कबिन बस्नेत – तिमी र म
तिमीजस्तै
म पनि सन्तप्त छु
कैयन् कैयन् पीडाहरूको दवाग्नि
मभित्र पनि हुर्हुती बलिरहेछन्,
कति कति सपनाहरूको हत्या
मैले पनि तिमीले जस्तै
विवश मनले सहेको छु
फरक यत्ति हो-
तिमी सबैको अगाडि
आँसु रित्ताएर बग्न सक्छयौ
र, दु:खको वैतरणी पारी पुगेपछि
एकछिन फेरि फूल जस्तै फुल्न सक्छयौ,
म आँसुहरू सँगाल्दै जान्छु
घल्चा भरि टिलपिलाएर
जब पोखिन खोज्छन् तिनै आँसुहरू
बन्द कोठाको अन्कन्टार कुनामा पुग्छु
अनि सानो आवाजले रून्छु
तर, म तिमीले जस्तै
विगतका काँडेतार छिचोलेर
फेरि-फेरि त्यसैगरी
फूल बनेर हाँसिरहन सक्दिनँ ।