Kamal Koirala – Asare Mahima

कमल कोइराला – असारे महिमा
(Source: मधुपर्क असार, २०६७)

चर्काे घाम कडा परेर जगमा सुख्खा छ सारा चीज
तिर्खाले मुख आँ… गरेर दिनमा सुक्छन् गराका बीज ।
सुख्खा भैकन वैलिएर नमरून् भन्दै फिँजाई दया
आयो फेरि घुमी असार महिना उल्लास बोकी नयाँ ।।
र्झछन् पर्वतबाट श्वेत झरना खोला र खोल्साहरू
देखिन्छन् हरिया वनस्पतिहरू उस्तै पहाडी तरु ।
पानीको भल बग्छ खेतभरि नै भिज्छन् सबैका गरा
आयो फेरि घुमी असार महिना उल्लास बोकी नयाँ ।।
धस्छन् हातहरू सिँगार्न धरती सङ्घर्ष ठूलो गरी
देखी पौरख त्यो किसानजनको गाथा कहन्छे चरी ।
जोती खेत हिलो भएछ धरती हो बीउ रोप्ने कहाँ
आयो फेरि घुमी असार महिना उल्लास बोकी नयाँ ।।
खेताला अघि नै तयार अनि ती जोत्ने र खन्नेहरू
खप्छन् घाम, झरी सही दुख सबै भोकै मरून् ती बरु ।
गाई गीत कहीँ, कहीँ छमछमी नाच्छन् असारे जहाँ
आयो फेरि घुमी असार महिना उल्लास बोकी नयाँ ।।
खोलाको जलले हिलो दबदबे पारिन्छ धर्ती जब
हेर्दै फाँटतिरै कसेर पटुकी सानी झरिन् ती अब ।
हाँस्दै काम गरी ठिटा अनि ठिटी बूढा र पाका त्यहाँ
आयो फेरि घुमी असार महिना उल्लास बोकी नयाँ ।।
नेपाली त्यो सपना दिमागभरि नै उब्जाउँछन् रासन
जुट्छन् पौरख गर्न मानिसहरू धान्नै छ यो जीवन ।
यस्तो कार्य हुँदै रहोस् झिलिमिली बर्सेनि नौलो यहाँ
आयो फेरि घुमी असार महिना उल्लास बोकी नयाँ ।।

Dr. Khumnarayan Paudel – Antim Raat

डा. खुमनारायण पौडेल – अन्तिम रात

तिम्रो प्रस्थानपछि
जूनले कतै बिसाउनेछ आफूलाई
घामले उम्रिन बिर्सिने छ क्षितिजमा
अँध्यारो झन् अँध्यारोभित्र
साउती मात्र गर्नेछन् चराहरू
शोकाकुल पहाडहरूमाझ
बग्नेछ निशब्द एउटा नीरनदी
तिम्रो प्रस्थानपछि

तिम्रो प्रस्थानपछि
कोठाका हरेक भित्तामा
टाँगिनेछन् शून्यताका क्यालेन्डरहरू
सोफा, मेच र पलङहरूमा
लम्पसार पर्नेछ गहन रिक्तता
कोठाको हरेका कुनाबाट
चियाउनेछ मौनताको निरीह अनुहार

तिम्रो प्रस्थानपछि
अडिने छैनन् आँखा
पुस्तकका पानाहरूमा
देह, सडक-घर, घर-सडक गर्ने
एउटा सटलबस बन्नेछ
मनभरि बास बस्नेछ एउटै उदास ऋतु
झर्नेछन् इच्छाहरू भईभरि
र्झछन् जसरी-
शरदमा म्यापलका पातहरू

अडिनेछन् घडीका सुइहरू
दिक् र काल निर्वासित हुनेछन्
तिम्रो प्रस्थानपछि

Bimal Pradhan – Sunami

बिमल प्रधान – सुनामी

डगमग सागरका उचालिएका हाथहरुले
मानिसका खिलोउनाहरु हुताएको देखें
पछारिएको अट्टालिकामा प्वाख उम्रिएर
य्त्र तत्र छ्रिएको शरीर देखें
शान्ता सागरको छातीमा उम्लिएको स्तन्हरुमा
योउवन Continue reading “Bimal Pradhan – Sunami”

