
अभावमा बाँचेर दिनदिनै मर्नु को औचित्य खै?
आलु र पिंडालु मात्रा जीवन हो भने
एक पटक मर्नै पर्ने ध्रुबसत्य
हङ्कङको सेकङ डाँडाँमा प्रमाणित किन नहोस्!
नानी- बाबु लाई पापा र बुबुमा अल्मल्याएर
ठुलिकान्छी झुम्केफुली र मारबाडी मा रनभुल्ल भएपछी
एउटा थोत्रे थैलोमा-
तिनै फाटेका जिर्ण फेरुवा हरु
कम्मरमा भोजपुरे खुकुरी
अनी कुइरे काट्ने साहष बोकेर
काइतक बिमानास्थलमा ओर्लिएछ।
एउटा सेतो मान्छे ,तर साहेब
हार्दिक स्वागत गोर्खालिका नाममा
अनी भोलिपल्ट सेकङ डाँडामा राइफल ट्रेनिङ सकिएपछी
फोक्लेन्ड टापुमा ठुलेकान्छाको डफ्फा
उतातिर बाट अर्जेन्टिनाको एटमबम
तर के डेर्थे हाम्रा बिरहरु!
पर्सिपल्ट ठुलिकान्छिका नाममा एउटा पत्र
लेखिएको थियो-
ठुलिकान्छी !मिठो खानु झुम्केफुली झुन्ड्याएर
आलु र पिंडालु सँग एक छाक डिंडो पनि।
यँहा बिरगती पायो तिम्रो पतिदेबले।

(युद्ध हुदै गर्दा लेखिएको कबिता)

Krishna Prasad Parajuli – Ankha Bhitra Bilaundaina

कृष्णप्रसाद पराजुली – आँखाभित्र बिलाउँदैन
(मधुपर्क मंसिर, २०६७)

आँखाभित्र बिलाउँदैन जति, भाषाभेष
म त आएँ विदेशबाट सम्झी आफ्नै देश
चिल्ला चौडा बाटा देखेँ
आकाश ताक्ने घर
जस्तो देखे पनि मैले
सम्झेँ Continue reading “Krishna Prasad Parajuli – Ankha Bhitra Bilaundaina”

Rabindra Nath Thakur – Karunadhan [From Geetanjali]

हे करुणाधन ! मेरा ईश्वर ! मेरो ह्दय बाँझो भएको छ । कति
वर्षदेखि यहाँ बादल आएनन् । क्षितिजको नांगो रुप अति भयानक
भएको छ । कहिं पनि हलुङ्गो बाखल फैलिएको आँखाले देखिदैन ।
कहिले–काहि दुइ–चार थोपा पानी पर्ने लक्षणसम्म पनि देखिंदैन ।

यदि तिमीलाई मन लाग्छ भने मृत्यु झैं कालो डरलाग्दो आँधीबेहरी
चलाइदेऊ । ईश्वर ! यो निष्ठुर गर्मीले ह्दयलाई नैराश्य–चोटमा
छोपिरहेछ, यसकारण तिमीले तिम्रोमा बोलाऊ !

आफ्ना करुणाका सजल बादलका मनि निहुराइदेऊ ईश्वर ! जसरी
पिताका क्रोधपूर्ण आँखा देख्दा शिशुको रक्षा गर्नलाई माताले आफ्ना
सजल आँखा तल निहुराउँछिन् !

Komal Bhatta – Jati Chot Khapera Ni (Nepali Gajal)

कोमल भट्ट – जति चोट खपेर नि

जति चोट खपेर नि गंगाजी भै बह्यौ आमा
बाँचुन्जेलै अभाव र असन्तुष्टि सह्यौ आमा

रातोदिन डोको,नाम्लो,घाँस सँग प्रेम गाँस्दै
यिनैलाई आफ्ना दर्द सधैँ भरी कह्यौ आमा

सन्ततिलाई हुर्काउन दुखै दु:ख र पीडा झेल्यौ
जिन्दगीमा कयौँ दिन भोकै नाङ्गै रहयौ आमा

नखाइ नखाइ काम गर्दा निम्तियेर रोगहरू
शोक सुर्ता बढ्दै गए साह्रै जीर्ण भयौ आमा

ज्वलन र छटपटीले दुख्न थाल्यो प्यारो मुटु
टुहुरो नै बनाई हाल्यौ चट्टै छोडी गयौ आमा

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Dhruba Satya – Hamro Gharma Chor Pasyo

