Gandhi Raj Kafle – Tayar Chhu Ma

गान्धीराज काफ्ले – तयार छु म !
(मधुपर्क २०६६ मंसिर)

आज म मेरो मन
खण्ड-खण्ड गर्न तयार छु !
सर्वाङ्ग मनमा
मेरो विश्वास
अनायास टुट्यो
अब चिटिक्क चिटिक्क परेका
मनका टुक्राहरू बन्छन्
खण्ड-खण्ड नबनी
अब बन्दैन मेरो मन अखण्ड
सङ्क्रमणकाल हो
अलिकति संयम बनेर हेर
नियाली राख
धमिलो मन सङ्लिदै छ
पूरै सङ्लिन देऊ
बन्न देऊ
सुन्दर-सुन्दर खण्डहरू बन्न देऊ
सुन्दर खण्डहरू नबनी
मेरो मन
अखण्डरूपले सुन्दर बन्दैन
निर्भाव दृष्टिले हेर
हेरी राख
मेरो मनको पहिरो
मेरो मनले नै थेग्छ
म मेरो मन
खण्ड-खण्ड गर्न तयार छु !
-सुकेधारा, काठमाडौँ