Sarubhakta – Pizza

शव्दसमाधिः समाधिस्थ मनका टाइकुनहरु
अक्षरहरुका कोर्रालाएर
अजन्मा डाइनासोरसहरुको गीत गाउँछन्
घोष्ट डिटेक्टरः उपद्रयाहा जीनहरु
के रोहवरमा दीपेन्द्र सिन्ड्रोमहरु जन्माउँछन् ?
राक्षसी क्लोनका नेताहरु
छाडा देवताका विरासत धान्दैछन्
पाइथागोरसहरु ‘म्युजिक अफ द स्पेर’ मा मदमस्त छन्
उदाङ्गो छातीः लोपेजमुद्राहरु
कुन अस्पतालको टेविलमा चलिरहेछ
हेलिवन अप्रेसनहरु ?
पाइलापाइलाका गोमनहरु
नीलकाँडाका प्रेमहरुमा मस्त छन्
भयानक सौर्य विस्फोटन ?
आउ, उल्काहरुको भोगटे टिपौं
उ ! खलास परेको सम्वेदनशीलतामा
मन्त्रीहरु जनताहरुका मित्र्याँस फ्राई गरिखाँदैछन्
गीता हराएको जिन्दगीः बेचिएका चेलीहरुको राष्ट्रविद्रोह
भड्किएको छ
मुक्तकमैयाका राष्ट्रियताहरु जिन्दगीको शीतलहरमा
कठयाङ्ग्रिएको छ
देश मृत्युशैयामा छ सरकारहरु हनिमुनमा ब्यस्त छन्
आह ! ऐतिहासिक गोरुहरुले देशलाई पिज्जा खाए
पहाड जलेको छ, उपत्यका जलेको छ, तराई जलेको छ
अद्यापि कविहरु हिमालका गीत गाइरहेछन्
भ्रष्टाचार गर अनि अख्तियारको हाकिम वन
कुरै खत्तम
रोष्टपरेको जिन्दगीः हामी आपूmलाई खानेहरुको
छनौट गर्न कति स्वतन्त्र छौं ?
च्याङ्ग्रा महोत्सव भेंडाहरुको तजविजमा
लौ लुगाफुकालौं को बढी प्रजातान्त्रिक हुन सक्ने
कन्नैसित् !