Gopal Prasad Rimal – Aamako Bedana

रात अज्ञानझैँ अँध्यारो थियो;
स्वर्थजस्तै चिसो बतासको हुरी थियो;
अहङ्कारझैँ मेघ गर्जिरहेको थियो;
कुच्रिँदाकुच्रिँदै मेरो छातीमा
अकस्मात् बिजुलीझैँ झिलिक्क भो ।
एउटा आगो,
एउटा रश्मिपुञ्जको उदय भइदिए कस्तो हुन्थ्यो,
जसले यस तमलाई ज्योतिर्मय तुल्याइदेओस् !
कस्तो हुन्थ्यो !!

अनि एक झिसमिसे बिहान,
जब सूर्यले आप्mनो पहिलो सुनौलो तीर
अन्धकारतिर हानेका मात्र के थिए–
मलाई मीठो थाहा भयो ।
मभित्र एउटा आगो जन्मेको छ,
जो बिस्तारै रूप पाउन लागिरहेछ ।
यस ज्ञानले मेरो मस्तिष्कमा
सपनाको वसन्त ओइरिदियो,
आशाको साउने भेल पोखिदियो;
मेरो खुट्टा भुइँमा रहेन ।
साथसाथै त्यस आगाको आहारा भएर बेह्रिनुपरेकाले
म संसारको निम्ति
पलमा देखिने पलमा हराउँने
बिजुलीझैँ भएँ ।

त्यसले रूप पाउन थाल्यो;
घाम–जून, जल–थल, आकाश–समीर सबले
त्यसको स्याहारमा सगाइदिए ।
कैयौँचोटि थाहा पाएँ ।
मेरो मुटुको ढुकढुक
सिर्जनाको स्पन्दनसँग दयालु भएर चलिरहेछ ।

त्यो जन्म्यो ।
मैले थाहा पाएँ, संसारमा किन पूmल फुल्दछन् !
त्यसको निम्ति मेरो स्नेह दशधारा भएर बह्यो ।
ताराहरूले
रातमा सुतेकी वसुन्धरालाई जगाउँने
झोलुङ्गे गीत मलाई सिकाइदिए ।
त्यो हुक्र्यो ।

म आमाको आशिष्
आकाशजत्तिकै प्रशस्त छ–
उता जीवनको औँसीमा कल्पित त्यो आगाको झिल्को
मेरा मनका लहरहरूसित खेल्दै
शुक्लपक्षको
चन्दमाजस्तै भएर बढिरहेछ ।
यता त्यसलाई जन्माउँदा हुर्काउँदा भोगेको
सारा वेदना
छातीभित्र रहीरही चिच्याइरहेछ ।
के त्यो भनेजस्तो होला !!