चामल गनेर धामी अझै जोखाना हेर्दैछन्।
कतै उधौली उभौली का बेला केही कसुर पर्यो कि?
या पोहोरको गोठधुपमा कुनै मुन्धुम् पुगेन कि?
सगुने र सिमेभुमेका लागि भाले त मन्साएकै हो।
बायु पस्योकी भनेर भेटी पनि पन्साएकै हो।
देवी देवतालाई भाकल पनि चढाएकै हो।
बुढीबजु त हाम्री कुलदेवी सरह नै हुन्
कस्तो लगान लागेको हो यो उमेरमा पनि?
सिकारी लाग्दा त फत्र्र्याक् फत्र्र्याक् पार्छ ,
अलिकति अक्षता फ्याकेर बनझाक्रीले―
डाकिनी साकिनीको समेत दोहोलो काढेकै हो।
“ गाउँमा अझै मसाने भुतहरु छन्”
यहाँ यस्तै यस्ता कुराको खेती हुन्छ।
तिमीले विकास पस्यो भन्दैमा म कहाँ पत्याउँछु र!
सूर्य हेरेर समय बोलिने यो ठाउँ,
मेरो आफ्नै पुरानो गाउँ हो भाई ―!
जहाँ साइत र कुसाइतहरु छन्।
जहाँ सकुनका अक्षताहरु अन्मन ,
अलिकति मन्त्र फुकिनै पर्छ
अझै पनि मेरो गाउँ बिउँझन ,
एउटा भाले बास्नै पर्छ।
Basudev Adhikari – Paris Ko Hawa Sanga
वासुदेव अधिकारी – पेरिसको हावासँग
परपरबाट बत्तिएर
कान नजिकै आएपछि त
सबै कुरा भन्नु नि !
किन कान नै तान्ने ?
किन झिर पठाउने भित्रसम्म ?
मन्त्रमुग्ध भएर
पेरिस हेरिरहँदा
त्रिकोणी बाटो देखिरहँदा
आइफेलटावर लुब्रे हेरिहँदा
धन्यवाद भन्न चाहेको हो तिमीले ?
आफ्नो बुढ्यौलीको
कथा हाल्न खोजेको हो तिमीले ?
कि मलाई
सानो देशको गरिब फुच्चे केटो भनी
गाली गर्न खोजेको ?
कान नजिकै आएपछि त
खुलस्तै कुरा गर्नु नि !
किन च्यात्तिने गरी कान तानेको ?
किन भित्रै पुग्ने गरी झिर पठाएको ?
पेरिस आउँदा
तिम्रो रेनेसाको गर्व
कण्ठै गरेर आएको छु
भिन्सी वागको पराग
काठमाडौँमै सुँघेर आएको छु
के भन्छौ त तिमी मलाई ?
आफ्नै रोमान्सको कथा !
युरो ऋणको घाउ
कि सोध्छौ ?
हाम्रो भद्रगोल मासिने समय !
नकार ऊर्जा निख्रिने अवधि !
कि डराएका छौ ?
म भित्र देदिप्यमान्
नयाँ नेपालको स्वप्न ऊर्जासँग !
परबाट बत्तिदै आएपछि
किन मौन तिमी ?
किन छुच्ची गुरुमाले जस्तो
कान तानिरहेकी !
झिर रोपिरहेकी !
