Damodar Pudasainee – Jeevan Ko Naveen Pradesh

दामोदर पुडासैनी किशोर – जीवनको नवीन प्रदेश

अहिलेसम्म
मलाई कसैले पर्खेको छैन
म अनवरत नपर्खनेहरू भेट्न
बेग मारिरहेछु
समय आउँछ, जान्छ
मान्छेहरू भेटिन्छन् ,छुट्छन्
म भने भेटेको मान्छे र भेटेको समयलाई
सधैं आफ्नै मुठ्ठीमा अँठ्याउँन खोज्छु
हिउँमा लेखिएका अक्षरहरू जस्तो
क्रमश: बिलाउँदारहेछन् ती दुबै मेरो स्पर्शबाट
नवीन रँग र तरँगका आशाका त्यान्द्राहरू चाहार्दै
सँसारको सुरूँग खोतलिरहेछु
रँग र तरँगको खोजीमा
कसले छोडेको छ कसैलाई
एउटा जाज्वल्यमान सूर्य
उज्यालोको खोजीमा
दौडिरहेछ डाँडाकाँडा
कहाँ गएहोलान् उकालो चढेका घोडचडीहरू
कता पुगेहोलान् मायालु गीतका गिताँगेहरू
के पो गर्दैहोलान् युध्दमा जीतेका सिपाहीहरू
के पिउँदैहोलान् कुर्सी छोडेका बादशाह र उनका आफन्त
के सोच्दैहोलान् जमिन बेचेका कृषकहरू
म भने
घामका किरणसँगै हिँडिरहेको मन
र ,खोलाका छालहरूसँगै नाचिरहेका आकारहरूमा
नयाँ सुस्केरा खोजिरहेछु
आफ्नै पँखेटा
किन टाढिँदैछ
आफैँबाट ?
बिश्वासको अग्लो धरहरा
किन ढाल्दैछ
मनको क्रुर भुइँचालोले ?
किन धमिलो धमिलो लाग्दैछन्
ज्योतिका कलिला रेशाहरू?
तुसारोको रापमा
बैंसका जरा खोज्ने अभियान जारी छ
जानेहरू कसैले पनि
एकपटक फर्केर हेर्न सकेका छैनन्
मेरो निर्दोष र दिब्य अनुहारमा
प्रत्येक क्षण
अनौठो बनेर उभिँदैछ सँसार
सँसारलाई निचोरेर
नयाँ सँसार बनाउँन
भर्खरै जग हाल्दैछु म ,नयाँ ठाउँमा
केही मान्छेहरू
घामलाई बन्धक बनाउँने
सुरसारमा छन्
घाम पगालेर प्युँनेहरूलेनै
जित्नेछन् अबश्य एकदिन
यो सँसारलाई
अँध्यारो होस् या उज्यालो
रोग ,भोक र शोक
सबै निस्तेज हुनेछन्
अबका क्षणमा
ईश्वरले होइन
पानीले शासन गर्नेछ
अबको सँसारमा
आगोका फिलिँगाहरूबाट
हामफालेर
बादल बर्षन खोज्दैछ
हतारमा जिन्दगी
प्रेमको मेला चलिरहेछ
हिमालका चुचुराहरूमा
चढने सामर्थ्य हुनेहरूलाई
चुल्हेनिम्तो छ यो शिशिरमा

-२०७५ पुस १९ गते बिहीबार
भृकुटी होटल ,गोदाबरी ,ललितपुर

Damodar Pudasainee – Suskera Ko Salik Ma Cyprus

दामोदर पुडासैनी किशोर – सुस्केराको सालिकमा साइप्रस

चुपचाप बसेका
चारैतिरका समुद्र
स साना थुम्काहरू उक्लेर
जीवनकथा लेख्ने
सल्लाह गर्दैछन्
समुद्रको नीलो भँगालो
उक्लेर जमिनमाथि
हरियो घाँस बनेर नाच्दैछ
समुद्रकै लहरहरू उभिएपछि
फक्रँदैछन् एकनास फूल बनेर
तिनै छालहरू आकाशमा उँडदा उँडदै
चरा बनेर उँडिरहेछन्
एउटी सुन्दरी
सँसारमा घाम ब्युँझेकै क्षणदेखि
ध्यानमग्न छन्
बक्षसम्म पानीमा डुबाएर
उनको चुल्ठोमा
हर्दम् सल्बलाइरहेछन्
अजम्बरी ईन्द्रेणी फूलहरू
माझीले खियाउँदै ल्याएको एउटा डुँगा
हलचल नगरी टक्क रोकियो समुद्रमाथि
रोकिएको डुँगामाथि
जीवन रोप्दैछ माझी
सुवास रोप्दैछ
सुस्केराका बाफिला बतासहरूमा
अर्ध्दमूदित आँखाहरू
पुरै खुल्ने तयारीमा छन्
समुद्रका छाल नाघेर
सबै छालहरू
ठोक्किन्छन् र हार्छन्
सबै बतासहरू
हुनहुनाउँदै आउँछन्
र पार लाग्छन्
बतास र छालमाथि
बिजय उत्सवस्वरूप
बिशाल ज्योतिस्तम्भ रोपिदैछ
पानीको बुई चढेको माटोका सतहहरूमा
सँकटमा बाँच
तर ,खुशीमा बाँच
सँकट बिनाको खुशी
होस बिनाको जीवन हो
लेखिएकोछ
परतिर पानीका अक्षरहरूमा
जसरीपनि
टिकाउँनुपर्छ जीवनलाई
प्यास मेटुन्जेल मात्र सुन्दर हो पानी
उत्रनै नसक्नेगरि चुर्लुम्म डुब्ने हो भने
पानी र जीवन दुबैको अर्थ छैन

२०७५ फागुन २६ आइतबार(मार्च १०,२०१९)
लार्नाका अन्तरराष्ट्रिय बिमानस्थल ,साइप्रस

Damodar Pudasainee – Jerusalem Ko Batas

दामोदर पुडासैनी किशोर – जेरूसलेमको बतास

युकलिप्टस र बकैनाको
सल्लाह हुँदैछ शहरमा
मान्छेहरू
सल्लाह भन्दा धेरै
ब्यस्त छन् आकार निर्माणमा

सपनाहरू हिँडिरहेछन्

हिडिरहेका सपनाहरूले
जन्माउँदैछन् नयाँ सपनाहरू

जेरूसलेमकै डाँडामा
भेडा चराइरहेका भेटिए क्राइस्ट
उनका हात खुट्टाहरूमा
किला ठोकेर
क्रसमा टाँग्ने योजना बुन्दैथिए
एकहुल मान्छेहरू अलिपरतिर

ओलिभ माउन्टेनका ढुँगाहरूमा
केही रूखहरू उमार्न
धुलौटे कोर्दै भेटिए मोहम्मद

जेरूसलेमकै पहाडहरूमा
ढुँगा खोपेर मोति निकाल्दैथिए यहुदीहरू
उनीहरूकै हत्केलाका रेखाहरू हेरेर
भबिष्य बताउँदै गरेका भेटिए हिन्दुहरू

