भोजराज न्यौपाने – कमलरीको माघी
साला, यही मालिक हो
जसले पहिलो पटक
मलाई माघीमा किनेको थियो ।
पैसा हुनेहरु
सुख किन्छन् — खुसी किन्छन्
ऐस आराम
र, सवै सबै उपभोग्य वस्तुहरु किन्छन्
तर किन मानवीय मन किन्न सक्दैनन्
किन मान्छेलाई मान्छे भएर बाँच्न दिन सक्दैनन् ?
ज्यानमारा बेइमान ,
आफूजस्तै मान्छेलाई पनि कमलरी राख्नु ?
पैसाको आडमा
मान्छेको मोल तोक्नु ?
के देख्यौ तिमीले म माथि ?
रुप, यौवन र यौन ?
तिमी आफ्नै छोरी बेच्न सक्छौ ?
तिमी आफनै छोरीको मोल तोक्न सक्छौ ?
तिमी जमिन्दार
त्यसैले तिम्रो हैकम थियो
र, थियो तिम्रो गुण्डागर्दीै
तिम्रो ज्यादती ।
म त्यही तिम्रो घरकी कमलरी
चिन्यौ मलाई ?
तिमी नै हौ मलाई लुटने बाबुसाहेब
मेरो छोराको बाबु
कसरी मिल्न सक्छु
पैसाको बिटो समाएर
गाउ छाडेर अन्तै जान ?
कसरी अर्कैसंग विहे गरेर
तिम्रोे बच्चा पाइदिन सक्छु म
तिम्रा अनन्त अपराधमा
टुलुटुलु हेर्दै साँक्षी बसेका
मेरा आमा बाबुले बेचे मलाई तिम्रो इच्छामा
सित्तैंमा बेचे मलाई
अब मलाई बेचिनु छैन बाबुसाहेब
तिमी र तिमीजस्तैका
काला कर्तुतहरु
ेसडकभरि छताछुल्ल पार्दैछु म
तिम्रा अनगिन्ती अपराधको
निर्लज्ज साँक्षी बस्न वाध्य कोही हुने छैन अब
किनभने कमलरीहरु
कोहीपनि दासत्व स्वीकार्न सक्दैनन
तिम्रो इच्छामा
आफनो स्वाभिमान बेच्न सक्दैनन्…….।
दोलखा, हाल: काठमाण्डौं