Diyesh Ratna Shakya – Hatkela Ma Maya Umarne Haru

दियेश रत्न शाक्य – हत्केलामा माया उमार्नेहरु

हत्केलाभरी माया जमाएर
उनी बैंककका सडकमा उभिन्छे
र बोलिरहन्छे
‘मसाज प्लिज’

हेर्दाहेर्दै बाँडिरहेकी हुन्छे
र खन्याइरहेकी हुन्छे
उनी यी सबै
आफ्ना क्रेता-पाहुनाहरूको
-पैतालाभरी
र दाग सोहोरेर लिन्छे
– पिँठ्यूभरी
र दुखाइ सोहोरेर लिन्छे
– जीउभरी
र मर्काइ सोहोरेर लिन्छे
एकचित्तले लागिरहेकी हुन्छे
जीवन- चङ्गाई बर्साउन
जहाँ मनका घाउहरू
आनन्द-उन्माद्ले पुरिरहन्छन्
मनका जलनहरू
शीतल सम्मोहनमा डुबिरहन्छन्

दिन ढलिरहेछ
साँझ छिप्पिरहेछ
उस्तै चलिरहेछ
उनका रुटिनभित्रका क्रम -उपक्रमहरू
कुनै सिम्फोनीबाट भर्खर सारेर ल्याएको जस्तो
सुरिलो आग्रह
एमराल्ड बुद्धको हरियो चम्किलो अनुहारबाट
उतारेर ल्याएको जस्तो
मन्द र शान्त मुस्कान
अनि आँखाभरी बैंश नचाएर
उनी बिज्ञापन पस्किराख्छे
सिलोम,सुखुम्भित र प्रटुनाम सडकहरू तताइराख्छे
र बजार जमाइराख्छे
जहाँ झुम्मिरहेका छन्
आकाश यात्राबाट/सीमाना यात्राबाट
थकित देखिएका यायावर पाहुनाहरू
ताजगी फर्काउने होडबाजीमा

म भन्न सक्दिन
यो उनको रहर हो या बाध्यता
बरु जरुर यति देख्न सक्छु
आफ्नो भागको टिप्ससंगै
आज पनि आफ्नो खुसीलाई बचाइराख्छे
जीवन प्रतिको मायालाई बचाइराख्छे
भोली बिहानसम्मको आराम छुट्टीमा
फेरी हत्केलाभरी
माया उमार्ने इच्छालाई जोगाइराख्छे
हो, टिप्ससंगै पोखिन्छन् उनको अनुहारभरी
खुशीका आँशुहरू
फेरी एकपटक यसले धुमिल सपनाहरू पुछ्छे
र सोचमग्न हुन्छे
कुन युगान्तरसम्ममा
उनका सपना पनि जीवन्त ब्युँझिन सक्छ?