Bipin Singhal – Purano Yaad Haru

बिपिन सिंघल – पुरानो यादहरु

पुरानो यादहरु
साच्चै :मनमै विझदोरहेछ !
त्यो साथ ~अल्पवयस्क को
त्यो माया ~ विवादि जस्तो !

उनको मिठो बोली
मात्र होइन
शरीरमा वेष्टित
अलवान मा
उनी परि झै –
सृजना थिइ !

अझ याद छ –
उनको विक्षुब्ध पन
र विभीषक अनुहार
जुन म प्रती
अस्फुट थियो !

आज “मौन” छु ~
केवल उनको सम्झना र
अश्रुसिक्त आँखा मा !

पुरानो यादहरु
साच्चै :मनमै विझदोरहेछ !

Reshma Shrestha – Timi Bina Ko Dashak

रेश्मा श्रेष्ठ – तिमी विनाको दशक

संवत् २०६६ पछि आज फेरी तिमीलाई केही भन्न मन लाग्दैछ
लाचार र निर्जिव बन्दै गरेको तिमी अनि
मुढा झैं स्थिर बन्दै गरेको मेरो शरिर
चारैतिर सन्नाटाको अनुभव हुँदा
आफ्नै मुटुको वेग सँग आत्तिएको त्यो घडी
आज फेरी मानसपटलमा छर्लङ्ग हुँदैछ

अन्जान छु यो सन्देश तिमी सम्म पुग्छ कि पुुग्दैन
तर पनि आशा लाग्दैछ किन हो आज यो बिजुलीको तरङ्गको
कुनै पल तिम्रो छाँयामा नहुँदा
तिम्रो मनमा कोलाहल मच्चिन्थ्यो
तर दशकौ बिताएछौ नितान्तै एक्लो बनी
झसंग हुन्छु र यो डिब्बा हेर्छु
कतै झुक्किएर घण्टी बजाइ पो हाल्छौ कि भनी
आशै आशमा झपक्कै तन्द्रामा पुुग्छु म

देख्छु तिमीलाई थकित, अशक्त र चिन्तित
आभाष भयो कतै म पनि एक्लो देखेरै पो हौ कि
हुन नि चट्टै देखिनै पो छाड्यौ
मैले जीवनसाथीको साथ पाएपछि
सबैले भन्न थाले तिमी त ढुक्क भयौ रे
अनि लम्किसक्यौ रे आफ्नै गन्तव्य तिर

तिम्रा सम्झनामा कति आँशु झरे मेरा
सुखमा अनि दुखमा तिमीलाई नै खोजिरहे नयनहरु मेरा
मख्ख पर्दा रिसले उफ्रिदा तिमी तिर आउन खोज्दा
थप्प रोके मेरा पाइलाहरु…. किनकी
तिमी त लम्किसक्यौ रे आफ्नै गन्तव्य तिर

सूर्यको पहिलो किरणमा तिमीलाई नै खोज्छु
पूर्णिमाको रात नि तिमी आयौ कि भनी झ्याल उर्घाछु
लाखौं तारा बिच पो छौ कि भनी नियाल्छु
तर हैन
तिमी त लम्किसक्यौ रे आफ्नै गन्तव्य तिर

आत्तिन सिकायौ मात्तिन सिकायौ
तर संयम् हुन नि तिमीले नै सिकायौ
निडर हुन सिकायौ खरो हुन सिकायौ
तर कुटनितिक हुन नि तिमीले नै सिकायौ
धेरै कुरा अझै सिक्नु नै थियो
तर हैन तिमी त लम्किसक्यौ रे आफ्नै गन्तव्य तिर

यो जुनीको साथ त्यति नै पो थ्यो रैछ
अर्को जुनीमा फेरी साथ रहन पाऊँ
अपूर्ण वाचाहरु पूर्ण गर्न पाऊँ
तिम्रै छोरी भएर फेरी जन्मिन पाऊँ
अश्रु रहित हुन सकेन तिम्रा यादहरु
माफ गरिदेऊ कम्पित औंलाहरुले कोर्दैछु यो सन्देश
अर्पित गर्दछु मेरा सम्पूर्ण खुशी र सफलता
विनय गर्दछु
देखा पर न म निदाएको पलमै भए पनि
अनि
राख न तिम्रो हत्केला मेरो शिर माथि
तिम्रो हत्केला मेरो शिर माथि