Gandhi Raj Kafle – Tayar Chhu Ma

गान्धीराज काफ्ले – तयार छु म !
(मधुपर्क २०६६ मंसिर)

आज म मेरो मन
खण्ड-खण्ड गर्न तयार छु !
सर्वाङ्ग मनमा
मेरो विश्वास
अनायास टुट्यो
अब चिटिक्क चिटिक्क परेका
मनका टुक्राहरू बन्छन्
खण्ड-खण्ड नबनी
अब बन्दैन मेरो मन अखण्ड
सङ्क्रमणकाल हो
अलिकति संयम बनेर हेर
नियाली राख
धमिलो मन सङ्लिदै छ
पूरै सङ्लिन देऊ
बन्न देऊ
सुन्दर-सुन्दर खण्डहरू बन्न देऊ
सुन्दर खण्डहरू नबनी
मेरो मन
अखण्डरूपले सुन्दर बन्दैन
निर्भाव दृष्टिले हेर
हेरी राख
मेरो मनको पहिरो
मेरो मनले नै थेग्छ
म मेरो मन
खण्ड-खण्ड गर्न तयार छु !
-सुकेधारा, काठमाडौँ

Keith Sharma – Tyo Puraskar Maile Nai Paunu Parchha

किथ शर्मा – त्यो सम्मान र पुरस्कार मैले नै पाउनुपर्छ

मलाई पुरस्कार र सम्मानपत्र चाहिएको छ ।

त्यो पुरस्कार र सम्मानपत्र मैले पाउनुपर्छ ।
नत्र म कार्यक्रम नै बहिस्कार गर्छु
यसैले अहिल्यै नै भनेको छु त्यो सम्मान मलाई चाहिन्छ ।

मैले यतिका समयसम्म नेपाली भाषा साहित्यको सेवा गरेको छु
त्यसैले मेरो आफ्नो संस्थाले पनि मलाई पुरस्कृति गरेन भने
म कसलाई भन्न जाउँ मलाई सम्मान गर भन्दै
तपाईं नै भन्नुहोस् न मित्र मैले गरेजति साहित्य र संस्कृतिको
जगेर्ना प्रवासमा बसेर कसले गरेको छ
त्यसैले मलाई नै त्यो सम्मान चाहिन्छ ।

म यो देशको नागरिक पनि हुँ
म प्रवासी नेपाली पनि हुँ
यसैले प्रवासमा बस्नेको योगदानको कदर
प्रवासमै खोलिएको आफ्नै संस्थाले मलाई
कदर नगरे म संस्था नै खारेज गर्न तयार छु
यसैले साथी त्यो संम्मान अरुका लागि हैन
मेरै लागि तयार पार्नु भनेको छु हैन भने
म फेरी भएको संस्था नै चकानाचुर पारिदिनेछु
यसैले जसले जे भने पनि आफ्नो संस्थाले दिने
सम्मान र पुरस्कार म संस्थापकले नपाएर
अरुले पाउने कुरै नगरौं मैले त्यो पाइन भने
संस्था नै भताभुंग भयो भन्ने ठानेहुन्छ
यसैले त साथीहरु यो ५० डलर देिख
५ सय डलरसम्मका पुरस्कार
मैले र मेरै वरपरकाले पाउनुपर्छ

तपाईंलाई थाहा छैन मेरो एउटा ठूलो हौवा
फिजाएको छु
अन्तर्राष्ट्रिय जगतमा दर्जनौ संस्था बनाइसकेको छु
यदि मलाई र मेरो परिवारमा त्यसको कदर गरिएन भने
म त्यो सबै संघसंस्थाहरु भत्काइदिन्छु यसैले
साथी त्यो पुरस्कार मलाई नै चाहिएको छ ।

