Kunta Sharma – Sadak Ra Satta

कुन्ता शर्मा – सडक र सत्ता

घण्टाघरको घाँटी सुकेको छ
धरहरा कुहिरोभित्र लुकेको छ
छाँदिरहेका छन् घोडा जङ्गबहादुरहरू
तरबारले अभिमानसिंहको घाँटी ताकेको छ
सेरिएर मरे मरून् भीमसेन थापाहरू
कुनै कुराको कत्ति औचित्य रहेन अब
यस्तै निरर्थक अवस्थामा बाँचिरहेको छ वर्तमान ।

इतिहास पढ्न छाडे मानिसले
भूगोललाई माया गर्न छाडे मानिसले
बहादुरका सन्तानहरूको
बहादुरी हराउन थालेको छ
परिवेश ह्वासह्वास्ती गन्हाउन थालेको छ ।
मानिसहरू
सम्पन्नताको शिखरमा पुगेजस्तो छ
हिजोआज भोकको गीत
भोजनको गीत बनेको छ
परिकार सरोकारको विषय बनेको छ
सम्पन्नताले कहाँकहाँ टेक्यो कुन्नि
उदेक छ, उदेक छ
अचेल मादलले जोवन बोल्न थालेको छ
अचेल सारङ्गीले
पिरतीको सुर खोल्न थालेको छ
सायद हामी पराकाष्ठामा पुग्यौँ प्राप्तिको
हामी अघायौँ–अघायौँ, बेस्सरी अघायौँ ।

अब भोक भन्ने शब्दलाई
फालिदिए हुन्छ शब्दकोषबाट
अब समस्या भन्ने शब्दलाई
निकालिदिए हुन्छ शब्दकोषबाट
ज–जसको थाप्लामा आशीर्वादका हात परे
ती मगनमस्त छन्, चाप्लुसीमा व्यस्त छन्
परिवर्तन रामै्र भएछ सायद
तरबार म्यानमा थन्काएर
मानिस दरबार धाउन थालेको छ
सबै कुरा सेलाएर मानिस
दरबार बनाउन थालेको छ ।

आँधी थामियो
मुसलधारे वर्षाको अन्त्य भयो
सायद खोजेको गन्तव्य भेटियो
हिजोआज मानिसहरू
सौन्दर्य–प्रसाधनमा मस्त भएका छन्
हिजोआज मानिसहरू
भजनकीर्तनमा व्यस्त भएका छन् ।

नैतिकता रासनजस्तो सर्वसुलभ भएको छ
बिक्री–वितरणकक्षमा रहेको छ
अखण्ड चेतना म्याराथुन धावक बनेको छ
विवेकमा कसेर बिर्को लागेको छ
ओठहरूमा अझै भोटेताल्चा कसिएको छ
चोक्टा खान गएकी बूढी
झोलमा डुबेर मरी
यही उखानको सार्थकता भएको छ
बलिया पखेटा भएका बाजहरूको
आवश्यकता छैन अहिले
माथिमाथि आकाशमा उड्ने
चक्रवातहरू चिर्ने
साहस चाहिँदैन अहिले
तलतिर क्षितिजदेखि अझ तलतिर
छापिएर उड्ने छिचिमिरा भए पुग्छ ।
विलखबन्द छु म
किंकर्तव्यविमूढ छु म
छटपटाइरहेछु, छटपटाइरहेछु
आफ्नै चिन्तनको व्यूहमा लटपटिइरहेको छु
प्रश्न गर्छु आफैँसित
कसले झा¥यो शिवजीको जटाबाट
सम्पन्नताको भगीरथ गङ्गालाई
कसले फेला पार्‍यो कहाँ फेला पार्‍यो
उन्मुक्तताको यस विराट् चङ्गालाई
किन देख्तिनँ, खोइ किन देख्तिनँ म
सबैसबै ओठहरूलाई मुस्कानले छोएको
सबैसबै आँखाहरू प्रसन्नताले बलेको
सबैसबैको चुलो धुवाँएको
सबैसबैको मन रमाएको ।

सडकबाट सत्तामा पुग्छ मान्छे
धेरै कुरामा आधारित हुन्छ यो यात्रा
सामान्य भाषा बुझ्ने मानिस
सबै कुरा बुझ्न थाल्छ
इतिहास बुझ्न थाल्छ
भूगोल बुझ्न थाल्छ
देशको उत्पत्ति
बीचको समयको इतिहास
उतारचढाव सबै बुझ्न थाल्छ
साम्राज्यवादीहरूको उपनिवेश
छिमेकीहरू गुलामीमा जकडिएको समय
अङ्गे्रजको तोप नेपालतिर ताकिएको समय
छातीले तोप छेक्ने बहादुरहरूको समय
नालापानी गौरवपूर्ण इतिहास
अनेकौँ वीर–विराङ्गनाको सहादतको इतिहास ।

सुन्नुपरिरहेको छ अमिलो मनले
कहिल्यै गुलाम नभएको देशका
गुलामहरूको कथा
नुनमा बिकेका दलालहरूको कथा
भतुवा निर्लज्जहरूको कथा
गुमेको भूमि फिर्ता माग्न नसक्ने
पङ्गु सत्तासीनहरूको कथा
कायर राजनेताहरूको कथा
फ्याँकिएको हाडमा छिनाझपट गर्ने
गल्लीका कुकुरहरूजस्तो
सत्तालिप्सामा हुरूक्क हुने
देशका सारथीहरूको कथा ।

यतिखेर मौनताको शिविरमा एक्लैएक्लै बसेर
लगातार–लगातार सोचिरहेछु
घाम नअस्ताउने देशका घृणित
साम्राज्यवादीहरूको आक्रमण
सुगौली सन्धि र त्यहाँ गुमेका भूभागहरू
विशाल देशको खुम्चिएको मानचित्र
पतन भएपछि पनि अङ्गे्रजको साम्राज्य
कसरी जहिलेतहिले मानिस उराल्ने
मानिसको रगत भकभकी उमाल्ने
मानिसलाई बलिदानका लागि उकास्ने
अनि गद्दारहरूको सत्ता चढ्ने सिँढी भयो
पदलोलुपहरूको सत्ता प्राप्त गर्ने टेको भयो
कुर्सी पाउनेबित्तिकै हराए सबै कुराहरू
सुस्ता र लिम्पियाधुराको कुरा
असमान सन्धि र सम्झौताहरूको कुरा
प्रायोजित रूपले डुबाइएको
जलमग्न सीमाक्षेत्रको कुरा
प्रत्येक दिन मिचिँदै गएको दसगजाको कुरा ।

जनताहरूले रगत बगाइरहे–बगाइरहे
जनताहरूले हतियार उज्याइरहे–उज्याइरहे
बलिदानका सर्वोच्च उदाहरणहरू बनाइरहे–बनाइरहे
त्याग र उत्सर्गको इतिहास
बलिदान र साहसको इतिहास
तर हरेक समयमा
तुहाएर जनताका सपनाहरू
लत्याएर जनताका आस्था र विश्वासहरू
समयले प्रशवित गरिरह्यो
आत्मरक्षायुक्त गद्दारहरू
परिवारको मुख मोसेर
छिमेकी पोस्नेहरू
आमाको अस्मिता बेचेर
अकुत वैभव जम्मा गर्नेहरू
जुठोपुरोमा बिक्ने पशुतुल्य दासहरू ।

यी पढ–अनपढ दासहरू
थाहा छैन सायद यिनीहरूलाई
देशको गौरवपूर्ण इतिहास
कुनै शक्तिको सामु कहिल्यै नझुकेको
विगत अनि वर्तमान
तर हिजोआज लगातार–लगातार
प्रशवित भइरहेका छन् गद्दारहरू
आत्मरक्षायुक्त कायरहरू
हुतिहाराहरू, लाछीहरू, गतिछाडाहरू
जुठोपुरोमा रमाउने भतुवाहरू
दरबानहरू, गोठालाहरू
अर्काको सीमारक्षार्थ
बलिदान दिने, रगत बगाउने मूर्खहरू
भातसँग अमूल्य जीवन साट्नेहरू ।

