बैद्यनाथ उपाध्याय – बाटो
मेरो घरको अघाडि एउटा बाटो छ
सँधै आउने-जाने हजारौं मान्छेहरु
कहाँ देखि कहाँ पुगे
एक दिन यही बाटोबाट आएकाहरु
जीवनको लम्बाई समेटेर
आफ्नो पोका-पत्यौरा बोकेर
निक्लिए अन्तिम यात्रामा…
बाटाको छेउमा उभिएको बटबृक्ष काँप्दछ
पथिकहरुको दुख-गाथाहरुमा।
हावा दौडन्छ स्वाँ स्वाँ
पल पल यता उता
जीवनको त्रासदीबाट त्रस्त
पथिकहरुको गाथा पल्टाइ पल्टाइ
लपेटिन्छ बाटो हिंडनेहरुसँग
धूलो पनि।
देखिंदैनन अब बाटाहरुमा
आउँदै जाँदै यही बाटोबाट
खतम भए धेरै मान्छेहरु
टाढासम्म फिंजिएको
पार गर्दै अनेक मोड
जीवनको एक छेउ बाट अर्को
छेउ सम्म-
र त्यो भन्दा पनि अघाडि
निक्लन्छ यो बाटो।
(Sent to Sanjaal Corps via Email)