म नेपालमा जस्तो दशौं हज्जार दिएर आफूलाई
पुरस्कार र सम्मान पत्र दिलाउन लाउंदिन
किनकी मैले आफैंले खोलेको संस्था नै छ
जसको पुरस्कार हिजो मेरी छोरीले पनि पाइ
हिजो मेरो सम्धीले पनि पाए
आज मैले पाउनु कुन अचम्म हुन्छ
त्यसैले साथी त्यो सम्मान र पुरस्कार मैले नै पाउनुपर्छ ॥

Matrika Regmi – Putali

मात्रिका रेग्मी – पुतली

अफशोच म पुतली हुन्थे
फुरफुर फुरफुर यता उता उडथेँ
जँहा मन लाग्यो, जता चाह्यो
निर्धक्क त्यहीँ पुग्थे
अफशोच म पुतली हुन्थे
कमसेकम यो भागदौडको दुनियाबाट कतै
स्वतन्त्रताको अनुभूति Continue reading “Matrika Regmi – Putali”

Kiran Kumar Rai – Raag Riyaz

किरणकुमार राई – राग रियाज !

शून्यताको तुना फुस्किसकेको छ

हल्लाहरुको इँजार कसिँदैछ
टिनिक्क परेको आँगनमा।

काँसे थालको फराकिलो खेतमा
लछेप्रै उम्रेका अनगन्ती अछेता फुकेर
जोखाना हेरिबस्ने जनापाहरुको
चाउरिएको Continue reading “Kiran Kumar Rai – Raag Riyaz”

Pradeep Chapagain – Antya Ki Suruwat

प्रदीप चापागाईं – अन्त्य कि सुरुवात ?

लास
मुर्दा
गयो,बित्यो
सकियो
कानेखुसीहरु
एक हुल
सयौं आँखाहरु
फूलका गुच्छाहरु
अनि अबिर
गोबर,अनी लिपिएको भुईँ
चित्कार अनि रोदन
सम्झनाहरु
यस्तै माहोलबिच
सेतो कात्रोभित्र
चिर निद्रामा निदाएको
एउटा प्राणी
म !!

एकनाले बाँस
घाटको पर्खाई
चिता
आगो
ब्रम्हनाल
चिसो बतास
खोलाको सुसेली
अनि
राप रापमा जलेर
केही क्षणमै
खरानी हुने
सजिवता सकिएको
एउटा वस्तु
म !!

आकाश
हजारौं मान्छेहरुका
हजारौं अड्कलहरु
स्वर्ग, नर्क
त्यै एउटै थलो
चन्द्रमा
सुर्य
ग्रह
अनि ताराहरु
वायुमण्डल
सबैको घर
त्यही घरको बाटो हुँदै
अनन्त यात्रामा निस्किएको
एउटा शान्त यात्री
म !!

अनि
एउटा अनुत्तरित प्रश्न
यो एउटा घटना
अन्त्य,कि सुरुवात ? ?

Basu Marmik – Mero Yatra

बासु ‘मार्मिक’ – मेरो यात्रा
(Source: मधुपर्क २०६६ जेठ)

यो मेरो हिडाइमा
न गन्तव्य छ
न मन्तव्य
केबल
म हिाडिरहेको हिाडेकै छु
मेरो पुग्ने स्थान
न सहज छ
न कठिन
तैपनि
हिडेर नसकिने
हिडेरै नथाकिने
छोट्याउन मिल्दै नमिल्ने
अनवरत
यो मेरो अनन्त यात्रा
न यसको जीवन छ
न यसको मृत्यु छ
तैपनि
म हिाडिरहेको हिाडेकै छु
नल, अस्थिपञ्जर र पहाड
पराक्रमभित्र बोकेर
घुम्टोभित्रको स-साना थुम्कोमा
हिाडाइरहेको मेरो यात्रा
टलपल-टलपल
घेराभित्र र घेरा बाहिर
अनेकौं उत्सव कुरिरहेको
अनेकौ उमङ्ग कुहिरहेको
यो थोत्रो नचल्ने
अनेकौ मृत्यु कुरिरहेको ओहो
मेरो यात्रा

