ज्योति जङ्गल – नसम्झेको कहाँ छ र ?
देखेकी छौ के
नबगेको नदी ?
छामेकी छौ के
नउडेको बतास ?
पलपल नबिसाइकन
बोकीहिँड्छ मुटुले ढुकढुक
त्यसैसँग चल्दैछ जिन्दगीको पाइला
र तिम्रो सम्झना समानान्तर
मैले तिमीलाई नसम्झिरहेको कहाँ छ र ?
आवेगजसरी लिनुहुँदैन आगमनलाई
प्रत्यागमनले शुन्यता जन्माउँछ,
शान्त तपतप
पग्लिएर हिँउको सेतो
पवित्र पानीका थोपा जन्मेजसरी
मैले
प्रेमका प्रत्येक बूँदबूँदमा
हेरेको छु चञ्चल तिमीलाई
प्यास बोकेर
अञ्जुलीको पानीमा
बोकेको छु कञ्चन तिमीलाई ।
बुझेकी छौ के ?
पर्वतको धैर्य
हिडेकी छौ के
मरुभूमिमा टेकेर सौन्दर्य ?
अपरिभाषित हुन्छन्
अबोला चेतहरु हृदयमा
त्यहीँ छौँ
तिमी हामी र हाम्रा अनुरागी ऋतुहरु
बस्, फेरिँदा मौसम आत्तिइहाल्नु
हार्नु पनि हुन सक्छ,
छेलिदो सूर्य र अँध्यारो
भोली अनेक उज्यालोमा बद्लिन सक्छ
सजाऊ,
सुन्दरतम स्नेहका प्रियप्रिय बुकीहरु
त्यहाँ हरक्षण
एक गुलाफ थपिरहेको म हुनेछु
मैले तिमीलाई
नसम्झिरहेको कहाँ छु र ?