Shrawan Mukarung – Mrityu

आलो मृत्यु
खास अनुभूति हो समयको
जो, गुज्रिरहन्छ एकतमास…
जसरी सगरका पहेँला आँखाहरूमा
हरेक साँझ–
क्षण लेख्छ– अर्को इतिहास राता–नीला रगतहरूले

म मान्दिनँ– आतङ्क
मानिसको मृत्यु हो
घर जल्नु
बम पड्कनु
पुल भत्किनु
अहँ
म मान्दिनँ– आतङ्क

समय हिँडेको बाटो छोडेर
त्यस्सै…
चुपचाप…
उङ्नु/झुल्नु/स्वाँ–फँवा निदाउनु
यस्तै केही हो आतङ्क
जो बिचारिरहन्छ बकुल्लाझैँ
पानीचरा, माछा, भ्यागुता र खेत ।
हजारौँ मानिसहरू मरिसके
हजारौँ मानिसहरू मरिरहेछन्
सम्भवतः
हजारौँ मानिसहरू मर्नेछन्

कहिले मर्यो विचार…?
कति मर्यो विचार…?
कहिले मर्दै छ विचार…?
अथवा
आतङ्क… ?