हार्दिक नमन तथा श्रद्दाञ्जली ड्याडी

Shrawan Kumar Dhungana – Sabai Bhulechhu

श्रवणकुमार ढुंगाना – सबै भुलेछु

एक दशकपछि
डम्म हुस्सुले ढाकेको
विदाको दिन
शिशिरको विहान
आज
अहो, कहाँबाट फेरि
यहिंनेर
भेट हुन पुग्यो हाम्रो !

तिमी त मोटाएर
मेरा आँखामा नअटाउने भइछौ
एकछिन रोकिएर
टुक्रा, टुक्रामा हेरें तिमीलाई
तिमीले मलाई हेरे जस्तै ।
तिमी मुस्कुरायौ
छेवैको बगैंचामा पूmल मुस्कुराए जस्तै
( हो त साँच्ची तिम्रो मुस्कान त फुलको फक्राई जस्तै छ नि !) ।
एक दशक पछि
फेरि,
यहाँबाट फुलको बासना आयो
अहो, मैले त फुलको वासना पनि बिर्सेछु
हुस्सुले ढाकेको तराईको त्यो चिसो विहान
स्यू– स्यू, स्यू–स्यू…… काम्दै आइरहेकी तिमी…………
आज त तिमीलाई समाउने हातहरू पनि रहेछन्
आज त तिमीले समाउने हातहरू पनि रहेछन्
त्योे बेलाको तिम्रो तातो हातको याद र
कुहिरोको गन्ध आयो
अहो, मैले त तिमीले झैं कुहिराको गन्ध पनि बिर्सेछु

टाप लगाएर
घोंडाको चालमा
(यो बाटो
फलामको पाता भएको भए
उहिल्यै प्वाल परिसक्थ्यो !)
अफिस र घर
घर र अफिस गर्दै
हिसाब भुल्ने डरले
ग्राहकसँग हाँस्न पनि नभ्याएको
बनियाँ जस्तै !
स्कुलको फिस
डेराको भाडा
घडेरीको रिन
….. ……. …….
हँुदै
दरवारको रंग
गाडीको मोडल
श्रीमतिको गहना ………
फेर्दै,
दाईँमा नारिएको गोरुझैं
हिंड्दा हिंड्दै
अहो, मैले त तिमीले झैं विहानीको रंग पनि भुलेछु !
अधबैसे अनुभव र विदाको उमंग पनि भुलेछु !
भुलेछु — चिसो हावाको स्पर्श
माटोको गन्ध
प्रेमको सुवास
निश्चल मुस्कान
मायालु बोली
र खुसीको आँशु पनि !
भुलेछु — सबै सबै
पैसाले किन्न नसकिने
तिमीले जस्तै,
— सबै भुलेछु ।

Suren Upreti – Baba Ko Yaad Aaunchha

सुरेन उप्रेती – बाबाको याद आउँछ

एउटा सानो वालक जब बाका छातीमा
निर्धक्क भएर लपक्क टाँसिएर सुतेको देख्छु ।
कहिले काँधमाथि टाउको अड्याएर
मस्त सँग निधाएको देख्छु ।
त्यसवेला मलाई बाबाको याद आउँछ।

ससाना बच्चाहरुले बाका ढाडमाथि बसेर
त कहिले काँधमाथि चढेर
हट् हट र गिडियाक गिडियाक
भन्दै गर्दा ।
स्याँ स्याँ भएको
घोडाहुने मान्छेलाई देख्दा ।
त्यसवेला मलाई बाबाको याद आउँछ ।

