Basudev Adhikari – Paris Ko Hawa Sanga

वासुदेव अधिकारी – पेरिसको हावासँग

परपरबाट बत्तिएर
कान नजिकै आएपछि त
सबै कुरा भन्नु नि !
किन कान नै तान्ने ?
किन झिर पठाउने भित्रसम्म ?

मन्त्रमुग्ध भएर
पेरिस हेरिरहँदा
त्रिकोणी बाटो देखिरहँदा
आइफेलटावर लुब्रे हेरिहँदा
धन्यवाद भन्न चाहेको हो तिमीले ?
आफ्नो बुढ्यौलीको
कथा हाल्न खोजेको हो तिमीले ?
कि मलाई
सानो देशको गरिब फुच्चे केटो भनी
गाली गर्न खोजेको ?
कान नजिकै आएपछि त
खुलस्तै कुरा गर्नु नि !
किन च्यात्तिने गरी कान तानेको ?
किन भित्रै पुग्ने गरी झिर पठाएको ?

पेरिस आउँदा
तिम्रो रेनेसाको गर्व
कण्ठै गरेर आएको छु
भिन्सी वागको पराग
काठमाडौँमै सुँघेर आएको छु
के भन्छौ त तिमी मलाई ?
आफ्नै रोमान्सको कथा !
युरो ऋणको घाउ
कि सोध्छौ ?
हाम्रो भद्रगोल मासिने समय !
नकार ऊर्जा निख्रिने अवधि !
कि डराएका छौ ?
म भित्र देदिप्यमान्
नयाँ नेपालको स्वप्न ऊर्जासँग !

परबाट बत्तिदै आएपछि
किन मौन तिमी ?
किन छुच्ची गुरुमाले जस्तो
कान तानिरहेकी !
झिर रोपिरहेकी !

Basudev Adhikari – Kaafal Pakyo

वासुदेव अधिकारी – काफल पाक्यो

पोहोर पोहोर
कहाँ पाक्न पाउनु काफल ?
सधैँ ठिहीले खाने
सधैँ डढेँलोले चाट्ने
सधैँ बाँदरले लुछ्ने
मुना भाँचिहाल्ने
उत्पात खसाइ हाल्ने
चिचिला टिपिहाल्ने !

हिजो
वसन्त आगो फुक्थ्यो
वसन्त बाँदर पाल्थ्यो
वसन्त प्रलय बोक्थ्यो
तर पनि कोइली गाउँथ्यो
‘काफल पाक्यो, काफल पाक्यो’

यस पटक
ठिही पग्लियो घाममा
आगो बाल्दा बाल्दै
डढेलो प्रदायक समातिए
क्यामरामा कैद भयो
तिनको आगो, लज्जा र कलङ्क
बाँदहरु थाके
र वसन्त गानमा मिसिए
आफैँ मसाङ्ग्रियो उत्पात
जोगिए काफल बोटका मुना
जोगिए काफलका चिचिला
मिठो घामको स्पर्शमा
मुना छिप्पिइहाल्यो
चिचिला बढिहाल्यो
अहिले सबै काफल पाकेको होइन
तैपनि कोइलीले गायो
‘काफल पाक्यो, काफल पाक्यो’

चरीले काफल पाकेको गीत गाउनु
सबै बोट काफल पाक्नु होइन
सबै दाना काफल पाक्नु होइन
यो यामको गीत हो
यो उत्सवको सङ्गीत हो
यो महक उद्वोधन हो
याम शुरु भएपछि
नपाकेको बोट पाक्छ
उत्सव शुरु भएपछि
नपाकेको हाँगा पाक्छ
माहौलले नै नपाकेको दाना पकाउँछ
हो, कुनै दाना नपाक्न सक्छ
कुनै दाना कुहिन सक्छ
तिमी किन चिन्ता गर्छौ
काफलको जङ्गलमा
केही दाना काफल पाकेन भनेर
संसारको कुन जङ्गलमा
कुहिएको छैन एक दाना काफल ?

