Basu Shashi – Parkhal Lagayepachhi Dherai Thok Bahira Parchha

वासु शशी – पर्खाल लगाएपछि धेरैथोक बाहिर पर्छ

पर्खाल लगाएपछि धेरैथोक बाहिर पर्छ
यद्यपि यो हो कि
पर्खाल राम्रो पनि बन्न सक्छ,
त्यसमा लहरहरू लाग्छन्,
यद्यपि यो हो कि
पर्खालभित्र जे–जति पर्छ त्यो आफ्नो हुन्छ,
सुरक्षित रहन्छ,
पर्खाल सायद नभई हुन्न
मानौँ देवता हो त्यो
किन्तु पर्खाल पर्खाल मात्रै हो
त्यो आकाशमा पुग्न सक्दैन
र भित्रै पस्नेहरू त त्यसलाई उक्लने पनि हुन्छन्
र पर्खाल, त्यो भत्कन पनि सक्छ

परन्तु अचेलका सहर–सडक जो बालबच्चाका लागि काम लाग्दैनन्
र अचेल मानिसले जो मानिसहरूबाट आफूलाई बढ्ता अलग्याउनुपर्छ
पर्खालमाथि चाहे जतिसुकै खेद प्रकट गरूँ
म त्यसलाई लगाउँछु
(पर्खाल सायद सबभन्दा अप्रिय आवश्यकता हो)
सायद यो जमानामा हामी पर्खालको जरुरत मिटाउनलाई
पर्खाल लगाउँछौँ
हामी पर्खालका विरुद्ध पर्खाल लगाउँछौँ
(तर) लगाउँछौँ, लगाउँछौँ
यद्यपि पर्खाल लगाएपछि धेरै कम भित्र पर्छ
(हुन त सब थोक सबभन्दा बढ्ता चाहिने युग पनि यही हो)
पर्खाल, लोग्नेमान्छेजस्तो पर्खाल,
टाउको लगेर ठोक्न पनि हुने पर्खाल ।

Basu Shashi – Euta Prem Patra

वासु शशी – एउटा प्रेमपत्र

तिमीकहाँ आउने कुराको रूखको टुप्पोमा चढेर
एउटा बाँदरजस्तै मेरो मन टुक्रुक्क बसिरहेछ
परपरसम्म चियाएर ।
मेरा हातहरू छन्— मबाट उम्केर
तिमीलाई छुन आउन चाहन्छन्
छाउराले घर फर्केका मालिकको खुट्टा चाटेझैँ गरेर ।
अवश्य मेरो मन र हातको— मबाट अलग— तिमीसँग
एउटा अर्कै सम्बन्ध छ,
नरिवलभित्रको तरलजस्तो सम्बन्ध ।

वास्तवमा नदीका तीरैतीर लखेटालखेट गर्न जाने हौ भने
यही घाममै हो।
वास्तवमा तिमीलाई छुन जाने हो भने
यही जाडोमै हो।
(साँच्चै, मान्छेलाई छुनुजति सुखद
अरू क्यैहुन सक्दैन हगि ?)
तिमी पत्याउँछौ भने म पनि समयहरूको इनार–पिँधबाट
माथि उक्लिरहेछु—
एउटा समययुक्त स्थिति अर्थात् तिमीसँगको भेटसम्म पुग्न ।
एउटा लहर पानीबाट उत्रिन खोजिरहेछ
किनारैकिनार भागेर जान ।
तिमीले ठीक भनेका थियौ—
मानिस सबभन्दा बढ्ता मानिसकहीँ पुग्न चाहन्छ,
कसैकहाँ पुग्न नपर्ने भएको दिन
खुट्टा भाँचिनैपर्दैन तर हिँड्न नसकिने हुन्छ

तिमी पनि त पर्खिरहेकी हौली
त्यसैले जुन तारा जहाँ हुनुपर्ने हो त्यो त्यहीँ छ ।
एउटा बिरुवाले वसन्तलाई कुरेजस्तै कुरिरहेकी हौली
ठिङ्ग उभिएर, चारैतिर आफ्नो पहुँच फिँजाएर ।
तिमीले बताएकी थियौ—

मेरो छायाबाहेक तिमीमाथि पर्ने अरू कुनै छाया छैन,
मेरो साथबाहेक तिमीले बस्ने ठाउँ अरू कहीँ छैन ।
यो कल्पनाले मुग्ध भएर म ऐना हेर्छु—
अहो। लौ हेर, यसमा त तिम्रो अनुहार देखा परिरहेछ ।
यसमा मेरा म्वाइँको लाली लगाएका
मुस्कानजस्ता ओठहरू फरफराइरहेछन्,
मेरो दर्शनको गाजल लाएका आँखाहरू हाँसिरहेछन्।

मलाई सम्झना छ तिमीले गाएकी थियौ—
…सुगा वनमा बस्दा–बस्दा वनजस्तै हरियो भएछ,
…यो नदीबाट जति पानी झिकेपनि यसले आफूमा घाउ हुन दिँदैन,
…मानिस अन्धो हुन्छ— आँखा फुटेर होइन, अँध्यारोभएर होइन, सपना देख्न छोडेर,
…मानिस चिसो हुन्छ— आगो नपाएर होइन, सूर्य नभएर होइन, मानिसको न्यानोनपाएर,
…अरूलाई माया मार्नुजस्तो कुरूपता संसारमा अरू क्यै हुन सक्दैन