बाबु आमा कारखाना भित्र गलैंचा बुन्दै गर्दा
धुलैधुलो भएर बाउलाले सिंगान पुच्दै
कारखाना बाहिर धुलो खेल्दै गरेका
स्कुल र पढाईबाट विमुख केटाकेटी
भेला गर्दै स्कुल खोल्न तम्सने मान्छे देख्दा
मलाई बाबाको याद आउँछ ।

कहिले
स्कुलबाट फर्किएका केटाकेटीकाहातमा
सिर्कनाका सूम्लाहरु र
घुँडामा निलडामहरु देख्दा
आक्रान्त भएको मानिसले
विधालयमा गएर
यातनाले पढ्न आउने भए
गोरुहरुले नै सब भन्दा धेरै पढेको हुने थिए
भन्दै अशिक्षकहरुलाई शिक्षा दिने मान्छे देख्दा
मलाई बाबाको औधिनै याद आउँछ ।

यस्तै साहित्यिक गोष्डीहरुमा
खेलकुदहरुमा अनि स्कुलहरुमा
आफ्ना छोराछोरीहरुले
प्रमाण पत्र र मेडल थाप्दै गर्दा
आँखा भरी आँशु बनाएर
तालिबजाउँदै उफ्रने मान्छे देख्दा ।
मलाई बाबाको याद आउँछ ।

कुनै गाउँमा पुग्दा
भोकलाग्यो भन्दै
साना बालबालिकाहरु
रुँदै गरेका हुन्छन् ।
परको ठाडो बाटो तिर देखाउँदै
बाबाले चामल लिएर आइ हाल्नु हुन्छनी
भन्दै आमा बच्चालाई फुल्याउँदै गर्दा
निधार भरी पशिना बनाएर
शाहुको गह्रुङ्गो भारी माथिबाट
सानो चामलको पोको निकाल्दै श्रीमतिलाई पोको
सुम्पने मान्छे देख्दा
मलाई साँच्चिकै बाबाको याद आउँछ ।

दिनभरी खेत जोतेर साँझमा
मुखिनीले खान दिएको एक टपरी भात
आधा खाएर
आधालाई अस्कोटको गोजीमा रहेको
प्लास्टिकको झोलामा
छोरा र छोरीकालागि भन्दै लैजाने
मान्छे देख्दा मलाई बाबाको याद आउँछ ।

कतै मिठो खानेकुरा देख्दा
छोराछोरीलाई सँम्झँदै आफु नखाएरै भए पनि
आफ्ना नानीहरुलाई ल्याई दिने
मानिसहरुलाई देख्दा
मलाई बाबाको याद आउँछ ।

कोही मान्छेले
आफ्ना छोरालाई
बाबु खाइस्योन भन्दै फकाउँदै गर्दा
छोरो घुर्कीलगाउँदै खाना नखाइ हिंड्छ ।
बाबुले कर गर्दै अलिकति त खाइस्यो
भन्दै अनुनयको भाकामा
माया बिसाउँदै गरेको देख्दा
मलाई बाबाको याद आउँछ ।

जग्गा नामसारी गर्ने सिफारिस माग्न
गाविसमा गएको बेला
फोनमा फेसबुक हेर्दै अलि पछी आउनु
भन्ने पब्लिक सर्भेण्टहरुले
पब्लिक बस हुँ भन्ठानेका बेला
थाहा छ । हामीले तिरेको करले तिमी तलब खाँदै छौ
भन्दै आगो हुने मान्छे देख्दा
मलाई बाबाको याद आउँछ ।

हाँडीमा भुटिंदै गरेको मकै झै भएर
खाडीको तातो बालुवामा भुटींएर
मर्दै र बौरंदैको अवस्थामा पनि
छोरा र छोरीहरु स्कूल गए सानी
स्कूलको फिस तिरेको छ भन्दै
चिन्ता व्यक्त गर्ने मान्छे देख्दा
बाबाको औधी याद आउँछ ।

कतै बलियाले निर्धालाई सताउँदा
ठूलाजात र साना जातको भेद चर्किंदा
कमशल सामान दिएर बढी पैसा अशुल्दा
बिरोधमा आवाज उठाउँने शाहसी मान्छे देख्दा
मलाई बाबाको याद आउँछ ।