स्वागत छ
‘काफल पाक्यो’ गीतलाई !
कोइलीलाई !
पाकेको काफलको महकलाई !

नपाकेको काफल पाक्ने घाम
र किराबाट जोगाउने
तितेपातीको अर्गानिक झोल
छँदैछ नि हामीसित !

Basudev Adhikari – Yuropeli Gham Sanga

वासुदेव अधिकारी – युरोपेली घामसँग

कति गिजोलेका तिमीलाई
बादलले
हुस्सुले
कुहिरोले

जति प्रकाश फाले पनि
जमिन अँध्यारै
कति तेर्सिएका
अवरोधका काँडा
चिसा छुच्चा काँडा !

कति सक्रिय यो कुहिरो ?
प्रकाश चोर्न
न्यानो चोर्न
कता लान्छन् होला
यतिबिघ्न रश्मि ?

सुदूर उत्तरको जाडो भगाउन
मध्यरातसम्म आकाशमा रहने
तिम्रो प्रतिबद्धता
र तिमीमाथिको नित्य धावा !
हेर्दै नमिठो लाग्यो मलाई
चाख्दै अमिलो लाग्यो मलाई
काठमाडौँको न्यानो माया
र उत्तरी युरोपको यो परिदृश्य
कहिल्यै मूल्याङ्कन गरेका छौ तिमीले ?
त्यत्ति गिाजोलएर पनि
कति अथकित तिमी ?
कति प्रशन्न तिमी ?

३१ जनवरी २०१२, आम्सटर्डम—पेरिस रेल

– सोमबार, 19 श्रावण, 2071

Basudev Adhikari – Test Tube Karkhana Ko Manager

वासुदेव अधिकारी – टेष्टट्युब कारखानको मेनेजर

ज्ञान छोप्न युरोप आएपछि
पैसा बटुल्न अमेरिका पुगेपछि
कहाँ रुने अवसर हुन्छ र अरबिन ?
तिम्रो साटो हामी नै रुन्छौँ
घाँस काट्दा औँलो काटिएको रन्कोमा
अभावको बाघसँग लडिरहनु पर्ने सुर्तामा

अहो !
त्यत्ति सफा शहर
हिउँको काँडालाई घोच्ने
भुवै भुवाको न्यानो
गर्ल फ्रेन्ड ब्वाइ फ्रेन्डको लर्को
टेष्टट्युब बेबीको आविष्कार
टेष्टट्युब उत्पादन गर्ने ठुलठुला कारखाना
अरबिन, तिमी नै त्यसको म्यानेजर
कति ब्यस्त तिमी ?
कहाँ छ र तिम्री मायालुलाई सन्तान पाउने मन ?
कति बज्र भएको हगि ?
सृष्टिको मलिलो माटो
ढुङ्गै ढुङ्गाको धरती
शिलै शिलाको आकृति
अरबिन, साँच्चै ब्यस्त छौ तिमी
टेष्टट्युब उत्पादन गर्न

चाङका चाङ पैसा गन्न
गाउँमा तिम्री बहिनी
तीनै बेतमै छ वटा बच्चा पाउँछे
सुत्केरी बहिनीलाई
न माछामासु न ज्वानाको झोल
जुम्ल्याहा भाञ्जा भाञ्जीलाई
न दूध न गतिलो स्याहार !
तिमी कोक्किन्छौ कि रुन्छौ
यस परिदृश्यमा ?
कि रुन लाज लागेर
भित्रभित्रै आँसु खसाल्छौ हृदयमा
तप तप तप …!
सधैँ हाँसिरहने तिमी
कि हाँसोमै वाष्पीकरण गर्छौ आँसुलाई ?
शित जस्तो !
बेथा मिसिएको गीत जस्तो !

– सोमबार, 26 जेठ, 2071

Basudev Adhikari – Switzerland

वासुदेव अधिकारी – स्वीट्जरल्याण्ड

त्यति पर प्रकाश फाल्ने स्वीट्जरल्याण्ड
त्यति पर न्यानो पठाउने स्वीट्जरल्याण्ड
आफैँ किन कामेको जाडोले ?
घामको अस्पर्श पीडाले !