Bhaskar Kaji – Aghosit Pagal
भाष्कर काजी – अघोषीत पागल
बिहानीको पहिलो प्रहरसँगै शुरु हुन्छ
उ उभिएको भूगोलको कथा
फिल्मको पर्दामा फेरिने दृश्यहरु झैँ
गाडी गुड्ने सडकभरी तिनै गाडीका टायर बल्छन्
सडकहरुबाट धूवाँको मुस्लो निस्कीरहेको Continue reading “Bhaskar Kaji – Aghosit Pagal”
Hariprasad Bhandari – Nepali
जन्मेको हुन्छ नेपाली भिजेर आफ्नै माटोमा
दुःख र सुख राष्ट्रको बोकेर आफ्नै छातीमा
अल्छी भै आफ्नो कर्तव्य भुलेर कैल्यै बस्दैनौँ
लोभ र लालच जालमा नेपाली हामी फस्दैनौँ।
विश्वका अग्ला हिमाल अम्बर चुम्न उठ्दैछन्
गण्डकी, कोशी, कर्णाली सागर भेट्न जुट्दैछन्
लाएर पर्खाल छेक्दैमा नदीको गति रुक्दैन
देखेर मोटा पाखुरा आस्थाको शिर झुक्दैन।
गुराँस फुल्छ अप्ठ्यारा पहरा–भीर फोरेर
संदेश दिन्छन् गौंथली चुच्चोमा माटो बोकेर
सानी र च्याण्टे मिलेर आस्थाको जग खन्दैछन्
स्वयम् आफ्नै खुट्टामा उभिनुपर्छ भन्दैछन्।
भिजेर आफ्नै माटोमा जन्मेको यौटा नेपाली
यै माटाको मायाम हुर्केको यौटा नेपाली
माटाको माया कहिल्यै बिर्सन उस्ले सक्दैन
सिर्जना फूल फुलाउँछ बाँधेर हात बस्दैन।
Biwash Pokhrel – Arajak Sahar Ma
विवश पोखरेल – अराजक सहरमा
सपनाको रङ्गीन घुम्टो ओढेर
अराजक यो सहरमा
प्रतीक्षाका आतुर मन ओछ््रयाउँदै
धमिला आँखामा मान्छेहरू खोजिरहेछन्
जीवनको उज्यालो रङ
खोजिरहेछन्
अप्रत्यासित ओठबाट अपहरित मुस्कान Continue reading “Biwash Pokhrel – Arajak Sahar Ma”
Sitaram Acharya ‘Sagar’ – Naya Nepal Aaune Kahile Hola [Nepali Gajal]
सिताराम आचार्य ‘सागर’ – नयाँ नेपाल आउने कहिले होला
आफ्नो सानो खरको झुप्रो छाउने कहिले होला
हाम्रो घरमा नयाँ नेपाल आउने कहिले होला
जनताको आय तोक्ने खान्छन् आधा लाख बढी
नेपालीले बाह्र हजार पाउने कहिले होला
ठाउँमा बस्ने आफैं गर्छ तस्करी र दुइ नम्बरी
सबैलाई समान कानुन दाउने कहिले होला
विकट गाउँ डाँडा पाखा नेपालीकै भूमि भए
भोको पेट भर्न त्यो मुख बाउने कहिले होला
कुर्सीमाथि खिचातानी सधैंभरी झै–झगडा
यो देशमा शान्तिको गीत गाउने कहिले होला
Bishnu Neupane – Yug Nayak Bhanu Bhakta
विष्णु न्यौपाने – युग नायक भानुभक्त
गोर्खा उन्दछ देशको रुप खिची भूगोलमा एकता
रम्घा चुन्दछ काव्यको विधि सिँची भाषा विचै एकता ।
भाषा हो पहिचान, राष्ट्र, जनता हो देशको मापन
नेपाली जनजाति जाति विचको सम्बन्धको साधन ।।
(१)
भाषामा मलिलोपना थपिदिने निख्खारता ल्याउने