सन्तानको खुशि र सुरक्षित भविश्यका लागि
आफ्नो जीवनको सिङ्गो इतिहाँस
पद प्रतिष्ठा र जन्म मूमिनै छोडेर
जीवनको उत्तरार्ईमा प्रवासिन सक्ने
शाहशीमान्छेहरु देख्दा
मलाई बाबाको याद आउँछ ।

 

गोकर्ण औशी २०७५

अस्तु

Basanta Mohan Adhikari – Kapilvastu Yad Ayo (Nepali Gajal)

बसन्त मोहन अधिकारी – कपिलवस्तु याद आयो

खबर पढे आँशुसंगै कपिलवस्तु याद आयो
खारा बारा त्यै घटना आज राजपुरमा छायो

बैनी रुन्छिन् मझेरीमा भाउजू चौकीभित्र
यस्ता पापी शत्रुसंग कसले मित लायो ?

छातीभित्र मुटु भए थोरै कतै सोचिदेउ न
वीर नेपाली तिमीलाई आज कसले दायो ?

कुर्ची प्यारो रैछ तिम्लाई मर्दा पनि साथ लग्नू
यो आमाको देह लुट्न पापी राक्षस धायो ।

भोका रैछन् दाजुहरु खाना खान लडिराछन्
नामर्द यी छोरा हुँदा हेर देह लुट्न पायो

Jyoti Jungle – Nasamjheko Kahan Chha Ra

ज्योति जङ्गल – नसम्झेको कहाँ छ र ?

देखेकी छौ के
नबगेको नदी ?
छामेकी छौ के
नउडेको बतास ?
पलपल नबिसाइकन
बोकीहिँड्छ मुटुले ढुकढुक
त्यसैसँग चल्दैछ जिन्दगीको पाइला
र तिम्रो सम्झना समानान्तर
मैले Continue reading “Jyoti Jungle – Nasamjheko Kahan Chha Ra”

Krishna Kattel – Antim Samjhana

कृष्ण कट्टेल – अन्तिम सम्झना

तिमीले अन्तिम पटक
फोनमा भनेको याद छ
ल राम्रोसँग बस्नुहोला
ठूलो मान्छे बन्नुहोला ।

त्यो अन्तिम फोनभन्दा
चार दिन अगाडीको अन्तिम भेटमा
मैले तिम्रो चिउडो समाएर भनेथेँ
मलाइ कहिल्यै नछोड है ।

त्यसबेला बगेको तिम्रो आँशु
मलाइ के थाहा
मेरोसामु बगेको तिम्रो
अन्तिम आँशु थियो भनेर ।

थाहा छ मलाइ
तिमीले छोड्न चाहिनौ
मैले छोड्न चाहिँन
तर छुट्नैपर्ने थियो तिमी म बाट
म तिमीबाट ।
मैले चाहिँन
तर तिमीले चाह्यौ ।

यसरी हो हाम्रो सम्बन्धमा
पूर्णविराम लागेको ।
आज तिमीले छोडेर गएको एउटा तस्विर बाहेक
केहि छैन मसँग ।

छनत छ
तिम्रै यादमा बगेर रित्तिएका
आँशु बिनाको आँखा
तिम्रै सम्झनाले एकोहोरिएको
चेत बिनाको मन्
अनि तिम्रै अभावले बाँझो बसेको
मेरो हृदयको फूलबारी ।

भन्न त भन्थेँ म
तिमी बिना बाँच्न सक्दिन भनेर
तर मलाइ माफ गर प्रीया
तिम्रो अभावमा मर्न नसकेर म
कवि बनेको छु ।

तिम्रै यादमा लेखिएको कविताले
मलाइ बाँच्न सिकाएको छ
मेरो भोलि देखाइदिएको छ
त्यसैले धन्य तिमीलाइ
जसले पागलप्रेमीबाट मलाइ
कवि बनाइदियौ ।।

ओखलढुंगा,कटुञ्जे

– शुक्रबार, 5 मङ्गसीर, 2071