Biju Subedi – Phool Timi Bidroha Gara

बिजु सुवेदी “विजय” – फूल तिमी बिद्रोह गर

हे फूल ! तिमी सृष्टिको अत्यन्तै सुन्दर सृजना ।
तिमी बगैंचाको शोभा ।
पृथ्वीको देदिप्यमान ।
तर तिमीलाई चुँडेर देवताको पाउमा गर्छ सेवा ।
के यो सेवा हो ?
देवताको सुन्दर रचना तिमी
तिमीलाई लुछेर शीरमा किन राख्दछ ?
सृष्टिको शोभामा किन यत्ति बवण्डर ?
हे ! हिँस्रक समाज ।
यो वलिभन्दा भयो ठूलो घात ।
तिमलिाई लुक्ष्दा रुन्छ मेरो मन ।
तिमीलाई लुक्ष्दा सुरम्य प्रकृति हुन्छ रोदन ।
के यस्तो थाहा छ भक्तहरुलाई ?
तिमीहरु भक्त होइनौ ।
तिमीहरु अभक्तको उँचाइमा चढ्दै छौ ।
सुन्दर सृष्टिलाई अझ सून्दर बनाऊ ।
अनि पो खुशि हुन्छन् भगवान ।
अनि पो प्रकृति–देव हुँदैन छटपट ।
फूल लुक्षिँदा म सधैँ रुने गर्दछु ।
त्यस्तै हालत छ बम्बै बेश्यालयमा नारी पूmलको ।
कहिलेदेखि !
हे कहिलेदेखि ! पूmल लुक्ष्ने चलन ल्यायो ?
त्यसको प्रसाद मलाई चाहिँदैन ।
भो मलाई प्रसाद चाहिँदैन ।
पूmललाई लुक्षेर मेरो टाउकामा राखिदिन्छ ।
त्यो अस्विकार गर्दा म नास्तिक रे !
म पागल रे !
म त्यो टुक्रा पूmललाई फेरि जोड्न खोज्छु ।
फेरि त्यो फूल लुक्षेको घाउमा मलम लगाउन खोज्छु ।
फेरि असमर्थ हुन्छु ।
एकपल्ट गुमेको अस्मिता फेरि फर्कँदैन ।
फूललाई लागेको घाउ वर्षौ भइसक्यो ।
खै कसले बुझेको ?
जतिबेलादेखि भौतीकरुपमा देवता पूज्ने चलन ल्याए ,
आध्यात्मिकताको भयो अन्त्य ।
आत्मिकताको पनि भयो अन्त्य ।
पूज्ने भए मनले पूज भगवानलाई ।
प्रकृतिदेवलाई अझै सुन्दर बनाऊ ।
तिमी पनि फूल झैं सुन्दर बत्रेछौ ।
त्यत्तिबेला पनि पूmलले भत्रेछ ,
तिमीलाई कसैले नलुछोस् ।
तिमीलाई कसैले वलि नदेअ‍ेस्
यत्ति उदार छ पूmल ।
पूmलले भनिरहेको छ ।
पूmलले भनिरहनेछ ।
मैले त भोगेँ भोगेँ
अरु कसैले भोग्न नपरोस् ।
यत्ति सुगन्ध छ पूmलमा ।
मैले त राम्रो दिन खोजेँ ।
मैले त सुगन्ध छर्न खोजेँ ।
फेरि मैमाथि भयो घात ।
यो संसारमा राम्रो काम गर्न नहुने रैछ ।
काँडा भएर बाँच्नु पर्ने रैछ ।
मैसँगैको काँडालाई कसैले उखेलेर फ्याँक्दैनन् ।
तर मलाई कसैले निचोर्दछन् ।
कसैले सियोले घाउ पारेर उन्दछन् ।
मलाई मेरो ठाउँमा सुगन्ध पोख्न दिँदैनन् ।
पूmलले फुल्नै नहुने ?
राम्रो काम गर्नै नहुने ?
फुल्न थाल्यो कि लुक्षेर लगिहाल्छन् ।
यहाँ सब माली रोएका छन् ।
वनमाली रोएका छन् ।
घरमाली रोएका छ्न् ।
सब माली रोएका छन् ।
आँसू बरबरी झरिरहेका छन् ।
फूलका प्रसाद दिइरहेका छन् ।
झन् रुवाइरहेका छन् ।
भगवान रोइरहेका छन् ।
प्रकृति रोइरहेकि छिन् ।
त्यसैले मैले भत्रै पर्दछ ।
हे पूmल ! तिमी कति सहन्छौ पीडा !
तिमी अबला पूmल नबन ।
तिमीले सहेको जुगौं भइसक्यो ।
तिमीले अन्याय सहनुको पाप गरिरहेकिछ्यौ ।
त्यसैले तिमीले धर्म गर ।
तिमीले अब बिद्रोह गर ।
तिमीले अब राँको बन ।
तिमीले अब राँको बन ।