शिलालेखका पुराना मन्त्रहरू भत्काउँदै
मान्छे शीर्षकको नयाँ सूत्र लेख्दैछन्
मृत सागरबाट ब्युँझेका मान्छेहरू

धेरै लेखे खबरकागजहरूले
हिन्दुका कुरा
ईशाईका कुरा
इस्लामका कुरा
र यहुदीका कुरा
अचेल ती सबै कुरा छोडेर
प्रकाशित गर्दैछन्
कार्टुन चित्रमा मान्छेको बहुरूप

शान्तिकोलागि
पहाडमा,मस्जिदमा र गिर्जाघरमा
ध्यानमग्न छ जेरूसलेम
उता बारूद,गोली र रसायनको
बढदोछ ब्यापार
गोलेनहाइट र गाजापट्टीमा

आत्तुर छ जीवन शान्तिकोलागि
आत्तुर छ जीवन युध्दकोलागि

जीवनका नवीन बृक्षहरू
फरक रँगमा टुसाउँदैछन्
मृत सागर र मरूभूमिका कान्लाहरूमा

भोको कुकुरले आलो मासु भेटेझैँ
मृत्यु फन्फनी घुमिरहेछ यतातिर पनि
कहिले डाँडा,कहिले खोला र कहिले खोचतिर

जीवनबादीले
कहिल्यै परबाह गर्नु हुँदैन मृत्युको

हारेको मृत्यु
लजाई लजाई अनुहार देखाउँन खोज्छ
कहिले एक्लै
र ,कहिले समुहमा

जीवनको भब्य कन्सर्ट
बेरोकटोक
भब्य चल्छ ,चलिरहन्छ -शहरमा

-२०७५ फागुन २७ गते सोमबार(११ मार्च २०१९)
प्रिमा किँग्स होटल ,जेरूसलेम ,इजरायल

Damodar Pudasainee – She Phoksundo

दामोदर पुडासैनी किशोर – शे -फोक्सुम्दो

मिल्नेभए मैले
सँसारका सबै मान्छेको शरीरमा
रातो रगतको सट्टा
नीलो रगतले भरिदिनेथिएँ
कि,उनीहरूले गर्नथाल्ने थिए
बीरताको सट्टा प्रेमको बखान
कयौं घोडचडी बादशाहहरू
लोलाएका हुन् मेरै आँखाका डिलमा
सँसार नाप्न हिँडेका
कयौं वायुबेगका यात्रुहरू
चम्केकाहुन् मेरा आँखामा आँखा जुधाएपछि
जिन्दगी रेट्दा रेट्दा निस्केका
नुनिलो पसिना र आँसुका दहहरू
बग्दै बग्दै आइपुग्छन् मेरै अन्जुलीसम्म
र ,सँग्लिंदै सग्लिंदै उकालो चढछन्
जून र घाम भेट्ने आशामा
अहिलेसम्म
अभाव नभएको ठाउँमा
उभिन जानेन मान्छेले
आफ्नोभन्दा
अरूकै चिन्ताले पिल्सिएकोछ ,उ
अरूकै ईर्ष्या
अरूकै माया
अरूलाईनै बाँध्न
आफ्नै मुटुको धुरिखाँवोमा
किन हतारिँदै बगिरहेछ मान्छे लहर बोकेर
मसँग
कुनै आबश्यकताका सूचिहरू छैनन्
कुनै अभावका सूचिहरू छैनन्
मन जस्तो बेला बेलामा धमिलिइरहने
कुनै अँध्यारा लहरहरू छैनन्
मीठो सपनाका ईन्द्रेणी रेखाहरू भने
सधैं सग्लिरहन्छन् केन्द्रदेखि किनारसम्म
सपनामा बुनेका
यादका जाली रूमालहरू
खजमजिएको सुन्छु म
मायालुका हत्केलाका रेखाहरूमा
मान्छेभन्दा धेरै
फोहरले दुर्गन्धित बन्दैछन् बस्तीहरू
खनिनसक्दै बाटाहरूलाई
छेक्दैछन् अबरोधका काँडाहरूले
भीडभन्दा अलिपर बसेको म भने
दुर्गन्धी छैन
तिम्रो फूलबुट्टे रूमालजस्तो
न उदास छु
जूनले आत्महत्या गरेको मधुरो साँझजस्तो
अथवा , निमन्त्रणाबेगर गाइरहने
चट्याँगको बेसुरे आवाजजस्तो
ओठ ओठबाट समय झरिरहेको बेला
मैले समयलाईनै रँगाइरहेछु नीलो रँगमा
बतासले उँडाएर ल्याएको मायाको धूलोलाई
दिनेछु मैले जीवनको बेग्लै रँग
तिमीलाई चाहिनेजत्ति
नीलिम प्रेमको चित्र छ मसँग
सँसारका सबै उर्जाहरू ब्युँझाउँनसक्ने
झुलो र चकमकपनि पर्याप्त छ मसँग
तिम्रा आँखाहरूले
फूलबारीभन्दा अझ सुन्दर
केही खोजेका हुन् भने
सोझै, एकपटक मलाई भेटिदिए पुग्छ ।

— २०७५ असौज २१
शे फोक्सुम्दो ताल ,डोल्पा

Damodar Pudasainee – Chitwan Ma Ghaam Ko Mrityu

दामोदर पुडासैनी किशोर – चितवनमा घामको मृत्यु

बुढा रूखहरूले
दाह्रा र नँग्राहरूसँग
लडदा लडदै
सिध्द्याए सबै
औला ,हात ,खुट्टा र शरीर
र ,सिर्जिए जमिनमाथि एउटा कोलाज

उनीहरूका जराहरू भने
आफै उभिएको माटो बिर्सेर
निर्माण गर्न लालायित छन्
खरानीका पहाड ,काँडाका पुल र क्रुर सालिकहरू

पसिना होइन
आँसुको गन्ध आइहेछ
उल्टो बगेको नारायणीबाट

एउटा स्वघोषित बादसाह
जुम्राका खुट्टा गनिरहेछ
पुराना जडाउरीबाट

घाम आकाशमा होइन
लुक्न खोज्दैछ
साँप र मुसा लुक्ने
गहिरा दूलाहरूमा

एउटी अबोध चमेली बृक्ष
चिच्च्याउँदा चिच्च्याउँदै
अनुबाद भएकी छे
बाचाल ढुँगाहरूमा

गोयवल्सहरू
कुरा ओसारपसार गरेबापत
पाएका
हड्डीका टुक्राहरू चपाएर
भव्य भोजको
लेखिरहेछन्
एउटा कुरूप पटकथा

भर्खरै
आत्महत्या गरेकोछ
घामले
मान्छेहरू
मृत घामलाई
उज्यालोले सेकाउंने
तर्खरमा छन्

-भरतपुर ,चितवन
२०७५ कार्तिक १५ गते

Damodar Pudsaini – Jerusalem Ko Barsaadi Din

दामोदर पुडासैनी किशोर – जेरूसलेमको बर्षादी दिन

पर्दा खोलेर नाटक शुरूगरेजस्तो
जेरूसलेममा बर्षा नाच्चै नाच्दै झर्यो
र नचाउँन थाल्यो पाम ट्रि र आरूका फूलहरूलाई