रम्घाका गुरु भानुभक्त कवि हुन् संसार फैलाउने ।
जे गर्थे अनुवाद मौलिक कला पोखेर गर्थे उनी
नेपाली जनमासको हृदयमा सद्भाव छर्थे उनी ।।
(२)
घाँसी प्रेरक व्यक्ति हुन् समयमा ती भानु व्यूँझाउने
आफ्नै दिव्य कला सुषुप्त रहँदा उल्प्रेरणा ल्याउने
पैसा हुन्छ दरिद्र हुन्न मन भो घाँसी जहाँ गाउँथे
ती घाँसी तव भानुका प्रण बनी सानिध्यमा आउँथे
(३)
तीसौ फुट्कर छन् अमूल्य कविता यौटा महाकाव्यझैं
हो रामायण राष्ट्रको गहकिलो संस्कारको सारनै ।
आस्था, प्रेम र स्नेह, आदर थियो रामायणैको जतै
त्यो आस्था जनप्रीय श्लोकहरुले थामी रहेछन् अझै ।।
(४)
बढ्यो साक्षरता पढी घरघरै भक्तीय रामायण
लाखौं ती महिला तथा पुरुषको आदर्श आकर्षण ।
ज्ञानी बन्दछ ज्ञानले अझ पढे विज्ञानका ध्यानले
संस्कारै पनि बन्दछन् कति नयाँ ती श्लोकका प्राणले ।।
(५)
नेपाली जन गाउँथे लय झिकी जग्गे तथा भोजमा
पीडामा पनि गाउँथे र सुखमा, उल्लासमा मोजमा ।
दोहोरी अति खेल्दथे दिनदिनै व्यूँझाइ रात्रीहरु
प्यूँदै श्लोक सुधा कला धुन खिची आनन्द दात्रीहरु ।।
(६)
कैले हिन्दु परस्त ग्रन्थ भनियो त्यो लान्छना मात्र हो
सीता राम कथा सुरम्य युगको सौन्दर्यको शास्त्र हो
राणा काल कठोर चाल विचको यो दृष्टि नै क्रान्ति हो
साँचो अर्थ नबुभ्mनु तौलनु छिटै अज्ञान हो, भ्रान्ति हो ।।
(७)
दोस्रो हो लघुकाव्य अमृत सरी प्रश्नोत्तरी मञ्जरी
आस्थाको पनि ख्याल राख्नु भनियो हो भक्तमाला भरि ।
देखी दुष्ट बधू दुखेर मन त्यो तारापतीका मुनि
लेखे रात विताइ पुस्तक नयाँ शिक्षा बधूको पनि ।।
(८)
खेप्ता जेल कतै कुँदे मनहरू खेस्रा बने चाहना
ती खेस्रा अव स्वर्ण अक्षर बने यो राष्ट्रका भावना ।
मान्छे हुन्छ दरिद्र तैपनि सधैं जो गर्छ नौलो प्रण
पक्कै बाँच्तछ मृत्युमा पनि उठी संसारमा हर् क्षण ।।
(९)
यस्ता प्राञ्जल देशका सपुतकोे ती भानुको मूल्य के ?
मर्यादा भरि प्रेमको रस दिने ती भानुको मूल्य के ?
मोती मूल्य चिनाउनै रथ चढे भै सारथी भानुको
बढ्यो मूल्य विभूति, आदिकविको संज्ञा थपे मानको ।।
(१०)
भाषामा युग एक जन्मन गयो यी भानुका कोखले
मर्छन् मर्नेहरु मरेर सकियुन् इश्र्या गरी शोकले ।
माटोको मुटु स्वाउँदा कृति कला यी काव्यका दायक
नेपाली कवि भानुभक्त युगका साँच्चै बने नायक ।।
(११)
जस्को नाम मरेर जान्न जनमा मर्दैन त्यो कालले
देख्छन् भाव विचार प्यार पनले बाँधिन्छ संस्कारले
जस्ले देख्छ र लेख्छ सृष्टि विचको सम्बन्ध त्यो सारमा