कुलेश्वर आवास क्षेत्र , काठमाण्डौं

Dhan Bahadur Oli – Byunjhaideu Mera Kabita Haru

धनबहादुर ओली – बियुँझाइदेऊ मेरा कविताहरू

तिमीले गाउँ छोड्दा
बिराना भए मेरा कविताहरू
तिमी थियौ र पो
बजाउँथ्यौ बाँसुरीको धुनमा
मेलापात हिँड्ने बाटोभरि
कहिले सुसेल्थ्यौ
कहीँ चुहिन्थे तपतप्
तिमी Continue reading “Dhan Bahadur Oli – Byunjhaideu Mera Kabita Haru”

Basanta Shrestha – Ma Yuddha Ko Ghosana Garchhu

बसन्त श्रेष्ठ – म युद्धको घोषणा गर्छु

म भित्र आक्रोशको
ज्वालामूखी फुटेको छ
म भित्र धैर्यको
बाँध फुटेको छ
त्यसैले म अब
भीषण युद्धको तयारीमा छुँ ।

सुतेको ठानेर थिच्दा थिच्दै
लाटो सम्झेर मिच्दा मिच्दै
सोझो भनेर हेप्दा हेप्दै
सह्यको सीमा नाघेपछि
म अब
पुनर्जीवनकोलागी
एउटा भीषण युद्धको
घोषणा गर्छु ।

पानीको अभावमा
जसरी धरती फाटी दिन्छ
आकाश र बादलको सँघर्षमा
जसरी आँधिबेरी आईदिन्छ
पहाड रिसाएर जसरी
ठुलो पहिरो ल्याईदिन्छ
अनि
मौसमसँगको अंतर्द्वन्दमा
सागरले जसरी
समुद्री तुफान ल्याईदिन्छ
त्यसरी नै
म भित्रको मान्छेत्व
जिवित भएको छ
अनि म घोषणा गर्छु
म सम्पूर्ण निर्माणकोलागी
एउटा भिषण युद्धको तयारीमा छुँ ।

सँयमलाई कमजोर ठानेर
सेवालाई अधिकार भनेर
मित्रतालाई व्यापारसँग साटेर
चारैतिरबाट चिथोर्दा चिथार्दै
भित्र भित्रैबाट छिया छिया बनेर
फाटेपिछ
अब म भित्र
आक्रोशको ज्वालामुखी फाटेको छ ।

अनि म पुनर्जागरणकोलागी
नयाँ ईतिहास निर्माणको लागी
आर्थिक, सामाजिक, राजनैतिक
अतिक्रमणको विरुद्धमा
एउटा विद्रोह बोल्दै
अन्तिम लडाई लड्दै छुँ
अब म युद्धको घोषणा गर्छु ।

Tej Bikram Karki – Lahur Janu Aghi

तेजविक्रम कार्की – लाहुर जानु अघि

कसरी चलिरहेको छ सास?
म हेरीरहेछु भिरबाट तल
भर्खरै खसेको सपना
र सोचिरहेको छु
अचेल मलाई किन निद्रा पर्दैन?