तिम्रो स्नेह आउनेछ, तिम्रोस्नेह आउनेछ तिमीकहाँ
त्यसरी नै जसरी मेरो देशका पर्वतहरूबाट हिउँ
पग्ली–पग्लीकन हामीकहाँसम्म आइपुग्छ ।
भएभरका फूलहरू बगैँचालाई फर्काएर,
आकाशको चन्द्रमा आकाशैलाई सुम्पेर
तिम्रो सम्पन्नता आउनेछ तिमीकहाँ हंसहरू एक बथान
पोखरीमा आएजस्तै।
र हामी फेरि कुदाकुद गर्नेछौँ अनकन्टार एकान्तहरूमा ।
र हामी फेरि तिर्खाले चुरचुर भएपछि
एकअर्काका अधर र जिब्रो चुस्नेछौँ।
तिमीकहाँ पुग्ने कुरा मेरो प्रत्येक पहिलो पाइलानजिकै बसिरहेछ
एउटा पाखामा घामनजिकै छायाजस्तै।
(जब–जब कसैको माया पाउँछु म
तब–तब मलाई बढ्ता बाँच्ने इच्छा लाग्न थाल्दछ ।)
फेरि हामी भन्नेछौँ—
मानिसले मानिसलाई मन पराउनुजस्तो सुन्दर अरू केही छैन,
मानिस र मानिसको सम्बन्धजस्तो मधुर
अरू केही हुन सक्दैन

Basu Shashi – Barambar Ma Ekbata Chhuttiyera Gairahechhan

वासु शशी – बारम्बार म एकबाट छुट्टिएर गइरहेछन्

बारम्बार म एकबाट छुट्टिएर गइरहेछन्
अनेक कुराहरु—
हातबाट औँलाहरु
आँखाबाट निकटता
खुट्टाबाट पुग्नुहरु !
म एउटा गाँठो, फुस्किँदै गइरहेछु
फुस्किँदैछन् मुटु, मन
देहबाट उमेर, अङ्ग–प्रत्यङ्गहरु !
टुक्रा–टुक्रा काटिँदै गइरहेछन्
इच्छा, आकांक्षाहरु
टुक्रिंदै गइरहेछन् निद्रा, सपनाहरु !
हिजो–अस्तिहरु चुँडिएर गए
भत्किएर गए भोलिहरु !
मैले त्यो ऊँट हराएँ
जो हिड्थ्यो लुखुर लुखुर मरुभूमि मेरो मस्तिष्कमा !
मलाई हलचल गर्न नहुने भयो
पल्लो कोठाका बमहरुमा धक्का लाग्ने डरमा !

हो, यो सत्य होे
जे म छु त्यसको कुनै विकल्प छैन !
तर त्यो पृथकता पनि
कुनै मन्चिन्ते झोली होइन रहेछ ।
प्रतिज्ञभूमि कहीँ पनि छैन भनेर
म जहाँ उभिएँ
स्वर्ग त्यो पनि होइन रहेछ ।
यी नकारात्मकताहरुको बाटो गरी
एउटी बेस्सेजस्तै मेरो हृदय मबाट गयो ।
अब म एक थुप्रो बालुवा हुँ
सिर्फ एक थुप्रो बालुवा
जसलाई मनको तूफानले अलिकति उडाएर लैजान्छ,
मस्तिष्कको हुरीले अलिकति छर्पष्ट पार्छ,
तनको पानीले अलिकति बगाएर लैजान्छ
प्रत्येक बिहान, प्रत्येक साँझ
प्रत्येक दिन, प्रत्येक रात ।
परन्तु म किन चिन्ता गरुँ —
म आफूलाई सोरेर राखूँ भने
त्यो पनि त कुनै देवता होइन ।
म नभई हुन्न भन्ने क्यै छैन,
म नभई हुन्न भन्ने क्यै छैन

Basu Shashi – Pugchhu Bhanera Gayeko Thaun

वासु शशी – पुग्छु भनेर गएको ठाउँ

पुग्छु भनेर गएको ठाउँ
पाइलैपिच्छे पर सर्छ !

यताउति घुम्तीहरुमा
आकल झुकल कहिलेकाही
पुगे जस्तो पनि लाग्छ !
तर पुग्ने रहर तीव्र छन्
जीवन्त बनाउछन !
र, जहाँजहाँ मानिस पुगेको छैनन्
पृथ्वीका ति चौटाहरु
सित्तै गएका छन् !
र, हिमाल पनि त्यसैले हो
पग्ली पग्लीकाँ
मानिसको धरिति डुल्न आउछन !!

Basu Shashi – Mero Desh Ko Pustak

वासु शशी – मेरो देशको पुस्तक

मेरो देशको पुस्तकका पृष्ठहरू
ठाउँ–ठाउँमा च्यातिएका छन् !
यसलाई पढ्ने मेरा बालकहरूले
अवश्य ‘यो त भएन बा !’ भन्नेछन् !
यसका पन्नाहरूको अक्षर नै मेटिने गरी
ठाउँ–ठाउँमा कालो मसी पोखिएको छ !

यसलाई पढ्ने बालकहरूले
अवश्य ‘यो त नराम्रो भो बा !’ भन्ने छन् !
अनि म बाँझोले बादललाई झैं हेरिरहुँला–
तिनीहरूले ती चौटाहरू ल्याएर जोडेको !
दागहरू माझेर पुस्तक सफा पारेको !
हो, मेरो देशको पुस्तकका पृष्ठहरू
ठाउँ–ठाउँमा च्यातिएका छन् !