दियेश रत्न शाक्य – ढुङ्खर्कको सूर्योदयसित
ढुङ्खर्क
एउटा भू-स्वर्ग
यही उच्च धरातलबाट नजिकिँदै
सूर्योदय
म तिम्रो स्वागतमा उभिरहेछु
जसै रातो रंगमा तिमी उडायौ
मैले बुझें तिमी रक्त पुन्ज हौ
अध्याँरो रात बिरुद्ध
चारै प्रहर युद्धमा होमिंदै
बिजेता बनेको एउटा योद्धा
जो थकित वेगमा
मेरो भूगोलको सर्वोच्च सेताम्य चुचुरोमा
बिजय ध्वजा फहर्याउन
उक्लिरहेको छ
मैले हेर्दाहेर्दै
तिमीले रक्त इन्धन बाल्न
शुरु गरिसकेका छौ
एउटा न्यानो चुम्बन
एउटा न्यानो स्पर्श
मेरो भुगोलतर्फ फ्याँक्न
र साँझमा जब फेरि देखें
रातो रंगमै तिमीलाई
मैले बुझें
प्रतिस्थापनमा/परिवर्तनमा
नयाँ रक्तकणहरू तिमीमा उब्जिसकेछ
अब फेरि शुरु हुनेछ
अँध्यारो रातसंग युद्धको संखनाद
अब फेरि शुरु हुनेछ
नयाँ बिहानीको उद् घोष
(अक्षरमार्गमा प्रकाशित)