ज्ञानै ज्ञान
सीपै सीप
इमान्दारी नै इमान्दारी
कति पौडनु विश्लेषणमा ?
कति ब्यामोहित हुनु
राइन वा लिमत नदीको कञ्चन प्रवाहमा ?

स्वीट्जरल्याण्ड !
म आउनुपूर्व
तिमी नै आइपुगेका थियौ मेरो हृदयमा
चखाएका थियौ पसिनाको स्वाद
पठाएका थियौ पहाडको वास्ना
त्यतिखेरसम्म
हामी हिमाल हेरेर रुन्थ्यौँ (नाघ्न नसकेकोमा)
पहाड हेरेर पुर्पुरो बजाथ्र्याैँ(फुटाउन नसकेकोमा)
तिमी त पहाडलाई नै छेड्दा रहेछौ
हिमालको आभा फ्रेन्कमा बेच्दा रहेछौ
कति जानेका तिमीले
आफैँभित्रबाट उज्यालो झिक्न !
पहाडको कण कणबाट सौन्दर्य निकाल्न !

स्वीट्जरल्याण्ड !
हिजो अरु गफ बेच्थे÷रवाफ बेच्थे
तिमी हिजो भेडा पाल्थ्यौ
दूध कुरौनी बेच्थ्यौ
गफाडीहरु आज हतियार बेच्छन्
जनजनलाई लडाउँछन्
तिमी सीप र इमान प्रदर्शन गर्छौ
तैपनि पैसाको तुलो
तिमीतिरै ढल्किएको छ
मनको सुई तिमीतिरै फर्किएको छ

म अभिवादन गर्छु
पहाडबाट उदाएको यस ज्योतिलाई
ज्योति संवहन गर्ने हृदयको मोतीलाई

Basudev Adhikari – Jhanda Ko Geet

वासुदेव अधिकारी – झण्डाको गीत

ए, सिँगान नपुछ यस झण्डाले
यसलाई कोटको खल्तीमा पनि नहाल
दरो गरी समाऊ
फररर फरर फहराऊ
यसलाई चम्किलो
झन् झन् चम्किलो बनाऊ

झण्डा कमिज होइन
जो लगाएर फाट्छ
झण्डा फरिया होइन
जो लगाएर मैलिन्छ
र, माटोमा झरेर बिग्रिन्छ
यसलाई कोठामा बन्द नगर
बस्तीहरुमै लैजाऊ
मन मनमै सजाऊ
माटोकै वास्ना सुँघाऊ
ए, यो झण्डाको शानलाई किमार्थ नझुकाऊ

हिजो मैलो जस्तो लागे पनि
आज सुकिलिदैछ यो झण्डा
यसमा माटोको महक छ
राष्ट्रियताको चहक छ

मुलुक बनाउन
मुलुक बचाउन
अहिले यही झण्डा बोक
न्याय
समानता
समृद्धि
र एकता
सबै अटाउन सक्छ यस झण्डामा

Basudev Adhikari – Anam Sadak Ki Thiti Sanga

वासुदेव अधिकारी – अनाम सडककी ठिटीसँग

बैभव चोर्न आएको होइन
न तिमीलाई बराल्न आएको !

म त पेरिसको
बैभव सुँघ्न आएको
विकास हेर्न आएको
सौन्दर्य प्युन आएको
मोनालिसासँग बात मार्न आएको
मसँग किन ततर्किएकी तिमी ?

म अङ्ग्रेज होइन
मैले पनि कनिकुथी अङ्ग्रजी सिकेर आएको
(सदा त नेपाली नै बोल्छु)
बाटो भुलेपछि
के गरुँ त तिमीलाई नसोधेर ?
अघि नै भनेँ नि
म तिमीलाई बराल्न आएको होइन
म तिम्रो भाषा बिटुल्याउन आएको होइन
म तिम्रो भाषाको गुबो मार्न आएको होइन
(हाम्रोमा त्यस्ता आउँछन्)
किन ततर्किएकी तिमी ?
किन मौन बसेकी
के के भनेर
मलाई आँखा तर्दै हिँडेकी ?

