Diyesh Ratna Shakya – Nakhane Manchhe

दियेश रत्न शाक्य – नखाने मान्छे

म भन्छु
यो दुनियाँमा मान्छेका
मात्र दुई जात छन्
खाने र नखाने
खाने याने भरपेट खाने
नखाने याने भरपेट नखाने

खानेहरू जब
यो जमिनले उमार्ने/नउमार्ने
सबैथोक पचाउन समर्थ हुन्छन्
तब सोच्ने गर्छन्
यो दुनियाँको भएभरको उर्जा
उनीहरूसंग छ
यसैले उनीहरू अधिपति हुन्
यो नयाँ समयको
जसको सापेक्षतामा
खान नसक्ने/भरपेट खान नसक्ने
अक्षमहरू
ताकतबिहिनहरू
पछाडि धकेलिनु
वा न्यायबिहिन हुनु कुनै अनौठो हुँदैन

म देख्दैछु
एउटा नखाने मान्छे
मेरो देशमा
धेरै अघिदेखि चलेको
यो प्रचलन विरुद्ध
उभिंदैछ
र धावा बोल्दैछ
कि नखाएर पनि
स्वार्थको/शक्तिको स्वनामधन्य सत्ता
हल्लाउने ताकत
उमार्न सकिन्छ
उफार्न सकिन्छ

म यो के अचम्म देख्दैछु
राष्ट्रिय सुबिधा भोगेर
हुनेखाने बनेका महानायकहरू
कस्तरी त्रसित बनेका छन्
कस्तरी कम्पित बनेका छन्
यो नखाने मान्छेको
‘मसिनु ‘ताकत अगाडि
‘मसिनु’साहस अगाडि
‘मसिनु’आवाज अगाडि
जस्तो कि उनीहरुले देखिरहेका छ्न्
एउटा निराहार
एउटा परिशुद्ध मनमा
धेरै सफा मनहरूबाट
हुलका हुल उर्जा
स्थानान्तरण भइरहेको छ
सन्चित भइरहेको छ

ओ! सामाजिक न्यायलाई
आफ्नो औंलामा नचाउनेहरू हो
सुन ,कान खोलेर सुन
अब तिम्रो
शक्तिको वजन
ऐयासीको आयतन
घटुवा हुने दिन आएको छ
तिमीले हुर्काएका बेथितिहरू
सर्लप्पै बढार्ने दिन आएको छ
त्यसको
अगुवाइकोलागि
अभियानकोलागि
आफ्नो जीवन धरापमा राखेर
अगाडी उभिएको छ
नखाने मान्छे
बिल्कुल केही नखाने मान्छे

बनेपा,
९८५११५३५३५
९८४००६१४१०,