उस्को नाम सदैव बाँच्दछ उठी आधार आकारमा
– शुक्रबार, 2 श्रावण, 2071
Min Dwandi – Dhaulagiri Ko Manchitra
सदरमुकामको पगरी गुथेर
महान जुलूस र ¥यालीहरू झेल्दै
दूधको साक्षी बिरालो बनेर
जालसाजीका कागतहरूमा खेल्दै
टुकी बालेर बिजुली–घरतिर
ओहर–दोहर गरिहेको भेटिन्छ बाग्लु¨
चैतेदशैंको मेला, रे–रे, बाग्लु¨ बजार ।
जागिरेहरूको पोका–पन्तरा बोकेर
रात नपर्दै रक्सी धोकेर
“अब मोटर यै बाटो आउँछ” भनेर फतुराउँदै
आधा–रातमै “भाले बास्यो” भनेर बतुराउँदै
कुस्माबाट स्याङ्जाको छातीमा
अनुदानको पीठोमा चलेको पहिरो देखेर
तीनछक परेको छ पर्वत ।
दुर्गम हुनुको सुविधा खाएर
विदेशीहरूको जडौरी लाएर
स्याउको रक्सीमा मन भुलाउँदै
पर्यटकहरूलाई मुक्तिनाथ डुलाउँदै
आफ्नै बासिन्दाको लागि
बिदेश बनेको छ जोमसोम
अंग्रेजीमा पाहुनाहरूलाई स्वागत गर्दा–गर्दा
आफ्नै भाषा बोल्न बिर्सन्छ मुस्ता¨ ।
मंगला र कालीको साँध–सिमानाभित्र
आफ्नै प्रकृति र संस्कृतिको चित्र
“मुरी छरेर पाथी उब्जने” भूमि भएता पनि
जाँडको खोलो बगाउन छोड्दैन बेनी
हरेक पटक यहाँ चुनाब के आउँछ
पूरा महाभारतको युद्ध आउँछ
यो त म्याग्दी हो बाबै म्याग्दी !
Baidyanath Upadhyaya – Baato
बैद्यनाथ उपाध्याय – बाटो
मेरो घरको अघाडि एउटा बाटो छ
सँधै आउने-जाने हजारौं मान्छेहरु
कहाँ देखि कहाँ पुगे
एक दिन यही बाटोबाट आएकाहरु
जीवनको लम्बाई समेटेर
आफ्नो पोका-पत्यौरा बोकेर
निक्लिए अन्तिम यात्रामा…
बाटाको छेउमा उभिएको बटबृक्ष काँप्दछ
पथिकहरुको दुख-गाथाहरुमा।
हावा दौडन्छ स्वाँ स्वाँ
पल पल यता उता
जीवनको त्रासदीबाट त्रस्त
पथिकहरुको गाथा पल्टाइ पल्टाइ
लपेटिन्छ बाटो हिंडनेहरुसँग
धूलो पनि।
देखिंदैनन अब बाटाहरुमा
आउँदै जाँदै यही बाटोबाट
खतम भए धेरै मान्छेहरु
टाढासम्म फिंजिएको
पार गर्दै अनेक मोड
जीवनको एक छेउ बाट अर्को
छेउ सम्म-
र त्यो भन्दा पनि अघाडि
निक्लन्छ यो बाटो।
(Sent to Sanjaal Corps via Email)
Deepak Jadit – Aaja Ka Hami Yuba Haru
दीपक जडित – आजका हामी युवाहरु
एक झुण्ड युवाहरु
यता सडकमा
अवागमन अवरुद्द गराएर
उधुम मचाईरहेछौं
सवारी साधन जलाएर
ढुँगा मुढा वर्षाउंदै
तोडफोडको
ताण्डव देखाईरहेछौं
बेमतलब हामीहरुलाई
अगाडी कस्लाई Continue reading “Deepak Jadit – Aaja Ka Hami Yuba Haru”
Bhupin Byakul – Hajar Barsha Ko Nidra
भूपिन ब्याकुल – हजार वर्षको निद्रा
एउटा जीवन
म हजारौं वर्ष सुतिसकेको छु
अब ब्युँझन चाहन्छु निद्राबाट !