कुनै बेला अघिल्लो पङ्क्तिमा बसेर
हत्केलामा ज्यान राखेर हिँड्नेहरू
अहिले पछिल्तिर बसेर
सभा–समारोहमा ताली बजाउने
मेसिन बनेका छन्
कुनै बेलाका खुफियागिरीका सर्दारहरू
परिवर्तनका विरोधीहरू
अहिले फूलमालाहरूले सजिएका छन्
अहिले सर्वेसर्वा भएका छन्
अहिले हर्ताकर्ता भएका छन्
सत्ताको अनौठो रूप देखिएको छ
सत्ताको घीनलाग्दो रङ देखिएको छ ।

Digesh Raut – Abujh Ma

दिगेश राउत – अबुझ म

बोल्ने गर्छन् गर्ने बोल्दैनन
यही नै संसारको रीत हो साथी
जसले गल्ती गर्छ
उसैको छ स्वर माथि
जसले न्याय गर्न खोज्छ
उही नै बन्दो रहेछ पक्षपथी
शायद मै नै रहेछु गलत
मैले बुज्न सकेको रहेनछु यो संसार तिमीजती।

Sujan Budhathoki – Paltu Kukur (Nepali Gajal)

सुजन बुढाथोकी  – पाल्तु कुकुर

मेरो घरमा एस्तो एउटा पाल्तु कुकुर छ
जो सदैसदै सन्तसाधु सज्जनलाई घुर्छ

रातभरी जुवातास रक्सी रन्डिबाजिमा भुल्छ(2)
घरभरी भने कोहिनुर अनि बुद्दको गजुर छ
मेरो घरमा एस्तो एउटा पाल्तु कुकुर छ

बिद्यालय हिडेकी बहिनि बलात्कृत भएरै मर्छे(2)
बेकार छ साला मेरि आमाको सपना
चकानचुर छ
मेरो घरमा एस्तो एउटा पाल्तु कुकुर छ

मर्ने त आखिर मरेरै गयो हाम्रै खातिर हेर(2)
कि सहिदकै आसुले एकदिन हामिलाइ पुर्छ
मेरो घरमा एस्तो एउटा पाल्तु कुकुर छ

भकारिमा धामन साप देखेर म भारत बोलाउछु
तर उ चोर स्याल हो जो म भन्दा पनि चतुर छ
हो मेरो घरमा एस्तो एउटा पाल्तु कुकुर छ

कारागारमा घर बनाएर बस्छन यहाँ भगवानहरु
अचम्म लाग्छ यार मन्दिरमा भने फोहोर सुङ्गुर छ
मेरो घरमा एस्तो एउटा पाल्तु कुकुर छ

रातभरी मुसा मार्ने बिचरा बिल्लीहरु भगाएर(2)
गल्लिगल्लिहरुमा भन्छ कि उ यति बहादुर छ
हो मेरो घरमा एस्तो एउटा पाल्तु कुकुर छ

बच्चाहरुकै गाँसगाँसबाट चिची घिचिरहन्छ (2)
बाघ झै गर्जन छ मानोउ कि यति मसुर छ
हो मेरो घरमा एस्तो एउटा पाल्तु कुकुर छ

दिनभरी चोकमा बुद्दुहरुलाइ लोकतन्त्र
रास्ट्रभक्ती सुनाएर
साझमा स्वयम् सामन्तिको चोक्टाहरुमा दुगुर्छ
हो मेरो घरमा तेस्तो एउटा पाल्तु कुकुर छ

कुत्ता भएर खात्ते कुत्ता कै मरण मर्नुपर्छ साहेद
मलाइ थाहा छ कि तेस्को कस्तो कसुर छ?

मेरो घरमा एस्तो एउटा पाल्तु कुकुर छ
जो सदै सदै एउटा सन्तसाधुलाइ घुर्छ

Sujan Budhathoki – Ma Kabita Raksi Ra Baa

सुजन बुढाथोकि  – म कबिता रक्सी र बा !

जब म कबिता लेख्न भनेर कलम र कागज समाउछु
रातमा तब म मेरा दुइ चार शब्दहरुमा थकित भएर
शब्दहरुकै डोजले म लट्टिन्छु,
र कापिहरुलाइ सिरान र कागजहरु ओछ्यान बनाएर
आधा गिलास रक्सी पिएर
र आधा गिलास हेर्दा हेर्दै टोलाएर
कान्छा राइको भट्टिमा मेरा बा निदाए झै
हो कोर्दा कोर्दै म निदाउछु ।

हो म यहाँ यस्तै यस्तै छु

मेरा बा पनि ठ्याक्कै म जस्तै छन
हरेक दिन साझपरेपछी,
भट्टी छिरेर भट्टिमै अलिकती सुत्छन,
अनि आधा कबिताहरु लेख्छन
र मध्यरातमा चोकदेखि घरसम्मका अध्यारा बाटाहरुमा जुनकिरी झै
चम्कदै गित गाएर
अनि इनडोरका कुकुरहरु झै भुक्दै भुक्दै
मानोउ कि मेरा बा फेरि पनि अरु अलिकती
मिठा कबिताहरु लेख्छन,

मेरा बा!र सिमसिमे बिहानिमा उज्याला घामका किरणहरु जस्तै बनेर
या रातभरी मैदानमा काम गरेर फर्किरहेको मजदुर झै
या मानोउ कि देसका सब दुस्मनहरुलाइ मारेर
रणसङ्रामबाट रमाएर गोर्खा
फर्किरहेको कुनै बहादुर योद्धा जस्तै गरि घर फर्किएर आउछन
मेरा बा र बाचेका अरु आधा गिलास रक्सी पिएर र दिनभरि निदाउछन,
कुनै अनिदो जुन जस्तै गरेर

मेरा बा ! यहाँ
यस्तै यस्तै कै छन
हो जो यहाँ ठ्याक्कै म जस्तै छन,
जो फेरि पनि बेलुकापख ब्युझन्छन
र कन्चनस्नान अनि अलिकति
अन्नपान गरेर फ्रेस झै लाग्ने गरि र बिस्तारै भन्छन कि

“I.m sorry, म अबदेखि भोलि रक्सी खादै खान्न कान्छा छुदै छुन्न”
भन्दै कसम खान्छन
र नभन्दै फेरि पनि सधा झै उसैगरि
चोर स्याल झै साझपख सुटुक्क बाहिर निस्कन्छन।
र बिच बाटोमा मलाइ देखेर डराउदै फेरि पनि
भन्छन” अलिकती हिजोको हिसाब बाकी छ भट्टिहरुमा अनि अलिकती ईतिहास लेख्नु छ मलाइ आज, त मेरो बाटो नछेक कान्छा
अनि अब आइन्दा त मेरा कबिताहरु पनि नलेख
म एकैछिनमा आउछु”
नभन्दै जान्छन

खाली गिलास र सिसि समाएर रक्सीको चमत्कार देखाइरहेको कुनै जादुगर जस्तै
या आगोको रापले रन्किएर तन्किरहेको रबर झै
हो मेरा बा यहाँ एस्तै एस्तै कै छन ।
जसरी हरेक दिन म कलम मात्र के समाउछु
त्या सधै स्वयम् एउटा कबिता बन्छ
र म भन्छु कि,
मलाइ माफ गरिदेउ मेरा बा
अबदेखि म कैले पनि तिम्रा कबिताहरु लेख्ने छैन ।

भट्टिमै अर्धनिन्द्रा निदाएर अनि
भट्टिमै आधा सपनाहरु सजाएर
हिमालका सेताम्य हिउ झै रङ्गिरहेका
अनि बर्सोउ बर्ष सम्म पनि लगातार दिनभरि सहरको सडक किनारमा उभिएर
ल्याम्पोष्ट झै
धप्प्धप्प बलिरहेका
या,
कुनै बिरक्त बाटाहरुमा लामालामा दारीजुघा
कपाल पालेर
अनि च्यातिएका कपडाहरु टालेर
उ पर जोगि जसरी आइरहेको त्यो बिछ्युब्ध बुडो मान्छे
हो त्यो मेरै बा हो,
जो ठ्याक्कै म जस्तै छ,
जो बाडिले अन्नबाली बागाएर खाएका सर्वाङ्गा
नाङ्गानाङ्गा खेतहरुमा
भमरा जस्तै गरेर दिनभरी डुल्छ
अनि हुरिबतासले उढाएका घरका उदाङ्गा धुरीहरुमा
कोइली झै गित गाउदै घुम्छ
अनि बिरहहरु भुल्छ

जो जिन्दगी देखि नै दिक्क लागेर
रक्सी प्युछ
अनि रक्सी देखि नै वाक्क लागेर
जिन्दगी ज्युछ
त कैले रक्सी देखि नै दिक्क लागेर
रक्सी प्युछ
अनि मलाइ मातृभुमिका सत्रुहरुलाइ बिभस्स बनाउन
सैनिक कमाण्डरले झै आदेस दिएर
अनि एकैछिनमा उनिहरु कै आक्रमणले हण्डर खान्छ
मेरा वा ती तिम्रा सुकेका रक्तनसाहरुमा
सप्तकोसिको बोउला बहाब झै दोउडिरहेको जस्तो देखिने
भन त्यो कुनै सराप हो या तनाब??