भर्खरै यो सुनसान सडकको सन्नाटा चिर्दै
थला परेर भोक हुईकिएको छ एम्बुलेन्समा
चिरेर स्तब्धता
डढेलो लागेका मान्छेका अवशेषहरू बोकेर
चलिरहेछ बतास
मैले सहरमा आफैलाई लिलाम राखेर
छातीमा उमालेको छु एउटा ढुङ्गा
आमा भन्नुहुन्छ
बाबु तिमीले बाँच्नु पर्छ यॊ भूगोलमा
जिवनको निरास बत्ती बूझाएर
र म सोचिरहकोेछु
अचेल मलाई किन निद्रा पर्दैन?

अचेल मलाई किन निद्रा पर्दैन?
देखेर चलिरहेको बतास
सुनेर लहरहरूको पदचाप
लाम लागेर पासपोर्टका हूलहरू
कठ्याङ्ग्रिएर हरियो भएको
देश
विश्व मानचित्रमा खोज्दैछु आफ्नै अनुहार
र सोचिरहेछु ति आँखाहरू
फर्किएर किन आएनन्?
पिढीमा पर्खिरहेका हजुरबा
हजुरबाको निकोटिन भरिएको चिलिम
चिलिममा जलिरहेको छ रहर
छेउमा बा र उहि पुरानो खोकी
पढेर जिवन मेरो आँखा भरी
बा भन्नुहुन्छ जिवनको लडाई कठिन छ
त्यो भन्दा नि कठिन छ बिर्सिएर हिड्न
तिमी जन्मेको माटो
भन कतै हराएको त छैन?
तिम्रा आँखाहरूमा देशको नक्शा
या पिडाको सिङ्गै पहाडले थिचेर
रोई रहेछौ कि कतै देशको निम्ति

तिमीलाई पनि यस्तो हुन्छकी?
जसरी म सोचिरहेछु
अचेल मलाई किन निद्रा पर्दैन?

– मगलबार, 24 आसाढ, 2071

Peshal Acharya – Ichchha Ka Parswawarti Haru

पेशल आचार्य – इच्छाका पाश्र्ववर्तीहरू

भद्दा कुटिलताभन्दा
निर्दोष लज्जा प्रिय हुन्छ
वाणीले
वैखरीलाई
अन्माउन सक्नुपर्छ
शीतबिन्दु टप्किएको
फूल
विदाइमा रसाएका
गाजलु आँखाहरू
कसोकसो
चसक्क चस्किएको
वियोगको छाती
प्रियाको
अँगालोमा निस्किएको
उष्ण तापले
जीवनलाई
भँगाला भँगालामा
बाँड्न खोज्छ,
खै ! निस्तेज छन्
मनका डिमार्केसनहरू
इच्छाका
पाश्र्ववर्तीहरू
बैँसतिरै
बत्तिएछन् –क्रमशः ।

– वुधबार, 7 श्रावण, 2071

Ravi Man Lamjel – Ujyalo Bhaisakechha

रविमान लम्जेल – उज्यालो भइसकेछ
(Source: मधुपर्क २०६६ जेठ)