मानिसलाइ कोक्रोमा हालेर
लोरी गाउँछ बुद्ध
ब्युँझाउने भनेर
बुद्धले पनि मलाई सुताएर गएको छ
हिंड्दाहिंड्दै
सपना देख्न सिकेको छ मान्छेले
झन इश्वरले त
निदएरै सपना देख्न सिकाएको छ
पुस्तकका चिसा पृष्ठहरुभित्र
पुतलीहरु च्यापिएझैँ
म च्यापिएको छु
दर्शनका बोझिला किताबहरुबिचमा
र मस्त निदाएको छु जीवनभरी
ब्युँझने सपना देखेर !
ब्यूँझन चाहन्छु म
हजारौ वर्षको गाढा निद्राबाट !
Yogen Paudel – Haami
योगेन पौडेल – हामी
हामीलाई हाम्रो मूर्खता प्यारो छ,
हामीलाई मुढता प्यारो छ।
अराजकता, अकर्मण्यता, बिग्रह र उथलपुथल
कोलाहल, अशान्ति र अन्धकार प्यारो छ,
हामीलाई जडता प्यारो छ।
धुँवा, धुलो र टायर प्यारो छ,
तोडफोड, हड्ताल र हुल-हुज्जत प्यारो छ।
केही झुण्डका भाडाका सिपाहीहरु हामी,
जसका नाईकेहरु,
हामीलाई एक अर्का सँग भिँडाउँछन्,
र हामी भिँड्छौँ,
साम्प्रदायिकताका नाउँमा,
जाति, धर्म, भाषा र भौगलिकताका नाउँमा।
अनि, हाम्रा आस्थाका कुलेसाहरु जोडएपछि,
भरोसा, सपना र भ्रमका खहरेहरु जोडिएपछि,
ती नाईके नदी बन्छन,
र बिसर्जित हुन्छन,
दम्भ, अभिमान र अहँकारका
शक्ति, सत्ता र पैसाका,
फोहोरी समुन्द्रहरुमा।
लघुताभाषले संक्रमित हामी,
अकर्मण्यताले ग्रसित,
उत्तर फर्केर धारे हात लगाउनु,
अथवा दक्षिण हेर्दै सत्तोसराप फलाक्नु,
राष्ट्रप्रेम भन्ठाँन्छौँ।
वा आफ्नो अस्तित्वै बिर्सेर,
स्वभिमानै बिर्सेर हामी,
एउटा पुल बन्न चाहान्छौँ।
उत्तर र दक्षिण जोड्ने त्यस्तो पुल,
जसको ढाड टेकेर,
बेरोकटोक पार हुन सकुन्
उत्तरका प्रगतिहरु दक्षिणतिर
र दक्षिणका उत्तरतिर।
हामी खस्ला र खाँउला भन्ने आशमा
एकादेशको कथाको स्याल झैँ
कुर्न तयार छौँ,
फगत एउटा पुल बनेर।
सानो क्षेत्रफलमा कैद
हाम्रो सोचाईको परिधि,
खुच्चिँग खुचिँगमा रमाएको
हाम्रो प्रगति,
सिद्धान्त र बादको भारीले थिचेको
हाम्रो बामपुड्के बैद्धिक उचाई,
सँकुचनमै रमाएको,
हाम्रो मानसीकता,
हो, हामीलाई यीनै बिरोधाभाषहरू प्यारा छन्
अक्षमता डँगुरहरु प्यारा छन्।
हामीलाई हाम्रो मुर्खता प्यारो छ,
हामीलाई मुढता प्यारो छ।
Acharya Prabha – Desh Kina Dukhnu
आचार्य प्रभा – देश किन दुख्नु ?
सब लेख्छन देश दुखेको
कबिता, गीत, गजल
अनि के के, के के, …….?
मलाई त लाग्दैन कि
देश दुखेको छ,
देशलाई रोग लागेको छ,
देश शिथिल छ ,
अँह…. होईन………,
म पटक्क मान्दिन,
देश किन दुख्नु ?