धार हराएर दिनहु कामिकोमा कुदिरहेका कुनै तरवार जस्तो
या समचार हराएर दोउडिरहेको पत्रकार झै
या यस्तै तस्तै कि मानोउ आमाको काख नपाएर
रोइरहेको कुनै दुधे बालक झै
रोइरहन्छन
मेरा बा निरन्तर
म मान्छु कि जस्का आँसुहरु पनि
रक्सीहरु नै हुन
पसिनाहरु पनि रक्सी नै हुन
र रक्सीहरु उन्का रचना हुन
ती रचनाहरु जस्लाइ मात्र हरेक दिन सङ्कलन गरे,
त्यहा एउटा ठूलो मधिरा अल्कोहल फ्याक्ट्री
वा कला कम्पनी बन्नेछ

मेरा बा जो यहाँ ठ्याक्कै यस्तै केही छन
हो मेरा ठ्याक्कै म जस्तै छन
किनकी मेरा बा! म भन्दा पनि खुङ्गखार
कलाकार हुन ।।

(कपोकल्पित जड्या वा दुख्याचा बुवाहरु प्रती समर्पित)-सुजन

ViBid Rose – Maya Barilai

माया वरीलै

डाडैमा छदा देखेका सपना
हुरीले उडायो, माया वरीलै
गहीरामा रहदा देखेका सपना
पहिराले बगायो

दुखियाको काल्कोठी पाइतालो
कहाकहा पुर्यायो, माया वरीलै
सुख त केवल देख्नाको रमझम
अभावमै डुबायो

उभो म हेर्छु रूझेका आखाले
देख्छु मात्र आकाश त्यो मेरो होइन
हिड्छु म आगे दुखेका पाइलाले
देख्छु मात्र मानिस कोही मेरो छैन
माया वरीलै माया वरीलै

सानीकी आमा एक्लै माटो खाई
निष्ठूरी भई गई, माया वरीलै
बाबुको घूडा नि चुसेकी सानी
कहा पो हराई

आफ्ना कोही हुन्थे त देखिन्थे
म किन रुन्थे, माया वरीलै
के रहर मलाई ताराजुन ताप्ने
मस्तले सुत्थे

वर यो काली बगी कहा पो पुग्थी
रूकेकी मलाई थहा छैन कहिल्यै
बगरको ज्यान मेरो किन पो लान्थी
एकोहोरो बगिमा रहन्छे, रुक्दिन कहिल्यै
माया वरीलै माया वरीलै

Sujan Budhathoki – Yo Jindago Euta Churot Ho

यो जिन्दगी एउटा चुरोट जस्तै रहेछ,
जहाँ हल्का हल्का सुर्ती
र रुवा मात्र कोचिएको छ
भरिएको भुसको बोरा झै
जो अलि खादिएको छ
गतिसिल मुर्तीहरु झै
जो आफै चलिरहेछ
सन्त्रस्त रातहरुमा
जिबित भुतहरुको
बिचित्र लासहरु झै
जो आफै जलिरहेछ
र,
जहाँ बाट अब नसानसाहरुमा
बिरक्त बिसाक्त दग्ददग्द
धुवाधुवाहरु उडिरहेछ
यो जिन्दगि एउटा चुरोट जस्तै रहिछ।
जो आफै जलिरहेछ!

चुरोट भगवाननले नै बनायो,
भग्वानले नै सल्कायो
र,
भग्वान ले नै निभायो
म त यहाँ चिटिक्क परेको
एक चमत्कारी चुरोट जस्तै रहेछु
म त यहाँ फगट एउटा चुरोट जस्तै रहेछु
जो स्वयम् जलिरहेछ
यो जिन्दगी एउटा चुरोट जस्तै रहिछ

कुनै बेला त्यो प्रेमपागलले
बोटहरु चुडेर
म माथी गाजा भरेर
ताजाताजा धुवाँलोहरुको
लामालामा वायुलहर र तुसारोको
बादलमा
बाफ्फिएर उडेका उसका
तातात्ता सासहरुबाट
सल्काएर मलाइ
एक अर्को सर्को भन्दै
रक्सिको प्रतेक चुस्किला स्वाद
अनि चुरोटको चर्को सर्कोहरुमा
मात्तिएर ड्रग्सका नसाहरुले
पोलेर आफ्नै राता ओठहरु
पृयासिका हरेक यादहरुसङ्गै
अनायासै मलाइ
मदहोस हावाहरुमा
उढाएर सक्काइदिएछ
त्यो लाचार अचानोमा चक्कुहरुले दिएको
चीत्कार अनि अनन्त चोट जस्तै भएछु
त कैले म ती पागलप्रेमिहरुका
सिग्रेटका ठुटा जस्तै भएछु ।
म त यहाँ फगट एउटा चुरोट जस्तै रहेछु ।।

पर्देसी नोटहरुको लोभमा बेचिएर

दलालहरुद्वरा ढाल बनेर
अनि पुजारीहरुबाट
मन्दिरको मङगलदिपहरुभित्र
जो जुठा धुप बनेर बलिरहेछ
अनि दुराग बनेर फैलिरहेछ
भक्त अनि दैबको पबित्र आत्मामा
म त त्यो चम्किलो चन्द्रमामा
लागेको सानो एउटा खोट जस्तै भएछु ।
म त यहाँ फगट एउटा चुरोट जस्तै रहेछु

फुलहरु जस्तै बनेर
कसैले जिबनमा सजिएर
अनि
मनमन्दिरमा पुजिएर
हृदयाङ्ग्कुरण हुने

सुरङ्ग अनि अनुराग
आपुर्ती गर्ने रहरहरुलाइ
मान्छेहरुले सुर्तिको खेती गरेर
मलाइ मेशिनहरुले पेलेर
आगहरुले
अरुको अन्तराङ्ग झोसदिएर
तानशाहहरुले मलाइ दोष दिएछन ।
ती कृतिम कलकारखानाहरुले बनाएको
म रिमोर्ट जस्तै भएछु
म त यहाँ फगट एक चुरोट जस्तै रहेछु।
जो आफै जलिरहेछ
यो जिन्दगी
एउटा चुरोट जस्तै रहिछ ।।।

देसद्रोहि आतङ्कवादिहरुले बम बारुद्द पड्काएर
बिस्फोटित धुवाधुलोहरुको मुस्लो उडाए झै
अनि बलत्कारीहरुले बेहोस बनाएर
एउटि कलिली केटिलाई पालै पालो बलत्कार गरे झै गरि रोषरोष
प्रतेक पटक मेरो प्राणत्व अनि निर्जिबतामा बेस्यागमन गरेर मेरो अस्मितालाइ उनिहरुले
कलङ्कृत तुल्याएछन,
रक्ताम्य हालत लिएर अदालत
अनि चिहानको बायुमण्डलमा
बलात्कृत बालिकाको त्यो मृतात्मा
र आसुहरु बोलिरहेथ्यो
बेअठोट
कि
“म त त्यहा
ती भ्रस्टचारिहरुको प्रतिस्ठित कोट जस्तै भएछु
म त फगट एउटा चुरोट जस्तै रहेछु.”
जो आफै जलिरहेछ,
र जहाबाट अब नसानसाहरुमा
बिरक्त बिसाक्त दग्ददग्द धुवाहरु उढिरहेछ,
यो जिन्दगी एउटा चुरोट जस्तै रहेछ ।।।।

Binod Aryal – Byarek Ko Dubo

विनोद अर्याल – ब्यारेकको दूबो
(मधुपर्क साउन, २०६७)

म ब्यारेकको दूबो
कहिले जङ्गी बुटहरूले
कहिले बन्दुकका नाल र कुन्दाले
कहिले रातो तातो गोलीले
सत्ताका खेलाडीहरू
मेरो टाउकोमा खेलिरहेछन् ।
म तल Continue reading “Binod Aryal – Byarek Ko Dubo”

Basu Shashi – Barambar Ma Ekbata Chhuttiyera Gairahechhan

वासु शशी – बारम्बार म एकबाट छुट्टिएर गइरहेछन्

बारम्बार म एकबाट छुट्टिएर गइरहेछन्
अनेक कुराहरु—
हातबाट औँलाहरु
आँखाबाट निकटता
खुट्टाबाट पुग्नुहरु !
म एउटा गाँठो, फुस्किँदै गइरहेछु
फुस्किँदैछन् मुटु, मन
देहबाट उमेर, अङ्ग–प्रत्यङ्गहरु !
टुक्रा–टुक्रा काटिँदै गइरहेछन्
इच्छा, आकांक्षाहरु
टुक्रिंदै गइरहेछन् निद्रा, सपनाहरु !
हिजो–अस्तिहरु चुँडिएर गए
भत्किएर गए भोलिहरु !
मैले त्यो ऊँट हराएँ
जो हिड्थ्यो लुखुर लुखुर मरुभूमि मेरो मस्तिष्कमा !
मलाई हलचल गर्न नहुने भयो
पल्लो कोठाका बमहरुमा धक्का लाग्ने डरमा !

