Bidhya Sapkota – Swaghoshit Lachar Murti … Yuwa

कति शुन्य हुदैछ यो भुगोल
रुमल्लिदैछु एकान्तमा
पुरा खाली…खाली छ मन ॥

देख्दैछु अवशेषका रुपमा
केही चुरोटका ठुटाहरु
कंकिटका तिखा टुक्राहरु
भाँचिएका सानाठूला सिन्काहरु
फ्याकिएका कुल्चिएका धुलाका कणहरु
सदियौदेखी घोषित निर्जिव ॥

अँ केही पर अस्तित्वको लडाइमा
संघर्षरत केही जिवांशहरु
घिसारिइरहेको एउटा गड्यौला
एकहुल कमिलाका ताँतिहरु
मस्त निद्रामा अलमस्त
झुसिलकिराका छायाहरु ॥

फेरी
नजिकै नियाले आफैभित्र
बढ्दै गएको चकमन्नता
छोप्दै गइरहेको अँध्यारोपना
रित्तिदै गइरहेका आशाहरु
अनी सल्किदै गएका खिन्न मनहरु ॥

अचम्म !
स्पष्टित हुदैछ एकहुल आकृती
पुर्ण भएर पनि अपुर्ण
शक्ति छ साधन छैन
आशा छ सपना छैन
प्राण छ अस्तित्व छैन
शब्दहरु छन् सम्मान छैन
मजबुत काँध छन् आधार छैन
आशाविहिन एक जमात ॥

कमिलाको एकता
झुसिल्कराको पुतली रुपान्तरण
आशाका धुमिल बिम्बहरु
तर कहाँ छ हामीमा त्यतीपनी

कती निरिह बन्दैछौ/ बनाइदैछौ हामी युवा
भविष्य निर्माणका महान शिल्पकार
पालिरहेका छौ शक्तिसम्पन्न कायरता
सधै सघर्षरत छौ निश्वास कै लागि
खै त अरु आशा सपना र उदेश्य
मैलै एकान्तमै भोगे अघोषित पराजयता
हामी सवका सब अघोषित निर्जिव तनहरु
ति कंकिट, सिन्का र धुलोभन्दा फरक
स्वघोषित लाचार मुर्तिहरु ॥

Bidhya Sapkota – Pahad Ra Manchhe

जव म एक्लै हुन्छु
कल्पना र यथार्थको धरातल नाप्न मन लाग्छ
कति मनोरम छ संसार ॥

देख्छु हेर्दाहेर्दै ठडिएको सुन्दर हिमाल
म त्यसलाइ नदेखेरै/नछोएरै राम्रो मान्छु
घामको पहिलो प्रहार उसैमाथी पोखिन्छ
बादलुका घुम्टाहरु उसैमाथी ढाकिन्छन्
पवनका झोक्काहरु उसैसँग ठोकिन्छन्
आगोका लप्काहरु उसैमाथी सल्कन्छन्
जीव जन्तुका कोलाहल त्यही मच्चिन्छन्
र अन्त्यमा
झिनो मुसो पहलमान बनेर उसैमाथी खनिन्छ
र पनी कति सहनशिल छ पहाड ॥

म त्यतिकै सोच्छु
सायद आशावादी छ त्यो पहाड
मननयोग्य छ त्यसको उर्वरता
आफुमाथी पोखिने घामको प्रहरमा ऊ सेकिन सक्छ
बादलुको झोक्काले उसलाइ सिच्न सक्छ
पशुपक्षींको लापरबाहीमा ऊ संगित सुन्न सक्छ
आगोको लप्का र पवनका झोक्काले
उसको रचना गर्भमा नया भ्रुण रोप्न सक्छ
सेता हिउहरुले उसलाइ हँसाउन सक्छ
त्यो नादान मुसाको सामिप्यताले
उसलाइ कुत्कुत्याउन सक्छ
हामी मान्छे त्यति आशावादी बन्न किन सक्दैनौं

हो हामी दुखी छौं
हाम्रा सडकहरु जलिरहेका छन्
घरमा गृहयुद्ध चलिरहेको छ
परिवार विदेशिएका छन्
हामी माथि अपमान र घृणाका भारहरु थचारिदैछ
यसैले हामी हरपल आत्तिरहेको हुन्छौं/भुट्भुटिइ रहेका हुन्छौं ॥

तर हामी किन सोच्न सक्दैनौ कि
हाम्रा घर र सडकले रुपान्तरण खोजिरहेको पनि हुनसक्छ
यसैबाट विचारका अंकुरहरु पलाउन सक्छन्
यहाँ स्वतन्त्रताका पखेटाहरु फटफटिन सक्छ
सदियौं देखिको भार पन्छिन सक्छ
कलमहरु जुर्मुराउन सक्छन्
आवाजहरु बुलन्द हुन सक्छन्
हातेमालोका स्वरहरु गुन्जन हुन सक्छन्

साच्चैं मान्छे त्यति आशावादी बन्न किन सक्दैन ?
हामी वुद्धिमान मानिने मान्छे
त्यति सहनशिल हुन किन सक्दैनौ ?
अलिकती स्वभिमानी बन्न किन चाहन्नौ ?