यदि देश दुखेको भए
शायद……. यत्ति बिघ्न
आप्राधिक क्रियाकलापहरू सहेर
उ अझ सबल झैँ किन
अडिग भएर बाँचिरहन्थ्यो ?
बरु लेख्नोस न
देश दुखेको गुनासो हैन
देशलाइ उपचार गर्ने
मथिंगलहरू नै
रोगले भयभित बनी
दुखेको छ भनी,
अनि सोच्नुहोस् न ,
देशलाई सुरक्षा दिने
पाखुराहरू नै
“प्यारालाइसिस”ले
ग्रषित छ भनी ।
अनि भन्नु होस् न
देशको जग बनेर देशलाई
उभ्याउने खुट्टाहरू नै
“रिक्रेट्स” जस्तो संक्रामक रोगले
कुंजिएको छ भनी ।
यी सब रोगहरूमा
नजर अन्दाज गर्ने आँखाहरूमा नै
रतन्धो लागेको छ भने
अब कसरी भन्ने
देश दुखेको छ
देश दलदलमा फँसेको छ भनेर ?
म त भन्छु हामी सबै
मित्थ्या भ्रममा फँसेका छौं
केवल देशलाई दोषेका छौं
जब हामी नै असक्त र
अपाहिज छौं भने,
धर्ती कसरी अशक्त बन्न सक्छ ?
उ त कालान्तरदेखि नै
स्वस्थ्य, अजर, अमर छ
त र अफ्सोच !
उस्लाइ सम्रक्षण गर्ने
हाम्रा हौशला र सोंचहरूमा नै
धमिरा लागेको छ भने
अब सम्झौं
देश कसरी दुख्न सक्छ ?
शायद देश दुखेर
उस्ले पीडाबोध गरेको भए
त्यो छात्ती जीर्ण, जीर्ण बनेर
यत्तिखेर सम्म
कहाँ हामीले देश दुखेको
पीडाबोध गर्ने मौका पाउँथ्यौँ र ?
हो….. देश सबल बनेर त
हामीले नानाथरी अभिनय गर्दै
देशको छात्तीलाई रंगमन्च
बनाएर टेकीरहेका छौं,
कुल्चिरहेका छौं ,
बिभिन्न ढोङ रचेर ।
अब भने शायद
यसरी नै यो छातीमा
तान्डव नृत्य गरिरह्यौ भने
देश दुख्नु मात्र नै
देश दीर्घ रोगी बनेर
कुनै दिन लम्पसार बनिदिनेछ
अनि हामीले देश दुखेको
आभाष मात्र ग र्नेछैनौ
देश चिरनिद्रामा सुतेको नै
महसुश गर्नेछौँ
अनि हामी आफैं
चिरनिन्द्रा बाट ब्युँझनेछौ
कि…. देश दुखेको वा,
हाम्रै सोंच, मानसपटलमा
रोगका किटाणुहरूले
संक्रमण गरेको भनी
त्यसैले म मान्दिन
देश दुखेको छ भनी ……..।
(मार्च १५, २०१० रचना समय )
Dig Bahadur Tamang – Nepal Aama Ko Pukar
डीग बहादुर तामाङ्ग – नेपाल आमाको पुकार
मेरो अस्मिता लुटन तम्सिनेहरु
सुन म उहिले नै मुर्दा बनिसकें
मेरा स्तनहरुमा नजर लाउनेहरु
उहिले नै क्यान्सर लागेर
नौ दश बर्ष पहिलै झरि सक्यो ।
मेरा मुहारमा नजर लाउनेहरु
सुन अब म मखुन्डो झै बनि सकें
तर्साउने बस्तुमा परिणत भै सकें
अब त निश्चल कुहिन लागेको
झिंगाहरु भनभनाइएका
एउटा शास नभएको निर्जीव प्राणी
अचेत अवस्थामा चिर निद्रामा
शील ढुंगा झै बसेकी अवस्था मात्र बाँकी छ ।
कुनै दिन मुर्दाघरका मालिक आएर
मेरो दाहसंस्कार गर्लान नगर्लान
त्यहि समाचार विश्वभरी ठूलो खबर बन्ला नबन्ला ।
सायद त्यो शौभाग्य पनि मेरो मुर्दाले
नपाएर, स्याल, कुकुर र गिद्धहरुको
लुछाचुँडीमा पो पर्ने हो कि ?