हो, यो सत्य होे
जे म छु त्यसको कुनै विकल्प छैन !
तर त्यो पृथकता पनि
कुनै मन्चिन्ते झोली होइन रहेछ ।
प्रतिज्ञभूमि कहीँ पनि छैन भनेर
म जहाँ उभिएँ
स्वर्ग त्यो पनि होइन रहेछ ।
यी नकारात्मकताहरुको बाटो गरी
एउटी बेस्सेजस्तै मेरो हृदय मबाट गयो ।
अब म एक थुप्रो बालुवा हुँ
सिर्फ एक थुप्रो बालुवा
जसलाई मनको तूफानले अलिकति उडाएर लैजान्छ,
मस्तिष्कको हुरीले अलिकति छर्पष्ट पार्छ,
तनको पानीले अलिकति बगाएर लैजान्छ
प्रत्येक बिहान, प्रत्येक साँझ
प्रत्येक दिन, प्रत्येक रात ।
परन्तु म किन चिन्ता गरुँ —
म आफूलाई सोरेर राखूँ भने
त्यो पनि त कुनै देवता होइन ।
म नभई हुन्न भन्ने क्यै छैन,
म नभई हुन्न भन्ने क्यै छैन

Basu Shashi – Pugchhu Bhanera Gayeko Thaun

वासु शशी – पुग्छु भनेर गएको ठाउँ

पुग्छु भनेर गएको ठाउँ
पाइलैपिच्छे पर सर्छ !

यताउति घुम्तीहरुमा
आकल झुकल कहिलेकाही
पुगे जस्तो पनि लाग्छ !
तर पुग्ने रहर तीव्र छन्
जीवन्त बनाउछन !
र, जहाँजहाँ मानिस पुगेको छैनन्
पृथ्वीका ति चौटाहरु
सित्तै गएका छन् !
र, हिमाल पनि त्यसैले हो
पग्ली पग्लीकाँ
मानिसको धरिति डुल्न आउछन !!

Basu Shashi – Mero Desh Ko Pustak

वासु शशी – मेरो देशको पुस्तक

मेरो देशको पुस्तकका पृष्ठहरू
ठाउँ–ठाउँमा च्यातिएका छन् !
यसलाई पढ्ने मेरा बालकहरूले
अवश्य ‘यो त भएन बा !’ भन्नेछन् !
यसका पन्नाहरूको अक्षर नै मेटिने गरी
ठाउँ–ठाउँमा कालो मसी पोखिएको छ !

यसलाई पढ्ने बालकहरूले
अवश्य ‘यो त नराम्रो भो बा !’ भन्ने छन् !
अनि म बाँझोले बादललाई झैं हेरिरहुँला–
तिनीहरूले ती चौटाहरू ल्याएर जोडेको !
दागहरू माझेर पुस्तक सफा पारेको !
हो, मेरो देशको पुस्तकका पृष्ठहरू
ठाउँ–ठाउँमा च्यातिएका छन् !

Nishprabh Saji – Baari Ko Kanlo

निष्प्रभ सजी – बारीको कान्लो

बारीलाई कान्लो चाहिएको छ,
खेतलाई आली चाहिएको छ
मेरो देशको सीमानामा भने
पर्खाल हैन नेपाली चाहिएको छ

बारीको कान्लो मिचियो केही बोलिन
त्यो छिमेकी थियो
गार्‍हो पर्दा काम लाग्ने त्यही त थियो
खेतको आली, मिचियो केही बोलिन
त्यो गाउँले थियो।
मर्दा पर्दा काम लाग्ने, त्यही त थियो
यसपाली त अचम्मै भो, देशै मिचियो

इतिहासको कथा भित्र
यो नेपाली ब्यथाको भित्र
न मर्दा काम लागेको छ
न पर्दा काम लागेको छ
मेरो देशको छातीमा कुल्चिने सामु
अहिले त मलाई
मेरो खिया लागेको खुकुरी उद्याउने रहर जागेको छ
नभन्नु मेरो रगत उम्लियो
जहाँ कुल्च्यो उसले अहिले,
मेरो देशको हो त्यो ।

शब्द – निष्प्रभ सजी
संगीत – न्हू बज्रचार्य

Sankalpa Khanal – Euta Santan Janmaunu Parchha Priya

संकल्प खनाल – एउटा सन्तान जन्माउनु पर्छ प्रिय

हुर्राहरुको जमातले बाँझी भने तिमीलाई
बैकल्याहरुको जमातले लाछी भने मलाई
उल्टो गतिको समाज हेरेर,
भावावेशमा गरिएको
तिम्रो मेरो निर्णय
परिवर्तन गर्नुपर्छ ।
एउटा सन्तान जन्माउनु पर्छ ।
आँखा हँुदा हुँदै अन्धो बनेको
ठुले जस्तो होइन,
क्षमता भएर पनि कायर बनेको,
लुले जस्तो होइन
र, आफ्नै आमा नङग्याएर,
रमिता देखाउदै
पैसामा बिक्ने कुलंगार
कुले जस्तो होइन ।
एउटा सन्तान जन्माउनु पर्छ प्रिय ।
पुरुषत्वको जामा पहिरिएका,
नारित्वको दमनका सन्तुष्ट,
प्यासी समाजका मर्दहरु,
नपुंसक बनेको देख्दा
छोरै जन्माउनु पर्छ भन्ने छैन,
सन्तान, सन्तान बन्न सकोस्
छोरी नै किन नहोस्
तर, आफु भित्र बिद्रोह गर्न नसकेर,
परिस्थितिलाई दोष दिदै,
बाध्यता अलापिरहेका छोरीहरु
जस्तो पनि होइन ।
सन्तान, सन्तान बन्न सकोस्
अन्धाहरुका आँखा खोल्न सक्ने बनोस्,
लाटाहरु भित्र बोल्न सक्ने बनोस्,
रुढी र विकृत संस्कार,
लोभ र मोह उन्मुख व्यवहार,
अन्याय र अत्याचारका जालाहरु
पोल्न सक्ने बनोस् ,
एउटा सन्तान जन्माउनु पर्छ प्रिय ।
गरिबीमा उ विश्वविद्यालय पढने छैन,
प्रमाण पत्रका खात लागउदै
देखावटी सफलतामा बढने छैन,
उ निर्धाहरु माथिको अन्याय पढ्नेछ,
उ मजदुरको मजदुरी र ज्याला पढ्नेछ ,
उ पढ्नेछ असमानताका भड्खालाहरु ।
पिडा र दःुख खानेछ उ,
साहस ओकल्ने छ उ,
समानताको अभियानमा
समयको वेगलाई पछ्याउदै
संघर्षको अग्रपंक्तिमा हास्नेछ,
निरन्तर, निरन्तर संघर्षमै रमाउनेछ ।
हत्या गरिएका हजारौ सपनाका
लासहरु नियाल्दै
म नयाँ सपना बुनेको छु
त्यसैले
एउटा सन्तान जन्माउनु पर्छ प्रिय ।
हो, एउटा सन्तान जन्माउनु पर्छ प्रिय ।