Bidhya Sapkota – Khabardar ! Kalam Bhanchne Dussahas Nagara

कलम निरन्तर चलिरहन्छ
कलमको यात्रा सगरको उचाइ केन्द्रित हुन्छ
कलम स्वतन्त्रता मन पराउछ
कलम निरपक्षेता चाहन्छ
कलमले लगाम पटक्कै मन पराउदैन
यसले त जे देख्छ त्यही नै लेख्छ ॥

कलम सडकजस्तो निरिह हुन्न
तिमीहरुले फोहरको बार लगादिदैमा छेकिने
कलम भत्ता र भ्रमणमा विश्वास गर्दैन
यसोउसो देशको ढुकुटी रित्याउनै पर्ने
कलम तिमीहरु जत्ति अन्धविश्वासी छैन
कालो विरालाले बाटो काट्दैमा बाटै फेरीदिने ॥

त्यसैले त्यसैले
ए कलम विरोधीहरु हो !
यसको बाटोमा डढेलो लाउने आँट नगर
एँजेरु मासिनेछ मुनाहरु झनझन सप्रनेछन् ।
एउटा मात्र पनि कलम भाँच्ने दुस्साहस नगर
हजारौ कलम एकसाथ जुर्मराउनेछन् ॥

ए कलम किन्न खोज्नेहरु हो !
कलमलाइ बन्दि बनाउने मुर्ख्याई नगर
भ्रष्ट नेताको बोलि हैन कलम
यो त बालक झै निश्छल हुन्छ
कलम त्यती कमजोर हुन्न
यसले त युग मर्काउन सक्छ
साँच्चैको कलमले सत्य मात्र सत्य ओकल्छ ॥

कलम हतियारदेखी पटक्कै डराउदैन
कलम त निसहायको साहारा पो हो
कलम सत्यताको आधार पो हो
कलम आवाज विहिनहरुको आवाज हो ॥

सत्य यो हो की
कलमको लोडसेडिङ्ग तिमी गर्नै सक्दैनौं
कलममा बर्डफ्ल्यु तिमी घोल्नै सक्दैनौ

त्यसैले खबरदार !
भुलेर पनि कलम भाच्ने दुस्साहस नगर
बिर्सेर पनि विष घोल्ने प्रयत्न नगर
कलम स्यालको सिङ्ग पर्खेर बस्दैन
यसले त जे देख्छ त्यही नै त लेख्छ
त्यसैले फेरी भन्छू
भुलेर पनि कलम भाँच्ने दुस्साहस नगर ॥
भुलेर पनि कलम भाँच्ने दुस्साहस नगर ॥

(स्व. पत्रकार उमा सिंहमा समर्पित)

Bidhya Sapkota – Maunata Mai

म कल्पनामा उडिरहेको थिएँ
मसँग चाहनाका उन्माद थिए
सपना र चंचलताका बहाब थिए
एक्कासी कतैबाट
ऊ मृदु-मुस्कान लिएर आयो
आँखा जुधाएर गयो
मूक बनाएर गयो
आकाक्षांमा रुझाएर गयो ॥

अनाहकमै प्रतिक्षाले डेरा जमायो
मसँग छुट्टिदाको पिडा थिए
आँखामा रुझाइको तिक्तता थिए
र पनि विश्वासको ढुकढुकी थियो ॥

ऊ फेरी तृष्णा बोकेर आयो
उसका सजल नेत्रले प्रश्न गरे
मैले केहि सुनाउनै सकिन
ऊ चाहनाको प्याला पिलाएर गयो
प्रतिक्षाको ढुकढुकी अझ बढाएर गयो ॥

रोकिएन प्रतिक्षा
ऊ पटक-पटक आईरह्यो र गइरह्यो पनि
मभित्र प्रश्नका चाङ्ग चुलिँदै थिए
समाजका औंला ठडिदैं थिए
प्राप्तिको व्यग्रतामा म जल्दै थिएँ
तर मदहोशीले बोल्नै सकिन ॥

मेरो प्रार्थना टुटेन
म व्यग्र प्रतिक्षामा थिएँ
यसपटक मसँग आँट थियो
समाजसँग लड्ने शक्ति थियो
उसलाइ सुनाउने हजार कुरा थिए
म प्राप्तिको कल्पनामा पुलकित थिएँ ॥

मेरो मृगतृष्णा ऊ
आयो साँच्चै आयो
म बोल्नै आँटेको थिएँ
ढुकढुकि सुनाउनै लागेको थिएँ
तर……तर यसपटक ऊ
आँधि बोकेर आयो
तुफान बनेर आयो
पराइ अंगालोमा कसिएर पो आयो
मसँग केहि बाँकि रहेन
मलाइ उठ्नै नसक्ने गरी चिप्ल्याएर गयो
म हेरेको हे-यै भएँ ॥

Bidhya Sapkota – Yatra

एउटै गोरेटोका दुइ यात्री हामी
पाइला बढ्दैछ चुपचाप-चुपचाप ….