बाहिर उज्यालो भइसकेको छ
ब्यूझिसकेको छ बस्ती
युगौदेखिको महानिद्राबाट
दृश्यमा आउन थालेका छन्
तुवालोभित्र हराएका डाडाकाडाहरू
शीतले ओसिएका खोच र भञ्ज्याङहरू
सुनिन थालेको छ
झरनाको कलकल
र कोयलीको कुहुकुहु
स्वागत गर्दै मिर्मिरे उषाले
हामी सबैलाई
एउटै पङ्क्तिमा उभिन आहृवान गरेको छ
स्वीकार्य छैन हाम्रो लागि
युगौदेखि हाम्रो घाटीमा झुण्ड्याइएको
दासत्वको सिक्री
जसले हाम्रो जातिमा
अवरोध उत्पन्न गरेको थियो
आˆनै मझेरीमा पनि
पराइपनको परिचय दिएको थियो
अब छिनिसकेको छ
त्यो निरङ्कुश
सिक्रीको माला
हाम्रो घाटीबाट
ए, तिमी छिटै यता आऊ
अब कण्ठ खोलेर
गीत गाउनुपर्छ
स्वतन्त्रता र मुक्तिको गीत
जसले हाम्रो नव-जीवनमा
नया श्वास-प्रश्वास
र विश्वास जन्माइदिएको छ
ए, झ्याल खोलेर हेर त
कहा पुगिसेका छन्- चीन, रुसका मित्रहरू
कति ठूलो प्रगति गरिसके छन्
कोरिया र जापानका हितैषीहरूले
हामीमात्र निष्त्रिmयताको बन्धनभित्र
अल्मलिरहेका रहेछौ
अहिले-
कसले ˆयाकिदियो
त्यो निष्त्रिmयताको घुम्टो
र कसले उघारिदियो
हामी अघि बढ्ने
क्रान्तिको ढोका
त्यही ढोकाबाट
बाहिर निस्केर
हेरौ, हाम्रो देश
र नियालौ
अन्तर्राष्ट्रिय गतिविधिहरूलाई
हामीहरू पनि पङ्क्तिबद्धरूपमा
प्रगतिपथमा लाग्नुपर्छ
अन्तर्राष्ट्रिय दााजोमा देश पुर्‍याउन
सङ्घर्ष गर्नुपर्छ
हामीलाई थिचेर राख्ने अवरोधको विरुद्ध
हाम्रो अभिमुख
कसिङ्गर ल्याएर तगारो हाल्नेहरूको विरुद्ध
अनि मात्र हामी उद्देश्यअनुरूप
गन्तव्य पुग्न
र विजय हासिल गर्न सक्षम बन्छौ ।

Kangmai Naresh – Dhun

काङ्गमाङ् नरेश – धुन

बाँसुरीको धुनलाई पछ्याउँदै
घाम जस्तै क्रमश: डुबेर
साझको धमिलो आकृतिमा
एउटी बैसको थकान
फलैचामा असरल्ल पारेर
भुसुक्क निधाउँछे
धुनै धुनमा बिरक्तिएर
सपनाको पहाड चड्दै
हिमालको टाउको माथि
नाङ्गो खुट्टाले उभिएर
उ चन्द्रमा टिप्छे
ताराहरु टिप्छे
नयाँ नयाँ ग्रहहरु देख्छे
रोजेर घामलाई टिप्न भनि हात अघि बढाउँछे
घामले पिल्सिन्ने गरि पोलेपछि
उ भन्छे
आत्था
यो त साँच्चै
नयाँ नेपाल जस्तै
तातो रहेछ !

Bhakti Ghimire – Bartaman

भक्ति घिमिरे ‘दुर्बोध’ – वर्तमान
(Source: मधुपर्क मंसिर, २०६७)

बाटोभरि
गोमन सर्पहरू
सल्बलाइरहेछन्

फणा फिजाइरहेछन् ।
गन्तव्य रोकिएको छ
शून्यताभित्र
देश आफैँ हराएपछि
ममता
चुडिन खोजेपछि
मुठ्ठीहरू कसिन थालेका छन्
मामका लागि लाम लागिरहेछौँ हामी
स्वाभिमानको जित खोजिरहेछौँ हामी
हाम्रो छाती चहर्‍याइरहेछ
पैताला घोचिरहेछ
कालापानीमा
सुस्तामा
मानेभञ्ज्याङमा…..!
तिमी त हृविस्कीको चुस्कीमा
मस्त छौ
म निःशब्द भएको छु