मुर्दा भएको शरीरलाई के मतलब
जहाँ घोचेपनि, जहाँ काटेपनि दुख्ने होइन,
जे गरोस के मतलब आखिर मुर्दा न हो ।
तर याद गरिराख हे मुकदर्शकहरु हो
मुर्दा ब्यूँझेको दिन उनीहरुको सातो जानेछ ।
मेरिल्यण्ड, अमेरिका
Rabindra Nath Thakur – Sunsan Swar [From Geetanjali]
ईश्वर ! तिम्रो अनन्त मौन पनि म स्वीकार गर्छु
तिम्रो नीरवतालाई नै म ह्दयमा राख्छु !
तिम्रो प्रतीक्षामा निहुरिरहेको यो नीरव रात ताराहरुका बत्ती
बालेर अनिमेष आँखाले तिम्रो बाटो हेरिरहेछ ।
म पनि त्यही स्तब्ध प्रतिक्षा आङ्खनो ह्दयमा राख्छु !
जब बिहान हुन्छ, अन्धकार टाढा हुन्छ :
तिम्रो वीणाको सुनौला तारहरुबाट प्रस्फुटित स्वर धारा आकाशमा
पुगेर पृथ्वीमा छाउँछ :
त्यस वेला मेरो मन–पक्षीको घर पनि तिम्रो गीतले, तिम्रो स्वरले
मुखरित हुन्छ ।
तिम्रो स्वर–कलिका उपवनमा भएका झार–पातमा फूल झैँ
भएर हाँस्छ, होइन र ?
Hari Govinda Luitel – Najau Tadha Bhangeri [Bal Kabita]
भुर्र यता उडेर
फुर्र उता दौडेर
नजाऊ टाढा भँगेरी
बेचेरालाई छाडेर
चीलले टिपी लैजाला
कागले चोरी लैजाला
मल्साँप्रोले खाइदेला
कालो साँपले खाइदेला
तातो घामले सुकाउला
असीनाले दुःखाउला
पानी दर्की Continue reading “Hari Govinda Luitel – Najau Tadha Bhangeri [Bal Kabita]”
Krishna Sen Ichchhuk – Bandi Ra Chandragiri
कृष्ण सेन ‘इच्छुक’ – बन्दी र चन्द्रागिरि
विजयको अन्तिम दिनसम्म
सबै रहौंला नरहांैला पछि हामी
र, सायद यो खुसीको हर्षित क्षण
हाम्रो सुखद मिलनको अन्तिम क्षण पनि हुन सक्छ ।
र, म पनि रहिनँ भने
यस काव्यको अन्तिम अध्याय पनि
लेखिँदा लेखिँदै भोलि अपूर्ण रहनसक्छ ।
तर गेष्टापोको ग्याँस च्याम्बर जस्तो
यस सन्त्रासमय समयमा जस्ले
गद्दारी होइन मृत्यु रोजेका छन्
वास्तवमा यी सच्चा जीवन बाँचेका छन् ।
तिनको नश्वर शरीर कायम नरहे पनि
तिनका महान् आशा र अभिलाषाहरू
सधंै सधैं जीवित रहनेछन् ।
जीवनको अन्तिम दिनसम्म,
जो कञ्चन र इमान रहे
तिनका सहज स्मृतिहरू पनि
सधैं–सधैं जीवित रहनेछन्
किनकि ती जति बाँचे
र तिनका असल स्मृतिहरू पनि
सधैं–सधैं जीवित रहनेछन्
वास्तविक जीवनमा
को मर्नेछन् र को बाँचिरहने छन्
त्यसको अन्तिम फैसला समयले गर्नेछ,
र भन्नेछ–
जो देश र जनताको लागि बाँचे
ती मातृभूमिका सच्चा सपूत हुन्
र तिनका पवित्र स्मृतिहरू पनि
सधैं–सधैं जीवित रहनेछन् ।
००० ००० ०००
मैले मेरो राष्ट्रलाई मुटुमा राखेर
मनखुसी जिन्दावाद ! भन्न किन नपाउनू ?