Basudev Adhikari – Feri Paris Aai Pugen

वासुदेव अधिकारी – फेरि पेरिस आइपुगेँ

मोनालिसा !
फेरि पेरिस आइपुगेँ म
तिमीलाई भेट्न
हृदयभरि तिम्रो मुस्कान उबाउन
समुद्रै जस्तै
प्रशान्त तिमी
अलि हाँस्छौ होला नि यसपटक !

शान्त समुद्र
चूपचाप देखिए नि
हल्लिइरहन्छ
ज्वारभाटा निकालिरहन्छ
फिँज काडिरहन्छ
त्यस्तो हुन सक्तिनौ तिमी ?

सम्झनाको पानीले भिजाइरहने वर्षा
मिलिक्कै अस्ताउने ओमी
स्मित हाँस्ने तिमी
सबै बराबरी हो मेरा लागि
उनीहरु नजिक आउँछन्
पर जान्छन्
थप हाँस्छन्÷अरु रिसाउँछन्
तिमी न थप हाँस्छौ
न थप रिसाउँछौ

किन आँखा तरेकी मलाई ?
‘चञ्चले भयो भनेर ?’
‘स्रष्टा मन जोगाउन
खुलस्त भयो भनेर ?’
कि नियालिरहेकी
म भित्रको आगो !
युगको गीत !

– बिहीबार, 26 भाद्र, 2071

Basudev Adhikari – Agni Srab Ra Sambidhan Sabha

वासुदेव अधिकारी – अग्निस्राव र संविधान सभा

जनान्दोलनले तताएको देश
अग्निस्रावले चिसिएको छ
कतै बग्छ कि भूगोल ?
कतै चौटिन्छ कि मुटु ?
असिनपसिन भइरहेको छु
अखण्डता गाइरहेको छु
कति सजिलै कुल्चियौँ
संविधानसभा हिजो
र अक्करमा आइपुग्यौंँ हामी
कति सजिलै बिर्सियौँ
जनान्दोलन हिजो
र रक्तपातमै मग्न भइरह्यौं हामी
मिल्यो – खायो
धम्क्यायो – लुट्यो
बजायो – सिध्यायो

ऐना हेर्ने भ्याएनँौँ हामीले
गौरवगाथा कोर्नै भ्याएनौं हामीले
जनता आन्दोलन सम्झिरहन्छ
नयाँ नेपाल कल्पिरहन्छ
संविधानसभा जपिरहन्छ
कति अपमानित छ ऊ
पटकपटक संविधानसभा लत्याउँदा
शान्त्तिको महमा
बारूदी कलबिख घोल्लिदा
जनता छिनाफानो चाहन्छ ः मुद्दाको
पिप निचोर्न चाहन्छ ः घाउको
ऊ आफ्नै अघिल्तिर
सामन्तवाद पुर्न चाहन्छ
पुराना नयाँ किरिट भाँच्न चाहन्छ

जनान्दोलनले नै बनाएको हो
संविधानसभाको ओखति
ओखतिले नै निको पार्ने हो
चह¥याउने घाउ
पहाडबासीहरू !
आफ्नो दुरावस्था फोर्न
संविधानसभालाई घनको रुपमा प्रयोग गर
तराईबासीहरू !
तात्तातो र चर्चराउँदो घाउमा
संविधानसभालाई मलमको रूपमा स्वीकार गर
जनता !
अभैm मिल्काउ भयलाई
भयको पर्यायवाची लूटतन्त्रलाई
गणतन्त्र बोल ः सुन्दर नेपाल सुसेल
अराजकता कुल्च ः
विखण्डनलाई हार्दिकताको आगोमा भष्मीभूत गर

– वुधबार, 21 जेठ, 2071