भोजराज न्यौपाने – देशको नक्सा
भन्नुस त महोदय
मेरो देश कस्तो हुन्छ ?
मेचीदेखि महाकाली सम्मका
जंगे पिलरहरु
युद्धले थकित सिपाहीजस्तै
घिस्रिंदै घिस्रिंदै नेपाल पसिरहेका बेला
महोदय, तपाईं राजधानीमा
देशको नयाँ नक्सा कोर्दै हुनुहुन्छ
देशको भागवण्डा गर्दै हुनुहुन्छ ।
अलिकति शेर्पा
अलिकति तामाङ
नेवार, मधेसी, थारु
राई, लिम्बु, गुरुङ
मगर, चेपाङ, थकाली
र, क्षेत्री–बाहुन सबैलाई भाग लगाउँदै
कति बचाउनु हुन्छ महोदय मेरो देश ?
संस्कृतिका विशाल आयामहरु
सभ्यतासंगै सौम्य बन्दै गएका बेला
कसले सल्कायो आगो यो देशमा ?
कसले खन्यो जातियताको खाडल ?
कसले रच्यो धर्मको नाम ?
तराईमा कौरा नाच्दा होस्
वा पहाडमा भोजपुरी नाच्दा
किन कोही अत्तालियो ?
राजधानीले छठ पर्व भित्र्याउँदा
कसलाई घाटा, कसलाई नाफा भयो ?
क्रिसमस होस् या इद
दशैं होस् वा तोरन्ल
लोछार होस् वा होली
संस्कृतिका भव्य संरचनाहरु
मजबुत बनीरहेका बेला
कसले बनायो आदिबासी र जनजातिको
मन दुख्ने कथा ?
सुन्दर देशको
खराब चित्र बनाउने को छ महोदय पर्दाभित्र ?
आफ्नै स्वार्थको तूफान बनेर
आफ्नै वस्ती खरानी बनाउने सपना नदेख्नु महोदय
बाईसे–चौबीसे राज्यजस्तै
टुक्रा टुक्रामा विभाजित हुने
मेरो देशको नक्सा कसरी हेर्न सक्छु म ?
कल्पना गर्छु
मेरो देशको नक्सा
राई– लिम्बुले खोजेजस्तो
मधेसी–थारुले रोजेजस्तो
तामाङ–शेर्पाले मागेजस्तो
सबै जातिले चाहेजस्तै
अलिकति टुक्रयाउँदै भाग लगाउँदै गरेको
कतै चुच्चो जस्तो — कतै बुच्चो जस्तो
कतै नेप्टो जस्तो — कतै थेप्चो जस्तो
साँच्चै भन्नुस त महोदय
मेरो देश कस्तो हुन्छ ?
मेरो देश कत्रो हुन्छ ?
साँच्चै मेरो देश
‘देश’ जस्तो त बन्छ ?