Dhanraj Giri – Banna Pugyo Madhuparka Mita Sahitya Ko (Nepali Gajal)

धनराज गिरी – बन्न पुग्यो ‘मधुपर्क’ मित साहित्यको (गजल)
(मधुपर्क माघ, २०६७)

बन्न पुग्यो ‘मधुपर्क’ मित साहित्यको
जानेको छ गर्न यसले हित साहित्यको ।

सिपालु छ पैँचो लिन कण्ठ कोइलीको
हाली भाका गाउने गर्छ गीत साहित्यको ।

थियो कुरुक्षेत्रमय यसको जिन्दगानी
लड्यो धर्मयुद्ध भयो जीत साहित्यको ।

मानवता, राष्ट्रियता बन्यो मूलमन्त्र
सिकाउँछ सारालाई प्रीत साहित्यको ।

गर्छ शोध वाङ्मयको बनी यायावर
हिँड्छ खोजी नयाँनयाँ रीत साहित्यको ।

उज्यालो नै उज्यालोको हुन्छ खेती यहाँ
माग्छ किरण प्रभाकरसित साहित्यको ।

सारा जगत् आफन्त हुन् अक्षरका लागि
हो यो साथी मानिसको कि त साहित्यको ।

सबै रङ अटाउने हाम्रो साझा घर
होइन यो निकेतन पीत साहित्यको ।

चाख्छन् जब भावकले यसको नवै रस
मर्छ, मर्छ, पक्कै मर्छ धीत साहित्यको ।