Dr. Gopal Bhandari – Ananta Bramhanda

डा.  गोपाल  भण्डारी  – अनन्त  ब्रम्हांड

धेरैलाई सरम लाग्छ–
आजभोलि नेपालबाट आएको भन्दा
अनपेक्षित फन्दामा फसिने डरले
अन्तर्राष्ट्रिय क्षेत्रमा जातै गए जस्तो लाग्छ,
नेपालीले नेपालीलाई
बिना कसुर हत्या Continue reading “Dr. Gopal Bhandari – Ananta Bramhanda”

Suchitra Khaniya – Niyati Ko Khel Yestai (Nepali Gajal)

सुचित्रा खनिया – नियतिको खेल यस्तै (गजल)

नियतिको खेल यस्तै खेल्यो जिन्दगीले
जीतभन्दा हार बढी झेल्यो जिन्दगीले

जिन्दगीको ओत भन्नु यही मनको छाता
बर्षातमा घाम पानी छेल्यो जिन्दगीले

अँगेनामा खाली खाली तावा मात्रै तात्यो
बिना आँटो भोक मात्रै बेल्यो जिन्दगीले

आज भन्यो भोलि भन्यो दिन मात्रै गन्यो
माकुराको जालोजस्तै जेल्यो जिन्दगीले

मधुपर्क जेठ, २०६९

Sujan Budhathoki – Dhunga Chattan Sab Galera

ढुङ्गाचट्टान पनि सब गलेर
यहाँ कमसल-कमल भयो
फुलबारी अनि जब जलेर
जहाँ जहाँ जङ्गल भयो

बिस्वास लाग्दैन होला ए!
मसानका चुडेलहरु
चिहानकी परि पनि आज
आकासकि एन्जल भयो
ढुङ्गाचट्टान पनि सब गलेर
यहाँ कमसल-कमल भयो

ति मन्दिरमा भगवानको भजन गर्ने,
गायक भएछन
आखिर मर्ने त यहाँ नालायक
त्यो ढोलक या मादल भयो
फुलबारी अनि जब जलेर
जहाँ जहाँ जङ्गल भयो

पछार्न बन्दुक बोकेर दुस्मनलाई
मार्न हिडेको मान्छे
एउटा जवान कन्याकै मुस्कानले
उ घायल भयो
ढुङ्गाचट्टान पनि सब गलेर
यहाँ कमसल-कमल भयो

ए सरकार यो देसमा कर यसरी बड्यो कि
भ्रष्ट्रचार मानोउ कि
यी लाचार भुसभन्दा पनि सस्तो त
यहाँ किसानको त्यो चामल भयो

प्यार हैन यार त्यो ब्यपार सम्झ
यो कालो सन्सार
कारागारमा बाघको सिकार
अनि बिरालोको छल भयो

बारम्बार नहेर अनुहार,
अहङ्गकारको नगर सृङ्गार
जस्तो कि कबिता लेख्दा
यहाँ मेरो यो गजल भयो

मत बिसुद्द सफल जिवन सम्झिए
हल जगत
जबदेखी मेरो यो मन यहा
बुद्द झै सरल भयो

उनिहरु बारुद्द र बिद्रोहले
सान्ती खोजिरहे तेसैले त
मातृभुमी भासिएर
आमाको छाती आज पातल भयो

छ्याकसरी भनेउ कि?
मेरा बाउको पसिना गनायो भनेर
के तिमिहरुले पिएको
कुकुर झोल चै गङ्गाजल भयो?

ढुङ्गाचट्टान पनि सब गलेर
यहाँ कमलकमसल भयो
फुलबारी अनि जब जलेर
जहाँ जहाँ जङ्गल भयो

ViBid Rose – Kinar Ko Chintan

किनारको चिन्तन

चहाना सामिप्यताको, छललाई होइन
बेचैनी मनलाई मात्र, पललाई छैन
आफ्नै गतिमा बगिजाने खोला
कल्कलाई सुनाउछे एउटा कुरा
“कुरी बस, उठी जाऊ तिमो निणर्य
तिमो आफ्नो कदम तिमो आफ्नो भाग्य“

म छु, यहीँ छु टुक्रुक्क किनारामा
सुन्दैछु कलकल डुबी चुर्लुम्म भावमा
माछा भ्याकुता एकअर्काका लोभी
पौडन्छन उर्फन्छन सुखी छैनन कोही
कहाँ हुदोरहेछ चैन ठुलो निधारमा
गोडाका डेक रहेछन सब मेरो विचारमा ।

Krishna Upadhyaya – Pratham Purush

कृष्ण उपाध्याय – प्रथम पुरुष


स्निग्ध हिमवन्तका हिमस्तुप
भानुका भापिला प्रेमास्पर्श र प्रणय आकर्षणमा
पग्लेर
म काव्य गङ्गा
आस्थाका गंगोत्रीबाट निश्रित
अनन्त अविरल प्रेम प्रवाहित छु ।

मेरो प्रथम पुरुष !
सात फेरा लगाउँदै
तिम्रो काव्यगङ्गाको प्रेमार्पण ।
सुभगा, सर्वांगी, सुन्दरी
म बगिरहँदा
प्रेम तिमीमा पनि !

बग्नु न हो
बग्दा बग्दै
यमुना र म त्रिवेणीमा
प्रभातीय स्वरसुधाका प्रेमप्रणयमा
यतिराज 1 का गीतमा पनि बग्यौं
काव्य सागर लम्किरहँदा !

मेरो काव्य सागरमा
यमुना मात्र होइन
कोशीका कविता, कालीका काव्य
गण्डकीका गीत पनि समाहित छ
स्थिर गङ्गासागर भएर ।

मेरो अखण्ड काव्य गङ्गासागर
तिम्रो सान्निध्यताको तरेली र
काली, कोशी, गण्डकी र यमुनाका
काव्यप्रेम प्रवाहित नभए
मात्र मरुतल हुन्थ्यो ।
मरुतल !

त्यसैले त कोशीका कोकिल स्वर,
गण्डकीका गुञ्जन,
कालीका कलरव
मेरो प्रेम गङ्गासागरका उद्गम हुन् ।
प्रेम सागरका उद्गम हुन् ।
मेरा प्राण हुन्, मेरो प्रथमपुरुष ! तिमी जस्तै !
उद्गम बिना कल्पनामा पनि म हुन्न !
तिमी हिमवन्तमा हिमस्तुप ठिङ्ग उभिएर मात्र त
म अहिले गङ्गामा भएर प्रेम बग्दै छु ।

मेरा गन्तव्यमा तिम्रा गन्तव्य छन्
तिम्रा गन्तव्य म हुँदै हिड्दै छन् ।
हाम्रा गन्तव्यका प्रेम प्रणयमा
मानसपुत्र जन्मन्छ ।
मानस जन्मन्छ ।

मेरो गन्तव्यको यात्रामा
यमुनाको पनि यात्रा छ
कोशीको यात्रा बगेको छ
गण्डकी बगेको छ ।
यात्रामा उनीहरुका स्वप्न छन्
पूर्ण र अपूर्ण स्वप्न छन् ।

हिड्नु न हो
हिड्दा हिड्दा
उनीहरुले प्रेम देखे, हिंसा खेपे
आलिङ्गन देखे, आर्तनाद सुने
हिमवन्त झर्दै आउँदा
मेरो वर्तमान र इतिहास पनि बने

मेरो प्रेम !
तिमीलाई सात फेरा लगाउँदै
म प्रेम आलिङ्गनमा हुँदा
यी सबै मेरो प्रेममा समाहित भए
तिमीमा समाहित भए ।

तर एक्लै हुँदा
यमुना यमुना बगिन्
गण्डकी गण्डकी बगिन्
काली काली नै बगिन्
आफ्नो बग्नुको एकल इतिहास बोकेर ।
अहिले मसँगै बेरिएर
सबै तिमीमा समाहित छन्,
सबै एक्लै पनि देखिन्छन्,
अन्तमा तिमीमा एक छन् ।

त्यसैले
हामीले हेर्दा तिमी देख्छौ, तिमीले हेर्दा हामी देख्छौं !
तिमी हाँस्दा हामी हाँस्छौं, हामी हाँस्दा तिमी हाँस्छौ !

‘तिम्रा आँखा सुन्दर छन्, तिम्रो हाँसो मोहक छ ।’


तिम्रो हाँसो मोहक छ !2
मानसको पनि !