मैले मेरो राष्ट्रका कुलङ्गारहरूका विरुद्ध
मुठ्ठी उठाएर मूर्दावाद ! भन्न किन नपाउनू ?
लुकेर देशको छातीमा तीर चलाउने
ए मेरै देशका शिखण्डीहरू हो
तिम्रो पाखण्डीपनको विरुद्ध
मैले तिमीलाई घृणाले धिक्कार्न किन नपाउनू ?
डम्पिङ साइटका फोहोरजस्तै
राष्ट्रका घीनलाग्दा कसिङ्गरहरूलाई
बुल्डोजर लगाएर
देशले किन आज मनखुसी बढार्न नपाउनू ?
(स्रोत : बन्दी र चन्द्रागिरि, पेज ५३–५४)
Kali Prasad Rijal – Mero Hajur Lai Ke Diun Ni Bhet
मेरो हजुरलाई के दिऊँ नि भेट
तारा दिऊँ कि जून दिऊँ इन्द्रेणीको सेट
मगमग बास्ना दिऊँ कि फूलै फूलले बेरेर
हिउँचुली नै चढाऊँ कि, लालीमाले घेरेर
पखेरीको छायाँ दिऊँ कि, झलझलाउने शीत
सारङ्गीको सुरमा दिऊँ कि, एकै चरण गीत
शब्द – कालीप्रसाद रिजाल
स्वर – शर्मिला बर्देवा
संगीत – आलोकश्री
एल्बम – छायाँ
Acharya Prabha – Nabhana Ghaat Ka Kura (Nepali Gajal)
आचार्य प्रभा – नभन घातका कुरा (गजल)
नभन घातका कुरा
नगर जातका कुरा ।
कहिल्यै नपरोस् सुन्न
बैगुनी हातका कुरा।
जीवन बितेछ त्यसै
भनन रातका कुरा।
हरियो बन्नेछु सधैं
बुझन पातका कुरा ।
बोतल रित्याइ भन्छु
सुनन मातका कुरा ।
पीडामा डुबेकी छु म
नभन आहतका कुरा ।
मनमा बस्नेछौ तिमी
गरन राहतका कुरा ।
Bibek Dulal Chhetri ‘Damak’ – Bholi Ko Sundar Bhabisya Ko Lagi
विवेक दुलाल क्षेत्री “दमक” – भोलिको सुन्दर भबिस्यको लागि
सस्ता सिरियलहरूमा
लगाएको उस्को समय
म चोर्नेछु कुनै दिन
र लगाउनेछु ढिलो नगरी
यो देशलाई उर्बर बनाउन ।
अरुको भजन गाउन प्रयोग हुने
उस्का शब्दहरू
म बटुल्नेछु कुनैदिन
र लेख्नेछु
एउटा स्वभिमान उमार्ने
उत्साही पुस्तक।
आँफै मात्र सही र अरु होचो देख्ने
उस्को दरिद्र सोचाइ
म बदल्नेछु कुनै दिन
र भर्नेछु सबैमा
एउटा समाबेसी मुस्कान।
अब ठान्नुहोस्
यो मेरो कार्यसूची हो
तर फेरि बदल गर्न नमिल्ने
र अन्तिम भने होइन
तसर्थ यहाँको सुझाबको
अपेक्षा गरिनेछ।
किनकि मेरो मान्यता छ
यहीँबाट भोलिको सुन्दर बिहानीको
जन्म हुँदैछ यसैले।
अस्तु: