Bhoj Raj Neupane – Naya Gas Chamber

भोजराज न्यौपाने – नयाँ ग्याँस च्याम्वर

किन दोहोरिन्छन्
‘ग्याँस च्याम्वर’ सम्झाउने आतंकहरु ?

मानव सभ्यतामा कुनै दिन
कालो इतिहास बनेको थियो
र,लेखिएको थियो
मानव दहनको कुरुप अक्षर
हिटलरको ग्याँस च्याम्वरभित्र ।

सुनेको छु
कम्वोडियामा खमेरुजको
अत्याचार
र,अवोध शिशुहरुको
पाठशालामै गरिएको संहार ।

कसले विर्सन सक्छ ?
नोमपेनको तुओल स्लेङ जेल
र,जेनोसाइड म्युजियम ।
कसले कल्पना गर्न सक्छ
विद्यालयको कक्षा कोठा
कुनै दिन मानव खप्परको पहाड
बन्न सक्छ ?
अहँ म पनि वावु हुँ कसैको
तर म कल्पना गर्न सक्दिन ।

ठाउँ फरक भएपनि
मेरो आँखै अगाडि
दोहोरिरहन्छन्
ग्याँस च्याम्वर सम्झाउने आतंकहरु ।
वसभित्रै खरानी बनाइए
काजोल खातुनहरु
वस्तीभरि वारुदको डढेलोमा
डढाइए कर्णधारहरु ।

ट्रकमा लादिएका राँगा भैंसी
निशाना बने
र,जलाइए
जिउँदै जलाइए राजमार्गमै ।
यो कु्ररता हेर्दा , लाग्छ
मेरो देश ‘ग्याँस च्याम्वर’ को
धङ्धङीबाट मुक्त छैन ।
र,हामी त्यही नयाँ ग्याँस च्याम्वरका
अभागी पात्र बनी रहेका छौं ।