बिहानै उसको मन्द मधुमुस्कानमा
निद्राका नयन जस्तै आँखामा परेली ओछ्याएर
उ उड्छ अनन्त सगर खोज्दै ।
उड्नु न हो
उड्दा उड्दै
मादकताको मानस
अत्तरमयी अङ्गनाको अङ्गालोमा अड्किएर
अत्तरमा अङ्गना देख्छ
अङ्गनामा अत्तर देख्छ ।
सौन्दर्यमा सुगन्ध
सुगन्धमा सौन्दर्य ।

अनन्त यात्रामा
म गङ्गामा बगिरहँदा
मैले मानस देखिरहेँ
अङ्गना देखिरहेँ
मैले देख्दा तिमीले पनि देख्यौ ।

अङ्गनाको अङ्गालोमा बाँधिएर
उसको वक्ष्यस्थलमा अडेस लाग्दा
मानस आँखा चिम्लेर सौन्दर्य खोज्छ
आँखा चिम्लेर सौन्दर्य छाम्छ ।
सुगन्ध खोज्छ ।
अत्तरको वासना
अङ्नाको वासना ।
अङ्नाको अत्तरको वासना !

वासना अनुभूति न हो !

अङ्नाको अनुभूतिमा
मानसका अङ्ग अङ्ग अङ्गनाका हुन्छन् ।
नितम्बिताका नृत्य भावभङ्गीमा
कामासनका नृत्य भावभङ्गीमा
उ सम्पूर्णतामा मानस खोज्छे,
मानस भोग्छे ।
मानसका सहस्र तन्तुहरु भोग्छे ।

मादकताको मानस
अङ्गनाको अङ्गालोमा
कामाङ्गहरुमा काम उत्सर्ग खोज्दै
नितम्बिताको नितम्ब नियाल्छ
सर्वांङ्ग भोग गर्छ !
सर्वांङ्ग !

म देख्छु
त्यहाँ मानसको भोग छ,
अङ्गनाको भोग छ
नितम्बिताको भोग छ ।
सम्भोग कतै छैन ।

अङ्गनाको अधरमा
नृत्यङ्गना नितम्बिताको नृत्य चापहरुमा
मादकताको मानसको मनमा
मेरो प्रेम !
तिम्रो अनपेक्षित अनुपस्थिति अङ्कित नै भएनन् ।

तिमी कहाँ छौ ?


आलिङ्गनबाट मुक्त अङ्गना
मादकताबाट मुक्त मानस
उष्ण भावमा उद्वेलित छन्
आन्ध्रीय आद्रताको अनुभूतिमा अधिर छन् ।
अब अङ्ना अगम्या भै मानसका लागि
मानस अगम्य हो अङ्गनाका लागि ।
अङ्गना मानसमा
मानस अङ्गनामा
प्रेम ! तिमीलाई खोज्न छाडिसके ।

अब भौतारिंदा भौतारिंदै
मरुमय महानगरीय बाटाहरुमा
उष्णताले पखालिएका पाखाहरुमा
अङ्गनाको अनन्त अविरल एकल यात्रा छ !
मानसको एकल यात्रा छ !

यात्रा न हो
विश्राममा सिद्धिन्छ ।

बाटो बाँकी हुँदै
अङ्गनाको यात्रा
अट्टहासमय अट्टालिकामा विश्राम खोज्छ
यात्रा अटलको अङ्गालोमा अड्किन्छ ।
अङ्गना त्यही नै तिमीलाई खोज्छे ।

मानसको मन मधुशालाका क्रूर कक्षहरुमा
अङ्गना धाउँछ।
नितम्बिता धाउँछ।
आतुर आफ्नो मन बिसाउँदै
उ फेरि नृत्यशालाको नृत्यमञ्चमा
कुनै ऋतुमतीमा तन बिसाउँछ ।
मन र तन ऋतुमतीका वक्ष्यस्थलमा विश्राम लिन्छन् ।
उसले पनि तिमीलाई नै खोज्छ ।

कोशी, काली र गण्डकी
म गङ्गामा समाहित हुँदा,
अझ तिमी नै गङ्गा र गण्डकी बग्दा 3
तिमीले त झन् मानस र अङ्गनाका यात्रा हेरिरह्यौ
कान्तिपुरका कायामा
कान्तिपुरका छायामा ।
कान्तिपुरका अट्टहासमय अट्टालिकामा …..

अट्टालिका बाहिर
लासै लासका लाममा
वैभवमा बाँचेकाहरु
ऐश्वर्यका ऐस भोग्नेहरु
मौन मृत्युका मुर्दा मूर्ति बने ।

मुर्दा मुर्दा हुनुका कथा भन्दैनन्
मुर्दाका आफ्ना कथा हुँदैनन्
कथा कान्तिपुरका भए
कथा कान्तिपुरका सडकका भए
कथा मानसका यान्त्रिक यात्राका
कथा भए अङ्गना अप्राप्ती र आक्रोशका ।

कथामा
आक्रोशमय आग्नेयगिरिका अग्निवर्षामा
मानस अग्निगर्भमा भासिन्छ
मानस ऐश्वर्य ढाल्छ
वैभव ढाल्दछ
अनि उ आफैँ ढल्छ ।
घात आघात !

मानस प्रेम खोज्दै प्रेम ढल्छ ।
घात, आघात र प्रतिघातको मानस !


घात, आघात र प्रतिघातको मानस
अट्टालिका अगाडि अचेत अचल रहँदा
अङ्गना अत्तालिंदै अट्टालिका आइपुग्दा
मैले अङ्गना हेरिरहेँ ।

मृत्युमय मौनतामा
अङगना आफैँभित्रको
आँधीमय अन्धकार बाटाहरुमा
चेतन अवचेतनका अभिनव पाखाहरुमा
मानस आघात हुनुको पीडा पोख्दैछ ।

म हिमवन्तबाट तल बगिरहँदा
अङगना अतीतका अतल गर्तमा गाडिएर बसिरही
अतीतको मानसको सान्निध्यतामा
नढलेको मानसको सान्निध्यतामा !
त्यहाँ उ मानसका व्यायाम, प्राणायाम देख्छे
सुगठित शरीरका मांसपेशी देख्छे,
मांसपिण्ड देख्छे
आँखा चिम्लेर उ सबैको अनुभूत गर्छे !

आँखा खोलेर उ
मानसको लावण्य हेर्छे,
यौवन हेर्छे ।
मानस अब यौवन हो,
लावण्य हो,
मन हो
अपराजिता अङ्गना सबै अँगाल्छे ।
सम्पूर्णताको मानस भोग्दा भोग्दै
उ मानसको ऐश्वर्य भोग्छे,
वैभव भोग्छे
आफ्नो सौन्दर्यताको अञ्जुली थापेर
बैंसालु झोली थापेर ।

अहिले उसको अगाडि मानस लडिरहँदा
म देखिरहेछु
अङ्गनाको अचल शरीर
विस्मित विभ्रान्त विक्षिप्त मन
अशान्त आँसुको आकृतिमा
मानस भिजाइरह्यौ ।

भिज्दै जमिनमा लडिरहँदा
मानस आँखा खोलेर आकाश हेर्छ
अङ्गना देख्छ, अङ्गना हेर्छ ।
फेरि आकाश हेर्छ, अङ्गना देख्छ ।
अङ्गना हेर्छ, आकाश देख्छ ।

भ्रान्त विभ्रान्त परिसरका परिदृश्यमा
अब अङ्गना आकाश हो, आकाश अङ्गना हो ।
मानस ढलिरहँदा
उ आकाश छुन खोज्छ, अङ्गना छुन्छ
अङ्गना हेर्छ आकाश देख्छ ।
उसले उडेको आकाश,
उ जमिनमा खस्दाको आकाश
घाइते बनाउने आकाश !

भिज्नु न हो
भिज्दा भिज्दा
मानस उसको
विलग्न विभ्रान्त अतीतका
भ्रान्त भाव पखालिरहन्छ ।

अट्टालिका अगाडि लडिरहँदा
मानस सम्झिन्छ
आकाश यात्राका विप्लवीय बाटाहरुमा
आकाश छुने विप्लवीय बलमा
आकाश छुने विद्युतीय वेगमा
उ बाँसका तामा जस्तै आकाश ताक्छ
बढ्दा बढ्दै
बढेको बाँस तल नुहिये जस्तै
मानस नुहिन्छ,
मानस जमिन छुन्छ ।
चिसो जमिन ! शीतल जमिन !