सीमारेखाको खोजीमा
दसगजा क्षेत्रमा हराइरहेछु
मेरा पाइतालाबाट
रगत बगिरहेछ

कोरिरहेको छ
रातो सीमारेखा ।
लिलामीमा परेको स्वाभिमान
बन्धक राखेर
कसरी गौरवको गीत गाउँ म ?
हिजो आज
फूलबारीमा फूलहरू फुल्दैनन्
भमराहरू डुल्दैनन्
पुतलीहरू उड्दैनन् ।
पानीको मूल सुकेको छ
भूलैभूलका हूलहरूभित्र
चरचर चहर्‍याइरहेछ
मुटु
हलहल बगिरहेछ रगत
ए ! आऊ न !
अलिकति मलम लगाऔँ
अलिअलि कलम चलाऔँ
हाम्रो हराएको
सीमा स्तम्भ भेटिन्छ कि
गौरवको सगरमाथा अलि ठडिन्छ कि !

Chandra Lal Bhomi – Janma Din

चन्द्रलाल भोमि – जन्मदिन
(मधुपर्क बैशाख, २०६७)

फूलमा कुनै सुवास छैन
न बग्ने नदीमा कुनै ध्वनि छ
पूणिर्मामा कुनै ज्योति छैन
न सङ्गीतमा नै कुनै सुरताल छ
हरियालीमा कुनै मनोरम चाल छैन
न खुशीयालीमा नै कुनै खुशीको लगाव छ
आफन्तहरूको भीडमा कुनै रस छैन
न मुस्कानहरूको
फैलावटमा कुनै मुस्कुराहट छ
दुलहीझैँ सजिएकी म –
सजावटमा कुनै सुन्दरता छैन
न पर्खाइको नयनमा कुनै चमक छ
के भयो आज खै, के भयो
दिलमा कुनै चयन छैन
न रुन्चे नयनमा नै आँसु छ
यस्तै भयो पि्रय, आज
तिमी बिनाको ‘जन्मदिन’ मा
दीप सबै निभेको भान भयो
तिमी बिनाको ‘खुशियाली’ को माहौलमा
खुशी सारा छिनेको भान भयो ।

पो.ब.नं. ११२०९ काठमाडौं

Tanka Wanem – Ramphu Ko Pakhama

टंक वनेम – रम्फुको पाखामा

चौंरीको घण्टी
कुहिरोको माझ
कागको इसारा
रम्फुको खोला
सुसाउँदै बग्छ
चल्दछ विरह ।

सबैले भन्छन्
गोठाला मान्छे
चौंरीको गोठमा
सल्केको मन
कसरी देखाउँ
मुटुको कोठामा ।

चौंरीको Continue reading “Tanka Wanem – Ramphu Ko Pakhama”

Mahesh Prasain – Ayena Ma Chasma

महेश प्रसाईं – ऐनामा चस्मा

आँखाको पनि रिदम हुन्छ
चस्मामा कति विश्वास छ,

ऐनामा सबै कुराहरू देखिँदैनन्
कमसेकम
तिम्रो ढाड देखिँदैन
पिठिउँ देखिँदैन
मेरूदण्ड देखिँदैन
कुर्कुच्चाहरू देखिँदैनन्,

तिमीलाई चिनाउने आधारस्तम्भहरू
पछाडि छन्
तिम्रो अग्रभाग
सबै कुरा होइन,

हुबहु तिम्रो चेतनचोला चिनाउने ऐना
स्वयम् आँखा हो
आँखाको लय हो
आँखाकै मण्डलामा
नृत्यमग्न छन्द हो
ढोलक बज्ने ती पलकमा,
रिदमजस्तो सुनिन्छ
ऐनासत्य त्यही देखिन्छ,
थाहा छैन
तिम्रो चस्मा कस्तो छ !