Yuddha Prasad Mishra – Badhdai Jao Badhdai Jao

युद्धप्रसाद मिश्र – बढ्दै जाओ बढ्दै जाओ

नयाँ निसाना, नवजागृति, नवचेतनाका साझा हो
हलो, कोदालो, खुकुरी, हँसिया, खुर्पि खुँडाका ताजा हो
पीडित जनले नगरी नहुने घोर क्रान्तिका बाजा हो
दलित गलित हुन बाध्य भएका जनमानसका राजा हो

तिम्रा जयकार विक्रमतामा देशवासीका लोलुप आँखा
हाम्रा झुपडी झुपडीका तिमी युवक विश्व लडाका
मानवताको श्री लुटिएका जाग्रत जनका प्यारा हो
झलमल दुनियाँ उदित-विदित युग जन्मभूमिका तारा हो

व्योम थर्किने धर्ति चम्किने तीब्र गतिका नारा हो
सडेगलेको शासन तोड्ने बहुमतका अभिभारा हो
मानवताका मञ्जिलतिरका जनसमूहका धारा हो
बढ्दै जाओ बढ्दै जाओ भोका नांगा सारा हो
२०४०

(रातो युगधारा-३७)