शीतल जमिन माथि
शीतलताको सौम्य अनुभूतिमा
मानस मानसरोबर खोज्छ
मानस मकालु देख्छ,
माछापुछ«े देख्छ ।
मौन मकालु र मौन माछापुछ«ेका मौन शृङ्खला हेर्छ ।
मानस मौन शृङ्खलामा स्निग्ध मन खोज्छ ।

मन न हो
स्निग्धतामा स्निग्ध हुन्छ ।

स्निग्धतामा मानस मन–मस्तिष्क
बृहत् वृत्तचित्र हो
विगतका बिम्ब प्रतिबिम्ब ध्वनि प्रतिध्वनिका ।
अहिले मानस जमिनमा बसेर त्यही हेरिरहन्छ ।

अङ्गना आँखा अगाडि राखेर
बृहत् वृत्तचित्र हेरिरहँदा
मानस आफ्ना अनुभूति अनुवाद गरिरहन्छ ।
अङ्गना अत्रूmर भावमा सुनिरहन्छे ।

वृत्तचित्रमा

मानस मरुभूमि देख्छ,
मरुभूमिभित्र मरुद्यान देख्छ,
मरुद्यानभित्र मैदान देख्छ,
मैदानभित्र ऊँट देख्छ,
ऊँटका पुछारमा बालक बाँधिएको देख्छ,
अनि देख्छ
सहस्र ऊँटहरुका दौड,
आत्तिएका बालकहरुका चित्कार
खुशीले उछालिएका अतिथिहरुको भिड,
भिडमा अङ्गना,
अङ्गनासँगै उ !

अर्को परिदृश्यमा
मानस पहाड फोर्दै झर्ने झरना देख्छ ।
डाँडामा डाँफेले लालीगुराँस गाएको सुन्छ ।
मुनाल र मयूरका नाच देख्छ ।
पmराकिला फाँटहरु देख्छ ।
सरिताका सरगम सुन्छ ।
अशोकको आडमा अडिएका केतकी देख्छ ।
मालती, माधवी र मल्लिकाका 4 फक्रक्क फुलेका बैंसालु वन देख्छ ।
खेत र खरबारी देख्छ ।
खरको एक कोठे घरमा बस्ने
अर्धनग्न तन देख्छ ।
तीन सय तिर्न तीस वर्ष जोत्दा थाकेको मन देख्छ ।
विभेदका बिरुवा झाँगिएर कलिला हात बेरिएको देख्छ ।
आराध्यका आराधनामा पनि विभेदको बोट देख्छ ।

मेरो प्रेम !
विगत हेरेर
अनुभूति अनुदित भइरहँदा
मानस अङ्गनालाई हेर्छ ।
अनुभूति अनुदित भइरहँदा
मानस अविरल आँशु अनुभूत गरिरहन्छ ।
अविरल आँसु दिग्भ्रमित दृष्टि पखालिरहन्छ ।
मानस चिच्याउँछ
गगनभेदी गर्जन गुञ्जन्छ
आकाश गर्जन्छ ।

विगत हताहतहरुका कथा बोल्छ
हाम्रो विगत हिंसाको कथा बोल्छ ।
अङ्गना, विगत प्रेमका नाममा अप्रेम बोल्छे ।
मायाका कथा बोल्छे ।
अङ्गना, हाम्रो विगत मोह बोल्छे, लोभ बोल्छे ।
पागल प्रलाप, अहङ्कार बोल्छे ।
अङ्गना, हाम्रो अतीत असत्य बोल्छे ।


गगनभेदी, गर्जन गुञ्जदा
मानस आकाश हेर्छ
आकाश देख्छ, बिजुली देख्छ ।
फेरि आकाश हेर्छ, बिजुली नै देख्छ ।

भ्रान्त विभ्रान्त भाव बडारेर
मानस बिजुलीका विद्युतीय प्रकाशमा
आगत विगतका
विलग्न बिम्बहरुको संलग्न आकृति खोज्छ ।

विलग्नहरुको संलग्न आकृति खोजिरहँदा
मौन मानस र अङ्गना मन्द गतिमा
तरुण तरुणीका मन जस्तै एकोहोरो हिड्छन् !
बिस्तारै बिस्तारै !

सँग–सँगै हिडिरहँदा
अङ्गना र मानस
विलग्न विगत र आगतका बीचमा
विवर्ण वर्तमानमा रल्लिरहन्छन् ।

रल्लिरहँदा,
थकित थापाथली पुगेर अजङका जङ्ग दरवार अगाडि
बाग्मती बग्दै बटुक मुद्रामा मधेसतिर झर्दा,
मानस र अङ्गना
कदम्बको रुखमा लुगा राखेर
बाग्मतीमा नुहाइरहँदा,
मानस अतितकी अङ्गना सम्झन्छ ।
अहिलेकी अङ्गना हेर्छ
अतित र वर्तमानको लग्नता देख्छ
संलग्नता देख्छ ।
बाग्मतीमा अतितकी अङ्गना
वर्तमानकी विन्दु हुन्छे ।

अङ्गना अहिले मनको मानस हेर्छे
प्रेमाभिभूत हुन्छे,
प्रेम द्रवित हुन्छे
अब मानस
उसको पनि मन हो,
तन हो ।
मानसका पीडानुभूति अङ्गनाको पनि अनुभूति हो ।
त्यही अनुभूतिमा
अङ्गना आँशुमा गाजल पखाल्छे ।
मानस अङ्गनाका आँखाका काला धारा पुस्छ ।
दुवै शान्त भावमा हाँस्छन् ।
शान्त भावमा हाँस्छन् ।

मेरो प्रेम !
अङ्गालोमा बिस्तारै हिडिरहँदा
मानस अङ्गना
मानसरोवर खोज्छन्, माछापुच्छ«े देख्छन्
मानस मन माछापुच्छ«े चढ्छ ।
अङ्गना मन माछापुच्छ«े चढ्छ ।
मानस अङ्गना माछापुच्छ«े चढ्छन् ।

माछापुच्छ«ेमाथि बसेर
उनीहरु फेवाताल हेर्छन्,
तालमा माछापुच्छ«े देख्छन्
तालमा मानस मानस देख्छ ।
तालमा अङ्गना अङ्गना देख्छे ।
उनीहरुका मन
मधुवनभित्र मधुमास उडिरहँदा,
तालका तरङ्गमा तैरिएर बगेका यात्रीहरुका
सहयात्रा पढिरहन्छन् ।

मन न हो
जलयात्राका यात्रीहरुको मन देख्छ
प्रेम देख्छ, प्रेमालाप सुन्छ
प्रेम प्रणय देख्छ
रम्छ ।

मन न हो
माछापुच्छ«ेबाट उभिएर तल हेर्दा
रोदीघर देख्छ
रोदीघरको गीत सुन्छ
गण्डकीको तिरमा रोदीका गीत सुसेल्छ ।
रोदीमा गण्डकी बग्छ ।

धाननाचमा मेची बग्छ
माई बग्छ, तमोर बग्छ ।
स्याब्रु, सेलो, साकेला,
चण्डी, होरिया र झिझियामा पनि बग्छ ।
मानस र अङ्गना तिनीहरु सँगसँगै बग्छन् ।
तिनीहरु ममा मिसिन्छन् ।
मसँगै गङ्गा बग्छन् ।

मेरो प्रथमपुरुष !
मानस र अङ्गना
दाङमा दन्सिशरणको दरवार पुग्दा 5
जमुना पनि बग्छन्
जमुनाका तिरमा उभिएर ।

जमुनाका तिरमा उभिएर
मानस र अङ्गना
कनकचम्पा र चिनियागुलाबले ढाकेका वन देख्छन्
जमुनाका काखमा, जमुनाका तिरमा ।

जमुनाका तिरमा
बर पिपलका छाहारीमा
मानस र अङ्गना
सखिया नाच नाच्ने व्यग्र सुन्दरी देख्छन् ।
उनीहरुका सेता साडी देख्छन्
मालती र माधवीका माला झुण्डिएको चुल्ठो देख्छन्
पारिजातका माला देख्छन्
मालामाथि मुखमा मृदु हाँसो देख्छन् ।

व्यग्र सुन्दरीसँगै नाच्न व्यग्र छन्
मादल भिरेका मादलेहरु ।
मोहक मुद्रामा,
भदौको मन्द हावामा !

भदौको मन्द हावाले चुमिरहँदा,
सुन्दरीहरु दियो बोकेर गाउँछन् ।
दियो बोकेर नाच्छन् ।
मादलेहरुका मादलको तालमा
मन्द हावासँगै, मन्द गतिमा !