ध्रुवसत्य – हाम्रो घरमा चोर पस्यो

र सर्वोस्व लुटेर लग्यो
तर लगेन- हजुरबाको हुक्का ।

हजुरबाले पुराण सुनाउनु हुन्थ्यो
पुस्तौं पुरानो यो हुकका
चोरहरुले नै छाडेर गएका थिए रे
ती चोरहरु
जस्ले आकाश-तत्वबाट
Continue reading “Dhruba Satya – Hamro Gharma Chor Pasyo”

Purna Biram – Yaam Kai Kura

पूर्ण विराम – यामकै कुरा
(मधुपर्क साउन, २०६७)

तिम्रा अँगालामा रहेका बारुला र अरिङ्गालले मह बनाउने कुरा
कुन आधार समातेर विश्वासको रुमालमा जतन गरेर बांध्न सकिन्छ
गोडा नभएको मानिसलाई कृत्रिम गोडा जडान गरिदिएर
दौडाउँदा त्यो आफ्नै गोडाले दौडेको कहाँ देखिन्छ ?
खिइएका हाडहरू र कुहिएका मासुका थुप्रा बोकेको टापुले
सिगरेटको धूवाँ फुकेर कहाँ देख्न सक्छ
हजारौं वर्ग किलोमिटर टाढा रहेको क्रोडमा उम्रेको घाउलाई ?
करेलाको सर्वतको बोतलमा गुलियो छ भन्ने आवरण टाँस्दैमा
त्यो गुलियोमा परिवर्तन हुने होइन
एउटाले झण्डालाई पट्याएर गोजीमा हाल्दैमा
महान् झण्डाको दाहसंस्कार हुने होइन ।
चपाउँदै लाखामरी नाताशा मरिन् भन्ने हल्ला नगर
दही जमिनमा उमि्रदैन
जमिनमा दही पोखेर दही उम्रेको कुरा नगर
कहिल्यै नदेखिएको याम उदाएको छ
दुर्गन्धित शरीर उभ्याएर
आफ्नो शरीरको छायाँमा मेरो छायाँ समावेश नगर ।
कोकाकोलाको घुट्कोमा मरियमको पीडा कसैले बुझ्न सक्दैन
परेवाहरूले चाल्दैमा पखेटाहरू र छर्दैैमा हावा
बुद्ध उभिदैन रगत रोक्न नसकेको लाचार याममा
वख्ते नस्रको भारदारी प्रस्ताव
रवर्ट गि्रन पढ्नेहरूले इन्कार गर्छन्
सुसज्जित पोसाकका साथमा भोलि ढल्ने धरहरा चढ्नुभन्दा
राता मुगा एकत्रित गर्नु नै महान् कार्य हुनेछ
यो कहिल्यै नदेखिएको यामका निम्ति
मनले गरेको कठोर प्रतिरोध हुनेछ ।
पहिले सुनिन्थ्यो भित्ताका पनि कानहरू हुन्छन्
र यो याममा भन्न हिचकिचाउनु हुन्न-
भित्तामा रहेका केही पाका ईंटहरूसँग जिब्रा जडान भएका छन्
र ईंटहरू चिच्याइरहेछन्-
विपरीत धु्रवहरू एकले अर्कालाई मालिस गरिरहेका छन्
हुरीमा टापु छोपिदो रहेनछ अलवान ओढाएर
कपडा नै लज्जित हुँदो रहेछ
छोप्न नसकेर नग्नताका सन्दर्भहरूलाई ।
कहिल्यै नदेखिएको याममा
ताराहरूलाई छुर्पी ठानेर चपाउँदै
सर्कसको खेलाडी भएर
अँगालामा बारुला र अरिङ्गालहरू राखेर
बीसौं कुर्सीको अग्लाइ बनाएर
अग्लो भएको भजन गाउन लगाएर
भजन मण्डलीको माझमा भजन सुनेर बस
प्रकृतमा सगरमाथाको टुप्पोमा
बसिरहँदा एडमण्ड हिलारी पनि
देखिएन लेनिनभन्दा अग्लो
रोमन सम्राट टिटसले दैनिक दाह्री खौरिँदा पनि
त्यो कहाँ देखियो दाह्री पालेको कार्लमाक्सभन्दा सुन्दर ?

