अबिर खालिङ्ग – गजमेर बूढाको अनुहार
कुनै तरुणीको कम्मरमा
भरिएको गाग्रो भएर
बस्न सक्दैन गजमेर बूढाको अनुहार ।
कुनै नवयौवनाको निम्ति
रुखको हाँगोमा बसेको जोडी रूप्पी पनि
हुन सक्दैन गजमेर बूढाको अनुहार ।
टाडा कतै जाँदा
गजमेर बूढाको अनुहारले
लोधर लगाउँछ
शुभसाइतलाई उसको अनुहारले
अपसगुन जनाउँछ ।
खुकुरी जति चल्छ
त्यतिनै साँझ बिहानको चूल्हा जल्छ
बूढा गजमेरको छातीको समुद्रमा
मुटुको नाव चल्छ
परिवारका चार जोडी आँखामा पनि
सन्तोषको दीयो जल्छ ।
यो भाटी उसको फोक्सो हो
परिवार शरीरमा
श्वास वितरण गरिरहन्छ ।
अभावका रेखाहरुले
उसको जिन्दगीको चित्र
समय क्यानभासमा कोरिदियो
भाग्यको घामले
जिन्दगीको पाखा नछोई अस्ताइदियो ।
अब कहाँ पाइन्छ र खोजेर देश
गजमेर बूढाको अनुहारमा
देश विदेश गईसकेको छ
गजमेर बूढाको अनुहारबाट ।
अरनिकोको हातमा कतै
गजमेर बूढाको बाजेले बनाएको
छिनो र मार्तोल थियो कि?
बलभद्र र अमरसिंहका हातमा
उसकै बाबुले कमाएको खुकुरी पो थियो कि ?
अहिले गजमेर बूढालाई सबैले छि:छि गर्छन
अपसगुन सम्झेर सबैले दूर:दूर गर्छन ।
नियतिलाई मान्दैन ऊ
प्रारब्धसँग गुनासो गर्दैन ऊ ।
त्यसैले लिहिमा फलाम पि्टछ
मान्छेको ईश्वर फलाम /
फलामको ऊ
फलामलाई उसले आकृति दिन्छ
उसको कार्य कति प्रणम्य हुन्छ ।
(Sent to Sanjaal Corps Via Email)