बर्षिरहेको पानीका थोपाहरूमा
धुन थाले मान्छेहरूले
आफ्ना पुराना स यादहरूलाई

पानीलाई भन्दा हतार छ मान्छेहरूलाई
उनीहरू जाडो र बर्षाहरूलाई मुडकी बजार्दै
खोज्दैछन् गन्तब्य

माझिका दाँत जस्तो
सडक पेटीका ढुँकाहरू
झन् झन् देखिँदैछन् हात्तिका दन्तजस्ता

साँघुरा सडकहरूमा
चिप्लन खोज्दैछन्
सडक भन्दा बिशाल बसहरू
बसका बूढा चालक
खोजिरहेछन्
चिप्लिँदै बगिरहेको सुन्दर जवानी
उनका नीला आँखाहरू
खोज्दैछन् जिन्दको सुन्दर ओएसिस

हरिया चौरहरू
र हरिया रूखका हाँगाहरू
सायद तीर्खाएथे
पुराना यादहरू बोकेर
आज एक्कासी फुटेकाछन्
यादका पोखरीहरूो
र ब्यूँझाउँदैछन्
नयाँ सँबन्धका जराहरूलाई

उकालो ओरालो गर्दैछन्
प्रथनामा जुटनेहरू
ओलिभ माउन्टेन
र किँग डेभिड प्लेस वरिपरि
सबै मान्छेको प्रार्थाना
मुसल्धारे बर्षा बनेर ब्यूँतन्छ जेरूसलेममा

कतितिकोलागि आगो बनुँ
वा बनप कत्तिकोलागि पानी
गम्भिर सोचना झरिरहेछ
बिहानैदेखि बर्षा जेरूसलेममा

बर्षादी दिनमा

पानीका थोपाहरू

मान्छेजस्तो नाच्दै गाउँदै

र मान्छे भने

पानीझैं बग्दै र कुहिरोझैं फैलँदै

मज्जाले जुहारी खेल्दोरहेछन् जेरूसलेममा

-२०७५ फागुन ३० बिहीबार(२०१९ मार्च १४)

जेरूसलेम -डेड सी यात्रा,इजरायल

Damodar Pudasainee – Baato

दामोदर पुडासैनी किशोर – बाटो

मान्छेलाई नयाँ ठाउँ पुर्याउँन
र,मान्छे मान्छे भेट गराउँन
खनिरहनुपर्छ मैले नयाँ बाटो

पहाडहरूलाई निरन्तर
खोप्दा खोप्दा
छिना,घन र जिलेटिनहरूले
स साना धर्साहरू बनाएँ मैले
र,ब्युँझाएँ बेग
अनन्त चुचुराहरूभन्दा अझ पर

बाटो नखन्दा
पर्खाल उभिइरहेथे पहाडहरू
पर्दा उभिरहेथे जल र थल
बाटो खनेपछि
बाटो आफैं उभिंदोरहेछ
कित्ता कित्तामा स्वागतद्वार

आमाको पेटदेखि
बाटो पहिल्याउँदै आएकोछु
नयाँ बाटो खन्न नसकेको बेला
म आफैँ जम्नेछु ढुँगा बनेर

मलाई ढुँगा बन्ने रहर छैन
मैले भनेको मान्छ्यौ भने
तिमीले पनि
कहिल्यै सँगत नगर्नु
ढसमस्स उभिरहने ढुँगाहरूको

मलाई
बाटो खनिरहने मान्छेहरू
र,बाटोमा हिँडिरहने मान्छेहरू
सबैभन्दा प्यारो लाग्छ !

-शिरबिण्डे ,डोल्पा
(२०७५असौज २१गते नेपाली सेनाद्वारा निर्मित जाजरकोट डोल्पा सडक निरीक्षणको क्रममा दुनै,त्रिपुराकोट र शिरबिण्डे क्षेत्रको निरीक्षण र सोही अवसरमा रचिएको कविता र त्यसै दिनका तस्बिरहरू )

Damodar Pudasainee – Jordan

दामोदर पुडासैनी किशोर – जोर्डन

एउटा अँध्यारो डोम
सल्बलाउँदैछ छानामा
काकाकुल धरती
परेड खेल्दैछ हावासँग

च्यानलका बादल
नेटवर्कको खोजीमा छन्
मान्छेका अनुहार खोज्दैछ
आँधीबेहरीको एउटा जुलुस

डेट्सका रूखहरूले
काखमा सुकाउँदैछन्
आकाशलाई
आकाशमा
सुरूँग खन्ने योजना बुन्दैछन्
चराबाट बिच्केका मान्छेहरू

सँझना तिम्रो पनि छ
सँझना उनीहरूको पनि छ
सँझनानै सँझनाका कोसेली बेचेर
चित्र ब्यूँताउँदैछन
एक हुल कर्याँगकुरँग

लामको निर्माण
लामको विनिर्माण
लामनै लामका रेखाहरूमा
स्पन्दन लेखिंदैछ
तुवालोहरूमा

एउटा विशाल समुद्रलाई
भर्खरै पिएर रित्याइएको छ
समुद्रनै तीर्खाएर
अजिँगर नाच देखाइरहेछ

मौसम बिज्ञान बिभागको
भविष्यबाणी छ
आज दिनभर बदली हुनेछ
एउटी उदास प्रेमिका
मरूभूमिमा गुलाफ रोप्न थालेकी छ

मान्छेको चिच्याहट
छुरो बालुवा बनेर ब्युँतेको छ

२०७५ चैत्र २ शनिबार
अम्मान ,जोर्डन

Damodar Pudasainee – Tel Aviv Ka Neela Sanjh

दामोदर पुडासैनी किशोर – तेल अभिभका नीला साँझ

मान्छेहरू
सहर छाम्दा छाम्दै
पुग्छन् समुद्रमा
र,छालहरूसँग जिस्कँदा जिस्कँदै
पस्छन् सहरमा

हिजोआज किन हो किन
सहरले समुद्रमा र समुद्रले सहरमा
रँग बदल्ने सल्लाह चलिरहेछ

मान्छेका मनमा
बेलगाम चलिरहेछ आँधिबेहरी
बेलगाम चलिरहेछन् उकुसमुकुस छालहरू
बेलगामनै फैलिरहेछन् अतृप्त ईच्छाहरू
बेलगाम दौडिरहेको मान्छेको मन
समुद्र किनारमा ठिँग उभिन्छ
समुद्रझैँ नीलो बनेर फैलन खोज्छ

ढिक्का बनेर उभिनु भन्दा
थोपा बनेर फैलिनुमा छ सँसारको सार
बाफिलो मन्त्र सुनाइरहेछन्
भर्खर समुद्रबाट सहर छिरेका चराहरूले

बालुवा मनहरू
क्रमश: आकार लिन्छन्
र ज्योतिस्तम्भ बनेर उभिन्छन्
वल्लो चोक र पल्लो गल्लिहरूमा

फूलहरू
फूरफूर गरेर फूलाइरहन्छन् माछेको मनलाई
कयौँ सपनाहरू पुस्तकमा लेखेर
पसलमा सजाइएको बेला
नलेखिएका पुस्तकहरू
उकुसमुकुस उफ्रिरहेछन् छालहरूमा
आरम्भ गर्नेहरूलाई आमन्त्रण गीत सुनाउँदै
क्षितिजदेखि क्षितिजसम्म
समयसँगै दौडिरहेछ एक अँजुली बतास