आनन्दको अनुपम अनुभूतिमा
अङ्गना र मानस
परित्यक्ता र परित्यज्यको मनोभावबाट भाग्दै
परित्यक्ता र परित्यज्यको मनोदशाबाट भाग्दै
शब्दमा कुद्छन्
स्वरमा कुद्छन्
धुनमा कुद्छन् ।

गीतका ध्वनि प्रतिध्वनिमा
नाचका बिम्ब प्रतिबिम्बमा
विलुप्त हुन्छन्
विलय हुन्छन् ।

बिस्तारै गीतको गतिमा
मानस अगाडि बढ्छ,
मानस मादलेको मादल माग्छ
मादल बजाउन थाल्छ
नाच्न थाल्छ
एक पछि अर्की यौवनासँग,
शान्त मुद्रामा ।

अङ्गना असहज उभिन्छे,
मानस नाचेको हेर्छे
यौवनाहरु नाचेको हेर्छे
मानस कै मनमा बसेर मानस नाचेको हेर्छे
अङ्गना अब यौवनाको भिडमा हुन्छे,
भिडमा अङ्गना मानससँगै नाच्छे,
मानस नाच्दा अङ्गना नाच्छे,
अङ्गना नाच्दा मानस नाच्छ ।

अब मानस मञ्च हो
अङ्गना त्यसैमा नाच्छे,
मानस मनमा नाच्छे ।

मेरो प्रेमपुरुष ! प्रथम पुरुष !
म देखिरहेछु
मानस अङ्गना प्रेमाभिभूत छन्
मानस अङ्गना एकाकार छन् ।
यौवनाहरुसँग मानस अङ्गना नाचिरह्यो ।
अङ्गना मानस नाचिरही ।

म देखिरहेछु
अतीतकी अङ्गना
अतीतको मानस
विवर्ण वर्तमान छिचोलेर
वर्तमानका मानस र अङ्गना
आनन्दका मानस भएको छ
आनन्दकी अङ्गना भएकी छे ।
आनन्दको अनुभूतिमा अङ्गना
आनन्दको अनुभूतिमा मानस
प्रेमानन्दको अनुभूतिमा परमानन्द देखिरहेछन् ।
परमानन्दमा सत्य
परमानन्दमा परंसत्य ।
मेरो प्रेमपुरुष ! प्रथम पुरुष !
त्यो परंसत्यलाई मेरो नमन 6 ।

वेम्बली, लण्डन
_______________________
1 रामानुजाचार्य
2 वल्लभाचार्य: ‘नयनं मधुरं, हसितं मधुरं’ (मधुराष्टकम)
3 हेर्नुहोस : गोपाल सहस्रनामस्तोत्रम्
4 हेर्नुहोस : Flowers in Ancient Literature’ http://www.flowersofindia.in/mythology.html
5 दाङका थारु राजाको दरवार, दरवार अहिले छैन, तर दन्सिशरणको दरवार भएको भनिने केही भग्नावशेष भएको सानो क्षेत्र अद्यावधि छ ।
6 ‘सत्यं परम् धीमहि’ (श्रीमद्भागवत १:१:१)

Prabha Niraula – Samjhana

प्रभा निरौला – सम्झना

तिम्रा सम्झनाले जब पोल्ने गर्छन उनको छाती
एकान्तमा आफ्नै आँसु पिउने गर्छिन रातिराति
छोराछोरी सामु सधैँ देखावटी हाँसो हाँसे-पनि
घोप्टो परि घुँक्क-घुँक्क रुने गर्छिन रातिराति

जतिसुकै घाँस-दाउरा, मेलापातमा दिन बिते पनि
बाल्ने गर्छिन हर साँझमा, तिम्रो नामको दियोबाती
घरजम गर्ने, गाडि किन्ने, छोरालाई डाक्टर बनाउने
आजकल देख्न थालेकी छिन, सपनाहरु रहरमाथि

तिम्रा तस्विर, तिम्रा सामान, तिम्रा कपडा नियालेर
सुँक्कसुँक्क गरिर’न्छिन खै के सोच्छिन नानाभाँति
खेल्न थाल्छन जब मनमा, ऋणका ठूला भकुण्डाहरु
हत्पत पुस्छिन आँसु अनि, रहरलाई त्यै कुनामा थाँति

कहिलेकाहीँ त भगवानले नि गर्छन क्यारे पक्षपाती
गरीब-निमुखा सधैँ गरीब, धनि चढ्छन अझै माथि
वर्षौँ भो रे चाडबाडमा नहाँसेको त्यो तिम्रो परिवार
यसपाली थोरै हाँसो लिई, भेट्न भनी जाउ है साथी

Raju Syangtyan – Remittance

राजु स्याङ्तान – रेमिट्यान्स

आरुको बोटमा झुण्डिरहने
एउटा रक्ताम्य कमिजथियो
हिजो बेलुकी हरायो
कसैले थाहा पाएन
सहिदगेटमा
धुम्धुम्ती टोलाइरहने
एउटा बेनाम शहीद थियो
त्यो पनि हरायो
कसैले वास्तै गरेन
ब्रिफकेसले च्यापेको घाइते झण्डा
मैलो कट्टुसँगै झुण्डिएर
झोक्राइरहन्थ्यो हर साँझ
मन्त्रीज्यूको कौसीमा
त्यो पनि एकाएक हरायो
लागेन कर्फ्यू शहरमा
कालापानीको डिलमा
एकलास मुर्झाइरहने
एउटा जंगेपिलर थियो
त्यो पनि हरायो
गाएन कसैले राष्ट्रियगान
खेतका गराहरूमा
कमिलासँग लाप्पा खेल्दै
नुन पर्खिरहने
एक टुक्रा रोटी थियो
त्यो पनि हरायो
भेला भएन
चौतारीमा कोही पनि
डाँफेको प्वाँख हराउन सक्छ अब
चुलीमा हिउँ हराउन सक्छ अब
राहदानीसँगै
अलिकति देश च्यापेर
प्रत्येक दिन उड्ने विमानसँगै
एक दिन यो संसारबाटै
नेपाल हराउन सक्छ अब
महोदय !
अनि तपार्इं
कुन देशमा बसेर गन्नुहुन्छ
रेमिट्यान्स ?

Raju Syangtan – Ram Bahadur Marga

राजु स्याङ्तान – रामबहादुर मार्ग

जब टेक्छु यो लमतन्न राजमार्ग
टेकेजस्तो लाग्छ
आपाको कुप्रो आङ

४० वसन्तअघि लक्का जवान हुँदा
गिट्टीमा सपनाको अलकत्रा घोलेर
बनाएका थिए रे आपाले यो मार्ग

ऊ त्यो जङ्गलको बीचमा
थोत्रो डोजरको पाटपुर्जासँगै लडिरहेको
पहेंलो टोपी
सायद मेरै आपाको हुनुपर्छ

त्यो पुरानो ट्याक्टरको टायरनेर
आधा डढेको हात्तीछाप चप्पल पनि
मेरै आपाको हुनुपर्छ

ऊ त्यही फ्याँकिएको क्रसरले
चुँडिलग्यो होला
मलाई तातेताते गराउने
आपाको दाहिने हात

हुइँकिन थालेपछि पुलमाथि मोटर
कति हिँडे होलान् तरुनी आमासँगै
पुलमुनिको बाटो
दुई रुपैयाँ भाडा नभएर

हिजो साँझ पिएपछि एक डबका जोस
आपा निस्केछन् राजमार्गमा
कराएछन् जोडजोडले,
‘साला को हो महेन्द्र भनेको ?
यो महेन्द्र राजमार्ग होइन
पूर्व–पश्चिम राजमार्ग पनि होइन
मैले बनाएको हुँ, मैले ’

बिहान ब्युझँदा टोल छिमेक
राजमार्गछेउमा लडिरहेको थियो आपाको लाश
किचिमिची पारेको थियो
वर्षौं भोट हालेको बुढीऔंला पनि

न कुनै मुचुल्का
न कुनै साक्षी
बेवारिस लडिरहेको छ आज
आँगनमा आपाको लाश

म गइरहेछु
मेरो आपालाई भेट्न
यो अमलेखगञ्ज
यो निजगढ
यो महेन्द्र राजमार्ग
पूर्व–पश्चिम राजमार्ग

तर,
तर किन भन्न पाउँदिनँ
रामबहादुर मार्ग ?