-३३ काठमाडौं

Rabindra Nath Thakur – Sandhai Naya [From Geetanjali]

तिमी संधै नयाँ नयाँ रुप लिएर मेरो प्राणमा आऊ, प्रियतम !
गन्धमा आऊ, वर्णमा आऊ, शरीरमा रोमांचित सपर्श बनेर आऊ,
मनमा आखण्ड आनन्दको सुधा बनेर आऊ,
मेरा मुग्ध मन्द नयनहरुमा आऊ, प्रियतम !
मेरो प्राणमा दिनहुँ नयाँ नयाँ रुपमा आऊ !
हे निर्मल, हे उज्ज्वल, हे मनोहर, आऊ !
हे सुन्दर, हे स्निग्ध, हे प्रशान्त, आऊ !
मेरो सुख–दुःखमा आऊ,
संधै नैमित्तिक काममा आऊ,
सबै कामको
उच्च लक्ष्य बनेर आऊ !

Seema Abhash – Ishwar Lai Sujhab

सीमा आभास – ईश्वरलाई सुझाव
(असोज मधुपर्क, २०६८)

पूर्खाले बनाएका छाना आगो जोरेका अँगेना
धान गहुँ फल्ने खेतका आली
आँगनदेखि पँधेरासम्म कोरिएका गल्ली
जति रिस उठे पनि नभत्काएस् ईश्वर !
ए ईश्वर ! तँलाई Continue reading “Seema Abhash – Ishwar Lai Sujhab”

Nirajan Sapkota – Ranagaatha

निराजन सापकोटा – रणगाथा

यो युगका रणगाथाहरु…
कसरि साध्न सकु ति असाध्यहरु…
कहिले आफ्नै सित त कहिले आफ्नै भित्र..
घोर गर्जन तथा धनुशका ति प्रतिशोदहरु..
खेत र हिमालमा उमारेएका ति शवहरू..
कसरी खोजु म बाहुन,छेत्री र किरातीहरु…
रंगायौ सहर, टोलका भित्ताहरु..
रंगबिरंगी रुख,हसिया र ताराका आकृतिहरु…
युगले खोजिरह्यो चन्द्र र सुर्जे फर्फरिरएको…
भैगो अस्तिको त्यो पुरानो खाना नतताउ..
अब सगरमाथाको बिज्ञापनले गृहस्ति नचलाऊ..
उठ उजागर गर नेपाली तिमी..
विश्वसामु अटुट पहिचान बनाऊ…
यो काल,प्रहर र सताब्दी सोध्दैछ…
जवाफमा नै सन्ततीको अस्तित्व झुन्दिदैछ…..

Min Dwandi – Hansena Din Raat Ra Bihana

रात कहिल्यै हाँसेको देखिएन
दिन पनि कहिल्यै हाँसेको देखिएन
कम्तिमा पनि बिहान त हाँसेकै हुनुपथ्र्यो
तर अपशोच !
बिहान पनि कहिल्यै हाँसेको देखिएन ।
अन्धकारको आडमा
नाच्न थाल्दछन् निशाचरहरू
कालिमा पोतिएको वातारणमा
आला भूतहरूको उत्सव शुरू हुन्छ
अनि सर्वसम्मतिबाट कालो पर्दाभित्र
भोलिको बिरूद्ध षडयन्त्र रचिन्छ
थाहा पाउँदा–पाउँदै पनि
हाँसोस् रात के हाँसोस्
त्यसैले, रात कहिल्यै हाँसेको देखिएन ।
उज्यालो भएर पो के गर्नु ?
अँधेरो मै बनेका जाल–मालाहरू
दिनको घाँटीमा पासो बन्दछन्
अनि, उज्यालोमा त मान्छेहरू
जिब्रो काटिएका देखिन्छन्
हात–खुट्टा बाँधिएका देखिन्छन्
अनि, अभावको व्रम्हाण्डमुनि
कच्याक्–कुचुक्क भै पिसिएका देखिन्छन्
यस्ता अप्राकृतिक दृश्यहरू भोग्दा–भोग्दै
हाँसोस् दिन के हाँसोस्
त्यसैले, दिन कहिल्यै हाँसेको देखिएन ।
निकै विवश छ आजकल बिहान पनि
अँध्यारोकै कोसेली लिएर
बिहान जन्मन्छ
अनि, षडयन्त्रको गोप्य पत्र बन्दी खाम
उज्यालोको हातमा थमाइदिन्छ
नचाहँदा–नचाहँदै पनि
अन्धकारले चढ्ने घोडा
अनि, षडयन्त्र ओसार्ने हुलाकी बन्न
बाध्य भएको बेला
हाँसोस् बिहान के हाँसोस्
त्यसैले, बिहान कहिल्यै हाँसेको देखिएन ।
रात हाँसेको देखिएन
दिन हाँसेको पनि देखिएन
कम्तिमा पनि बिहान त हाँसेको हुनुपथ्र्यो
तर अपशोच
बिहान हाँसेको पनि देखिएन ।