उस्तै उस्तै रहेछन्
मन ,समुद्र र आकास
नीलो बनेर ब्युँझन्छन्
सेतो ,पहेँलो ,रातो र कालोको स्वाद चाख्छन्
फेरी नीलै बनेर फैलन्छन् किनारका किल्लाहरूमा

सँसारको सबै थकाई मेटाउँन
र,संसारको सबैभन्दा मीठो
नीलो स्वादमा हराउँन
घाम पनि हरेक साँझ पौडन पस्छ
यतै कतैको समुद्रमा

यही सहर र समुद्रको किनारमा
भर्खर ब्युँझेको छ एउटा मान्छे
समुद्रजस्तै एउटै नीलो रँगमा
बचाउँन सक्नुपर्छ उसलाई

नीलो साँझमा
छालसँगै दौडिरहेको बेला
खोजेँ मैले पनि
तिम्रो नीलो मन
र ,तिम्रो नीलो अनुहार

यतिखेर
मेरो मायाको रँगपनि
ब्युँझेको छ नीलो बनेर

२०७५ चैत्र १ गते (२०१९ मार्च १५)शुक्रबार
तेल अभिभ,इजरायल

Damodar Pudasainee – Buddha Aayam

दामोदर पुडासैनी किशोर – बुध्द आयाम

मैले
देवता छैन
देवताले
कसैलाई सपार्न सक्दैन
र,कसैलाई बिगार्न पनि सक्दैन
भनेँ
तर, केही मान्छेहरू
देवता देवता भनेर हिँडे ,हिँडिरहे

मैले
मूर्तिपूजा नगर
मूर्तिपूजा समस्याको समाधान होइन
भनेँ
तर,केही मान्छेहरूले
विश्वमै सबैभन्दा धेरै मेरै मूर्ति निर्माण गरे
बुध्द ,बुध्द भनेर चिच्याइरहे

मैले
परलोक छैन
यो लोकमा गरेको कामको फल
यही जीवनमा पाइन्छ
पाइन्न परलोकमा
भनेँ
तर,केही मान्छेहरूले
परलोकका कठोर नाटक रचेर
सोझा मान्छेहरूलाई
चुसे ,चुसिरहे

मैले
दुख छ र पो जीवन छ
दुख छैन त जीवन पनि छैन
भनेँ
केही मान्छेहरू
जीवनभरि
सुखनै सुखको खोजमा भौंतारिरहे
सट्टामा बगिरहे
अँध्यारा सागरहरूमा

नाम जपेर केही हुँदैन
नाममा आखिर केही हुँदैन
केही हुने त
कामले पो हो
मैले भनेँ
केही मान्छेहरू
कारण र परिणामको परिधान नखोलि
चैते हुरीमा उंडेको पत्करझैँ
ओम मणिपद्मे हुँ
फलाके,फलाकिरहे

एकथरी मान्छेहरू
म जन्मेको थलोलाई
काल्पनिक सीमारेखाले
आफ्नो खल्तिभित्र कोच्ने ब्यापारमा
सल्बलाइरहेछन्
र ,भनिरहेछन्-
अप्प दीपो भव:
बुध्दम् शरणम् गच्छामी

म एउटा बुध्दले
कसरी धान्ने संसारको शान्ति
अब जन्मने हरेक मान्छेलाई
आह्वान गरिहेछु
अँध्यारोभित्र कोर्न
उज्यालो जीवन चित्र ।

-२०७५ कार्तिक १७
लुम्बिनी, रुपन्देही,नेपाल

Damodar Pudasainee – Jerusalem Sanga Pahilo Prem

दामोदर पुडासैनी किशोर – जेरूसलेमसँग पहिलो प्रेम

फूल बनेर फूल्ने भए
मन त ढुँगाकै हुनु जाति

धूपीका चहकिला पातहरू
र जैतुनका बादलु हाँगाहरू
तिम्रा जाँगरका गीत गाइरहेछन्
जाँगरको अघिल्तिर
हारेका छन् चट्टानहरू
र ब्युँझेकाछन्
आदिम युगदेखि
ढुँगासँगै निदाइरहेका
माटोका केस्राहरू

निदाउँन पाउँनेछैन कोहीपनि
नीलो आकाशमा
बादलका भूल्का बनेर
मन्त्रबर्षा गर्दैछन्
ढुँगाबाटै ब्युझेका चराहरू

नीलो आकाशमा
नवीन चित्रहरू कोर्न सक्ने हो भने
मन त
ढुँगा कुदेरै
बनाएको जाति

कहाँ छोड्न मिल्छ र मनलाई
पानीजस्तो बग्न दिएर
कहाँ जम्नदिनुहुन्छ र मनलाई
हिउँका ढिक्काहरूझैँ कठ्याँग्रिएर
उजाड भनेर छोडेका बन्जरहरूमा
मन ब्युँझाउँन सके पो
गहनामा अनुबाद हुन्छन् ढुँगाहरू

म ढुँगा टुसाएको प्रेमको खोजीमा थिएँ
जेरूसलेम !
ढुँगा फोरेर प्रेमको गीत कोरिरहेका
तिम्रा तीखो स्वरका स्काईलार्कहरू भेटेर
ढुँगा बनेर निदाइसकेको मेरो मन पनि
फेरी एक पटक
छ्याँग ब्युँझेको छ
र गाउँन शुरू गरेको छ
कडा चट्टानबाट बुँझेको अमर गीत

ढुँगाको मनमा प्रेमका अक्षरहरू
कोर्न सकिँदो रहेछ
प्रेमका नवीन परिभाषाहरू

जेरूसलेम फेरि एकपटक खोदेर हेर
तिम्रा हरेक ढुँगाहरूमा
तिमीले जस्तै प्रेमका नवीन शिलालेखहरू
लेख्न शुरू गरेको छु

-२०७५ फागुन २६ आइतबार(२०१९ मार्च १०)
प्रिमा किँग्स होटल,जेरूसलेम,इजरायल

Damodar Pudasainee – Byunjheko Jerusalem

दामोदर पुडासैनी किशोर – ब्यूँझेको जेरूसलेम

हिजो साँझ
सँगै सुतेका थियौँ हामीदुई
तिमी भने
किन अबेर उठ्यौ आज बिहान ?

मीठा सपना कोर्नेहरू
ढिला उठनेरै’छन्
मान्छेहरू नबुझेरै
घोषणा गरिदिँदारहेछन्
चरम निद्राको

ब्यूँझदा
सपनाहरू जन्माउँदोरहेछ्यौ तिमीले
ब्यूझँदा सपना कोरल्न सक्नेहरू मात्र
बाँच्दारहेछन् निरन्तर

म ब्यूँझदा
बुध्द जन्माएको थिएँ
तिमी ब्युँझदा
हुर्काएकी थियौ
येशु र पैगम्बरलाई

समयको नदी
धेरै लामो बगिसकेकोछ
अब जन्माउँनुपर्छ हामी दुबैले
जाती,धर्म,भूगोल र रँगको
कुनै धब्बाबिहिन
एउटा बेगवान निख्खरा मान्छे

अँध्यारो च्यातेर
ब्यूँझन्छु म हरेक बिहान
तिमी त
ज्योति बोकेर ब्यूँझनेरै’छ्यौ

ब्यूँझनुपर्छ
ब्यूँझनेहरूनै भेटिन्छन् कतै न कतै
जस्तो कि
आजको यो महान बिहानमा
भेट भएको छ
तिम्रो र मेरो

दोभानबाटनै त शुरू हुन्छन्
नयाँ नयाँ सपनाहरू

रात र दिनको दोसाँधमा
लेख्न थालेकाछौँ हामी दुईले
नजिकको समय मुठ्ठीमा च्यापेर
टाढासम्म सँगै हिँडने
एउटा उज्यालो र नवीन कथा

जेरूसलेम
यो बिहान केबल तिम्रो लागि हो
अरू कसैको लागि हुनै सक्तैन

२०७५ फागुन २७ सोमबार
(२०१९ मार्च ११)
प्रिमा किँग्स होटल ,जेरूसलेम,इजरायल

Sent from my iPhone

Damodar Pudasainee – Hatice Cengiz Ko Prashna

दामोदर पुडासैनी किशोर – हातिस सेँगिजको प्रश्न

खुशीको बिशाल आकाशमा
उँडदा उँडदै
किन बनायौ उसलाई मृत्युको निशाना
अघि अघि उँडिरहेको उ
एक्कासी खसेपछि
म पो भएकिछु
सबै पँखेटा काटिएकी घाइते चरी

मरूभूमीमा जन्मिएकी म
आजसम्म कुनै हिमाल देखेकी छैन
न देखेकीछु कुनै बिशाल नदी
एउटा बिशाल सगरमाथा
भेटेंकोथिँएँ उसैभित्र
र डुल्थेँ उसकै मुटुका चुचुरा र खोल्सीहरूमा
एउटा अनन्त नाइल भेटेँथेँ
उसको मनका असिम तरँगहरूमा
र , पौडन्थें , मनका सारा भारी बिसाएर

मरूभूमीबाट निस्केको
बिशाल जून
आफ्नै खोकिलामा छ भनेर फुर्केको थिएँ
मरूभूमीको आशाको बिशाल ओएशिश
उ नै हो भनेर हुर्केकी थिएँ
तिम्रा काला कर्तुतहरू मेटाउन
किन निमोठ्यौ तिमीले उसको घाँटी
उसको अभाबमा
म पो भएकीछु अचेल
गोली लागेर रन्थनिएको
एउटा बेहोसी मृग

तिमी
तिम्रा काला नाटकहरू छोप्ने
सेता परिधानहरूमा
आँखा पर्नु हुँदैन कसैको भन्छौ
मान्छेको स्वतन्त्रतालाई
अर्को मान्छेले हडप्नु हुँदैन भन्थ्यो उ
तिमी तिम्रो बादशाहीपनको हैकम
सहिरहनुपर्छ युग युगसम्म भन्छौ
प्रत्येक मान्छेको मालिक
बन्न पाउँनुपर्छ मान्छे स्वयँ -भन्थ्यो उ

मान्छे मार्दैमा कहाँ मर्छ बिचार
किन सोचेनौ तिमीले
म तिमीसामु प्रश्न लिएर उभिएकीछु

प्रेमको रँगिन पोयो
र ,संघर्षको लखाकीमा झुण्डिएर पो
पिपिरो पलाइरहन्छ जीवनको
मेरो सपना थियो उ
मेरो जपना थियो उ
जिन्दगीको महान प्राप्ति
प्रेमकै उत्कृष्ठ नमूना थियो उ
प्रेमको बिशाल पर्खाल बनाउँन
बलियो आधारस्तम्भ बनाइरहेको बेला
एक्कासी किन खन्याइदियौ उसको शरीर
दन्दनी बलिरहेका आगाका ज्वालाहरूभित्र

संसार चलेको छ प्रेमलेनै
प्रेमकै कारण बढेका छन्
जन्म,जीवन र मृत्युका शृँखलाहरू
प्रेमकै कारण झाँगिन्छ
मान्छेको जिजीबिषा
प्रेमनै नभए
किन गर्थ्यो कसैले
क्षण क्षणमा सँघर्ष
उसको प्रेममा
मैले पाएको थिएँ
एउटा न्यानो भरोसा
र सबै मान्छेले पाएकाथिए
नयाँ ज्योतिको तरँग

तिमी ज्योति बिरोधी छौ
त्यसैले त
झुक्याएर निभायौ
एउटा बिशाल ज्योति
सम्झ
ज्योतिस्तम्भ मासेर मात्र
हराउँदैन कहिल्यै सँसारबाट उज्यालो

जानेर होस् वा नजानेर
जीवनमा एउटा सुन्दर काम गरेँथेँ मैले
कि मैले प्रेम गरेँथे सुन्दर मन भएको लेखकसँग
र ,प्रेम गरेँथेँ कालो चट्याँगसँग जुध्न सक्ने सामर्थवानसँग
तिमीले उसलाई बिष पियायौ
र,टुक्रा टुक्रा पार्यौ उसको शरीरलाई
अचेल
म पो ज्यूँदै मरिरहेछु
र,टनटनी दुखिरहेछ उ नै मेरा कोष कोषमा

उ मेरो जून थियो
मगमग बास आइरहने
एउटा कोमल फूल थियो
तिमीले झुक्याएर डँढेलो लगायौ
म पो बनिरहेछु
तातो खरानीमा होमेको माछा जस्तो

हे निर्दयी शासक
तिमीले भर्खरै
मान्छे होइन
हत्या गरेकाछौ प्रेमको

प्रेमका हत्याराहरूले
कतै पनि लुक्ने ठाउँ पाउँनेछैनन्
यो सँसारको कुनै कुनामा

-२०७५ मँसिर १ शनिबार
ग्वँग:बुँ,नयाँबसपार्क,काठमाडौ

(जमाल अहमद खसोग्गी (Jamal Ahmad Khashoggi) साउदी) अरेबीयाको मदिनामा सन् १९५८ मा जन्मेका थिए ।उनी अल अरब न्यूज च्यानलका प्रधान सँपादक र साउदी अरेबीयन पत्रिका अल वाटनका सँपादक थिए ।बिगत केही बर्षदेखि उनी अमेरिकामा बस्थे र सन् २०१७देखि अमेरिकाको प्रसिध्द पत्रिका दि वासिँगटन पोष्टमा पनि लेख्थे ।उनले डेमोक्रेशी फर अरब वर्रल्ड नामक राजनीतिक दल पनि खोलेका थिए ।साउदी अरेबीयाका राजा सलमान र राजकुमार मोहम्मद बीन सल्मानका कटु आलोचक भएका कारण पत्रकार,स्तम्भकार र लेखक खसोग्गी उनीहरूका आँखाका तारो साबित भएका थिए ।खसोग्गीको तीन पटक बिहे र तीनै पटक पारपाचुके भयो ।सन् २०१८ को शुरूमा खसोग्गीको बिदूषी हातिस सेँगिज (Hatice Cengiz)सँग भेट भयो ।उनीहरूबीच प्रगाढ प्रेम पनि भयो र बिबाह गर्ने सहमति भयो ।उनैसँग बिहे गर्ने कागजपत्र मिलाउँन २ अक्टोबर २०१८ मा खसोग्गी टर्की स्थित दुताबासमा प्रबेश गरेपछि त्यहीँ उनको हत्या गरियो ।यो कविता साहित्यकार खसोग्गी र उनकी प्रेमिका हातिस सेँगिजप्रति समर्पित छ ।)

Damodar Pudasainee – Jado Ma

दामोदर पुडासैनी किशोर – जाडोमा

चिल्थरो कपडामा बेरिएर
अभाबको बिस्कुन कुरिरहेको मन
जल्दा जल्दै आगोको फिलिँगो बनेको छ
घुम्लुँग बाक्लो पर्दा ओडेको घाम भने
हिउँका थोपा बनेर
डस्न खोजिरहेछ मान्छेको मुटुलाई
मान्छेलाई
बिभाजनका किल्लाहरूमा कैद गरेर
भ्रमका तिखा दाह्राले डसिरहने ईस्वर
मरिसकेको हो धेरै पहिले
त्यही ठग ईस्वरको नाम जपेर
घुर तापिरहेका एक हुल मान्छेहरू
खरानी बन्नुभन्दा अगाडिनै
खरानी बनिसकेकाछन्
गाई गोठ अघिल्तिर
ईस्वर मरेको घोषणा गर्ने नित्सेको
मूर्ति बनाउन तम्सिरहेका मान्छेहरू
कन्दमुल खाएको प्रचारबाजी गरेर
कमोटमा चिकेन चिल्लिका लाप्साहरू
फ्लस गरिरहेछन्
भोट माग्दै गाउँ गाउँ चाहारिरहेको शासक
र,गाउँको चित्र देखाएर
बजेट मुठ्ठीमा पार्ने प्रशासक
दुबै बेस्सरी तातेका छन्
सम्पत्ति शुध्दिकरणको पिरलोले
उता बस्तिका मान्छेहरू
घर घरमा शँख घन्ट बजाएर
बेइमानका बिरूवाहरू रोप्दै
दलालको सिँगो शरीरलाई
समाजसेवीको बुकुवा लेपन गरिरहेछन्
यसपाली जाडो
बेस्सरी तातिइरहेछ
बिशाक्त मनहरूको हुस्सुमा रूमलिएर
जाडोको बहानामा
बन्द नगर झ्याल ढोक
नछोप सिरक डसनाभन्दा बाक्ला परिधानले शरीरलाई
बर्षेनी आइरहने जाडोसंग पलाएन भएर
आखिर
समर्पित हुनु पनि त छैन हामी
सुन्दर अनुहार र कुरूप मन भएका आफन्तहरू सामु
हुस्सु तोडेर बाहिर हेर
पट्ट पट्ट फुटेर निस्कने तयारीमा छन् मुनाहरू
चरा चिरबिराईरहेका हाँगाहरूबाट

– ग्वँग:बुँ ,काठमाडौ
२०७४ माघ ४ , बिहीबार ।

Damodar Pudasainee – Chiyabaari Ko Geet

दामोदर पुडासैनी किशोर – चियाबारीको गीत

म जन्मेकै तिम्रो लागि हो
मेरा हरेक पात पातले तिमीलाई कुरिरहेछन्
हरेक हाँगा हाँगाले तिम्रो स्पर्श खोजीरहेछन्
तिमी आउँछौ भनेर
पर्खिरहें मैले
हरियो बर्को ओडेर
तिमी आएपछि
टोलायौ,एकोहोरो टोलायौ
हावामा फुर्फूर नाचेर
म तिमीलाई ब्युँझाउँन खोजीरहेछु
म तिम्रो लागिनै हुँ
टिपेर राख शिरमाथि
अथवा ,पिऊ राखेर कप कपमा
स्वीकार्य छ मलाई
मायाका हरेक अध्याय
मलाई तिम्रो प्रेम पत्र चाहिन्न
न चाहिन्छ रँगले भरिएका नक्कली कार्डहरू
रमाउँदै फूलिरहेको गुलाफको
घाँटी निमोठेर दिएको उपहारको पनि के अर्थ
म तिम्रा केही क्षणहरू माग्छु
चाहे मेरो अँगालोमा तिमी उभिरहु
चाहे मेटाइरहु तिम्रा हरेक तृष्णा र थकाई
मेरा एक एक चुस्कीबाट
म जन्मेकै तिम्रो लागि हो
तिम्रा हरेक नजर म माथि पर्छ पर्दैन
घरि घरि कुहिरो र बादलसँग जिस्कँदै
तिमीलाईनै कुरिरहेछु
म कहिल्यै भन्दिन तिमीलाई-
मलाई सजाऊ कुनै परिधान दिएर
देऊ जीवनभर नमेटिने उपहार
अथवा भन पटक पटक दोहोर्याएर-‘आइ लभ यु’
ती सबै लाग्छन् मलाई बकबास्
तिमी सुम्सुम्याऊ मेरा अँग अँग
अथवा , लेऊ बेला बेलामा असीम चुस्की
तिम्रा हरेक सन्तुष्ठीमा
मात्र मेरो उपस्थिति चाहन्छु म
देखेनौं
तिम्रो एक उपस्थितिले
हरियो जूनेली रँगमा
रँगिएको छ मेरो सँपूर्ण मुहार
म तिम्रा हरेक क्षणहरू
हरिलो भरिलो कामनाका
गीत गाउँदै उभिइरहेछु

