Bidhya Sapkota – Khabardar ! Kalam Bhanchne Dussahas Nagara

कलम निरन्तर चलिरहन्छ
कलमको यात्रा सगरको उचाइ केन्द्रित हुन्छ
कलम स्वतन्त्रता मन पराउछ
कलम निरपक्षेता चाहन्छ
कलमले लगाम पटक्कै मन पराउदैन
यसले त जे देख्छ त्यही नै लेख्छ ॥

कलम सडकजस्तो निरिह हुन्न
तिमीहरुले फोहरको बार लगादिदैमा छेकिने
कलम भत्ता र भ्रमणमा विश्वास गर्दैन
यसोउसो देशको ढुकुटी रित्याउनै पर्ने
कलम तिमीहरु जत्ति अन्धविश्वासी छैन
कालो विरालाले बाटो काट्दैमा बाटै फेरीदिने ॥

त्यसैले त्यसैले
ए कलम विरोधीहरु हो !
यसको बाटोमा डढेलो लाउने आँट नगर
एँजेरु मासिनेछ मुनाहरु झनझन सप्रनेछन् ।
एउटा मात्र पनि कलम भाँच्ने दुस्साहस नगर
हजारौ कलम एकसाथ जुर्मराउनेछन् ॥

ए कलम किन्न खोज्नेहरु हो !
कलमलाइ बन्दि बनाउने मुर्ख्याई नगर
भ्रष्ट नेताको बोलि हैन कलम
यो त बालक झै निश्छल हुन्छ
कलम त्यती कमजोर हुन्न
यसले त युग मर्काउन सक्छ
साँच्चैको कलमले सत्य मात्र सत्य ओकल्छ ॥

कलम हतियारदेखी पटक्कै डराउदैन
कलम त निसहायको साहारा पो हो
कलम सत्यताको आधार पो हो
कलम आवाज विहिनहरुको आवाज हो ॥

सत्य यो हो की
कलमको लोडसेडिङ्ग तिमी गर्नै सक्दैनौं
कलममा बर्डफ्ल्यु तिमी घोल्नै सक्दैनौ

त्यसैले खबरदार !
भुलेर पनि कलम भाच्ने दुस्साहस नगर
बिर्सेर पनि विष घोल्ने प्रयत्न नगर
कलम स्यालको सिङ्ग पर्खेर बस्दैन
यसले त जे देख्छ त्यही नै त लेख्छ
त्यसैले फेरी भन्छू
भुलेर पनि कलम भाँच्ने दुस्साहस नगर ॥
भुलेर पनि कलम भाँच्ने दुस्साहस नगर ॥

(स्व. पत्रकार उमा सिंहमा समर्पित)