कबिन बस्नेत ‘सिउँडी’ – कालो गुलाब
मेरो कोठाभित्र
एउटा अँध्यारो कुनामा
जहाँ पुग्दैन घामको जीवनदायिनी किरण
हुर्किएको छ – एउटा कालो गुलाब ।
मध्यरातमा,
यस कालो गुलाबबाट
प्रवाहित हुन्छ – बारूदको गन्ध !
र, उत्निखेरै अपहरित भईसक्छ
मेरो मिठो निद्रा
र सपना पनि ।
यस कालो गुलाबको
काला पत्रदलभित्र
सलबलाइरहेछन् – युद्धका किराहरू,
निशाचरका भ्रुणहरु,
षड्यन्त्रका जालो बुन्दैछन् यसभित्र
अँध्यारो पिउँदै प्रत्येक रात,
ढाडिरहेछन् – मानवताका भ्याम्पायरहरू !
प्रत्येक बिहान
यस कालो गुलाबमाथि
जब शीत बनेर छचल्किएको देख्छु –
बलात्कृत किशोरीहरुको आशुँ
म तर्सिएर भाग्छु कोठाबाट
र, दिनभर
हराउँदै जान्छु फुटपाथमा
असङ्ख्य पैतालाहरूबीच ।
सोच्दै छु ,
यो कालो गुलाब कोसेली दिऊँ कि !
कुनै वेश्यालाई ,
जो आफैं यो कालो गुलाब जस्ती होस् ,
जो साँच्चिकै जन्मेकी होस् कालरात्रीको गर्तबाट,
जो प्रतीक होस्
जूनको कालो दागको
र, जसमा गाभिउन् मेरो अखण्डित प्रेम
अनि, स्खलित भईदेउन्
तृष्णाको कालो रूप
र जुगुप्साबोध !
यतिखेर ,
मेरो हात अग्रसर भइरहेछ ,
त्यो कालो गुलाब टिप्न
तर, डर लाग्छ –
कतै सङ्क्रमित नभइदेओस् मभित्र –
एउटा कालो अस्तित्व !