-कन्याम ,इलाम
२०७५ माघ २०

Damodar Pudasainee – Sabun

दामोदर पुडासैनी किशोर – साबुन

मलाई तिमीले
साबुन बनायौ
बिस्तारै चुम्यौ
दल्यौ बिस्तारै
आफ्ना अँग अँगमा
र,बगाइदियौ
ढलका दुर्गन्धी कुनाहरूमा
जुनबेला
असाध्यै हुर्केको थियो मेरो बैँश
म मा रँग थियो
मीठो मीठो सुगन्ध थियो
समातिहालुँ छोइहालुँझैँ लाग्ने
अरूभन्दा फरक अनुहार थियो
एक से एक नायिकाहरू उभिन्थे
कयौँ नायकहरू लाम लाग्थे
मेरो बिज्ञापनमा
ठीक त्यहीबेला तिमीले पारेका हौ मलाई
आफ्नो दह्रिलो मुठ्ठीमा
हाम्रो भेटमा
के मात्र गरेनौ तिमीले
नाँगियौ ,पुरै नाँगियौ
र ,निष्फिक्री खेलाइरह्यौ मलाई
मेरा पत्र पत्र नँग्याएर
मैले पनि
मायानै हो सबैकुरा भनेँ
तिम्रो अनुहार चुमेँ
सुमसुम्याएँ तिम्रा अँग अँग
मायामा घिन मानिन
तिम्रा मयलका लाप्सा
कचेराका पहाड बिरूध्द लडिरहेँ
तिम्रा र्याल, सिँगान ,पसिना र दूर्गन्धसँग घिन नमानी
लुटपुटिइरहें निरन्तर
तिम्रो खुशीको लागि
आफू खिइदै गएँ वास्ता गरिन
आफ्नो भन्ने सबै हरायो
वास्ता गरिन
तिमी एउटा उच्च प्रशासक
तिमी एउटा ठूलो नेता
तिमी आफूलाई पदेन बिद्वान मान्छौ
र घुमिरहन्छौ धूप अबिर गर्दै
शक्तिशाली धूरीखाँवो वरिपरि
तिम्रो देखाउँने र चपाउँने दाँत बेग्लै छ
म त निरिह जनता, निरिह मान्छे
तिमीलाई सफा सुग्घर र सुगन्धित पार्दैमा
बिताईरहेछु जिन्दगी
जलिरहेको मैनबत्ति जस्तै
आखिर म एउटा साबुन न हुँ
तिम्रो खुशीकोलागि
क्षण क्षणमा सिध्याइरहेछु जिन्दगी मेरो
तिमी भने बिना सँबेदना
एउटा जिन्दगीमा खेलवाड गरेर
नयाँ नयाँ रूप ,रँग र सुगन्धको खोजीमा
कहिले कता कहिले कता भौँतारिरहेछौ

-२०७५ पुस १७ गते सोमबार
ग्वँग:बुँ,नयाँबसपार्क ,काठमाडौ

Damodar Pudasainee – Prasthan

दामोदर पुडासैनी किशोर – प्रस्थान

आकाश टेकेर
छाम्न खोज्दैछु शिखरहरू
नबीन लिपीमा
कोर्न खोज्दैछु
घाँसे बुट्टाहरू
लामो थकान
बिसाउँने तर्खरमा छु
कोर्दैछु
चमत्कारी चित्रहरू
आगोसँग जिस्केर
छुन खोजेकोछु
मनको ज्वालामुखि
हावाको शक्ति
जाँच्न खोजिरहेछु
तुवालो भित्रका खजाना
आँखामा टाँस्न खोजेकोछु
साइरन भर्खरै बजेको छ
दूर्घटना झुठो प्रमाणित गर्न
हावाको सुरूँग चपाउँन खोज्दैछु
एउटा चरा
सकि नसकि
बादलको सिँढी चिन्दैछ
म बादलका दरबारहरूमा
पुरानो पियानो
ब्युँताउँदैछु
समयलाई
बेस्सरी चपाउँन
दाँतमा साँध लगाउँदैछन्
काकाकुलहरू
समय भने
गुमेको अँश माग्दैछ घामसँग

-भैरहवा,गौतमबुध्द बिमानस्थल
२०७५ फागुन १२ गते

Damodar Pudasainee – Ojhel Ma Samaya Ghoda

दामोदर पुडासैनी किशोर – ओझेलमा समयघोडा

घोडाहरू
आँखा नझिम्क्याई दौडिरहेछन्
भेटिरहेछन्
बदलिएको बाटो
र,बदलिहेको उचाई
डाँडाबाट झरेको सूर्य
झाडीमा लुकेर
बलात्कारको अमिलो गन्ध सुघिँरहेछ
घोडाहरू
हिनहिनाउँदै
चपाउँदैछन्
अखबारका अक्षरहरू
खोला किनारमा
बिष्फोटको गन्ध ब्युँझिरहेछ
सट्टामा
नदीले टोकिरहेछ
बालुवाका टुक्राहरू
इ इक्वेल टु एम सी स्क्वाएर
सँशोधनको माग बढिरहेछ
सँशोधन हुँदैछ
अल्जेब्राको परिभाषा
जीवनगणितका शूत्रहरू
बग्दा बग्दै उँडिरहेछन्
बाफ बेगमा
शहर छेउको बूढो रूखमा
झुण्डिएकाछन्
असँख्य घाम र जून
टाउको टेकेर दौडिरहेछन्
मान्छेहरू शहरमा
मनको
न लेखा राख्न सकियो
न गरियो लेखापरीक्षण
प्रेमयुध्दको डँढेलो भित्र
चैतेहुरी पस्न खोज्दैछ
चारै दिशाबाट
शहर दौडिन खोज्दैछ
गाउँतिर र जँगलतिर
मान्छेहरू भने
ढुँगाको मूर्ति बनेर
निर्निमेष हेरिरहेछन्
जलिरहेको बस्ती
र ,जलिरहेको मान्छेको मन
केहीबेर अघि
आमन्त्रण भएकोछ
अग्निपानको लागि
स्खलित अग्नि
बग्न खोज्दैछ उकालोतिर
बूढो रूखको हाँगामा
पथप्रदर्शकहरू
उमार्न खोज्दैछन्
समयका कलिला आँखा
समयघोडा
गर्भाधानको खवर
छापिएन आजपनि
कुनै अखबारहरूमा