उ मलाइ बोलाउन खोज्छ म बोल्न सक्दिन
जव म बोल्न खोज्छु ऊ…………………
हामी आ-आफ्नै रफ्तारमा ….

अन्जान थिएनौ हामी चिनेका नै कसरी भन्नु ?
तर सँगै जलिरहेका भित्र भित्रै
आ-आफ्नै विगतमा ॥

कुनै समय यस्ता थिए
हाम्रा प्रत्येक ढुकढुकी एकै पटक चल्थे
प्रत्येक पल एक अर्काको लागि बन्थे
अहिले
सँगै छौं बाटो एउटै

तर उ कहाँ…………म कहाँ
फगत एउटा अन्जान यात्री ॥
उता ति सजल नयन, ग्लानीले डढिरहेका
यता निश्छल आँखा, प्रेम छचल्किरहेका
बेखबर दुवै……थाहा छैन दोष कसको ?

कस्तो समस्या……………बाटो एउटै !
कस्तो अचम्म……………गन्तव्य एउटै !
कस्तो विवशता …………पिडा एउटै !

Bidhya Sapkota – Jhola

विद्या सापकोटा – झोला

सपनाको खोजीमा
रम्दै रमाउँदै
गाउँ छिचोलेर
निस्केको एउटा झोला
आइपुगेकोछ, मान्छेको बस्तीभन्दा पर
जहाँ मान्छे कम, रोवर्ट बस्छन्

देखिरहेकोछु म,
मिर्मिरेको झुल्को
कलिलो बालक Continue reading “Bidhya Sapkota – Jhola”

Bidhya Sapkota – Asha Ra Banda Dhoka

बिद्या सापकोटा – आशा र बन्द को ढोका

कति कालो रात
पटक्क निद्रा परेन
घरक्क झ्याल खोलें
पवनको कति मिठो स्पर्श ॥

मायालु चुम्वनका साथ
कोही भित्रियो मेरो कोठामा
झ्यालको बाटो भएर
ढोका त बन्दै थियो Continue reading “Bidhya Sapkota – Asha Ra Banda Dhoka”

Bidhya Sapkota – Timi Ra Ma

तिम्ले जित्न मात्र चाह्रौ
हारिदिए म मुटु जल्दा शितलता दिन भेटिएनौ तिमी
सुचिराखे पुरै जोवन खाली अंगालोमा समेटिएनौ तिमी ॥

साक्षि जुनतारा नै थे
धरापमा माया पुरिए म पटक्कै छेकिएनौं तिमी
जन्मिए हजार Continue reading “Bidhya Sapkota – Timi Ra Ma”

Bidhya Sapkota – Apthyara Ti Goreta Haru [Nepali Gajal]

अप्ठेरा ती गोरेटाहरु पार गर्दै आएको छु
समयको कस्तो संयोग तिमीलाइ पाएको छु ॥

साटिन्न भन्थें कसैसँग, तिम्रो नाममा अनायासै
साक्षि राखि जुनतारा कसम मैले खाएको छु ॥

निस्सार अनि शुन्य लाग्थे रनवन, तिम्लाइ Continue reading “Bidhya Sapkota – Apthyara Ti Goreta Haru [Nepali Gajal]”

Bidhya Sapkota – Aawhaan

विद्या सापकोटा – आह्वान

जिरिङ्ग आङ तान्दैं
टकटकिन्छ चौरी
टकटकिन्छ गाई
टकटकिन्छ जर्सी
अझै
टकटकिन्छन्
च्यातिएका टोपी
धुजिएका पटुकाहरु ….. ।।
फुत्रुकफुत्रुक ….
झारिरहन्छन्
पठाइरहन्छन्
बाँच्नको लागि/बचाउनको लागि
आफ्नो लागि/आफ्नाका लागि
………………………………..
जीवन लड्ने रंगशालाको खोजिमा
आ-आफ्ना रगतका डल्लाहरु ।।
भेट्टाउला/नभेट्टाउला
(मैदान)
हार्ला/जित्ला
फेरी,
फर्कला/नफर्कला
…………………
ढक्क मुटु,
सधैंको सन्त्रास ??
बग्दैथें/बगिरहेछन्
धुम्धुम्ति लाचार बाबुहरु
घुँक्कघुँक्क विवश आमाहरु
………………
धेरै बगे/बग्नु बगें
आखाँका डिल भएर
बलेनीका धाराहरु
उत्रै-उत्रै/उस्तै-उस्तै
तरल-तरल ।।
यो परकाष्ठामा,
परिश्रमको वक्षले सिंचिएर
अभावका बकुल्ले भुँवामा
भुरुरुरु…..
उडेका
उडाइएका
उडिरहेका
ती स्वप्निल मनहरुसँग
ती युगिन पाखुराहरुसँग
माग्दैंछु साथ, सङ्कल्पको
गरिरहेछु आह्वान, विनिर्माणको
…………………………
आऊ ! हामी
आफ्नै/आफैं
आफैं/आफ्नै
‘जीवनसँग जीवन खेल्ने’
रंगशाला खनौं ।।