-२०७५ फागुन ११ शनिबार
होटल एभिन्यू ,गोलपार्क ,बुटबल

Damodar Pudasainee – Numafung Ko Tongba Bhatti

दामोदर पुडासैनी किशोर – नुमाफुँगको तोँबा भट्टी

देश
किन नुमाफुँगको तोँबा भट्टी बन्न नसकेको होला
लोकमार्गका गन्तब्यहरू
किन नुमाफुँगको तोँबा भट्टी बन्न नसकेका होलान्
नेता,प्रशासक,प्राध्यापक,लेखापरीक्षक र कविहरू
किन नुमाफुँगमा अनुबाद हुन नसकेका होलान्
प्रश्नहरू
ओलाँगचुँगगोलाबाट फुँगलिँगतिर
हिउँका भुवा बनेर झरिरहेछन्
नुमाफुँगको भट्टीको छानामाथि
देशको एउटा झण्डा छ
तर ,कुनैपनि पार्टीका झण्डा छैनन् आँगन र मझेरीमा
त्यही कुम्भकर्ण पारीको पाथिभरा
जाने र नजानेहरूमा बिभाजन छ
भर्खर निर्माण गरिएका सँघ र प्रदेशहरूमा
राग गाइरहन्छन् बिभाजित रँगहरूले
नुमाफुँगको भट्टीको मझेरी र आँगनभने
लामो बाटोमाझको चौतारी न हो
रोकटोकटोक छैन
आउँनेजाने र मनको भारी बिसाउँने जो कोहीलाई
नुमाफुँगजस्तो न्यानु घाम
अरू कुनै छैन यो सँसारमा
नुमाफुँग जस्तो तीर्खा मेट्ने कँचन नदी
अरू कुनै छैनन् यो सँसारमा
शब्दको जँजाल भन्दा धेरै
स्नेहको सागर फिँजाउँन सक्ने तागत
नुमाफुँग बाहेक अरू कसैसँग छैन
करबीर हुन् नुमाफुँग
फिका फिका हुन्छन् उनका गाला र शिरमा
गुराँस ,चिमाल र सुनपातेहरू
पीरो बनेर अकबरे हुँकार पोख्नेहरूलाई
अचार बनाइदिन्छिन् नुमाफुँगले
कि सजाइदिन्छिन् बोतलहरूमा
कि चटाइदिन्छिन् गाँस गाँसमा
नुमाफुँगको तोँबा भट्टी अघिल्तिर
फिका फिका लाग्छन् सबै अड्डा अदालत
फिका फिका लाग्छन् सुरक्षा निकायहरू
बेकामका लाग्छन् ब्यबस्थापन र ब्यबसाय
सबै असत्य बोल्नेहरू
धमाधम सत्य बोल्न थाल्छन्
नुमाफुँगको तोँबा ओठभित्र झरेपछि
बर्षौ रातदिनको चिन्तनपछि
जीवनमा दु:ख छ र दु:खको कारण पनि छ
भन्ने बुझे गौतम बुध्दले
देशी बिदेशी काटाकाटबाट
रगतको खोलाले बगाउँन थालेपछि
अहिँसा आन्दोलन बुझे महात्मा गान्धीले
केही मान्छेले भोकलाई खेलौंना
र कयौँ मान्छेले भोकलाई आगो बुझिरहेको बेला
भोक सबैको साझा हुनुपर्छ बुझे
मार्कस्,लेनिन् र माओहरूले
सारा चिन्तन पछिका
नवीन दर्शनहरू विमोचन हुन्छन्
नुमाफुँगको तोँबा भट्टीमा
निवाफुँग एक्लै हुन्
आयोजक,उदघोषक,अतिथी,प्रमुख अतिथी र न्यायमूर्ति
त्यही मझेरीबाट निस्केको दर्शन र बिधान पो
मान्दै हिँडिँरहेछन् मान्छेहरू आजसम्म
पुरोहितहरू
ईश्वरको अघिल्तिर सबै बराबर भन्छन्
तर,पैसावाल र पदवाललाई
बढी प्रसाद र पूजाको नाटक रच्छन्
नुमाफुँगको भट्टी त
पूँजीबादको महान मन्दिर हो
जहाँ दाम लिएर भित्रिनेहरू
काम सकेर फर्कने गर्छन्
साम्यबादको सुन्दर तीर्थस्थल हो
जहाँ इच्छ्या र औकात हुनेहरू
रोकटोक छैन कसैलाई पनि
महात्मा ,मूल्ला ,प्रभु र भन्ते भन्नेहरूका
देखाउँने र लुकाउँने दाँत
फरक फरक भएको भेटिरहेछन् मान्छेहरूले
चेला चेली लुट्नेहरू
अझै नाटकका सँबाद बोलिरहेछन् उच्च आसनबाट
जे गर्छिन् त्यही बोल्छिन् निमाफुँगले
जीवनको यथार्थ रँग बुझ्न खोज्नेहरूले
ढोंगी पूजारीले ढाकिरहेको मन्दिर धाउँनुभन्दा
शब्द र अर्थ एकै ओकल्ने
नुमाफुँगको दर्शन खोजिहिँडे हुन्छ
नुमाफुँगको तोँबा भट्टी जत्ति पनि
किन बन्न सकेन हँ देश ?

२०७५ माघ १७ बिहीबार

मेवाखोला रिसोर्ट,फुँगलिँग ,ताप्लेजुँग

Damodar Pudasainee – Limbu Gaun Ka Pahuna

दामोदर पुडासैनी किशोर – लिम्बु गाउँका पाहुना

पाहुनाहरू घरभेटी जस्ता
र , घरभेटीहरू पाहुना जस्ता
देखिन्छन्
लिम्बुहरूको गाउँमा

पारी डाँडातिरबाट
पाहुना झुल्केको थाहापाएपछि
पुरै गाउँले तयारी गर्नथाल्छ धान नाचको
अलैंचीका पातहरू फटफटाउँदै
खुशीले बुद्रुक बुद्रुक आँगन ,पिंढी र मझेरीतिर नाच्न थाल्छन्
कुखुरा ,सुँगुरका पाठा र बाघे कुकुरहरू

कि कुहिरो कि बादल नाच्न थाल्छ
गाउँको वल्लो कुना र पल्लो थुम्कोतिर

कयौं बर्षपछि छोराछोरी फर्कन लागेको थाहापाएर
नाकको बुलाकी हल्लाउँदै
लिम्बुनी दिदीले खुशीको आँसु झारेझैं
बिहान साँझ तप तप तप्किन थाल्छन्
छानाका नीला जस्ताहरू
पाहुना भेटेपछि पाहुनासँग मन साटासाट गर्दै
पाहुना र आफ्ना सबै आँधीबेहरीहरू बगाइदिन्छन्
तिनै शीतका थोपाहरूमा लिम्बु र लिम्बुनीहरू

लिम्बु गाउँमा पाहुना लाग्नेहरूले
अलिकति आगो ,अलिकति पानी र केही मीठो जवानी
साँचेर जानुपर्छ
फर्कंदा दोब्बर हुन्छन् ती सबै कुराहरू

डाँडापारीबाट पाहुना जानेको लागि
एउटै घर हो लिम्बु गाउँ
उत्तिसघारीको घरमा छिरेपनि हुन्छ
अलैंचीबारीको घरमा छिरेपनि हुन्छ

लिम्बु गाउँमा
खेतका सिँढीरूपे गराहरू पनि छन्
शिखर शैलीकै बारी र चौरहरू छन्
पाहुना जानेहरूले
तिनै खन्ने खोस्रने जाँगर लिएर गए हुन्छ
फर्कंदा मायाको कोशेली ल्याउँने ढाकर लिएर गएहुन्छ

तिमीहरू
वेसी र समावेशीका कुरा गर्छौ
जात र समाजका कुरा गर्छौ
लिम्बु गाउँमा
सबै जातले एउटै जात बनेर पाहुना सजाउँछन्
र ,सबै जातका पाहुनालाई
एउटै जात बनाएर बिदा गर्छन्

कठोर पहाडलाई काटदै ,ताछ्दै र रँगाउँदै
फूलका पत्रहरू भन्दा सुन्दर
इन्द्रधनुषी घरहरू बनाएका छन्
ईन्द्रेनी मनका लिम्बु लिम्बुनीहरूले
मनमा कुनै कसर छ भने
पाहुना लाग्न जानेहरूले
तल तल बगरतिरै जलाएर उक्लिनु पर्छ

आदाँबाकैलागि हो हाम्रो घरसम्म आउँने बाटो
तरेबानै हो नि हाम्रो ज्यूँदो ईश्वर
भन्दै च्याब्रुँ र नेग्राको तालमा
लिम्बु गाउँले हाक्पारे गाउँन थालेपछि
कुन तरेबाले सुख पाउँछ र
नाच्ने गाउँने आदत छैन भनेर
बरू उँधौली उँभौलीको पर्ममा
नबिर्सनु है कसैगरिपनि
भन्ने निवेदन गर्छ दुईहात जोडेर

आँखामा अलैँचीपाते हरियाली
र,मनमा लिम्बु मनको पबित्र रोशनी
थपिन्छ, पक्कै थपिन्छ
लिम्बु गाउँको पाहुना बनेर फर्केको बेला


२०७५ माघ १९ गते शनिबार
लुँगरूपा गाउँ ,फिदिम ,पाँचथर